Monday, March 30, 2015

पोखराको यौन पर्यटन

उज्यालो शहरमा अँध्यारोको व्यापार 

-भीम घिमिरे/शिव शर्मा 
१. सात कक्षामा पढाइ राम्रै थियो । गीत गाउनमा सिपालु पनि थिइन । बाबुका तीन श्रीमतिमध्ये  माहिलीकी छोरी । घरमा कचमच पर्‍यो । सुदुर पश्चिमको एउटा जिल्लाबाट भागेर घर छाडेपछि उनी नजिक एउटा शहरमा आफन्तकहाँ केही महिना बसिन् । त्यहाँबाट पढाइको साटो काम गरिखाने रहरले काठमाडौं पुर्‍यायो । रेस्टुराको जागिरबाट संगतले यौनकर्मी बनायो । केही वर्षपछि पोखरा आइन् । यहाँ पनि केही वर्ष बिते । दिनहुँ आफ्नै शरिरको व्यापारले वाक्क बनायो । सही बाटो बताउने भेटिएपछि उनले घर फिर्ने निधो गरिन् । गइन पनि । तर, बस्न मन अडिएन । नौ महिनापछि फेरि पोखरा आएर उनी धन्दामा छिन् ।
२. तनहुँको खैरेनीटारबाट साथीहरूसँग पोखरा आइपुगेकी विपन्न परिवारकी एउटी छोरीले होटलमा काम थालिन् । वेटर भनेर राखिएको थियो । सञ्चालकले ग्राहक पनि रिझाउन दबाब दिए । गर्दागर्दै उनी यौनकर्मी भइन् । केही वर्षपछि उनलाई दौतरी शिक्षकले भेटे । सुरक्षित यौनव्यवहारबारे बताए । दिनदिनै धेरैसँगको यौन व्यवहारले वाक्क उनले विस्तारै त्यो बाटोबाट आफ्नो सक्रियता घटाइन । अहिले पेशा परिवर्तन गरेर अरू नै काम गर्छिन् ।
पर्यटकीय शहर फेवाताल र माछापुच्छ्रे हिमालका दृश्यले जति सुन्दर र उज्यालो छ, उति नै यहाँ यौनव्यापारको अँध्यारो जीवन बाँच्नेहरू पनि छन् । माथिका यौनव्यापारसँग जोडिएमध्येका दुइजनाको भोगाइका सारांश हुन् । आफ्नै योजनामा तालको शहर घुम्न आउनेहरूले झट्ट खोज्दा दृश्यमा तुरन्तै भेट्न गाह्रो पर्ने यी अँध्यारोका पेशाकर्मी यहाँ अनुमानभन्दा धेरै छन् । 
'छोरीजस्तो उमेरकी केटी वन्ली वन थाउजेन्ट रुपीज भनेर अगाडि आउँछे । म पहिले त झसङ्ग भएँ', उनले भने, 'बाटो छेक्न खोज्दै बारम्बार त्यही कुरो भनेपछि एकपटक हकारेँ । अनि म काम दिन्छु, आउ काम गरेर खाउ भनेको उल्टै गाली गरेर गइन ।' यहाँको लेकसाइडका पर्यटन व्यवसायी हरि पहारीले एक साँझ फेवा किनारमा डुल्दाको घटना यसरी सुनाएका हुन् । उनले भने 'त्यस्तो पेशामा लागेर छिनमै आम्दानी गर्न थालेकोलाई मेहनतको काम किन पो गर्न मन लाग्दो होला ।'
यहाँ जहाँ धेरै पर्यटक रिझाउन धेरैथरि होटलरेष्टुरा छन्, उति नै व्यवसायका तरिकाहरू पनि धेरै प्रकारका छन् । विभिन्न मुलुकबाट यहाँ आइपुग्ने पर्यटकलाई खान बस्नमात्रै होइन, प्याराग्लाइडिङ, अल्ट्राइटमा पर्यटक उड्न दिने उडाउनेदेखि लामो छोटा दुरिका पदमार्गको यात्रा गराउने, पर्वतारोहणका लागि बाटो देखाउने काम गर्ने लेकसाइडमा धेरै छन् । यहीँ अर्को अदृश्य पेशा वेश्यावृत्तिको हो । 
गत फागुनको अन्तिम साता यहाँको वडा प्रहरी कार्यालय बगरले तीन दर्जन यस्ता पेशेवरलाई पक्राउ गरेको थियो । पक्राउको तेस्रोपटक २८ हजार धरौटीमा छुटेकी महिलाले भनिन् 'बाध्यताको पेशा हो । रहरले कसले गर्छ ?' बाबुले सौता हालेपछि कान्छीआमाको प्रताडना, त्यसपछि एक युवकसँगको सम्बन्धले पोखरा आइपुगेको बताएकी उनले यस्तो पेशामा रहेका धेरैजना बाध्यताले आएको उनले बताइन ।
यौनकर्मीलाई एचआइभीको जोखिमबारे सचेत गराउँदै वैकल्पिक पेशामा जान सल्लाह दिने 'नयाँ गोरेटो' की अध्यक्ष लक्ष्मी रानाभाट भन्छिन् 'यिनीहरूमाथि जति जति कडाइ हुन्छ, उति नै जोखिम समाजका लागि बढ्छ ।' खास खास ठाउँमा बढि भेटिने सूचना पाएर प्रहरीले कडाइ गर्दा जथाभावी फैलिएर बसाइँ र्सर्दै देहव्यापार गर्नेहरूबाट समाजलाई यौनरोगको जोखिम हुने उनले बताइन । 
प्रहरीमा जब उच्चअधिकारी फेरिन्छन्, यहाँको बागलुङ बसपार्कसँगै आधा दर्जन ठाउँमा धरपकड सुरू हुन्छ । यसपटक पनि गत फागुनमा जिल्लाका प्रहरी उपरीक्षक फेरिए । क्षेत्रमा प्रहरी नायव महानिरीक्षक अर्का आएर । महिनाभर निगरानी र छापा मार्ने अभियानलाई तीव्रता दिएका प्रहरीका युनिटहरूले ५० जनाको हाराहारी महिलालाई नियन्त्रणमा लिए । केही भोलिपल्टै छुटे । केही पक्राउको एक सातापछि जिल्ला प्रशासनमा धरौटी बुझाएर छुटे । मुद्दाको प्रक्रिया जारी रहेकाले आधा दर्जन अझै हिरासतमा छन् । यहाँको लेकसाइडस्थित वडा प्रहरी बैदामका इञ्चार्ज नमराज भट्टराई भन्छन् 'पेशेवर हेर्दै चिनिन्छन् । धेरै पटके छन् । पक्राउ गरेर ल्यायो, जरिवाना तिर्छन् छुट्छन् । फेरि उनै समातिन्छन् ।' उनका अनुसार पटकपटक पक्राउ परिरहनेहरूमा अधिकांश विपन्न परिवारका महिला हुन्छन् ।

