Friday, September 25, 2009

अनुदार सोचको नियति

सशस्त्र प्रहरीका सहायक हवल्दार आफ्नै परिवारकी सदस्यको हत्याको आरोपमा पक्राउ परेका छन् । अपराधीलाइ रकम दिएर आफ्नै भाइकी पत्निलाई हत्या गर्न लगाएको आरोपमा विराटनगरमा सशस्त्रका विनोद साह पक्राउ परेका हुन् । गत भदौ २७ गते मध्यरात विराटनगर-१८ स्थित आफ्नै घरमा सुतिरहेकी ३२ वर्षीया बसन्तीदेवीको गोली प्रहारबाट हत्या भयो । बसन्तीका पति मनोज सिरहाको मिर्चैयामा कार्यरत नेपाल प्रहरीका जवान हुन् ।
अनुसन्धानका क्रममा हत्यामा मनोजका दाजु विनोदको हात भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्रिएको छ । बिनोदले आपराधिक समूहलाई पैसा दिएर हत्या गर्न लगाएको खुल्न आएको छ । उनले बयानमा एकल महिला (विधवा)लाइ भाइले विवाह गरेको परिवारका सदस्यलाई मन नपर्नु हत्या जस्तो अपराध गर्नमा कारण रहेको बताएका छन् । पक्राउ परेका उनी पेशाले सुरक्षाकर्मी हुन् । उनी कारागार सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सुरक्षा बेसमा कार्यरत जिम्मेवार पदाधिकारी हुन् । तर, उनको अनुदार सोचले परिवारभित्रै अपराधकर्म गराएको छ ।
रंगरोगनको काम गर्ने लोग्ने दिवंगत भएपछि एक्ली भएकी बसन्तीका लागि मनोज सहारा बनेका थिए । उनीबाट सन्तानसमेत भएको छ । पछिल्लो घरजमको करीव तीन वर्षपछि बसन्तीले दुर्घटनाको सिकार हुनुपर्‍यो । बितेका केही वर्षमा एकल महिलाले विवाह गर्न र रातो सारीचोलो,टीका लगाउन हुने बहसहरु निकै चलेका हुन् । एकल महिलाले रातो पहिरन लगाएका खबरलाई सञ्चारमाध्यमहरुले समाज परिवर्तनको घटना भन्दै प्रमुखता दिएका हुन् । लोकगायक बद्री पंगेनीले 'लाउ चेली सिंदुर लाउ निको पार हृदयको घाउ' भन्दै यसमा गीत नै बनाए ।
आधुनिकतातर्फ लम्केको समाजले रुढीवादी सोच फाल्नुपर्छ । निर्दोषहरुको समान्यसरह बाच्न पाउने अधिकार सुनिश्चित गर्न असजिला सामाजिक मान्यता फेरिनुपर्छ भन्नेमा कसैको दुइ मत नहोला । तर, बसन्ती हत्याको घटनाले हाम्रो समाजमा त्यो सोच फेरिएको रहेनछ भन्ने देखाएको छ । यो अनुदार सोचको परिणाम हो । युवावस्थामै एकल जीवन बिताउन बाध्य भएका वा पारिएकाहरुमाथि यो खबर निश्चय पनि दुखद हो । यस्तो दोहोरिनु हुदैन ।
