Saturday, February 20, 2016

सकारात्मक सोचको शक्ति

मान्छेमा हुने गुणका प्रकारबारे मनोविज्ञान भन्छ- जन्मजात र अर्जित हुन्छन् । तर, मान्छे जिद्दी हुनु जन्मजात या अर्जित कुन हो भन्नुपरे भने यसले ठ्याक्कै यही हो भन्ने दाबीको साटो भन्छ- परिवेश र व्यवहारको अध्ययन गरिनुपर्छ, अनिमात्रै निश्कर्षमा पुग्न सकिन्छ । के 'एकलकाँटे' अडानले जीवन सुखमय बिताउन सम्भव छ ? व्यक्ति र तिनका अवस्थाअनुसार उत्तर फरक-फरक आउँछन् । 
सरल, विवाद नगर्ने, बुझकी लाग्ने विष्णुराज कोइराला यति धेरै जिद्दी होलान् भन्ने जीवनसंगीनी शशिले विवाहको धेरै वर्षपछि मात्रै थाहा पाइन् । दुबैको जीवनको त्यो ठूलो निर्णय लिने मोड थियो ।
इञ्जिनियर पेशा भएका कोइरालाको शरीर हरदम ह्वीलचियरमा गुड्छ । कार चढ्छ । घर, अफिस, फिल्डको दैनिकी । उनी कहिले पूर्व ताप्लेजुङ थेचम्बुको फावाखोला पुग्छन् कहिले काठमाडौं, पर्वत पातीचौरको तल्लो मोदीखोला जलविद्युत आयोजनामा भेटिन्छन् । अधिकांश समय पोखराको फिर्केपुलस्थित आफ्नै फेवा कन्स्ट्रक्सनको कार्यालयमा व्यस्त हुन्छन् । 
अपांग अधिकारकर्मीका कार्यक्रममा भेटिदैनन् । राजनीतिक सभाको स्रोता बन्ने उनको स्वभाव छैन । 'इमानदार कामले नै मलाई दीर्घजीवन दिएको छ भन्ने लाग्छ', उनले भने, 'आफ्नो काम, आफ्नै ज्यानका लागि ख्याल गर्नुपर्ने कुरा र परिवारबाहेक अर्थोक सोचेर समय खेल फाल्दिन ।' 
'मेरो शरीरको ८७ प्रतिशत भागमा सेन्टिमेन्ट छैन, डाक्टर भन्छन् तेरो १३ प्रतिशत भागमा मात्रै सम्वेदना छ', उनले सुनाए, 'शरीरका सबै भाग सग्ला छन् । रक्तसञ्चार छ तर, टाउको र दुइ हातबाहेकका अंगबारे म केही थाहा पाउँदिन ।' भोकाएको, दिसा-पिसाब र चोट लागेको थाहा हुँदैन । यति भइकन पनि उनले आफ्नो दैनिकी भने अनुकूल बनाएका छन् ।
'यस्तो मान्छेले सबैथोकको रुटिन बनाउनुपर्ने रहेछ', उनले भने, 'खाने, ट्वाइलेट जाने, नुहाउने, मौसमअनुसार लुगा लगाउने र काम गर्ने सबैमा मेरो आफ्नै रुटिन छ ।' यस्तो ज्यान भएकाहरूले आफ्नो स्याहारमा पहिलो ध्यान आफैंले राखेमात्रै दैनिकी सहज हुने अनुभव उनको छ । 'मलाई श्रीमती, छोरा-छोरीले पनि ध्यान दिन्छन्, सघाउँछन् तर, मेरो आवश्यकताअनुसार धेरैजसो काम आफैं गर्न रुचाउँछु/गर्छु' उनले सुनाए, 'यस्तो गर्दा सबैलाई मबाट सजिलो पनि छ ।'
४४ वर्षीय कोइराला जन्मजात यस्ता होइनन् । न त कुनै रोग वा वंशाणु समस्या उनका सरेको हो । पोखराको लेकसाइडका यी बासिन्दाले पृथ्वीनारायण क्याम्पसबाट आइएस्सी गरे । बुवालाई रहर थियो- छोराले इञ्जिनियर बन्नुपर्छ । बंगलोर पढ्न गए । तुमकुरको सिर्द्धार्थ इन्स्टिट्युट अफ टेक्नोलोजीबाट २०५२ मा पढाइ सके । फर्केर छिमेकीको उदय कन्स्ट्रक्सनमा काम थाले । त्यहाँ नौ महिना बिताए । त्यहीबेला धादिङ, बागलुङ, तनहुँ आदि ठाउँमा विश्व बैंकको सहयोगमा चलेका ग्रामीण खानेपानी वितरण कार्यक्रमको टेक्निकल अडिटर भएर काम गर्न पाए । २०५४ देखि ७ वर्ष केसी कन्स्ट्रक्सनमा जोडिएर त्यसपछिका अढाइ वर्ष पोखरामा निर्माण सुरू भएको पर्वतीय संग्रहालयमा बित्यो । पोखरा खानेपानी परियोजनामा डेढ वर्ष बिताए । जोरपाटीको नेपाल मेडिकल कलेजको भवन निर्माणको डिजाइनमा खटिए ।
सिभिल इञ्जिनियरिङका स्नातक उनले यो अवधि पढाइ पनि छाडेनन् । कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरे । 'मेरो बुवाको एउटा फर्म थियो, जो अरुका भरमा चल्थ्यो । २०४९/५० पछि निस्क्रिय यजस्तो अवस्थामा थियो', उनले भने, 'मैले ६२ सालदेखि त्यही आफ्नै फेवा कन्स्ट्रक्सनलाई ब्यूँताएँ । काम थालियो ।' पुनर्जीवित निर्माण कम्पनीले माछापुच्छ्रे बैंकका इलामदेखि धनगढीसम्मका करिब ३३ वटा शाखाको भवन बनायो । पर्वतको पातीखोलामा २ वर्षलाएर १९ करोडको लागतमा १ मेगावाट जलविद्युत बनायो । कोइराला निर्माणकर्तासँगै जलविद्युत सञ्चालक पनि भए । 'जिन्दगी यहाँसम्म राम्रै चलेको हो । अनि दुर्घटना भयो', उनले भने, 'मलाई दुर्घटनाले असहज जीवन पनि सहज बनाएर कसरी बाँच्न सकिन्छ भनेर सिकायो । सबैभन्दा ठूलो आत्मबल हो भन्छु ।'
