Wednesday, February 29, 2012

'सर, मेरा छोरा-छोरी पढ्छन् ?'


विराटनगर- एकै सर्को धुआँ स्वाट्ट निलेर केही सेकेण्डपछि फुर्र उडाएको देख्ता कौतुहलता हुन्थ्यो । चलचित्रमा नायक होस् वा खलपात्र उनीहरुले चुरोट तान्ने स्टाइल आकर्षक लाग्ने । किसोरावस्थाको यही कौतुहलताले कहिलेकाही स्कुल बाहिर लुकीलुकी धुआँ निल्ने-ओकल्ने रहर बिस्तारै बानी भयो । यही बानी त्यसबेला महँगो भयो जब तलतल मेट्न ड्रग्सको बाटो सुरु भयो ।
        उपमहानगरभित्रको एउटा पुनस्थापना केन्द्रमा यस्तो लत छुटाउन बसेका दुइ किसोर अब फेरि स्कुल फर्किएका छन् । आजित भएका अभिभावकले उनीहरुलाई केन्द्रमा भर्ना गराएका थिए । एक अभिभावक भन्छन् 'हामीले पनि बेला बेला उसको बानीबेहोरा र पढाइबारे स्कुलमा सोधीरहने गरेको भए शायद यस्तो हुन्थेन ।' राम्रो स्कुलमा भर्ना गरियो भनेर ढुक्क पर्नु र दैनिक कामको व्यस्तताले सोधखोजीको समय निकाल्न नसक्नु आफुहरुको कमजोरी भएको उनले अहिले बुझेका छन् । भन्छन् 'छोराछोरी कसरी पढ्दैछन्, उनीहरुबारेमा कक्षाका शिक्षक के भन्छन् भन्ने पनि सोध्ने गर्नुपर्दो रहेछ ।' 
       उपमहानगरको ट्राफिकचोकस्थित एउटा गल्लीभित्रको चिया पसलमा चियासँगै स्कुले पोशाकमा चुरोटको सर्को  लिनेहरु देख्न गाह्रो छैन । तर, बढेका सन्तानको कुलत हटाउन अभिभावकलाई फुर्सदै नभएको शिक्षकहरुको बुझाइ छ । प्याव्सन मोरङका निवर्तमान अध्यक्ष राजेशकुमार दास भन्छन् '९५ प्रतिशत अभिभावकलाई आफ्ना नानीहरु कसरी पढ्दैछन् भनेर सोध्न आउने फुर्सद नै हुँदैन । स्कुलले सबैका बोनीबेहोरा कन्ट्रोल गरेर कहाँ सक्छ ' दास संसारीमाइस्थानस्थित कोशी बिद्या मन्दिरका सञ्चालक शिक्षक पनि हुन् । उनको अनुभवमा किसोर-किसोरीका अनपेक्षित व्यवहार बारे सल्लाह गर्न बोलाउदा अभिभावक झट्ट आउँदैनन् । सन्तान भर्ना गर्दाका बसाइँका ठेगाना र मोबाइल नम्बर फेरिएको जानकारी नदिने र स्कुलले बेलाबखत सचेत गराएका कुरामा नानीहरुलाई अनावश्यक 'प्रेसर' हुन्छ होला भन्ने ठानेर छुट दिनहरुका छोराछोरी कुलतमा जाने उनको भनाइ छ । भन्छन् 'सजिलो छ, बेलाबेला स्कुल जाने, उनीहरुको पढाइ कस्तो छ भनेर सोधिदिने गरेमात्रै पनि क्लास टिचर पनि सचेत हुन्छन् ।' 