बसन्ती हत्याको घटनामा अपराधीसम्म प्रहरी पुग्ला । र, सजाय दिलाउनतर्फ लाग्नेछ । तर, यो घटनाबाट समाजले पाठ सिक्न जरुरी छ । युवावस्थामै एकल जीवन बिताइरहेकाहरुले उनीहरुको चाहना र अवस्था अनुसारको जीवन जिउन पाउनुपर्छ । समाजले उनीहरुलाई छुट्याउने होइन । सहज जीवनयापनमा सहयोग गर्नुपर्छ । आफ्नै चाहनाले एकल बनेका महिलाका घटना विरलै होलान् । तर, अधिकांश अवस्थामा उनीहरुको चाहनाले एकल हुने होइन । दुर्घटनाको सिकार जो पनि हुन सक्दछ । श्रीमतिको देहान्त भए अर्की विवाह गर्न सक्ने पुरुषका लागि समाजले कुनै प्रश्न गर्दैन । यस्तै एकल जीवन बिताइरहेका महिलाका लागि विवाह भए त्यसमा पनि प्रश्न उठ्नु हुदैन । अन्यथा अझै धेरैको नियति बसन्तीजस्तै हुनसक्छ । यस्तो अनुदार सोचमा परिवर्तन आउनुपर्छ ।

पर्वमा पहाडहरू

नवरात्रि सुरू भयो । आफ्नो कमाइबाटै लुगा हाल्ने रहर, अनि घरमा पनि केही रकम दिने रहर । तर, इन्चार्ज न छिटो विदा दिन राजी थिए न त तुरून्तै पैसा दिन । विराटनगरको तीनपैनी नजिकको एउटा कारखानाको मजदुर । रातिको ड्यूटी । दिउँसोको तनाव । १५ वर्ष बितेछ त्यस्तो दसैंको । अहिले सम्झन्छु कति असजिलो थियो त्यो दसैं ।
म स्नातक तह प्रथम वर्षमा पढ्दै थिए । कारखानामा रातिको काम गर्थे । घरमा बाहेक मेरा नजिकका मित्रहरूलाई पनि मेरो जागिरका विषयमा थाहा थिएन । बेलुकी १० देखि विहान ६ बजेको ड्यूटी । बिहान कलेज लागेका बेला परे उतैबाट गयो, नभए घर गयो, सुत्यो । कतिपटक कक्षामा निन्द्रा लागेको देख्दा साथीहरूले सोध्थे । मेरो जवाफ हुन्थ्यो 'राति अबेरसम्म टीभीमा फिल्म हेरेकाले यस्तो भएको हो ।'
त्यो कारखानामा रातभरि हुने उत्पादनको हिसाब राख्नुपर्थ्यो । अनि विहान आउने साथीलाइ त्यो बुझाएर गइन्थ्यो । तलब समयमा नपाइने । अनि दसैं । सप्तमीका दिन अति भयो भन्ने ठानेर मैले इन्चार्जलाइ फोन गरें । उनले घरमा बोलाए । त्यसबेला मैले घरको गर्जो टार्नुपर्ने जिम्मेवारी थिएन । कारण, घरखर्चको जिम्मेवारी बुवा-आमाको थियो । मैले आफ्ना लागि आफै व्यवस्था गरें भने उहाँहरूलाई बोझ हुदैन भन्ने लागेको थियो ।
घर पुगेपछि हिन्दीमात्रै बोल्ने ती इन्चार्जले भने 'मेरो भान्सामा ग्यास सिद्धिएको रहेछ, बजार गएर ल्याइदेउ ।' आज्ञाकारी बालकजस्तै म गए, अनि ग्यास ल्याए । तर, उनलाइ अघि नै फोनमा भनेको कुरा मैले दोहोर्‍याइन । फेस टु फेस भएका बेला मैले नमागेका कारण शायद उनलाइ के खोज्छस् ..... झै भयो । उनले दिएनन् । म त्यतिकै फिरें । दसैंको विदा भयो । म फेरि त्यहा कामका लागि फिरेर गइँन । त्यो दसैं त्यतिकै गयो । मैले यो कुरा कसैलाई भनिन । मनमा धेरै कुरा खेले । कामदारहरूका लागि दसैं कति असजिलो रहेछ भन्ने मलाइ भयो । मसगै दुइजना राजवंशी थरका दाइहरूको पनि समस्या त्यस्तै भएछ । तर, उनीहरू ढुक्क थिए । अन्न बेचेर भएपनि चाड मनाउने , घरमा हास-कुखुरा छदैछ भनेका थिए । कारखानाले नियुक्तिपत्र दिएको थिएन । काममात्र दिएको थियो । अनि त्यसबेला अहिलेजस्ता मजदुरका संघसंगठनको सक्रियता छ छैन भन्ने पनि थाहा थिएन ।
