Saturday, January 31, 2015

जैविक मार्गको दोहोलो

'क्या बात करते हो साब !' बेलुकीको करीब ८ बजेको हुँदो हो । ऊ केही रिसाए झै देखियो । भारतको राजस्थानमा करणीमाता मन्दिर पुगेर बिकानेरको गंगाशहरतर्फ फिर्दै गर्दाको अवस्था थियो त्यो । मन्दिरभरि मुसा थिए । अनौठो संस्कारले जोगाएर राखेपछि तिनैका कारण ख्याति आर्जेको तीर्थस्थल । ३२ किलोमिटरको दूरि । बाटोमा दुइ ठाउँ गाडीले किचेर स्याल मरेको देखेपछि हाम्रो जीपका चालकलाई मैले सोधेको थिए -'तिम्रो गाडीले पनि यसरी स्याल किचेको छ ?' सोधाइले उनी खुसी भएनन् । अलि रिसाएजस्तो गरे । भने 'हमारे यहाँ का जंगल का कानुन आप को पता नही । सरजी सलमान खान अबतक जोधपुर कोर्ट का चक्कर काट रहा है ।' गाडी चलाउँदा निकै होसियार रहनुपर्ने उनले सुनाए । 

कतै जनावर किचिएर मरेको वनकर्मीले थाहा पाए भने लाग्ने मुद्दा झन्झटिलो हुने उनको भनाइ थियो । त्यसैले वन्यजन्तु आवागमन हुने बाटोमा चालकले निकै चनाखो हुनुपर्ने प्रष्टीकरण उनले दिए । गत वर्षको हिउँद महिनाको कुरा थियो यो । त्यो रात मैले वास बस्ने ठाउँमा फर्केर बलिवुड कलाकार खानविरुद्धको मुद्दा के रहेछ भनेर गुगलमा सर्च गरि देखाएका लिंक हेरें । सन् १९९८ मा 'हम साथ साथ है' भन्ने चलचित्रको राजस्थानमा छायांकनका दौरान खानले दुइवटा चिंकारा भन्ने हरिण प्रजातिको जन्तु मारेको भन्ने मुद्दा रहेछ । चिंकारा, हामीकहाँ बर्दियाको खैरापुरामा पाइने कृष्णसारसँग मिल्दोजुल्दो प्रजातिको शाकाहारी जीव हो । भारत, पाकिस्तान र अफगानिस्थानका सुख्खा इलाकामा पाइने यो जन्तु राजस्थानका विस्नोइ समुदायको धार्मिक आस्थासँग जोडिएको रहेछ । सिकार गर्ने खानका विरुद्ध त्यही समुदायले प्रहरीमा उजुरी दिएपछि वन्यजन्तु अवैध सिकारको मुद्दा चलेको रहेछ । वन्यजन्तु संरक्षणका लागि बनाइएका कडा कानुनबाट बलिवुड नायकले लामो समय हैरानी पाएका समाचार अझै पनि सञ्चारमाध्यममा आउँछन् ।
गत महिना धनुषाको वीरेन्द्रबजारबाट इटहरीसम्म बेलुकीको यात्रा गर्दा बाटामा धेरै ठाउँ त्यसरी नै स्याल मरेको देखेपछि मैले जीप चालकलाई त्यही प्रश्न सोधेको थिएँ । उनको भावमा खासै परिवर्तन देखिएन । 'बाटामा आए मर्छन् । हाम्रोमा के सुनुवाइ छ र', उनले भनेका थिए, 'यो कुकुरजस्तै त हो । धेरै सडकमा मरेका देखिन्छन् ।' उनको उत्तरपछि मैले राजमार्गको यात्रा गर्दा विचार गरिरहेको छु- पूर्वमा कतै पनि सडकमा 'जनावर निस्कन सक्छन् । तीव्र गतिमा गाडी नकुदाउँ भन्ने सूचना छैन । वन्यजन्तु आउजाउ गर्ने बाटामा यस्तो राख्न कसले कसलाई सिकाउनु पर्ने हो ? के हामी आफ्नै बाटामा हिड्छौ ? त्यो बाटो वन्यजन्तुका लागि पनि होइनन् ? उनीहरू हिड्ने बाटो हामीले मिचेका छैनौ ?
०००
चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार जंगल क्षेत्रमा गत असोज अन्तिम साता गाडीको ठक्करबाट एउटा भाले चितुवा मारियो । सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीका अनुसार राजमार्गमा पर्ने यो क्षेत्रमा यसअघि गत जेठमा गाडीकै ठक्करबाट चारवटा हरिण मारिएका थिए । यस्तै गत मंसिर तेस्रो साता पर्वत सदरमुकाम कुश्माबजार नजिकै शिवालय-९ को चिलाउने चौतारामा बसको ठक्करबाट एउटा चितुवा मारियो ।
पुस तेस्रो साता अर्घाखाँचीको सन्धिखर्क-१० किमडाँडामा गाउँलेले एउटा चितुवालाई कुटेर मारे । घरपालुवा पशु र मान्छेकै लागि खतरा भएकाले त्यसलाई मारेको गाउँलेको भनाइ थियो । बस्तीमा पसेर घरपालुवा जन्तुसँगै मान्छेमाथि पनि आक्रमण गर्ने घटनामा चितुवाजस्ता मांसाहारी जनावर मारिएका घटना नौला हुन छाडेका छन् । सुदुर पश्चिमका केही जिल्लामा यस्ता जन्तुको निकै आतंक रहेको खबर सञ्चारमाध्यममा बराबर आउँछन् । यथार्थ तीतो छ तर, खान नपाएपछि नै उनीहरू मान्छेका बस्ती पस्ने हुन् । जंगलमै आहारा यथेष्ठ भएपनि बस्तीमा आए भने ती अपवाद हुन् । धेरै ठाउँ जंगलको आकार घट्दो मात्र छैन, जन्तुकै अस्तित्व संकटमा छ । कतै कतै बस्तीनजिक सामुदायिक वन हुर्काएकाहरूलाई पनि सास्ती बढेकै छ । आफ्नो पुरानो विचरणका क्षेत्रमा आहाराको कमी, अन्न-घरपालुवाको स्वादको रन्को र सिकारीका कारणहरूले वन्यजन्तुलाई बाहिर ल्याउँछन् ।

Thursday, January 29, 2015

एकै घरमा पाँच सुस्तःमनस्थितिका

नाजुक अवस्थामा रहेकाहरूका लागि झट्ट केही गर्न सकिएन भने पनि २/४ रूपैयाँ सहयोगका लागि जोसुकैका हात अघि बढ्छन् । समाज दयालु रहेको परीक्षा लिन घर-घर, सडक र धार्मिक आस्थाका केन्द्र आसपास हात फैलाएर बसेकाहरू देख्नु किन नौलो हुन्थ्यो । 
संवाददाता पुगेको पूर्वी मोरङको इटहरा सिक्किमे टोलको एउटा घरका सदस्य भने यसरी परीक्षा लिन सडक र चोकमा बसेकाहरू परेनन् । ६७ वर्षीय तुलसीराम र ४७ वर्षीया सिर्जना ढुंगानाका पाँच सन्तान सुस्तमनस्थितिका छन् । तीन छोरी, दुइ छोराको बढ्दो उमेरसँगै यी दम्पतिलाई सधैंको चिन्ता छ - 'आफूहरूलाई केही भइगए यिनको हालत के होला ?'
३६ वर्षीया निर्मला, ३४ को निर्मल, २३ को उमेश, २२ की पार्वता र २० की गोमा सबका सब आफूबारे बताउन नसक्ने छन् । देव्रे खुट्टामा चोट लागेपछि शल्यक्रियापछि हाल हिडडुल गर्न नसक्ने भएका तुलसीरामले भने 'मलाई सुगर छ । त्यहीँमाथि यस्तो चोट लाग्यो ।' उनका दुइ श्रीमतिबाट आठ सन्तान छन् । जेठीको देहान्तपछि साली सिर्जनालाई भित्र्याएका तुलसीरामका सग्ला-सबल तीन छोरीहरूले आफ्नो घरजम गरेर दर्गदिशा लागिसकेका छन् ।

पुर्‍याउला कहाँ खण्डीकरणले































बाला निस्कने बेलाको गहुँ धमाधम काटेको देखेर म छक्क परेको थिएँ । कारण रहेछ -प्लटिङ । यो सुनसरीको खनार-६ मा खिचेको हो । खनार अहिले इटहरी उपमहानरभित्र मिसियो । यो ठाउँ इटहरी-१३ भएछ । खेत धमाधम प्लटिङ जारी रछ । 
क्यामेरा लिएर खेततिर गएको देखेका केहीले बाटैमा रोक्न खोजे । भने ' किन खिच्नु हुन्छ । भोलि पत्रिकामा आउला । के झमेला लाग्ला । छाडिदिनुस् ।' जमिन उनीहरूले नै प्लटिङ गरेका रहेेछन् । पौने २ बिघा । खिच्न थालेपछि यसरी काट्दै रहेमध्येका एकजना आए र, भने 'भाइ, हाम्लाई पनि एक टुक्रो चाहियो । कसरी चलेको छ भाउ ? ' 
नयाँ नगरपालिका घोषित, बिस्तारित, बाटो भर्खर पुगेको/पुर्‍याइएको जताततै यस्तै छ । अखबारले त प्राथमिकता दिएरै छापेको हो । खै के भयो सम्बद्ध निकायमा असर भन्ने बुझ्न पाइएन । के होला ? यो खण्डीकरण गरेर घर फलाउने उपक्रममाथि नीतिनिर्माताको नजर किन नपरेको होला ? 

