Saturday, September 3, 2011

सेलिब्रिटी गाडीको नेपथ्यबाट


मुस्ताङ निर्माणको कथा

पहाड गोरखाका डा. बाबुराम भट्टराईले काठमाडौंमा प्रधानमन्त्री पदको सपथ लिएपछि तराईको मोरङमा बनेको गाडी चढेर हिमालपारीको जिल्ला मुस्ताङको नाम चर्चामा ल्यादिए । हिमाल, पहाड र तराई तीनै क्षेत्रसित जोडिएको यो प्रकरण अहिले देशमा सबभन्दा चर्चामा छ । कतियप बेला त यस्तो लाग्छ, प्रधानमन्त्रीभन्दा बढी उनको गाडीको चर्चा छ ।विदेशबाट सामान ल्याइएको भएपनि नेपालमा एसेम्बल हुने भएकाले मुस्ताङ गाडीलाई स्वदेशी उत्पादन मानेर प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि पहिलो निर्णय गरे, 'म स्वदेशी गाडी चढ्छु, मुस्ताङ ।' सरकारी निकायका उच्च अधिकारीहरुसमेतलाई यो गाडीका बारे थाहा थिएन ।केही आलोचकहरुले भट्टराईको सस्तो गाडी चढ्ने निर्णयलाई 'प्रचारवाजी' को संज्ञा दिएका छन् । तर, मिडिया र सहरमा भने यसलाई बाबुरामको राम्रो सुरुवातको रुपमा लिइएको छ । भ्रष्टाचार र व्यापार घाटाले ध्वस्त भएको अर्थतन्त्र सुधारका लागि खर्च कटौती र मितव्ययिताको यो एउटा उदाहरण बन्न पुगेको छ । प्रधानमन्त्रीले अचानक सुशासन र नैतिकताको प्रतीकजस्तै बनाइदिएको यो गाडी विराटनगरको पूरानो औद्योगिक क्षेत्रमा बन्छ, जहाँ वरिपरिका धेरै कारखाना बन्द भइसकेका छन् । 

                                                                       ***
उत्तर फर्किएको एकपाखे छानोभित्र सानो अफिस । कोठाका भीत्ताभरि विभिन्न थरी गाडीका पेन्सिल चित्र छन् । कुनैमा रंग भरिएका, कुनै श्यामश्वेत । आगन्तुक हतारमा छन् । इन्जिनियर भेट्न र नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढेपछि सेलिबि्रटी बनेको गाडी हेर्न चाहन्छन् । तिलचामले कपालले टाउको ढाकिएका पातला महेन्द्रमोहन प्रधान चश्मा सोझ्याउँछन् । आफु बस्ने टेबलबाट दक्षिणको भीत्तो हेर्छन् । हतारमा टेबलको घर्रा खोल्छन् । भन्छन् 'केही देखाउनु छ । हेर्नुस्न् ।' सञ्चारकर्मीको दोहोरीलत्तलाई सेलिबि्रटी गाडी र त्यसका विषयमा मात्र खोज्नु छ । हतार-हतार टेबलमा खोलेका पुराना फाइल पट्याउँछन् र, अलमल्ल पर्छन् । भन्छन् 'खोइ मेरो कुरा पनि सुने हुन्थ्यो ।' वीरगञ्जको कृषि औजार कारखानामा २४ वर्ष जागिरपछि प्रधानले हुलास मोटर्समा एक दसकभन्दा बढि समय बिताइसकेका छन् । उनी फाइल पल्टाउँछन् र, भन्छन् 'लौ हेर्नुस । अहिले प्रधानमन्त्रीले चढेको गाडीको पहिलो स्केच यही हो ।'कारखानामा निर्देशक र इन्जिनियर उनलाई अघि बसाउँछन् । चाहेजस्तो गाडीको बनोट बताउँछन् । कथा सुनेजसरी उनी त्यसैमा स्केच तयार पार्छन् । उनको दैनिकी यसरी चल्छ । प्रधान सुनाउँछन् 'पहिले डमी स्केच गर्ने, अनि त्यसको सीट, लाइट, टायर र भित्री भागको बनोट उतार्ने ।' भीत्ताका चित्र देखाउँदै सुनाउँछन् 'बन्छ बन्दैन थाहा छैन तर, हामीले बसको पनि डिजाइन बनाइसकेका छौ । थोरै सीट भएको भीआइपी टुरिस्ट बस ।'
                                                                           ***