तिहारमा ती इन्चाजले मलाई बोलाउन पठाए । पुगेपछि उनको भनाइ थियो 'भाइ , पैसा कमाउन सजिलो छैन, खर्च गर्न सजिलो छ । दसहरामा त्रि्रो घर जसोतसो चल्थ्यो । तिमीले पैसा लगेको भएपनि खर्च गरेर सिध्याउथ्यौ, त्यसैले मैले नदिएको ।' उनले पैसाभन्दा पढाइमा ध्यान दिन सल्लाह दिए । उनको तर्कमा म सहमत थिइन । कारण, चाहिएका बेला खर्च गर्न नपाइने हो भने काम गरेको व्यर्थ हो भन्ने मेरो मनमा थियो । मलाइ लाग्थ्यो कुनै चलचित्र रिलिज भएकै बेला हेर्नर्ुपर्छ । रिलिजको २/४ वर्षपछि हेरियो भने समय अनुकुल हुदैन । मजा आउदैन । सन्दर्भ फरक पर्छ । तर, असहमति जनाउन पनि ठीक लागेन । जे होस, पछिल्लोपटकमा उनले तलबको पैसा दिए ।
अहिले पनि साना कारखानाका कामदारको अवस्था मैले त्यो दसैंमा भोगेभन्दा फरक नहोला । त्यसबेलाको अविवाहित अवस्थामा मेरा जिम्मेवारी थोरै थिए । मैले आफ्ना निजी आवश्यकताका थोरै कुरामा मात्र ध्यान दिए पुग्थ्यो । प्रश्न पारीवारिक दायित्य बोकेकाहरूको हो । यदि म त्यसबेला परिवारको मुली थिए । अनि छोरा-छोरी, श्रीमतीका फर्माइस, आवश्यकता र घर चलाउने जिम्मेवारीमा हुन्थे भने घरमा रूवावासी चल्थ्यो होला । कति परिवारमा सधै दसैंमा यस्तो पनि हुदो हो ।
पर्व सबैका लागि हो । वर्षभरिका दौडधुप, तनाव र असजिला अवस्था बिर्सिएर पुनः कामको निरन्तरतामा आउन नया स्फुर्तिका लागि पर्व आउछ । सबैलाई लाग्ला धुमधामले मनाउ । बढदो महगीको मारका बीच बजारको चहलपहल देख्दा नेपालीको क्रय क्षमता बढेको जस्तो देखिन्छ । तर, सोझो बाटो हिडेकाहरूले धुमधामले मनाउने अवस्था छैन । जस्तो भएपनि चाड त मान्नै छ । सबैले यसको मान राख्नका लागि पनि आवश्यकतालाई प्राथमिकीकरण गरेर गर्जो टारेका छन् । आयस्रोतको अवस्था र खर्चको आकारमा तुलना गर्ने हो भने श्रम गरेर खानेका लागि चाडहरु सधैं नै समस्याको अग्लो पहाड बनेर आएको हुन्छ । महगी छ , आयस्रोतले धान्दैन भन्दैमा कसैले आफ्ना सांस्कृतिक चाडबाड मनाउन छाड्नुपर्छ भन्ने होइन । तर, हाम्रो आय र खर्चका बीच सन्तुलन जरूरी छ । अन्यथा दसैं मानेर पुनः कामको दिनचर्यामा फिर्दा स्फूर्ति होइन, चिन्ता बढ्छ ।