Wednesday, January 28, 2015

वन्यजीव मार्नबाट रोकौं


तीन दिनअघि मोरङको टकुवा घुम्न गएका मित्र विक्रम निरौलाले न्याउरी मारेर लाँदै गरेका एक युवकको फोटो खिच्नु भएछ । अलिकति बस्ती छिचोलेर गाउँ पुग्दा देखिने सुलभ दृष्य- यतिखेर उनीहरू धान खेतका मुसा खोजिरहेका भेटिन्छन् । मुसै लगेको भनेर रोक्दा उसले बोकेको न्याउरी रहेछ भन्ने निरौलाजीले भेट्नु भएछ । फोटो हेर्दा नरमाइलो लाग्यो । 
आजभन्दा ३०/३२ वर्षअघिका कुरा सम्झना हुन्छ । मेरो स्कुले बेला । म शायद ४/५ कक्षामा पढ्थेँ होला । जाडोका महिना आदिवासी सतारको धनुकाँड बोकेको टोली सिकार गर्न उखु खेततिर गएको, सिकार गरि फिरेको देख्थेँ । उनीहरूका साथ अघिपछि कुकुरहरू पनि ४/५ वटा हुन्थे । बडो अनौठो लाग्ने । वन बिरालो, स्याल, मृग, न्याउरी आदि मारेर दुई/दुईजनाले बाँसको भारमा झुण्ड्याइ फिर्दै गरेको देखिन्थ्यो । अलि बुझेका बुढापाका भन्थे 'सतारको यो सिकार संस्कार हो । यिनीहरूका कुकुरले पनि सिकार लखेटेर मार्न सघाउँछन् । धेरैपछि जब हातमा क्यामेरा आयो, मैले यस्तो दृष्य भेटेको छैन । हेरिन्छ भने टेलिभिजन च्यानलले देखाउने अफ्रिकी र त्यस्तै मुलुकका आदिवासीको रिपोर्टमा मात्रै । 
सतार तराइको अल्पसंख्यक जाति हो । मैले केही घुमघाममा यिनीहरूका बस्ती घुमेर हेरेको छु । मोरङका केही गाउँमा यी प्रकृतिपुजकका धेरै परिवार अहिले इसाइ भएका छन् । र, जति भएका छैनन् तिनको पनि पुरानो चलन फेरिएको छ । अब त्यो सिकारका लश्कर मेरा लागि फोटोमा समेट्न पाउनु दुर्लभ छ । उनीहरूको बस्तीलाई पनि वैदेशिक रोजगारीको लहरले छोएको छ । सक्नेहरू खाडी पुगेका छन्, नसक्नेहरू धान र गहुँको सीजनमा पञ्जाब, हरियाणा । 
केहीअघि आफ्ना पुराना परम्परामा आधारीत उपचार पद्धतिलाई निरन्तरता दिँदै काम गरिरहेका रंगेलीनजिकका मुर्मु परिवारका बारेमा एउटा रिपोर्ट बनाएको थिएँ - मुर्मु थेरापी । यसको तयारीका क्रममा म धेरैपल्ट लखिराम मुर्मुकहाँ पुगेको थिएँ । उनले भनेका थिए 'हामी सतारका अब थोरै परिवारमात्रै पुरानो संस्कार समातेर बसेका छौ । धेरै परिवर्तन आइसक्यो ।' शायद उनले भनेकैजस्तो भएर मैले सिकारका लावालश्कर देक्न पाउनु दुर्लभ भएको होला । तर, अब पहिलेजस्तो जंगल र चिस्यान क्षेत्र पनि त छैनन् ।

Monday, January 26, 2015

त्यो आफ्नै बाटो गयो होला

हिजो बेलुकी सञ्चारकर्मी भाइ कमल रिमाल मसँग झर्किए । 'तपाइ डिसिजन दिन नसकने मान्छे' भन्दै । उनको गुनासो थियो त्यो लाटोकोसेरोलाई के गर्ने, कता लैजाने भनेर मैले भनिनँ । हो पनि । उनको व्यवहार जायज थियो । जसलाई पनि यस्तो पर्न सक्छ । भएको के थियो भने, उनले बिहान १०ः३० बजेतिर फोन गरे ।  डेरानजिकै 'एउटा लाटोकोसेरो अलपत्र परेको छ, कुकुर र अरू चराले आक्रमण गर्लान् । मार्लान् । के गरौं ?' भनेर । म तत्कालै उनीकहाँ पुगेँ ।  
उनको बसाइँ विराटनगरको कोशीअञ्चल अस्पतालको कर्मचारी आवास गृहमा हो । अस्पताल भवन पछाडि । त्यो गोठे लाटोकोसेरो (Barn Owl) थियो । शायद भर्खर भर्खर उड्न सिक्दै गरेको । त्यसलाई जिम्मा लाउने ठाउँ भएन । कोशीटप्पु वन्यजन्तु आरक्ष टाढा छ । जिल्ला वन कार्यालयमा यस्ता पंक्षी जोगाउने मान्छे र साधन छैन भन्ने थाहा छ । मेरो घरमा बिराला छन्, लैजानै भएन । पशु सेवा कार्यालयले राक्ने कुरै भएन । त्यसै छाडे बगाले भ्याकुर (jungle babbler) का हुलले थाहा पाएर च्याउँ च्याउँ गर्न थालिसके । काग पनि आयो । खुला ठाउँ छाड्दा उनले भने झै जोखिम छ । नजिक लुकाइदिन मिल्ने झाडीबुट्यान छैनन् ।

Friday, January 23, 2015

'छोराले भन्यो-आमा मरेपछिमात्रै घर आउँछु'