विराटनगर १७ स्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयनजिक पुरानो जुटप्रेस गल्लीमा कुनै कारखाना चलेकै अवस्थामा होला भन्ने धेरैलाई लाग्दैन । कारण, प्रहरी कार्यालयबाट मोडिएर निकै थोरै मात्र सवारीसाधनले यो गल्ली छिचोल्छन् । मिल्सएरियामा ठूलो क्षेत्रफल ओगटेका कारखानाका अस्तित्व समयसँगै क्रमशः इतिहास बनेका छन् । मुलुककै जेठो कारखाना विराटनगर जुट मिल, गणपति कटन मिल, अशोक टेक्सटायल र मोरङ सुगर मिल बन्द भएको बर्षौ भएको छ । बन्दहुँदै चल्दै मुत्यु शैय्याका विरामीजस्तो दि जुद्ध म्याच कारखाना पनि पुरै बन्द भएपछि मिल्सएरिया नाम मात्रको भएको छ । यही एरियाभित्रको हुलास मोटर्स धेरैलाई चलेको छ वा बन्द भन्ने थाहा हुने अवस्था छैन ।प्रधानमन्त्री भट्टराईले यहाँ उत्पादित गाडीलाई आफ्नो सवारी बनाएपछि धेरैले खोजी गर्ने क्रम सुरू भएको छ । 'प्रधानमन्त्रीका कारण चर्चामा आएपछि मात्रै हाम्रो अवस्थाको खोजी सुरू भएको छ', प्रबन्धकसमेत रहेका इन्जिनियर प्रफुल्लचन्द्र दास भन्छन्, 'खै कति खुसी हुनु कि दुखी हुनु ?' कारखानामा स्थापनादेखि जोडिएका दास अलमलमा छन् । कारण, प्यासेन्जर भेहिकल भनेर डिजाइन गरिएको गाडीलाई प्रधानमन्त्रीले सवारी बनाए । अब कस्ता सुविधा थप्ने र विदेशबाट आयातित गाडी बराबरका सुविधा जुटाएर उपलब्ध गराउने ? राजविराजबाट एसएलसी गरेर पढ्न विहार हान्निएका दासले जमशेदपुरबाट इन्जिनियरिङ सिध्याउँदा भारतको टाटा मोटर्समा जागिर खाने ध्याउन्न थियो । पढाइकै दौरान टाटामै १८ महिने अल्पकालीन जागिर पाएका उनी विदामा विराटनगर आएपछि लक्ष्य फेरियो ।'सुरेन्द्र बाबुसँग भेट भयो' डेढ दशकअघिको त्यो भेट सम्भिए 'उहाँ किसानका लागि सिंचाइ, थ्रेसिङ र ढुवानी गर्न सक्ने साधन बनाउन चाहनुहुन्थ्यो । रूची मिल्यो । म यतै बसें ।' गोल्छा अर्गनाइजेशनको हुलास एग्रो कारखानाले 'पावरकार्ट' बनायो । सिंचाइका लागि पम्पिङसेटको काम गर्ने, धान-गहुँ दाउनीका लागि थ्रेसरको काम गर्ने र तिनलाई ढुवानी गरेर चाहेको ठाउँ पुर्‍याउने । फलामको बढ्दो भाउ, पाटपुर्जा, श्रम र तिनको लगानी हिसाब गर्दै आएको कम्पनी स्थापनादेखि नै आर्थिक रूपमा उत्साहप्रद थिएन । पावरकार्टमा हुने प्रविधिलाई नै फेरबदल गर्दा गाडी बनाउन सकिने उपायमा महाप्रबन्धक र दासबीच सल्लाह मिल्यो । २० डीको सानो इन्जिन राखेर हुलास सेर्पाको नामबाट पहिलो गाडी बनाइयो । 
                                                                              ***
पावरकार्टबाट थालेको उत्पादन सेर्पा, सेर्पा ४६डी, सेर्पा इ-ड्राइभ, मुस्ताङ, मुस्ताङ भीटू र मुस्ताङ म्याक्ससम्म आइपुग्दा हुलास मोटर्सको कारखानाको संरचना खासै फेरिएको छैन । कारखानाले ग्यास र व्याट्रीबाट चल्ने सवारी उत्पादन पनि गरि हेर्‍यो । लगानी अनुपातमा आम्दानी दिने खालका भएनन् । चीनबाट इन्जिन, भारतबाट केहीपाट पुर्जा झिकाएपछि चेसिज, सीट र बडी कारखानामै बनाएपछि हुलास मोटर्सको गाडी तयार हुने गरेको छ । 'गाडीमा यस्तै हुन्छ चाहिने कुरा धेरैतिरबाट भेला पारेपछि एसेम्बल्ड गर्ने हो,' इन्जिनियर दास भन्छन् 'चाहिनेमध्ये अहिले धेरैथोक हामी आफै बनाएर लगाउँछौ । ५०/५० को हिसाब मान्दा हुन्छ ।' उतारचढाव झेलेको कारखानालाई जोगाइराख्न गोल्छाले लगानीका अन्य क्षेत्रको आम्दानीको भरथेग यहाँ गरेको छ । 'हामी एकपटक लौ भएन, यसरी चल्दैन, बन्द गर्नेकी के गर्ने ? भन्नेमा पुगेका थियौ', उनले सुनाए 'डाइरेक्टरले अन्तिम प्रयास गरौ भन्नुभयो । अनि यो मुस्ताङ म्याक्स लञ्च गरियो ।' व्यापारका अवस्था भन्दा पनि गोल्छाको साखका लागि कारखाना चलेको छ ।
