Saturday, February 22, 2014

एउटा मर्यादा सभा

'अन्न किन फाल्नु हुन्छ, तपाइलाई रुचेन ?  म खाइदिउँ ' एक गाँस जति नै खानेकुरा छाडेर प्लेट जुठेल्नामा राख्नै लाग्दा चम्मच खसिसकेको थियो । एकाएक जुठो प्लेट समातेर १४/१५ वर्षकी छोरीजस्ती केटीले सोधेका प्रश्नले ती अधबैंसे महिलालाई परेको अप्ठ्यारो अनुहारबाटै झल्किरहेको थियो । उनले आत्तिदै भनिन् 'होइन होइन मेरो जुठो किन खानु हुन्छ ? पर्दैन ।' अब ती किशोरी अलि कडा देखिइन् । भनिन् 'त्यसो भए अन्नको मान राख्नुस् । खुरुक्क खानुस् ।' महिलाले प्रतिवाद गरिनन् । बरु हातैले खाइन र, खाली परेपछि प्लेट बल्ल तह लाउन पाइन । 

करीव एक हजार मान्छे खाइरहेका थिए । हल्ला थिएन । सानो हल्ला कतै सुनिन्थ्यो भने अघिकी किशोरी र खाना खाइसकेर प्लेट राख्न खोज्ने बीचका त्यस्ता संवादमात्रै । म अनौठो कार्यक्रममा सरिक थिएँ- नाम थियो मर्यादा सभा । यो खान्कीको मेलो त्यही कार्यक्रमका अतिथिका लागि थियो । भारत राजस्थान विकानेरको गंगाशहरमा आयोजित यो सभामा विभिन्न भागबाट करीव २० हजार सहभागी आएका थिए । दिउँसो चार घण्टाको सभापछि आचार्य तुलसीको समाधिस्थल छेउको सामुदायिक विश्रामगृह आशिर्वाद भवनमा मेलाजस्तै थियो । जहाँ आयोजकले सहभागीका लागि खानाको प्रबन्ध गरेका थिए । त्यहाँ २५ रूपैया“को टिकट लिएर खाना पाइन्थ्यो । त्यहाँ पुग्नअघि बाटामा अन्य दुइ यस्ता खानाका स्टल थिए, जसका आयोजक आफ्ना सहयोगीसँगै उभिएर आउजाउ गर्नेलाई सितैंमा आफ्नो खाना-नास्ता खाइदिन आग्रह गरिरहेका थिए । प्लाष्टिक बोटलका पानी बाँडिरहेका थिए । यो सितैंको खाना खानेका लागि मुल आयोजकको जस्तो 'अन्न फाल्न नहुने' नियम थिएन । 
०००
संजय दुगडले झोला खोले । त्यसमा ५० वटा ढाका टोपी थिए । टोलीका सदस्य भेला गरेर उनले पूर्वनियोजित कार्यक्रम सुनाए -'सभा हलमा पस्दा सबैले ढाका टोपी लगाएको हुनुपर्छ । यो हामी नेपालीको पहिचान हो ।' अस्ति भर्खर संविधानसभा-२ को पहिलो बैठकका दिन मेरा आँखा झल्झली आए । विभिन्न जात समुदायको पहिचानका खातिर सभासदका पहिरनका तस्बिर जो अखबार र अनलाइनहरूमा देख्न पाइएको थियो । 
हामी नेपालभन्दा करीव २ हजार किलोमिटर टाढा थियौं । विराटनगरबाट महिला, बालबच्चा र बलियाबांगा गरि ६४ जनाको टोली आइपुगेको थियो । गंगासहरमा सप्तरी, झापा, पर्सा, इलाम, काठमाडौं र नेपालगञ्जलगायतबाट आएकाहरू मिसिँदा संख्या सय नाघेको थियो । यो मारवाडीको सभा थियो । सहभागीमध्ये ९० प्रतिशतको व्यवसाय उद्योग-व्यापार थियो । केहीले आफ्ना लागि आफै ढाकाटोपी लिएर आएका थिए । 'हामीले दौरा-सुरुवाल र कोट-टोपी लाउनु पर्छ भनेका हौ तर, तयारीमा समय पुगेन', दुगडले सुनाए 'त्यसैले ढाकाटोपीमात्रै भए पनि हामीलाई यसले नेपाली हुन् भन्ने फरक परिचय दिन्छ ।' गंगासहर मारवाडी बाहुल्य रहेछ । भाषामा उनीहरूलाई समस्या थिएन । तर, ढाकाटोपी लगाएर अगाडि नेपाली झण्डा लिइ कार्यक्रमस्थलमा पस्दा नेपाली टोलीले तालीको स्वागत पायो । बस्नका लागि अग्रस्थानमा छुट्टै ठाउँ पायो । टोली संयोजक मालचन्द सुरानाले आफ्ना कुरा राख्ने मौका पनि पाए । उनले भने 'सन् १५ को चतुर्मासमा हामी आचार्यलाई विराटनगरमा स्वागत गर्न आतुर छौ ।'