उनलाई महिनावारीमा अलि बढि रगत जान थाल्यो । तल्लो पेट धेरै नै दुख्न थालेपछि अस्पताल पुगेर जँचाइन । डाक्टरले औषधि लेखिदिए । खाँदै थिइन् दुख्न छाडेन । डाक्टरले अपरेसन गरेपछि मात्रै विसेक हुने बताएका थिए । 
धेरै दुख्न थालेर घरका कामकाज नै गर्न नसक्ने भएपछि मोरङको झुर्किया गाविस-७ का उदीचन्द साह र उनकी पत्नी तेतरीदेवीले सल्लाह गरे-'अब जे भएपनि अपरेसन गर्ने । यो दुखाइको निदान त्यही हो ।' खर्च थिएन । आफूले खानका कमाउने ऐलानी जमिन बेचे । २० हजार हात पर्‍यो । त्यही बोकेर साह दम्पति विराटनगर आइपुगे । 
गत साता यी दम्पतिलाई अस्पतालमा भेटियो । डाक्टर वालकृष्णले फोन गेरपछि म उनीहरूसँग कुरा गर्न त्यहाँ पुगेको थिएँ । एउटा निजीस्तरबाट सञ्चालित अस्पताल, केही मनकारीहरूले साह दम्पतिलाई सघाएको बुझियो । आज एक सातापछि उनीहरूका कुरा ब्लगमा राख्दैछु । केही कारणहरू छन् । हाम्रा 'सेल्फ सेन्सरवाला' दिमागलाई के लाग्छ भने-'कतै यो बिज्ञापन त होइन ? के भर ?' तर, ब्लगमा राखिएको डा. साह र उनको टिमलाई यस्ता विपन्नको सहयोग गर्ने जाँगर नघटोस् भनेरै हो । अर्थोक क्यै हैन ।
यी बुढाबुढीका अवस्थाका कुरा आफ्ना खाले छन् । तर, उनी निको हुने चरणमा थिइन् । अगाडिका कुरा यस्ता थिए ।
कोसीअञ्चल अस्पतालले तेतरीदेवीको पाठेघरमा पलाएको मासू काटेर फाल्न तीन महिनाअघि पालो नआउने जनाउ दियो । निजी अस्पतालको शुल्क महंगो । तैपनि दुवै सहकारी अस्पतालमा पुगे । शुक्रवार उनको शल्यक्रियाअघि डाक्टरसँग केहीबेर कुराकानीको समय मिल्यो । उनले डा. बालकृष्ण साहलाई सोधिन् 'यो अपरेसनपछि म कहिले घरभन्दा गर्न सक्ने हुन्छु -' जवाफमा डाक्टरले उनको घर र अवस्थाका बारेमा सोधे । कृषि पेशामा अडिएका दम्पति । अर्काको खेतमा जनबनी गरेर बाँचेको थाहा लाग्यो । डाक्टरले अस्पताललाई शुल्कमा केही सहुलियत गरिदिन भने । अस्पतालले लायन्स क्लवलाई खबर गर्‍यो । अन्ततः सबै खर्च छुट गरेर उपचारको प्रबन्ध मिल्यो । 
साह दम्पतिका दइ सन्तानमा छोरी बिहे भएर गइन् । छोरा पनि बिवाहपछि रंगेलीस्थित ससुरालीमै बस्छन् । 'मैले छोरालाई आमाको अवस्थाबारे फोन गरेको थिए“', शनिवार अस्पतालमा श्रीमतिलाई खाना खुवाउँदै गरेको भेटिएका उदीचन्दले भने, 'उसले भन्यो जेसुकै होस् आमा मरेपछिमात्रै घर आउछु ।' उदीचन्दका आ“खा रसाएका थिए । उनले भने 'सन्तान हुनुमात्रै ठूलो कुरा होइन रहेछ । आपतका बेला आमाबुवालाई साथ दिने भए पो सन्तान हुनुको पनि अर्थ रहन्छ ।'
शुक्रवारको शल्यक्रिया सफल रहेको डा. बालकृष्णले बताए । उनले भने 'अवस्था राम्रो छ । छिटै तेतरीदेवी घर जान सक्छिन् ।' शल्यक्रियाअघि भएको सामान्य कुराकानीले साह दम्पतिका लागि करीव ३५ हजार बराबरको उपचारमा छुट दिलाउन सक्दा उनी पनि हषिर्त छन् । उनले भने 'विरामीले आफ्नो बारेमा बताउन पाएभने हामी जसले पनि सहयोग गर्नुपर्छ । यी दम्पतिको लागि राम्रो संयोग रह्यो ।'
सोमबार घर जाने तयारीमा रहेकी तेतरीदेवीले अस्पतालको शैय्याबाटै भनिन् 'दुःखीका लागि कतै न कतै सहयोगी भेटिने रहेछन् ।' उनका लागि अस्पतालका निर्देशक विकास अधिकारीले उपचार खर्च, लीला ढुंगेलले औषधि र अजिता वरालले खाना र फलफूल खर्च दिएका छन् । उदीचन्दले अस्पतालमा शल्यक्रियाका लागि जम्मा गरेको रकम फिर्ता पाएका छन् । 

Wednesday, January 21, 2015

Hulas Motors formally ceases production


BIRATNAGAR, JAN 12 - Hulas Motors, the manufacturer of Sherpa, Mustang V2 and Mustang Max automobiles, announced Sunday that it was formally ceasing production. The company had stopped making these vehicles around three months ago.
Established in 1997, Hulas Motors is the only auto assembly plant in the country. Its Mustang Max hit the headlines in 2011 when the then Prime Minister Baburam Bhattarai chose it as his official car over imported SUVs. Bhattarai said his choice was aimed at promoting domestic industry.
The auto maker said that it had been forced to pull down its shutters due to government policy. According to Managing Director Surendra Golchha, the company took the decision since the government had turned a deaf ear to
their demand to extend the deadline to install Euro III standard engines.
Two years ago, the government had ordered the company to upgrade to Euro III standard by mid-July 2014. “If the deadline had been extended by at least a year, we could have done it,” Golchha said.
With the closure of the Rs 400 million factory, 100 employees have become jobless. Hulas was a known name in Palpa, Baglung, Mustang, Surkhet, Dang and hilly regions.
“We had asked for one year’s time to upgrade to Euro III. However, since the government did not give us extra time, we had no option but to stop production,” Golchha said. The government seems to be promoting import based businesses rather than promoting entrepreneurship and job creation, he added.
The company said that even higher level government officials paid no attention to its request. Prafulla Chandra Das, chief engineer at Hulas Motors, said that the company was willing to upgrade and had even started technical initiation.
“Unfortunately, the engine we had introduced did not work as per our plans. And we could not move ahead from the testing phase,” Das said, adding that the company lacked adequate time to produce and test Euro III standard vehicles. The engine imported by the company from China proved to be not powerful enough for the country’s hilly terrains.
According to Golchha, the company has sold 1,400 vehicles in the Nepali market. The diesel engine vehicles produced by Hulas Motors was priced in the range of Rs 1.62 million to Rs 1.85 million. Its demand had been increasing in remote and hilly places and was popular for commercial operations.
Even though vehicle production has been stopped, the company will continue to manufacture spare parts and operate service centres.
Company turns to e-rickshaws
BIRATNAGAR: Hulas Motors has started assembling electric rickshaws named Hulas Vidyut from imported components. The auto maker produces two models of rickshaws, one to carry passengers and the other to carry cargo. The light vehicle is powered by a rechargeable battery and is low priced. “We have stopped making cars and have ventured into another product,” said Prafulla Chandra Das, chief engineer at Hulas Motors. “We will require fewer employees. The investment too will be less,” Das added. More than 90 percent of the parts will be imported, according to the company. (PR)