                                                                               ***
त्यसबेला म निराश भएँ । प्रचण्ड प्रधानमन्त्री हुन चार दिनअघिको कुरा थियो । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपालमै बनेको गाडी चढ्नुपर्छ भन्ने प्रस्ताव लगेको थिएँ । सुरक्षाका कारण देखाइ मलाइ फिराइयो । तीन वर्ष चुप लागें । डा. बाबुराम प्रधानमन्त्रीको उम्मेदवार हुने भएपछि बताउन मन लाग्यो,' काठमाडौंको धापासी बसेर २५ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न रामेश्वर सापकोटाले भने । 'नानी पाउनु कैले कैले भोटो सिउनु अहिले भन्दै मैले सानेपा पुगेर डा. साबलाई प्रस्ताब गरें', उनले भने, 'गाडी लगेर गएपछि टेष्ट ड्राइभ उहाँको निजी ड्राइभरले गरे । मलाइ हुने रहेछ, तडकभडक किन चाहियो र भनेर डा. साबले जवाफ दिनुभयो,' उनले सुनाए । प्रस्ताव गरेको दुइ दिनमै सुरेन्द्र गोल्छालाई फोन गरेर गाडी झिकाएपछि सापकोटा र गोल्छाका म्यानेजर अशोककुमार सिंह भट्टराई निवास पुगेका थिए । प्रधानमन्त्री निर्वाचन भएका दिन सापकोटाले गृह मन्त्रालय र यातायात कार्यालयको प्रक्रिया पुरा गराइ नम्बरप्लेट लेखाएर राती गाडी आफ्नो घरमा ल्याइ राखेका थिए । १ बजेका लागि तय भएको सपथका दिन साँढे १२ बजेसम्म गृह मन्त्रालयका अधिकारीहरूका अघि सुरक्षामा दृष्टिले समस्या नहुने उनी जिकिर गरिरहेका थिए । मेगा बैंकका सञ्चालक सदस्यसमेत रहेका सापकोटा भन्छन् 'गाडीका लागि धेरै पैसा विदेशिन्छ, स्थानीय उत्पादनमाथि नै लगानी बढ्यो भने थोरै पनि अर्थतन्त्रलाई बल पुग्छ भन्ने हो, अरू स्वार्थ छैन ।' 
                                                                           ***
गोल्छा अर्गनाइजेशनमा सुरेन्द्रको जिम्मेवारीको भाग खाद्यान्न र हुलास मोटर्स छ । 'हाम्रो सोच आफुलाई चाहिने आजारका लागि धेरै लगानी गर्न नसक्ने किसानका लागि गाडी बनाउने थियो । गर्दागर्दै मुस्ताङ म्याक्ससम्म आइपुगियो,' उनी भन्छन् । इञ्जिन र चाहिने पाटपुर्जा आयात गरेर बनाउने होस् वा तयारी गाडी नै ल्याएर बेच्ने, सरकारको हेराइ एउटै भएकाले कारखानाले गति लिन हम्मे भएको उनको गुनासो छ । सन् १९८५ सम्म भारतको अनुदार अर्थनीतिको उदाहरण उनलाई मनपर्छ । खुला बजार अर्थनीतिमा आउनअघि सरकारले भारतीय कारखाना जोगाउन त्यस्तो व्यवस्था गरेको थियो । त्यसबेलासम्म फस्टाएका भारतीय कारखाना अहिले विश्वमै बलिया भएका छन् । 'आफ्नो उद्योग जोगाउन सरकारले प्रतिस्पर्धात्मक क्षमता बढाउनेतिर बल गर्नुपर्छ । हामी उत्पादन दिन्छौ, मान्छेले सुविधा र मूल्यमा छनोट गर्न पाउनुपर्छ,' उनी भन्छन् । 