Monday, March 24, 2014

क्षयरोगको जोखिम

सप्तरीको बदगामाकी ५० वर्षीया महिला आइतबार कञ्चनपुरबाट सार्वजनिक बस चढेर यहाँ आइपुगिन् । स्वास्थ्य परीक्षणको केही पुर्जी बोकेकी उनलाई भेटेलगत्तै क्षयरोग निवारण संघका कार्यक्रम संयोजक घनश्याम कोइराला अत्तालिए । चिन्ता थियो, रोगले निकै ग्रस्त भइसकेकी उनले बसमा अरू कतिलाई सारिन् होला ? 'उनले सास फेर्दा नजिक भएकालाई हावाबाट संक्रमण हुने एकदमै जोखिम छ,' कोइरालाले भने, 'हामीसँग उनलाई राख्न खाली बेड छैन । फर्काउनु भनेको पनि अरूका लागि जोखिम बढाउनु हो । त्यसैले बरन्डामै बसाएका छौं ।' 
केहीअघि कञ्चनपुर स्वास्थ्य केन्द्रमा परीक्षण गराएकी ती महिलाका आफन्तको अत्तोपत्तो छैन । बेखर्ची भएर सडकमा मागी हिँड्ने उनी सामान्य मुखौटो लगाएर विराटनगर बसपार्कबाट अस्पतालरोडस्थित संघको उपचार केन्द्र आइपुगेकी हुन् ।

उनलाई प्रत्यक्ष निगरानीमा उपचार गराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कोइरालाले भने, 'क्षयरोगीका हकमा यो एउटा प्रतिनिधि घटना हो । यस्ता एक संक्रमितले वर्षमा १० देखि १५ जनालाई रोग सार्ने खतरा हुन्छ ।' जिल्लामा बर्सेनि १ हजार ४ सय नयाँ रोगी थपिने गरेको जनस्वास्थ्य, मोरङको तथ्यांक छ । पूर्वाञ्चल स्वास्थ्य निर्देशनालयका क्षय-कुष्ठ अधिकृत ध्रुव उरावका अनुसार यो वर्ष मात्रै पूर्वका १६ जिल्लामा २ हजार ८ सय ४८ रोगी पहिचान भए । यो अघिल्लो वर्षको भन्दा ३२ जनाले बढी हो ।

हावाबाट सर्ने भए पनि एकदमै त्रास मान्नु नपर्ने उनी बताउँछन् । 'रोगीले हाच्छ्युँ गर्दा हावाबाट सर्ने जोखिम हुन्छ तर प्रतिरोधात्मक क्षमता कम भएकाले मात्रै सचेत भए पुग्छ । जोसुकैलाई सर्छ भन्ने छैन,' उनले भने । 
कोइरालाका अनुसार क्षयरोग संक्रमणको पहिलो अवस्था जोखिमको हुँदैन । 'थाहा भएन र वर्ष बित्यो भने त्यो अलि जोखिमको दोस्रो अवस्था हो,' उनले भने, 'त्यस्तालाई हामी यहीं राखेर २४ महिनासम्म उपचार गर्छौं ।' उनका अनुसार यस्तो आवधिक गृहको सुविधा पूर्वक्षेत्रमा विराटनगरमा मात्रै हो । अन्यमा भने परीक्षण र डट्स (प्रत्यक्ष निगरानीमा उपचार विधि) उपलब्ध छ । उरावका अनुसार अब पूर्वका सात जिल्लाका ९ ठाउँमा 'जिन एक्स्पर्ट' प्रविधिबाट क्षयरोगीको परीक्षण गर्न थालिएको छ । 'बेलैमा रोग पहिचान भए उपचार सम्भव छ,' उनले भने, 'बिरामीले आफ्नो खर्च गर्नु पर्दैन ।'
संघको आवधिक गृहले ५ वर्षयता यहाँ उपचार गरिनेलाई घरेलु उद्यम, सवारी चालक, मोबाइल, साइकल मर्मत, सिलाइ-बुनाइलगायत तालिम र निको भई र्फकने बेलामा सीपसम्बन्धी काम गर्ने सामग्री पनि दिने गरेको छ । अहिलेसम्म करिब ८० जना निको भई तालिम लिएर घर फर्किएका छन् । नर्वेजियन दातृ निकायको सहयोगमा संघको विराटनगर कार्यालयमा १० शय्याको आवधिक गृह सञ्चालित छ । 
उपचारपछि घर फर्केर टेलरिङको काम गरिरहेका सप्तरी जगतपुर १ का राजकुमार यादवले विश्व क्षयरोग दिवसको अघिल्लो दिन आइतबार भने, 'म आठ महिना उपचारमा बसें । घर आउने बेला पाएको सिलाइ मेसिनले गुजारा गरेर खाएको छु ।'

साभार ; कान्तिपुर दैनिक ।  (  'सर्ला है क्षयरोग ! ' शीर्षकमा  २०७० चैत १० मा प्रकाशित )