२०६७ साउनमा उनी श्रीमतीसहित सालोले जागिर खाएको ठाउँ स्वीटजरल्याण्डको अस्ट्रोम कम्पनी घुम्न गए । त्यहाँबाट इटलीको मिलान र्फकँदै गर्दा उनी चढेको कारमा पछाडिबाट तीव्र गतिमा आएको कार ठोक्कियो । यात्रामा सवार ६ जना घाइते भए । तिनमा सबैभन्दा बढि घाइते उनी थिए । बाहिरबाट हेर्दा चोट थिएन, रगत बगेन तर, सिकिस्त यति भए की लामो समयका लागि होस हरायो । अरुलाई एम्बुलेन्स-गाडी र उनलाई हेलिकप्टरबाट उद्धार गरी नजिकैको निगुर्दा अस्पताल लगियो । २१ दिनको कोमापछि होस फिर्‍यो । कुरुवा बस्न नपाइने अस्पतालको नियम । भेट्न आउनेले पनि निश्चित छोटो समय परैबाट हेर्नुपर्ने । 
उनले थाहा पाए- दुर्घटनामा आफ्नो मेरुदण्ड भाँचिएर नसा च्यापिएको थियो, जसले उनको टाउको र हातबाहेकका अंगको संवेदना शुन्य बनायो । ६ महिनासम्म उपचार चल्यो । दुर्घटना गर्नेको बिमा कम्पनीले उपचारको खर्च ब्यहोरे पनि उनी अब पहिलेजस्तो ठमठमी हिड्न सक्ने थिएनन् । 
'जुन कन्डिसनमा घटना भएको थियो र, पछिपछि पनि अस्पताल, डाक्टर पनि अपांगता भएकाहरूलाई चाहिने सुविधाको हकमा अफर आयो- चाहन्छौं भने तिमीले इटली बस्ने पीआर पाउँछौं', उनले भने, 'त्यो साह्रै अप्ठेरो निर्णय लिनेबेला थियो । श्रीमती चाहन्थिन् हामी त्यहीँ बसौं, म चाहन्थे जसरी पनि घर फिरौं । आफ्नै देश जाउँ ।' घटनाअघि न उनले कुनै त्यस्ता अपांगलाई ध्यानपूर्वक हेरेका थिए न त कसैलाई सघाउन परेको अनुभव थियो । 
अस्पतालको मनोबैज्ञानिक परामर्शदाताले भने उनकी पत्नी शशिलाई दिनहुँ बिरामी भेट्न दिनुको साटो धेरै समय त्यस्ता मान्छेसँग भेटाएको थियो जो अपांगता भएर पनि एक्लै सजिलो जीवन बाँचेका थिए । 'हातखुट्टा नचल्नेले पनि टाउको र मुखको भरमा खाना पकाउने, गाडी चलाउने खै कस्तो अचम्मका मान्छे भेटाए', उनले भनिन्, 'निकै महिनापछिमात्रै श्रीमानको खास अवस्था थाहा पाउन दिए । त्यसबेलासम्म म मनोबैज्ञानिक रूपमा अपांगले पनि सहज जीवन बाँच्न सक्ने रहेछन् भन्नेमा एउटा धारणा बनाएर केही ढुक्क हुनसक्ने भएकी थिएँ ।'
यसैबीच इटलीको स्थायी बसोबासका लागि इजाजत मिल्ने अफर आयो । 'उहाँले घर र्फकने अड्डी कस्नु भयो, म उहाँको अवस्थाअनुसार सजिलो हुन्छ भनेर उतै बस्नुपर्छ भन्नेमा थिएँ', उनले भनिन्, 'मेरो केही लागेन । उहाँलाई हवीलचियरमा राखेरै हामी घर आयौं । अहिले लाग्छ, उहाँको निर्णय ठीक हो ।' शशि मन्टेश्वरी स्कुल चलाउँछिन् । १३ र १२ वर्षका छोराछोरी छन् । 
कोइराला दम्पती घर फर्केपछि हवीलचियरका लागि सजिलो हुने निर्माणको काम सुरू भयो । घर, शौचालय, अफिस । 'जब हामी फर्कियौं त्योबेला मेरो कम्पनीले काम थालेर मेरो अभावमा अपुरो भएको नोक्सानीमात्रै करिब ८/९ करोडको थियो', विष्णुराजले भने, 'तर, मैले हरेस खाइँन । हातगोडा चलाएर गर्ने कामको बोझ धेर थिएन । घर-अफिस सजिलो बनाइयो, बिस्तारै बैंकको ऋण तिरियो, जिन्दगी एउटा ट्रयाकमा कुदाइयो ।' 
यूरोपमा उनीजस्ता नागरिकका लागि खानबस्न सरकारले दिन्छ । सार्वजनिक सवारीमा पहिलो प्राथमिकता अपांगता भएकालाई छ । सेवासुविधाका सबै कुरा बुझे पनि आफ्नो देश छाड्न मन नलागेको उनले बताए । 'मेरो अवस्थामा केही सावधानी जरुरी छ, छिटै युरिन इन्फेक्सन हुन्छ', भने, 'योबाहेक त ठूलो समस्या केही छैन । हामीले अपांगतामैत्री हुन समय लाग्छ । सरकारले त्यसमा पहल गर्नुपर्छ तर, विकासमा हामी ढिला भएकाले निरास किन हुने ? सबैथोक बिस्तारै हुँदै जाला ।' दुर्घटना अघिको जीवनसँग तुलना गर्दा उनले ठमठमी हिडेर आदेश दिने, आफैं खटिने काम अहिले गर्न सक्दैनन् । तर, निर्माणको डिजाइन गर्न, परामर्श दिन र आफ्नो ज्ञानको भरपुर प्रयोग गर्न उनलाई बाधा छैन ।
आफूले पढे-गरेकै कामलाई निरन्तरता दिन सूचनाप्रविधिको जमाना भएकाले सजिलो भएको अनुभव उनको छ । कामका सिलसिलामा उनी बेलाबखत युरोप, भारत यात्रा गरिहन्छन् । अहिले पनि जलविद्युत, सडक, भवन आदि धेरैथरि निर्माणका काममा आफ्नो भागको जिम्मेवारी पुरा गरिरहेका छन् । व्यवसाय र आफूजस्ताका लागि विकास भएका विधिबारे अपडेट भइरहन्छन् । ६ वर्षदेखि हवीलचियरमा ज्यानलाई गुडाउँदै आफ्नै पौरखमा बाँचेका यी इञ्जिनियर भन्छन् 'सधैं सकारात्मक सोच राख्ने, इच्छाशक्ति बलियो पार्ने । निराश नहुने मेरो बानी नै जिन्दगीको सूत्र हो ।'

