Sunday, March 6, 2016

यहाँ चरा, त्यहाँ चरा

'बिरानु देशमा नरमाइलो लागेको बेला कतै ढुक्कुर कराएको सुन्दा हामीलाई त्यो देश पनि आफ्नै देशजस्तो लाग्छ । पंछीसँग मनुष्यको एकप्रकारको पारिवारिक भावना रहेको हुन्छ । प्रत्येक देशले आफ्ना संस्कृति र कला, साहित्य र संगीत, विश्वास र धारणामा पंछीलाई आफ्नै प्रकारले प्रयोग गरेको पाइन्छ ।'  
माथिका हरफहरू २०३९ सालमा प्रकाशित लैनसिंह बाङ्देल र रबर्ट फ्लेमिङ जुनियरको 'नेपाली चराहरू' पुस्तकको प्रकाशकीयमा छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजत जयन्ती वर्ष पारेर निस्केको कृतिमा उक्त प्रकाशकीय तत्कालीन उपकुलपति माधवप्रसाद घिमिरेले लेखेका हुन् । बाङदेल र फ्लेमिङ नेपालका विभिन्न भूभाग डुलेर संग्रह गरेका जानकारी ६ भागमा वर्गिकरण गरिएको पुस्तकमा चराका हेम पौडेल बनाएका ८३ वटा  चित्र पनि छन् । राष्ट्रकवि घिमिरेले लेखे झैं विरानो ठाउँहरूमा आफ्नै गाउँठाउँ जस्ता चरा देख्दा जो कोहीलाई घर सम्झाउँछ, एक्लोपन हटेजस्तो हुन्छ । के तपाइँलाई यस्तो हुँदैन ? अँ साँच्चै तपाइँ देशका कति जिल्ला घुम्नु भएको छ ? गन्न थाल्नुभयो भने भैगो छाड्नुस् । भन्नुस् कति थरिका चरा चिन्नुहुन्छ ? सोधाइ सजिलो जस्तो लागेपनि झट्ट उत्तर दिन गाह्रै छ । घर-करेसाबारी र बगैंचामा देखिने, अनि खोला, जलाशय, जंगल क्षेत्रमा देखिने पखेटाधारी थुप्रै खालका छन् । तिनको आकार, बानी र आवाजमा पनि विविधता छन् । एउटा कुनैलाई हेर्नुस्, अनि त्यसको बनोट, बानी र आवाजबारे ध्यान दिनुस् । यो आफैंमा अनुपम ध्यान हो । 
बगैंचा आसपास देख्न सकिने चराका फोटा खिच्न टाढा-टाढा गइरहन पर्दैन । आहारा र बासको संकटले ती हामीबाट टाढा हुँदैछन् । अम्बक, मेवा, केरा आदि जस्ता कुनै फल, गुलिया रस हुने फूल पाकेर त्यसै बोटमा छाडिदिनु भएको छ ? छ भने तिनमा हेर्नुस् पंछी आउँछन् । खान रमाउँछन् । तिनै मौका हाम्रा लागि चरा खिच्ने सजिलो बेला हुन सक्छ ।     
०००
लेकसाइडमा एउटा रात वस्तु-बकुल्लाको हुल आकाशमा देखियो । कालो रात । सेता पखेटाधारी । करीव डेढ/दुइ सय हाराहारी हुँदा हुन् । पानी सिमसिम गर्दै थियो । ट्वीटरमार्फ चिनजान भएका  भाइ अमरेन्द्र यादवलाई भेट्न केही साथीका साथ म त्यहाँ थिए“ । निकै माथि आत्तिएर आश्रयका लागि भौंतारिएका पंछीलाई दर्शक भएर हेर्नुबाहेकको अरु उपाय पनि थिएन ।
पोखरामै पनि फेवाताल किनारको लेकसाइड छुट्टै संसार जस्तो छ । अबेरसम्म बत्ती बल्छन् । होटल र रेष्टुरा चल्छन् । पोखरा नगरमा जहाँ कतै सवारी अड्याउँदै गर्दा चिर्कटो थमाउन हतार गर्दै पार्किङ शुल्क लिने भेटिन्छन्, यहाँ भेटिँदैनन् । पार्किङ शुल्क लाग्दैन । पर्यटक कसरी रिझाउन सकिन्छ भन्दै थरिथरिका उपक्रममा जुटेका व्यवसायी भेटिन्छन् ।
गण्डकी अञ्चलबाहेकका नम्बर प्लेटका गाडी लिएर वा पिठ्युमा ब्याग भिरेर पुग्ने जो कोहीलाई सोध्ने भेटिन्छन् - 'हजुरलाई होटल चाहिएको हो ?' जे होस् त्यो बेलुकीको करिब ९ बजेको समय थियो । बकुल्लाका बथान आकाशमा देखिए । यता उड्दै, उता उड्दै लेकसाइड बीच सडकको पिपलको रुखमा बस्थे । फेरि एकछिनमा उड्थे । यी राति उड्ने चरा होइनन् । किन उडे ? उत्सुकता केहीबेरमै मेटियो ।  रूखमुन्तिर दुइ तन्नेरी तिनलाई हर्काइरहेका थिए । हुल जब बस्यो, ताली पड्कायो, आवाज निकाल्यो । सेता पखेटाधारी डराउथे र, उड्थे । घुमिफिरी त्यहीँ आएर बस्थे । राति नदेख्ने भएकाले उनीहरू जाउन पनि कता !