Saturday, March 14, 2015

अनि बाटो मोडियो

गत सोमबार । म अहिले पोखरामा छु । एउटा अौपचारिक कार्यक्रमको निम्तो अलि पृथक थियो । मलाई सहकर्मी शिव शर्माले देखाए -'एउटा डाकु साधुको जीवन बाँचिरहेको छ । उसैको पत्रकार सम्मेलन ।' जिज्ञासा स्वभाविक थियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गइयो । उनका कुरा सुनियो । केही स्न्याप फोटा खिचियो । शिवले बेलुकी सानो समाचार लेखे । साथमा उनले भने 'यो मान्छेको बारेको समाचार हाम्रो पत्रिकामा शायद कपिलवस्तुबाट हुनुपर्छ, छापियो ।'  मैले त्यो समाचार हेरेको रहेनछु । धेरै बिचार गरिएन । 
शिवले लेखेको समाचार सामान्य सम्पादनपछि केन्द्रमा पठाइयो । छापिएन । भोलिपल्ट बिहान लाग्यो- यी मान्छे एउटा सामान्य सामाचारमा मात्रै अँटाउने पात्र होइन । केही लेख्न पर्छ । मैले हिजोका आफूले गरेका नोट डायरीमा हेरेँ । सामान्यभन्दा केही पृथक कुरा थिए, जसलाई हामी अनौपचारिक समाचारमा समेट्न सक्थ्यौ‌ । त्यसपछि जे लेखियो, त्यो यस्तो भएर आयो । छापिएका कुरा अब तल छन् । 

