Tuesday, November 17, 2015

फेवाको छठ, विराटनगरको सम्झना

आज विराटनगरमा सिंघिया, केशलिया, सुनसरी-मोरङ सिंचाइ आयोजनाका नहर, आसपासका पोखरी र जलाशय सबैमा व्रतालु र दर्शनार्थी थिए होलान् । म पोखराबाट सम्झँदैछु । यहाँ नदिपुरबाट सेती नदि र लेकसाइडको केदारेश्वर मन्दिरको फेवातालघाटमा छठ मानिँदो रैछ । देशका अरू भूभागमा पनि यस्तै यस्तै होला । छठमा आस्था राख्ने जहाँ जहाँ छन्, उनीहरू नजिकका जलाशय पुगे नै होलान् । 
आफ्नो गाउँघरको छठ सम्झँदै मलाई भने पोखरामा योपल्ट शुन्य-शुन्य लाग्यो । हुन त लामो बन्दले थिलथिलो भएको जनजीवनमा मोरङमा पनि कति नै उत्साह हुँदो होला जस्तो पनि लाग्छ । मलाइ छठका अन्तरकुन्तर ज्ञान छैन । बालखैदेखि देख्तै आइयो । छरछिमेकले मानेको पर्वमा हाम्रो घरबाट पनि चढाउने दिइन्थ्यो । चढाउने दिएपछि व्रतालुलाई सघाउन पनि गइन्थ्यो । मन्ठापोखरी छठघाटमा ठेला ठेलेर जाँदा-आउँदाको स्कुलेबेला बेग्लै रमाइला थिए । पछि जब हातमा क्यामेरा आइपुग्यो, ठेला ठेलिएन । घाटघाट पुगेर त्यहाँका फोटो खिच्न छुटाइएन । 
समाजशास्त्रले भन्छ -'फरक फरक संस्कृति भएका जातजाति बसेको समाजमा एकअर्काले जानीनजानी एकअर्काका सजिला-अप्ठ्यारा संस्कारहरू अपनाउँछन् । एकअर्कामा सर्छ ।' संस्कृति सर्ने यो पाटो बडो गजबको छ । बुढापाकाले ज्ञानीको संगत गर्नु भनेपनि संगतले राम्रो सिक्ने की नराम्रो सिक्ने त्यो तपाइँ-हाम्रै जिम्मेवारी र रुचिमा निर्भर छ । तर, सामाजिक संस्कार भनेको सार्छु भनेर कसैले सार्दैन । मन पर्छ, अभ्यस्त भइन्छ, आफैं सरिसक्छ । कालान्तरमा यो सरेर आएको हो वा मौलिक भने खुट्याउनै गाह्रो पर्छ ।  
हामीलाई सुकिला लुगा लगाउनुपर्ने, मिठो खानुपर्ने, पढ्नुपर्ने, चाडबाडमा रमाउनुपर्ने आदि बानीबेहोरा सबै शिक्षाले मात्रै दिएका पनि होइनन् । जातिसमुदायको आस्था, धर्मसंस्कारबाट पनि धेरैथोक सिक्दै र सिको गर्दै समाज अघि बढेको छ । 
मानव सभ्यताको इतिहास हेर्दा मान्छेका बस्ती खोला-जलाशय किनारबाट सुरू भएर कालान्तरमा फैलिएको भन्ने पढ्न मिल्छ । पानी जीवन हो । जतन गर्न जान्नै पर्छ । यही जतनको उपक्रमहरू धर्मसंस्कारका नियममा पनि समावेश भएर हामीलाई सिकाउन र डोर्‍याउन बनाइएका छन् । छठका घाटहरू पूजाका बेला सफा गरिनुका गुहृ कारण केलाउनुस् । हाम्रा आस्थाका इश्वरलाई सफा चाहिन्छ, त्यसैले हामी सफा हुनपर्छ, बस्नुपर्छ । वरपरको वातावरण सफा राख्नुपर्छ । यो धर्मलाईमात्रै चाहिएको हो ? पटक्कै होइन । हामीलाई नै आवश्यक भएकाले यस्ता नियम बनेका हुन् । प्रसादमा चढाइने खानेकुरा भगवानले खाने होइनन् भनेर अखाद्य पदार्थ प्रयोग गर्न मिल्दैन । किन ? किनभने ती खानेकुरा मान्छेले नै खाने हो । र, मान्छे स्वस्थ रहन आहारविहार उचित हुनुपर्छ ।
त्यसैले हामी बाँच्ने वातावरण स्वच्छ र स्वस्थ हुनै पर्छ । गरिखान गाह्रो पर्ने यो दौडधूपको दिनचर्या भएको समय मान्छे जसरी हुन्छ दिन बिताउने कसरतमा छ । तर, यही कसरतमा पनि हामीलाई स्वस्थ राख्ने विषयमा सोच्नु र काम गर्नु पनि जरुरी छ ।
सिंघिया योपल्ट कस्तो रह्यो मैले हेर्न पाइँन । यता फेवाताल भने हेरेँ, यतिखेर सफा छ । तर, खोला जसरी यसमा भित्र पसेर घुम्न मिल्दैन । सिंघियामा पाइन्ट घुँडा-घुँडा दोबारेर व्रतालुका फोटा खिच्दै हिडेका दिन आज मैले सम्झेँ । यहाँ म तालको बीचमा पसेर व्रतालुले  सूर्यलाई अर्घ दिएको खिच्न सम्भव भएन । त्यसैले पनि मलाई सिंघिया र परोपकारघाटको सम्झना आइरह्यो । तर, मैले आफ्नो गृहनगरबाट टाढा हुनुको एकुन्द्रो केदारेश्वर मन्दिर परिसरको पार्वती छठघाटमा मेटेँ । यहाँ नेपाल-भारत व्यवसायी समितिको पहलमा २०६८ मा घाट सिमेन्टेड बनाइएको रहेछ । धेरैजनाले एकैपटक पूजा गर्न मिल्ने ठाउँ छैन । तैपनि घाट र पानी दुवै सफा छ । हाम्रा मैला गोडाले यी ठाउँमा फोहर लाग्ला की जस्तो । मैले यहाँ व्रतालुलाई सघाउन आएका उनीहरूको परिवारका पुरुष सदस्यसँग कुरा गरेँ । धेरैले तराइ आन्दोलनका कारण घर गएकाहरू आउन नपाएर योपटकको सहभागिता घटेको सुनाए । उनीहरूमध्ये धेरै आफ्नो व्यापारमा परेको असरले चिन्तामा भेटिए । केही पटनाबाट यहाँ आएका रहेछन् । उनीहरूले त्यहाँ गंगा किनारको छठको भव्यताबारे आफ्ना संस्मरण सुनाए ।