दस हजार क्षयरोगी जचाउनै जाँदैनन्
काठमाडौं- सरकारले वर्षौंदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार निःशुल्क दिएपछि सेवाबारे उचित जानकारी नहुँदा प्रत्येक वर्ष दस हजार क्षयरोगी उपचारको दायरामै आइपुग्दैनन्। सरकारले सेवाबारे जानकारी दिनकै लागि सञ्चार माध्यमबाट विज्ञापन, अन्तर्क्रिया र प्रचारप्रसारका नाममा करोडौं खर्च गरिरहे पनि सेवाको दायरामा नआएकालाई समेट्न सकेको छैन ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तले श्वासप्रश्वास र हावाको माध्यमबाट सजिलै सर्ने क्षयरोगका बिरामी ठूलो संख्यामा समुदायमै हराउनुले क्षयरोग निवारण नेपालका लागि ठूलो चुनौती बनेको बताए । 
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजारलाई क्षयरोग हुन्छ। जसमध्ये ३५ हजार ५ सय हाराहारी मात्रै सरकारी उपचारको दायरामा छन्। 'छुटेका दस हजार क्षयरोगीको खोजी नगरे निको नपर्दासम्म अरु ३५ हजारलाई पनि घटाउन सकिन्न,' डा. पन्तले भने।
चिकित्सकका अनुसार उपचारको दायरामा नआउँदा बिरामीले समुदायमा तीव्र रुपमा रोग फैलाउने भएकाले रोग निवारणका लागि प्रत्येक बिरामीलाई उपचारको दायरामा ल्याउन सकेमात्र रोग निवारण सम्भव हुन्छ। विज्ञका अनुसार एक जना क्षयरोगीले रोग थाहा भएर मृत्यु हुने समयसम्म ग्रामीण क्षेत्रमा १० जना र सहरी क्षेत्रमा १५ जनालाई संक्रमण सार्छ । सरकारले देशभरका ४१ हजार केन्द्र र उपकेन्द्रमार्फत सम्पूर्ण औषधि निःशुल्क वितरण गर्नुका साथै ५ सय ५३ माइक्रोस्कोपिक सेन्टरबाट यसको परीक्षण हुन्छ। सरकारले प्रत्येक वर्ष क्षयरोगका नाममा १ अर्ब ४५ करोड खर्च गर्छ। जसमध्ये ७५ करोड औषधि उपचारमा मात्र खर्च हुन्छ। 
डा. पन्तले केही जिल्लामा माइक्रोस्कोपिक सेन्टर कम हुनु, स्वास्थ्य क्षेत्रका व्यवस्थापकीय कमजोरीसँगै समुदायमा रोग र निःशुल्क उपचारबारे पर्याप्त ज्ञान कमीले पनि सबै बिरामी उपचारमा नआएको हुनसक्ने बताए।
'लगातार खोकी लागे चुरोटले, छाती दुख्दा कामको चापले र दुब्लाउँदा गरिबीले भन्दै घरैमा बस्ने चलन छ,' उनले भने, 'यस्ता लक्षण क्षयरोगको हुनसक्छ, तुरुन्त स्वास्थ्य संस्था गएर जचाउने र औषधि खाए रोग निको हुन्छ भन्ने जानकारी नै कमी छ,' उनले भने । उनले सहरी क्षेत्रमा केही मानिसले निजी अस्पतालबाट उपचार लिनसक्ने र त्यो पनि सरकारी उपचार प्रणालीमा नआएको बताए । 
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह जटिल भएपछि मात्र उपचारमा आउने भएकाले त्यतिबेलासम्म धेरैलाई सरिसकेको हुने बताए । 'उपचारमै आउँदा पनि शंकास्पद लक्षण देखिनासाथ उपचारमा आउनू भन्ने सन्देश दिन जरुरी छ,' डा. साहले थपे, 'लगातार खोकी लागे शंका गर्नुपर्छ, खकार जाँचबाट परीक्षण हुन्छ, उपचार निको हुने र निःशुल्क उपचार सम्भव छ भन्ने सन्देश मात्र सबैमा पुर्यानउन सके रोक निवारण सजिलो हुन्छ,' 
गत वर्ष ३५ हजार ४३८ बिरामीमध्ये १५ हजार ९९ ले अरुलाई सार्ने खालको फोक्सोको क्षयरोग पाइएको थियो। बाँकी शरीरमा अन्य भागमा लाग्ने तर नसर्ने क्षयरोग थियो। केन्द्रका अनुसार हाल पत्ता लाग्ने दर ७८ प्रतिशत र निको हुनेदर नेपालमा ९० प्रतिशत छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगबाट ५ देखि ७ हजारले ज्यान गुमाउँछन् ।
हाल क्षयरोगको नियमित औषधि उपचार गरेर निको नभई पुनः बल्झेका र त्यसमा एचआइभी संक्रमणले बर्सेनि बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडिआर टिबी) का बिरामीको संख्या बढिराख्नु चुनौतीपूर्ण भएको केन्द्रको भनाइ छ। चिकित्सकका अनुसार अहिले उपचारमा नआएका केही मृत्यु हुने, केही क्रोनिक हुने, उपचार छोड्ने, केही एचआइभी, कानुनले बाध्य बनाउने बहस, प्राकृतिक औषधि टिबीको ब्याक्टेरियाले नयाँ स्वरुप लिन्छ ।
अहिले पनि नेपालमा झन्डै आधा जनसंख्यामा क्षयरोगका किटाणु भएको अनुमान गरिएको छ । तर, ती किटाणुले मानिसलाई अन्य हिसाबले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा आक्रमण गर्छन् । फोक्सोमा क्षयरोग हुनेको संख्या ८० प्रतिशत हुने अनुमान गरिएपछि अन्य अंग ग्रन्थी, पेट, आन्द्रा, लिंग, हड्डी, जोर्नी, छाला, आँखा, मुटु, पाठेघर, मिर्गौला र मस्तिष्क आदिमा पनि क्षयरोग हुन्छ । फोक्सोको क्षयरोग भए लगातार तीन हप्ता खोकी लाग्ने, खकारमा रगत देखापर्ने, छाती दुख्ने, श्वासप्रश्वासमा अप्ठेरो हुने र अन्य जुनसुकै क्षयरोग भए दुब्लाउँदै जाने, खान मन नलाग्ने, पेटको क्षयरोग भए पेट दुख्ने भएको अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा पुगेर खकार परीक्षण गर्नुपर्छ । 
चिकित्सकका अनुसार क्षयरोगीले खोक्दा, थुक्दा, हाछ्युँ गर्दा र कुरा गर्दा उसको फोक्सोभित्र रहेका असंख्या किटाणु खकारको माध्यमबाट बाहिर निस्कन्छ, र निरोगी स्वास्थ्य मानिसले श्वास लिँदा ती किटाणु फोक्सोभित्र प्रवेश गरेर यो रोग लाग्छ। फोक्सोमा भएको क्षयरोग तुरुन्त सर्छ ।
साभार ; नागरिक दैनिक, २०७० चैत १० 