०००
जैन तेरापञ्थका ११ औ आचार्य महाश्रमणको यो कार्यक्रम जैनीहरूको धार्मिक समारोह थियो । सेता लुगामा बीचमा बसेका महाश्रमणका अघिपछि उस्तै लुगामा साधक र साध्वीहरू थिए । कतै फूलमाला र रंग थिएन । बेला बेला आचार्य बोल्थे । अतिथिलाई पनि पालो दिइन्थ्यो । सात्विक जीवनका बारेमा सुनेर बसेमध्येको ठूलो जमातका जीवनशैली आधुनिक देखिन्थ्यो । 
भारत आकारमा जति विशाल छ, त्यति नै धार्मिक विविधता पनि छन् । धर्मले डोर्‍याएको जमातलाई दल र नेताहरूले पनि शक्तिका रुपमा हेर्ने गरेका छन् । यसैको झल्को मिल्यो सभामा । तीन दिने  सभाको पहिलो कार्यक्रममा भारतका वित्तमन्त्री पी. चिदम्वरम आए । दोस्रो दिन विपक्षी नेता डा. मुरलीमनोहर जोशी, डा. हर्षवर्धन र प्रवेश वर्मा आए । उनीहरूले जैन श्वेताम्वर तेरापञ्थ धर्म र अहिंसाका पक्षमा आचार्य र अनुयायीका काम बारे आफ्ना भनाइ राखे । कतै कतै आफैसँग सम्बन्ध रहेका सन्दर्भ पनि सुनाए । दिल्ली विधानसभा सदस्य तथा भाजपाका युवा नेता प्रवेश वर्माको भनाइ अलि फरक थियो । उनले आफ्ना पिता र आचार्य तुलसीको सम्बन्धबारे सुनाएपछि भने 'यस्तो सभा हाम्रा लागि परलोकको व्यालेन्सीट ठीक राख्नका लागि हो । यहाको व्यालेन्सीट जसरी चले पनि सबैलाई धर्मले परलोकमा राम्रो ठाउँ चाहिएको छ ।'
चिदम्वरमले आचार्य तुलसीको चित्र अंकित भारतको ५ र २० रूपैयाका सिक्का अनावरण गरे । जैन धर्मका आचार्य तुलसी नवौं सन्त थिए । ८३ वर्षको उमेरमा उनी सन् १९९७ मा दिवंगत भएका हुन् । अहिंसाको सन्देश दिने जैन धर्ममा सन्तहरू मुखमा सेतो पट्टी लाएर साधना र प्रवचन गर्छन् । आफ्ना जीउका लुगाबाहेक एक जोर अरु बोक्ने । बेलुकी भोजन नगर्ने र खाली खुट्टा पैदल यात्रा गर्ने सन्तको जीवन आफैमा अनौठो भएको बुझन मिल्यो ।  दिनको ६/७ किलोमिटर पैदल यात्रापछि पुगिएको ठाउँमा विश्राम गर्ने, प्रवचन दिने र रात बिताएर अर्को गन्तव्यमा निस्कने आचार्यको टोली सवा सय हाराहारीको थियो । 
यसपटक आचार्य तुलसीको समाधिस्थल पनि रहेको गंगासहरले अलि लामो समय पाएको थियो । नेपाली टोलीका अगुवा मालचन्द सुरानाले भने 'आचार्य वर्षामा हिड्दैनन् । जहाँ पुग्छन् त्यहा चार महिना बस्छन् र प्रवचन दिन्छन् ।' भिक्षा मागेर भोजन जुटाउने भनिएका आचार्य महाश्रमणको बसाइ सरल थियो । बोली प्रभावशाली थियो भने शैली सरल देखिन्थ्यो । आचार्य जति सरल देखिन्थे, कार्यक्रम अपत्यारिलो रुपमा भब्य थियो । करीव अढाइ बिघा क्षेत्रफलमा सभाको पण्डाल लगाइएको थियो भने कार्यक्रम स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण चलिरहेको थियो ।