(२०७२/११/७ कान्तिपुर दैनिकको २३ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित) 

यसरी लेखियो यो कहानी 
विष्णुराजसँग मेरो भेट पोखरेली फोटोपत्रकार साथी कृष्णमणि बरालले गराएका हुन् । म त्यस्ता केही उदाहरणीय मान्छेका बारे लेख्न चाहन्थे, जो मित्रलाई राम्रो लाग्यो । घर पुगेको एउटा बिहान उनले मलाई भने 'तपाइँलाई मेरा एकजना छिमेकी भेटाउँछु, जसलाई भेटेर तपाईलाई पक्कै केही लेख्न मन लाग्ने छ ।'  धेरै अघिदेखि देखेको-चिनेको मान्छे भएका कारण आफूले चाहेर पनि लेख्न अप्ठेरो लागेको कृष्णजीले सुनाएपछि भेट्न गइयो । 
भेटेपछि मलाइ पनि अनौठै लाग्यो । उनले आफूलाई मेन्टेन गरेको दैनिकी गजब नै थियो । तर, पहिलै भेटमा 'तपाईबारे लेख्छु' भनिहाल्न मन लागेन । उनको दैनिकी थाहा पाउँदा भने साँच्चै लेख्नुपर्छ भन्ने लागेकै हो । 
दोस्रोपटक कोइराला गण्डकी मेडिकल कलेजको अस्पतालमा भेटिए । कुरा गर्दा थाहा भयो, उनी युरिन इन्फेक्सनबारे चिकित्सकसँग परामर्शका लागि आएका थिए । त्यो भेटमा लाग्यो- यस्ता धेरैजना छन्/हुन्छन् । एकजनामात्रैका बारे किन लेखिहाल्ने हतार गर्नु ?
दिन बिते । यसपटकको वार्षिकोत्सव विशेषांकमा अपांगता भएर पनि उदाहरणीय जीवन बाँचेकाहरूका कुरा लेख्ने भनिएपछि चाहिं मैले आफूलाई रोक्न सकिँन । केन्द्रमा उनका बारे पताएपछि मेरो विषय पनि छनोटमा परेको जानकारी आयो । फेरि म पहिलो भेट जसरी नै, उही समय कोइरालाकहाँ बरालजीका साथ पुगेँ । लेख्छु भनेँ । उनले माने । त्यस दिन र पछि उनको अफिसमा गइयो । लामो कुराकानी गरियो । पछि फेरि एउटा साँझ उनको परिवारका सबै सदस्य भेट्न गएँ । तिनै भेटहरूमा भएका कुराकानीको आधारमा माथिको लेखोट तयार भएको हो ।  


Friday, February 19, 2016

गरिबको माछा पनि साम्राज्यवादी !

जनसंख्याको अनुपातमा खाद्यान्नको उपलब्धता भएन भने अभाव बढ्छ, त्यहाँ आहारा र अवसरका लागि लुछाचुँडी चल्छ । यहाँका तीन ठूला तालमा यतिबेला 'टिलापिआ' नामको माछाको बृद्धिदरले यस्तै अवस्था हुन थालेको छ । जसलाई बुझेका माछा-व्यापार आश्रित जलारी मख्ख छन्, यहीँ अनुसन्धान गर्नेहरूका लागि यो आश्चर्यको विषय भएको छ । 
टिलापिआ फेवा, बेगनास र रूपातालमा पाइने माछाको रैथाने प्रजाति भने होइन, न त कृषि अनुसन्धान परिषदले पाल्न सिफारिस गरेको जात नै हो । हिजोआज तालमा जाल हान्दा होस् वा बल्छी खेल्दा यो माछा नै पहिले हात पर्छ । 
फेवाका जलारीको सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले भने 'हामी त खुसी छौं । जाल हान्ने कसैको हात खाली हुँदैन । टिलापिआ नै परे नि आम्दानी भइराछ, गुजारा सजिलो भाको छ ।' उनका अनुसार तालमा यो माछा देखिन थालेको ९/१० वर्ष भयो । त्यसअघि टिलापिआ यहाँ थिएन । यहाँ पाइने माछा रेवा, फकेट, काँडे, बिग हेड, बाम, कत्ले, सहर र भित्ता आदि हुन् । 'हामीलाई मत्स्य अनुसन्धानले पाल भनेर सिफारिस गर्ने जात पनि होइन', उनले भने, 'हामीले अरु माछाका भुरा पालेको केजमा टिलापिआ आफैं पसेर हुर्कन्छ । अरु माछासँगै परेर जालमा आउँछ ।'
फेवामा मात्रै माछामा आश्रित जलारीका ९१ घरपरिवार छन् । उतिकै हाराहारी बेगनास र आधा संख्या रुपामा छ । अरु माछाका तुलनामा वर्षा सरदर तीनपटक फुल पार्ने र भुरा निस्केको २/३ महिनाकै पनि मार्न मिल्ने भएकाले टिलापिआ सजिलो मात्रै होइन, व्यापारका लागि सुलभ पनि भएको छ ।
मत्स्य अनुसन्धान केन्द्रको फेवातालस्थित कार्यालयका प्राविधिक अधिकृत रामप्रसाद ढकालले भने 'यहाँका रैथाने प्रजातिका माछाको तुलनामा टिलापिआको बृद्धिदर छक्क लाग्दो छ । कालान्तरमा यसले अरु माछाका लागि समस्या ल्याउँछ भन्ने संकेत गर्छ ।' उनका अनुसार यो माछाका भुरा बौद्धमार्गीले तालमा छाडेको अनुमान छ । वर्षमा एकपल्ट माछाका भुरा जलाशयमा छाडेर बौद्धमार्गी माछाको जस्तो आयु र स्वतन्त्र जीवनको कामना गर्छन् । 'कतिले हाम्रा केन्द्रबाटै भुरा किनेर तालमा छाड्छन्', उनले भने, 'तर, टिलापिआ तराइतिर कतैबाट भुरा ल्याएर तालमा छाडेका होलान् भन्ने हाम्रो अनुमान छ । यसरी भुरा अरुले छाड्दैनन् ।' टिलापिआ थाइल्याडहुँदै नेपाल आइपुगेको प्रजाति भएको उनले बताए ।
सरदर अरु माछा खानाका लागि योग्य हुन एक वर्षहाराहारी समय लाग्छ । तर, फुल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो बानी भएको टिलापिआ सय/डेढ सय ग्राम तौलको हुँदाहुँदै जालमा पारिन्छ । बिक्री हुन्छ । एउटा भुरा सरदर ४ देखि ६ महिनाको भएपछि फुल पार्न थाल्छ । 'यसको अनुसन्धान त्यति जरुरी छैन तर, एउटाले सरदर ३ देखि ८ पल्टसम्म फुल पार्ने, ४/५ सय भुरा निकाल्ने भएकाले तुलनात्मकरूपमा अरुभन्दा धेरै छिटो संख्या बढेको बढेकै भएको छ', उनले भने, 'मुलत शाकाहारी हो तर, खान जेसुकै खाने भएकाले अरु माछाको आहारा यसले घटाएको छ । यस्तै रहे अरु प्रजाति संकटमा नपर्लान् भन्न सकिँदैन ।' समुहमा घुम्ने, अरु माछालाई तर्साउने बानी यसको रहेको उनले बताए । 'यसले अरु माछालाई आक्रमण गर्ने, खाने गर्दैन तर, आहारा घट्दाको असर त अरु प्रजातिलाई सोझै परिहाल्छ नि', उनले भने, 'त्यसैले हामीले जलारीलाई जति-जत्रो जालमा पर्छ मार्नुस्, नछाड्नुस् भन्छौं ।' 'वार्म वाटर फिस' मध्येको प्रजाति मानिएको टिलापिआ १५ ड्रि्रीभन्दा बढि तापक्रम रहने खोला, जलाशय वा पोखरीमा फस्टाउने उनले बताए । 'एक्टिभ माछा स्वादिलो हुन्छ, यो त्यहीमध्येको अत्यधिक नै सक्रिय हुने माछा हो । वातावरणमा बाँच्न आफूलाई अनुकुल बनाउने क्षमता यसमा अधिक पाइयो', उनले भने, 'तर, छिटो छिटो आफ्नो बढाएर जताततै फैलिने यसलाई साम्राज्यवादी भन्दा पनि फरक नपर्ला ।' 
काँडा हुने यो माछाका कत्ला र भित्री भागका कालो मिल्काउन जान्नेले मात्रै स्वाद लिने यो माछा मूल्या हिसाबले बजारमा महंगो पर्दैन । जहाँ अरु माछा न्युनतम प्रतिकिलो चार सय रूपैयाँसम्ममा बिक्री हुन्छ, त्यहीँ टिलापिआ २ सय ६० देखि ८० प्रतिकिलो बिक्री हुन्छ । निकै ठूलो हुँदा पनि एउटा तीन किलोभन्दा बढि तौलको नहुने यसलाई बजारमा जलारीले डेढ सय ग्रामदेखि आधा किलोसम्मको जालमा पारेर बजार लैजान्छन् । जलारीको सहकारीका अनुसार फेवातालको खपौंदीबाट दैनिक कम्तीमा ५० किलो माछा झिकेर बेच्दा टिलापिआमात्रै २० किलो हाराहारी हुने गरेको छ । खपौंदीमै वर्षौदेखि माछाकै परिकार बेच्दै आएका अमृत सिकेले भने 'स्वादका हकमा यो पकाउन जान्नेले मात्रै मिठो दिन सक्छन् । सबैले अरु माछा जसरी पकाएर उस्तै स्वाद पाउन सकिँदैन ।' ५/६ वर्षता अत्यधिक पाइन थालेको यो माछाले अरुथरि पाइएन भनेपनि बजार र होटलरेस्टुराको माग धानेको छ । 'यो गरिबको माछा भनेको सही हो', उनले भने, 'दान दिनु नपर्ने, आफैं हुर्किने र जसले जाल थापेपनि एउटा न एउटा सजिलै पर्ने भएपछि जसले पनि बेच्न ल्याउने टोकरी हेर्नुपर्छ टिलापिआ हुन्छ हुन्छ ।'
( २०७२/११/६ मा कान्तिपुर दैनिकमा 'आगन्तुक प्रजातिले रैथाने माछा संकटमा' शिर्षकमा प्रकाशित)