हुलासको मुस्ताङ बन्द भयो 
मुलुकको एकमात्र गाडी उत्पादक कम्पनी हुलास मोर्टसले औपचारिकरूपमा आफ्नो उत्पादन बन्द भएको घोषणा गरेको छ । तीन महिनायता गाडीको प्रोडक्सन युनिट बन्द गरेको कारखानाले आइतवार यसको औपचारिक घोषणा गरेको हो । २७ पुसमा विराटनगरमा पत्रकार सम्मेलन गर्दै हुलास मोटर्सले सरकारले आफूहरूलाई यूरो थ्रीमा जानका लागि एक बर्ष समय नपथेका कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ । 
प्रबन्ध संचालक सुरेन्द्र गोल्छाका अनुसार सरकारले आर्थिक वर्ष२०७१ साउन १ देखि यूरो थ्रीका गाडी उत्पादन गर्न दुइ वर्षघि समय सीमा दिएको थियो । तर, आफूहरूलाई तीनदेखि चार वर्षसमय दिन आग्रह गरेको उनले बताए । 'एक बर्षमात्र थपिदिएको भएपनि हामी उत्पादन गर्न सक्थ्यौं तर, सुनुवाइ भएन । त्यसैले बन्द गर्नुको विकल्प रहेन,' उनले भने, 'दुःख साथ भन्नुपर्छ एउटा इतिहासको पाना पल्टाउन बाध्य भयौं ।' 
१७ बर्षअघिबाट गाडीहरू उत्पादन गर्न थालेको हुलास मोर्टसको उत्पादन मुस्ताङ म्याक्समा बाबुराम भट्टराई प्रधानमन्त्रीहुँदा चढेपछि चर्चामा आएको थियो । शेर्पा नामको गाडीवाट उत्पादन सुरु गरेको हुलासले मुस्ताङ भीटू र मुस्ताङ म्याक्स ब्राण्डका गाडी बजारमा ल्याएको थियो । अहिलेसम्म करीव १ हजार ४ सय गाडी विक्री भएको उनले बताए । डिजलमा चल्ने यी गाडीहरू व्यक्तिगत प्रयोजनका लागि भन्दा पनि व्यवसायिक प्रयोजनमा वढि विक्री भएका छन् । पाल्पा, मुस्ताङ, बाग्लुङ, सुर्खेत, दाङ, उदयपुरलगायतका जिल्लाहरुमा वढि मात्रमा सञ्चालनमा रहेको गोल्छाले बताए । उनले भने 'गाडीको उत्पादन बन्द भएपनि मर्मत केन्द्र र पार्टपुर्जाहरू भने सहजरुपमा हामी उपलब्ध गराइरहन्छौ ।'  
करीव ४ करोड लगानी पुगेको हुलास मोर्टसमा करीव २ सय मजदुर थिए । उत्पादन बन्द भएपछि १ सय मजदुरलाई विदा गरिएको छ । हुलासले उत्पादन गरेका गाडीको बजार मुल्य १६ लाख २५ हजारदेखि १८ लाख ५० हजारसम्म थिए । वार्षिक ७० देखि एक सयवटासम्म गाडी उत्पादन गर्दै आएको थियो । 'सरकारको ब्यवहारका कारण उत्पादनमुखीभन्दा आयातमुखी ब्यवसायतिर ध्यान जान थाल्यो,' सञ्चालक गोल्छाले भने, 'अहिले आयातलाई प्राथमिकता दिएका छौ । तर, उत्पादनबाट पनि विमुख भने हुँदैनौं ।' भविष्यमा कार उत्पादनतर्फसोच रहेको उनले सुनाए । 
चर्चाले थेगेन 
भट्टराई प्रधानमन्त्री भएपछि उनले आफ्नो निजी सवारीसाधन बनाएको मुस्ताङ म्याक्सलाई कारखानाले तयार पारेर दिन रातारात काम गरेको थियो । गाडीको कारखाना गोल्छा दाजुभाइमध्येका सुरेन्द्रको आफ्नो रूचीको बलले चलेको हो । लामो समयदेखि अपेक्षित नाफामा जान नसक्दा पनि उनले कारखाना बन्द हुन दिएका छैनन् । प्रधानमन्त्रीले आफ्नो निजी सवारी स्वदेशमै उत्पादित गाडीलाई बनाउने घोषणा गरेपछि उनीसहित कारखानामा जिम्मेवार प्राविधिकहरूको हौसला बढेको थियो । 
प्रमुख इञ्जिनियर प्रफुल्लचन्द्र दासले भने 'हामीले प्रधानमन्त्रीले चढने भएपछि सुविधालाई अधिकतम ध्यान दिएर नयाँ डिजाइनलाई निकै मेहनतले तयार पारेका थियौ ।' खासमा हुलासका गाडीहरू निजी सवारी नभइ 'प्यासेन्जर भेहिकल' का रूपमा उत्पादन गर्ने गरिएको थियो । 
भट्टराईका कारण कारखानालाई निजी सवारी बनाउँदा पुर्‍याउनुपर्ने सुविधाको मापदण्डमा निकै हतार परेको थियो । त्यसयता कारखानाले मुस्ताङ म्याक्सको सोही मोडेलका लागि निकैवटा बुकिङ पनि पाएको थियो । 'सरकारले गाडी उत्पादन गर्दा यूरो थ्रीको मापदण्डअनुसारको हुनैपर्ने भन्यो । हामीले त्योअनुसारका तयारी पनि गरेका हौ', उनले बताए, 'तर, हामीले ल्याएको इञ्जिन हुनुपर्नेजस्तो परेन । पहिलो टेष्टमै अघि बढ्न नसक्ने भयो । खासमा हामीलाई निर्माण र टेष्टका लागि समय नै पुगेन ।' उनका अनुसार पछिल्लो डिजाइन टाटाको सुमोजस्तो गरिएको थियो ।
त्यसका लागि चीनबाट झिकाइएको इञ्जिनले पहाडी क्षेत्रमा तान्न नसकेको परीक्षणमा देखियो । र्'अर्डरको चार महिनामा मात्रै इञ्जिन आइपुग्ने । अरु पाटपूर्जा तयारीमा समय लाग्ने भएपछि हामीले यूरो थ्रीको मापदण्डमा खुट्टा राख्न समय नै कम्ती भयो', उनले भने, 'समय दिइएको भए हामी परीक्षण गरेर एउटा बलियो गाडी बजारमा ल्याउने सोचमा काम गर्दै थियौं ।' 
एकमात्र कारखाना भएकाले उद्योग र यातायात दुवै मंत्रालयका झन्झटिला प्रक्रियाले काम गर्ने हौसला घटाएको थियो । चीन र भारतबाट पाटपुर्जा आयात गरेपनि चाहिनेमध्ये चेसिजलगायत ३५ प्रतिशत सामान आफै उत्पादन गर्दै आएको इञ्जिनियर दासको दावी छ । 'धेरैवटा एकैखाले कारखानाहुँदा सरकारी नीति र हेराइमा हुने दृष्टि एकमात्र उद्योगका लागि सम्भव नहुने रहेछ', उनले भने, 'बाबुरामजीले चढ्नु भएर हाम्रो गाडीले जसरी चर्चा पायो सोहीअनुसार सरकारी नीति यो उद्योग बाँच्नु पर्छ । बचाउँ भन्नेमा गइदिएन ।' उनका अनुसार सरकारले दिएको दुइ वर्षको समय गाडी फिटिङ गरि ट्रायल पासको मापदण्डसम्म पुर्‍याउन पर्याप्त भएन । 'हामीले थप समय माग्यौं । जवाफ नपाएपछि उत्पादन बन्द गर्नुको विकल्प रहेन', उनले भने, 'हामीले बेचेका गाडीलाई टुहुरो छाड्दैनौ । चाहिने सेवा दिन्छौ । तर, दुःखसाथ भन्न परेको छ अब नया“ मुस्ताङ उत्पादन हुँदैन ।'
सरकारको व्यवहार यहाँ अटोमोबाइलमा आधारीत कारखाना खोलेर उत्पादन बजारमा लैजानुभन्दा आयात गरेर बेच्ने कामलाई प्राथमिकता दिने रहेको उनले बताए । उनले भने 'त्यसैले हामीकहाँ सडकभरि विदेशी गाडी छन् । शोरूम खुलेको खुलेकै छन् ।'
विकल्प विद्युतीय रिक्शा 
विराटनगर-१७ स्थित हुलास मोर्टसको कारखानामा अहिले विद्युतीय रिक्शा बनाउने काम भइरहेको छ । आफैले उत्पादन गर्ने काम बन्द गरेपनि कारखानाले आयातीत सामानको विक्रीलाई अघि बढाउने नीति अघि सारेको छ । सामान सबै आयात गरेर यहाँ फिटिङ गरि बजार पठाउने काम थालिएको छ । सामान र यात्रु बोक्ने दुइ प्रकारका रिक्शा बनाएर बजारमा पठाउन थालिएको इञ्जिनियर दासले बताए । हलुका सवारी, रिचार्जेबल ब्याट्री र दाम पनि कम भएकाले बजारमा अहिले हुलास विद्युत नामबाट ल्याइएका रिक्शाले अरू यस्तै उत्पादनसँग प्रतिष्पर्धा थालेको छ । 
'हामीले एउटा प्रोडक्सन बन्द गरेर अर्को थालेका हौ', उनले भने, 'अब पहिले जति कामदार र लागत पनि पर्दैन ।' लागतमा जोखिम कम पर्ने भएकाले उद्योगले रिक्शामा हात हालेको उनले बताए । गाडी उत्पादनका लागि बसाइएको कारखानाको पूर्वाधारले इलेक्टि्रक रिक्शाका लागि सजिलो पनि भएको छ । यसका लागि ९० प्रतिशत सामान आयातीत छन् । यहा“ फिटिङ गरेर बजार पठाउन सुरू गरिएको छ ।
-भीम घिमिरे/लीलावल्लभ घिमिरे 

(२०७१ पुस २८ मा कान्तिपुर र काठमाण्डु पोष्टमा प्रकाशित यी समाचार आर्काइभका लागि ब्लगमा पनि राखेको हुँ । -भीम )

योसँग सम्बन्धित पुराना खबर पढ्न मन लागे तलका शिर्षकमा क्लिक गरौं ।

Saturday, January 17, 2015

फिस्टुला जिन्दगी

ब्लगमा यो फीचर अपलोड गर्दागर्दै के भनौं भने आज मेरो मेल बक्समा डा. अरुणा उप्रेतीको इमेल रहेछ । 'यो विषय आफूले पनि लेख्न चाहिरहेको भएपनि तपाइले छिटो लेख्नु भएछ । खुसी लाग्यो । यस्तो अप्ठ्यारोमा परेका महिलालाई सहयोग गर्नुहोला' भनेर । मलाई खुसी लाग्यो । उत्तर पनि पठाएँ । नेपाली छापामा हामी डा. उप्रेतीका लेख पढन पाइरहन्छौ । स्वास्थ्यका बारेमा पत्रकारले लेक्न सजिलो छैन । कारण, यो पर्‍यो प्राविधिक विषय । र, यो कसरी लेखियो भन्ने थोरै कुरा भन्छु ।
 मैले नूर इमेजेजको टोलीसँगको यात्राका कुरा यही ब्लगमा केहीअघि गरेको थिएँ । यो त्यही यात्राकै बेला खिचेका टिपेका मान्छेका कथा व्यथा हुन् । विदेशीले अडियो। भिडियो र फोटोमा लगेका मान्छेका कथा हामीले पनि बुझनु पर्छ भन्ने डा. मोहनजीका कुरा उचित लागेको हो । खासमा फिस्टुलाको उपचार राजधानीको पाटन र धरानको विपी प्रतिष्ठानमा सहज छ । यी दुवै सरकारी अस्पताल हुन् । उपचारमा लाग्ने खर्च छुट दिएर थालिएको सेवा लामो अवधि चल्छ भन्ने ग्यारेन्टी भएको कुरा होइन । तर, यो सुविधा जबसम्म छ, तबसम्म विरामीले थाहा पाएर पुग्नु/पुर्‍याइनु पर्छ । सेवा पाउनु पर्छ । यस्ता कथा नियोजित/प्रायोजित हुने गरेकाले प्रकाशित हुन गाह्रो छ । अझ मोफसलबाट लेखिएका यस्ता सामाग्रीमाथि डेस्कले धेरै प्रश्न गर्छ । नियमित समाचार सामाग्रीका रुपमा पठाइयो भने सोधिन्छ -'कुनै फेलोसीप पाएर लेखेको हो ? किन कुन संस्थाका लागि लेखेको ?' भाग्यमानी सम्झन पर्छ, मैले यस्ता प्रश्नको सामना गर्न परेन । कारण कोसेली संयोजक साथी यज्ञशजीलाई विषयबारे लेख्न थाल्नअघि नै बताएको थिएँ । यो कुनै संस्था वा कसैको फेलोसीपका लागि लेखिएको होइन । मबाट वातावरण, चरा र वन्यजीवनमा आधारीत सामाग्री आउनु पर्छ भनेर हौस्याउने उहाँले 'हुन्छ लेख्नुस्' भनेपछि पनि केही समय लगाएर लेखियो । 
फिस्टुलासँग स्वार्थ केही छैन । तर, यो रोगले च्यापेपछि कष्ट खेपेकाहरू भेटेपछि लाग्छ- 'यो कसैलाई नहोस् ।' करीब एक साताको यात्रा,  भेटिएका दुःखी तर, संघर्षपूर्ण जीवन बाँचेका महिलाका कुरा समेट्न मन लागेको हो । यसमा केही पर्तिनिधि पात्रकामात्रै कथा समेटिएका छन् । लागेको छ, यी केही पात्रले यो रोगले दुःख दिँदा पाइने कष्टसँग जुध्दै जिन्दगीको गाडी डोर्‍याउनेहरूको प्रतिनिधित्व गर्नेछ । अझै हामीले यस्ता कुरा खोज्नै सकेका छैनौ । महिला वालबालिकाको स्वास्थ्य, शिक्षा र समाजिक सरोकारका विषयमा धेरैथोक खोज्नै पर्छ । यो क्रम जारी रहनेछ । 
तल २०७१ माघ ३ शनिवार कान्तिपुर कोसेलीको मध्यपृष्ठमा प्रकाशित 'फिस्टुला जिन्दगी' छ । अनलाइनमा राखिएको सामाग्री कपी गर्दा फन्टको साइज र स्पेसिङ मिलाउन सकिएन । त्यसैले मैले सुरूमा कोसेलीलाई पठाएको मुलकपीबाट राखेको छु । प्रकाशित हुँदा यसमा केही हरफहरू काँटछाट गरि सम्पादन भएका छन् । अप्रासंगिक, वा एउटै कुरा दोहोरिएको, वा अनावश्यक लागेर हुन सक्छ । मिलाएर बुझम् ।  