यी चरा विहानैबाट खोला र जलाशय किनारमा आहारा खोज्छन् । साँझ बासमा फिर्छन् । राति डुल्दैनन् । वस्तु बकुल्लाको अर्को विशेषता हो - यिनीहरू चौपायाका किर्ना टिप्छन्, खेतवारीका किरा-फट्याङ्ग्रा खान्छन् । हलुका पँहेलोपना भएको टाउको, पँहेलो चुचो । सेतो ठूलो बकुल्लाका तुलनामा केही मझौलो आकार । झिक्राका अस्तव्यस्त गुँड । हेर्दा राम्रै लाग्ने तर, जहाँ बास गर्छन् ती ठाउँ मुन्तिर फोहर हुन्छ । साँझ-विहान गुँड फर्केर यी हल्ला पनि बेस्सरी गर्छन् । निलेका आहारा उकेल्छन् र, बचरालाई खुवाउँछन् । बकुल्लाका केही प्रजाति राति पनि आहारा खोज्छन्, उड्छन् । तर, यिनीहरू राति उड्नेमध्येका परेनन् । 
केही मान्छेमा अरुलाई अप्ठ्यारो पारेर मजा मान्ने बानी हुन्छ । यी दुइ मनुवा उस्तै थिए । निहु खोज्ने पनि कुरा भएन । यो प्रहरीमा उजुरी गर्ने विषय पनि थिएन । हाम्रो टोलीले हेर्‍यो, हिड्यो । ती अबुझ थिएनन्, पहिरन पनि ठीकै थिए । ती सुकिला-हँसिला तन्नेरीले यी पानीचरालाई बास बस्न नदिएर कतिखेरसम्म हर्काएर उडाइरहे भन्ने थाहा भएन । तर, बकुल्लाको आत्तिएको हुल करीब आधा घण्टा निकै परसम्म उडेको देखियो । त्यसपछि हाम्रो बाटो फरक पर्‍यो । मगजमा निकैबेरसम्म त्यो हुलको सकस सम्झना रहिरह्यो । 
०००
पोखरा बर्ड सोसाइटीका नाममा चराप्रेमीको एउटा समुह वर्षोनी हिउँदमा यात्राको मेलो गर्छ । फेवाताल पश्चिमको क्षेत्रमा विहानै घुमाइको एउटा यस्तो टोली जसले यहाँ 'ट्रान्जिट' मानेर आउने फिरन्ते र बगाल बढाउने रैथाने चरा हेर्छ । 
'योपल्ट अचम्मै भो ! ६४ स्पीसीज देखियो', सोसाइटीका संस्थापक मनशान्त घिमिरेले सुनाए, 'अघिल्लोपल्ट हामीले मुश्किलले ३५ देखेका हौं ।' उनका अनुसार यो संख्यामा हिउँदमा बसाइँ आउने ४० प्रजाति देखिए । त्यो विहान मौसम केही धुम्म थियो । खपौदीको उक्त क्षेत्र फेवातालको यस्तो भाग हो जहाँ पानी नहुँदा खेती पनि गरिएको देख्न मिल्छ । फेवाताललाई पानी ल्याइदिने काम हर्पन खोलाले गरेको छ । यो खोलो वर्षामा केही उत्ताउलो पनि हुन्छ । गएको वर्षायाममा पोखरेलीले पहिले कहिल्यै अनुभव नगरेको घटना भएको हो । हर्पनको बाढीले निकै माटो बगाएर ल्याएको थियो । बाढीका अरु वर्षपानी एक/दुइ सातामै संङ्लो हुन्थ्यो, योपल्ट झण्डै डेढ महिनापछि मात्रै संङ्लीयो । 
सोसाइटीको चरो हेर्ने मेलोमा अमेरिकाको बोस्टनबाट आएकी पाहुना पनि थिइन् । मनशान्तले आफ्नो ६ सय एमएमको लेन्सले खिच्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहने चराका प्रजाति हेरेर रमाएकी स्टेलेना भास्केभिचलाई फेवाको खपौंदी क्षेत्र रमाइलै लाग्यो । त्यो विहान चराका किताबमा 'सिलसिले' र अंग्रेजीमा लेसर व्हीसलीङ टील भनिने पानीहाँसका बथान आकाशमा फन्को मार्दै पानीमा बस्दै-उड्दै कलाबाजी देखाइरहेका थिए । उनले भनिन् 'यो यात्रामा चरा हेर्न मात्रै होइन जाडोमा बसाइँ आउनेका बारेमा पनि थाहा पाइयो ।'