Wednesday, February 10, 2016

त्यो अन्तर्वार्ता

सोमबार रातिको खबर मंगलबार बिहान थाहा भो- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला भौतिक शरिर छाडि विदा भएछन् । मान्छे जन्मेपछि मर्छ, यसमा नौलो मान्नु केही छैन । भावपूर्ण श्रद्धाञ्जलि भन्नुबाहेक सुशीलदालाई सम्झेर रोइलो गाउनुपर्ने मेरो भागमा त्यस्तो उल्लेख्य केही छैन । गत पुस ५ मा उनी पोखरा आएका बेला अन्तर्वार्ता गर्न पाइएको हो । छापा माध्यमलाई उनको त्यो उनको सम्भवतः अन्तिम अन्तर्वार्ता थियो । र, मेरा लागि पत्रकारिता जीवनको पहिलो ।
पहिलो यो अर्थमा की आफैंले लीड गरेर अन्तर्वार्ता गर्ने मौका त्यसअघि लागेको थिएन । धेरैजनाका यस्ता कुराकानीमा थुप्रैका नाम गाँसिएर आएका हुन्छन् । ती बेला आफूले प्रश्न गर्न मिलो/मिलेन, लेख्न सघाइयो/सघाइएन ती प्राविधिक कुरा हुन्छन् । साथमा गएकै कारण साथीहरूले नाम जोडिदिएका थुप्रै त्यस्ता अन्तर्वार्ता छन्, यद्यपि सुशीलदासँगको कुराकानी आफैंले अघि सरेर सहकर्मी शिव शर्माका साथ लिन मिल्यो ।
 त्यसो त उनले प्रधानमन्त्री पदबाट हटेपछि उनले त्यसरी अन्तर्वार्ता दिएको मैले पढ्न पाएको थिइँन । यस्ता बेला जब पार्टीको आसन्न तेह्रौं महाधिवेशनका लागि सभापतिमा आकांक्षी देखिएका उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाको दौडधूप चलिरहेको थियो, उनी केही निराश देखिएका थिए । कुराकानीको वातावरण मिलाउन पनि ठूलै सकस परेको थियो ।
कांग्रेस पार्टीमा देख्तै आएको एउटा असजिलो कुरा के हो भने पार्टीका प्रभावशाली नेताहरू आफ्ना जिल्लामा आइपुग्दा एयरपोर्टमा स्वागत गर्नेदेखि लिएर बास बस्ने गुँडसम्म कार्यकर्ता ओइरो लाग्छन् । 'दाजु दाजु, जय नेपाल दाजु' भन्छन्, छोप्छन्, अरूलाई कुरा गर्ने भेट्ने पालो सहजै दिँदैनन् । अरूबेला पार्टी कार्यालय पुगो भने मान्छे भन्ने छायाँ नि देख्न पाइँदैन । सुशीलदाको पोखरा बसाइँको त्यो दिन पनि त्यस्तै थियो । भीडले छाड्दै नछाड्ने खालको ।
***
एकछिन सुशीलदाका प्रसंग बिर्सँदा मेरो विराटनगर रहँदाका समय सम्झन्छु, पत्रकारितामा सबैले जानैपर्ने ठाउँ कोइराला निवास थियो । त्यो समाचारका विषय भइरहने ठाउँ ।
नोना र गिरिजाप्रसादको अवसानपछि पनि डा. शेखरले त्यहाँ पत्रकार बोलाउँछन्, अहिले पनि बेलाबखत समाचारमा पढ्न-हेर्न मिल्छ । पिताजी कृष्णप्रसादको त्यो घर अझै छँदैछ । कोइराला परिवारका जस-जसको भागमा जति जति पुर्ख्यौली सम्पत्ती परेको थियो, ती जमिन बेच्दै गए । तिनमा घर, भवन उम्रिँदै आए । कोसीअञ्चल अस्पताल अगाडिको कोइराला निवास अब बाटाबाट सजिलै देखिँदैन । कांग्रेसको आन्दोलनका इतिहाँसको बखान मुलुकका जुन भागमा पुगेपनि नेता-कार्यकर्ताको मुखारविन्दबाट सुन्न मिलिरहन्छ । म पनि त्यहाँ धेरैपल्ट गएको थिएँ/गएको छु । लाग्थ्यो, वीपी, मातृका, गिरिजा आदि नेताका बारेमा, कोइराला परिवारको इतिहाँसका बारेमा पछिल्ला पुस्ता, अध्ययनकर्ता आदिलाई मात्रै होइन कांग्रेस पार्टीकै विकासक्रम बुझ्न चाहनेका लागि त्यो निवास संरक्षण गरिनुपर्छ । मुलुक जुन राजनीतिक विकासक्रमबाट अघि बढेको छ, त्यसका जानकारी दिने धरोहर कुनै एउटा परिवारको निजी सम्पति मात्रै होइन, जुनसुकै शासन व्यवस्थाले पनि इतिहाँस संरक्षण गर्नुपर्छ । विराटनगरलाई मात्रै सम्झँदा पनि त्यहाँबाट व्यापार थाल्ने गोल्छा, सारडा, दुगड, राठी लगायतका व्यापारीक घराना हुन् की पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, कसैका बारेमा अध्ययन गर्ने थलो संरक्षित गरौं भन्ने चेत अझै जिम्मेवारहरूमा आएन । महेन्द्र चोकको राजा महेन्द्रको सालिक ढालियो, त्यहाँ अझै ठुटो छ । हुन त सभ्यताको विकासक्रम नै यस्तै होला, पुर्खाका चिनो जतन गरि राख्दा कुनै पुस्तालाई ती फोहर कति कहिलेसम्म ठाउँ ओगट्ने गरि राखिरहने भन्ने लाग्दो होला ।