   दासका अनुभवमा अधिकांश निजी विद्यालयमा यसरी सोध्न जाने अभिभावकको संख्या निकै न्युन छ । सामुदायिक बिद्यालयमा अझ अभिभावकको चासो कम छ । उपमहानगरको २० नम्बर वडास्थित मिल्स माविका प्रधानाध्यापक दीनेश श्रेष्ठ भन्छन् 'पढाउने तरिका फेरिएको छ । सजाय दिनै हुँदैन, बालमैत्री पढाइ-वातावरणमा ध्यान दिनुपर्छ ।' विद्यालयमा बालमनोविज्ञानलाई ध्यान दिइनेसम्म ठीक भएपनि घरमै सुधार आवश्यक भएको उनको बुझाइ छ । 'सोध्न आउने आमा-बाबुले छोराछोरीका पढाइ र आचरणबारे थाहा पाउन सक्छन्, सुधारको सुझाव पनि पाउन सक्छन्,' उनले भने, 'तर, सोध्नुपर्छ भन्ने हेक्का निकै थोरै आमाबाबुलाइ छ । सयमा एक-दुइजनालाई ।' १ हजार २ सय ६४ जना बिद्यार्थी रहेको मिल्समा १४ वर्षदेखि प्रअको जिम्मेवारी निर्वाह गर्दै रहेका उनले आफु आएकै महिना बिद्यार्थीकै छुरा प्रहारबाट सहपाठी मारिएको घटना देखेका थिए । 'परिस्थिति केही फेरिएको छ । तर, किसोरावस्था जिज्ञासू हुने उमेर हो,' उनी भन्छन् 'स्कुलले आफ्नो जिम्मेवारी पुरा गरेको छ कि छैन भनेर पनि अभिभावक भेट्न आउने गरे केही बिग्रँदैन ।' 
लागूऔषध प्रयोगकर्तालाई सुधारका तरिका सिकाउँदै आएका रिचमण्ड फेलोसिपका परामर्शदाता सुनील थापाका अनुसार ८ कक्षादेखि प्लस टूसम्मकाहरुको आनीबानीमा अभिभावकले ध्यान पुर्‍याउन जरुरी छ । 'धुम्रपान सिक्ने अनि राम्रा-नराम्रा बानीको सिको गर्ने बेला यहीभित्र पर्छ,' उनी भन्छन् 'धेरैपल्ट केस जटिल भएपछि म भेट्छु । कतिलाई रिह्याभमा राख्नैपर्ने भएको हुन्छ ।' 
     गत बैशाख अन्तिम सातादेखि सरकारले ल्याएको सूर्तीजन्य पदार्थ नियन्त्रण ऐनले नाबालकलाई आकर्षण गर्ने कुनै शब्द, चिन्ह राख्न नपाइने र १८ वर्ष नपुगेकासगै गर्भवतीलाई यस्ता पदार्थ बेच्न नपाइने भनेको छ । ट्रफिकचोकस्थित पान पसल दुर्गा कोल्ड स्टोरका सञ्चालक नरेश सिंह भन्छन् 'ऐनले भनेका कुरा हामीलाई चुरोट कम्पनीले भेला बोलाएर बताएपछि थाहा भयो । म त साना केटाकेटीलाई बेच्तिन ।' तर, सबै पसले सिंहजस्तै ऐनले गरेको बन्देज थाहा पाउनेहरु छैनन् । परामर्शदाता थापाका भनाइमा अभिभावकले चुरोट-खैनी किन्न नपठाउने र नानीहरुले लुकीछिपी खाएको थाहा पाए उनीहरुलाई रोक्न ध्यान दिए समस्या जटिल हुँदैन । 
(१७ फागुन बुधबारको कान्तिपुर पूर्वाञ्चल संस्करण पानामा प्रकाशित)