राजनीतिले मुलुक जता डोर्‍याए पनि हामीले मिलिबसेको समाजमा एकअर्कालाई अपनाएका छौं । त्यसैले सद्भाव अझै कसिलो छ । यसपटकको देउसीमा मैले रमाइला दृश्य देख्न पाएँ । हुर्रा र घाटु नाच नाचेर मुस्लिमका पसलमा देउसेभैलेले खेलेको देख्न मिल्यो । गुरूङ समुदायका बालबालिकाले मिथिला पहिरनमा मैथिली गीतमा नाच्दै भैली खेलेको पनि हेर्न पाइयो । सबैतिर समाज लगभग उस्तै हो ।
हाम्रो पत्रकारितामा मैले जानेदेखि छठबारे काठमाडौंले रूचाउने यौटा शिर्षक छ - 'पहाडेले पनि छठ मनाए ।' विराटनगर रहँदाका बखत मेरो भागमा पनि पर्‍यो त्यो विषय । लेखियो । तर, अब लाग्छ, समाज मिलिबसेपछि एकअर्काको संस्कार सर्नु नौलो कहाँ हो । हामीले त्यसरी लेख्दा समाज अझै बिभाजित रछ, अर्काले मान्ने कुरो अर्कोले मनाएछन् भन्ने सन्देश पनि त त्यसमा लुकेको छ । एउटा उदार समाजबारे हामीले लेख्दा सबैलाई समान हिसाबले हेर्नै पर्छ । त्यो पुरानो शिर्षकबाट अलि अघि बढ्न र माथि उठ्न जरूरी पनि छ । 

Tuesday, November 10, 2015

सीता परियारको कथा

कथा होइन उनका बारेमा लेखिएको हो भन्नु ठीक होला । फरक क्षमता भएकाहरूलाई हामीले दयाका पात्र देखाउँन हुँदैन । गरिखाएका छन्, यसरी पनि बाँचेका छन् भनेर देखाउन पर्छ, किन ? किनभने त्यसको सिको अरूले गरून । प्रेरणा मिलोस् । त्यो प्रयास सदैव छ । तर, सबैका कथाले प्रेरणा दिन्छन्, खुसी दिन्छन् भन्ने छैन । सीताको मुल मर्का जे हो, त्यसको समाधान सहज छैन ।
उनका बारेमा मलाई मित्र/बन्धु भवसागर घिमिरेले भनेका थिए । उनी रेडियो कार्यक्रम बनाउने सिलसिलामा स्कुल पुगेछन् । सीताका बारेमा थाहा भएछ । अनि मेरो अफिस आए र, तपाइँले लेख्दा राम्रो भनेर त्यहाँका गुरूको नम्बर दिए । त्यसपछि नै मैले भेट्न सम्भव भएको हो । पहिलोपटक जाँदा उति धेर कुरा भएनन् । म दोस्रोपटक पुगेँ । उनका बारे बताउन सक्नेहरूलाई खोजी गरि भेटेँ । ९२४ शब्दमा उनका बारे लेखियो तर, लेख्ने प्रसंग भेला पार्न २ साता लाग्यो । 
कोसेलीको भित्री पातोमा प्रकाशित भएका दिन मलाई एलेनको इ-मेल आयो । सीतालाई पढुञ्जेलसम्म पढाइ खर्चमा दिइँदै आएको सहयोग नरोकिने उनले लेखेकी थिइन । मैले धन्यवाद दिएँ, जवाफ लेखेँ । उनीसँग ३/४ पटक इ-मेल संवाद भयो । सीतालाई सहयोग गर्ने फ्रान्सेली एनजीओसँग एलेन असन्तुष्ट रहिछन् । उनको तर्कमा जसले जसलाई सहयोग गर्छ, त्यो सहयोग पाउनेको अवस्थाका बारेमा पनि बेलाबखत सोधिखोजी गर्न र भेटघाट गर्न जरूरी हुन्छ । जो त्यो संस्थाले गरेन । मेरो जवाफले शायद उनको चित्त बुझेन । अहिले कुराकानी भएको छैन । समाजमा मान्छे अनेक भोगाइ लिएर बाँचेका छन् । यो बाँच्ने उपक्रममा मान्छेलाई पत्रकारबाट थुप्रै आसा रहेको भेट्छु । तर, पत्रकारले जे छ, जस्तो छ देखाइदिनु पर्छ, समाजले सक्ने काम गर्नुपर्छ । लेखेर मात्रै छुटकारा मिल्दैन, सामाजिक हुनुका नाताले कति ठाउँ कलमजीविले सम्पर्क र संवादको माध्यम पनि बनिदिनु पर्छ । सीताका हकमा लेखियो, सहयोग जारी रहने जानकारी मिल्यो । एकजनाले पढेर व्यक्तिगत सहयोग पठाउँछु पनि भन्नुभयो । मैले सम्पर्क नम्बर दिएको हो, के गर्नुभो थाहा छैन । यसको शिर्षक मैले 'जिन्दगीका अँध्यारालाई मनको दीप' राखेको थिएँ । छोट्टिएर, छरितो बनेर शिर्षक आयो । 
कान्तिपुरको कोसेलीमा १६ असोज २०७२ मा जे प्रकाशित भएको थियो ती यस्ता छन् । मुनि पढौं -
मनको दीप 
पढेर के बन्ने ? स्कुले सबैसँग उत्तर तयार हुन्छ । तर, उनीसँग रहेनछ । त्यसैले झट्ट भन्न अलमलमा परिन् । केहीबेर गमेपछि भनिन् 'खै के बन्ने बन्ने । मास्टर त होला नि ।' हाँसिन् । फेरि केही छुटेजस्तो गरेर भनिन् 'खासमा मलाइ गायिका बन्न मन हो ।' झण्डै दसक पुग्न लागेको स्कुलमा उनले आएकै साता एउटा बालगीत गाएकी थिइन । सान्त्वना पुरस्कारका कापी-कलम हात परेको थियो । त्यसयता उनले एक्लैछँदा आफैंलाई सुनाउन मात्रै गाउने गर्छिन् । 