ऐतिहासिक धरोहरको संरक्षणमा चासो जगाउन  हामी सञ्चारकर्मीले पनि नसकेका होलाउँ । मुलुकलाई एकपछि अर्को संक्रमणकालले छाड्दै छाडेन, जिम्मेवारलाई त्यो चेत आउँदै आएन ।
*** 
पूर्वाञ्चलबाट अब पोखरा आएपछि मैले विराटनगरको खबर लेख्नुपर्दैन, त्यो कोइराला निवासको त झन् किन पो पर्थ्यो ! तर, कांग्रेस-कम्युनिष्ट पार्टीका खबर नलेखम् भनेर सुख त मुलुकभरि जता पुगे नि छैन । म्युजिकल-चियर जस्तो सत्ता राजनीति कांग्रेस र बामपन्थी पार्टीकै सेरोफेरोमा घुम्छ ।
सुशील कोइरालाका कार्यक्रमको रिपोर्टिङ गर्नुपरेको मेरो साह्रै कम अनुभव छ । यसको कारण- उनी विराटनगरको कोइराला निवास होइन बाँके जिल्ला बस्थे । त्यही उनको राजनीतिक व्यक्तित्व विकासको ठाउँ थियो । धेरैपल्ट कार्यक्रममा विराटनगर आउँथे । तर, प्रधानमन्त्री नहुञ्जेल उनको कार्यक्रमको रिपोर्टिङ अखबारमा साह्रै ठाउँ पाउने विषय बन्थेन ।
साथीहरूका साथ धेरैपल्ट गिरिजाप्रसादका सामाचार र फोटो सञ्चारमाध्यमका लागि नछुटाइ पठाउनुपर्ने विषय हुन्थ्यो । छुच्चा, टर्रा लाग्ने ती गिरिजाप्रसाद विराटनगर आएरै बोल्थे, जे बोल्थे । त्यसले पनि त्यो निवास नगइ सुख थेन । कहिले सबै भेला भएर अब के बोल्ने हुन् भनेका बेला 'आज केही बोल्दिन, सबैजना जाओ' भन्थे । अरू साथीहरू भएका बेला केही बोलिगए समाचार छुट्ला भन्ने तनाव हुन्थ्यो । सम्पादक नै फोन गर्थे- 'जे बोल्छन् सप्पै पठाउने, फोटो पनि त्यो भनाइलाई जस्टिस हुने हुनुपर्छ ।' साथीहरूले सामाचारमा ध्यान दिन्थे, मलाई फोटोको काम नै गह्रौं थियो । तर, जे भए नि गिरिजाप्रसाद जे बोल्थे, फ्रन्टपेज हुने बोल्थे । 
समय फेरियो । जनताको अपेक्षाअनुसारको विकास र रोजगारीका अवसर नबढेपनि राजनीतिक घटनाक्रम यस्तरी फेरियो की अब विराटनगरमै गएर कोही त्यसरी बोल्ला भन्ने अवस्था रहेन । गत वर्षदेखि मेरो पनि कार्यक्षेत्र फेरियो । विराटनगरबाट पोखरा आइपग्दा यहाँ पनि थुप्रै कोइरालाका निवास देखेको छु । तर, राजनीतिक वृत्तमा जोडदार खबरमा समेट्नुपर्ने अझसम्म त कोही छैनन् ।
सुशील कोइरालाको सादा जीवनबारे धेरै कुरा अरू जसरी नै पढेर थाहा पाइन्छ । उनको प्रधामन्त्रीत्वकाल, काम गराइ, उपासना-आलोचना आदि–इत्यादि बेलाबखत खबर लेख्नैपर्ने जिम्मेवारीले आइपर्नेबाहेक साह्रै धेर सरोकारका विषय पनि परेनन् ।   
***   
गत पुस १६ मा स्याङ्जा पार्टी कार्यालयको उद्घाटनका लागि उनी एक बास पोखरामा बसेका थिए । जिल्ला ब्युरो संयोजक साथी गंगा बिसीले फोन गरे -'सुशील कोइराला पोखरा आउँदै छन् । इन्टर्भ्यु गर्न सक्नुहुन्छ ?' नसक्ने भन्ने कुरा के भो र ! तर, उनी बोल्लान  की नबोल्लान भन्ने पो ठूलो दुविधावाला कुरा परो । मैले 'हुन्छ । सक्छु' भनेँ ।
हाम्रा सञ्चारमाध्यममा हालसम्मको काम गराइको अभ्यास के हो भने केन्द्रीय नेतासँगका अन्तर्वार्ता सकेसम्म राजधानीमा कार्यरत साथीहरूले मात्रै गर्छन् । यस्तो किन भनेर सोधियो भने यसमा दुइ प्रमुख कारण छन् भन्ने मलाई लाग्छ ।