चरा हेर्नैका लागि पहिलोपटक नेपाल आएका मलेशियाका टी लियानटेट पनि टोलीमा मिसिएका थिए । उनले भने 'मेरो यात्रा सफल भएजस्तो लागेको छ । धेरै चरा हेर्न मिल्यो ।' 
पंछी संरक्षण संघ र सोसाइटीले यात्रालाई चरा गणनाका लागि उपयोग गर्‍यो । जाडोमा बसाइँ आउने चरासँगै रैथाने प्रजाति प्रशस्त देखिए । संघका महासचिव राजेन्द्र गुरूङले हिउँदमा चिसो ठाउँबाट अल्पकालका लागि बसाइँ आउने चराको यसरी अध्ययन/अवलोकन हुन थालेको यो तेस्रो वर्ष पुगेको सुनाए । राजधानीको टौदह, चितवन र यसपटक फेवाताललाई अवलोकनका लागि छनोट गरिएको बताएका उनले भने 'यस्तो अवलोकनले कति आउँछन्, कति हराए, केके बढे, घटे भन्ने थाहा हुन्छ ।'  
त्यो यात्रामा धेरै संख्यामा कालीजुरे हाँसका बथान देखिएका थिए । पोखराका पुराना चरा गाइड हरि केसीका अनुसार हिउँदे आगन्तुक चरा हेर्न उपयुक्त मौसम मंसिर-पुस महिना हो । टोलीमा मिसिएका वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीलाई उनले भनिरहेका थिए, 'पोखरा उपत्यका चराको ट्रान्जिट प्वाइन्ट हो । यहाँ तराइ र हिमालका चरा पनि आइपुग्छन् । केही हप्ता/महिना बस्छन् र, जान्छन् ।' 
चरा हेर्ने टोलीलाई भेट्न आएका स्थानीय गुरू बरालले भने 'हेर्न त रमाइलै हो तर, मार्ने-खानेलाई कसले सम्झाउँछ ? हेर्नुस्त चराले मन पराउने ठाउँमा बढेको अतिक्रमण चिन्ता लाग्दो छैन ?' उनको तर्कसँग असहमत हुने ठाउँ थिएन । टोलीले वादविवाद प्रतियोगिता गरेन, चरा हेर्ने, फोटो खिच्ने र समुहमा तिनको संख्या गणना गर्ने गरिरह्यो । 
०००
गत बैशाख १२ को भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो । यो पर्यटकीय गाउँ पुग्नेहरूले खिच्ने कुरा के हो ? भूकम्पको घटनापछि पोखराबाट दुइपटक बारपाक यात्राको मौका मिल्यो । पहिलो  घटनालगत्तै भएकाले ध्यान ती क्षेत्रको अवस्था र मान्छे कसरी बाँचेका छन् भन्नेमा केन्द्रीत रह्यो । दोस्रो यात्रा केही महिनापछि भएकाले मलाई यहाँ केही यस्तो तस्बिर खिच्नु थियो जसले बारपाक सम्झँदा स्मृतिमा भत्केका घरका स्थानमा अरु केही रमाइलो लाग्ने दृश्य देओस् । यो सोचाइ सम्भव भयो ।
बालुवा बजारबाट गाडी पुग्ने बाटो बिग्रिएको थियो । १३ किलोमिटर पैदल यात्रापछि मात्रै बारपाक पुगिने भइयो । राङरूङ खोला तरेपछिको उकालोमा भूकम्पले डरलाग्दा बनाएका पहरा हेर्दै-छिचोल्दै जाँदा निकै गलियो । अलि माथि पुगेर गलेको आभाष हरायो । मैले त्यहाँ किताबले 'चित्रकुट' र अंग्रेजीमा 'लङ-टेल्ड ब्रोडबिल' भनिने चरा देख्न पाएँ । अप्ठ्यारो पहरोबाट चरा क्यामेरामा तीन स्न्यापभन्दा बढि परेन । तर, मन चंगा भयो । सँगै यात्राका गएका चिनियाँ सञ्चारमाध्यमका तीन साथी थिए । एकलाई मैले देखाएँ । उनी छक्क परे - 'कति राम्रो चरो !'