Saturday, March 22, 2014

थारु गाउँको होम-स्टे

गैंडा बाली चर्न आएको थियो । त्यो बलिष्ठ जन्तु देखेर थारुको छोरो डराएन । सोच्यो - 'यसलाई पुच्छर समातेर पछार्छु । डराएर भाग्छ ।' गैडा भागेन । बरु त्यसले खेद्यो । शोभाराम थारु खेतका आलीमा पछारिए । त्यसपछिका दइ दशकमा उनलाई गैंडाका त के कुरा, कुनै पनि वन्यजन्तु राम्रो लागेन । 
फागुन तेस्रो साता उनको गाउँ नवलपरासीको अग्यौली बाघखोर टोलमा भेट्दा ५० वर्षीय थारुले भने 'अब मलाई गैंडामात्रै होइन वनका सबै जन्तु मन पर्छ । उनीहरू ज्युँदो रहनुपर्छ । हामीले जोगाउनु पर्छ जस्तो लाग्छ ।' सकारात्मक सोचाइ आउनुका केही वर्षअघिसम्म न उनलाई वन्यजन्तु मन पर्थे, न त घर छेवैको घना वन । बस्ती छेउमा वन रहिरहे जनावरले बाली खाइरहन्छन् । द्वन्द्व भइरहन्छ भन्ने बुझेका उनका लागि गैंडाको सामना जीवन रहेसम्म सम्झीरहने घटना भएको छ । 
घरको बरण्डामा बैशाखी अड्याएर बात मार्दा उनले धेरैपल्ट आफ्नो दाँया तीघ्रा हेरिरहे । गैंडाले उनलाई कुल्चिएको थियो । चोट यति गहिरो थियो, एउटा खुट्टा नै गुम्यो । वन्यजन्तु हेर्न आउने पर्यटक रिझाउन खोलिएको टाइगर टप्स रिसोर्टमा उनी 'कुक' थिए । घर आएका बेला घटना भयो । उपचारका लागि उनलाई भरतपुर अस्पताल लगियो । चिकित्सकले खुट्टा काट्नु पर्छ भने । उनले मानेनन् । राजधानीको त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ पुगेर पनि खुट्टा जोगिएन । हातमा बैशाखी आयो । घाइते कर्मचारीको उपचार खर्च रिसोर्टले तिरेपनि उनी पहिले जसरी खट्न र काम गर्न नसक्ने भए । त्यसपछिका दिन सहकर्मीलाई अराउपराउको हलुका जिम्मेवारी लिएका आशाराम अहिले जागिरबाट रिटायर्ड भएका छन् । 
'हाम्रो गाउमा होम-स्टे सुरु भएपछि पाहुना आउन थालेका छन्', उनले भने, 'टुरिस्ट खानबस्न मात्रै आउने होइनन् । यहाको जंगल, अनि यहाँ देखिने गैंडा, बाघ र चरा हेर्न आउँछन् । यो जोगियो भने त हेर्न आउने हुन् नि ।' चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज जोडिने चितवन, नवलपरासी, पर्सा र मकवानपुरका गाविसका भुभाग समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बनाइएको छ । मध्यवर्तीका ३७ गाविसमध्ये नारायणी नदि पारीको एउटा हो शोभारामको अग्यौली । 
उनको आगनमा गत बैशाखमा एउटा नयाँ झुप्रो थपियो । दुइ कोठा, भित्रै बाथरुम र शौचालय भएको झुप्रो । पाहुना आए यसमा वास बस्न पाउँछन् । उनकै भान्सामा पिर्कामा बसेर खाना खान्छन् । थारु बहुल गाउँका २० घरमा सुरु भएको होम-स्टेमा कसलाई कता वास बसाउने भन्ने समितिले तोक्छ । पुर्जी काट्छ । पाहुनाले तिर्ने शुल्कको १० प्रतिशत सेवा शुल्क काटेर ९० प्रतिशत रकम शोभारामजस्ता घरमुलीको हात पर्छ । 
नारायणघाटबाट बुटबल जाने बाटोमा ३६ किमि अघि बढेपछि डण्डा आइपुग्छ । डण्डाबाट पूर्व-पश्चिम राजमार्गलाई छाडेर करीव आठ किलोमिटर दक्षिण-पूर्व लागेपछि बाघखोर आइपुग्छ । यो नै शोभारामको गाउँ हो । 
०००
परम्परागत पोशाक र गहनामा सजिएर थारु महिला पाहुनाको स्वागत गर्छन् । आफ्नै भाषाका नाचगानसहितका सांस्कृतिक कार्यक्रम पनि देखाउँछन् । 'हामीलाई सुरु सुरुमा निकै गाह्रो परेको हो', होम-स्टे समितिका म्यानेजर धनिराम गुरउले भने, 'घर ईटाले बन्न थाले । लुगा बजारका लाउन थालियो । टेबलमा बसेर खान थालियो । कता गए हाम्रा लुगा कता पुगे ती पुराना गहना ।' होम-स्टे यहाँ गत जेठदेखि सुरु भएको हो । परम्परा झल्काउने पुराना कुरा जुटाएपछि बल्ल अलि सजिलो भएको उनले सुनाए । 'हामीले अलि पर गाउँबाट गीत गाउन र नाच्न जान्नेलाई झिकायौं । रहर गर्ने धेरैले सिके', उनले भने 'अहिले पनि हामी हाम्रो पुराना संस्कारसँग जोडिएका कुरा खोज्दै भेला पार्दैछौ ।' 
टोलको नाम राणाकालीन सिकार परम्परासँग जोडिएको छ । उनले भने 'त्यो जमानामा यहाँको जंगलमा सिकार गर्न आएकाहरूले बाघ पक्रेर यहाँ खोर बनाइ थुन्ने रहेछन् । हामीले पनि कथामात्रै सुन्न पायौ ।' अब वन्यजन्तु सिकारको जमाना छैन । उनीहरुलाई जोगाएमात्रै आम्दानी हुन्छ । गुजारा राम्ररी चल्छ । वन्यजन्तुका लागि वन जोगाउनु पर्छ । वन जोगाउन आयआर्जनका अन्य विकल्पको खोजी गर्दै रोजगारी र इन्धनको विकल्प पहिल्याउनु पर्छ भन्ने चेत आएको छ । यही खोजीको क्रममा थपिएको नयाँ कार्यक्रम होमस्टे पनि हो । 
निकुञ्ज र संरक्षित क्षेत्र जहाँ जहाँ छन्, त्यहाँको व्यवस्थापन र स्थानीयवासीको सम्बन्ध बिग्रिन्छ । यसको कारण व्यवस्थापन पक्ष वन्यजन्तु र वनको सुरक्षामा कानुनका भाषा बोल्छन् । स्थानीयहरू आफ्नो परम्परागत घाँसदाउरा, चरिचरन र आयआर्जनको क्षेत्रमाथि अधिकार दावी गर्छन् । संरक्षित घोषणा गरिएको क्षेत्रमा तैनाथ सरकारी कर्मचारी र सुरक्षाकर्मीसँग चिसोपन रहिरहन्छ । वनमा गएर काठ-दाउरा ल्याए कार्वाहीमा परिने, वनका जन्तुले बाली खाइदिने र जीउज्यानकै जोखिम भइरहने अवस्था नै द्वन्द्वका कारण हुन् ।
'सामुदायिक वन, सीप सिकाउने कार्यक्रम, सहकारी, उपभोक्ता समिति र होमस्टेलगायतका गतिविधि त्यही चिसोपन हटाउनका लागि हो', चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष यमबहादुर परियार भन्छन् 'जो पर्याप्त छैन तर, केही नहुनुभन्दा थोरै भएपनि केही काम भएको संकेत गर्न प्रशस्त छन् ।' 
मुलुकका सबैजसो संरक्षित क्षेत्र छेउछाउ जहाँ यस्ता समिति गठन भएका छन्, त्यहा द्वन्द्व समाधानका काम पनि भएका छन् । संरक्षित क्षेत्रले गर्ने आम्दानीको आधा हिस्सा यस्ता समितिमा जान्छ । समितिले स्थानीयको आवश्यकताअनुसारका विकासमा टेवा पुर्‍याउन कार्यक्रम बनाइ खर्च गर्छ । स्थानीयको दैनिकीसँग जोडिएका क्षेत्रमा वनको व्यवस्थापन उनीहरुकै हातमा पुगेको छ । 'पहिलो कुरो हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ पछि नया ऐन आएकै छैन', उनले भने 'जल, जमिन र जंगललाई सुरक्षा जनताले दिने नै दिगो हुन्छ । त्यसैले जनतालाई रिझाउने कार्यक्रम सधैं चाहिन्छ ।' कानुनको भाषा परिवर्तनलाई आत्मसात गर्नका लागि ऐन परिमार्जन पहिलो आवश्यकता भएको उनको बुझाइ छ । 'द्वन्द्व घटाउने कार्यक्रम नआएका होइनन तर, कतिपयका कार्यान्वयन फितलो भए', उनले  भने 'कतिपय हाम्रा अपेक्षाअनुसारका छैनन् । पहिलो कुरो नीति बनाउने सवालमै सरकार गम्भिर भएको छैन ।' 
संरक्षित घोषणा गरिएका क्षेत्रको सुरक्षाका लागि स्थानीय बासिन्दालाई रिझाउनुको विकल्प छैन । चितवनमा सौराहा धेरैपटक पुगेकाहरू निकुञ्ज क्षेत्र घुम्न नयाँ बाटो खोज्छन् । त्यस्ताका लागि नवलपरासीको अग्यौली उपयुक्त छ । यो क्षेत्रबाट पनि पर्यटकले गैंडा, बाघ र चराचुरूङ्गी अवलोकन गर्न सक्छन् । सामुदायिक वनले यसको व्यवस्था मिलाएको छ । थारुगाउँको होमस्टेबाहेक पनि यहाँ निजी क्षेत्रका दुइवटा गुणस्तरीय रिसोर्ट छन् । 
०००
'मेरो झोलामा जहिल्यै एउटा किताब हुन्छ', चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत कमलजीत कुँवरले भने 'त्यो किताब भनेको नेपालका चराहरु भन्ने हो ।' बाघखोरमा लाटोकोसेरो तथा हुचिल महोत्सवको अवसर पारेर आएका उनले विस्तारै आफूलाई चरा हेर्ने, चिन्ने र उनीहरुका गतिविधिमाथि रुची बढेको बताए । 'नेपालमा झण्डै आठ सय प्रजातिका चरा पाइनेमा चितवनमा मात्रै ५ सय ७५ थरि रेकर्ड भएको रहेछ', उनले भने, 'चराका कुरा जति बुझयो त्यति रमाइला छन् । चिन्ताका कुरा मानवीय हस्तक्षेपले उनीहरूको बसाइँमाथिको बढदो संकट कसरी घटाउने भन्ने हो ।' 
चितवन बाघ र गैंडाका लागि चर्चित छँदैछ । यो निकुञ्ज सजिलै यी जन्तुको अवलोकन गर्न सकिने भएर मात्र चर्चामा आएको होइन । यहाँ लगानी आएको छ । निजी क्षेत्रका होटल र रिसोर्टका आँखा परे । राजधानीबाट नजिकै सडक दूरिको क्षेत्र भएकाले मुलुकभरिका अरु संरक्षित क्षेत्रका तुलनामा सरकार र पर्यटकको ध्यान तानेको छ । उतिकै शोधकर्ता र जैविक विविधताको विभिन्न पाटोमा कार्यक्रम चलाउनेको ध्यान पनि खिचेको छ । 
भ्रमणमा आएकी विश्व वन्यजन्तु कोष (डब्ल्यु डब्ल्यु एफ) की अध्यक्ष युलाण्डा काकाबेसले भनिन् 'जैविक विविधता संरक्षणका लागि समुदायमा आधारीत विकास कार्यक्रम नै आवश्यक छ । समुदायलाई संरक्षित क्षेत्रबाट बन्देजहरू लगाउनुभन्दा आयआर्जनका कार्यक्रम दिन सकियो भने उनीहरूले नै संरक्षण गर्ने रहेछन् भन्ने उदाहरण यो थारु गाउँ पनि हो ।' कोषले दिएका विभिन्न कार्यक्रममध्ये होमस्टेका लागि घर बनाएकाहरूले ५०/५० हजार मात्रै पाएका छन् । करीव ३ लाख ५० हजार खर्च गरिएको घर निर्माणको लगानी स्वयं घरधनीको हो । अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मर्दनियाका अनुसार अमलटारी उपभोक्ता समिति गुन्द्रही ढकना सामुदायिक वनअन्तर्गत पर्छ । यहाँ अग्यौली, कुमारवर्ती र कोल्हुवा गाविस गरि १ हजार ९ सय ९२ घरधुरी उपभोक्ता छन् । 'हामीले कार्यक्रम विभाजन गरेका छौ । होमस्टेका २० वटा घरमात्रै पुरा कार्यक्रम होइन', उनले भने, 'बोटेका लागि माछापालनको पोखरी, मुसहरका लागि तरकारी खेतीलगायतका धेरै कार्यक्रम छ ।'
सबै कार्यक्रम वैकल्पिक क्षेत्रबाट आयआर्जन बढाएपछि वन संरक्षणमा समुदायको चेतनास्तर बृद्धि हुन्छ भन्नेमा लक्षित छ । उनी भन्छन् 'तीन वर्षअघिसम्म पनि संरक्षणका कुरा गर्दा मलाई धेरैले उडाउँथे । अहिले धेरै खालका कार्यक्रम ल्याइएपछि सामुदायिक वनले मात्रै आम्दानी बढाएन, घरघरसम्म आयस्रोत बढेको छ ।' अग्यौली आएर यहाँको वनमा जो कसैले बाघ, गैंडा र चरा हेर्नेमात्रै होइन समुदायमा आधारीत कार्यक्रमको नमुना बुझेर जाने गरेको उनले बताए । 