हामी सीता परियारका कुरा गरिरहेछौं । पोखराको अमरसिंह उच्चमाविमा कक्षा १० की छात्रा । उनी देख्तिनन् । कुर्कुच्चामुनिका भाग या भनौं पाइताला छैनन् । तर, उनका लागि हरियोखर्क अस्पतालले बनाइदिएको खुट्टाको भरले त्यो नभएको आभास लगभग छैन जस्तो छ । २०३८ देखि विशेष शिक्षा कक्षाअन्तर्गत अमरसिंहमा सुरू भएको दृष्टिविहीनका लागि पढाउने काम अहिले पनि जारी छ । अहिले ५० हाराहारी त्यस्ता विद्यार्थी छन् । ३७ जना विद्यालयकै होस्टलमा बसेर पढ्छन् । सपांगकै कक्षामा मिसिएर उनीहरूले पढ्न पाएका छन् । यी ३७ मध्ये आजको कथा पर्वतको खुर्कोट-४ की सीताको मात्रै हो । अब पर्वका विदा सुरू भएका छन् । यहीसँगै सीता र होस्टल व्यवस्थापन दुवैलाई कसरी बित्छन् यी दिन भन्ने भएको छ । 
०००
खुर्कोटमा महिलाको बाख्रापालन अवलोकनका लागि कुश्माबाट सरकारी अधिकारीको एउटा टोली पुग्यो । टोलीकी महिला विकास अधिकृत लक्ष्मी जिसीले देखिन-एउटी केटी चार हातपाउ टेकेर हिडि्छन् । 'त्यो दिन त्यस्तै भयो । म हेरिरहेँ', उनले सुनाइन, 'सदरमुकाम आएका बेला भेट्नु भनेर हामी फर्कियौं ।' एक दिन महिला विकासमा तिनै केटी चार हातपाउ टेकेर आइपुगिन् । सुरिलो भाका हालेर मिठो गीत सुनाइन । 'मलाइ लाग्यो यो केटीको खुट्टा बनाइदिन पाए उभिन सक्थी । आ“खा नदेखे पनि केही सहारा मिल्थ्यो', उनले भनिन्, 'त्यसपछि मेरो काठमाडौं जाने काम थियो । उनलाई साथै ल्याएर हरियोखर्क अस्पताल भर्ना गरिदिएर गएँ ।' 
पोखरा-१५ नयाँ गाउँको हरियोखर्क भनिने इन्टरनेशनल नेपाल फेलोसीपद्वारा सञ्चालित अस्पताल यस्तो ठाउँ हो, जहाँ कुष्ठरोगीसँगै अपांगता भएकाहरूको उपचार गर्छ । सीता अब यहाँ आइपुगिन् । अस्पतालका थुप्रै इकाइमध्येको एउटाले उनलाई नक्कली खुट्टा लगाएर कसरी उभिने, हिड्ने भनेर सिकायो । अक्युपेसनल थेरापी वार्डमा सिकाउनेहरू थिए- जुना गुरूङ, लक्ष्मी शाही र बेलायती थेरापिस्ट एलेन । 'कहिले आफ्नो खुट्टामा नउभिएकालाई उभ्याउन सजिलो हुँदैन', यसै साताको भेटमा शाहीले संवाददातासँग भनिन् 'उनलाई उभिन सिकाउनसँगै जिन्दगी कसरी असल हुन्छ भनेर परामर्श पनि आवश्यक थियो ।' यी काम अस्पतालमा गरिए । खुट्टा बन्यो । अस्पतालमै उनले सामान्य लेखपढको प्रौढ कक्षा पनि लिन पाइन ।
'मेरो २८ वर्षे जागिरे जीवनमा अस्पताल ल्याइएकाहरूमा सीता जति नजिक अरू कोही भएनन्', जुनाले सुनाइन 'त्यो केटीको गाउने र मादल बजाउन जान्ने कला बिछट्ट राम्रो छ ।' अस्पतालमा काम सकिएपनि उनका साथ अरु कोही आएका थिएनन् । पठाउने ठाउँ भएन । लिन आउने कोही भएनन् । एलेन, गुरूङ र शाहीकै पहलमा अमरसिंह स्कुलमा पढ्न पठाउने सल्लाह भयो । 'स्कुलले अन्धालाई मात्रै लिन्थ्यो । उनी त बहुअपांगता भएकी, उसमाथि विपन्न, दलित र महिला', जुनाले भनिन् 'एउटा स्कलरसिप दिलाएर पढ्न पठाउने कुरा मिल्यो । अरु त्यस्ता अस्पतालबाट २/४ हप्तामै घर जान्थे । सीतालाई चार महिनापछि बल्ल स्कुल र होस्टल मिल्यो ।' कक्षा २ भर्ना भएर पढाइ सुरू भयो ।
०००
छोरी सीताले सुनेकी थिइन बाबु बुद्धिराम परियार दमको रोगले थलिएका थिए । चार छोरी, दुइ छोरामध्येकी उनी कान्छी । थाहा पाउ“दासम्म दिदीहरू बिहेबारी भइवरी घर गइसकेका थिए । एकजना दाजु अल्पआयुमै बिते । अर्का दाजु कामको खोजीमा भारत जाने भनेर हि“डे । दाजु हिडेपछि भाउजु पनि बसिनन् । 
उनी ६ वर्षको छदा बुद्धिरामको निधन भएको थियो । त्यसको तीन वर्षछि आमा द्रुपति परियारको पनि निधन भयो । वर्षदन पनि नपुग्दैकी छोरी घरमा छाडेर सबै मेलापात गएका बेला आगोले दुवै पाइताला डढेका थिए । सीता हुर्कदै जाँदा चार हातपाउ टेक्ने भएकी थिइन । स्कुल जाने उमेर हुन थालेपनि भर्ना गरिदिने कोही भएनन् । घरमा बुढी हजुरआमाको साथमात्रै थियो । ९ वर्षको छँदा रुखबाट डालेघाँस काट्तै गरेको हेर्दा माथिबाट हाँगो खस्यो । बेरुलाका पातले दुवै आँखा घोचे । गाउँघरको समान्य उपचारले निको भएन । हिड्न नसक्ने केटीको दृष्टिशक्ति पनि गुम्यो । 
०००