बिग्रिएको राजनतिक संस्कारबाट परिचित जनताले सरकारसँग त्यति ठूलो आस राख्दैनन् । र, पर्वका बेला सुतेका सरकारी निकायलाई ब्युँझाउनेतर्फ पनि कोही जागेको भेटिदैन । बजारमा पसलैपिच्छे एउटै उपभोग्य वस्तुका मूल्य किन फरक फरक छन् ? आयातित सामाग्री बजारसम्म आइपुग्दा पसलेले कति नाफा खानु उचित हो भनेर हेर्ने निकाय कमजोर हुदा पनि श्रम गरेर खानेका लागि महगी अग्ला टाकुरा साबित भएका हुन् । अनुगमनको संयन्त्र थोरैमात्र पनि चलायमान हुने हो भने गरिखानेका लागि आय र खर्चबीचको सन्तुलन मिलाउन केही सहज हुन सक्छ ।
(२०६६ असोज ८ को उदघोष दैनिकको आलोपालो स्तम्भमा प्रकाशित)

Monday, September 14, 2009

उ ! त्यो गाडी खिच्नुस


नखिच्नुस, मेरो फोटो नखिच्नुस । डिलिट गर्नुस । बरु उ त्यो गाडी खिच्नुस ।' एउटा स्न्यापका लागि क्लिक गरेको आवाज सुन्ने वितिकै उनले एकै सासमा यस्तो भने 'प्लीज मेरो फोटो नखिच्नुस । बरु उ त्यो गाडीको खिच्नुस ।' अनि क्यामेरा गाडीतर्फसोझयाएर मैले दुइ स्न्याप खिचे । तर, उनको फोटो झट्ट डिलिट गरिन । एक हातमा कालो रंगको गह्रौ ब्याग । नियाउरो अनुहार ।
सोमबार दिउसोको १२ ४३ बजे । विराटनगरको बीरेन्द्र सभागृहअघि सडकमा तीनवटा कारलाई भुइतिर छत पारेर उल्ट्याइएको थियो । तीमध्ये एउटा कार उनको रहेछ । 'नम्बर प्लेट पनि राख्न भ्याउनुभएको रहेनछ, भर्खर किनेको हो - भन्ने प्रश्नमा उनले भने 'हो, हिजोमात्रै शोरुमबाट निकालेको । म पीयूकै विद्यार्थी हु" । दीक्षान्तका लागि काठमाडौंबाट आएको ।' उनको हाउभाउ देखेपछि केही फेरि सोध्न मन भएन ।
माओवादी अहिले आन्दोलनमा छ । राष्ट्रपतिले सेनापति थमौती गरेको विषयलाई लिएर संसदमा संकल्प प्रस्तावमाथि छलफल हुनुपर्ने माग अघि सार्दै सदन चल्न नदिएका माओवादीले सडकमा पनि प्रदर्शन जारी राखेका छन् । सरकारले निकास खोजेको छैन । आन्दोलन अहिले मन्त्रीहरुलाई र्सार्वजनिक कार्यक्रममा जानबाट रोक्नेतर्फमोडिएको छ । चितवनमा प्रधानमन्त्री माधवकुमार नेपालले रुट फेरेर भएपनि कार्यक्रममा सहभागिता जनाएको समाचार हेर्न,सुन्न र टेलिभिजनमा देख्न पाएका हामीले सोमबार आफ्नै ठाउमा अनुभव गर्न पायौं । पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको १५ औं वर्षा चौथो दीक्षान्त समारोह गर्‍यो । प्रधानमन्त्री कुलपति भएकै कारण समारोहमा आउन बाध्य भए । यही दिन पारेर उद्योग संगठन मोरङले पनि ३९ औं वाषिर्क साधारणसभामा उनलाई नै प्रमुख अतिथि तय गर्‍यो ।