अब मुल कथा

खहरे खोला डीलैडिल उत्तर लागेपछि पुगिने सानो झुपडीका दुइ कोठा । एउटा बैठक र सुत्ने, अर्को सानो भान्सा । मुलढोकाबाट पस्दै भीत्ताभरि फोटैफोटा छन् । भित्तेचित्रका भाव जिन्दगी हँसिलो-रसिलो छ । धरान-१३ अमरबस्तीकी बिना कठायत मनभरि आँधी बोकेर बाँचेकी होलिन् भन्ने भान पटक्कै हुन दिँदैन ।
'पाँचपल्ट अपरेसन भयो । अझै निको भइसकेको छैन', उनले भनिन् 'आसैआसमा बसेकी छु । होला नहोला । खै के भन्नु ?' ४६ वर्षीया बुढाथोकी फिस्टुला रोगी हुन् । चिकित्सकहरूका अनुसार दिसा-पिसाब आफ्नो मर्जीले नअडिने रोग नै फिस्टुला हो । मुत्रनली, थैलीमा प्वाल परे वा चुँडिए यस्तो हुन्छ । 
२६ वर्षदेखि रोगसँगै जिन्दगीको गाडी डोर्‍याएकी उनका लागि अब सबथोक सामान्य छ । आस छ,  उति भरोसा छैन । पहिलो, दोस्रोपटकमा मान्छेका बिमार बिसेक हुन सकेन भने सामान्यतः यस्तो लाग्नु स्वभाविक पनि छ । 
अमरबस्तीकी यी दरिली एक्ली महिलासँग मेरो भेट संयोगले गराएको थियो । उनी जसरी रोगसँग संघर्ष गरेर बाँचेकाको कथा खोज्न आएको अन्तर्राष्ट्रिय फोटो एजेन्सी नूर इमेजेजको टोली । त्यो टोलीले बाटो देखाउन साथ लिएपछि यो मौका मिल्यो । यो यात्रामा भेट्नै पर्नेमध्येकी बिना पहिलो पात्र थिइन । उनीसँगको भेटघाट पोट्रेट फोटो खिच्ने असिम रफिकी र भिडियो खिच्ने पेप बोनेटसँगै मेरा लागि पनि नौलो थियो । हुन त हरेक मान्छेसँग कथा छन् । भोगाइलाई व्यक्त गर्ने तरिका भाषामा उस्तै-उस्तै लाग्छन् तर, आफन्तभन्दा पर, एक्लै उभिएकी महिलाले त्यसबेला चर्चा पाउँछन् । जब उनको काम समाजमा अलि नौलो र उदाहरणीय हुन्छ । हाम्रो पात्रसँग नाम चल्ने केही थियो भने अढाइ दसकदेखि रोग च्यापेर गरिरहेको जिन्दगीको यात्रा । हामी अब उनका कुरा सुन्छौं । 
बिनाले पूर्वी पहाडको खोटाङ, निर्मलीडाँडा गाविसमा रहँदाताकाको समय सम्झना गरिन् । नातामा दिदी पर्नेको निधन भयो । भिनाजुले मागेपछि बिनाको २० वर्षको उमेरमा विवाह भयो । 'मलाई जेठमा बिहे गर्‍यो, भदौमा फेरि मेरो बडाबाकी छोरी सौता हाल्यो', उनले भनिन् 'चैतमा मेरो बच्चा हुने थियो ।' अतित खोतल्दा आँखाका डिलहरू रसाएर आए । त्यो दिन उनी घाँस-दाउरा लिन जंगल गएकी थिइन । असह्य हुनेगरि पेट दुख्यो । घाँस लिएर घर फिरेपछि फत्त्र्याक फत्त्र्याक परिन् । 'बच्चा कसरी हुन्छ भन्ने थाहा थिएन । स्वास्थ्यचौकी टाढा । घरका मान्छे अबुझ', उनले भनिन् 'तेस्रो दिन बच्चाको टाउको अलिकति निस्केको रैछ । गाउँमा गाइ ब्याउन नसके तान्दै निकाल्ने गर्ने एकजना लोग्नेमान्छेले आएर तानेर निकाली फालिदिएछ । त्यसपछि निकै दुख्यो । म निकै बिमार भएँ ।'
दिसापिसाब एकै थलोमा । जरोले इन्तु न चिन्तु । वाक्य बसेको र कम्मरमुनिका भाग नचल्ने भएका थिए । घरकाहरूले हेरेनन् । माइतीमा खबर पुग्यो । हेर्न आउने आफन्तले ज्यान माया मारे । 'यो मर्छे भनेर आफन्तहरू रोए पनि', उनले सुनाइन् 'दिदी आइन र, डोले बोलाएर माइत लगिन् ।' त्यसको आठ महिनापछि मात्रै उनले ओच्छयान छाडिन् । 'हात टेकेर, घुँडाले घस्रेर बिस्तारै हिड्न थालेँ', उनी फ्ल्यासब्याकमा पुगिन् 'त्यही वर्ष दिदीको पनि बिहे भएपछि घरमा बुवा र म एक्लै भयौ । आमा सानैमा बित्नु भएको । दाजुहरू रोजगारी खोज्न धेरै वर्षअगाडि नै हिडेका थिए ।'
ओखलढुंगाको मिशन अस्पतालमा प्रसूति बिग्रिएर पर्ने समस्याको उपचार हुने केही गाउँलेले सुने । उनलाई आएर सुनाए । सडक थिएन । एक दिन पैदल दूरिको गाउँ । तर, गाउँलेको सहयोगमा बाबु-छोरी अस्पताल पुगे । 'त्यो टेकनपुर हस्पिटलमा विदेशी डाक्टर थियो । उसले हेर्‍यो', उनले भनिन् 'ठूलो बिमार छ । पिसाब नलि चुँडिएको छ । पाटन हस्पिटल जानु भनेर लेखिदियो ।' विपन्न परिवार । हातमुख जोर्नै धौधौ । उनले उपचार पाउन सकिनन् । विस्तारै आफ्नो खुट्टाको भरमा हिडडुल गर्न थालेपछि बाबुका लागि भात पकाउँदै माइतमा बसिन् । 
दुई वर्षपछि गाउँका कसैले धरानमा उपचार लाग्ने सुनाएपछि उनी झरिन् । 'त्यहाँ इण्डियन डाक्टर थियो । उपचार खर्च २० हजार लाग्छ भन्यो । पैसा थिएन', उनले भनिन्, 'त्यसपछि मोरङको सिजुवामा दाइ थिए । त्यहाँ गएँ । दुइ वर्ष बसें । उपचार लाइदिएनन् ।' देख्ता सद्दे भए पनि दिसा-पिसाब आफ्नो बलले अडिदैनथे । दाजुले पनि उपचार नलाइदिएपछि पहाड फिरिन् । पुगेलगतै गाउँकै एकजना दिदी पर्नेले उनलाई धरान बोलाइन । उपचारको आसमा फेरि झरिन् । 'उनीहरूका लागि दाउरा लिन जंगल जाने, भात पकाइदिने, बच्चा स्याहार गर्ने १० वर्ष काम मात्रै लाए । उपचार लाएनन् । बुवा पहाडमा एक्लै परे भन्ने वहाना लगाएर तिनको घर छाड्न पर्‍यो', उनले सम्झिन् 'वडा समितिबाट उपचारका लागि सिफारिस चिठी बनाउन लगाएको पनि हो । तर, देख्ता बाहिरबाट सद्दे हेरेर त्यो कागज पढ्नेले मलाई ठग भने ।' चित्त कुँडियो । 
त्यो घर छाडिन् र, धरानमै अलिमाथि अमरबस्तीमा भदै पर्नेकहाँ शरण लिइन । त्यसपछि जिन्दगीले नयाँ मोड लियो । जोगाएको १५ सयले भाडाको घुम्तीमा सानो तरकारी पसल थालिन् । त्यहाँ आइरहने एक महिलासँग उनको राम्रो कुराकानी हुन्थ्यो । 'बैनी तिमीसँग बसेर कुरा गर्दा कस्तो कस्तो गन्हाउँछ । के समस्या छ ? भनेर त्यो दिदीले सोध्या', उनले भनिन्, 'मैले आफ्नो समस्याको कुरा बताएँ ।' राष्ट्रिय अनुसन्धानका जागिरे भिनाजुका साथी धरानको वीपी प्रतिष्ठानमा चिकित्सक भएर आएका थिए । सल्लाह मिल्यो । दुवैको सहयोगमा उनी फेरि उही अस्पताल जहाँ डेढ दसकअघि उनलाई उपचारका लागि २० हजार खर्च लाग्छ भनिएको थियो । 
उपचार सुरू गर्दै यसपटक उनले 'निको हुन सक्छ । नहुन पनि सक्छ' भन्ने चिकित्सकको दुविधापूर्ण कुरा सुन्न पाएकी थिइन । वितेको वर्षम्ममा उनले ५ पटक शल्यक्रिया सामना गरिन् । यो अवधिमा उनको ज्यान दुइपल्ट पाटन अस्पताल पुग्यो । तीनपटक धरानकै अस्पतालमा चिकित्सकले विसेक पार्ने उपाय लगाइ हेरे । 'पहिले पहिलेजस्तो छिट्टै चुहिने समस्या छैन', उनले भनिन्, 'तर, आफ्नो मर्जीले दिसापिसाब फेर्न नपाउनु, आफै चुहिनुको समाधान नभएसम्म के निको भएको मान्नु ?'
०००
त्यो दिन जस्तो 'इन्सेक्योर फील' जीवनमा अघि-पछि भएको छैन । घरबाट काठमाडौंको डेरा आएको दिन थियो त्यो । गाडीबाट कोटेश्वर उत्रँदा लुगा पुरै भिजेका थिए । एउटा लेडिज, उसका सुरूवाल भिजेका छन्, बाटामा जाँदैछे । दिसापिसाब त गन्हाउँछ नै । सोच्नुस् त ! कस्तो भो होला ? आफूलाई लाज, हीनता, केकेथोक अनुभव भइरहेको थियो । देख्नेहरूमा कसैले 'छि कस्तो फोहोरी', कसैले 'घरबाट नुहाएर आउनु पर्दैन !' सम्म भने । मेरो रहर थिएन । यो रोग लागोस् कसले भन्दो हो - त्यो दिन डेरासम्म पुग्दा मलाइ भएको अनुभव साह्रै नमिठो रह्यो । 
आफ्नो घटना सुनाएर ती हँसिली राधिका राई मौन भइन । केही गम्भिर देखिइन । केहीबेर बोलिनन् । रसाएका आँखा पुछिन् । उनका कुरा अझै केहीबेर सुन्नु थियो । फेरि बिस्तारै भन्दै गइन् । 
अभिभावकविहीन राधिका राजधानीको एउटा निजी विद्यालयमा काम गर्थिन् । पढ्थिन् । १२ वर्षमै विवाह भयो । '१२ वर्षमै ? बालविवाह ?' प्रश्नले उनी केही अलमलमा परिन् । स्वास्थ्य जाँचका लागि धरान आएको बेला उनलाई भेटिएको हो । 'लव होइन, एरेञ्ज पनि होइन । खै कसरी भयो । भइहाल्यो', थोरै हाँसिन, कुरा लुकाउन खोजेजसरी उनले भनिन् 'खासमा एकजना दिदीको हुनपर्ने । उनका साथमा जाँदाजाँदै मेरो पो भयो ।'
अहिले उमेर २१ लाग्यो । फिस्टुलाको समस्या भएको र श्रीमान विदेशिएको पाँच वर्ष। बिहेपछि श्रीमानको घर ओखलढुंगाको खिजिकाती-३ पुगिन् । केही वर्षपछि गर्भ रह्यो । सुविधा भएको स्वास्थ्य चौकी टाढा । गाउँ पनि जिल्ला सदरमुकामबाट झण्डै डेढ दिनको पैदल दूरिमा । घरमा प्रसूति सजिलो भएन । 'भित्रै बच्चा मरेछ, मलाइ रामेछापको प्रिती गाविसको हेल्थपोष्टमा लगेपछि अहेबले बच्चा झिकिदिए', उनले बताइन्, 'त्यसपछिदेखि मेरो दिसा-पिसाब अडिन छोड्यो ।' घटनाको तीन महिनापछि श्रीमान वैदेशिक रोजगारीमा मलेशिया हान्निए । तीन वर्षपछि उनी राजधानीमा आएर डेरा लिएर बस्न थालिन् । श्रीमानसँग फोनवार्ता त हुन्छ तर, यो अवधिमा उनी विदा लिएर एकपटक पनि स्वदेश आएका छैनन् । 'अब टाइम सकिन लाग्यो, फिर्नुहुन्छ', उनी केही ढुक्क देखिइन् ।
'गएको जेठमा समेतगरि तीनपल्ट अपरेसन भइसक्यो । पुरै निको भएको छैन', उनले सुनाइन् 'तर, पहिले पहिलेभन्दा केही कम छ ।' 
डेरामा आफूले कसैलाई साथी/पाहुना नलाने तीतो उनले पोखिन् - 'भर्खर बच्चा जन्मेकोजस्तो आफ्ना लागि थाङ्नाको भारी राखेर बसेकी हुन्छु । यस्तोमा साथी बनाउन, पाहुना लैजान मन लाग्दैन ।' आफ्नो मर्जीले मलमुत्र नअडिने भएपछि पाहुना वा भेट्न आउनेले थाङ्ना देखेर के भन्लान् भन्ने लागिरहने उनले बताइन । 'आफूलाई यस्तो समस्या आएपछि मैले चिनेजानेका दिदीबैनीलाई कम उमेरमा बिहे गर्न हुन्न । बच्चा गर्भमा बसेपछि डाक्टर देखाइरहन पर्छ भन्छु', उनले भनिन्, 'आफ्नो ज्यानलाई समस्या हुने कुरा थाहा नपाएर हुने रहेछ । थाहा हुन्थ्यो भने यस्तो टेन्सनलाई कसले निम्तो दिन्थ्यो ?'