'एकपटक गाउँमा एकजना सरले काठमाडौं गएर २/४ हप्ता तालिम लिए तिमीले गीतको एल्बम निकाल्न सक्छौं भन्नुभएको थियो', सीताले भनिन् 'जान पाइएन । अहिले ठीकै छ गाउन नपाए पनि पढ्न मिलेको छ ।' असरसिंहको छात्रावासमा विद्यार्थीका लागि कोचिङ कक्षा पनि चलाइन्छ । गणित पढाउने निरञ्जन लोहनीले भने 'सीताको पढाइ राम्रो छ । अबको हाम्रो फिक्री उनले कहाँ बसेर पढ्लिन् भन्ने छ ।'
त्यसबाहेक पनि वर्षेनी होस्टलले झेल्दै आएको समस्या बेग्लै छ । यहाँ बसेर पढ्ने सबै विद्यार्थीको घर छ । आफन्त छन् । विदामा लिन आउँछन् । सबै घर जान्छन् सीताबाहेक । उनलाई लिन कोही आउँदैन । स्कुलले पठाउने ठाउँ पनि छैन । 'विदाको अवधिभरि बस्न स्कुलले कतै होटलमा राखिदिन पनि मिल्दैन', शिक्षक लोहनीले भने, 'छोरीमान्छे । त्यसमाथि बहुअपांगता छ ।' १० जोड २ का कक्षा भएपनि स्कुलमा ती तहका विद्यार्थीका लागि छात्रावासको व्यवस्था छैन । उनले १० पास गरेपछि जानुपर्छ । त्यससँगै होस्टलको वर्षेनी विदाका बेला कता बसाउने भन्ने दुविधा हट्नेछ । तर, उनको घर छैन । गाउँबाट सोधीखोजी गर्ने कोही छैनन् । के गर्छ स्कुलले ? स्रोत शिक्षक लोकबहादुर गुरूङले भने 'यो हाम्रालागि एकदमै गहन प्रश्न छ । के गर्ने ? कहाँ पठाउने ?' उनको गाउँमा रहेको एउटा उच्चमाविमा कुरा गरेर उतै आवास र अध्ययनको व्यवस्था गर्नेबारे आफूले विचार गरिरहेको उनले बताए । 'स्कुल पढाउनका लागिमात्रै नभएर विद्यार्थीको बासको चिन्ता पनि गर्नुपर्ने मानवीय पक्ष हेरिदिनै पर्ने भयो', उनले भने, 'अहिलेसम्म उनका लागि एउटा सामान्य फेलोसिपको सहयोग छ । १० सिध्याएपछि त्यो पनि हुँदैन । समाधानका लागि विचार गर्नुपर्ने पक्ष धेरै छन् ।' 
सीता आफैंलाई पनि थाहा छैन । १० कक्षाको अन्तिम परीक्षापछि ब्रेललिपीमा अभ्यस्त भएर पाएको शिक्षाको ज्योति कहाँ काम लाग्छ । कहाँ गएर बस्ने । कता पढ्ने । उनले भनिन् 'पछिको कुरा पछि होला । अहिले भने स्कुललाई दसैंतिहारको विदा लाग्छ । त्योबेला कहाँ जाने भन्ने नै अप्ठ्यारो छ ।'

प्रज्वलनशील बस यात्रा

शिर्षक उही चिर-परिचित अति सुरक्षित भन्या जस्तो नै छ, जो हिजोका दिन इकान्तिपुरको ब्लगमा पढ्न मिलेको भन्ने ठान्नुभो भने ममाथि अन्याय हुन्छ भन्छु । गन्थन पनि उनै हुन नठान्नुस् । यता अलि सप्रसंग व्याख्याको प्रयास छ । तैपनि गन्थन त गन्थनै हो । तिनै ब्लग लेखनको लेखोटमाथि थपथाप । हिजो पोखरा फिर्दाको कुरा लेखियो, यसमा जाँदाका कुरा पनि समावेश छन् । फिर्दाका कुरा लेखेपछि लाग्यो, जाँदाका कुरा पनि त रमाइला थिए । आखिर जिन्दगी फ्याट्ट एक्सिडेन्टमा नपरुञ्जेल गज्जप-गज्जप देख्न-भोग्न मिल्छ/मिलेकै छ । अफिसको वेवसाइटमा प्रकाशित हुनेगरि लेख्दा भरसक छरितो लेखे निको मान्छन् भन्ने कुरा दिमाखमा घुमिरनी, अनि लेखमा लाग्या कति कुरो बिर्सिपठाउनी हुँदो रछ । नियन्त्रित अवस्थाको लेखाइ । भाषाका पनि सीमानामा बस्न पर्छ । नितान्त व्यक्तिगत गन्थन त डायरी जसरी आफ्नै ब्लगमा लेख्नुपर्छ भन्ने लागेर यताको जमर्को गरेको हो भनेर भन्नुस् ।
दसैंको अल्झो
उसै पनि महान तथा गौरवशाली पर्व । घर जानै पर्छ । कारण- परिवार, मातापिता । जेठो छोरो दसैंमा कहिल्यै घरबाहिर रहेको इतिहास बनाउनु पाइएन । जान त जानु तर, कसरी पो । म पोखरामा छु । घर विराटनगर । बीचमा मधेस आन्दोलित भाको क्षेत्र पर्छ ।
बसपार्क पुगेँ । विराटनगर जाने बसको आउजाउ रोकिएको रछ । धरान र काँकडभिट्टाका लागि यौटा-यौटा चल्दै रछ । तिनमा इटहरीसम्म पुग्न पाए १९ किमि त हो, त्यहाँबाट ब्याट्री-रिक्शा वा अरू विकल्प हुन सक्छ । तर, चार दिनपछिसम्मका टिकट हाउसफुल । डिजल पाइँदैन । चल्दै रहेका बस पनि नियमित हुने/नहुने टुंगो रैनछ । टिकस पाइएन ।
बसपार्क पुग्दा अखबारमा पढेको, टिभीमा देखेको बसका बिजोक दर्शन गर्नै मिल्यो । अगाडिका सीसा फुटेका छन् । बसहरू बिचरा भन्नु जस्ता छन् । फिरेर अफिस आएपछि फेसबुकमा यौटा स्टाटस लेखियो- 'यो बेला बसको यात्रा कतिको सुरक्षित छ ? कृपया जानकार मित्रले भन्दिनुस्न । बसपार्क पुगेर आज अहिलेका बसको अवस्था हेर्दा साह्रै-साह्रै ठीक जस्तो लागेन । हेलमेट लाएर पनि के बसमा हिड्नु !'