१. पोलिटिकल बीटका, अझ सम्बद्ध पार्टीका सामाचारको जिम्मेवारी भएका संवाददातालाई राजनीतिक घटनाक्रम थाहा हुन्छ । निरन्तर अप्डेट गरिरहने भएकाले नेताको स्तर, उसको भनाइ-गराइ सबै थाहा हुन्छ , के सोध्ने र त्यसबाट तयार हुने लेखोट कतिको 'डिजर्भिङ' हुन्छ भन्ने थाहा हुन्छ । नेताहरूसँग पहिल्यैको चिनजानलाई पनि उसले उपयोग गरेर कुरा गर्ने पहुँच बनाउने बाटो बेग्लै छँदै हुन्छ । सम्पादक, चीफ-रिपोर्टरको पनि सल्लाहमा काम गर्न पनि सजिलो, लेखाइको भाषामा जिल्लाका भन्दा तुलनात्मक दख्खल । यसले गर्दा अन्तर्वार्ता लिनेमा पनि आत्मविश्वास हुन्छ ।
२. राजधानी बाहिरको पत्रकारले एउटा खास बीटमा काम गर्न पाएको हुँदैन । त्यसैले उ परनिर्भर जस्तो हुन्छ, उसले पठाउने समाचार छापिन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले आत्मविश्वासको मामिलामा राजधानीको संवाददाता जतिको 'कन्फिडेन्ट' हुँदैन । र, उसले मिहिन तरिकाले राजनीतिक खबर ध्यानमा राख्दैन । आम बुझाइ पनि यही हो । केही संवाददाता फरक बानीबेहोरा र कार्यशैलीका हुनु अपवाद मानिन्छ । डेस्कले पनि काठमाडौंबाहिर रहेर काम गर्नेलाई यो अभ्यास नगराउने चलनले उसको कामप्रति केन्द्र ढुक्क हुँदैन । जिम्मेवारी दिने नगर्दा जिल्ला संवाददाताले त्यो अभ्यास गर्न पाएकै हुँदैन । खास घटना वा व्यक्ति केन्द्रित विषयमा लेख्न परे 'काठमाडौंबाट कोही आइहाल्लान म किन टाउको दुखाउने' भनेर जिम्मवारी लिन नपरे सुख ठान्ने बानी आफ्नो ठाउँमा छँदै हुन्छ ।
उपरोक्त कुरा परे हाम्रो पत्रकारिताको चलेको चलनका । तर, कान्तिपुरका सवालमा बेलाबखत केन्द्रले क्षेत्रीय ब्युरो र जिल्लास्तरका संवाददातालाई प्रसंगको महत्व र उसको कार्यक्षमताका आधारमा मौका दिने गरेको छ । मधेस आन्दोलनको समय आन्दोलनकारी तथा जिम्मेवार कतिपय नेतासँगका कुराकानी काठमाडौंले बाहिरी जिल्लाका साथीहरूलाई गर्न लगाएर प्रकाशित भएका हुन् । योपटक अन्तरवार्ताको जिम्मेवारी त्यही मौकामध्येको थियो ।
म सुशीलदाको प्रसंगमा फिर्छु । 'हुन्छ' त भनिगएँ तर, कांग्रेसका नेताहरू चिनेको थिएन । उनी कहाँ बस्छन्, के कार्यक्रम हो भन्नेसम्म थाहा थिएन । र, अचानक अन्तर्वार्ताका लागि भेटेर भनिहाले पनि सुशील कोइराला मान्लान् वा नमान्लान् भन्ने थाहा थिएन । सहकर्मी शिव शर्मालाई मोटरसाइकल पछाडि लिएर म निस्किएँ । कार्यक्रम के हो, बास कता, कोमार्फत कुराकानीको सहजीकरण गराउने भन्ने बुझ्न समय लागेन । कास्कीका कांग्रेस सांसद यज्ञबहादुर थापा र जिल्लाका युवा राजबहादुर गुरुङसँग फोनमा कुरा गरेँ । थापा एयरपोर्टमा थिए । उनले सुशीलदा आउने ठाउँमा पुग्दै गरे हुन्छ भने ।
थापा र गुरुङ दुवैले पहिलो फोन कुराकानीमै सुशीलदासँग संवादको मौका मिलाइदिने बताए । मेरो यी दुवैसँग यसअघि यसरी अनुरोध नै गर्नुपर्ने जसरी औपचारिक भेट भएकै थिएन । थाहा भयो कोइराला त्यो रात लेकसाइडमा अर्जुन कुँवरको घरमा बस्नेछन् । कोइरालाहरू प्राय सबैजसो नेताको बानी कतै पनि भरसक होटलमा बसौं भन्ने भएको निकै कम सुन्न पाइएको हो । उनीहरू आफ्ना कुनै पुराना कार्यकर्ता, हितैषी वा आफन्तकहाँ बस्छन् । सुशीलदाले पनि त्यही गर्दा रहेछन् ।