०००
'हो, सौता र म मिलेर बसेका छौं । बुढाको बिहे गराइदिनुको विकल्प मसँग थिएन', सप्तरीको जोगिनिया-१ की रञ्जनादेवी मेहताले भनिन् 'अबको आस छोरा भइदिए हुन्थ्यो भन्ने छ ।' कोसीब्यारेज वारिको भारदह चोकबाट सप्तरी सदरमुकाम पूर्व-पश्चिम राजमार्ग छाडेर जाने हो भने अर्को बाटो छ । दक्षिण लाग्ने त्यो बाटोमा कोसी किनारको पुरानो बजार हनुमाननगरभन्दा एक किलोमिटर वर रहेछ रञ्जनाको घर । 
उनलाई भेट्ने ठेगाना श्रीमान जोगिन्दर मेहताको परिचय दिएर घर खोज्नुपर्ने थियो । एउटै टोलमा यो नाम थरका तीनजना रहेछन् भन्ने त्यहीँ पुगेपछि मात्रै थाहा भयो । बाटो देखाउनेले पहिलो, दोस्रोकहाँ पुर्‍याए । 'हामीले खोजेको जोगिन्दरको घर यो होइन' भनेपछिमात्रै अन्तिममा खोजेको घर भेटियो । रञ्जना घरैमा थिइन । 
'छोरी ११ वर्षकी भइ । ऊपछिको एउटा बच्चा खेर गयो', उनले सुनाइन, 'त्यसपछिको बच्चा पनि पेटैमा मरेछ । कोसीको बाँध भत्किएको बेला थियो । डेलिभरीका लागि श्रीमानले मलाइ बिरगञ्ज अस्पताल पुर्‍याए ।' अपरेसन गरेर पेटको बच्चा झिक्न केही दिन ढिला भएको थियो । त्यसपछि उनलाई फिस्टुलाको समस्या भयो । चिकित्सकले 'अब आमा नबन्नु । मर्छेस्' भनेकाले श्रीमानको एउटा छोराको रहर पुरा नहुने अवस्था आयो । उनले भनिन् 'मैले नै बुढालाई अर्को ल्याउ । मिलेर बस्छौ । छोरा होला । तिम्रो इच्छा पुरा हुन्छ भनेकी हुँ ।' उनको कुरा गराइ भावशुन्य थियो । 
जोगिन्दर बुटबलमा काम गर्छन् । बेला बेला घर आउँछन् । फिस्टुलाको विरामी भएदेखि उनलाई छोरीले पनि सघाउन थालेकी छन् । सौताको व्यवहार राम्रै रहेको बताइन् । धरानमा शल्यक्रियापछि उनलाई केही विसेक भएको अनुभव छ । भन्छिन् 'निको त भयो तर, कहिलेकाही तल्लो पेट बेस्सरी दुख्छ ।'
उनकै छिमेकी रीतादेवी चौधरीलाई त्यस्तो समस्या रहेको बाल्यकालदेखि नै हो । चार छोरी, दुइ छोरा छन् । 'मैले होस सम्हालेदेखि नै दिसापिसाब नअडिने समस्या थियो', उनले भनिन् 'बुवाआमाले धेरैतिर उपचारका लागि लैजानुभयो । निको भएन ।' समस्या रहँदै पनि विवाह भयो । सन्तान पनि हुँदै गए । ४० वर्षीय भएपछि मात्रै उनले ग्रामीण मातृशिशु कार्यकर्ताबाट उपचारका लागि धरानमा सम्भव रहेको थाहा पाइन् । दुइपटकको अपरेसनपछि दैनिकी सामान्यतर्फ फिरेको छ । 
'स्कुलमा, बाहिरफेर होस् वा घरमा, एउटै डर रहने', उनले भनिन् 'कतिखेर दिसापिसाब चुहिन्छ । अरुले थाहा पाए के भन्लान् । साह्रै कष्टले उमेर काटियो ।' चौधरीकै उपचार सुरू भएको थाहा पाएर रञ्जनालाई पनि जोगेन्दरले धरान लगेका थिए । 
यी दुइको घरनजिकै माइती भएकी धनीकुमारी मुखियाको सप्तरी, कमलपुर-७ मा विवाह भएको हो । २२ वर्षको उमेरमा चारपल्ट गर्भवती भइन् । सबै राजविराजको सगरमाथा अञ्चल अस्पतालमा अपरेसन गरेर झिकिएका थिए । तर, दुइ खेर गए । पहिलो र दोस्रोपटक अपरेसन गर्दै डाक्टरले 'अब गर्भवती नहुनु । ज्यानलाई खतरा हुन्छ' भनेका थिए । 'हामी अनपढ गरिब, उसमाथि परिवारमा छोराको चाहना । म गर्भवती हुन्छु हुन्न भन्ने निर्णयको अडानमा कसरी बस्न सक्नु ?', उनले सुनाइन् 'दोस्रोकै पालिदेखि समस्या आयो । के रोग भएको भन्ने थाहा थिएन ।' धनीकुमारीका श्रीमान जयनारायण ज्यालादारी कामका लागि भारतको पञ्जाब गइरहन्छन् । वर्षका केही महिनामात्रै घर आउँछन् । हामीले उनीसँग भेट गर्दा माइती आएको संयोग थियो । 
कोसीको पश्चिमी तटबन्धमा केही घण्टाका लागि भाडामा ल्याएको थ्रेसरमा उनका बुवा कुसुमलाल र दाजुभाइ धान दाउनी गरिरहेका थिए । उनी बोझा ल्याउन र धान समेट्न सघाइरहेकी थिइन् । उनका अहिले ६ र ४ वर्षका छोरी छन् । फिस्टुलाको अपरेसनपछि उनी काम गर्न सक्ने भएकी बुवा कुसुमलालले बताए । 'हाम्रो समाज अझै छोरीलाई गर्भधारण गर्न सक्ने भएपछिमात्रै विहेदान गरिदिन पर्छ भनेर बुझने भएकै छैन', उनले भने, 'रोगका कुरा जान्दिन । तर, बालखैमा बिहे गरिदिँदा समस्या आउने कुरा डाक्टरबाटै सुनेँ ।' छोरी विरामी परेपछि धेरै तनाव भएपनि अहिले निकोहुँदै जाँदा घर गरेर खान्छे भन्नेमा आफू ढुक्क भएको उनले सुनाए । 
०००
'पेट दुख्छ मात्रै भनेर आएकी थिइन । मलाई शंका लाग्यो यो फिस्टुला केस हो कि भनेर' सिरहाको कर्जन्हास्थित फूलकुमारी अस्पतालका डा. शिवशंकर साहले भने, 'मैले धरान फोन गरेँ । र, उतै पठाइदिए“ । मैले हेरेकोमा यो पहिलो केस थियो ।' उनले धनुषा रघुनाथपुर-२ को किरतपुरबाट विवाह भएर आएकी २० वर्षीया सुनीतादेवी महतोका बारेमा बताइरहेका थिए । 'महिला र प्रजनन् स्वास्थ्यका बारेमा निकै कम सचेत छन् यताका गाउँले', उनले भने, 'त्यसैले महिलाकै धेरै खालका केस आइरहन्छ ।'
कर्जन्हा र किरतपुरबीच कमला नदि छ । पानी घटेकाबेला यी गाउँका मान्छे वर्षा केही महिना ओहरदोहर गर्छन् । उनी माइती गएकी थिइन । कमला नदिमा पानी निकै थियो । उनलाई भेट्न पुलपारी भएर करीव २२ किलोमिटर कच्ची बाटो यात्रा गर्नुपर्ने भयो । हामी किरतपुरतिर लाग्यौं । करीव दुइ किलोमिटर वरदेखि गाडी अघि बढ्न सकेन । बाटामा ठूल्ठूला खाल्डा थिए । चोकमा सुनीताकी आमा चोकमा प्याजी-भुजा बेच्न बसेकी थिइन । अपांग बाबु शिवा महतो अर्काको खेतमा काम गरेर र्फकदै थिए । बाटाको गाइड बनेका उनले भने 'ठूलीछोरी । छिटै बिहे गरिदियौं । जनकपुर लानुपर्दा पर्दा चार गाउँ डुलेर चन्दा खोजेर लगेका थियौं ।' 
ढल्न लागेको फुसको घर । पाँच भाइबैनीकी जेठी सुनीता नौला मान्छे देखेर अकमकाइन । नेपाली भाषा बोल्न र बुझन नसक्ने उनका लागि संवाद मैथिलीमै मात्र हुन सक्यो । 'मेरो पहिलो बच्चा । पेटमै मरेछ । जनकपुरको हस्पिटलमा पेट चिरेर झिकेको', उनले बताइन, 'त्योबेलादेखि समस्या भयो ।' दम्पतिमात्रै भएको घर । जनबनी गर्न नगए चुलो नबल्ने स्थिति । 'मैले धेरै दुःख खेपें', उनले भनिन् 'धरानमा अपरेसनको २४ दिनसम्म अस्पताल बसेर आएपछि अहिले केही विसेक भएको छ ।' उनलाई अब सन्तान हुने हुन् वा हैनन् भन्ने डर रहेछ । उनले भनिन् 'के कारण त्यस्तो भयो भन्ने मलाइ अझै थाहा छैन । यति लाग्थ्यो निको नहुने रोगले भेट्यो । बाँच्दिन होला भन्थें । बाँचे ।' 
०००
'हाम्रो ध्यान मातृ मृत्यु दर घटाउने हो भने फिस्टुलाको समस्यामाथि गम्भिररूपमा ध्यान जानैपर्ने देख्छु' धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागका संयोजक एसोसिएट प्रोफेसर डा. मोहनचन्द्र रेग्मीले भने 'धेरैपछि अब आएर बल्ल यो समस्या निदानका लागि काम सुरू भएको छ ।' पाठेघर खस्ने समस्याबारे अहिले धेरै जानकारी बढेको भएपनि फिस्टुलाबारे प्रचार निकै कम रहेको उनले बताए ।
सानै उमेरमा गर्भवती हुनु, बेथा लागेको लामो समयपछिमात्रै अस्पताल लगिनु र असुरक्षित प्रसूतिलगायत फिस्टुलाको समस्या आउने विभिन्न कारण हुने गरेको उनले बताए । 'अरू कारणहरू पनि छन् तर, देखिएका धेरै केसमा बेथा लागेको लामो समय भयो, रक्तसंचार नभएर मलमुत्रको थैली प्वाल पर्छ अनि त्यहाँबाट दिसा र पिसाव बग्ने गर्छ', उनले भने, 'थाहा पाएर छिटै उपचार खोजी गर्ने निकै कम छन् । धेरैले लामो समयपछिमात्रै उपचारमा आइपुगेको बताउँछन् ।'
उनका अनुसार फिस्टुलाको उपचार चार वर्षदेखि पूर्व क्षेत्रमा धरानमै मात्र गरिँदै आउँदा यसका जटिलता निवारणका तरिका र उपचारको सरल पद्धतमिाथि खोजी पनि गरिएको छ । 'शिक्षा, विकास र अरुथोकजस्तै यो स्वास्थ्योपचारको सेवा पनि दातृको सहयोगमा सुरू भएको यथार्थ छ', उनले सुनाए, 'सरकारले चाहेर गर्न नसक्ने होइन । तर, कहिले यस्ता सेवालाई प्राथमिकतामा पार्ने, नीतिमा पुनरावलोकनका लागि दावेदारी गरेर आवश्यकता कसले बुझाइदिने ? अहिले हामीले भन्ने रोग लुकाएर घरमा नबसौं, उपचार खोजौं ।'
प्रतिष्ठानमा वर्षेनी यस्ता पाँच सय हाराहारी विरामी उपचारका लागि आइपुग्ने गरेका छन् । करीव एक महिना भर्ना भएर गरिनुपर्ने उपचार विरामीले बिना कुनै शुल्क पाउने व्यवस्था छ । संयुक्त राष्ट्रिय संघीय जनसंख्या कोषले यो उपचार सेवालाई सघाउने दक्षिण एशियाली मुलुकमा नेपाल पनि छ । ५० हजार रूपैयाँ हाराहारी लाग्ने खर्च लाग्नेमा विरामीले सितैं सेवा लिन पाउने व्यवस्था छ । 
प्रतिष्ठानमा डा. रेग्मीको छुट्टै टोली यसैका लागि काम गरिरहेको छ । दुइ डाक्टर र केही नर्सिङ स्टाफले यसका लागि विशेष तालिम लिएका छन् । नर्सिङ अफिसर सुजन लामाले भनिन् 'म त्यस्ता विरामीसँग कुरा गर्छु र, थाहा हुन्छ फिस्टुला भएपछि धेरैले परिवारको तिरस्कार भोगेका हुन्छन् ।' उनका अनुसार अझै पनि बच्चा जन्माउने उमेर भएपछिमात्रै गर्भधारण गर्ने, गर्भ रहेपछि नियमित जाँच गराउने कुरा प्रचार हुनु आवश्यक छ । डा. तरूण प्रधानले भने 'अन द जब ट्रेनिङको दौरान ५० वटा जति केस हेरियो । उपचार सम्भव छ । तर, धेरै परिवारमा यस्तो दिसापिसाब आफै चुहिने समस्या के हो ? उपचारका लागि कहाँ जाने भन्ने जानकारी पुगेकै छैन ।' विशेषतः लाजका कारण लुकाउने गरेकाले महिलाले भित्रभित्रै सास्ती खेपेर बस्ने गरेको केस स्टडीबाट थाहा भएको उनले बताए ।