०००
पोखराबाट आएका रवि आचार्यले थारु होमस्टेको फरक अनुभव गर्न पाएको बताए । 'घरमा पाहुना राखेर आफ्नै संस्कारको स्वागत र खानपानको व्यवस्था सजिलो होइन । तर, यहाँ व्यवस्थित रहेछ', उनले भने 'आएर बस्न खान र जंगल सजिलोसँग घुम्न पाउदा मलाई चितवनको सौराहा गएभन्दा फरक अनुभव भयो ।' 
सबै घरहरू अगाडि होमस्टेका नम्बर छन् । पाहुनाको स्वागत परम्परागत पोशाकमा गरिन्छ । साँझ परम्परागत गीत सुनाइन्छ । गुन्द्रही ढकना सामुदायिक वनका अध्यक्ष देवनारायण महतो भन्छन् 'संरक्षणका कार्यक्रम नारामा रमाइला लाग्दा रहेछन् । जबसम्म समुदायले आफूलाई यसबाट कस्तो लाभ छ भन्ने बुझ्दैनन् तबसम्म संरक्षण सजिलो छैन ।' थारुको परम्परागत संस्कारमा मिसिएको आधुनिकताबाट मुल संस्कृतिको खोजी गर्ने अभियान होमस्टेबाट सुरु भएको उनले बताए । 'अहिले हाम्रा तरकारी, कुखुरा, खसी र माछा बेच्न अरुतिर लानु पर्दैन', उनले भने 'हाम्रो वनमा डुलेर पर्यटकले तिर्ने शुल्क समितिमा जम्मा हुन्छ । आयआर्जनका गतिविधिले अरु विकासे कार्यक्रमको बाटो खोलेको छ ।' 