आठवटा कमेन्ट आए । तिनका आधारमा बसमै पनि जान सकिने बुझियो । तर, एक मनले लाग्यो-'मसँग मोसा छ नि । त्यही लिएर जान पाए उता नि हिड्न सजिलो हुन्थ्यो ।'
रौतहट-सर्लाहीका साथी शिव र अमनलाई फोन गरेँ । सोधेँ- मोटरसाइकलमा आउजाउ गर्दा कस्तो होला ? दुवैले अति उत्तम भने, केहीबेर उनीहरूकहाँ पनि रोकिन पर्ने शर्तसहित । कुरो ठीकै थियो । म बाटाउदी फोटा खिचिहिड्न रमाउने मनुवाका लागि मोसा यात्राभन्दा अरू रमाइलो के हुन्थो ! तर, बिगारो पेट्रोलले । त्यो पदार्थ नखुवाइ मोसा नकुद्ने । त्यो मोरोको हाहाकार । बल्लतल्ल प्रेसका नाताले ५ सयको पाइयो । प्लान त सक्सेस होला जस्तो भयो । हेटौडामा काका-बडाबाका घर छन् । त्यताका दाजुभाइलाई फोन लाएँ- 'म मोसामा घर जान लाग्या । ७/८ लिटर पेट्रोल खोज्द्याओ ।' उनीहरूले 'हुन्छ/आइज' भने । फेरि आफ्नै मनले भन्यो -'यति लामो बाटो त्यो जाबो स्प्लेन्डरमा के जान्छस् । दुःख हुन्छ । ढाड दुख्छ । फेरि उसैगरि आउन सक्लास् ?' यो बडो गम्भिर कुरो थियो ।
म पोखरा आउँदा मोसा ढुवानीमा हाल्द्या थिएँ । ४/५ दिनपछि ट्रक चढेर आएको हो । हुन पनि ९९ सीसीको ७ वर्ष पुरानो मोसामा लामो दूरिको यात्रा सहज हुँदैनथ्यो । यो मेरो यसो यतैका वरपर घुम्नका लागि ठिक्कको वाहन हो ।   
अफिस विदा अष्टमीबाट हुने थियो । नौरथा सुरू भएयता घरबाट छोरा, श्रीमति र आमाको फोन बिहान-बेलुकै आउन थालो - 'दसैं सुरू भइसक्यो । कहिले आउने ? कसरी आउने ?' आफैंलाई पनि लामो एक्लो बसाइँ दिक्क लागेको थियो । बिहान-बेलुकै आफैं खाना बनाएर खानु, खाली काम काम भन्नु । दिक्क हुनु अस्वभाविक थिएन/होइन । इच्छ्याउँदैमा पुगिहाल्न मान्छेका पखेटा हुन्नन् । 
पोखराबाट काठमाडौं, त्यहाँबाट अरू विकल्प भएन भने पनि हवाइजहाजमा पुग्न त सकिन्थ्यो । तर, घरभन्दा टाढा रहेर ठिक्क-ठिक्क जीवन चल्ने पारिश्रमिकमा काम गर्नेका लागि हवाइभाडा महंगो । चाडबाडमा त्यसै पनि खर्च बढ्छ, किन पो खर्च बढाउनु । उता भाइले टीका लाएर एकादसीको दिनदेखि ४ दिन सपरिवार कोलकाता घुम्न जाने योजना फिक्स गरेको एक महिना अघि नै हो । यो मोरो नाकाबन्दी सुरू भएयता मलाइ इण्डिया घुम्न जान मनै मरेको हो । तैपनि भाइ र मेरा केटकेटीको रेल चढ्ने, साइन्ससिटी घुम्ने रहर । भाइलाई एकपल्ट 'होस नजाउँ, टिकट क्यान्सिल गरिदे' भनेको पनि हो । तर, क्यान्सिल गर्दा नि पैसो लाग्ने रैछ भनेर उ मानेन । जाने कुरा निश्चित थियो । अनि निश्चित बेलैमा घर जान नपाए मैले दसैंमा धेर दिन घर बस्न नपाउने पनि ।
विराटनगर बसपार्कको पोखरा काउन्टरमा एकजना मित्र छन् । ताराबहादुर (थर थाहा छैन ) । तिनले एकपटक आफूले काम गर्ने जगदम्बा बसका सञ्चालकको मोबाइल नम्बर दिएका थिए । पोखरा पुगेपछि चिनजान गर्नु, भलादमी छन् भनेर । पहिले ताराजीलाई फोन गरेँ । उनले भने -'हाम्रो विराटनगरवाला बस चलेको छैन । चल्ने टुंगो पनि छैन ।' दिन बिते । बजारलाई दसैं लाग्यो, रेडियोले धुन बजाको-बजाकै । उनका सञ्चालकलाई फोन गरेँ । उनले एउटा नम्बर दिए, उतैका बस हेर्नेको । तिनलाई डायल गरेँ । उनले 'एकजना जान किन डराउनु हुन्छ ? म जसरी नि तपाइलाई पठाइदिन्छु' भने । राहतै भो ।
उनले एउटा नौलो कुरो सुनाए । विराटनगरका लागि एउटा बस जान थाल्यो । डायलमा छैन । त्यसैले टिकट पहिले पाइँदैन । ब्याग लिएर जाने टिकट लिने, चढ्ने, लान्छ । यो बडो उत्तम कुरो थियो । त्यसै गरियो । बसपार्क पुगियो ।
पोखरा-इटहरी
२९ कात्तिक, शुक्रवार, दिउँसो २ बजे । म ब्याग लिएर बसपार्क पुगेँ । काउन्टरले टिकट छैन भनेपछि मैले तिनै नम्बरमा फोन गरेँ । काउन्टर स्टाफलाई कुरा गराएँ । उनले ९७०/- मा बी११ को टिकट तुरून्तै दिए ।
बस चढियो तर, त्यो सीटमा अर्कै अधबैंसे सुकिला तराइवासी भलाद्मी विराजमान ! हेर्दा लाग्थ्यो कुनै कलेज पढाउने होलान् । उनलाई नम्रसँग 'मेरो सीट यहाँ हो । मसँग टिकट छ । मलाइ बस्न दिनुस्' भनेँ । छाड्न मानेनन् । उनले भने 'टिकट-सिकट म जान्दिन । बसेपछि यो सिट म छाड्दिन । जे गर्नुहुन्छ गर्नुस् ।' यो बसले मिलाउने कुरा थियो, ती सज्जनसँग मैले बहस गरिँन । कन्डक्टर कहाँ थियो, कोहो थाहै भएन । आएपछि भनम्ला भनेर छेउकै अर्को सीटमा बसेँ ।
बसका सबै सीट भरिए । बीचमा पनि यात्रु उभिए । खलासीले छतमा २५ जना छन् भन्दै गरेको सुनियो । साढे ३ मा बस हिड्यो । लेखनाथको तालचोक नजिकनजिक पुगेपछि टिकट जाँचकी आयो । मैले टिकट देखाएँ र, आफ्ना कुरा भनेँ । उनको प्रत्युत्तर गज्जपको आयो -'त्यो तपाइँको सीट होइन । काउन्टरले काट्न गल्ती गरेको हो । तपाइ केविनमा जानुस् बस्न ।' तर, तुरून्त उठेर अघि निस्कने ठाउँ थिएन । बसिरहेँ । नारायनगढ पुगेपछि फेरि उनी आए र, मलाइ केबिनमा जान भने । मलाइ जसरी पनि घर जानु थियो । यात्राका सकस यसअघि पनि धेरैखालका अनुभव गरेकै हो । यो पनि नौलो होला भन्ने लाग्यो । तर, केबिन भरिएको रहेछ । म थपिएँ । टाउका गनेँ । चालकसित १५ जना । अडेस लाग्न नमिल्ने, कतै ढल्कन नमिल्ने । बडो गज्जपको बसाइँ !