पूर्वडाँका सरदारको बयान

यसमा कुनै शंका छैन, जब उमेर ढल्कन्छ, ज्यान कमजोर हुन्छ, मुहारमा मुजा पर्छन्, युवावस्थाजस्तो जोश रहन्न । ती बेला मान्छे लड्नेभिड्ने कुरा पटक्कै गर्दैन । उनका पनि कुरा लड्ने-भिड्ने छैनन् । युवावस्था डाकाको सरदार भएर बिताएका पञ्चमसिंह चौहान अहिले कुनै पनि कोणबाट अतितको झल्को दिने खालका छैनन् ।

सन् १९७२ मा आफ्ना ५ सय ५० जनाको जत्थासहित तत्कालीन भारतमा इन्दिरा गाँधी सरकारसँग आठ शर्तसहित आत्मसमर्पण गरेका उनी गत सोमबार नेपाल भ्रमणका क्रममा पोखरामा भेटिए । ९२ वर्षका यी मनुवाले आफ्ना अनुभव एक घण्टा धाराप्रवाह सुनाएर अन्तिममा भने 'त्रास र अपरोधबोधमुक्त जीवननै सार्थक हुन्छ । मैले यही बुझेको छु ।'   
सिनेमाका कथा घटनाप्रेरित हुन्छन् । केही यथार्थका अंश, केही कल्पनाशीलता । कथाअनुसार पात्रका पोशाक र परिवेश । डाकु कस्ता हुन्छन् ? लुटेर खाने, हत्याहिंसा गर्ने खलपात्रलाई हिन्दी सिनेमा राम्रो स्वरुपमा चित्रण गर्दैन । काँधमा बन्दुक, छातीमा गोलीगठ्ठा भिरेका, तेज गतिमा घोडा दौडाउँदै लुटपाट र आतंक मच्चाउने डाकाको चित्र हामीलाई सिनेमाले देखाएका छन् । तर, भुक्तभोगी चौहानले भने 'सिनेमाले डाकाको सबै कुरा ठीक ठीक चित्रण गर्दैन ।' उनका अनुसार सन् १९६० देखि ७० को दसकसम्मका डाकाहरू घोडा होइन जीप कुदाउँथे । प्रहरी र हुनेखानेका सवारीसाधन खोस्थे । इन्धन खोस्थे । दिनहुँ राम्रो धनमाल हाल पर्ने गाउँबस्ती चियो गरेर लुटपाटका योजना बनाउँथे । प्रतिकार हुन नसक्ने वातावरण बुझेपछि घेरा हाल्थे र, अन्न, धनमाल लुट्थे ।
सन् ६० दसक नजिक आफ्नो पिहोवा गाउँ बीबीपुरको पञ्चायत निर्वाचनताका विपक्षकाहरूले उनलाई बेस्सरी कुटे । अस्पतालमा २० दिन भर्ती भएर डिस्चार्ज भइ आएको दिन त्यही समूहले फेरि उनका बाबुलाई उसैगरि कुटे । 'मलाई खपीनसक्नु भयो । बदलाको भावना यति बिघ्न बढ्यो कि म जे पनि गर्न सक्थें', उनी फ्ल्यासब्याकमा गए, 'म चम्बलघाटीका डाकुका सरदार मान सिंहकहाँ पुगें । उनले मेरो कुरा सुने । अनि आफ्नो समूहमा बस्न दिने भए ।' उनले आफू उक्त समूहका लागि योग्य भएको टेष्ट दिनुपर्ने भयो । मान सिंहले आफ्नो जत्थाका १२ साथी उनको साथ लगाएर हतियारसहित पठाए । आफ्नो गाउँ आएका उनमा रीस उस्तै थियो । पहिले कुट्नेहरू छानी छानी ६ जनाको हत्या गरे । र, फेरि त्यही जत्थामा फर्किए । घर आउने, सामान्य दिनचर्या बिताउने जीवनको बाटो फेरियो । 
नाइकेको खास विश्वासपात्र बनेकाले उनी छिटै कुख्यात डाका बने । समय आयो सरदार पनि भए । 'हामी पढेलेखेकालाई समूहमा लिँदैनथ्यौं', उनले भने, 'पढेलेखेकाहरू धेरै सोच्छन् । असल-खराब छुट्याउँछन् र, इनामको लोभमा परेर हामीलाई सिध्याउन लागिपर्छन् भन्ने बुझाइ थियो ।' समाजसँग बदलाको भावना राख्ने, पढलेख नगरेका, बलिया ज्यान परेकाहरू डाका समूहमा सदस्य हुन योग्य मानिन्थे ।
जस जसको परिवारका लोग्नेमान्छे लुटेराको समूहमा पसेका थिए, उनीहरूको पारिवारिक जीवन भने जोखिममा रहन्थ्यो । प्रहरी आउने पक्रने । केरकार गर्ने, दुःख दिने । समाजले पनि टाढै राख्ने, मन नपराउने । 'हामीमध्ये धेरैका परिवार आफ्नो घर छाडेर आदिवासीका बस्तीमा गएर लुकी बस्थे', उनले भने, 'हामी लुटपाटबाहेक त्यस्तालाई दुःख दिन्थ्यौं जसले हाम्रो परिवारलाई सताउँछ । सिलसिला निरन्तर चलिरहने थियो ।' डाका समूहभित्र पनि समाजबाटै गएका मान्छेहरू । बानीबेहोरामा माया, मोह, काम र क्रोध ।