कुँवरको घरमा हामी उनी आइपुग्नु १० मिनेट अघि नै पुग्यौं । आएपछि 'नमस्कार' को औपचारिकतासँगै अन्तर्वार्ता लिन्छौं भन्यौं । उनी पहिलो भेटमै तर्किए । 'मसँग किन कुरा गर्नु ? पर्दैन ।' कार्यकर्ताको हुल आउन थाल्यो । हामी कुरिरह्यौं । करीब आधाघण्टापछि सांसद यज्ञबहादुर थापाले सहजीकरण गरिदिए । कुरा सुरू नगर्दै उनले २/३ पटक भनेका थिए -'पत्रकारले कुरा ट्वीस्ट गर्छन् । भैगो नबोलौं । मैले बोल्नुपर्ने नै केही छैन ।' यस्तो सुन्दा नरमाइलो पनि लागेको हो । यति जिम्मेवार नेतालाई हाम्रो पत्रकारिताप्रति कस्तो शंका !
उनले प्रधानमन्त्रीबाट हटेपछि त्यसरी बोल्न नपरेको बताएका थिए । मैले भने 'हेर्नुस्, तपाई अहिले प्रधानमन्त्रीबाट हटेपनि जिम्मेवार दलको जिम्मेवार नेता हो । पार्टी अधिवेशनको तयारीमा छ, देशले मधेसको आन्दोलनबाट दुःख पाएको धेरै दिन भइसक्यो । तपाइ कसरी चुप लागेर बस्नु हुन्छ । केही नबोल्ने ? नबोलेर हुन्छ ?' सांसद थापाले सही थापे । उनले बोलाउन साँच्चै बल पुर्‍याएका हुन् । शायद उनका लागि प्रतिष्ठाको कुरा पनि थियो । पार्टी सभापतिले पोखरा आएर बोल्दा ठीकै हुन्छ भनेर । सुशीलदाले आफ्ना कुरा जस्ताको तस्तै राख्नुपर्छ भन्ने शर्त गराए । गरियो । अनि बल्लतल्ल बोल्न माने ।
उनीसँग ३६ मिनेट कुरा गरियो । २००७ सालबाट, १७, ३२, ३६, ४६, ६२-६३ र नयाँ संविधान अनि मधेस आन्दोलनसम्मका । वीपीले केके भन्थेदेखि नयाँ सरकारको मूल्यांकन अहिल्यै गरिहाल्नु हतार हुनेसम्मन । कुराकानीका क्रममा उनले लामो बोल्थे, बीचमै रोकेर सोध्नु पर्थ्यो । सुरूमा बोल्न नमानेका उनले बोल्दै गएपछि अलि खुलेर कुरा गरेका थिए । अन्तमा मैले सोधेको थिएँ -'तपाइँ योपल्ट सभापति छाड्नुहुन्छ की रहिरहने ? उनी जंगिएका थिए -'यो कस्तो प्रश्न हो, मैले के बिगारेको छु ?' एकैछिनमा शान्त भए र, उत्तरमा जे भने त्यो अन्तर्वार्तामा प्रकाशित छ ।
केही कार्यकर्ताले 'कति कुरा गरेको ? भएन ? लामो भो ? दाइलाई दिक्क नपार्नुस्' भन्दै हतार लाएका थिए । मोबाइलको रेकर्डर अफ र डायरी ब्यागमा राखेपछि पनि उनले भने 'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला ।' मैले 'केही पनि ट्वीस्ट हुँदैन, ढुक्क हुनुस्' भनेर आश्वस्त पारेपनि एक मनमा लागेको थियो -'यो परिस्थितिमा मैले चाहिने चाहिने कुरा पो गरेँ की गरिँन होला । मलाइ केन्द्रका साथीले काम लाग्ने केही रैनछ भन्ने पो हुन् की ।'
कुराकानी सक्नै लागेका बेला तारानाथ रानाभाट आइपुगेका थिए । अन्तर्वार्तामा छापेको फोटो कुराकानी गरिसकेपछि खिचेको हो । फोटो खिच्दा उनी हामीसँग होइन रानाभाटलगायत कास्कीका आफ्ना अगुवा कार्यकर्तासँग गफिन सुरू गरेका थिए ।
त्यो साँझ हतार हतार आएर लेखियो । भोलिपल्ट ती हिजो 'छिटो कुराकानी सक्नुस् , भएन ?' भन्नेमध्येकै एकले फोन गरेर धन्यवाद दिए । 'भाइ पत्यारै लागेको थिएन जस्ताको तस्तै लेखिदिनु हुन्छ भनेर', उनले भने, 'बुढालाई दाजु तपाइँको इन्टरभ्यु आको रैछ हेर्नुस् भनेर पत्रिका देको, हेरे, पट्याएर कोटको खल्तीमा राखिहाले । फिर्तै देनन् ।'

('भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला' शिर्षकमा मंगलबार इ-कान्तिपुरको 'ब्लग' मा प्रकाशित आफ्नै लेखोटलाई यता मैले थपथाप पारि लम्बेतान बनाएर जतन गरेको हो ।)


नेपालका चराहरू

हाम्रा वरपर देखिने-भेटिने चराहरू
भेटिएसम्म यहाँ जानकारी अप्डेट हुँदै जानेछ ।

Blue-throated Barbet (कुथुर्के)


Red throated flycatcher (लालकण्ठे अर्जुनक)
Red-vented bulbul (जुरेली )