खेलकूद वा कन्सर्ट खिच्ने जसरी ट्रलीमा मुभी क्यामेरा तल-माथि गरिरहेका थिए । सभास्थलको प्रवेशद्धारदेखि समाधिस्थलसम्म मानौ मेला लागेको थियो । 
०००
कार्यक्रमले सहरका कुनै धर्मशाला, होटल र सरायहरू खाली थिएनन् । सितैं खाना खुवाउनेदेखि आगन्तुकलाई घुमाउने र किनमेल गर्ने विशेष व्यवस्था थियो । आगन्तुकलाई भाडामा टेम्पो र ट्याक्सीले नठगुन् भनेर उनीहरुका संगठनसँग सभाका आयोजकले सम्झौता गरेका रहेछन् । बजार जहाँ गए पनि टेम्पोमा ५ रूपैयाँ । ट्याक्सीमा मिटर वा आपसी सहमति । 
कार्यक्रमस्थल बाहिर बसमा एम्बुलेन्स थियो । पाँचवटा क्याविन भएको उक्त एम्बुलेन्समा स्वास्थ्य जाँच गराउनेको लामो लाम थियो । बसका कर्मचारी पालो मिलाई विरामीलाई भित्र जान दिंदै थिए । बसका इञ्चार्ज रोहित दुगडले भने 'हामी मुम्बइबाट आएका हौं । यसमा पाँचजना डाक्टर र हामी १२ जना कर्मचारी छौ । ट्रष्टले चलाएको हो ।' तीन वर्षअघि राजस्थानको अमेठबाट सञ्चालनमा ल्याइएको बस अनौठो अस्पताल थियो । स्वास्थ्य जाँच गर्ने, औषधि दिने गरेको बस आचार्यको कार्यक्रमस्थलमा पछिपछि हिडाइने उनले बताए । 'आचार्य आफ्ना साधकहरूसँग पैदल यात्रा गर्नुहुन्छ । हामी पछिपछि उहाँ बसेको ठाउँ पुग्छौं', उनले भने 'आचार्य बसुञ्जेलको अवधि बसेर विरामीलाई सेवा दिन्छौ । भित्र चश्मा बनाउने, एमआरआइ, एक्स-रे, प्याथोलोजी ल्याबका सबै सुविधा छन् ।' गंगासहरमा कार्यक्रम आयोजनाका लागि जिम्मेवारी लिएका हीरालाल मालुको अनुभवमा सन्तको सभालाई नगरपालिका, स्थानीय प्रशासन र दलहरूले पनि सघाउने गरेका छन् । 'यहाँ यो कुनै खास समुदायको मात्रै कार्यक्रम हो भन्ने छैन । सबैको सहयोग छ । त्यसैले ठूला पार्टीका नेताहरूले कार्यक्रममा आउन सहयोग मागिरहन्छन्',उनले भने 'आचार्यको स्वीकृतिमा मात्रै हामीले उनीहरूलाई समय दिन्छौ ।' चालु वर्षको चतुर्मासका लागि आचार्यको दिल्ली जाने कार्यक्रम तय भएको बताएका मालुले भने 'यो कार्यक्रमका लागि एक दर्जन समिति सक्रिय छन् । सबैको समन्वयले यति ठूलो कार्यक्रम गर्न सम्भव भएको छ ।'
०००
मारवाडी समुदायभित्र श्वेताम्वर, दिगम्वरलगायत विभिन्न सम्प्रदाय छन् । जैन श्वेताम्बर तेरापञ्थको यो कार्यक्रममा भाजपा नेता डा. मुरलीमनोहर जोशीले सम्बोधनका क्रममा भने 'जैन समुदायलाई अल्पसंख्यक भनिन्छ, यो तरिका मलाइ अलि मन पर्दैन । थोरै भएकाले यसो भनिएको होला ।' जोशीको भनाइको प्रत्युत्तरमा आचार्य महाश्रमणले भने 'मलाइ यस्तो लाग्छ कुनै पनि समुदायलाई अल्पसंख्यक भनिनु हुँदैन । बरु संविधानबाट अल्पसंख्यक भन्ने शब्द नै झिकिदिनु नि ।' 