चालक करिब ५०/५५ उमेरका थिए । बेला-बेला गुट्खा खाइरहने । उनीसँग थोरै कुरा भयो । पोखराबाट विराटनगर पुग्न १५० लिटर डिजल चाहिनेमा पुग्दो नभएको उनले बताए । चितवनका केही पम्पमा इन्धन पाइने आसले बस घुमाएका पनि हुन् । कति छ भन्ने भनेनन् । तर, उनको कुराअनुसार गाडीले डिजल पाएन भने हामीलाई बाटैमा कतै रोक्न सक्थ्यो । मकवानपुरको वासामाडीमा खाना खाइयो । खाना ठीकै थियो । कुख्रा-भात २५०/-  
बर्दिवासपछि प्रहरीको स्कर्टिङ सुरू भयो । पूर्व-पश्चिम राजमार्गमा अहिले धेरै पुलहरू जीर्ण छन् । दोहोरो गाडी पास हुँदैन । आन्दोलकारीका ढुंगाको डर सबैलाई । बसहरू रेस खेलेजसरी उछिनाउछिन गर्थे । अनि अगाडि पुल आए एकोहोरो तीनवटा गाडी कसरी पास हुनु । त्यहीँ रोकिन्थ्यो । केहीबेरमा कुरो मिल्थ्यो, अलि पालोमा जान्थे ।
बाटो लामो हो । तर, निदाउन मिल्ने अवस्था थिएन । मसँग क्यामेरा र ल्यापटप बोकेको ब्याग सधैं साथ हुन्छ । यो यात्रामा यो ब्याग गह्रौ लाग्यो । कतै राखौं, फुट्ने डर, नराखौं ठाम छैन, आफ्नै साथ राख्नै गाह्रो । जसोतसो बाटो कटिरह्यो । लहान पुगेपछि बसका पछिल्ला केही सीट खाली भए । चमेरे सीट र भुइँमा निदाएकाहरूलाई उछिन्दै एउटा सीटमा सरेँ । बल्ल सञ्चो भो ।
इनरूवा ल्यायो । झुम्काको एउटा पम्पले तेल देला की भनेर बसले १ घण्टा अड्यायो । पाइएन । अनि इटहरीसम्मका ४/५ वटा सबै पम्प चहार्दै आयो । इटहरीबाट खलासीले हामीलाई भन्यो 'तेल छैन । दुहबीमा ब्लक छ, उता गाडी पनि जाँदैन । लु तपाइँहरू उत्रनुस् ।' ठीकै छ, रमाइलै भो, ल्याउन त नजिकै ल्यायो । हिजै बिहानदेखि मोबाइल चार्जमा नराखेकाले म ब्याट्री-ब्याकपको भरमा चलाउँदै आएको । एक त सामसुङको एन्ड्रोइड धेर ब्याट्री खाने, उसमाथि मलाइ थ्रीजी धेर चलाउन पर्नी !  म बाटामा फेसबुक र टुइटर नेटवर्कले भेटे जति ठाममा चलाउँदै आएँ । अन्ततः दुइटै ब्याकपले हावा खाए । बिहान आफू जागियो । मोबाइल सुत्यो । घरबाट फोन आइरहेथ्यो, उठाउन खोज्यो, मोबाइल कामै नगर्ने भो ।
यौटा ब्याट्री-रिक्शाले २ सयमा विराटनगर लगिदिन्छु भन्यो । यो १९ किमी गाडीमा २५ रूपैयाँ भाडाको बाटो हो । तैपनि बिस्तारै हेर्दै-हावा खाँदै जान पाइने । आन्दोलनकारीले रिक्शा नरोक्ने भनेपछि चढियो तीनजना यात्रु । जे होस् घर पुग्न मैले महेन्द्रचोकबाट फेरि अर्को त्यस्तै वाहन लिन परो । २ सयमा । ६ किमी गाडी चल्दा १५/- भाडा लाग्ने हो । बन्द छ, लुट छ । जे गरे नि छुट छ, आफूलाई घर पुग्नु छ ।
ब्याट्री-रिक्शावालको गन्थन 
हुन त म हरेक यात्रामा साथ रहेका अपरिचितसँग कुरा गर्दै हिड्न रमाउँछु । तर, इटहरी झरेपछि यात्राले ज्यान गलेको जस्तो लाग्याथ्यो । निन्द्रा पुगेको थिएन । तर, २ सयमा हामीलाई चढाउन पाउँदा ठूलो पुरस्कार जितेको जस्तो गर्ने रिक्शावाल खुब खुसी देखिए ।
करिब ५५/५६ उमेरका । तराइवासी । घर सोनापुर, सुनसरी । यहाँको एउटा कारखाना काम गर्दागर्दै छाडेर किनेको रे । सवा ३ लाखमा । ८ घण्टा चार्जमा राखे ब्याट्रीले ६० किमी धान्छ । दिनमा २ हजार/२२ सय आम्दानी । मधेस आन्दोलन सुरू भएदेखुन खुबै फस्टाएछन् यस्ता रिक्शा । उनका अनुसार इटहरीमा ४ हजार र विराटनगरमा १४/१५ सयवटा पुगिसके । किन्न सहकारीबाट ऋण पाइने । दिनिदनै कुदायो, ऋणको किस्ता घटायो । नयाँ-नयाँ भएकाले मर्मत खर्च उति नलाग्ने । मधेस आन्दोलन बन्द भए, यातायात सहज भए रोजीरोटीमा असर पर्ने चिन्ता उनलाई थियो । भन्थे -'हेर्नुस् अझै २ महिना बन्द चलिरहे मेरो ऋण सकिन्छ । रिक्शा आफ्नै हुन्छ ।' ए बाबै मान्छेका अनेक अनेक कुरा छन् । मैले सुनिमात्रै रहेँ । उनले आफूले गरेको कमाइले खान लाउन, ऋण तिर्न पुगेर बचत पनि गरिरहेको सुनाए । आफू धेरै होसले, राम्रो ड्राइभ गर्ने पनि बताए । हामी ३ यात्रुमध्येका २ लाई मुनालपथ उत्रनु थियो । 
उनीहरूले हाइ-वेभन्दा केहीभित्र पुर्‍याइदिन भने । रिक्शावाल मानेनन् । 'लोकल जान्न । अर्कैमा जानुस्' भने । मैले केही पैसा थपिदिने भनेपछि तुरुन्तै राजी भए । दोस्रा ब्याट्री-रिक्शाचालकसँग खासै वार्ता भएन । बरू उनलाई महेन्द्रचोकमा रोक्दा सोधे- 'भाइ, काठमाण्डुबाट आउनुभाको ?' पोखराबाट भनेपछि 'ल हुन्छ । म जान्छु, मिलाएर दिनुहोला । बरू आउनुस् चिया पिउँ, अनि जाउँला' भने । यो बेग्लै आत्मियता लाग्यो । उनले यतिउति नभनेकाले मैले घर पुगेर उनलाई पनि २ सय दिएँ । यसरी ब्याट्री-रिक्शाले महेन्द्रचोकबाट रानी पुर्‍याएको खास भाडा ५०/- रछ । मलाइ केही दिनपछि मात्रै थाहा भयो । तर, मसँग ब्यागहरू पनि थिए । घरैमा लगिदिएकाले बढि भाडा तिरेकाका अफसोच लागेन ।
लु अब तलका प्रसंग चाहि ज्युँकात्युँ इकान्तिपुरको ब्लगलाई लेखेका कुरा छन् । घरबाट फिर्दाका कुरा ।
प्रज्वलनशील बस यात्रा
'केही हुन्न । किन डराउनु हुन्छ ! मिलाएरै राखेको छ । नडराउनुस्' चालकले यति भनेर आश्वस्त पारेपनि मलाइ भने यात्रा अवधिभर दुइ थान ब्याग र चामलको बोराको चिन्ताले छाडेन । विराटनगरबाट पोखराको यात्रा थियो ।