माधवकुमार नेपालको सरकार कसरी बन्यो । प्रत्यक्षतर्फ दइ ठाउबाट पराजित उनलाई सभासद् बनाउन कसले प्रस्ताव लग्यो । यो कसैले भनिरहनु पर्ने विषय होइन । विराटनगर आएकै मौकामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकारेका हुन् उनले नै नेपाललाई संवैधानिक समिति अध्यक्ष बनाउनका लागि बाटो खोले । पछि यस्तो परिस्थिति बन्यो , माओवादी सरकारबाट बाहिरियो । सेनापति प्रकरणमा द्धैध सत्ताको अन्त्यका लागि राजीनामा दिएको बताउने माओवादी अझै पनि पुरानै अडानमा छ । किन राष्ट्रपतिले नभएको अधिकार उपयोग गरेर रुक्माङ्गद कटवाललाई बहाल रहन आदेश गरे ।
परिस्थिति फेरिएपनि माओवादीका लागि त्यो अझै उस्तै छ । सवाल राष्ट्रपतिले कार्यकारी अधिकारको उपयोग गर्न पाउने कि नपाउने । अहिले सेनापति कटवाल छैनन् । अनि सेना फेरि राजनीतिक तानातानबाट केही पर देखिएको छ । माओवादीले उठाएको सवालमा कटवाललाई विर्सने हो भनेपनि अन्तरीम संविधानमा चलेको मुलुकमा राष्ट्रपतिले कस्तो कति अधिकारको उपयोग गर्न सक्ने कि नसक्ने भन्ने एजेण्डा पक्कै बहसको विषय हो । यसलाई अन्य दलले सुनेको नसुने झै गरेका छन् । माओवादी पनि निकासका लागि बहस चलाउनुको साटो तागत देखाउने आन्दोलनमा लागेको छ । यो परिस्थितिको सिकार जनता हुनु दुखद छ ।
बहस चलाउनका लागि मुलुकभर तागत देखाउनुको साटो दलहरुलाई एक ठाउमा राखेर छलफल गरिनु बेस हो । जनतालाई सास्ती हुने कुनै पनि प्रकारका आन्दोलन चलाउनुलाई ठीक मान्न सकिदैन । सोमबार माओवादीले प्रधानमन्त्रीलाई अवरोध गर्ने विरोधमा उत्रिदा जनताका सवारीमा क्षति भयो । झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी दुवैतर्फघाइते भए । प्रधानमन्त्री हेलिकोप्टरमा आए । सुरक्षा साथ कार्यक्रममा बसे । लामो लामो भाषण गरे । अनि फिरे । के भयो त - अब यी विद्यार्थी , जसको सवारीमा क्षति भयो । उनले के सोचेर मन बुझाउलान । उनले लिएको शिक्षाको दोष होकि , विश्वविद्यालयको वा नेपाली हुनुको ।

Friday, September 11, 2009

उनी


करीब चार किलोमिटर लामो सवारीसाधनको जाम छल्दै चेपचापबाट मोटरसाइकलअघि बढाउँदा खुला सडक पाउन गाह्रो भयो । तैपनि जारी यात्रामा मैले बाटो-बाटो रोकिने र मन परेका दृश्य क्यामेरामा कैद गर्ने गरिहेको थिएँ । लामो जाम खिच्न बसमाथि चढेर ओर्ली मोटरसाइकल स्टार्ट गर्ने बेलामा नजिकै उभिएकी राम्री महिलाको अनुरोध आयो -'दाई , मलाइ अलि परसम्म लगिदिनोस्न् । मेरो साथीहरु अघि बढिसकेछन् ।'
पोते लगाएर विवाह भइसकेको परिचय दिइरहेकी । पातली, गोरी, कुर्ता-सुरुवाल लगाएकी राम्री महिला । भनिन्छ, एक्लो लोग्नेमान्छे, बेइमान मन । एक्लो यात्राको मजा लिनकै लागि नै मैले कसैलाई साथ ल्याएको थिइन । तर, लिफ्ट पाउन यो अनुरोध ?