सभामा भारतका विभिन्न ठाउबाट आएका सहभागीको जमात रिझाउन नेताहरू लागिपरेका देखिन्थे । आचार्य आफै मोबाइल बोक्तैन रहेछन् । उनको टोली पनि मोबाइल बोक्तैन रहेछ । तर, उनीहरुका कार्यक्रम तय गरिदिन संगठनका ठूला सञ्जाल सक्रिय थियो । यहाँ भेटिएका तेरापञ्थ युवक परिषदका राष्ट्रिय अध्यक्ष अविनास नाहरले भने 'महाराजका लागि हुने जुनसुकै कार्यक्रमका स्वयंसेवी हामी हौ । देशभरि हाम्रो संगठन छ । हामी सञ्चारमा मोबाइल एप्ससम्म पुगेका छौ ।' संगठनले २१ देखि ४५ वर्ष उमेरका युवालाई समेट्ने भएकाले यही जनशक्ति धेरै खटिएका हुने उनले सुनाए । भारतभरका ३ सय ३० परिषदमा चार हजार युवा संलग्न रहेको उनले बताए । 'सबैले आफ्नो श्रम र धन लगाउछन् अनि महाराजका कुरा सुन्छन्' उनले भने 'हाम्रा आचार्यलाई कुनै लालसा छैन । हामी यी महान मान्छेका फलोअर हौ ।' परिषदले नशामुक्तिका लागि अभियान पनि सञ्चालन गरेको उनले बताए ।
शायद यसैको प्रभाव हुँदो हो, कार्यक्रमस्थलको निकै पर परसम्म पनि चुरोट, खैनी र गुट्खा राखिएका थिएनन् । भारतमा त्यसै पनि मदिराको बेचबिखन नियन्त्रित छ । हामीकहाँ जसरी जथाभावी पाइँदैन । जहा पाइन्छ त्यो ठाउँ धार्मिक स्थलभन्दा निकै पर र चर्चाविहीन हुन्छ । खुला रुपमा बेचबिखन हुँदैन । मान्छे मातेर हिडेका भेटिंदैन । यहाँ त्यस्तै सादा जीवन थियो । 
००० 
मुलुकको पुरानो औद्योगिक सहर विराटनगरको सय वर्षअघिको इतिहासले भन्छ- मारवाडीका ६ परिवारलाई तत्कालीन बडाहाकिमले विराटनगर बोलाएका थिए । त्यसबेला मोरङमा ठूलो जंगल थियो । विराटनगर जुट मिल पनि बनिसकेको थिएन । मारवाडीका परिवारलाई २/२ विघा जमिन दिएर बसोबास गर्न लगाइयो । उनीहरूले धान-चामल र जुटको खदि बिक्रीका लागि गोला खोल्दै गए । ऋणको कारोबार थाले । शताब्दी वर्ष मनाउने तयारी गरिरहँदा अहिले उपमहानगरको बजार क्षेत्रमा मारवाडीकै घर धेरै छन् । 
सन् २०१५ मा विराटनगरमा जैन चतुर्मासा हुनेछ । आचार्य महाश्रमण पैदल यात्रा गर्दै आइपुग्ने छन् । नेपाली भूभागमा उनको चार महिने कार्यक्रम हुन लागेको यो पहिलो हुनेछ । समारोह आयोजनाका संयोजक मालचन्द सुराना भन्छन् 'सबै भाषाभाषी र संस्कृतिका नेपालीले आफ्नो पहिचान कायम गरि आफ्नो संस्कार मान्ने वातावरण बन्नु नै हामीले पनि खुलेर जिउने अवस्था आएको भन्ने बुझछु ।' संस्कारमा कानुनी संकुचन रहने हो भने नेपालमा मारवाडीले निर्धक्क बाँच्ने वातावरण नहुने उनको बुझाइ छ । 
चतुर्मासा आयोजनाका लागि करीव १० करोड बराबरका भौतिक पूर्वाधार निर्माणका काम युद्धस्तरमा जारी छ । सुरानाका अनुसार उक्त समारोहमा भारत र विभिन्न भागबाट करीव चार लाख श्रद्धालु आउने छन् । उनले भने 'उनीहरूलाई खान-बस्न र सजिलो गरि सभामा सहभागी गराउने जिम्मेवारी नेपाली मारवाडीको काँधमा छ ।' 