Saturday, March 7, 2015

लाटोकोसेरोको सकस

उखुमा फट्याङ्ग्रा लाग्यो । कसरी लागेको रहेछ भनेर हेर्न पुगेका मोरङका जिल्ला कृषि विकास प्रमुख राजेन्द्र उप्रेतीले फिर्दै गर्दा एउटा छोटो भिडियो खिचे । त्यो थियो- उखु खेतमा डांग्रे रुप्पीका बथान रमाउँदै गरेको । उनले भने 'रुप्पीले फट्याङ्ग्रा खाने रहेछ । त्यसैले ठूलो झुण्ड खेतमा रमाइरहेको थियो ।' गएको साउनको बेला थियो । पानी परेको थिएन । सुख्खा जमिनमा फुल पार्न र हुर्कन सजिलो भएरै फट्याङ्ग्रा फस्टाएको थियो । 
बालीमा कीरा लागिरहनुको कारणबारे उनको भनाइ अलि फरक छन् । 'हामीकहाँ सानो-सानो टुक्रामा खेती गर्ने चलन बढ्यो । कीराले एउटापछि उस्तै लाग्ने अरु बालीमा र्सर्ने मौका पाएका छन्', उनले भने, 'कुनै एउटा याममा हुने बाली ठूलो क्षेत्रफलमा भए कीरा सबैमा फैलिएर सक्दैन । उसको पनि जीवनचक्र छ ।' शत्रु नास पार्ने चक्करमा मित्रजीव नास भइरहँदा खेतीमा विषादिको प्रयोग अत्यास लाग्दो भएको उनको तर्क मुसासम्म आइपुग्छ । भन्छन् 'खेतमा लाग्ने मुसा अब पहिलेजस्तो छैन । धेरै बाठो भएको छ ।' पानी टिलपिल पारिएको खेतमा पौडन्छ । हरिया बाला पनि काटेर नास पार्छ । तीखा दाँत र तिक्ष्ण बुद्धि भएको यो स्तनधारी जीव बैज्ञानिक प्रयोगका लागि रोजाइको पहिलो श्रेणीमा पर्छ ।
किसानले खेतमा हाल्न थालेका विषादिले कीरा-फट्याङ्ग्रामात्रै होइन, मुसालाई पनि तह लगाएको छ । यसको सोझो असर यी जीवलाई आहारा बनाउने पंछीमाथि परेको छ । यिनै पंछीमध्ये अन्न बालीको शत्रु मुसालाई सिकार गरेर बाँच्ने किसानको साथी मानिने लाटोकोसेरो अहिले संकटमा छ । 
०००
आज अमलटारीमा मेरो नयाँ नामले बोलाइयो 'उल्लु सर ।' सामाजिक सञ्जालमा राजु आचार्यको यो स्टाटस बडो रमाइलो थियो । डेढ दसकदेखि जैविक विविधता संरक्षण सरोकारका मुद्दामा काम गर्दै आएका उनी फ्रेण्ड्स अफ नेचरमा आबद्ध छन् । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि कार्यक्रम चलाउँछन् । महोत्सव गर्न थालेको तीन वर्ष बित्यो ।  धादिङ, चितवनहुँदै नवलपरासीको अग्यौलीमा तेस्रो महोत्सवको टुंगो लागेकाले गत वर्षमलाइ पनि त्यता सामेल हुने निम्तो आएको थियो । मैले सामाजिक सञ्जालमा आचार्यका पोस्ट हेरिरहेको थिएँ ।