मैले भने 'मसँग कसरी जानु होला र ? म त एकोहोरो कुदाएर हिँडदिन । बाटो-बाटो रोकिन्छु । तपाईलाइ हतार होला । बोर हुन्छ ।' भदौ १० गते विहान १० बजे । यतिखेर म हेटौंडाबाट अमलेखगञ्ज आइपुग्ने मार्गमा रहेको ३ नम्बर पुल नजिक थिए । भारत निकासी भइरहेको गिटी, ढुंगा र बालुवामाथि सरकारले बढाएको करको विरोधमा क्रसर सञ्चालकहरूले राजमार्ग अवरोध गरेका थिए । यो बाटोमा अघिल्लो दिन भएको झडपमा एक प्रहरी दिवंगत भएको समाचार मैले विहानमात्रै पढ्न पाएको थिए । उनीसँग जवाफ तयार रहेछ भनिन् -'केही छैन, एडजस्ट भइहाल्छ नि ।'
अब लिफ्ट माग्नेलाइ बोर नहुने भएपछि मेरो यात्रामा साथी थपियो । काठमाडौंबाट धादिङ, मुग्लिन, नारायणघाट र हेटौडासम्म आइपुग्दा पनि मैले बाटामा कसैलाई लिफ्ट दिएको थिइँन । कारण, लिफ्ट माग्ने नभेटिएका भने होइनन् । यस्ता राम्रा महिलाले लिफ्ट मागेका थिएनन । पुरुषले उभिएर हात देखाएर-कराएर मागेकै हुन । रोकेको थिइँन ।  यस्ता यात्रामा लिफ्टका लागि अनुरोध गर्नेहरू देखेर म सुनसरीको हरिनगरामा गाविस सचिवसँग मोटरसाइकलमा लिफ्ट मागेकैले अलि पर पुगेर गोली हानेको समाचार सम्झन्थे । तर, बदमाशी गर्न परे पुरूषले मात्रै गर्लान भन्ने पनि त होइन । अघिल्लो दिन काठमाडौंबाट हिड्दा मैले यस्तै धादिङमा यस्तै लामो जाम देखेको थिए । दुइ ठाउँमा गएको पहिरोले भएका करीव १५ किलोमिटरको जाम छिचोलेर यात्राअघि बढेको थियो । धादिङमा लामो जाम । घुमाउरो बाटो । अनि मुसलधारे वर्षा । क्यामेरा बोकेको व्याग जोगाउँदै रेनकोट ओढेर त्यो बाटो पार गर्दा कहीँ पनि फोटो खिच्ने हिम्मत गर्न सकिएन । कारण, क्यामेरा भिज्थ्यो । नारायणघाट आएर होटलमा वास बसेपछि म बिहान हिडेको थिए ।
लोथरमा चिया खाएर त्यहाँ पसलेलाइ नै आफ्नो तस्विर खिच्न लगाएको मैले हेटौडापछि मात्र राम्ररी फोटो खिच्दै अघि बढन पाएको थिए । जे होस उनलाइ लिफ्ट दिइयो । रक्सौलका लागि लिफ्ट लिएर पथलैयासम्म पुग्नुपर्ने थियो उनले । मेरालागि अघिल्ला करीव २० किलोमिटरका लागि सहयात्री थपिएको थियो ।
लागेको बानी । साथी थपिए पनि मैले ठाउँ-ठाउँ रोकिएर फोटो खिचिरहने काम जारी रह्यो । कारण, यात्रामा थपिएको साथीका लागि मेरो बानीमा सुधार गर्नुपर्ने केही थिएन । न त मेरो उदेश्य उनलाइ प्रभावमा पार्नु नै रह्यो । कुराकानीका क्रममा उनले आफ्ना कथा बताइन । १६ वर्षको उमेरमा विद्यालय छाडेर वैवाहिक बन्धनमा बाँधिएकी उनको घर हेटौडा रहेछ । सवारीचालक श्रीमान । १० वर्षमुनिका दुइ छोरा । पैसा जोरजाम गरेर गाडी किनेपछि त्यसकै मालिक र चालकको जागिर थामेका श्रीमान घर आउन छाडे । यदाकदा आउँदा मातेर आउने । कुट्ने । आजित भएपछि घरबाट निस्किएको बताउने उनले भनिन् 'दाइ, पढ्ने बेलामा बुवा-आमाको कुरा मानिएन । दुःख पाइयो ।'
यातना खप्न नसेकपछि छोराहरु साथ लिइ घर छाडेर बसेपछि कमाउने मेलोको खोजी गरियो । 'एसएलसी पनि नसिध्याइ बाटो बिराउनेले कसरी काम पाउँथ्यो र, राम्रो काम मिलेन', उनले बताएपछि मैले सोधे 'अनि रक्सौल किन जान लाग्नु भएको ?' हेटौंडामा महिलाहरुको एउटा समूह छ, जसले सानातिना घरायसी उपयोगका सामान रक्सौलबाट काठमाडौं पठाउँछ , आफु त्यसमै संलग्न रहेको उनले बताइन । मैले भने 'त्यसो भए क्यारिङ गर्नुहुँदोरहेछ ।' फेरि पनि जवाफ तयार थियो 'क्यारिङ भन्नुस् जे भन्नुस् मजस्ताले अरु के गर्ने त ?' सानो पूँजी हुनेले चिया, पान, खाना-नास्ताजस्ता खुद्रा पसल चलाउन सकिने जवाफ मैले दिए । उनी सन्तुष्ट थिइनन् । जवाफ थियो 'त्यस्तो काम गरेर पनि गुजारा चल्छ ?'
थोरै-थोरै पूँजी भेला गरेर सामान भंसार कटाइ हेटौडा ल्याउने अनि समय मिलाएर राजधानी पठाउने काममा ३/४ महिना भएको उनले बताइन । कहिलेकाही प्रहरीले सामान समाते एक महिना लगाएर बनाएको पूँजी पनि जाने गरेको घटना भोगिसकेको उनको अनुभव थियो । मैले जोगबनीबाट समान लैजाने इटहरीका महिलाको समूह सम्झेँ । धेरैपटक त्यस्ता हुल र प्रहरीको भनाभन विराटनगरको रानी भंसार आसपासका क्षेत्रमा देख्न पाउनु नौलो थिएन । यिनी पनि उस्तै । मैले उनलाइ यस्तो पेशाको साटो सानो चिया पसल चलाएर सन्तोक गर्न दिएको उपदेशले सन्तुष्टी भएको देखिँन । उनका सबै कुरा सुनेर मैले त्यस्तो पेशाको साटो अर्को बाटो छान्नु ठीक हुनेमा जोड दिएँ । मेरो भनाइमा कुनै उत्तर आएन । उनी निकैबेर बोलिनन् । अमलेखगञ्जनजिकको एउटा पुलबीचमा दुइ ठूला ढुङ्गा र बालुवाका थुप्रा राखिएका थिए । बाटो अवरुद्ध पारिएको थियो । मैले भने 'पख्नोस है, यसको फोटो लिइहालु ।' हुन्छ/हुँदैन जवाफ आएन । फोटो खिचेर मोटरसाइकल भए ठाउँमा फिर्दा उनी त्यहाँ थिइनन् । यताउता हेरें । देखिएन । घटना, प्रकृति र समाचारजन्य तस्विरमा रुची राख्ने मैले उनको तस्बिर भने लिएको थिइन,  न त नाम नै सोधेको थिए । नामै थाहा नभएको मान्छेलाइ खोज्नु पनि ठीक थिएन । अनि लाग्यो- 'उपदेश अलि बढि नै भएछ शायद ।' मैले अघि बढनु नै ठीक ठानेँ । पथलैया पुग्दासम्म पनि बाटोमा उनलाइ फेरि कतै देखिएन । केहीबेर पथलैयामा बसेर चिया खाएपछि मेरो यात्रा पूर्वका लागि अघि बढ्यो ।