काउन्टरको स्टाफ चिनजानको भएकाले टिकट पाउन अप्ठेरो परेको थिएन । उनले भनेकै दिन, सजिलो सिटको टिकट मिलाइदिएका थिए । यसपटक टिकट लिँदा नौलो लागेको कुरो थियो- काउन्टरले बस चढ्ने बेलामा मात्रै टिकट दिनु । कुन बसको पालो पर्छ, जान्छ/जाँदैन भन्नेमा बुकिङ नै अनभिज्ञ हुने अवस्था रछ ।
घरबाट कार्यक्षेत्र फिर्नको हतारो थियो । साँझ ५ बजे आइपुग्नुपर्नेमा म १ घण्टा अघि नै पुगेको थिएँ । बसले भने ७ बजेमात्रै बसपार्क छाड्यो । ४ किलोमिटर अघि बढेपछि रोकियो । कञ्चनवारी मास्तिरको धिताल पेट्रोल पम्पमा लाइनमा बस्यो । करिब ५० वटा बस लाइनमा थिए । हाम्रो बसको पालो ३ घण्टापछि मात्रै आयो । यात्रुहरू भनिरहेका थिए -'इटहरीबाट स्कर्टिङमा ११ बजेमात्रै हिड्छ ।'
मसँगैको सिटमा बिरगञ्जमा काम गर्ने सप्तरी, बरमझियाका एकजना भाइ परेका थिए । सँगै पछाडिको सिटमा राजबिराजका दुइ इञ्जिनियरिङका बिद्यार्थी थिए । उनीहरू पोखरा विश्वविद्यालयले लिने परीक्षाका लागि हिडेका रहेछन् । तीनैजनाले सप्तरीको एरियामा लामो दूरिका बस नरोकिने हुनाले विराटनगर आएर चढ्नु परेको सुनाए । अझ पथलैया जाने भाईले पोखरासम्मकै एक हजारको भाडा तिर्नु परेको गुनासो गरे । उनले भने 'एक त घरबाट विराटनगर आएरमात्रै बस चढन् पाइन्छ, त्यहीमाथि काम बन्द हुँद पनि नपुगी नहुने अवस्था छ । अनि भाडा जति लिए पनि पुग्न पाए हुन्छ भन्नु परेको हो ।' उनी दसैंमा घर आएर अहिले फिर्दै गरेका थिए ।
हालको मधेस आन्दोलनयता लामो दूरिका बसहरू सप्तरीका एरियामा रोकिँदैनन् । कतै केहीबेर रोकिए भने पनि ती प्रहरीको स्कर्टिङको पालोमा छन् भन्ने बुझे हुन्छ । डिजल हाल्ने पम्पमा लागेको निकैबेरमा बाहिर झरेर हेरियो । त्यहाँ उही बस काउन्टरका स्टाफ भेटिए । उनले भने -'हेर्नु दाइ, कति अप्ठेरो छ भने दुइटा बसले पाउने तेल एउटालाई मिलाएर दिन लाएपछिमात्रै विराटनगरबाट पोखरा पुग्न सकिन्छ । अहिले त्यही गरेको । अर्को बस थन्किएको छ ।' बाटामा ढुंगा हान्ने आन्दोलनकारीले ढुंगा हान्छन्, बसलाई क्षति पुग्छ भन्नेमा अब फिक्री गरेर बस्ने अवस्था नभएको उनले बताए । 'पेटले मान्दैन, गाडी नचलाइ के गर्ने ?', उनले भने, 'अब तेलको संकटले पो त्यो आन्दोलनभन्दा अप्ठ्यारो छ ।' यातायात मजदुर संगठनका पदाधिकारी बसहरूको सूचि लिएर तेल हाल्ने पालो मिलाइरहेका थिए ।
एक बोरा चामल, लुगाफाटा र किताब भएका दुइवटा ब्याग मलाइ बस कर्मचारीकै सल्लाहमा पछाडि डिक्कीमा राख्न लगाइएको थियो । बस तेलको लाइनमै रहेका बेला ट्राफिक प्रहरीको एउटा जीप आयो । करिब ३० लिटर पेट्रोल रहेको जर्किन त्यही पछाडिको डिक्कीमा राख्न लगायो । त्यो शायद पोखराका कुनै आफन्तका लागि पठाएका थिए । मेरा सामान रहेकै ठाउँमा त्यो पेट्रोल भरिएको जर्किनसँगै बोरामा बाँधिएका ४/५ वटा ग्यास सिलिण्डर राखिए । उत्रेर हेरेका हुनाले मलाइ त्यो पेट्रोल पोखियो भने त मेरा सामानलाई जोखिम हुन्छ भन्ने लागेको हो । पछाडिको डिक्की भरिएर पुगेन, अगाडि बायाँतिरको डिक्की र बसभित्रै पनि बोरामा सिलिण्डर लोड गरियो । पश्चिममा यस्तै सामानसहित हिडेको एउटा बस दुर्घटनामा पर्दा आगलागी भएर यात्रु जली मरेको खबरले मगजमा फन्को मारिरह्यो । थोरै बस चलेका छन् । जोखिम देखेर भैगो म यो बसमा जान्न भन्दा पनि विकल्प छैन । चालकसँगको छोटो कुराकानीपछि मैले आफ्नो डर बताएर गलफती गरिरहनु पनि उचित थिएन । किनभने इन्धन हाहाकारको अवस्था बुझेरै होला अरू कोही यात्रुले पेट्रोलियम पदार्थ बसमा राख्दा गुनासो गरेको सुन्न मिलेन ।
------
वाइफाइ थियो, अन गरेन । गीत बजाएन । इटहरीबाट बस करिब साढे ११ बजे पश्चिम हुइकियो । बरू यात्रुलाई सुरूमै भनिएको थियो -'इटहरीबाट बस रोकिने एकैपल्ट पथलैयामा मात्रै हो । बीचमा कहीँ पनि रोकिँदैन है ।' यो सूचना गजबको थियो । मलाइ सप्तरी, बरमझियाका पेँडा पसले र लालबन्दीका खानाका होटलहरू हिजोआज के गर्दा होलान् भन्ने लागिरह्यो । राजमार्गका यस्ता व्यापारमात्र छैनन्, यी क्षेत्रका यात्रुले पनि यात्राका लागि के गर्दा होलान् ! अनि सामान्य अवस्थामा हेटौंडा, चितवन, काठमाडौं र पोखरा जाने बसले मालसामान पनि बोक्थे । हुटमा केरा हुन्थ्यो, खसीबोका र केरा, फलफूल पनि बोक्थे । अहिले बोक्तैन रछन् ।
हामी चढेको बसले डिक्कीमात्र होइन, भित्र पनि पस्न-निस्कनै अप्ठेरो हुनेगरि ग्यासका सिलिण्डर हालेको थियो । कथंकदाचित दुर्घटना भइहाले झट्ट निस्केर बाहिरिने ठाउँ सजिलो थिएन । त्यो देखेर मन चिसो भइरह्यो । दुर्घटना आफैं परेर सिकिने पाठ होइन, सवारी र यात्रु दुवैले सावधान रहनु पर्छ । सावधान हुने चिन्ताले मलाइ भने निन्द्रा परेन । छेउको भाइ उसको गन्तव्य नआउञ्जेल घुरिरहे ।
पेट्रोलियम पदार्थ सामान्यतः यात्रु सवार गाडीमा ओसारपसार गर्ने वस्तु होइन । यदि हुन्थ्यो भने कुरो अर्कै हुन्थ्यो । तर, यो बीचमा कहीँ कतै बसले यात्रुबाहेक के-के बोकेको छ भनेर चेकजाँच भएन । अघिल्लो साता पोखरेली मित्र गनेस पौडेलले सुनाएका थिए । उनका लागि आफन्तले ल्याइदिएको एक ग्यालन पेट्रोल बसमा चेकजाँच गरेर प्रहरीले हेटौंडामा खोसेको थियो । तर, म सवार बसमा त पेट्रोल प्रहरीले नै राख्न लगाएका थिए । यो अभावको रन्कोमा कसले किन पो चेकजाँच गर्थ्यो !