(२०७१ माघ ३ शनिबार प्रकाशित )

ईकान्तिपुरमा पढ्न मन लागे तलको लिंकमा जानु होला  
http://goo.gl/OGX9DK      

Wednesday, January 14, 2015

मकरका पाहुना

लाग्यो ट्वीटरका
१४० शब्दभित्र मलाइ व्यक्त गर्न इच्छा लागेका कुरा अँटाएनन् । केही लेखम् भयो । केहीबेर अघि म बजारको बाटो भएर घर फिर्दै थिएँ ।
२०७१ पुस ३० बुधबार, बेलुकीको ९ः४५ बजे ।
बिराटनगर बजार क्षेत्रको मेनरोडमा रहेको सत्यनारायण मन्दिर (अतिथि सदन अगाडि) अगाडिको सडकमा धेरै मान्छे बसेका छन् । यो बजार एरियाका जस्ता नलाग्ने, आगो तापेर सडकमा बसेकाहरूसँग कुरा गर्न मन लाग्यो । रोकिएँ ।
नेपाली भाषा नजानेकाहरू थिए । मैथिलीमा कुरा गरियो । सुरूमा त ठट्टा नै गरे  उनीहरूले । मेरो ब्याग देखेर कोही कम्बल बाँड्न आएको ठाने रे । सीमावर्ती विहारको जोकीहाट, पलासी, बलवाबाट मकर संक्रान्तिमा माग्न आएको बताए । उनीहरूका अनुसार करीब आधा दर्जन गाउँबाट आएका । एउटाबाट कम्तीमा सयजना । मकरका दिन नगरको बजारबासीले गर्ने दानको परम्परा पुरानो हो । त्यो एक बिहान पाएको दानले ३/४ महिना पुग्छ । त्यसैले धेरै वर्षदेखि आउने गरेका । मसँग केही बृद्धाले कुरा गरे । कुराकानीको केहीबेरमा दानको पनि आस गरे । 'भोलि त तिमीहरूले पाइहाल्छौ । को हौ के हौ ? भन्ने जिज्ञासा लागेर मात्रै कुरा गरेको' भनेर टारियो ।
धेरै बृद्धबृद्धा र केटाकेटी । उनीहरूले बताएपछि मात्रै मेरो दिमागमा मकरका बिहान विराटनगर बजारको दृश्य आयो । 
त्यो बिहान यो नगरलाई माग्नेको सहर भन्दिए हुन्छ । कारण - यहाँका काली, हनुमान, शनि र सत्यनारायण मन्दिर आसपास माग्नेलाई दान दिइन्छ । ६/७ सयको हाराहारीलाई खिचडी खुवाइन्छ । नगरको यो परम्परा हेर्दा नौलो र रमाइलो पनि छ । त्यो बिहान जता हेरे नि मगन्ते देखिन्छन् । 
त्यसो त विहारका तीर्थालु वराह क्षेत्र जान्छन् । त्यहा यसरी माग्न होइन धर्म गर्न । बालाचतुर्दशीको मेला भर्नेमा उनीहरूको संख्या अत्यधिक हुन्छ । त्यसको अघिल्लो रात रानी भंसार नाकादेखि बसपार्कसम्म रातैभरि गाडी चल्छ । विराटनगरबाट वराहक्षेत्र तीर्थालु अोसार्नको भ्याइनभ्याइ चल्छ । 
यता मकरको बिहानसम्म पाहुनाले सडकमा रात गुजार्छन् । त्यसका अघिपछि फेरि यो भीड देख्न फेरि माघे संक्रान्ति नै आउनु पर्छ । यो कहिलेदेखिको चलन हो ? यकिन भन्ने कोही छैन । तर, चलेको छ । शायद यो यात्रा लाभकारी छ, त्यसैले उनीहरू चिसोमा रात काट्न तयार छन् । थाहै नपाइ फरक खालको एडभेञ्चर जिन्दगीको प्रथासँग जोडिएको छ । यहाँ जिन्दगी यसरी पनि चलेकै छ ।