(कान्तिपुर कोसेलीको १० फागुन २०७० मा प्रकाशित सामाग्रीमा केही थपथापसहित ब्लगमा साभार)

Friday, February 21, 2014

झमक घिमिरे - विशिष्ट जीवन


मस्तिष्कको आदेश जब नसाहरूमा दौडन्छ, अनि अंगहरू काम गर्छन् । हात चलाउनु । गोडा चलाउनु । मुख बाउनु अनि मुखमण्डलले भाव व्यक्त गर्नु मस्तिष्ककै आदेश हो । जब मस्तिष्कको आदेश मान्न सक्ने अंगले काम गर्दैन, त्यसबेला डाक्टरहरू भन्छन्– ‘सेरेब्रल पल्सी अर्थात् मस्तिष्क पक्षाघातको अवस्था हो । फिजियोथेरापी गर्नुपर्छ ।’ फिजियोथेरापीले सुधार हुनु/नहुनुमा रोग र शारीरिक अवस्थामा निर्भर हुन्छ । सुधार हुन पनि सक्छ । नहुने सम्भावना पनि हुन्छ ।यही नहुने सम्भावनालाई जितेर उभिएको नाम हो– झमक घिमिरे ।
                                                                               ***
धनकुटा हुलाकका कर्मचारी कृष्णबहादुर घिमिरेले बिहे गर्दा पत्नी आशादेवी १४ वर्षकी थिइन् । चार वर्षपछि उनीहरूले छोरी जन्माए, २०३७ असार २१ गते । ‘डेढ वर्षपछि मात्र हामीले चाल पायौं, छोरीका हातगोडा नचल्ने रहेछन्,’ आमा आशादेवी भन्छिन्, ‘पाँच सन्तानमध्ये जेठी छोरी हो झमक ।’ सानोमा झमक अलि मोटी थिइन् रे । 
त्यसबेला धनकुटा जिल्ला अस्पताल बनिसकेको थिएन । विदेशी चिकित्सकको सानो मिसन थियो, जहाँ उपचार सेवा दिइन्थ्यो । डाक्टरले एक्सरेपछि ‘हाड लुलो छ, अरू केही समस्या छैन’ भने । आशादेवी भन्छिन्, ‘त्यसपछि हामीले धेरै ठाउ“मा देखायौं । धामीझाँक्री लायौं । वराहक्षेत्र लगेर कोसीको पानीमा चोपल्नेदेखि छिन्ताङदेवीको मन्दिरसम्म पनि पुर्यायौं ।’ नाम अनुरूपकी आमा आशादेवीले अरू दुई सन्तान जन्मिएपछि पनि ठुलिछोरी निको होलिन् भन्ने आश मारिनन् । हजुरआमा अप्सरादेवीले डालोमा राखेर उभ्याउँदा ठीक होलिन् भनेर अनेक सीप लाइन् । तर, झमकका आदेश हातगोडाले त्यसरी मानिदिएनन्, जसरी उनलाई सामान्यसरहको जीवनका लागि आवश्यक थियो ।
उनले भाइबहिनी जसरी स्कुल जान पाइनन् । घरैमा धुलोमा गोडा चलाएर लेख्ने कला आफैंले आफूमा भरिन् । आत्मकथालाई उनले ‘जीवन काँडा कि फूल’ कृतिमा पस्केकी छन् । २०६७ सालको चर्चित यो कृतिभित्र उनले आफू जीवित हुनुका कारक त खोतलेकी छन् नै, असमान्यबाट सामान्यतर्फको जीवनको आरोह–अवरोहलाई पनि खोतलेकी छन् ।  २०५७ यता ११ वटा साहित्यिक कृति सिर्जना गरिसकेकी झमक सुन्छिन् तर लेखेर बोल्छिन् । 
२०५३ तिर धनकुटा क्याम्पसका विद्यार्थी विदुर सुवेदीले रेडियो कार्यक्रम घटना र विचारलाई झमकका बारेमा लेखिपठाएका थिए । त्यसबेला उनी आफ्नो देब्रे गोडाले लेख्न जान्ने हुन थालेकी थिइन् । रेडियोले उनका बारेमा बोलिदिएपछि झमकको लेखनमाथिको रुचि समाचारहरू बन्न थाले । साहित्यिक कृति पढ्ने र लेख्ने गर्दागर्दै उनको पहिलो कविता संग्रह ‘संकल्प’ २०५५ मा विराटनगरका भीम कोइरालाले प्रकाशित गर्न मद्दत गरे । पहिलो संग्रहको ख्यातिलाई उनले लेखन–ऊर्जाका रूपमा लिइन् । साहित्यमा उनलाई हौसला दिने कार्यक्रम हुन थाले । २०५७ मा उनका चारवटा कृति प्रकाशित भए– कविता संग्रह ‘आफ्नै चिता अग्निशिखातिर’ र ‘मान्छेभित्रका योद्धाहरू’, क्वाँटी संग्रह ‘अवसानपछिको आगमन’ र लेखसंग्रह ‘सम्झनाको बाछिटाहरू’ । कविता संग्रह ‘नौलो प्रतिविम्ब’ (२०६०), कथा संग्रह ‘पर्दा, समय र मान्छेहरू’ (२०६२), निबन्ध संग्रह ‘बेमौसमका आस्थाहरू (२०६३), झमक घिमिरेका कविताहरू (२०६५), लेखसंग्रह ‘रात र भूतप्रेतहरूको सन्त्रास (२०६७) उनका अन्य प्रकाशित कृति हुन् ।
उनको घरमा अहिले पहिलो पुस्तक कविता संग्रह ‘संकल्प’  एक प्रति पनि छैन । अरु सबै जतन गरि राखिएको छ । त्यो पुस्तकको खोजी छ । 
***
धनकुटाको सल्लेरी वन छिचोलेर कान्लाको टाँडेघरमा पुग्दा भुइँ तलाको पहिलो कोठाभित्र लेखिका झमक भेटिइन् । कोठाका भित्ता प्रमाणपत्र र ती ग्रहण गर्दाताकाका तस्बिरले भरिएका थिए । र्याकभरि साहित्यिक कृतिहरू मिलाएर राखिएका रहेछन् । दक्षिण फर्किएको ढोकाबाट पसेपछि पश्चिमतर्फ पलङमा उनी केही लेखिरहेकी थिइन् । सबेरै उठेर चिया खाने, अनि पत्रपत्रिका पढ्ने उनको दैनिकी हो । यतिखेर उनी विशिष्ट नरनारीका ओजश्वी चिन्तनको संगालो ‘दिस आई विलिभ’को नेपाली रूपान्तर ‘मेरो विश्वास–मेरा मान्यता’ नामक पुस्तक पढिरहेकी छन् । विशिष्ट क्षमताकी धनी झमकलाई आमाको सहारा छ । नेपाली साहित्यको भण्डारका लागि ठूलो भर बनेकी झमक अहिले आफ्नै घर–परिवारका लागि पनि ठूलो सहारा भएकी छन् । 
उनका लागि विशेष प्रकारको शौचालय बनाइएको रहेछ । हिंड्नका लागि गोडाले रिमोट नियन्त्रण गर्न मिल्ने ह्विलचियर पनि उनलाई प्राप्त भएको छ । यद्यपि उनका घरबाहिर ह्विलचियर गुडाउन मिल्ने बाटो अझै बनिसकेको छैन । त्यसैले विशेष सुविधायुक्त यो ह्विलचियर थन्किएको छ ।
राजधानीमा उनको नाममा प्रतिष्ठान कार्यालय खोलिएको छ । भक्तपुरको बालकोटस्थित उक्त प्रतिष्ठान रहेको डेरामा बेलाबेलामा झमक लामै समय बस्छिन् । राजधानीका साहित्यिक कार्यक्रममा सहभागी हुनुपर्दा र उपचार गराउन आउनुपर्दा त्यो एउटा बास बस्ने सहज थलो भएको छ उनलाई । राजधानीको त्रिवि शिक्षण अस्पताल र मोडेल हस्पिटलका केही चिकित्सकले उनलाई उपचारमा सघाएका छन् । डा. वसन्त पन्त र डा. जगदीशप्रसाद अग्रवालको छुट्टाछुट्टै टिमले उनका बारेमा परिवारका सदस्यलाई सल्लाह दिने गरेका छन् । उपचारमा सघाउने गरेको छ । दुई वर्षअघि उनी निकै बिरामी परेकी थिइन् । त्यसबेला चलाइएको औषधि उनले जीवनभर दिनहु खानुपर्ने छ । परिवारका अनुसार उनले पाएका पुरस्कारका राशि उनकै बैंक खातामा जम्मा गरिन्छ । इटहरीमा उनको नाममा सात धुर जग्गा जोडिएको छ । 