यतिका लामो दूरिमा यात्रु चढाउन र झार्न भनेर बस साँच्चै रोकेन । यो दूरिमा कुनै यात्रुले 'भोक  लाग्यो, दिसा-पिसाब आयो, रोकौं' भनेको सुन्न पाइएन । योपल्टको यात्रामा भिन्न र रमाइलो लागेको कुरा यात्रु अधिकांशले आफ्ना खानेकुरा, पानी बोकेका थिए । शौचालय जानुपर्ने खाँचो चाहि कसरी व्यवस्थापन गरे भन्ने थाहा भएन ।
इटहरी-पथलैया बीच राजमार्गमा बस कतै थोरैबेर अडियो भने ती ठाउँमा प्रहरीको स्कर्टिङका एरियाको पालो फेरिएर अर्को जिल्लाको टोलीलाई कुर्नका लागि मात्रै थिए । जसमा यात्रुले उत्रन मिल्दैनथ्यो । बाटामा देखिन्थ्यो- प्रहरीको एउटा पिकप गाडी अगाडि लाग्थ्यो, त्यसलाई पच्छ्याउँदै बस र मालवाहक गाडी पछिपछि लाग्थे । एउटाले थोरै गति घटाए अर्को गाडी अघि बढि जान्थ्यो । गति बढे दाँया-बायाँ रेस खेलाए पाराले बसहरू एकअर्कोलाई उछिनेर अघि जाने होडमा देखिन्थे । धेरै गाडीका अग्र भागका सीसा फुटेका छन् । केहीले चालक अघिल्तिर सानो भाग सीसा काटेका छन् । केहीले अगाडि ढुंगा छेल्न सीसामाथि जाली लगाएका छन् । स्कर्टिङबीचको यात्रा हेर्दा-खेप्दा द्वन्द्वग्रस्त मुलुकमा भएको भान पर्छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व यसैगरि रात-रात सयौंको संख्यामा सवारी चल्न भने छाडेको छैन ।
-------
पथलैया नाघेपछि बल्ल स्कर्टिङको झन्झट हट्यो । परीक्षा दिन हिडेका दुइ बिद्यार्थीले मधेस आन्दोलनले मधेसका बिद्यार्थीको पढाइमा असर पारेको गुनासो गरे । एउटाले भने 'यति लामो बन्द भएपछि अरू ठाउँको उही लेवलको स्टुडेन्टसँगको कम्पिटिसनमा मधेसका त पछि परिहाल्छन् नि ।' अर्काले भने 'नेतालाई चिन्ता भए पो ।'
मधेसको आन्दोलनले पढाइमा पारेको असरको चिन्ताबाट म पनि मुक्त थिइँन । बन्दको ४५ दिनपछि छोराको स्कुलबाट फोन आएको थियो -'बच्चालाई आउट ड्रेसमा भोलि बिहान ७ बजेदेखि स्कुल पठाइदिनु । आन्दोलनकारीले चलाउन नदिएकाले बस लिन आउँदैन ।' मेरो घर र त्यो स्कुलको दूरि ५ किमी छ । सधैं बसमा जाने केटो अब कसरी जाला भन्ने चिन्ता पछि साइकल किनिदिएर दुर गरियो । सधैं कुदाइरहने बानी नपरेको १२ वर्षे केटो अबका दिन घर ढिला पुगे कतै दुर्घटनामा पर्‍यो की भन्ने चिन्ता हुन्छ । हुन पनि चोटै पारेर २ पल्ट लडिसक्यो । मेरो त यसरी भए पनि चलेको छ तर, अरू साना नानीहरू भएका अभिभावकलाई अझ कति गाह्रो होला भन्ने सोच्दा 'मलाइ ठीकै छ' भन्नुपर्छ ।
साँझ ५ बजे चढेको बस बिहान ९ बजे जब मुग्लिन काटेर पोखरातर्फ सोझियो, अनि लाग्यो-'ठीकै छ । सुरक्षित पुर्‍याए त भैगो ।' बाटामा अब बसले बिभिन्न ठाउँ रोकेर सिलिण्डर झार्दै गयो । अनि बुझियो, राजमार्गका होटलहरूले यस्ता बसलाई ग्यास ल्याइदिन अह्राउने रहेछन् । तनहुँ, विमलनगरमा खाना खान आइपुग्दा झण्डै ११ बजेको थियो । यहाँसम्ममा ती बसभित्रका बोरामा बाँधिएका प्रज्वलनशील फलामे भाँडा सबै उत्रिसकेछन् ।

१ बजे पोखरा बसपार्कमा रोकिएपछि म हतार हतार पछाडि डिक्की हेर्न पुगेँ । मेरा सामान सुरक्षित थिए । पेट्रोलको जर्किन जसरी राखिएको थियो, उसैगरि सुरक्षित नै रैछ । मेरा सामान झारिदिएर खलासी भाइले सोधे -'दाइले पनि पेट्रोल ल्याउनु पर्थ्यो नि । यहाँ कस्तो हाहाकार छ ।' म मुस्काएँ, केही भनिँन । प्रज्वलनशील सामानसहितको यात्रामा पनि सुरक्षित आउन पाएकोमा आनन्द लागेको थियो । ज्यान सुरक्षित भए नै मान्छे अभावसँग लड्दै गर्छ भन्ने लाग्यो ।