Saturday, February 25, 2012

मुर्मु थेरापी


गाउँमा जन्मेको शिशुको न्वारनका लागि बिजोर दिन छानियो । १, ३, ५ वा ७ यस्तै कुनै । टोलभरिका सबैलाई निम्तो । ठूलो भाडामा उसिना चामलको भात । धेरै घरमा सधै पाक्नेभन्दा पृथक स्वाद छ । परिकारको नाम- निमदामणि । कारण हो, निमको तीतो हुनु । निमका हरिया पात भुटेर पिसेपछि बनाइएको धूलो यसमा मिसाइएको छ । 'संस्कारको प्रसाद हो, सबैले खानै पर्छ, मोरङको रंगेली-८ आमतोलाका परमेश्वर मुर्मु भन्छन् 'हाम्रो यो परम्परागत खाना हो । यो यस्तै सांस्कृतिक विधिका दिनमात्रै पाक्छ । पेट सफा हुन्छ ।'
निमको परिचय धेरैलाई गराइरहनु पर्दैन । कारण, हरिया पात, साना दाना फल्ने यो वनस्पति गुणकारीमा पर्छ । अधिक जानकारी नराख्नेहरुलाई पनि थाहा हुन्छ, बेग्लै प्रकारको तीतो हुने नीमका हागा टुक्रा पारेर 'दतिवन' गरे मुख र दाँतका रोग हट्छ । पातलाई बालीमा रोगकीरा हटाउन ओखतीका रुपमा चलाइन्छ । यसले धेरै प्रकारका रोगमा ओखतीको काम गर्छ । इन्टरनेटमा सर्च गरे भेटिने वीकीपेडियाको पृष्ठमा लेखिएको छ- औषधीय गुण भएको नीमसँग धेरैका परम्परागत संस्कार जोडिएको छ । कतिलाई यो संस्कारमा नभइ नहुने वनस्पतिमध्ये पर्छ । सन् १९९५ मा युरोपियन पेटेन्ट अफिसले एन्टी-फंगल उत्पादनका लागि निमको पेटेन्ट अधिकार अमेरिकी कृषि विभाग र डब्ल्युआर ग्रीस एण्ड कम्पनीलाई दिएको थियो । तर, यसलाई भारतले चूनौती दिदै आफुकहाँ २००० वर्ष पहिलेदेखि प्रयोग हुँदै आएको दावी गर्‍यो । पेटेन्ट अफिसले भारतलाई अग्राधिकार दिएपछि डब्ल्युआर ग्रीस असन्तुष्ट रहेको वीकीपेडियामा उल्लेख छ । कथा जैविक अधिकारका मामिला केलाउन लक्षित छैन । अब फर्कौं मुर्मुको गाउँमा । सतार परम्परालाई परिष्कृत गर्दै आएको परमेश्वरको परिवारको अभ्यास धेरैका लागि नौलो छ ।  
०००
भारत, विहारको बथनाहाका ३३ वर्षीय अजय हेमरम नसोचेको दुर्घटनामा परे । सधैं टेम्पोमा चालकसगैको सीटमा उनलाई बस्न मन पर्थ्यो । घर फर्किरहेका बेला विपरीत दिशाबाट आएको टेम्पो जुध्यो । दुर्घटनामा उनको दाया त्रि्रामा दख्खल पर्‍यो । 'हाड नै भाँचिएछ, पटनामा उपचार गराउन पुगे,' उनी भन्छन् 'तीघ्रामा स्टील त हालिदिए, बारम्बार फिजियोथेरापीको चक्कर छुटेन ।' उपचारका आठ महिनापछि पनि तंग्रिन नसक्दा उनी अहिले आमतोलाको मुर्मु उपचार केन्द्रमा छन् । चार वर्षको छोरा र श्रीमतिसहित उपचारमा बसेका उनी भन्छन् 'यहाँ आएको अढाइ महिना भयो । अहिले बिसेक हुँदै आएको छ ।' 
बिरगंज-६ कुमाल टोलका ६० वर्षीय भक्ति गेलाल एक वर्षदेखि नशासम्बन्धी रोगले पीडामा छन् । भन्छन् 'बिरगंजमा मात्रै हो र, पटना-बनारससम्म उपचार लाउन पुगे । बीसको उन्न्इस भएन ।' हेर्दा सामान्य देखिने उनलाई बेला बेला हिड्न समस्या हुन्छ । गोडा चल्दैनन् । उनी रक्सौलको कस्टम कोलोनीमा सुरक्षा गार्डको काम गर्थे । एक प्रकारको बाथ रोगले च्यापेका उनले नाम चलेका अस्पतालका न्युरोलोजी, अर्थोलगायत विभाग धाएपनि सुधार नभएपछि खोज्दै मुर्मुकहा आइपुगेको बताए । भन्छन् 'चार महिनादेखि यहाँ छु, अब केही सुधार महसुस हुन थालेको छ ।' 
सवारी चालक काम गर्ने मोरङ सिसवनी जहदा-५ का २४ वषीय सन्तोसकुमार मुखियाको बाया गोडा मारुती भ्यानको पछाडि चक्काले च्यापियो । विराटनगरको कोइराला निवास गेट अगाडि उनी उभिएका थिए । पार्किङका लागि ब्याक गरेको गाडी हुत्तिएर पछाडि आएपछि उनको गोडा कर्‍याप्पै पार्‍यो । धेरै विरामीलाई धरान-विराटनगरका अस्पताल लैजाने-ल्याउने गरेका उनी भने अस्पताल गएनन् । 'ठूलो कुरा खर्चको हो । गरिबले अस्पतालको महँगो शुल्क तिर्न गाह्रो छ,' उनी भन्छन् 'मलाइ यहाँको उपचार विधि थाहा थियो । त्यसैले यहाँ आइपुगे ।' आठ/आठ दिनमा पट्टी फेर्दै उनी अहिले निको हुने चरणमा बैशाखी टेकेर आउजाउ गर्छन् ।
०००
उपचारको केन्द्र भन्नेबित्तिकै चिल्लो बाटो, सुकिलो भवन, सेतो एप्रोन लगाएका स्वास्थ्यकर्मी झट्ट मगजमा आउछ भने मुर्म उपचार केन्द्र त्यो भन्दा भिन्न छ । कतै विज्ञापनजन्य सामाग्री भेटिदैन । विराटनगरबाट १८ किलोमिटर पूर्व । कालोपत्रे सडक छाडेर ग्राभेलको झण्डै एक किलोमिटर दक्षिण-पश्चिम । आमतोलामा अंग्रेजी 'एल' आकारको झुप्रो देखिन्छ । वरपर बजार-पसल छैन । न त सहरीया विकास बुझाउने केही यो टहरोमै देखिन्छ । बास-कर्चीको बेरा, माटोको भीत्तो । गाइभैसी बाँध्ने थलोजस्तो देखिने घरको आगन अलि फराकिलो छ । यही हो मुर्मु (सतार,सञ्थाल) उपचार केन्द्र । 
'सधै भीड हुँदैन, कहिले हामी खाली बस्छौ,' ६० वर्षीय लखीराम मुर्मु भन्छन् 'कहिले भ्याइनभ्याइ हुन्छ ।' लखीराम नै यहाँका मुल उपचारक हुन् । विरामीलाई टहरोको आवसीय सेवा दिनुपरे एक दर्जनभन्दा बढिलाई राखिदैन । कारण, त्यो भन्दा बढिको क्षमता छैन । तर, टहरोमा विरामी निमिट्यान्न भएका दिन हुँदैनन् । उनी भन्छन् 'सबै जाति परम्परामा जडीबुटीबाट गरिने उपचार बुढाहरुलाई थाहा थियो । कतिका नया पुस्ताले सिके । धेरैले सिकेनन्, हामीले थोरै भएपनि सिक्यौ । यो त्यसकै निरन्तरता हो ।' उनको परिवारमा छोराहरु कुमार, परमेश्वर र कृष्णसगै छोरी सोनुले सघाएकी छन् । कुमार नशा र हाडजोर्नीको उपचार योगविधिबाट गर्छन् भने कृष्ण र परमेश्वर फिजियोलोजिस्ट जस्तो काम गर्छन् । भर्खरै सीएमएको पढाइ सिध्याएकी सोनुले अब सघाउन थालेकी हुन् । 
आमतोलामा विरामीलाई राख्नै पर्ने भए एउटा खाट र चुलो दिइन्छ । ओढने-ओच्छ्याउने, खाने र इन्धनका सामान विरामी आफैले लिएर पुग्नुपर्छ । भुइँमा तीनवटा माटामा चुला छन् । दाउरा-गुइठा बालेर खाना पकाउन सकिन्छ । लामो अवधि यहाँ राखिनेमा हाड र मेरुदण्डका निकै धेर समस्या भएकाहरुमा पर्छन् । 
०००
इटहरी र विराटनगरको बरगाछीमा साना कोठा लिएर चलाइएका केन्द्रको मुल रंगेलीको आमतोला हो । ओखती सबै घरेलु जडिबुटी । योगविधिबाट उपचार गर्ने कुमार भन्छन् 'हामीले सक्ने काममात्रै जिम्मा लिन्छौ । धेरैजना धेरै ठाउँ उपचार गराएर हरेस खाएपछि हामीकहाँ आइपुगेका हुन्छन् ।' कुमार स्वास्थ्य शिक्षाका ज्ञाता होइनन् । थोरै आफ्नै जातीय, संस्कार र केही तालिमपछि उनी उपचार गर्न सक्ने भएका हुन् । हाडजोर्नीका समस्या भएकाहरुले एक्स-रे रिर्पोट लिएर पुगे उनलाई काम गर्न सजिलो हुन्छ । ग्रामीण उपचार प्रविधिमा केही फ्युजन पनि छ । जस्तो कि केही आधुनिक ब्याण्डेज, औजार, एक्स-रे रिपोटको उपयोग ।
सञ्थाल अल्पसंख्यक जातिमा पर्छन् । यीमध्ये पनि जातीय परम्परालाई निरन्तरता दिने परिवार विरलै भेटिन्छ । लखीराम भन्छन् 'अहिले हाम्रो तेस्रो पुस्ताले उपचारको परम्परा थामेको छ । हामी धेरै केही गर्न सक्दैनौ भने पनि बुढाहरुका ज्ञानलाई सिक्ने प्रयास गरे घरैमा उपचारका विधि छन् ।' विकासले मान्छेको श्रम घटाएको बताउने लखीराम आउदा दिन अझ धेरै विरामी बढिरहने देख्छन् । भन्छन् 'हुँदाहुँदा हामी शारीरिक कसरत पर्ने काम निकै कम गर्न थालेका छौ, खानपान बिग्रिएको छ । ज्यान रोगी हुने मुल कारक नै यही हो ।' 
सञ्थाल परम्परामा गुरु थापेर दसैंमा युवाले बुढाका कुरा सिक्ने परम्परा छ । लखिरामका भनाइमा यसरी दिइने दीक्षालाई प्रयोगमा निरन्तरता दिनेका मात्रै हात उपचारमा पोख्त हुन्छन् । चलाइने सबैजसो ओखती गाउँघरमै पाइने अन्न, झार, रुखका पात, फल, फूल, बोक्रा जरा आदि । केही सामाग्री भारतको झारखण्डबाट ल्याउने गरिएको छ । 'अब गर्मी सिजनदेखि हामी आफै चाहिने जडीबुटीको खेती गर्ने सोचमा छौ,' लखीरामले योजना सुनाए 'हामीले नचिनेर धेरै बिरुवा मासिदै गएका छन् । चिन्नेहरु नै सकिएपछि घाँस हो कि काम लाग्ने कुरा भनेर कसरी थाहा पाउने ?' लखीरामका पिता बडका मुर्मु सर्पको विषको व्यापार गर्थे । २०२४ सालमा ७० वर्षको उमेरमा दिवंगत बडका सर्पको विष लिएर कोलकाता पुग्थे । गाउँमा विरामीको उपचार गर्थे । उनको निधनपछि लखिरामले उपचारको कामलाई नै पेशा बनाए । अहिले छोराहरुले सघाउन थालेका छन् । भारतको जमसेदपुर, राची र दुम्कीका केही स्थानमा सञ्थालका यस्तै उपचार केन्द्रहरु भएको लखीरामलाई थाहा छ । त्यहाँ बेलाबखत हुने उपचारकको भेलामा अहिले छोराहरु प्रतिनिधित्व गर्छन् । जान्छन्, साथमा चाहिने ओखतीका सामान पनि ल्याउँछन् । 
सुनसरी-मोरङमा चार दर्जन हाराहारी अस्पताल र नर्सिङ होम भएपनि मुर्मु उपचार केन्द्र बिना कुनै प्रचार चलेको छ । 'मान्छेले विरामी नहुन आफ्नो दैनिकी र खानपानमा सुधार गर्नुपर्छ,' लखिराम भन्छन् 'फेरिएको समय छ, हामीले जीउ, हातगोडा र आँखालाई कसरत दिनुपर्छ, पेटले पचाउन सक्ने खानेकुरामात्रै खानुपर्छ ।' उनले दिने प्रेस्क्रीप्सनको बाया कोष्ठमा बार्नुपर्ने भनि लेखिएका छन् - लौका, फर्सी, अदुवा, बैगुन, लहरे सिमी, कालो दाल, खेसारी, रहर, बयममा राखेका अचार, कटहर पापड । रोगको लक्षणका आधारमा यीमध्येका कुनै कुरा बार्ने सल्लाहपछिमात्रै उपचार सुरु हुन्छ ।  
(२०६८ फागुन १३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)

Friday, February 24, 2012

'काठमाण्डु गएनन्, राष्ट्रिय भएनन्'


राजधानी खाल्डोले देशको शासन मात्रै चलाउँदैन, स्रष्टा चन्द्र भण्डारीका शब्दमा, साहित्यमा पनि यसले नाउँ चिनाउने मार्ग प्रशस्त गर्ने हैसियत राख्छ । जो त्यहाँ पुग्दैन, बस्दैन, उसले राष्ट्रिय चिनारी पाउन सक्दैन । 
सुशीला कोइराला नाटकघरमा सोमबार झापाली कवि केशव आचार्यको एकल कविता वाचनमा भण्डारीले भने, 'केशव काठमाण्डु गएनन्, त्यसैले राष्ट्रिय भएनन् ।' उनका भनाइमा निरन्तर साहित्य साधनामा तल्लीन आचार्यलाई पूर्वोत्तर भारतका नेपाली भाषीले राजधानीभन्दा बढी चिनेका छन् । 'उनी होचा छन् कदमा मात्रै,' भण्डारीले थपे, 'उनको साहित्यिक उचाइ धेरै अग्लो छ ।' 

सेतै कपाल र सेतै फ्रेञ्चकट दाह्री भएका ५७ वर्षीय आचार्य आसनमा केहीबेर अलि छटपटिए । आफ्नाबारे भण्डारी र चूडामणि रेग्मीले बताइरहँदा उनी कलम झिकेर कविताका पानामा टिक लगाएजस्तो गर्थे । थोरै मुस्काउँथे । यी दुई वक्तापछि भने मञ्च पूरै उनको भागमा आयो । 'निरुत्तर' कविताबाट उनले यात्रा थाले । संयमित र आत्मविश्वासी देखिएका कवि बोले-

प्रजातन्त्र

यो बत्तीको सलेदो पनि 
थोत्रो कपडाको धरो हालेको छु ।
जंगल, गाउँबाट टाढा टाढा-हुँदै गयो 
अँगेनामा, मकैका ढोड बालेको छु ।
यो छानो पनि,
तारामण्डल भइसक्यो
त्यसमा,
कतै जिन्दावाद कतै मुर्दावादले टालेको छु 
तिर्खा लाग्यो होला हजुरलाई 
एक बटुको मोही ख्वाउन सक्तिनँ
गोठमा थारो प्रजातन्त्र पालेको छु.... 



झापाको गरामनि बस्ने आचार्य तेस्रो स्रष्टा हुन्, जसलाई नाटकघरले एकल वाचनको निम्तो दिएको हो । संयोजक खेम नेपालीका अनुसार कृष्णभूषण बल र गायिका ज्ञानु राणापछि आचार्यलाई बोलाइएको हो । एकल कार्यक्रमको अभ्यास थालेको नाटकघरले तेस्रो मेलोमा पनि मनग्गे दर्शकश्रोता पायो । झापा र पूर्वोत्तर मोरङबाट दुइटा बस रिजर्भ गरी स्रष्टाहरू आएका थिए । सुनसरी र मोरङका साहित्यप्रेमीको भेलाले पनि कविलाई हौस्यायो ।

२४ कविता ठिक्क पारेका आचार्यले २० वटा आफैं वाचन गरे । उनकी जीवनसंगिनी शारदा, टंक विकल्प, अम्बिका कडरिया र खिलप्रसाद आचार्यले अरूमा  उनलाई सघाए ।
धरानस्थित ज्ञानचक्षुका कक्षा ९ का दृष्टिविहीन विद्यार्थी रमेश प्रसाईं कार्यक्रमका अर्का आकर्षण भए । उनले आचार्यको 'मेरा बा रंगलाल भन्नुहुन्छ' वाचन गरे । पाना लिएर पढी सुनाउने सहयोगी वाचकमध्ये उनले पाना लिएनन् । पढेनन्, सीधै फरर्र कविता वाचे ।
दुलाको आदेश खुला पालना हुने यो मुलुकमा
घर र दरबारलाई काँडेतारले छेकेर के हुन्छ ?
यस परिवेशमा,
बा रंगलाल भन्नुहुन्छ
ए केशे, तैंले कविता लेखेर के हुन्छ ?



मुक्तक, कविता र गजलका संग्रहहरू प्रकाशित गरिसकेका आचार्यका दुई कृति अब बजारमा आउँदै छन् । २०३२ देखि निरन्तर लागिपरेका उनले झापाबाट 'जनआन्दोलन' साप्ताहिक, 'विश्वदीप' र 'माभनु' नामक दुई साहित्यक मासिकमा सम्पादनको काम गर्दै आएका छन् । कार्यक्रम सकेर उनले भने, 'यो मेरो पहिलो एकल कविता कार्यक्रम थियो, धन्न म नर्भस 

चाहिँ भइनँ ।'



(प्रकाशित मिति: २०६८ फाल्गुन ११)