(८ चैत २०७० को कान्तिपुर कोसेलीमा प्रकाशित)
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=316974

Sunday, March 2, 2014

भैगो म कविता लेख्तिन


कर नगर्नुस् कविज्यु 
भाषा खेलाउनु 
विरह चलाउनु
हँसाउनु अनि शब्दजालले रुवाउनु 
त्यो कला पटक्कै जान्दिन 
मलाइ क्यामेरा भए पुग्छ 
अलि बढि फोटा अटाउने मेमोरी कार्ड
र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ
कसरी भ्याउला कवितामा बर्कत !
त्यो तपाइकै जिम्मा भो 
भैगो म कविता लेख्तिन ।


आँगनमा भँगेरा आएका छन
तिनलाई हेर्छु
छर्न ठिक्क पारेका कनिका हेर्छु
यो क्रंक्रिटको जंगलभित्र 
हिजोआज कहाँ छ होला गुँड  
बाटामा ठूलो होर्डिङ बोर्ड छ
सिमेन्टले देश बनाउछ रे
काठको विकल्प आयो 
स्टीलका झयाल-ढोका पाइन्छ रे 
फुसको छानो 
काठका घर 
अलिकति करेसाबारी
बारीमा दुइचार बुटा रुखविरुवा
मैले किन नदेखेको होला
अस्ति पहाडको होटेलमा सोलर प्यानल देखेथें
क्रंक्रिटको जंगल पहाड पनि चढेछ
त्यहाँ बत्तीको मास्तिर गौंथलीका गुँड थ्यो
मनुवाको फेरिएको वास
गौथली कहाँ जाउन
बाँच्न सिकेछन् 
तर, अचम्म
गुँडको नक्शा कसले पास गर्दो हो ।।


परिवर्तन कसरी आत्मसात हुँदो हो 
म जान्दिन 
भँगेराले गौथलीबाट सिके कि 
वास पाउने ठाउँ पहिल्याए कि 
उनीहरु चिरविर गर्छन् 
भाषा बुझदिन 
एकछिन है,
मलाई तस्बिर खिच्नु छ 
अलिकति कनिका हुर्‍याउँ 
टिपनटापन गर्नेछन
क्लिक क्लिक पारौं 
साँच्चै यो कनिका कसले फलाए होलान् 
उनीहरुका पेटले के खाए होलान् 
अखबारमा खबर थ्यो
धानको बिउ पाइएन 
खडेरी लाग्यो 
मल पाइएन 
खेतमा खियाउने नङ्ग्राहरू 
हिजोआज फेसबुकका च्याटमा भेट्छु 
भन्छन् -काम पाइएन खाडी आइपुग्यौ 
न भाषिक श्रृंगार जान्दछु 
न त विषय चयन 
कर नगर्नुस् 
माफ पाउँ कविज्यु
मैले विषय भेटिँन
मैले भाषा जानिन
आफै भन्नुस्
म कसरी कविता लेख्न सक्छु ।।  

१८ फागुन २०७०विराटनगर, मोरङ

Saturday, March 1, 2014

चमेराको इन्टरकोर्स

एउटा अर्को गर्दै धेरैले लगातार खेदन थाले । मानौ कमेन्टको बाढी आएको हो । चरा समूहको फेसबुक पेजभित्र मैले अमीश पटेलको फोटो देखेपछि गरेको कमेन्ट तेस्रो नम्बरमा थियो । भारत गुजरातको जामनगरका पटेल लामो समयदेखि वाइल्डलाइफ फोटोग्राफीमा छन् । उनले इन्टरनेटको सामाजिक सञ्जालभित्रको चरा समूहको पेजमा त्यस दिन चमेराको फोटो अपलोड गरेका थिए । समूहमा पनि पुरानै सदस्य हुन् । तर, चमेरा चरा होइन, त्यसैले विरोधका कमेन्ट आए । पेजमा 'एडमिन' (म्यानेजर) ले पनि उनलाई फोटो हटाउन आग्रह गरेर लेखे । केही घण्टापछि त्यो फोटो हटाइयो । 
पटेलले नबुझेर राखेका थिएनन् । मलाइ लाग्यो उनले टेष्ट लिएका थिए । समूहका बग्रेल्ती सदस्यमा शायद उनी गम्भिरता छ कि छैन भनेर हेर्न चाहन्थे । सामाजिक सन्जालको समुह चराका तस्बिर खिच्नेहरूको समूह अलि फराकिलो प्लेटफर्म हो । जे रुची छ त्यसका समुह छन ।
आसपास देखिने/भेटिने पशुपंछीका नाम हामीलाई थाहा भएन भने सोध्न सकिने बाटो इन्टरनेटले खोलेको छ । त्यसमध्येको एउटा चौतारी 'चरा समूह' हो । सदस्यको ध्यानाकर्षण गराउनैका लागि भए पनि नयाँ केही गरियो भने चर्चा हुन्छ । तर, पटेल जसरी चमेरो मैले त्यो पेजमा अपलोड गरेको छैन । यसको 'इन्टरकोर्स' खिचेको केही हप्तायता एउटा रमाइलो समस्या सामना गर्नु परिरहेको रहेको छ । त्यो के हो भने भाले चमेराको गुप्तांग । जसले जसले यसलाई नजिकबाट देखेका छन् । छक्क परेका छन् । बाटामा भेटियो भने मैले सामना गर्ने एउटा प्रश्न अहिले सामान्य जस्तो लाग्छ 'खै त्यो चमेराको क्लोजअप हेरौं हेरौ ।' टार्न सकिनेलाई टारिन्छ । टार्न नसकिनेलाई ल्यापटप खोलेर देखाउनुको विकल्प हुँदैन । प्रकृतिको अनुपम सिर्जनाभित्र पर्ने यो जीवबारेमा तथ्य जति खोतल्यो त्यति रमाइला छन् । यसका विषयमा रुची एउटा संयोगले जगाएको थियो । 
०००
विराटनगरको शहीद रंगशालामा योगगुरु रामदेव आउने कार्यक्रम थियो । उत्तर कुनामा मञ्च बनाइएको थियो । उनका लश्कर प्रवेश गर्नेबित्तिकै हेलिकोप्टरले आकाशबाट पुष्पवृष्टि गराउने कार्यक्रम रहेछ । १० मिनेटअघि नै हेलिकोप्टर रंगशालाको आकाशमा देखियो । फूल झार्न थाल्यो । म केही साथीहरूका साथ कार्यक्रमका तस्बिर लिन पुगेको थिए । 
सबैको ध्यान फूलवर्षाले तान्यो । मेरो ध्यान हेलिकोप्टरको चर्को आवाजले बिथोलिएका चमेराले ताने । रंगशालाको उत्तर पर्खालछेउ मोरङको जिल्ला प्रशासन कार्यालय, सभाकक्ष र प्रजिअ बस्ने क्वाटर छ । फराकिलो यो क्षेत्रमा दुइ/तीनवटा ठूला पुराना रुख छन् । त्यसमा चमेरा बस्छन् । यो रुटमा जिल्ला प्रशासन हातादेखि गोल्छा परिवारको आवास गृह हाताको चार सय मिटर क्षेत्रमा जहिल्यै चमेरा देख्न पाइन्छ । सिडिओ क्वाटर, कि गोल्छा अर्गनाइजेशन । पालो मिलाइ मिलाइ ठाउँ सरेर बस्छन् । 
मैले पुष्पवृष्टिको साटो आकाशमा चमेराका चर्तिकला खिचें । त्यसको केहीबेरपछि औपचारिक कार्यक्रम भयो । रामदेव आए । योगका कुरा गरे । त्यसबेलाका मन्त्री र नेता आए । रामदेवलाई ढाकाटोपी लगाइदिने नाटक देखाइयो । मञ्चमा रामदेवको योग सुरु भयो । रुखमा चमेरा त उल्टो आसनमा सधैं बसेकै थिए । छुट्याउन गाह्रो थियो, चमेराको सिको योगगुरुले गरेका हुन् कि उनको त्यो जीवले । अफिस आइयो । खबर लेखियो । 
यसबीचमा केही दिनअघि बिद्युत प्राधिकरणको ट्रलीमा चढेर मित्र संजीव खनालले चमेराका केही तस्बिर खिचेका थिए । उनीबाट मैले दुइ स्न्याप लिएर कसैले यो जीवबारे लेख्ने भए काम लाग्छ भनेकाको थिए । चार दिनपछि फुर्सदमा आफ्ना आर्काइभमा चमेराका तिनै संजिवजी र आफैले खिचेका तस्बिर हेरेपछि मलाई इन्टरनेटमा खोज्न मन लाग्यो - नेपालमा चमेराको अवस्था कस्तो होला ? 'ब्याट्स इन नेपाल' सर्च गर्दा गुगलले धेरैवटा लिंक देखायो । तीमध्येका एउटा लिंक छानेर खोलियो । त्यसमा एकजना विदेशी अध्ययनकर्ताले नेपालका गुफामा पाइने चमेराका बारेमा गरेको शोधमा आधारीत लेख थियो । लेखका मुन्तिर एकजना पाठकको प्रतिक्रिया थियो । नाम हरि अधिकारी, वनविज्ञान अध्ययन संस्थान पोखरा । इमेल फलानो । फोन नम्बर फलानो ।
मैले त्यो नम्बरमा फोन गरें । उताबाट जवाफ आयो -'म हरि होइन । उसको भाइ निरन्जन हो । दाजु जर्मनीमा पढ्न जानु भएको छ । सम्पर्क गर्नु छ भने इ-मेल लेख्नुस् ।' मैले त्यही गरें । दोस्रो दिन हरिको जवाफ प्राप्त भयो । उनले इमेलमा भनेका थिए 'चमेराका बारेमा तपाइको जिज्ञासाका बारेमा थाहा पाउँदा खुशी लाग्यो । लौ कुरा गरौं । स्काइप (भिडियो च्याट) मा आउनुस् ।' तेस्रो दिन अफिस जाँदा ल्यापटप लिएर गइयो । स्काइप डाउनलोड गरेर युजर बनाइयो । अनि खुला राखेर प्रतीक्षा गरियो । 
हरि अनलाइन भए । करीव २५ मिनेटको कुराकानीमा उनले आफ्ना बारे बताए । साथमा चमेराका अवस्था र चेतनामुलक गतिविधि बढाउन किन आवश्यक छ भन्ने पनि बताए । साथै नेपालमा चमेराको अध्ययन गर्नेहरूका विषयमा पनि सम्पर्क हुन माध्यम इ-मेल गरिदिने वाचा गरे । बुटबलका यी युवा दिगो विकासमा स्नातकोत्तरका लागि जर्मनीमा अध्ययन गर्दै थिए । मामाघर पाल्पा जाँदा फिरन्तेहरूले चमेरा सिकार गरेको देखेर नराम्रो लाग्थ्यो । पछि स्नातक तहको अध्ययनका लागि पोखरा आए । कलेजमा 'ब्याट फ्रेण्ड्स' समूह बनाए । पकेट खर्च भेला पारेर केही पम्पलेट तयार पार्न थाले । समूहले विभिन्न विद्यालयमा गइ चमेरा जोगाउनु किन आवश्यक छ भन्नेमा विद्यार्थीलाई बुझाउने अभियान चलायो । 
हरिका इमेलबाटै धेरै शोधकर्ताका सूची प्राप्त भए । सबैसँग सम्पर्क गर्दा प्राप्त हुने सूचना भद्रगोल पनि हुन सक्थ्यो । मैले केही खास नाम छनोट गरें । म विराटनगरमा रहेर इन्टरनेटको माध्यमले जानकारी बटुलीरहेको थिए । पूर्वका विभिन्न क्षेत्रमा अध्ययन गरेमध्येका संजन थापालाई भेट्दा अझ धेरै जानकारी पाइने भयो । विराटनगरको पोखरिया घर भएका उनी पढाइ सकेर काठमाडौंमा रहेछन् । मैले फेसबुकमा खोजें । धेरै लिंकमध्ये एउटा संजनको आफ्नो प्रोफाइल  तस्बिरको ठाउमा चमेरा थियो । मैले मित्र प्रस्ताव पठाएँ । उनलाई म्यासेज पनि लेखें । जवाफ आयो । यसपटक म हरिसँग जसरी भिडियो च्याटबाट सन्तुष्ट हुने अवस्था थिएन । किनभने म विज्ञानको विद्यार्थी थिइँन । मलाई वन्यजीवनबारे बुझन प्रकाशित पुस्तक र शोधपत्र पढ्नै पर्ने थियो । र, त्यसको सजिलो बाटो शोधार्थीले नै मलाई बुझाउनु पर्ने थियो ।  
०००
एउटा कार्यक्रममा पाएको निम्तोलाई उपयोग गरेर उपत्यका खाल्डोको यात्रा तय भयो । मेरो मस्तिष्कमा भने चमेराका विषयमा जानकारी बटुल्ने लहड थियो । काठमाडौं पुगेर दुइ विद्यार्थी भेटियो । उनीहरू थिए संजन र मंजित विष्ट । साना स्तनधारी जीवका बारेमा अध्ययन गर्ने समूह बनाएका संजन र पढ्दै रहेका विष्ट, दुवैका अनुभव फरक थिए । समाज कल्याण परिषद हाताका घना रुखहरूमा चमेराको ठूलो झुण्डको वास थियो । ती रुख छिमोलिए । वासस्थान विनास देखेर विष्ट दुखी थिए । चितवनका विभिन्न भागमा पुगेर अध्ययन गरिरहेका संजन जोगाउने अभियानमा तल्लिन थिए । विभिन्न स्थानमा चमेराका लागि बस्न र लुक्न मिल्ने गुँड बनाउने र राखिदिने, कहाँ कस्तो प्रजाति कति संख्यामा देखिए भन्ने जानकारी बटुल्ने सञ्जनको समूहले गरिरहेको रहेछ । एमएस्सी र बीएस्सीका विद्यार्थी मिलेर उनीहरुले साना स्तनधारी अध्ययन तथा संरक्षणका लागि संस्था दर्ता गरि जुटेका रहेछन् । खोज्दै बुद्धनगरको अफिस पुगियो । यहाँ पुग्दा एउटा नौलो कुराले मलाई पर्खिरहेको थियो । त्यो थियो स्मल म्यामल फाउण्डेसन दर्ता गरेपछि सञ्जनको समूहले निकालेको पुस्तक । यसमा थोरै थोरै भए पनि नेपालमा हालसम्म देखिएका प्रजातिबारे सचित्र जानकारी रहेछ । थापाले बताए-'चमेरा चेपाङहरूले खान्छन् । जाल थापेर सिकार गर्छन् ।'
काठमाडौंमा संजनको समूह भेटेपछि थाहा भयो, नेपालमा हालसम्म चमेराका ५३ प्रजाति पाइएका छन् । संसारभर हालसम्म पाइएमध्ये ७० प्रतिशत चमेरा फलाहारी छन् । बाँकी ३० प्रतिशत कीरा, फ्टयाङ्ग्रा, मासू र रगत खानेहरू छन् । 
इन्टरनेटको विश्वज्ञानकोष 'वीकीपेडिया' को 'ब्याट' पेजमा भनिएको छ- संसारभर हालसम्म पाइएका स्तनधारी जीवमध्ये धेरै संख्या भएकाहरूमा चमेरा दोस्रो स्थानमा पर्छ । चमेराको संख्या अरु स्तनधारीका तुलनामा २० प्रतिशत छ । मुल जाती र प्रजाति गरि संसारभर हालसम्म १२४० प्रकारका चमेरा पाइएको रेकर्ड छ । मेगाचिरोप्टेरा र माइक्रोचिरोप्टेरा गरि चमेरा दुइ प्रकारका छन् । माइक्रो साना आकारका चमेरा हुन् । यो जीवको विशेषता समूहमा बस्नु हो । यिनीहरू एक्लै बस्दैनन् ।
नेपालमा गुफामा बस्ने चमेराको ठूलो झुण्ड हेर्नु परे पोखराको चमेरे गुफा पुग्नु पर्छ । चमेरा सिकार गरेको वा खाएको हेर्नुपरे चितवन र मकवानपुरका भित्री गाउहरूका चेपाङ बस्ती पुग्नु पर्छ । संजनले सुझाएका क्षेत्रमध्ये मकवानपुरको काँकडा पुग्न सजिलो थिएन । लोथर नजिकैबाट चार घण्टा उकालो बाटो । चितवनमा त्यसबेला माओवादी लडाकुको शिविर रहेको शक्तिखोरमा अलि सजिलो थियो । मोटरसाइकलमा पुग्न सकिने भएकाले मैले चितवन छाने । 
म कलेजका लागि शोध गरिरहेको थिइँन न त यो विषय मेरो अखबारले दिएको कुनै 'एसाइन्मेन्ट' मै पर्थ्यो । तर, तस्बिरहरू खिचेपछि गुगलमा एउटा क्लिकबाट थपिएको जिज्ञासा शान्त पार्न म पोखरा र चितवन पनि जाने भए । 
तीनदिने राजधानी बसाइपछि पोखरा पुगें । त्यहा वन विज्ञान अध्ययन संस्थान गइयो । नेपालमा जंगली कुकुरका बारेमा शोध गरेका विद्यार्थी अम्बिका खतिवडा भेटिए । उनका विषयमा मैले केहीअघि क्यामेरा ट्रयापमा मिल्के' लेखिसकेको थिए । उनले प्राध्यापक र केही जानकार बिद्यार्थी भेट गराए । मेरा लागि गाइडको काम गरे । चमेरे गुफा र धजे डाँडा गइयो । पोखरामै चमेरे गुफा र धजे डाँडामा पाइने चमेराका आकार फरक थिए ।
पोखरापछि चितवन पुग्नु थियो । पुगियो । शक्तिखोर गाविसको शक्तिखोला बहुदल बजार । चेपाङका घर खोज्दै साँझपख पुगेको त्यो सानो बजारमा मलेखुका माछा जसरी बाँसका कप्टेरामा चमेरा उनेर बेच्न राखेको देखियो । म तन्नेरी चेपाङ दिलबहादुर प्रजाको पसलमा रोकिँए । जान्नु पर्ने कुरा सोधें । स्थानीय बृद्ध दलबहादुर प्रजासँग कुरा गरें । उनका अनुसार एक दशकयता पहिलेजस्तो धेर संख्यामा चमेरा भेटिंदैनन् । चिउरी फूल्छ । यसको रस खान आउने चमेरालाई चेपाङले भुवा भनिने जालमा पार्दा रहेछन् । हिर्काएर मार्‍यो । तातो पानीमा चोप्यो, अनि आगोमा झर्कायो । नुन-खुर्सानीसँग त्यसै खाए हुने, मन लागे भुटेर पकाए पनि हुने । 
यो जानकारी मेरा लागि अलि नौला थिए । चेपाङको सिकार हुने चमेरा मझौला आकारका करीव करीव डांग्रे रुप्पी जत्रो हुने रहेछ । यसरी सिकार गरिने प्रजाति फूलका रस मन पराउनेहरू रहेछन् ।
०००
विराटनगर फर्किएर आएको एक सातासम्म चमेरोको कथाका लागि उपयुक्त 'लीड' (पहिलो वाक्य) फुरेन । करीव २५/२६ वर्षघि विराटनगरको मेनरोडमा कतै बरको एउठा ठूलो रुख थियो । बजार भएर हिड्दा यहाँ चमेराको ठूलो झुण्ड हल्ला गरिरहेको देखिन्थ्यो । आफू सानोछँदा त्यो बाटो परे म हेरिरहन्थे । कुकुर जस्तो थुतुनो भएको यो जीव अलि डर लाग्दो पनि भान हुन्थ्यो । अतितका पाना पल्टाएर मैले अहिले त्यो रुख कहाँ थियो होला भनेर खोजें । रुख काटिएछ । त्यो ठाउँ फेन्सी पसल उम्रिएछ । ग्यालेक्सी नामको त्यो फेन्सी पसलमा म पुगें । ग्राहक आएको ठानेका पसले चमेराका बारेमा सोध्दा तीनछक परे । सुभास सेठियाका कुरा आफैमा रमाइला थिए । रुख मात्र मासिएन । चमेरोको पुरानो वास मासियो । तर, उनलाई बाटामा कतै चमेराका झुण्ड देखे अझै त्यो ठूलो रुखको सम्झना आउने रहेछ । यिनै पात्रका अनुभवबाट मेरा लागि चमेराको कथा सुरु गर्ने बाटो खुल्यो । त्यसपछि 'चमेरो विचरो' लेखियो । यहाँसम्म त्यो कथाको ब्याकग्राउण्ड स्टोरी थियो । अब त्यो इन्टरकोर्सको प्रसंगतर्फ विस्तारै फिरौं । 
एउटा कथा लेख्ने प्रयासले चिनिएका नौला मान्छेहरू अहिले मेरा फेसबुक, स्काइप र इ-मेलमार्फ कुरा भइरहने साथी बनेका छन् । राजधानी बसेर काम गरिरहेका संजनले साना स्तनधारी जीवको खोजीमा आफूलाई क्रियाशील गराएका अप्डेट्सहरू मैले उनका स्टाटसबाट पढ्न पाइरहेको छु । उनी विराटनगर आएका थिए । हामीले चमेरोले आहारमा मन पराउने कदम र अम्बकका विरुवा जिल्ला प्रशासन कार्यालय हातामा रोपेका थियौं । ती विरुवा हुर्कदैछन् । प्रकृतिको अनुपम सिर्जनामध्येको उड्ने स्तनधारी जन्तुबारेको जिज्ञासाहरू अझै शान्त भएका छैनन् । चमेरोले फूल पार्दैन । गाइवस्तु, बाख्रा वा मान्छे जसरी ब्याउँछ । गुँड बनाउँदैन । हाँगामा झुण्डिएर बित्ने उनीहरूको जीवन शैली अध्ययनको अनौठो विषय हो ।
०००
जीवहरूमध्ये चमेरोको सबैभन्दा अनौठो तथ्य के हो भने पोथीको इच्छानुसार मात्रै गर्भधारण गर्ने क्षमता । भालेसँगको समागमपछि बिऊ लिएर ऊ आफूलाई सुरक्षित महसुस गरेमात्रै गर्भधारण गर्छे, यसबारे १५ माघ २०६७ को कोसेलीमा लेखेपछि मलाई धेरै इ-मेल, फोन र एसएमएस आए । केही साथीले ठूलो झुण्डको वास रहेका नयाँ ठाउँको भ्रमण गर्न पनि सुझाए । नेपालमा ठूलो संख्यामा यो जीव बसेको हेर्न परे रुकुम, नेपालगञ्ज, पोखराको चमेरे गुफा, धजे डाँडा, झापाको रतुवामाई संरक्षण आयोजना र विराटनगरको जिल्ला प्रशासन कार्यालय हाता भन्ने सूची बनेको छ । बेला बेला देखिएका नौला ठाउँका बारेमा जानकार, शुभचिन्तक र साथीहरूले सुझाउने पनि गरेका छन् । एउटा कुरा पक्का छ, त्यो के भने यिनीहरू संकटमा छन् । कतै सिकार गरिन्छ । धेरै ठाउँ यसका वासस्थान विनास भएका छन् । म विज्ञानको विद्यार्थी नभए पनि यसका वास र क्रियाकलापमाथिका जानकारी बटुल्ने  रुची घटेको छैन ।
मलाइ लाग्छ झापा केर्खाको रतुवामाइ बृक्षरोपण आयोजना हाता र विराटनगरको जिल्ला प्रशासनको हातालाई संरक्षित क्षेत्र बनाउन सकिन्छ । यी क्षेत्रमा चमेराले मन पराउने रुखविरुवा बढाउने हो भने अध्ययन र अवलोकनकर्ताका लागि नौलो ठाउ बन्नेछ ।
वन्यजन्तु र जैविक विविधतामा आधारीत फोटोग्राफीका लागि डेढ दशकदेखि क्रियाशील मेरा मित्र यात्रा थुलुङ एक दिन भने 'हामी एकपटक चमेराको इन्टरकोर्स खिचौं । सकिन्छ होला ।' विचार रमाइलै हो । हामीले एक दिन त्यही ठाउँ छनोट गर्‍यौं, जहाँ पहिलोपल्ट हेलिकोप्टर

को आवाजले ती निशाचरको ध्यान भंग गरेको थियो । छनोटमा परेको दिन हामी दुइ भाइ प्रमुख जिल्ला अधिकारीको आवास गृहको छतमा उक्लेर करीव चार घण्टा बस्यौं । सुरक्षाकर्मी छक्क परे । उनीहरू भन्दा धेरै हामी पनि छक्क पर्‍यौं । कारण- भाले चमेराका अंग । तीन वर्षदेखि निरन्तर रुची राखे पनि यो जीवका गुप्तांग कस्ता होलान् भन्ने हेक्का थिएन । हेक्का थियो भने चमेरो किसानको साथी हो । राती उड्छ । दिउँसो झुण्डिएर बस्छ । फलफूल खानेको संख्या धेरै छ । यो झुण्डिएको क्षेत्र आसपास विष्टाका कारण फोहर हुन्छ । चमेरो रुखमा मात्रै होइन मान्छेका घर-गोठका चोटा-बुईकलमा पनि बस्छ आदि आदि ।
आठ सय एमएमको लेन्सले सजिलो देखिने एउटा फूर्तिलो चमेराको फलो गर्‍यो । त्यो फूर्तिलोले निकैबेर लाएर पोथी फकायो । उसका अंगहरू क्रियाशील भए । दुवै एकअर्कामा आलिंगनबद्ध हुँदा पखेटाले छोपछाप पार्ने रहेछ । केहीबेरको रतिक्रिया पछि भाले आनन्दित अवस्थामा बस्दो रहेछ । भालेहरूबीच झगडा पनि पर्दो रहेछ । हामीले खिचेका चमेरालाई नेपालीमा बदुरा र  अंग्रेजीमा इण्डियन फ्लाइङ फक्स भनिने रहेछ । नेपालमा पाइएमध्ये यो सबैभन्दा ठूलो आकारको फलाहारी चमेरोको प्रजाति हो । यो रुखका हाँगामा यसरी झुण्डिएर बस्छ । 
जति प्रयास गरेपनि हामीले जैविक विविधतासम्बन्धी रिर्पोट देखाउने टेलिभिजन च्यानल जसरी उनीहरूका गतिविधि क्यामेरामा कर्‍याप्प पार्न सकेनौ । पहिलो प्रयासले उनीहरुका बारेमा बुझन पाइयो । दोस्रोमा कसरी सहवास गर्छन् र प्रजनन् अंग कस्ता हुन्छन् भन्ने थाहा भयो । फेरि पनि यिनलाई पच्छ्याउने प्रयास जारी रहनेछ । 

(१७ फागुन २०७० को कान्तिपुर कोसेली मध्यपृष्ठमा 'निशाचरका पोजहरू शिर्षकमा छापिएको आफ्नै सामाग्रीलाई केही थपथापसहित ब्लगमा साभार )

यसअघिको  पढन मन लागे थिच्नुहोस 'चमेरो बिचरो'