पोखरा फिरेर आएपछि एउटा फोटो समाजिक सञ्जालमा पोष्ट गरेँ । आएका प्रतिक्रियामध्ये दुइटा रमाइला लागे । पहिलो थियो - चराविद् डा. हेमसागर वरालको । उनले भनेका थिए 'गोरखा जिल्लामा पनि यो चरा पाइन्छ भन्ने रेकर्ड भएको थिएन, फोटो हेरेपछि पुष्टि भयो ।' र, दोस्रो कुनै इजिप्सियन ट्वीटर प्रयोगकर्ताको थियो । उनले उर्दुमा लेखेका थिए । जसलाई मेरा इजिप्सियन साथी हसानाइनीले अनुवाद गरेर भने -'मेरो साथीले भन्न खोजेको के हो भने यो चरो उसलाई हेलमेट लगाएको जस्तो लाग्यो । दुर्घटनाबाट जोगिन हेलमेट लगाउँ ।' हँस्यौली लाग्ने कुरा भएपनि चित्रकुटका सवालमा यसको हरिया पखेटा, टाउकामा हेलमेट लाएजस्तै देखिने कालो रंग, पँहेला घेरा राम्रा छन् । कुनै चित्रकारले फुर्सद लिएरै सुन्दर कृति तयार पारेजस्तै ।
पंछी संरक्षण संघका अनुसार ८७६ प्रजातिका चरा नेपालमा रेकर्ड भएका छन् । यिनमा ३६ प्रजाति विश्वमै दुर्लभमध्येका छन् । लामो समयदेखि लाटोकोसेरो संरक्षणको क्षेत्रमा काम गर्दै आएका राजु आचार्य भन्छन् 'लाटोकोसेरोमात्रै पनि हालसम्म २२ प्रजाति पाइएको छ, यिनमा ८ प्रजाति दुर्लभ छन् ।' उनका अनुसार मान्छेको फेरिएको जीवनशैलीसँगै पक्कीघरको बढ्दो निर्माणले पंछीको बास बस्ने ठाउँ घटाएका छन् । 'भँगेरा, गौंथली आदि चराले जाने ठाउँ अन्त पहिल्याउन गाह्रो परेर पनि अझै मान्छेका घरमा बास लिन छाडेका छैनन्', उनले भने, 'अरु धेरै चरा यस्ता छन् जो मान्छेकै बासमा बस्न रुचाउँथे, तिनको बसाइँलाई पक्कीघरले उठीबास लगाएको छ ।' तैपनि चराहरू मान्छेका बासभन्दा धेरै टाढा गइसकेका छैनन् । केहीका आहारा खोज्ने, बिस्ट्याउने बानी मान्छेलाई मनपर्नेमध्ये पर्दैन तर, प्रकृतिले सबैलाई निश्चित आयुसम्म बाँच्ने, सन्तान बढाउने, आहारा खोज्ने आ-आफ्नै शैली दिएको छ । हिमालदेखि पहाड र पहाडदेखि तराइ, करेसाबारी, गोठ, खोला, सिमसार, वन र बगैंचा जहाँ पनि चरा भेटिन्छन् ।
(२०७२, फागुन ८ को कान्तिपुर, कोसेलीमा प्रकाशित)