बहनाको चालमा समावेसी सम्मान

बेगनासतालमा महिला डुंगाचालक पुरूष बराबरी नै काम गर्छन् । यो पेशामा कुनै विभेद नभएको उनीहरूको अनुभव छ । धेरैले आफूले बहना खियाउने पेशा थामेर घरका अरू सदस्यलाई वैकल्पिक पेशाको बाटो खोज्न सघाएका छन् । 

लेखनाथ (कास्की)- 'मलाई थाहा थिएन आधा घण्टा पुग्यो/पुगेन', उनले भनिन् 'भित्तामा लगेर डुंगा ठोक्काएँ । पसिनाले निथ्रुक्क भिजेकी थिएँ ।' लेखनाथस्थित बेगनासतालमा आइतवार स्थानीय माया पाण्डेले एक दशकअघिको आफ्नो पहिलो व्यवसायिक डुंगाचालनका दिनको अनुभव सुनाइन । चितवनको माडीबाट विवाह गरेर यहाँ आइपुगेकी उनका लागि तालको पानीसँग डुंगामा बहनाको चाल मिलाउन निकै समय लाग्यो । '१५ मिनेट मात्रै भएको रहेछ तर, पेसेन्जर भाइले फेरि घुमाइदिन्छु भन्दा पर्दैन भने', उनले भनिन् 'पहिलो दिनको अनुभव त जीवनमै नबिर्सिने छ ।' 
२०६१ देखि डुंगा चलाउन थालेकी उनले अहिले श्रीमान शिवप्रसादलाई तालबाट सडकको पालो दिएकी छन् । 'हामी भदौमा ट्याक्सी किन्यौं', उनले भनिन् 'उहाँ (श्रीमान) गाडी चलाउनु हुन्छ । म डुंगा ।' चार छोरीका अभिभावक पाण्डे दम्पतिमा श्रीमान/श्रीमति नै आआफ्नो जिम्मेवारीको काममा जुटेका छन् । महिलाका लागि बढि शारीरिक श्रम पर्ने काम भएपनि बेगनासमा मायाजस्ता तीन दर्जन महिना डुंगामा बहना खियाउन तल्लिन भेटिन्छन् । 
'गरिखान्छु भन्दा कुनै विभेद नभएकैले हामी महिलालाई यहाँ अलि सजिलो भएको हो', अर्की डुंगाचालक शारदारानाभाट भन्छिन्, 'हामीले काम महिलाको हो कि पुरूषको भनेर छुट्टयाउँदैनौ । जसको पालो परेको छ उसले गर्छ । उसलाई सहयोग चाहियो, सबै जुट्छौं ।' रानाभाट बेगनास डुंगा सञ्चालन समितिकी कोषाध्यक्षसमेत हुन् । उनको अनुभवमा यहाँ दुइ प्रकारका चेलीबेटी डुंगाचालकको पेशा गरिरहेका छन् । यहीँ आसपास हुर्केबढेका र अन्तबाट विवाह भइआएर श्रीमानको पेशालाई विस्तारै आफूले भर दिएकाहरू हुन् । 'यहाँ हुर्केकाहरूले त सजिलै गर्न सक्ने नै भए, बाहिरबाट आएकाले पनि बिस्तारै यो कामलाई सिकेर गरिखाएका छन्', उनले भनिन् 'केही अप्ठ्यारो छ भने फरर अंग्रेजी बोल्न नजान्नु मात्रै हो । पानीसँग पौठेजोरी खेल्न त गरिखानका लागि हात हालेपछि गर्नैपर्छ ।'