आफ्नै नामको ख्यातिले यात्रा गर्दा पछिल्ला वर्षहरूमा केही सहज भएको छ । तैपनि घरबाट विराटनगर विमानस्थलसम्म गाडीको यात्रा सकसपूर्ण रहँदै आएको छ । उनी बाहिरका खानेकुरा हम्मेसी खान्नन् । लुगाफाटा र चाहिने सामान उनका लागि बेग्लै बोक्नुपर्छ । यी सबै जिम्मा आमाका काँधमा छन् । पानी खान उनलाई सजिलो हुने गिलासदेखि अन्य सामान ख्याल गरेर बोकिन्छ ।
छोरी, त्यसमाथि असामान्य क्षमताकी । कुनै बेला परिवारका जिम्मेवार सदस्यको हेयको सिकार बनेकी उनी आफ्नै पौरखले अवस्थालाई आफू अनुकूल बनाउन निकै हदसम्म सफल भएकी छन् । कुरा काट्नेहरूलाई अहिले झमकसँगको आफ्नो नाता र सम्झना सुनाउन पाउँदा गर्व लाग्छ । परिवारको आर्थिकस्तर उकास्न उनकै साहित्यिक लगावले मद्दत पुर्याएको छ । २०५५ मा कविताराम बालसाहित्य पुरस्कारबाट सुरु भएको उनको हौसला बढाउने अभियान जारी छ । उनले मदन पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएकी छन् ।
झमक कुनै बेला चित्र कोर्थिन् । कुची खेलाउन मन लाग्ने उनलाई ढाडको समस्या हुने देखिएपछि चिकित्सकले ‘त्यसो नगर्नू’ भने । चित्रकारिता बन्द छ । लेखन सुचारु छ । भन्छिन्, ‘कहिलेकाहीं मान्छेलाई यस्तो पनि हुन्छ, कुनै कुरा शब्दले व्यक्त गर्न सकिंदैन । त्यो व्यक्त गर्ने वातावरण हुंदैन । मलाई त्यतिबेला कुची, रंग, ब्रस समात्दा र रंगहरूसँग खेल्दा आनन्द लाग्छ ।’ उनको ख्याति पूर्वी पहाडको धनकुटाबाट सुरु भएर निकै फराकिलो बनेको छ । सबैजसो साहित्यिक कृति पढ्न रमाउने बानीसँगै लेख्ने बानी नियमित छ । ‘के हुन्छ झमकको कृतिमा ?’ प्रश्न गर्दा उनका बायाँ गोडाले कलम समाते र, लेखे– ‘मेरो कृतिमा जीवन हुन्छ । विचार हुन्छ, कला हुन्छ ।’ कविता र अन्य विधा कसरी लेखिन्छ भन्ने सोधाइमा उनले भनिन्, ‘कविता लेख्न मुड चाहिन्छ । अरू लेख्छु भनेर बसेपछि लेखिन्छ ।’

२०७० फागुन ७ मा कान्तिपुर विशेषांकमा प्रकाशित । यो रिपोर्ट विनोद भण्डारीको सहकार्यमा तयार पारिएको थियो ।
- See more at: http://www.ekantipur.com/np/2070/11/6/full-story-1/384413.html#sthash.o3r2qXql.dpuf

Sunday, February 16, 2014

Rice imports hurt domestic mills

BIRATNAGAR- Anjani Rice Mill’s sales of rice have plunged from 2,500 kg daily to barely 400 kg due to competition from Indian rice. According to Sandeep Agrawal, operator of Anjani Rice Mill, other rice mills in the region are having the same problem.
Anjani Rice Mill is located in Biratnagar, 3 km from the Indian border town of Jogbani. “We are now only doing bulk sales. Until last year, there was good demand in the retail market here. The situation has changed now,” said Agrawal.  
According to him, the customs office allows people to bring one to two sacks (100-200 kg) of rice from India for household consumption. Taking advantage of this rule, the local people have been importing hundreds of sacks of rice, hurting sales of domestic mills, he added.
Nepal Rastra Bank’s figures show that the country imported rice worth Rs 8.45 billion in the fiscal year 2012-13, up from Rs 4.26 billion in the previous year.
Likewise, the data of the Trade and Export Promotion Centre (TEPC) shows that Nepal imported paddy and rice worth Rs 18.7 billion in the first 11 months of 2012-13. Imports of all types of food products including rice, paddy, vegetables and other food stuff were worth close to Rs 100 billion as of the first 11 months of the last fiscal year, according to the TEPC.
Economist PK Jha said the situation of food imports in the country is disappointing as more than 80 percent of the population depends on agriculture for their livelihood. “A country dependent on farming importing food items worth Rs 100 billion is simply embarrassing,” said Jha
The government’s data show that Nepal, which imported 227,000 tonnes of food annually during the years 2005 to 2010, has been importing 300,000 tonnes of food from 2010.
Biratnagar, which is considered to be a fertile land for paddy production, itself imported 30,231 tonnes of paddy worth Rs 618.9 million and 48,927 tonnes of rice worth Rs 136.5 million in the last fiscal year. In fiscal 2011-12, imports amounted to Rs 69.9 million worth of paddy and Rs 425.1 million worth of rice
According to Raju Agrawal, who has been involved in the rice and paddy business for three decades, the food situation has become so alarming that there could be severe shortages if imports from India are stopped for even six months. “Two decades ago, we used to export paddy and rice to India. Now it is the other way around,” said Agrawal.
He added that if imports of rice and paddy from India were to be blocked, prices would skyrocket in the local market making them unaffordable to a majority of the people in the country. “To a larger extend, imports from India have helped us in controlling prices here,” he said.
Two years ago, India banned the export of rice to Nepal and Bangladesh to prevent possible shortages in the domestic market.
(Published @ TKP)