'लोकप्रीय' प्रधानमन्त्रीका रुपमा पद सम्हालेका डा. भट्टराईको सरकारमा धेरै दल समावेश भएकाले यो पनि एक किसिमको 'एसेम्बल्ड' सरकार हो । मुस्ताङ गाडीको जस्तो यसको पाटपुर्जा भने विदेशबाट ल्याइएको छैन । प्रधानमन्त्रीको यो सवारी पहाडका नयाँ र अप्ठ्यारा बाटालाई ध्यानमा राखेर बनाइएको हो । र, यो सरकारका अघिल्तिर तेर्सिएको बाटो पनि करिब-करिब त्यस्तै छ । स्वदेशी पाटपुर्जा र स्वदेशमै निर्माण भएको सरकारले चाहिँ मुस्ताङ म्याक्सको जस्तो 'पिकअप' लिनसक्छ कि सक्दैन, त्यो चाहिँ प्रतिक्षाको विषय छ ।  

'दिनको सयवटा फोन आइरहेको छ'
सुरेन्द्र गोल्छा
धान/गहूँ चुट्ने थ्रेशरको बजार प्रवर्द्धनका लागि गाउँगाउँ घुम्दा सुरेन्द्र गोल्छालाई आफैले यस्तो मेशिन किन नबनाउने भन्ने लाग्यो । थ्रेशरलाई पम्पसेटको सहयोगमा कुदाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याई धान गहूँ चुट्ने गरिन्छ । २०५२ सालमा उनले केही थ्रेशर मेशिन बनाए तर लागत बढी परेका कारण आयातीत थ्रेशरभन्दा मँहगो भएकाले उनको उत्पादन टिक्न सकेन ।
थ्रेशरमा सफलता हात नलागे पछि उनले केही कदम अघि बढेर गाडी बनाउने योजना बनाए । थ्रेशर बनाएको दुई वर्षमा हुलास मोटर्सले 'शेर्पा' जिप बजारमा ल्यायो । २०५७ सालमा विराटनगरको औद्योगिक मेलामा पुगेका राजा वीरेन्द्रले शेर्पा गाडीमा चढेर सराहना गरेका थिए । झण्डै एक दशकमा शेर्पा सिरिजका चार मोडल उत्पादन गरेपछि हुलास मोटर्सले पाँच वर्षअघि मुस्ताङ सिरिज सुरु गरेको हो । मुस्ताङ भि-२ उत्पादन गरिरहेको उद्योगले पाँच महिनाअघि मुस्ताङ म्याक्स बजारमा ल्याएको हो । 
स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने तथा मितव्ययिता अपनाउने पक्षका प्रधानमन्त्रीले गृह जिल्लामा देखिसकेका कारण मुस्ताङ म्याक्समा भरोसा गरेको हुनसक्ने गोल्छालाई लागेको छ । हुलास मोटर्सको अधिकांश उत्पादन गोर्खा, तनहूँ, लमजुङलगायतका पहाडी भेकमा खपत हुन्छ । 'गोर्खामा हाम्रा दर्जनौं गाडी गुडिरहेको छन्,' उनले थपे ।
अपर्झट माग भएपछि कामचलाउन तयार अवस्थामा रहेको गाडी उपलब्ध गराएको हुलास मोटर्सले प्रधानमन्त्रीका लागि छुट्टै गाडी बनाउँदैछ । 'अहिले चढेको गाडी पहाडी भूगोलका लागि बनाइएको हो,' उनले भने, 'बनाउन लागेको गाडी सहरका लागि आवश्यक सुविधायुक्त हुनेछ ।' गाडीमा एसी, सेन्ट्रल लक, पावर स्टेयरिङ, पावर लक, बकेट सिटलगायतका सुविधा हुनेछन्, जुन अहिले चढिरहेको गाडीमा छैन । पाँच सातामा गाडी तयार हुने भए पनि दसैं नजिकिएकाले दुई महिना तन्किनसक्ने उनले बताए ।
प्रधानमन्त्रीले चढ्न थालेपछि मुस्ताङ म्याक्समा चासो बढेको छ । हुलास मोटर्सको अफिस र सुरेन्द्रको मोबाइलमा गाडीबारे सोध्न दैनिक एकसयभन्दा बढी कल आइरहेको छ । तर अहिलेसम्म कसैले अर्डर चाहिँ गरेको छैन । उनको परिवार फोर्ड, इहात्सुलगायतका प्रख्यात कम्पनीको आकर्षक गाडीको व्यापारमा पनि संलग्न छ । तर निरन्तर घाटा भए पनि सुरेन्द्रचाहिँ चौध वर्षदेखि हुलास मोटर्सको उत्पादन प्रवर्द्धनमा लागिपरेका छन् । 
(०६८ भदौ १७ को कान्तिपुर कोसेलीमा प्रकाशित )

1 comment: