Wednesday, July 15, 2026

पोमोडोरो टेक्निक

डेडलाइन’ को दबाब र २५ मिनेटको जादु

दैनिक पत्रिकाका सह-सम्पादक तहका पत्रकार सूर्यकुमार (काल्पनिक) राती १० बजे अफिसको डेस्कमा बसेर एउटा खोजमूलक रिपोर्ट लेख्दै थिए। भोलि बिहानको अंकका लागि साढे ११ बजेभित्र रिपोर्ट बुझाउनु पर्ने कडा ‘डेडलाइन’ थियो।

समय घर्किँदै गयो, तर उनको कम्प्युटरको स्क्रिनमा हेडलाइनभन्दा बढी केही लेखिएको थिएन। एकातिर मन्त्रीमाथि लागेको आरोपको समाचारमा उनको सचिवालयले पठाएको विज्ञप्ति समाचार बनेर जानुअघि हेर्नैपर्ने, अर्कोतिर सेयर बजारको आजको उतारचढावको तथ्यांक पनि क्रस-चेक गर्नु पर्ने। अनि त्यही बीचमा सहकर्मीले सम्पादनका लागि पठाइएका समाचारका पानाहरू टेबलमा थुप्रिएका थिए। मल्टिटास्किङको चक्करमा उनको मस्तिष्क कुहिरोमा हराएझैँ भयो। तनावले गर्दा टाउको भारी भइरहेको थियो।

ठीक त्यतिबेलै, उनले आफ्नो कार्यकक्षमा रहेका एक युवा फोटोपत्रकारलाई हेरे, जो निकै शान्त र केन्द्रित भएर आफ्नो कम्प्युटरमा फोटो सम्पादन गरिरहेका थिए। उनका लागि आजको दिन धेरै इस्युले व्यस्त बनाएमध्येको थियो। सूर्यले उनलाई सोधे, 'यत्रो हतारो छ, तिमी कसरी यति शान्त भएर काम गर्न सकेका ?'

ती फोटोग्राफरले मुस्कुराउँदै आफ्नो मोबाइलको एउटा एप्लिकेसन देखाए, जसमा गोलभेँडा (Tomato) को चित्र अंकित एउटा घडी चलिरहेको थियो।

उनले भने, 'दाइ, म पोमोडोरो टेक्निक प्रयोग गर्दैछु। यसले जस्तो अवस्थामा पनि शान्त र संयमित हुन मद्दत गर्दो रहेछ। यो जादु होइन, हाम्रो दिमागलाई फसाउने एउटा साधारण खेल हो।' 

उनले सूर्यकुमारलाई यसको नियम सिकाए। 'सबैभन्दा पहिले आफ्नो मोबाइलको टाइमरमा २५ मिनेट सेट गर्नुस्। यो २५ मिनेटमा संसारका सम्पूर्ण कुरा बिर्सेर, फोन साइलेन्टमा राखेर, केवल आफ्नो रिपोर्ट मात्र लेख्नुस्। २५ मिनेट सकिएपछि घडी बज्छ। त्यसपछि ठ्याक्कै ५ मिनेटको ब्रेक लिनुस्। त्यो ब्रेकमा समाचार सोच्ने होइन, सिटबाट उठेर अलिकति पानी पिउने, जिउ तन्काउने वा झ्यालबाट बाहिर चराचुरुङ्गी हेर्ने। ५ मिनेटपछि फेरि २५ मिनेटको अर्को सत्र सुरु गर्ने। यस्ता ४ वटा सत्र (पोमोडोरो) पूरा भएपछि मात्र १५-२० मिनेटको लामो ब्रेक लिने।'

सूर्यलाई सुरुमा त लाग्यो - 'साढे ११ बजे रिपोर्ट बुझाउनु छ, २५ मिनेटमै काम रोकेर ५ मिनेट आराम गर्नु त समय खेर फाल्नु हो।' तर विकल्प केही थिएन। उनले मोबाइलमा २५ मिनेटको टाइमर लगाए।

पहिलो २५ मिनेटमा उनले ध्यान अन्त कतै जान दिएनन्। अनौठो कुरा, २५ मिनेट सकिँदा उनले रिपोर्टको आधा हिस्सा लेखिसकेका थिए। टाइमर बज्यो, उनी ५ मिनेट उठे, लामो सास फेरे र पानी पिए। जब उनी दोस्रो पोमोडोरो (२५ मिनेट) का लागि कुर्सीमा फर्किए, उनको मस्तिष्क 'फोकस जोन' मा आइसकेको थियो। बाँकी रिपोर्ट उनले पहिलोभन्दा तीव्र गतिमा र उत्कृष्ट ढंगले पूरा गरे।

ठिक ११ बजे, डेडलाइनभन्दा आधा घण्टा अगावै सूर्यले आफ्नो रिपोर्ट सम्पादकलाई बुझाए।

कामको चाप र तनावका बीच समयलाई स-साना टुक्रामा विभाजन गरेर लिइने योजनाबद्ध विश्रामले कसरी उत्पादकता बढाउँछ र मानसिक थकानबाट जोगाउँछ भन्ने कुरा उनले त्यस रात आफ्नै अनुभवबाट बुझे।

बन्चरोको धार र विश्रामको रहस्य

एउटा गाउँमा दाउरे दाजुभाइ थिए। दुवैको काम एउटै जंगलबाट दाउरा चिरेर बजारमा बेच्नु थियो। दाजु बिहानदेखि साँझसम्म एकछिन पनि नरोकी बन्चरो चलाउँथ्यो। उसलाई लाग्थ्यो, 'जति धेरै समय काम गरियो, उति धेरै काठ काटिन्छ।'

भाइ भने अनौठो थियो। ऊ करिब आधा घण्टा जति काम गर्थ्यो, त्यसपछि केही मिनेट बसेर पानी पिउँथ्यो, सास फेर्थ्यो र बन्चरोको उध्याउँथ्यो। दाजुले उसलाई जिस्क्याउँदै भन्थ्यो, 'यसरी पटक-पटक आराम गरेर कहिले धेरै कमाइ गर्छस् ?' 

साँझ पर्दा दुवै जनाले काटेको दाउराका बिटा गन्थे। अचम्म ! सधैं कान्छोको दाउरा धेरै हुन्थ्यो। एक दिन जेठोले सोध्यो, 'तँ त बीच-बीचमा आराम गर्छस्, तैपनि मभन्दा धेरै काठ कसरी काट्छस् ?'

भाइ मुस्कुरायो र भन्यो, 'म आराम गर्न मात्र बस्दिनँ। त्यो बेला ज्यानलाई ऊर्जा दिन्छु, मनलाई ताजा बनाउँछु र बन्चरोको धार पनि तेज बनाउँछु। त्यसैले अर्को चरणमा अझ प्रभावकारी रूपमा काम गर्न सक्छु।' त्यो दिनपछि  दाजुले बुझ्यो - सफलताको रहस्य केवल धेरै घण्टा काम गर्नुमा होइन, सही लयमा काम गर्नुमा रहेछ। यही सन्देश पोमोडोरो टेक्निकले दिन्छ। 

निश्चित समयसम्म पूर्ण एकाग्र भएर काम गर्ने, त्यसपछि छोटो विश्राम लिने। विश्राम गर्नु भनेको समय खेर फाल्नु होइन, त्यो अर्को चरणका लागि मस्तिष्कलाई धार लगाउनु हो। जब काम र विश्रामबीच सन्तुलन हुन्छ, उत्पादकता मात्र होइन, कामको गुणस्तर पनि बढ्छ। कहिलेकाहीँ केही मिनेटको सचेत विश्रामले घण्टौँको थकित मेहनतभन्दा धेरै राम्रो परिणाम दिन सक्छ।

पोमोडोरो टेक्निक (Pomodoro Technique) समय व्यवस्थापन र ध्यान केन्द्रित गर्ने एउटा वैज्ञानिक विधि हो। यसको विकास सन् १९८० को दशकमा इटालीका फ्रान्सेस्को सिरिलो (Francesco Cirillo) ले गरेका थिए। उनले टमाटर (इटालियनमा Pomodoro) आकारको भान्साको टाइमर प्रयोग गरेकाले यसको नाम 'पोमोडोरो' रहन गएको हो। यस विधिको आधारभूत नियम सरल छन् -

  • २५ मिनेट कुनै एक काममा पूर्ण ध्यान दिएर काम गर्ने।
  • त्यसपछि ५ मिनेट विश्राम गर्ने।
  • यस्तो चार चक्र पूरा भएपछि १५-३० मिनेट लामो विश्राम लिने।

टमाटर टु टेक्निक !

पोमोडोरो टेक्निक मनोवैज्ञानिकले विकास गरेको सिद्धान्त होइन। यसको विकास गर्ने इटालीका उद्यमी, लेखक तथा समय व्यवस्थापनका प्रशिक्षक सिरिलो त्यसबेला विश्वविद्यालयका विद्यार्थी थिए। पढाइमा ध्यान केन्द्रित गर्न कठिन भइरहेको थियो। किताब अगाडि खोलेर घण्टौँ बस्दा पनि उपलब्धि कम हुने, पढाइ बीचमै छोड्ने र समय खेर जाने समस्याले उनलाई सताइरहेको थियो।

एक दिन उनले आफैंसँग एउटा सानो चुनौती राखे - 'के म केवल १० मिनेटसम्म कुनै पनि व्यवधानबिना एउटै काममा ध्यान दिन सक्छु ?' त्यसका लागि उनले भान्सामा रहेको टमाटर आकारको मेकानिकल किचन टाइमर प्रयोग गरे। सुरुमा १० मिनेटबाट प्रयोग थालेका उनले पछि विभिन्न समयावधि परीक्षण गरे र अन्ततः २५ मिनेट गहिरो एकाग्रतापूर्वक काम गर्ने र त्यसपछि ५ मिनेट विश्राम लिने ढाँचा सबैभन्दा व्यवहारिक र प्रभावकारी ठाने। चारवटा यस्ता चक्र पूरा भएपछि १५–३० मिनेटको लामो विश्राम गर्ने नियम पनि उनले थपे।

सिरिल्लोले यो विधिलाई कुनै जटिल मनोवैज्ञानिक सिद्धान्तका रूपमा होइन, मानिसको ध्यान भंग हुने बानी, काम टार्ने प्रवृत्ति (Procrastination) र समयको गलत अनुमान गर्ने स्वभावको व्यवहारिक समाधान का रूपमा विकास गरेका थिए। उनका अनुसार ठूलो कामले मानिसलाई मानसिक रूपमा डराउँछ, तर त्यसलाई साना समयखण्डमा विभाजन गर्दा काम सुरु गर्न सजिलो हुन्छ। साथै, नियमित विश्रामले मानसिक थकान घटाएर अर्को चरणमा फेरि पूर्ण ध्यानका साथ काम गर्न मद्दत गर्छ।

सिरिल्लोले आफ्ना अनुभव र प्रयोगलाई व्यवस्थित गर्दै सन् २००६ मा प्रकाशित 'The Pomodoro Technique' पुस्तकमार्फत यस विधिलाई विश्वभर परिचित गराए। पछि प्रकाशित 'The Pomodoro Technique Illustrated' (२०१८) मा उनले यसको सिद्धान्त, अभ्यास र कार्यस्थलमा प्रयोगबारे विस्तृत व्याख्या गरेका छन्। आज पोमोडोरो टेक्निक केवल विद्यार्थीको पढाइमा सीमित छैन, अनुसन्धानकर्ता, लेखक, सफ्टवेयर इन्जिनियर, चिकित्सकदेखि ठूला कम्पनीका कर्मचारीसम्मले ध्यान, उत्पादकता र मानसिक सन्तुलन कायम राख्न प्रयोग गर्ने विश्वव्यापी कार्यशैलीका रूपमा स्थापित भएको छ।

यसको प्रभावकारिता बुझ्न मनोविज्ञानका केही स्थापित सिद्धान्तहरू निकै उपयोगी छन्। विशेषगरी अमेरिकी मनोवैज्ञानिक रोय एफ. बाउमिस्टर र क्यानडेली मनोवैज्ञानिक लुसी जो पलाडिनोका विचार पोमोडोरो टेक्निकसँग निकट रूपमा मेल खान्छन्।

अमेरिकी सामाजिक मनोवैज्ञानिक रोय एफ. बाउमिस्टर (Roy F. Baumeister) ले सन् १९९८ मा आफ्ना सहकर्मीहरूसँग मिलेर 'Ego Depletion : Is the Active Self a Limited Resource?' शीर्षकको अनुसन्धान 'Journal of Personality and Social Psychology' मा प्रकाशित गरेका थिए। यस अध्ययनले मानिसको आत्मनियन्त्रण र एकाग्रता सीमित मानसिक स्रोतमा आधारित हुने तर्क अघि सारेको थियो। 

लगातार कठिन काम, निर्णय वा आत्मनियन्त्रण गर्नुपर्दा मानसिक ऊर्जा घट्दै जान्छ र त्यसपछि ध्यान भंग हुने, गल्ती बढ्ने तथा काम टार्ने प्रवृत्ति बढ्न सक्छ भन्ने निष्कर्ष अनुसन्धानले प्रस्तुत गरेको थियो। पोमोडोरो टेक्निकमा २५ मिनेट कामपछि छोटो विश्राम दिने अभ्यासले यही मानसिक स्रोतलाई पुनः सक्रिय राख्न सहयोग गर्छ भन्ने तर्क धेरै व्यवहार वैज्ञानिकहरूले जोड्ने गरेका छन्। यद्यपि पछिल्ला वर्षहरूमा 'इगो डिप्लिसन' सिद्धान्तका केही पक्षबारे पुनः परीक्षण हुँदा मिश्रित नतिजा आएका छन्, त्यसैले यसलाई पूर्ण रूपमा स्थापित तथ्यभन्दा पनि प्रभावशाली मनोवैज्ञानिक मोडेलका रूपमा बुझिन्छ।

अर्की अमेरिकी मनोवैज्ञानिक लुसी जो पलाडिनो (Lucy Jo Palladino) ले सन् १९९९ मा प्रकाशित आफ्नो पुस्तक 'Dreamers, Discoverers and Dynamos : How to Help the Child Who Is Bright, Bored and Having Problems in School' र विशेषगरी सन् २००७ मा प्रकाशित 'Find Your Focus Zone : An Effective New Plan to Defeat Distraction and Overload' मा ध्यानको एउटा महत्त्वपूर्ण सिद्धान्त व्याख्या गरेकी छन्। उनका अनुसार अत्यधिक तनाव वा अत्यधिक आराम दुवैले ध्यान बिगार्छ, उत्कृष्ट कामका लागि मस्तिष्क 'फोकस जोन' अर्थात् सन्तुलित मानसिक अवस्थामा हुनुपर्छ। 

उनी लेख्छिन् - 'लामो समयसम्म निरन्तर काम गर्दा मस्तिष्कको कार्यक्षमता घट्न थाल्छ, त्यसैले योजनाबद्ध छोटो विश्रामले ध्यान पुनः ताजा बनाउन मद्दत गर्छ।' यही कारण पोमोडोरो टेक्निकमा बीच–बीचमा विश्रामलाई कामको अवरोध होइन, उत्पादकताको एक अनिवार्य हिस्सा मानिन्छ। 

पलाडिनोका अनुसार हाम्रो ध्यान र कार्यक्षमता मस्तिष्कमा प्रवाह हुने 'एड्रेनालिन' (adrenaline) हर्मोनको मात्रामा भर पर्छ। उनले यसलाई उल्टो 'U' आकारको रेखाचित्र (Inverted-U) मार्फत स्पष्ट पारेकी छन्। जब एड्रेनालिनको मात्रा निकै कम हुन्छ, हामी निष्क्रिय, बोर र अल्छी बन्छौँ। तर जब यो मात्रा अत्यधिक हुन्छ, हामी तनाव, छटपटी र डरको अवस्थामा पुग्छौँ। यी दुवै चरम अवस्थामा एकाग्रता असम्भव हुन्छ।

त्यसैले, उत्कृष्ट काम गर्न एड्रेनालिनको मात्रा सन्तुलित हुनुपर्छ, जसलाई उनले 'क्याल्म अलर्टनेस' (Calm Alertness) अर्थात् शान्त सतर्कता भनेकी छन्। यस 'फोकस जोन' मा रहनका लागि समय-समयमा गरिने छोटो विश्राम र ध्यान व्यवस्थापनका रणनीतिहरू निकै प्रभावकारी हुन्छन्।

यदि हामी पोमोडोरो टेक्निकलाई केवल समय व्यवस्थापनको उपाय ठान्छौं भने त्यो अधुरो बुझाइ हुन सक्छ। मनोविज्ञानको दृष्टिले हेर्दा यो मानव मस्तिष्कको सीमित ध्यान, मानसिक ऊर्जा र विश्रामको आवश्यकतालाई सम्मान गर्ने व्यवहारिक कार्यशैली हो। त्यसैले यसको लोकप्रियता केवल टाइमरका कारण होइन, मानव मस्तिष्कले काम गर्ने प्राकृतिक लयसँग यसको मेलका कारण हो। बाउमिस्टरका अनुसन्धान र पलाडिनोका पुस्तकहरू आज पनि यस विषयमा रुचि राख्ने विद्यार्थी, शिक्षक र पेसेवरहरूका लागि उपयोगी अध्ययन सामग्री मानिन्छन्।

मस्तिष्कको जैविक लय र पोमोडोरो

तर यसको प्रभाव समय व्यवस्थापनभन्दा धेरै गहिरो छ। मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा पोमोडोरो टेक्निकले हाम्रो मस्तिष्क कसरी काम गर्छ भन्ने आधारमा काम गर्छ।

  • मस्तिष्कको ध्यान सीमित हुन्छ। मानिसको ध्यान (Attention) अनन्त हुँदैन। लामो समय एउटै काम गर्दा मस्तिष्क थाक्छ र ध्यान बिस्तारै कमजोर हुन्छ। यसलाई Attention Fatigue भनिन्छ। २५ मिनेट जस्तो छोटो समयको लक्ष्यले मस्तिष्कलाई 'यति मात्र टिक्नुपर्छ' भन्ने सन्देश दिन्छ। यसले मानसिक थकान कम हुन्छ र ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ।
  • काम सुरु गर्न हुने मानसिक प्रतिरोध घटाउँछ। धेरै मानिसलाई काम सुरु गर्नु नै सबैभन्दा कठिन हुन्छ। मनोविज्ञानमा यसलाई Task Initiation Resistance वा Psychological Resistance भनिन्छ। यदि कसैले 'आज ८ घण्टा पढ्नुपर्छ' भन्ने सोच्यो भने मस्तिष्कले त्यसलाई ठूलो बोझका रूपमा लिन्छ। तर '२५ मिनेट मात्र पढ्ने' भन्ने लक्ष्य सानो लाग्छ। सानो लक्ष्य स्वीकार्न मस्तिष्क तयार हुन्छ र काम सुरु भएपछि धेरैजसो मानिस २५ मिनेटभन्दा बढी पनि निरन्तर काम गर्न सक्छन्।
  • पुरस्कार प्रणाली सक्रिय हुन्छ। प्रत्येक २५ मिनेटपछि आउने ५ मिनेटको विश्राम एउटा सानो पुरस्कार (Reward) जस्तै हो। काम पूरा भएपछि मस्तिष्कको पुरस्कार प्रणाली सक्रिय हुन्छ। यसले प्रेरणा बढाउन सहयोग गर्ने डोपामिन (Dopamine) स्रावमा भूमिका खेल्न सक्छ। परिणामस्वरूप अर्को चक्र सुरु गर्न पनि उत्साह कायम रहन्छ।
  • निर्णय थकान कम गर्छ। दिनभरि मानिसले सयौं निर्णय गर्छ। यसलाई 'Decision Fatigue' भनिन्छ। पोमोडोरोमा पहिले नै नियम तय हुन्छ—२५ मिनेट काम, ५ मिनेट विश्राम। बारम्बार 'अब काम गर्ने कि नगर्ने?' भन्ने निर्णय लिनुपर्दैन। यसले मानसिक ऊर्जा बचत हुन्छ।
  • टालटुल गर्ने बानी घटाउँछ। काम ठूलो देखिँदा मानिस प्रायः पछि सार्ने (Procrastination) गर्छ। पोमोडोरोले कामलाई साना खण्डमा विभाजन गर्छ। 'पूरै प्रतिवेदन लेख्नुपर्छ' भन्ने दबाबभन्दा 'पहिलो २५ मिनेट भूमिका मात्र लेख्ने' भन्ने लक्ष्य धेरै सहज हुन्छ। यसले काम टार्ने प्रवृत्ति घटाउन मद्दत गर्छ।
  • कार्यशील स्मृतिमा कम भार पर्छ। मानिसको Working Memory सीमित हुन्छ। एकैपटक धेरै कुरा सोच्दा मस्तिष्क अलमलिन्छ। २५ मिनेटको एकमात्र लक्ष्यले कार्यशील स्मृतिमा पर्ने भार घटाउँछ। ध्यान एकै काममा केन्द्रित हुन्छ, जसले उत्पादकता बढाउन सक्छ।
  • विश्रामले स्मृति मजबुत बनाउन सहयोग गर्छ। ५ मिनेटको विश्राम केवल शरीरलाई आराम दिन होइन, मस्तिष्कलाई पनि सूचना प्रशोधन गर्ने अवसर दिन हो। सिकाइ मनोविज्ञानले देखाउँछ कि काम र छोटो विश्रामको सन्तुलनले नयाँ जानकारीलाई दीर्घकालीन स्मृतिमा व्यवस्थित गर्न सहयोग पुर्‍याउन सक्छ। विशेष गरी पढाइ र सीप सिकाइमा यो उपयोगी हुन सक्छ।
  • उपलब्धिको अनुभूति बढाउँछ। प्रत्येक पोमोडोरो पूरा हुँदा 'एउटा चरण पूरा भयो' भन्ने अनुभव हुन्छ।मनोवैज्ञानिक रूपमा यसले Self-efficacy (आफ्नो क्षमता प्रतिको विश्वास) बढाउन मद्दत गर्छ। धेरै पोमोडोरो पूरा हुँदै जाँदा मानिसलाई आफू प्रगति गरिरहेको अनुभूति हुन्छ, जसले थप प्रेरणा दिन्छ।

सबैका लागि एउटै नियम उपयुक्त हुन्छ ?

हुँदैन।

२५ मिनेट कुनै जादुई संख्या होइन। केही अनुसन्धानले देखाएको छ कि मानिसको ध्यान अवधि, कामको प्रकृति र व्यक्तिगत शैली फरक–फरक हुन्छ। त्यसैले गहिरो अनुसन्धान वा लेखनका लागि ५०–९० मिनेटको निरन्तर काम केही व्यक्तिका लागि बढी प्रभावकारी हुन सक्छ। नयाँ विद्यार्थी, एडीएचडी भएका केही व्यक्तिहरू वा टालटुल गर्ने बानी भएकाहरूका लागि २५ मिनेटको चक्र बढी उपयोगी हुन सक्छ। आवश्यक परे ३०–५, ४५–१० वा ५०–१० जस्ता समय चक्र पनि प्रयोग गर्न सकिन्छ।

पोमोडोरो टेक्निक केवल टाइमर चलाउने उपाय होइन। यो मानव मस्तिष्कको ध्यान क्षमता, प्रेरणा, पुरस्कार प्रणाली, निर्णय थकान र टालटुल गर्ने मनोवैज्ञानिक प्रवृत्तिलाई ध्यानमा राखेर विकसित गरिएको कार्यशैली हो। यसले ठूलो कामलाई साना, व्यवस्थापनयोग्य चरणमा विभाजन गर्छ, मानसिक दबाब घटाउँछ र नियमित विश्राममार्फत ध्यान र उत्पादकता दुवै कायम राख्न सहयोग पुर्‍याउँछ। त्यसैले यसको वास्तविक शक्ति २५ मिनेटमा होइन, मानिसको मस्तिष्कले काम गर्ने प्राकृतिक ढाँचासँग तालमेल मिलाउने सिद्धान्तमा निहित छ।

***

पोमोडोरोबाहेक पनि छन् तीन सूत्र

मनोविज्ञान र कार्यक्षमता (Productivity) का क्षेत्रमा मानसिक स्वास्थ्यलाई जोगाउँदै उत्पादकता बढाउन विभिन्न प्रमाणित सूत्रहरू प्रतिपादन गरिएका छन्। पोमोडोरो बाहेक मुख्य तीनवटा मनोवैज्ञानिक सिद्धान्त र सूत्रहरू यसप्रकार छन् -

१. द प्रोग्रेस प्रिन्सिपल 

  • हार्वर्ड बिजनेस स्कुलकी प्राध्यापक टेरेसा आमाबिल (Teresa Amabile) र अनुसन्धानकर्ता स्टिफन क्रेमर (Steven Kramer)ले आफ्नो पुस्तक 'The Progress Principle: Using Small Wins to Ignite Joy, Engagement, and Creativity at Work' (२०११) मा यो धारणा अघि सारेका हुन्। उनीहरूको अनुसन्धानका अनुसार कार्यस्थलमा मानसिक रूपमा स्वस्थ र उत्प्रेरित रहने सबैभन्दा ठूलो स्रोत 'साना सफलताहरू' (Small Wins) हुन्। ठूला लक्ष्यहरूलाई साना र सजिलै पूरा हुने दैनिक कार्यमा विभाजन गर्दा मस्तिष्कमा सकारात्मक ऊर्जा आउँछ। प्रत्येक सानो काम पूरा हुँदा मस्तिष्कमा 'डोपामिन' हर्मोन उत्सर्जन हुन्छ, जसले तनाव कम गर्छ र आन्तरिक सन्तुष्टि बढाउँछ।

२. नियम ५ सेकेन्डको (The 5-Second Rule)

  • अमेरिकी प्रेरक वक्ता तथा लेखिका मेल रोबिन्स (Mel Robbins)ले आफ्नो चर्चित पुस्तक 'The 5-Second Rule: Transform your Life, Work, and Confidence with Everyday Courage'(२०१७) मा यो नियम व्याख्या गरेकी छन्। यो सिद्धान्तले काम टार्ने प्रवृत्तिबाट मस्तिष्कलाई जोगाउँछ। जब हामी कुनै काम गर्ने विचार गर्छौँ, हाम्रो मस्तिष्कले तनाव वा डरका कारण ५ सेकेन्डभित्रै त्यसलाई टार्ने बहाना खोजिसक्छ। रोबिन्सका अनुसार, कुनै काम सुरु गर्नुअघि उल्टो गन्ती (५, ४, ३, २, १) गनेर तुरुन्तै काममा हाम्फाल्नुपर्छ। कामलाई सानो सुरुवात दिँदा मस्तिष्कमा 'अति-सोचाई' (Overthinking) को चक्र तोडिन्छ र मानसिक भार कम हुन्छ।

३. जियागार्निक इफेक्ट 

  • सोभियत मनोवैज्ञानिक ब्लुमा जियागार्निक (Bluma Zeigarnik)ले सन् १९२० को दशकमा बर्लिन विश्वविद्यालयमा गरिएको एक अनुसन्धान र पछि प्रकाशित शोधपत्रहरूमा यो सिद्धान्त स्थापित गरेकी हुन्। यस प्रभाव अनुसार, हाम्रो मस्तिष्कले पूरा भइसकेका कामहरू भन्दा अधूरा रहेका कामहरूलाई बढी सम्झिरहन्छ, जसले गर्दा मानसिक तनाव र छटपटी बढ्छ। यसबाट बच्ने मनोवैज्ञानिक उपाय भनेको कुनै पनि ठूलो कामको 'सुरुवात मात्र' गर्नु हो। जब हामी कुनै कामको सानो अंश मात्र भए पनि सुरु गर्छौँ, मस्तिष्कले त्यसलाई पूरा गर्न खोज्छ। काम सुरु भइसकेपछि अधूरा कामको मानसिक बोझ घट्छ र एकाग्रता कायम राख्न सजिलो हुन्छ।

कामको बोझलाई टुक्रयाएर सानो सुरुवात गर्दा मस्तिष्क अनियन्त्रित तनावबाट जोगिन्छ र मानसिक स्वास्थ्य सन्तुलित रहन्छ। यी सबै सिद्धान्त र विधिहरूले देखाउने एउटै सत्य के हो भने - मस्तिष्क मेसिन होइन। यसलाई निरन्तर लतारेर होइन, सही समयमा सही विश्राम दिएर मात्र यसको वास्तविक क्षमता उजागर गर्न सकिन्छ। चाहे सूर्य जस्ता व्यस्त पत्रकार हुन् वा जंगलका दाउरे, उत्पादकताको वास्तविक साँचो 'निरन्तर दौडिनु' मा होइन, बरु 'दौडको बीचमा बन्चरो धारिलो बनाउनु' मा लुकेको छ।

Tuesday, July 14, 2026

भावना माथिको लगाम, जीवनको रफ्तार

 

कार्यालयको भित्तोमा घडीले रातको ठीक १२:३० बजाउँदै थियो। टेबलभरि फिँजारिएका रिपोर्टहरू, आधा कोरिएका मस्यौदाहरू र चिसिइसकेको कफीको कप। सँगैको टेबलमा काम गर्ने सहकर्मी आफ्नो पालोको काम नसकी, जिम्मेवारी पन्छाएर भर्खरै निस्किएका थिए। दिनभरिको थकान, भोक र त्यसमाथि सहकर्मीको गैरजिम्मेवारपनले टाउको फुट्लाजस्तो भइरहेको थियो। रिसको पारो सीमा नाघ्ने अवस्थामा थियो।

यस्तो अवस्थामा दुईवटा विकल्प मात्र बाँकी रहन्छन्। पहिलो - रिसको झोँकमा टेबलको फाइल भुइँमा पछार्ने, सहकर्मीलाई भोलिपल्ट देखाइदिने धम्कीपूर्ण मेसेज लेख्ने र आफ्नो रात र भोलिको दिन दुवै बर्बाद पार्ने। दोस्रो - लामो सास तान्ने, आफ्नो कन्सिरी तात्नु जायज हो भन्ठान्ने, 'ऊ थाकेको थियो होला वा कुनै समस्यामा थियो कि?' भनी सोच्ने र शान्त भएर सोच्ने, तातो रिसले भोलि काम हुन्न भनेर सबै टास्क फत्ते गरी घर फर्कने।

जसले दोस्रो विकल्प रोज्छ, उसले परिस्थितिलाई मात्र जित्दैन, आफैंलाई पनि जित्छ। यही आफ्ना र अरूका भावनाहरू बुझ्ने, तिनलाई सही दिशा दिने र नियन्त्रण गर्ने क्षमता नै 'संवेगात्मक बौद्धिकता' (Emotional Intelligence - EI) हो। पहिलोले परिस्थिति बिगार्छ, पछिसम्म दुःख दिन्छ। दोस्रोले काम बनाउँछ, अरुलाई पनि सिकाउँछ।

सरल भाषामा भन्दा हामीसँग कति ज्ञान छ वा हाम्रो दिमाग कति तीक्ष्ण छ भन्ने कुरा इन्टेलिजेन्स कोसेन्ट (IQ) ले मापन गर्छ। तर, हामी संकटको बेला कति धैर्य रहन सक्छौँ, अरूको दुःखमा कति सहानुभूति राख्छौँ र आफ्ना भावनाहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा इमोसनल कोसेन्ट (EQ) अर्थात् संवेगात्मक बौद्धिकताले निर्धारण गर्छ। उच्च आईक्यू भएको व्यक्ति प्राविधिक रूपमा अब्बल त होला, तर यदि उसमा इक्यू छैन भने ऊ न राम्रो नेता बन्न सक्छ, न त सुखी पारिवारिक सदस्य।

त्यसैले भनिएको पनि छ - 'रिस खा आफू, बुद्धि खा अरु।' परिस्थिति वा व्यवहारसँगको हामी रिसाउने कारण जायज भए पनि त्यसको प्रतिक्रियामा के गर्छौं भन्ने महत्त्वपूर्ण छ। 

दक्षिण कोरियामा केही वर्ष श्रम घर आएका भक्तपुरका एक युवकले मिनी बस किनेका थिए। उनको फोर्स ट्रयाभ्लर गाडी १५/१६ किलोमिटरको लोकल रुटमा चल्थ्यो। चालकले 'तलब-सुविधा बढाइदिनुपर्छ' भनिरहेका थिए। ती युवक 'केही महिना पर्ख, अलि फाइदामा गए हुन्छ' भन्दै थिए। एक दिन चालक झोंक्किए - 'बीच बाटैमा गाडी छाडेर हिँडिदिन्छु, अनि कमाउँछ !' भने। अनि त्यसै गरे। गाडीधनी युवकलाई अर्को गाडीका चालकको फोन आयो -'तपाइँको डाइबरले बीच बाटैमा गाडी छाडेर हिँडेछ, पेसेन्जरहरु अब पुलिसलाई खबर गर्नुपर्छ भन्दैछन्।'

जवाफमा उनले केहीबेर यात्रुलाई सम्झाउन लगाए। आफू तुरुन्त पुगे। अनि गाडी आफैं चलाएर गन्तव्यमा पुर्‍याए। त्यो दिनपछि केही दिन गाडी आफैं चलाए। आवेशमा छाडेर गएको चालक फर्किए, माफ मागे। आग्रह गरे - 'अब त्यस्तो हुँदैन। गाडी मलाई नै चलाउन दिनुस्।' गाडीधनीले अपशब्द केही भनेनन्। गाडी फेरि पुरानै चालकले चलाउन थाले। ती गाडीधनी सुनाउँछन् - 'मैले आवेशमा आउनुभन्दा कुन बेला के गर्दा मेरो काम बन्छ भन्ने मात्रै ध्यान दिएँ। अहिले सबै नर्मल छ।' यी गाडी साहुजीले संवेगात्मक बौद्धिकताको सूत्र उपयोग गरेका हुन्। 

मानिसहरु सबै सबैलाई रिस उठ्छ। कोही तुरुन्त व्यक्त गर्छन्, कोही केहीपछि। केहीपछि व्यक्त गर्नेहरुले रिस खा आफू गर्दैनन्, विवेक प्रयोग गर्छन्। संवेगात्मक बौद्धिकता आधुनिक मनोविज्ञानको एउटा बलियो खम्बा हो। यसलाई स्थापित गर्न तीन  मनोवैज्ञानिकहरूको योगदान अतुलनीय मानिन्छ। ती हुन् ड्यानियल गोलम्यान, पिटर सालोभी र जोन डी मेयेर।

अमेरिकी मनोवैज्ञानिक तथा पत्रकार ड्यानियल गोलम्यानले लेखेको पुस्तक 'Emotional Intelligence: Why It Can Matter More Than IQ' (१९९५) मा स्पष्ट पारेका छन् कि व्यक्तिगत र व्यावसायिक सफलतामा 'आईक्यू' को हिस्सा मात्र २० प्रतिशत हुन्छ, बाँकी ८० प्रतिशत हिस्सा 'इक्यू' र अन्य पक्षको हुन्छ। उनका अनुसार 'आफ्नो संवेगलाई चिन्नु र त्यसलाई नियन्त्रण गर्न सक्नु नै बुद्धिमानीको सर्वोच्च रूप हो।' यो पुस्तक र उनका सिद्धान्तहरू हार्वर्ड बिजनेस रिभ्युका जर्नलहरू तथा विभिन्न अनलाइन पुस्तकालयहरूमा विस्तृत रूपमा पढ्न पाइन्छ।

गोलम्यानभन्दा अघि, सन् १९९० मा येल विश्वविद्यालयका पिटर सालोभी र न्यू ह्याम्पशायर विश्वविद्यालयका जोन डी मेयेरले पहिलोपल्ट 'इमोसनल इन्टेलिजेन्स' शब्दको वैज्ञानिक परिभाषा दिएका थिए। उनीहरूको प्रसिद्ध अनुसन्धानमूलक लेख 'Emotional Intelligence' (जुन 'Imagination, Cognition and Personality' जर्नलमा प्रकाशित भएको थियो) मा भनिएको छ, 'आफ्नो र अरूको भावनाको अनुगमन गर्ने, तिनीहरूबीचको भिन्नता छुट्याउने र यस जानकारीलाई आफ्नो विचार र कार्यलाई मार्गनिर्देशन गर्न प्रयोग गर्ने क्षमता नै संवेगात्मक बौद्धिकता हो।' यो प्राज्ञिक लेख गुगल स्कलर वा मनोविज्ञानका आधिकारिक जर्नलहरूमा पढ्न सकिन्छ।

जन्मजात वा आर्जित गुण ?

धेरैलाई लाग्न सक्छ, कोही मानिस जन्मँदै शान्त, गम्भीर र फरासिला हुन्छन् भने कोही कडा स्वभावका। तर मनोविज्ञानले भन्छ - संवेगात्मक बौद्धिकता जन्मजात मात्र हुने गुण होइन, यो एक आर्जित क्षमता (Learned Skill) हो।

हाम्रो मस्तिष्कको एउटा विशेषता हुन्छ, जसलाई 'न्यूरोप्लास्टिसिटी' (Neuroplasticity) भनिन्छ। यसको अर्थ हो - अभ्यास र समयसँगै हाम्रो मस्तिष्कले नयाँ बानी र सोच्ने तरिकाहरू सिक्न र बदल्न सक्छ। बाल्यकालको वातावरणले यसमा केही प्रभाव पारे पनि, सचेत प्रयास र अभ्यासद्वारा वयस्क उमेरमा पनि इक्यूलाई बढाउन र तिखार्न सकिन्छ।

जन्मजात न बुद्धिमान न त मुर्ख 

मान्छे जन्मजात नै पूर्ण रूपमा बुद्धिमान वा मूर्ख हुँदैन। बरु ऊ एउटा निश्चित सम्भावना र क्षमता लिएर जन्मिन्छ, जसलाई वातावरण र अभ्यासले आकार दिन्छ। मनोविज्ञानको भाषामा बौद्धिक हुनु भनेको केवल सूचना कण्ठ गर्नु होइन, बल्कि नयाँ परिस्थितिमा अनुकूलन हुनु, अमूर्त सोच राख्नु र समस्याको समाधान पहिल्याउनु हो।

बौद्धिकताको यो मनोविज्ञानलाई बुझ्न दुई विपरीत र परिपूरक दृष्टिकोण राख्ने मनोवैज्ञानिकहरूको व्याख्या प्रसिद्ध छ। 

जन्मजातको सिद्धान्त : चार्ल्स डार्विनका भाइ पर्ने ब्रिटिस मनोवैज्ञानिक सर फ्रान्सिस गाल्टनले सन् १८६९ मा लन्डनबाट प्रकाशित आफ्नो पुस्तक 'Hereditary Genius' मा बौद्धिकता मुख्यतः वंशानुगत (जन्मजात) हुने दाबी गरे। उनले सफल र प्रतिष्ठित परिवारहरूको अध्ययन गर्दै श्रेष्ठ बुद्धि र क्षमता पुस्तान्तरण हुने तर्क अघि सारे। गाल्टनको यो सिद्धान्तले बौद्धिकता जैविक रूपमा पहिल्यै निर्धारित हुने वकालत गर्छ, जसलाई आज पनि 'नेचर भर्सेज नर्चर' (Nature vs Nurture) को बहसमा 'नेचर' (प्रकृति/वंशानुगत) पक्षको जग मानिन्छ।

आर्जितको मनोविज्ञान : स्ट्यानफोर्ड विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक क्यारोल ड्वेकले सन् २००६ मा अमेरिकाबाट प्रकाशित आफ्नो क्रान्तिकारी पुस्तक 'Mindset : The New Psychology of Success' मा बौद्धिकतालाई हेर्ने दृष्टिकोण नै बदलिदिइन्। ड्वेकले दुई प्रकारका मानसिकता (Mindset) को व्याख्या गरेकी छन्।

  • फिक्स्ड माइन्डसेट (Fixed Mindset) : जसले सोच्छन् बुद्धि जन्मजात र निश्चित हुन्छ (गाल्टनको जस्तै सोच)। यस्ता मानिसहरू असफल हुँदा आफूलाई 'मूर्ख' ठान्छन् र प्रयास गर्न छोड्छन्। यस्तो मानसिकताले गर्दा मानिसहरू नयाँ चुनौतीहरूबाट पन्छिन खोज्छन्, किनकि उनीहरूलाई असफल भएमा आफ्नो कमजोरी उदाङ्गिने डर हुन्छ। उनीहरू मिहिनेत र परिश्रमलाई बेकार ठान्छन् र अरूको सफलतालाई आफ्नो अयोग्यताको रूपमा लिँदै ईर्ष्या गर्न थाल्छन्। यसले व्यक्तिको रचनात्मकता, सिक्ने भोक र जीवनमा अघि बढ्ने सम्भावनालाई पूर्ण रूपमा कुण्ठित पारिदिन्छ।
  • ग्रोथ माइन्डसेट (Growth Mindset) : जसले विश्वास गर्छन् कि कडा मिहिनेत, सही रणनीति र अभ्यासद्वारा बुद्धिलाई निरन्तर बढाउन र तिखार्न सकिन्छ। यस्तो सोच भएका व्यक्तिहरू असफलतालाई यात्राको अन्त्य मान्दैनन्, बरु यसलाई सिक्ने र अझ राम्रो गर्ने एउटा सुनौलो अवसरका रूपमा लिन्छन्। उनीहरू नयाँ चुनौतीहरू सामना गर्न कहिल्यै डराउँदैनन् र अरूको प्रगतिबाट ईर्ष्या गर्नुको साटो प्रेरणा लिन्छन्। निरन्तरको मिहिनेतले नै प्रतिभा र बुद्धिलाई तिखार्छ भन्ने दृढ विश्वासले उनीहरूलाई कठिन परिस्थितिमा पनि अघि बढ्न ऊर्जा दिन्छ।

ड्वेकको अनुसन्धानले प्रमाणित गर्छ कि जन्मजात रूपमा केही मानिसको दिमागी सक्षमता बढी होला, तर 'ग्रोथ माइन्डसेट' राखेर निरन्तर सिक्ने मानिसले जन्मजात तीक्ष्ण भनिएकाहरूलाई पनि उछिन्न सक्छ। बौद्धिकता र मानसिकताको यो रोचक मनोविज्ञान बुझ्नका लागि फ्रान्सिस गाल्टनको ऐतिहासिक पुस्तक 'Hereditary Genius' (जुन अनलाइन Archive.org मा निःशुल्क उपलब्ध छ) र क्यारोल ड्वेकको आधुनिक क्लासिक पुस्तक 'Mindset' (जुन अमेजन, पुस्तक पसल वा गुगल बुक्समा उपलब्ध छ) पढ्न सकिन्छ।

चाहदैमा बन्न सकिन्छ बुद्धिमान ? 

तपाईं-हामीलाई कहिलेकाहीँ कार्यालयमा काम गर्दा वा सहकर्मीहरूसँग छलफलमा बस्दा 'म त अरू जत्तिको बुद्धिमान् छैन कि क्या हो ?' भन्ने हीनताबोध हुन्छ ? के हामीले चाहेकै भरमा आफ्नो बुद्धिको स्तरलाई बढाउन सक्छौँ त ?

यसको सीधा र वैज्ञानिक जवाफ हो - अवश्य सम्भव छ, तर यसको एउटा निश्चित सीमा र प्रक्रिया हुन्छ। कुनै जादुको छडी हुँदैन जसलाई हल्लाउनासाथ मानिस रातारात महाज्ञानी बनोस्। बुद्धिमान बन्ने प्रक्रिया शारीरिक तन्दुरुस्ती (Physical Fitness) जस्तै हो, जहाँ नियमित जिम र सही खानपानले मात्र शरीर बदलिन्छ।

बुद्धिको यो विकास हाम्रो मानसिक कसरत र सचेत प्रयासमा निर्भर गर्दछ। जसरी जिममा नियमित भार उठाउँदा मांसपेशीहरू बलिया हुन्छन्, त्यसरी नै मस्तिष्कलाई निरन्तर नयाँ चुनौती, गहिरो अध्ययन र तार्किक विश्लेषणमा अभ्यस्त गराउँदा दिमागका कोषिकाहरू सक्रिय बन्छन्। यसले सोच्ने, बुझ्ने र सही निर्णय लिने क्षमतालाई क्रमशः तिखार्दै लैजान्छ। त्यसैले, हीनताबोध त्यागेर सही रणनीति र धैर्यताका साथ नियमित रूपमा मानसिक अभ्यास गर्ने हो भने आफ्नो बौद्धिक स्तरलाई सोचेजस्तै सुधार्न र अघि बढाउन पूर्ण रूपमा सम्भव छ।

बुद्धिका दुई रूप : कुन बढ्छ ?

मनोवैज्ञानिकहरू रेमन्ड क्याटेल र जोहन हर्नका अनुसार बुद्धिका दुईवटा आयाम हुन्छन्। 

  • तरल बुद्धि (Fluid Intelligence): नयाँ परिस्थितिमा तुरुन्तै तार्किक उपाय निकाल्ने जन्मजात क्षमता। यो हाम्रो जैविक संरचनासँग जोडिएको हुन्छ र २५-३० वर्षको उमेरपछि प्राकृतिक रूपमै घट्न थाल्छ। 
  • ठोस बुद्धि (Crystallized Intelligence): जीवनभरिको शिक्षा, अनुभव र संस्कृतिबाट आर्जन गरेको ज्ञान र सीपको भण्डार। यो बुद्धि भने मानिसको उमेर बढेसँगै र नयाँ कुरा सिकेसँगै जीवनको अन्तिम कालसम्म पनि बढिरहन सक्छ।

त्यसैले, जो कसैले म बुद्धिमान बन्छु भन्छ भने उसले आफ्नो जैविक क्षमता (तरल बुद्धि) लाई बदल्न नसके पनि आफ्नो ज्ञान र निर्णय गर्ने कला (ठोस बुद्धि) लाई असीमित रूपमा बढाउन सक्छ।

मस्तिष्कको जादु : न्यूरोप्लास्टिसिटी

आधुनिक मस्तिष्क विज्ञान (Neuroscience) को सबैभन्दा ठूलो खोज नै न्यूरोप्लास्टिसिटी हो। यसको अर्थ हो - हाम्रो मस्तिष्कले नयाँ अनुभव र सिकाइका आधारमा आफ्ना कोषिकाहरू (Neurons) बीच नयाँ कनेक्सनहरू बनाउँछ र आफ्नो भौतिक संरचना नै बदल्न सक्छ। जब हामी कुनै नयाँ भाषा, सफ्टवेयर वा जटिल विषय सिक्छौं, मस्तिष्कको कार्यक्षमता स्वतः तीव्र बन्छ।

यसले यो प्रमाणित गर्छ कि हाम्रो दिमाग कुनै कठोर ढुंगा होइन, बरु माटोजस्तै लचिलो छ जसलाई इच्छाअनुसार ढाल्न सकिन्छ। हामीले जति नयाँ र अप्ठ्यारा चुनौतीहरू मस्तिष्कलाई दिन्छौँ, त्यति नै यसका नयाँ सञ्जालहरू बलिया हुँदै जान्छन्। तसर्थ, उमेर जतिसुकै भए पनि निरन्तर सिक्ने र अभ्यास गर्ने बानीले हाम्रो दिमागलाई सधैँ युवा, फुर्तिलो र तीक्ष्ण बनाइराख्न मद्दत गर्दछ।

बुद्धिमान कसरी बन्ने ? यस्ता छन् व्यावहारिक रणनीति

मनोवैज्ञानिक क्यारोल ड्वेकले आफ्नो पुस्तक 'Mindset' मा 'ग्रोथ माइन्डसेट' (Growth Mindset) को व्याख्या गरेकी छन्। बुद्धि जन्मजात र स्थिर हुन्छ भन्ने भ्रम त्यागेर 'म कडा मिहिनेत र अभ्यासद्वारा सिक्न सक्छु' भन्ने विश्वास राख्नु नै बुद्धिको पहिलो पाइला हो। वास्तविक रूपमा बुद्धिमान बन्न यी उपायहरू अपनाउन सकिन्छ।

  • गहिरो कार्य (Deep Work) : सामाजिक सञ्जालको सस्तो आकर्षणबाट टाढा रहेर दैनिक १-२ घण्टा कुनै जटिल पुस्तक पढ्ने वा कठिन समस्या हल गर्ने अभ्यास गर्नुस्। मस्तिष्कलाई जति चुनौती दियो, यसको क्षमता त्यति नै बढ्छ।
  • संगत र वातावरण : रुसी मनोवैज्ञानिक लेभ भायगोट्स्कीका अनुसार व्यक्तिको बौद्धिक विकासमा उसको सङ्गतको ठूलो हात हुन्छ। आफूभन्दा बढी जान्ने र तार्किक मानिसहरूसँग उठबस गर्दा हाम्रो सोच्ने दायरा स्वतः फराकिलो हुन्छ।
  • आफ्नो सोच्ने शैली बुझ्नुस् : कुनै पनि निर्णय लिनुअघि 'म कतै आफ्नो रिस वा पूर्वाग्रहको फेदमा त छैन?' भनी सोच्ने बानी (Metacognition) बसाल्नुस्।

हामी चाहेकै भरमा रातारात आइन्स्टाइन बन्न त सक्दैनौँ, किनकि हाम्रा केही जैविक सीमाहरू हुन्छन्। तर, आजैका दिनदेखि आफ्नो सोच्ने तरिका र सिक्ने बानी बदलेर हामी विगतको आफ्नो संस्करणभन्दा गुणात्मक रूपमा बढी बुद्धिमान र तार्किक बन्न पूर्ण रूपमा सम्भव छ। बुद्धिको ढोका सधैं ती मानिसहरूका लागि खुल्ला रहन्छ, जो सिक्नका लागि आफ्नो अहंकार त्याग्न तयार हुन्छन्।

कसरी बनाउने आफूलाई संवेगात्मक बौद्धिकतायुक्त ?

ड्यानियल गोलम्यानले संवेगात्मक बौद्धिकताका पाँचवटा मुख्य स्तम्भहरू बताएका छन्। तिनै स्तम्भहरूमा काम गरेर हामी आफूलाई बदल्न सक्छौँ।

  • आत्म-जागरूकता (Self-Awareness): आफ्नो भावना चिन्नुस्। मलाई अहिल्यै रिस किन उठ्यो? म किन उदास भएँ? यो कुराको हेक्का हुनुपर्छ। यसले आफ्ना सबल र कमजोर पक्ष चिन्न सघाउँछ, जसले गर्दा हतारमा निर्णय लिनुको साटो परिस्थितिलाई संयमित भएर बुझ्न र जीवनमा सही बाटो रोज्न मद्दत पुग्छ।

  • आत्म-नियमन (Self-Regulation): भावनाको आवेगमा निर्णय नलिनुस्। रिस उठ्दा तुरुन्तै प्रतिक्रिया (React) जनाउनुको साटो केही समय पर्खिएर जवाफ (Respond) दिने बानी बसाल्नुस्। यसले आवेगमा आएर पछि पछुताउनुपर्ने गल्तीहरूबाट जोगाउँछ। मानसिक सन्तुलन कायम राख्दै कठिन परिस्थितिमा पनि संयमित व्यवहार प्रदर्शन गर्न र कार्यक्षेत्रमा व्यावसायिक छवि जोगाउन यो सीप अपरिहार्य हुन्छ।

  • आन्तरिक अभिप्रेरणा (Motivation): पैसा वा पदका लागि मात्र होइन, कामप्रतिको लगाव र आन्तरिक सन्तुष्टिका लागि अघि बढ्नुस्। यसले संकट र चुनौतीको समयमा पनि ऊर्जा दिन्छ र असफलताबाट निराश हुन दिँदैन। आन्तरिक रूपमा अभिप्रेरित व्यक्ति आफ्नो लक्ष्यप्रति सधैँ दृढ रहन्छ। बाहिरी दबाब वा प्रलोभन बिना नै निरन्तर नयाँ सिर्जना गर्न, सिक्न र कार्यक्षेत्रमा विशिष्टता हासिल गर्न यसले मद्दत पुर्‍याउँछ।

  • सहानुभूति (Empathy): अरूको ठाउँमा उभिएर संसारलाई हेर्नुस्। तपाईंका सहकर्मी वा परिवारका सदस्यले किन त्यस्तो व्यवहार गरे होलान् भनी उनीहरूको दृष्टिकोण बुझ्ने प्रयास गर्नुस्। यसले आपसी असमझदारी हटाएर सम्बन्धमा प्रगाढता ल्याउँछ। अरूको पीडा र भावनालाई आत्मसात् गर्न सक्ने व्यक्तिले नै समाज र कार्यक्षेत्रमा विश्वासिलो वातावरण बनाउँछ। सहानुभूतिले नेतृत्व क्षमता बढाउनुका साथै टोलीमा एकता कायम राख्न र सामूहिक उद्देश्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

  • सामाजिक सीप (Social Skills): अरूसँग मधुर सम्बन्ध बनाउने, विवाद सुल्झाउने र टोलीमा मिलेर काम गर्ने कलाको विकास गर्नुस्। यसले कार्यक्षेत्रमा स्वस्थ सहकार्यको वातावरण निर्माण गर्छ र जटिल असमझदारीहरूलाई वार्ताद्वारा सहजै समाधान गर्न मद्दत पुर्‍याउँछ। बलियो सामाजिक सीप भएका व्यक्तिहरूले सजिलै अरूको मन जित्न, प्रभावकारी नेतृत्व प्रदान गर्न र व्यक्तिगत एवं व्यावसायिक जीवनमा दिगो र सहयोगी सम्बन्धहरूको सञ्जाल विस्तार गर्न सक्छन्।

यो गुण नभए जीवनमा के हुन्छ?

यदि कुनै व्यक्तिमा संवेगात्मक बौद्धिकताको कमी छ भने उसको जीवन उतारचढाव र तनावले भरिन्छ।

  • व्यावसायिक जीवनमा : कार्यक्षेत्रमा सानो कुरामा चित्त दुख्ने वा रिसाउने हुँदा सहकर्मीहरूसँग सम्बन्ध बिग्रिन्छ। नेतृत्व क्षमता कमजोर हुन्छ। जतिसुकै योग्य भए पनि कामको जस पाउन गाह्रो हुन्छ। यसले गर्दा कार्यालयमा नकारात्मक वातावरण सिर्जना हुन्छ र समूहमा काम गर्न कठिनाइ उत्पन्न हुन्छ। भावना व्यवस्थापन गर्न नसक्ने व्यक्तिमाथि व्यवस्थापनले महत्त्वपूर्ण जिम्मेवारी सुम्पन हिचकिचाउँछ, जसले गर्दा वृत्तिविकासका अवसरहरू गुम्छन् र व्यक्ति जतिसुकै दक्ष भए पनि ओझेलमा पर्छ।

  • व्यक्तिगत जीवनमा : सानो मतभेद पनि ठूलो झगडामा परिणत हुन्छ। वैवाहिक जीवन, मित्रता र पारिवारिक सम्बन्धहरू टुट्न सक्छन्। यसले परिवारमा निरन्तर तनाव र अविश्वासको वातावरण सिर्जना गर्छ, जहाँ साना कुरा पनि प्रतिष्ठाको लडाइ बन्छन्। भावनामा नियन्त्रण नहुँदा मानिस नजिकका व्यक्तिहरूसँग टाढिँदै जान्छ। अन्ततः, यसले व्यक्तिलाई सामाजिक रूपमा एक्लो बनाउँछ र जीवनको सुख-दुःख बाँड्ने भरपर्दो चौतारी वा आत्मीय सम्बन्धहरू सदाका लागि गुम्न पुग्छन्।

  • मानसिक स्वास्थ्यमा : भावनाहरूलाई व्यवस्थापन गर्न नसक्दा मानिस छिट्टै डिप्रेसन, एन्जाइटी र कडा तनावको सिकार बन्न पुग्छ। निरन्तरको मानसिक उथलपुथलले निद्रा र भोक बिगार्छ, जसले गर्दा शारीरिक स्वास्थ्य समेत कमजोर हुन थाल्छ। आफ्ना भावना व्यक्त गर्न र तिनलाई सम्हाल्न नसक्दा मनभित्रै नकारात्मक विचारको चाङ लाग्छ। यसले आत्मबल पूर्ण रूपमा गिराउँछ र व्यक्ति जीवनप्रति नै चरम निराशावादी बन्दै मानसिक रूपमा निकै कमजोर र असहाय महसुस गर्न पुग्छ।

सुधारका लागि तयारी यसरी गर्नुस्

यदि तपाईंलाई आफ्नो इक्यू कमजोर छ जस्तो लाग्छ भने आत्तिनु पर्दैन। आजैबाट निम्न लिखित व्यावहारिक कदमहरू चालेर तयारी सुरु गर्न सक्नुहुन्छ -

  • प्रतिक्रिया दिनुअघि 'पज' (Pause) बटन थिच्नुस् : जब कसैले तपाईंको आलोचना गर्छ वा चित्त नबुझ्ने कुरा भन्छ, मनमनै १ देखि १० सम्म गन्नुस् वा लामो सास तान्नुस्। तत्कालै नबोल्नुस्।
  • 'एक्टिभ लिसनिङ' (सक्रिय श्रवण) को अभ्यास गर्नुस् : मानिसहरू अक्सर जवाफ फर्काउनका लागि सुन्छन्, बुझ्नका लागि होइन। अबदेखि कसैले बोल्दा उसको कुरा ध्यान दिएर सुन्नुस्, बीचमै नकाट्नुस्।
  • भावनाहरूको डायरी (Emotional Journaling) लेख्नुस् : दिनभरि तपाईंलाई कतिबेला रिस उठ्यो, कतिबेला खुसी लाग्यो र तपाईंले कसरी व्यवहार गर्नुभयो, त्यसलाई राति डायरीमा टिप्नुस्। यसले तपाईंको आत्म-समीक्षा गर्न मद्दत गर्छ।
  • आलोचनालाई व्यक्तिगत रूपमा नलिनुस् : कार्यक्षेत्रमा कसैले तपाईंको कामको कमजोरी औंल्याउँछ भने त्यसलाई तपाईंको व्यक्तित्वमाथिको प्रहार नसम्झी काम सुधार्ने अवसरको रूपमा लिनुस्।
  • विज्ञको सहयोग लिनुस् : यदि आफ्ना संवेगहरू आफैंले नियन्त्रण गर्नै नसकिने गरी हावी भइरहेका छन् भने काउन्सेलर वा मनोवैज्ञानिकको परामर्श लिन हिचकिचाउनु हुँदैन।

संवेगात्मक बौद्धिकता र आत्म-सुधारको यो यात्रालाई अझ कसिलो बनाउन विश्वप्रसिद्ध पुस्तकका यी दुई व्यावहारिक अंश र व्याख्याहरूलाई मनन गर्नु आवश्यक छ, जसले हामीलाई दैनिक जीवनमा भावना व्यवस्थापन गर्न थप ऊर्जा दिन्छन्।

नाजी यातना शिविरको कारुणिक भोगाइबाट गुज्रिएका अस्ट्रियन न्यूरोलोजिस्ट र मनोवैज्ञानिक भिक्टर फ्रैंकलले आफ्नो विश्वप्रसिद्ध पुस्तक 'Man's Search for Meaning' मा संवेगात्मक नियन्त्रणको एउटा कालजयी सूत्र दिएका छन्। उनले भनेका छन् - 'उत्तेजना (Stimulus)प्रतिक्रिया (Response) को बीचमा एउटा खाली ठाउँ हुन्छ। त्यो खाली ठाउँमा हाम्रो प्रतिक्रिया रोज्ने स्वतन्त्रता र शक्ति लुकेको हुन्छ। अनि हाम्रो प्रतिक्रियामै हाम्रो विकास र स्वतन्त्रता निर्भर गर्दछ।'

यो भनाइको सिधा अर्थ हुन्छ कि कार्यालयमा सहकर्मीले ढिलो काम बुझाउनु वा कसैले नराम्रो व्यवहार गर्नु 'उत्तेजना' हो। तर, त्यसमा तुरुन्तै चिच्याउनु वा संयमित भएर कुरा सम्हाल्नु हाम्रो आफ्नै रोजाइ हो। फ्रैंकलका अनुसार, हामीले त्यो बीचको खाली ठाउँ (पज) लाई जति बढाउन सक्छौँ, हाम्रो इक्यू र मानसिक परिपक्वता त्यति नै सुदृढ हुँदै जान्छ।

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक ड्यानियल केनम्यानले आफ्नो पुस्तक 'Thinking, Fast and Slow' मा मानव मस्तिष्कले कसरी काम गर्छ भन्ने प्रष्ट पारेका छन्। उनका अनुसार हाम्रो दिमागमा दुईवटा प्रणाली हुन्छन्।

  • सिस्टम १ (System 1) : यसले द्रुत, स्वचालित र भावनात्मक रूपमा निर्णय लिन्छ। रिस उठ्दा तुरुन्तै गाली गलौजमा उत्रिनु यही प्रणालीको काम हो।
  • सिस्टम २ (System 2) : यसले ढिलो, सचेत र तार्किक रूपमा सोचेर निर्णय लिन्छ।

केनम्यान तर्क गर्छन् कि संवेगात्मक रूपमा बौद्धिक बन्नु भनेको आफ्नो 'सिस्टम १' को संवेगात्मक आवेगलाई 'सिस्टम २' को तार्किक फिल्टरबाट गुज्रने समय दिनु हो। जब हामी हतारमा निर्णय लिनुको साटो सोचेर कदम चाल्छौँ, तब मात्र हामी व्यावसायिक र व्यक्तिगत जीवनमा सही निर्णय लिन सक्छौँ।

त्यसैले, सुधारको तयारी गर्दा सधैं यी दुई सिद्धान्तलाई सम्झनुस्: उत्तेजना र प्रतिक्रियाको बीचको दूरी बढाउनुस् र दिमागको 'सिस्टम २' लाई सक्रिय बनाएर मात्रै व्यवहार गर्नुस्।

अन्ततः हाम्रो जीवन एउटा डुंगा हो भने आईक्यू (बुद्धि) त्यसको इन्जिन हो जसले डुंगालाई अगाडि बढाउँछ, तर इक्यू (संवेगात्मक बौद्धिकता) त्यसको यस्तो स्टेयरिङ हो जसले आँधीबेहरीको बीचमा पनि डुंगालाई सही दिशा दिन्छ र डुब्नबाट जोगाउँछ। सफलताको शिखरमा पुग्न दिमाग मात्र होइन, मनको व्यवस्थापन पनि उत्तिकै जरुरी छ। त्यसैले आजैबाट आफ्ना भावनाहरूलाई दबाउने होइन, बुझ्ने र सही रूपमा व्यक्त गर्ने अभ्यास सुरु गरौँ।

Monday, July 13, 2026

आफैंलाई बचाउने 'नाइँ' र समाज जोड्ने 'हुन्छ'

काठमाडौंको एउटा व्यस्त कर्पोरेट कार्यालयमा काम गर्ने रमेश (नाम परिवर्तन) सबैका प्रिय छन्। कसैले मध्यरातमा काम थमाइदेओस् वा कसैको व्यक्तिगत काम गरिदिनु परोस्, उनको ओठमा सधैं एउटै जवाफ हुन्थ्यो - 'हुन्छ, म गरिदिउँला।' 

सधै पोजेटिभ, सहयोगी, नभ्याउनेका काम गर्दिन झर्को नमान्ने। अफिसका साथीहरू उनलाई 'हेल्पफुल' भन्थे। तर यो बानी उनी आफ्नैका लागि भने सहज थिएन। भित्रभित्रै रित्तिँदै थिए रमेश। अरूलाई खुसी पार्ने धुनमा उनको आफ्नै काम अड्किन्थ्यो, परिवारलाई समय दिन सक्दैनथे र राति छटपटीले निद्रा लाग्दैनथ्यो। एक दिन अफिसमै उनी बेहोस भए। चिकित्सकले भने - 'शारीरिक रोग केही छैन, यो अत्यधिक मानसिक तनाव र बर्नआउटको नतिजा हो।'

यो घटना हाम्रै वरिपरिको हो। आजको कर्पोरेट संसार, पारिवारिक संरचना र सामाजिक परिवेशमा बाँचिरहेका हामी धेरैको साझा यथार्थ हो। मनोविज्ञानको भाषामा यसलाई 'पिपल प्लिजिङ' (People Pleasing) अर्थात् अरूलाई खुसी पार्ने अत्यधिक चाहना भनिन्छ। जब हामी अरूको नजरमा राम्रो बन्न आफ्ना आवश्यकता, समय र मानसिक शान्तिको बलिदान दिन थाल्छौं, तब हामी बिस्तारै मानसिक स्वास्थ्यको गम्भीर संकटतर्फ धकेलिइरहेका हुन्छौं।

अरूलाई सहयोग गर्नु मानवीय गुण हो। तर, आफ्नै जग भत्काएर अरूको घर सिँगार्नु आत्मघाती कदम हो। यही बिन्दुमा सकारात्मक मनोविज्ञानले हामीलाई दुई महत्त्वपूर्ण हतियार सिकाउँछ - 'नो' (No) भन्न सक्ने कला र स्वस्थ सीमा (Healthy Boundaries) को निर्माण।

'नो' को छ खास महत्त्व

आफ्नो काम बित्छ, नोक्सान वा समस्या पर्छ भने तपाइँले अर्कालाई 'हुँदैन,' 'सक्दिन,' 'अहिले भ्याउँदिन' भन्न केको आइतबार ! मज्जाले 'नो' भने हुन्छ। अनुकूलताअनुसार मात्रै 'यस' भन्नुपर्छ। अरूलाई खुसी पार्ने प्रवृत्ति र सीमा निर्धारणको विषयमा मनोवैज्ञानिक तथा लेखकहरूले गहन अध्ययन गरेका छन्। यस सन्दर्भमा दुईवटा महत्त्वपूर्ण व्याख्या र पुस्तकहरूमा पाइन्छ।

प्रख्यात क्लिनिकल साइकोलोजिस्ट डा. ह्यारियट ब्रेकरले आफ्नो पुस्तक 'The People-Pleasing Disease : How to Break the 21st-Century Chain of Someone Else's Approval' मा अरूलाई खुसी पार्ने प्रवृत्तिलाई एउटा 'सरुवा रोग' को रूपमा व्याख्या गरेकी छन्। सन् २००१ मा न्यूयोर्कबाट प्रकाशित उक्त पुस्तकमा उनले लेखेकी छन्, 'पिपल-प्लिजिङ वास्तवमा अरूको स्वीकृति (Approval) पाउने एउटा मानसिक लत हो। जब मानिसले आफ्नो आत्म-मूल्य (Self-worth) अरूको प्रतिक्रियामा खोज्न थाल्छ, उसले आफ्नो नियन्त्रण गुमाउँछ।' 

उनले पुस्तकमा यो बानीलाई सचेत अभ्यासद्वारा कसरी तोड्ने भन्ने व्यावहारिक विधिहरू पनि प्रस्तुत गरेकी छन्।ब्रेकरले यस प्रवृत्तिलाई परास्त गर्न आफ्ना भावना, विचार र व्यवहारमा परिवर्तन ल्याउने विशेष '२१ दिने कार्ययोजना' (21-day action plan) अघि सारेकी छन्। उनका अनुसार, अरूलाई 'नाइँ' भन्दा सिर्जना हुने तात्कालिक डर र संवेगात्मक दबाबलाई व्यवस्थापन गर्न सिक्नु नै यो मानसिक लतबाट मुक्त हुने पहिलो पाइला हो। जब हामी अरूको ओठको मुस्कानमा होइन, आफ्नै आत्म-स्वीकृतिमा बाँच्न थाल्छौं, तब मात्र हामीले आफ्नो जीवनको वास्तविक नियन्त्रण पुन: प्राप्त गर्न सक्छौं र बर्नआउटबाट जोगिन सक्छौँ।

मनोविज्ञान र परामर्शका क्षेत्रमा सीमा निर्धारणका लागि बाइबलजस्तै मानिने पुस्तक डा. हेन्री क्लाउड र डा. जोन टाउनसेन्ड (Dr. Henry Cloud & Dr. John Townsend) को  'Boundaries: When to Say Yes, How to Say No to Take Control of Your Life' हो। सन् १९९२ मा अमेरिकामा प्रकाशित यस पुस्तकमा लेखकद्वयले 'सीमा' लाई एउटा मानसिक र संवेगात्मक घरको कम्पाउन्डसँग तुलना गरेका छन्। उनीहरू भन्छन्, 'जसरी घरको कम्पाउन्डले कुन जग्गा तपाईंको हो र कुन छिमेकीको हो भन्ने छुट्याउँछ, त्यसैगरी मानसिक सीमाले तपाईंको जिम्मेवारी के हो र के होइन भन्ने प्रष्ट पार्छ।' सीमा प्रष्ट नहुँदा मानिसहरू अरूको भावना र समस्याको बोझ बोक्न बाध्य हुन्छन्, जसले अन्ततः सम्बन्धहरूमा तिक्तता ल्याउँछ।

लेखकद्वयले पुस्तकमा स्पष्ट पारेका छन् - स्वस्थ सीमाले हामीलाई अरूको अनुचित दबाब र भावनात्मक ब्ल्याकमेलिङबाट जोगाउँछ। यसले हाम्रो व्यक्तिगत स्वतन्त्रताको रक्षा मात्र गर्दैन, बल्कि सम्बन्धहरूलाई थप परिपक्व, पारदर्शी र आदरपूर्ण बनाउन मद्दत गर्दछ। जब हामी आफ्ना भावना, समय र मूल्य मान्यताको रक्षाका लागि 'कम्पाउन्ड' खडा गर्छौं, तब मात्र हामी अरूको जीवन सुधार्ने नाममा आफ्नो मानसिक शान्ति गुमाउने गम्भीर गल्तीबाट बच्न सक्छौं। अन्ततः यसले जीवनमा सन्तुलन र गहिरो आत्म-नियन्त्रणको भावना विकास गराउँछ।

भन्दैमा गर्नु पर्दैन अपराधबोध

धेरैजसो 'पिपल प्लिजर' हरू कसैलाई नाइँ भन्ने बित्तिकै एउटा गहिरो आन्तरिक छटपटी र अपराधबोधबाट गुज्रिन्छन्। उनीहरूलाई लाग्छ - 'मैले ऊमाथि अन्याय गरेँ' वा 'म स्वार्थी भएँ।' तर पोजेटिभ साइकोलोजीले भन्छ - यो अपराधबोध वास्तविक गल्तीका कारण होइन, बल्कि बाल्यकालदेखि मस्तिष्कमा पारिएको गलत सामाजिक कन्डिसनिङको नतिजा मात्र हो।

यस विषयमा अमेरिकी क्लिनिकल साइकोलोजिस्ट र प्रख्यात लेखिका डा. इलेन एन. एरन (Dr. Elaine N. Aron) को तर्क निकै धारिलो र मननयोग्य छ। उनले सन् १९९६ मा न्यूयोर्कबाट प्रकाशित आफ्नो विश्वप्रसिद्ध तथा बेस्ट-सेलर पुस्तक 'द हाइली सेन्सिटिभ पर्सन' (The Highly Sensitive Person) मा 'नो' भन्दा हुने अपराधबोधको मनोवैज्ञानिक चिरफार गरेकी छन्।

पुस्तकको 'सम्बन्ध र मानसिक स्वास्थ्य' सम्बन्धी अध्यायमा उनले लेखेकी छन् - जब तपाईं अरूलाई चित्त नदुखोस् भनेर आफ्ना भावना र सीमाहरूलाई दबाएर 'हुन्छ' भन्नुहुन्छ, तब तपाईंले अरूको होइन, आफ्नै आत्मसम्मानको अपमान गरिरहनुभएको हुन्छ। नाइँ भन्दा हुने तात्कालिक अपराधबोध वास्तवमा एक प्रकारको 'काल्पनिक संवेग' (Imaginary Emotion) हो। तपाईंले कसैको प्रस्ताव अस्वीकार गर्नु भनेको उसको अस्तित्वलाई नकारेर चोट पुर्‍याउनु होइन, केवल आफ्नो सीमित समय र ऊर्जाको व्यवस्थापन गर्नु हो।

उनका अनुसार, आफ्नो क्षमताभन्दा बाहिर गएर अरूलाई खुसी पार्न खोज्नु र नाइँ भन्दा अपराधी महसुस गर्नु आत्म-अत्याचार हो। 'द हाइली सेन्सिटिभ पर्सन' पुस्तक आज पनि संसारभरका काउन्सेलिङ साइकोलोजिस्टहरूले आफ्ना क्लाइन्टहरूलाई स्वस्थ सीमा निर्माण गर्न र बिना अपराधबोध 'नो' भन्न सिकाउनका लागि एउटा मुख्य सन्दर्भ सामग्रीका रूपमा सिफारिस गर्ने गर्छन्। डा. एरनका अनुसार जब हामी यो काल्पनिक अपराधबोधबाट मुक्त हुन्छौं, तब मात्र हाम्रा सम्बन्धहरू वास्तविक र दिगो बन्न सक्छन्।

'नो' भन्ने कलाले कसरी गर्छ काम ?

'नो' भन्नुको अर्थ जंगली वा असामाजिक हुनु होइन। यो आफ्नो समय, ऊर्जा र मानसिक क्षमताको सही व्यवस्थापन गर्ने कला हो। सम्बन्ध बिग्रेला वा कोही रिसाउला भने नसक्ने काम जिम्मा लिन हुँदैन। आफूले नभ्याउने र क्षमता बाहिरको दायित्व पनि लिन हुँदैन। नसक्ने, नहुने वा गर्न नचाहेका कामको आदेश, अनुरोध वा प्रस्तावलाई प्रष्टसँग 'नो' भन्न सक्नुपर्छ। मनोवैज्ञानिक रूपमा जब हामी कसैलाई 'नो' भन्छौं, हामी वास्तवमा आफ्नो कुनै महत्त्वपूर्ण काम वा प्राथमिकतालाई 'यस' (हुन्छ) भनिरहेका हुन्छौं। 

उदाहरणका लागि, साथीको अनावश्यक पार्टीको निमन्त्रणालाई 'नो' भन्नुको अर्थ तपाईंले आफ्नो विश्राम वा सिर्जनशील कामलाई 'यस' भन्नुभएको हो। यसले हाम्रो मस्तिष्कमा 'कोर्टिसोल' नामक तनाव पैदा गर्ने हर्मोनको स्तर कम गर्छ र आत्म-नियन्त्रणको भावना (Sense of Control) बढाउँछ।

व्यवहारवादी मनोविज्ञान (Behavioral Psychology) अनुसार बिनाहिचकिचाहट 'नो' भन्न सक्नु दृढता (Assertiveness) को बलियो सूचक हो। यो कलाले व्यक्तिको मस्तिष्कलाई बाह्य दबाब र आन्तरिक इच्छाबीच सन्तुलन मिलाउन मद्दत गर्छ। जब हामी स्पष्ट रूपमा 'नो' भन्न सक्छौं, हाम्रो चेतन मनले आफ्नो जीवनको बागडोर आफैंसँग भएको महसुस गर्छ। परिणामस्वरुप, मस्तिष्कमा 'डोपामिन' जस्ता सकारात्मक न्युरोट्रान्समिटरको सन्तुलन कायम भई कार्यक्षमता र निर्णय क्षमतामा वृद्धि हुन्छ। यो कलाले हामीलाई अरूको प्रभावमा परेर क्षणिक निर्णय लिनुको साटो आफ्नो दीर्घकालीन लक्ष्य, संवेगात्मक ऊर्जा र मूल्य मान्यता अनुकूल बाँच्न सक्षम बनाउँछ।

सबल र दुर्बल पक्ष

हरेक मनोवैज्ञानिक व्यवहारका दुई पाटा हुन्छन्। 'नो' भन्ने कलाका पनि सबल र केही चुनौतीपूर्ण पक्षहरू छन्।

सबल पक्ष

  • समयको बचत र उत्पादकत्व वृद्धि : आफ्नो काममा बढी केन्द्रित हुन सकिन्छ। जब हामी अनावश्यक मागहरूलाई अस्वीकार गर्छौँ, तब हाम्रो बहुमूल्य समय बचत हुन्छ। यसले गर्दा हामी अलमलमा नपरी आफ्ना मुख्य कामहरूमा पूर्ण ध्यान दिन पाउँछौँ, जसले कार्यक्षमता र उत्पादकत्व दुवैलाई उल्लेख्य रूपमा बढाउँछ।
  • मानसिक शान्ति : अनावश्यक तनाव र बर्नआउटबाट जोगिन सकिन्छ। जब हामी सीमा कोर्छौँ, तब क्षमताभन्दा बढी कामको बोझ र मानसिक छटपटी हट्छ। यसले हाम्रो दिमागलाई आराम दिन्छ, जसका कारण हामी अत्यधिक कार्यदबाव र बर्नआउटको गम्भीर संकटबाट सहजै जोगिन सक्छौँ।
  • सम्बन्धहरूमा स्पष्टता : मानिसहरूले तपाईंको समयको कदर गर्न थाल्छन्। स्पष्ट सीमाले तपाईंको उपलब्धताको दायरा प्रष्ट पार्छ। जब मानिसहरूले तपाईंको 'नो' सुन्ने बानी बस्छ, तब उनीहरूले तपाईंको 'यस' लाई बढी मूल्यवान ठान्छन् र तपाईंको समयको वास्तविक आदर गर्न थाल्छन्।
  • आत्मसम्मानमा वृद्धि : आफ्ना निर्णयहरू आफैं लिन सक्ने आत्मविश्वास बढ्छ। जब हामी बाह्य दबाबमा नपरी दृढताका साथ निर्णय गर्छौँ, तब आफ्नो जीवनमा आफ्नै नियन्त्रण भएको महसुस हुन्छ। यसले हाम्रो हीनताबोधलाई कम गर्छ, आन्तरिक शक्ति जगाउँछ र आत्मसम्मानको जगलाई थप बलियो बनाउँछ।

दुर्बल वा चुनौतीपूर्ण पक्ष

  • सुरुवाती अपराधबोध (Guilt) : सुरु-सुरुमा 'नो' भन्दा अरूलाई दुःख लाग्यो कि भनेर मनमा हीनताबोध वा अपराधबोध हुन सक्छ। यो भावना विशेष गरी बाल्यकालको सामाजिक कन्डिसनिङका कारण पैदा हुन्छ। तर अभ्यास गर्दै जाँदा यो काल्पनिक डर हराउँछ र हामीले बुझ्छौँ कि आफ्नो सीमा तोक्नु स्वार्थ होइन, बरु आत्म-रक्षा हो।
  • सामाजिक सम्बन्धमा सामयिक दूरी : स्वार्थी वा फाइदा मात्र लिन खोज्ने साथीहरू बिस्तारै टाढिन सक्छन् (यद्यपि यो दीर्घकालका लागि राम्रो हो)। यस्ता फाइदावादी मानिसहरू टाढिँदा सुरुमा एक्लोपन महसुस भए पनि यसले तपाईंको सामाजिक जीवनलाई शुद्ध बनाउँछ। नतिजास्वरूप, तपाईंको वरिपरि केवल तपाईंको भावना र सीमाको सम्मान गर्ने साँचो मित्रहरू मात्र बाँकी रहन्छन्।
  • गलत बुझाइको जोखिम : सही तरिकाले भन्न नसक्दा मानिसहरूले घमण्डी वा असहयोगी ठानेर गलत बुझ्न सक्छन्। यदि हाम्रो 'नो' मा रुखोपन वा अस्पष्टता भयो भने सम्बन्धमा अनावश्यक तितोपन आउन सक्छ। त्यसैले, आफ्नो सीमा तोक्दा विनम्र तरिका र उचित शब्दको छनोटमा ध्यान दिनु आवश्यक हुन्छ ताकि अरूले हाम्रो बाध्यता बुझून्।

जन्मजात वा आर्जित गुण ?

यसमा धेरैलाई अलमलमा परेको देखिन्छ। मानिसमा पिपल-प्लिजिङ वा 'नो' भन्न नसक्ने कमजोरी कसरी आउँछ ? यो जन्मजात (Innate) हो कि आर्जित ?

मनोवैज्ञानिक अनुसन्धानहरू भन्छन् - यो पूर्ण रूपमा आर्जित (Acquired) बानी हो। कोही पनि बच्चा जन्मिँदै 'पिपल प्लिजर' भएर जन्मिँदैन। साना बच्चाहरूलाई हेर्नुस्, उनीहरूलाई मन नलागेको कुरामा सिधै 'नाइँ' भनिदिन्छन्। यो गुण मानिसले आफ्नो हुर्काइ, सामाजिकीकरण र वातावरणबाट सिक्छ।

कसरी हुन्छ विकास हुन्छ ? 

  • बाल्यकालको कन्डिसनिङ (Childhood Conditioning) : धेरैजसो परिवारमा 'अहंकार नगर्ने,' 'ठूलाले भनेको खुरुखुरु मान्ने,' वा 'ज्ञानी बच्चाले कसैलाई चित्त दुखाउँदैन' भनी सिकाइन्छ। आज्ञाकारी बन्दा पुरस्कार र आफ्ना कुरा राख्दा सजाय पाउने वातावरणले गर्दा बच्चाले अरूलाई खुसी पारे मात्र आफू सुरक्षित भइने मानसिकता विकास गर्छ। यस्तो कन्डिसनिङले गर्दा हुर्कँदै जाँदा व्यक्तिमा आफ्नो इच्छा व्यक्त गर्न डर लाग्ने र अरूको असहमति झेल्न नसक्ने कमजोरी बस्छ। बाल्यकालमा रोपिएको यही 'ज्ञानी' बन्ने चाहना वयस्क अवस्थामा पुग्दा 'नाइँ' भन्नै नसक्ने जटिल मानसिक पासो बनिदिन्छ। नतिजास्वरूप, व्यक्तिले आफ्ना भावना र आवश्यकतालाई दोस्रो प्राथमिकतामा राख्दै अरूको स्वीकृतिका लागि आफ्नो मानसिक शान्ति निरन्तर दाउमा लगाइरहन्छ।
  • अस्वीकृतिको डर (Fear of Rejection) : समूहबाट अपहेलित भइने वा एक्लो परिने डरले मानिसहरू नाइँ भन्न सक्दैनन्। सामाजिक प्राणी भएकाले समूहबाट अलग हुनुपर्दा मस्तिष्कले त्यसलाई वास्तविक शारीरिक चोटजस्तै गम्भीर खतराका रूपमा बुझ्छ। मानिसहरूमा अरूले आफूलाई मन नपराउलान् वा सम्बन्ध टुट्ला भन्ने तीव्र भय हुन्छ। यही कारणले गर्दा, मनभित्र असहमति हुँदाहुँदै पनि तिनीहरू बाहिर 'हुन्छ' भन्न विवश हुन्छन्, जसले गर्दा आफ्नै भावनाको घाँटी निमोठिन्छ र अन्ततः व्यक्तित्वमा परनिर्भरता बढ्दै जान्छ।
  • कम आत्म-मूल्य (Low Self-esteem) : आफ्नो मूल्यांकन अरूको प्रशंसामा मात्र आधारित हुने भएपछि मानिसहरू अरूको इच्छा पूरा गर्न लागिपर्छन्। जब मानिसमा आफ्नो आन्तरिक योग्यताप्रति विश्वास हुँदैन, ऊ आफ्नो अस्तित्व र महत्त्व प्रमाणित गर्न निरन्तर बाह्य स्वीकृतिको खोजीमा रहन्छ। यस्ता व्यक्तिहरूलाई लाग्छ कि अरूको काम नगरिदिएमा वा कसैको इच्छा पूरा नगरेमा आफू काम नलाग्ने ठहरिनेछु। यही हिनताबोधका कारण उनीहरू आफ्नो समय, क्षमता र संवेगात्मक ऊर्जा अरूका लागि बिनाशर्त अर्पण गर्छन्। आफ्नो आत्म-मूल्य अरूको ओठको मुस्कान वा प्रशंसाको शब्दमा मात्र बन्धक राख्ने यो बानीले मानिसलाई सधैं अरूको इसारामा चल्ने कठपुतली बनाइदिन्छ र आफैंप्रति कहिल्यै गौरव गर्न दिँदैन।

सकिँदैन सबैलाई खुसी पार्न 

कसैको केही बिगार्नु पर्दैन, लेनदेन वा सम्बन्ध पनि हुनुपर्दैन, मान्छेले धेरैलाई बित्थै पनि 'अप्रिय' मानिरहेका हुन्छन्। यस्तो संसारमा सबैलाई खुसी पारेर बाँच्न खोज्नु मृगतृष्णा मात्र हो। आफ्नो महत्त्वपूर्ण काम थाती राखेर, आफ्ना आवश्यकताहरूलाई कुल्चिएर अरूको काम गरिदिँदैमा मानिसहरूलाई आफ्नो बनाउन सकिँदैन। अझ कतिपय अवस्थामा त अरूलाई खुसी पार्ने वा उनीहरूको नजरमा 'राम्रो' बन्ने धुनमा आफूलाई नआउने वा क्षमताभन्दा बाहिरको कामको जिम्मा लिनु सरासर मूर्खता हो। यसले न काम राम्रो हुन्छ, न त सम्बन्ध नै जोगिन्छ, बरु उल्टै आफ्नो साख र मानसिक शान्ति दुवै नष्ट हुन्छ।

यही कटु सत्यलाई अस्ट्रियाका विश्वप्रसिद्ध मनोविज्ञानी अल्फ्रेड एड्लर (Alfred Adler) को मनोविज्ञानमा आधारित बेस्ट-सेलर पुस्तक 'द करेज टु बी डिसलाइकड' (The Courage to Be Disliked, 2013) मा निकै मार्मिक ढंगले प्रष्ट्याइएको छ। जापानी लेखकद्वय इचिरो किसिमी र फुमिताके कोगाद्वारा लिखित यस पुस्तकमा एड्लरको दर्शन उद्धृत गर्दै भनिएको छ - 'यदि तपाईं कसैद्वारा पनि घृणित वा मन नपर्ने हुन चाहनुहुन्न भने, तपाईं आफ्नो जीवन होइन, अरूको इच्छा र अपेक्षाको दासत्व बाँचिरहनुभएको छ।'

पुस्तकका अनुसार, हामीले यो कुरा स्वीकार्नै पर्छ कि हामीलाई मन पराउने वा नपराउने भन्ने कुरा पूर्ण रूपमा 'अर्को व्यक्तिको जिम्मेवारी' हो, जसमा हाम्रो कुनै नियन्त्रण हुँदैन। सबैलाई खुसी पार्न खोज्ने मानिस वास्तवमा एक प्रकारको मानसिक डरमा बाँचिरहेको हुन्छ। जब हामी आफ्नो काम बिगारेर अरूको इच्छा पूरा गर्न दौडिन्छौं, हामीले अरूको नजरमा त स्थान पाउँदैनौँ नै, बिस्तारै आफ्नै नजरमा पनि गिर्न थाल्छौं। त्यसैले, संसारमा सबैलाई खुसी पार्न असम्भव छ भन्ने यथार्थलाई आत्मसात गर्दै, अरूद्वारा 'अप्रिय बन्ने साहस' (Courage to be disliked) बटुल्नु नै मानसिक स्वतन्त्रता र आत्म-सम्मानका साथ बाँच्ने एक मात्र उपाय हो।

'नो' भन्ने बानी र स्वस्थ सीमाको विकास कसरी गर्ने ?

यो आर्जित बानी भएकाले यसलाई सचेत प्रयास र अभ्यासद्वारा परिवर्तन गर्न वा नयाँ गुण विकास गर्न सकिन्छ। त्यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ :

  • समय माग्ने (Buy Time) : कसैले कुनै प्रस्ताव राख्ने बित्तिकै तुरुन्तै 'हुन्छ' नभन्नुहोस्। 'म मेरो सेड्युल हेरेर भरे खबर गर्छु' भन्नुस्। यसले तपाईंलाई सोच्ने समय दिन्छ। यसरी तत्काल प्रतिक्रिया नदिँदा 'पिपल-प्लिजिङ' को स्वचालित बानी (Automatic Response) रोकिन्छ। यसले तपाईंलाई आफ्नो कार्यव्यस्तता जाँच्ने र उक्त काम वास्तवमै आफ्नो प्राथमिकतामा पर्छ कि पर्दैन भनी शान्त दिमागले मूल्यांकन गर्ने अवसर दिन्छ। यो सानो अन्तरालले भावनामा बहेर वा दबाबमा आएर 'हुन्छ' भन्ने जोखिमलाई कम गर्छ र पछि पछुताउनुपर्ने अवस्थाबाट जोगाउँछ।
  • स्पष्ट र नम्र भाषाको प्रयोग : बहाना बनाउनुको साटो सिधा र स्पष्ट शब्दमा भन्नुहोस्। जस्तै, 'मलाई सम्झनुभएकोमा धन्यवाद, तर यो हप्ता म अलि व्यस्त भएकाले यो काम गर्न सक्दिनँ।' यसो गर्दा कुराकानीमा कुनै अस्पष्टता वा भ्रम रहँदैन र अर्को व्यक्तिले पनि तपाईंको समय र व्यस्तताको कदर गर्न सिक्छ। घुमाउरो कुरा गर्दा वा बहाना बनाउँदा मानिसहरूले तपाईंलाई अझै फकाउन सकिन्छ भन्ने ठानेर दबाब दिइरहन सक्छन्। त्यसैले, विना कुनै अपराधबोध, दृढ तर शालीन शब्दमा आफ्नो असमर्थता प्रकट गर्नु नै आफ्नो मानसिक स्वास्थ्य र सम्बन्ध दुवैका लागि हितकर हुन्छ।
  • सकारात्मक मनोविज्ञानको 'स्यान्डविच विधि' (Sandwich Method) : सुरुमा सकारात्मक कुरा, बीचमा 'नो' र अन्त्यमा पुनः सकारात्मक कुरा राख्ने। जस्तै: 'तिम्रो प्रोजेक्ट निकै राम्रो छ (सकारात्मक), तर अहिले म आफ्नै काममा व्यस्त भएकाले समय दिन सक्दिनँ (नो), आशा छ तिमीले यसलाई राम्रोसँग सम्पन्न गर्नेछौ (सकारात्मक)।' यो विधिले 'नो' शब्दको कठोरतालाई कम गर्छ र सुन्ने व्यक्तिलाई अपमानित वा उपेक्षित महसुस हुन दिँदैन। यसले अर्को व्यक्तिको प्रस्ताव वा भावनाको सम्मान गर्दै आफ्ना सीमाहरूलाई सुरक्षित राख्न मद्दत पुर्‍याउँछ। संवादलाई सकारात्मक नोटमा सुरु र अन्त्य गर्दा आपसी सम्बन्धमा कटुता आउँदैन र असमर्थता प्रकट गर्दा पनि सौहार्दपूर्ण वातावरण कायम रहन्छ, जसले सामाजिक र व्यावसायिक सम्बन्धलाई थप परिपक्व बनाउँछ।

'स्वस्थ सीमा' का लाभ र यसले काम गर्ने तरिका

स्वस्थ सीमा (Healthy Boundaries) भनेको आफ्नो मानसिक, संवेगात्मक र शारीरिक ऊर्जाको वरिपरि लगाइने एउटा अदृश्य सुरक्षा पर्खाल हो। यसले हामीलाई कुन कुरा आफ्नो नियन्त्रण र जिम्मेवारी भित्र पर्छ र कुन अर्काको हो भन्ने स्पष्ट भेद सिकाउँछ। यो पर्खालले बाह्य संसारका नकारात्मक प्रभावहरूलाई फिल्टर गरेर हाम्रो आन्तरिक शान्तिलाई जोगाउने काम गर्छ। परिणामस्वरुप, हामी अरूको संवेगात्मक दबाब र अनुचित मागहरूबाट विचलित नभई आफ्नो जीवनको बागडोर आफ्नै हातमा सुरक्षित राख्न सक्षम हुन्छौँ।

यसका प्रमुख लाभहरू यस्ता हुन्छन् -

  • भावनात्मक सुरक्षा : अरूको रिस, तनाव वा नकारात्मकताले तपाईंलाई सिधै असर गर्न पाउँदैन। जब हामी स्वस्थ सीमा कोर्छौं, तब अरूको मुड वा व्यवहारको भार हाम्रो काँधमा आउँदैन। हामी समानुभूति (Empathy) राख्न त सक्छौँ, तर उनीहरूको नकारात्मक संवेगलाई आफ्नै भावना ठानेर भित्रैसम्म खलबलिँदैनौँ। यसले गर्दा अरूको रिस वा तनावले हाम्रो मानसिक शान्ति खल्बलाउन पाउँदैन र हामी आफ्नो भावनात्मक सन्तुलन कायम राख्न सफल हुन्छौँ।
  • वास्तविक सम्बन्धको पहिचान : सीमा तय गर्दा तपाईंको वास्तविक सम्मान गर्नेहरू मात्र नजिक रहन्छन्, फाइदा लिन खोज्नेहरू बाहिरिन्छन्। जब तपाईं दृढताका साथ आफ्ना सीमाहरू कायम राख्नुहुन्छ, तब तपाईंलाई केवल उपयोग गर्न खोज्ने मानिसहरू आफैं टाढिन्छन्। तर, जसले तपाईंको समय, ऊर्जा र व्यक्तिगत स्वतन्त्रताको साँच्चै कदर गर्छन्, उनीहरू झन् नजिक आउँछन्। यसले सम्बन्धको भीडबाट स्वार्थी र फाइदावादी तत्वहरूलाई फिल्टर गरिदिन्छ र तपाईंको जीवनमा केवल इमानदार र दिगो सम्बन्धहरू मात्र बाँकी रहन्छन्।
  • ऊर्जाको सम्वर्द्धन : तपाईं आफ्नो ऊर्जा ती कुरामा मात्र खर्च गर्नुहुन्छ जुन तपाईंको जीवन र करियरका लागि महत्त्वपूर्ण छन्। हाम्रो मानसिक र शारीरिक ऊर्जा असीमित छैन, यो एक सीमित पुँजी हो। जब हामी अनावश्यक ठाउँमा 'नो' भन्न सिक्छौं, तब मात्र यो ऊर्जा खेर जानबाट जोगिन्छ। बचत भएको यही ऊर्जालाई हामी आफ्ना दीर्घकालीन व्यावसायिक लक्ष्य, रचनात्मक काम र व्यक्तिगत विकासमा लगानी गर्न सक्छौं, जसले हाम्रो उत्पादकत्व बढाउँछ र कार्यक्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन मद्दत गर्छ।

कसरी बनाउने स्वस्थ सीमा, यसले कसरी काम गर्छ ? 

सीमा बनाउनु भनेको कडा नियम बनाउनु होइन, बरु आफ्ना प्राथमिकताहरू प्रष्ट पार्नु हो। यसले 'कम्युनिकेसन' र 'कन्सिसटेन्सी' (निरन्तरता) को सिद्धान्तमा काम गर्छ। यसका लागि आफ्ना इच्छा र असमर्थताहरूलाई विना कुनै द्विविधा प्रष्ट रूपमा सञ्चार गर्नु पहिलो सर्त हो। त्यसपछि, परिस्थितिको दबाबमा नपरी आफ्ना ती निर्णयहरूमा निरन्तर अडिग रहनुपर्छ। जब तपाईंको व्यवहारमा यो दृढता देखिन्छ, तब अरूले पनि तपाईंको सीमालाई हल्का रूपमा लिन छोड्छन् र तपाईंको प्राथमिकताको आदर गर्न बाध्य हुन्छन्।

  • शारीरिक सीमा : कसैलाई आफ्नो व्यक्तिगत ठाउँ (Personal Space) मा कति भित्र आउन दिने तय गर्ने। जस्तै: अफिसको समयपछि व्यावसायिक फोन नउठाउने। यसले हाम्रो भौतिक शरीर र समय दुवैको सुरक्षा गर्छ। कार्यक्षेत्र र व्यक्तिगत जीवनबीचको दुरी स्पष्ट नहुँदा हाम्रो आराम गर्ने समय र पारिवारिक जीवन बिग्रन पुग्छ। जब हामी बिदाको दिन वा कार्यसमय पछि अफिसको कामलाई रोक्छौँ, तब हाम्रो शरीर र दिमागले पुनर्ताजगी पाउँछ, जसले अन्ततः हाम्रो स्वास्थ्यलाई सबल बनाउँछ।
  • मानसिक सीमा : अरूका विचार वा आलोचनालाई कति गम्भीरतापूर्वक लिने भन्ने निर्धारण गर्ने। कसैको व्यक्तिगत तनावको दोष आफ्नै टाउकोमा नलिनु मानसिक सीमा हो। यसले हाम्रो विचार र आत्म-मूल्यलाई बाह्य टिप्पणीको दास हुनबाट जोगाउँछ। जब हामी मानसिक सीमा तय गर्छौँ, तब अरूको विनाकारणको आलोचना वा रिसलाई हामी व्यक्तिगत रूपमा लिँदैनौँ। कसैले रिस पोख्यो भन्दैमा आफूलाई दोषी ठान्नुको साटो, त्यो उसको आफ्नै समस्या हो भन्ने बुझेर उदासीन रहन सक्नु नै यस सीमाको वास्तविक शक्ति र सफलता हो।
  • समयको सीमा : आफ्नो उत्पादक समय (Productive Hours) अरूको गफगाफका लागि उपलब्ध नगराउने। समय हाम्रो सबैभन्दा बहुमूल्य र सीमित सम्पत्ति हो। जब हामी कार्यक्षेत्रमा आफ्नो केन्द्रित हुने समयलाई अरूको विनाकारणको गफगाफ वा चिया गफका लागि सहजै उपलब्ध गराउँछौँ, तब हाम्रो आफ्नै महत्त्वपूर्ण कामहरू पछि धकेलिन्छन्। समयको स्पष्ट सीमा तोक्दा हामी आफ्नो महत्त्वपूर्ण काम विनाकुनै अवरोध फत्ते गर्न सक्छौँ र अनावश्यक अलमल्याइबाट जोगिएर उत्पादकत्व बढाउन सक्छौँ।

जब तपाईं दृढताका साथ (Assertively) आफ्ना सीमाहरू लागू गर्नुहुन्छ, तब तपाईंको मस्तिष्कले आफूलाई सुरक्षित महसुस गर्छ र बाह्य दबाबका अगाडि घुँडा टेक्दैन। यसले हाम्रो स्नायु प्रणालीलाई सुरक्षाको आभास दिलाउँछ, जसका कारण तनाव पैदा गर्ने हर्मोन 'कोर्टिसोल' को स्तर कम हुन पुग्छ। मस्तिष्कले बाह्य वातावरणमा आफ्नो नियन्त्रण भएको महसुस गर्दा आत्मविश्वास स्वतः बढ्छ। परिणामस्वरुप, हामी जस्तोसुकै कठिन सामाजिक वा व्यावसायिक दबाब आइपर्दा पनि बहकाउमा नआई आफ्ना मूल्यमान्यता र निर्णयहरूमा अडिग रहन सक्ने आन्तरिक शक्ति प्राप्त गर्छौँ।

भ्याउँदा, सक्दा र अनुकूलतामा पनि 'नो' भन्नु बेइमानी

'नो' भन्नु आफैंप्रतिको इमानदारिता हो, यसमा दुई मत छैन। तर, जब यो कलाको गलत व्याख्या गरिन्छ, तब यसले अर्को घातक रूप लिन सक्छ - जसलाई मनोविज्ञानको भाषामा 'असामाजिक उदासीनता' (Social Apathy) वा 'सक्रिय स्वार्थपरता' भनिन्छ। आफूसँग पर्याप्त समय छ, क्षमता छ र परिस्थितिले पनि साथ दिएको छ, तैपनि केवल अल्छीपन, अहम् वा 'मलाई के सरोकार' भन्ने संकीर्ण भावनाका कारण 'नो' भन्नु इमानदारिता होइन, सरासर सामाजिक र मानवीय बेइमानी हो।

यस सन्दर्भमा प्रख्यात लेखक तथा व्यवस्थापन गुरु एडम ग्रान्ट (Adam Grant) को पुस्तक 'गिभ एण्ड टेक : ह्वाइ हेल्पिङ अदर्स ड्राइभ्स आवर सक्सेस' (Give and Take, २०१३) निकै सान्दर्भिक छ। ग्रान्टले पुस्तकमा मानिसहरूलाई तीन वर्गमा विभाजन गरेका छन् - गिभर्स (दिनेहरू), टेकर्स (लिनेहरू) र म्याचर्स (हिसाब मिलाउनेहरू)। उनले स्पष्ट पारेका छन् कि जो मानिस आफू सक्षम हुँदाहुँदै पनि अरूलाई सहयोग गर्न सधैं 'नो' भन्छन्, तिनीहरू अन्ततः 'टेकर्स' को श्रेणीमा पर्छन्।

ग्रान्टका अनुसार, क्षमता र अनुकूलता हुँदाहुँदै पनि सधैं 'नो' भन्नुले व्यक्तिको सामाजिक पुँजी (Social Capital) र साखलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ। सकारात्मक मनोविज्ञानले 'स्वस्थ सीमा' को वकालत गर्छ, 'मानवीय संवेदनहीनता' को होइन। जब हामी विनाकारण अरूको जेन्युइन (वास्तविक) अनुरोधलाई लत्याउँछौँ, तब हामी बिस्तारै समाजबाट एक्लिँदै जान्छौँ।

सम्बन्धहरू पारस्परिक भरोसामा टिक्छन्। यदि तपाईं अरू संकटमा पर्दा, आफ्नो अनुकूलता हुँदा पनि पन्छाउनुहुन्छ भने, भविष्यमा तपाईंलाई खाँचो पर्दा सारा संसारले 'नो' भनिदिनेछ। त्यसैले, 'नो' को प्रयोग मानसिक आत्मरक्षाका लागि मात्र गरिनुपर्छ, यसलाई आफ्नो जिम्मेवारीबाट भाग्ने वा स्वार्थ लुकाउने ढाल बनाइनु हुँदैन। सक्षम हुँदाहुँदै सहयोग नगर्नु मानवीय धर्म र सहकार्यको भावनाप्रतिको बेइमानी हो।

'नो' भन्नेसँग नरिसाउनुस्

अरुलाई अर्ती दिन सजिलो छ। के तपाइँ आफ्नो आग्रह वा आदेशमा 'नो' सुन्न सक्नुहुन्छ? हामी अक्सर कसैलाई आफ्नो प्रस्ताव वा अनुरोध सुनाउँछौँ र तुरुन्तै 'हुन्छ' भन्ने जवाफको अपेक्षा राख्छौँ। तर जब अर्को पक्षबाट स्पष्ट र दृढ शब्दमा 'नाइँ' वा 'सक्दिनँ' भन्ने प्रतिक्रिया आउँछ, तब हाम्रो अहम् (Ego) मा चोट पुग्छ। हामी रिसले चुर हुन्छौँ वा उसलाई स्वार्थी, घमण्डी र असहयोगीको तक्मा भिराइदिन्छौँ। सकारात्मक मनोविज्ञान भन्छ - यो रिस अर्को व्यक्तिको व्यवहारका कारण होइन, बल्कि हाम्रो आफ्नै अतार्किक अपेक्षाहरूको नतिजा हो।

मनोवैज्ञानिकहरूका अनुसार, जब कोही व्यक्ति तपाईंलाई 'नो' भन्छ, उसले तपाईंको अस्तित्व वा सम्बन्धलाई नकारिरहेको हुँदैन। ऊ केवल आफ्नो सीमित समय, ऊर्जा र प्राथमिकताको व्यवस्थापन गरिरहेको हुन्छ। हरेक मानिसको आफ्नो मानसिक कम्पाउन्ड र व्यस्तता हुन्छ, जसको आदर गर्नु हाम्रो सामाजिक दायित्व हो। अर्काको 'नो' लाई व्यक्तिगत अपमान (Personal Insult) का रूपमा लिनु परिपक्वता होइन।

यदि हामी कसैको 'नाइँ' सँग रिसाउँछौँ भने, हामी वास्तवमा उसलाई आफ्नो इच्छा अनुकूल चल्ने दास बनाउन खोजिरहेका हुन्छौँ। यस्तो मानसिकताले सम्बन्धहरूलाई कसिलो होइन, खोक्रो र डरमा आधारित बनाउँछ। एउटा स्वस्थ र दिगो सम्बन्धको आधार नै यही हो कि जहाँ दुवै पक्षलाई विनाकुनै डर आफ्नो असहमति राख्ने पूर्ण स्वतन्त्रता होस्।

त्यसैले, अर्को पटक कसैले तपाईंको प्रस्ताव अस्वीकार गर्दा रिस राग पाल्नुको साटो उसको इमानदारिता र दृढताको सम्मान गर्नुहोस्। उसले बहाना बनाएर अल्झाउनु भन्दा बेलैमा स्पष्ट पार्नु तपाईंको समय र योजनाका लागि पनि हितकर हुन्छ। अरूको सीमाको कदर गर्न सिक्नु नै एक परिपक्व र मानसिक रूपमा स्वस्थ व्यक्तिको पहिचान हो।

दिगो र सकारात्मक सम्बन्धको सूत्र

मानिसहरूले एकअर्कालाई राम्रो मान्नु, आदर, सम्मान र स्नेह गर्नुका साथै लामो समयसम्म सकारात्मक सम्बन्ध कायम राख्नु आपसी विश्वास, स्पष्टता र व्यक्तिगत सीमाको सम्मानमा निर्भर गर्छ। धेरैलाई लाग्न सक्छ कि सधैं हँ मा हँ मिलाउने 'यस म्यान' (Yes Man) हरू लोकप्रिय हुन्छन्। तर यथार्थमा, सधैं अरूको स्वार्थ अनुकूल चल्ने व्यक्तिको सम्बन्ध लामो समय टिक्दैन; किनकि त्यहाँ आदर होइन, उपयोग मात्र भइरहेको हुन्छ। दिगो सम्बन्धका लागि 'यस म्यान' होइन, अवस्थाअनुसार दृढ र व्यावहारिक (Assertive & Pragmatic) हुनु आवश्यक पर्छ, जसले सहीलाई सही र गलतलाई गलत भन्न सक्छ।

यस विषयलाई अमेरिकी लेखक तथा परामर्शदाता स्टिफन आर. कोभी (Stephen R. Covey) ले आफ्नो प्रसिद्ध पुस्तक 'द सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपुल' (१९८९) मा 'इमोसनल बैंक एकाउन्ट' (Emotional Bank Account) को अवधारणा मार्फत बुझाएका छन्। उनका अनुसार दिगो सम्बन्ध तब मात्र सम्भव हुन्छ जब दुवै पक्षले एकअर्काको भावना, समय र सीमाको कदर गर्दै सम्बन्धमा 'जम्मा' (Deposit) गर्छन्।

सधैं 'यस म्यान' बन्दा सुरुमा सम्बन्ध सहज देखिए पनि अन्ततः त्यसले 'इमोसनल बैंक' बाट ऊर्जा मात्र रित्त्याउँछ, किनभने त्यस्ता व्यक्तिहरू भित्रभित्रै कुण्ठित हुन्छन्। कोभीले पुस्तकमा 'थिंक वीन-वीन' (Think Win-Win) र समझदारीको वकालत गरेका छन्, जुन केवल व्यावहारिक र स्पष्ट सीमा भएका व्यक्तिहरूले मात्र अभ्यास गर्न सक्छन्। जब हामी व्यावहारिक बनेर आफ्ना सीमा प्रष्ट राख्छौं, तब सुरुमा कसैलाई अप्ठ्यारो लागे पनि दीर्घकालमा त्यसले आपसी आदर र विश्वासलाई बलियो बनाउँछ। त्यसैले, दिगो सम्बन्धको असली सूत्र हरक्षण खुसी पार्नु होइन, बरु आपसी सम्मान र स्पष्ट सञ्चार कायम राख्नु हो।

यस अवधारणालाई अझ गहिराइका साथ बुझ्ने हो भने, 'इमोसनल बैंक एकाउन्ट' मा नियमित रूपमा भावनात्मक निक्षेप (Deposit) जम्मा गर्नका लागि व्यक्तिको आफ्नै आन्तरिक जग बलियो हुनुपर्छ। कोभीका अनुसार, जब कोही व्यक्ति 'यस म्यान' बन्छ, उसले अर्को व्यक्तिलाई खुसी पार्नका लागि लगातार यस्ता प्रतिबद्धताहरू गरिरहेको हुन्छ जुन उसले पूरा गर्नै सक्दैन। जब ती अव्यावहारिक बाचाहरू टुट्छन्, तब सम्बन्धको बैंक खाताबाट ठूलो मात्रामा भावनाको 'झिकाइ' (Withdrawal) हुन पुग्छ, जसले अन्ततः आपसी अविश्वास र तिक्तता मात्र निम्त्याउँछ।

वास्तविक आदर र स्नेह पाउनका लागि मानिसमा आत्म-जागरुकता र इमानदारिता आवश्यक पर्छ। सकारात्मक मनोविज्ञानले प्रमाणित गरेको छ कि मानिसहरू ती व्यक्तिप्रति बढी आकर्षित हुन्छन् र उनीहरूको सम्मान गर्छन्, जसको आफ्नै अडान र स्पष्ट विचार हुन्छ। सधैं अरूको इसारामा नाच्ने व्यक्तिलाई समाजले भरपर्दो सहयात्री मान्दैन, बरु आवश्यकता पर्दा प्रयोग गर्ने एउटा साधन मात्र बनाउँछ। 'थिंक विन-विन' को सिद्धान्तले दुवै पक्षको जित र सन्तुष्टिको माग गर्छ। यसको अर्थ, तपाईंको हित सुनिश्चित नभई अर्को पक्षको मात्र हित हुनु भनेको 'विन-लोज' (Win-Lose) को अवस्था हो, जसले सम्बन्धलाई दीर्घकालीन रूपमा खोक्रो बनाउँछ।

त्यसैले, व्यावहारिक र दृढ (Assertive) हुनुको अर्थ सम्बन्ध तोड्नु होइन, बल्कि सम्बन्धलाई एउटा परिपक्व धरातल प्रदान गर्नु हो। जब हामी स्पष्ट सञ्चारका माध्यमबाट आफ्ना सीमा र असमर्थताहरू विनम्रताका साथ व्यक्त गर्छौं, तब हामीले अर्को व्यक्तिलाई पनि हाम्रो सीमाको सम्मान गर्ने अवसर दिइरहेका हुन्छौं। यही पारस्परिक समझदारी र एकअर्काको स्वतन्त्र अस्तित्वलाई स्विकार्ने बानी नै दिगो, स्वस्थ र प्रेमपूर्ण सम्बन्धको असली मेरुदण्ड हो।

अन्ततः 'नो' भन्नु अरूप्रतिको स्वार्थ होइन, बरु आफैंप्रतिको इमानदारिता हो। सकारात्मक मनोविज्ञानले हामीलाई सिकाउँछ कि हामी तब मात्र अरूलाई साँचो सहयोग गर्न सक्छौं जब हामी भित्रबाट बलियो र सन्तुष्ट हुन्छौं। यदि तपाईंको 'हुन्छ' ले तपाईंको आफ्नै मानसिक शान्ति खोस्छ भने, त्यहाँ दृढताका साथ 'नो' भन्नु नै बुद्धिमानी हुन्छ। आजैदेखि आफ्ना सीमाहरू कोर्न सुरु गर्नुहोस्। किनकि आफैंलाई बचाएर मात्र संसार जित्न सकिन्छ।

Sunday, July 12, 2026

कुलतको भूलभुलैया र सुधारका उपाय

काठमाडौंको एउटा चिसो साँझ। सुशान्त आफ्नो कोठामा लामो सास तान्छ र कम्प्युटरको स्क्रिनतर्फ हेर्छ। ऊ पेसाले फोटोग्राफर र मिडिया क्षेत्रमा काम गर्ने डिजिटल डिजाइनर हो। राती ९ बजिसक्यो। अफिसको काम सकिएपछि पनि उसको हात आफ्नै मोबाइलतिर जान्छ। फेसबुक, इन्स्टाग्राम, टिकटक, अनि नेप्सेको ग्राफ।

'अब ५ मिनेट मात्र हेर्छु,' ऊ आफैंसँग भन्छ।

तर त्यो ५ मिनेट कहिले मध्यरातको २ बज्छ, उसैलाई थाहा हुँदैन। बिहान उठ्दा टाउको भारी हुन्छ, आँखा सुन्निएका हुन्छन्, र मनमा एउटै ग्लानि हुन्छ - ‘मैले फेरि आफ्नो समय बर्बाद गरेँ। म किन आफूलाई रोक्न सक्दिनँ ?’

सुशान्तलाई मदिरा वा लागुपदार्थको लत छैन, तर उसलाई स्क्रिन र 'डिजिटल डोपामाइन' को यस्तो लत छ, जसले उसको निद्रा, सिर्जनशीलता र व्यक्तिगत जीवन बिथोलेको छ। सुरुमा रमाइलो र जिज्ञासाका लागि चलाइएको सामाजिक सञ्जाल कसरी उसको जीवनको सबैभन्दा ठूलो बन्धन बन्यो ? यो सुशान्तको मात्र होइन, आजको आधुनिक समाजमा हामी प्रत्येकले कुनै न कुनै रूपमा भोगिरहेको कथा हो।

आखिर के हो त लत (Addiction) ? यो केवल कुनै पदार्थ वा बानीको कमजोरी मात्र हो कि हाम्रो मस्तिष्कभित्र चल्ने एउटा जटिल मनोवैज्ञानिक खेल हो ? आउनुस्, लतको मनोविज्ञानलाई गहिराइबाट बुझौँ।

लत एउटा 'प्रतिस्थापन'

अस्ट्रियाको भियनामा सन् १८९० को दशकमा सिग्मन्ड फ्रायडले आफ्नो अभ्यासका क्रममा लतलाई मानव अवचेतन मन र बाल्यकालको अतृप्त चाहनासँग जोडेर हेरे। उनले भनेका थिए, लत वास्तवमा एउटा 'प्रतिस्थापन' (Substitution) हो। जब मानिसले आफ्नो जीवनको वास्तविक पीडा, आघात (ट्रमा) वा मानसिक तनावको सामना गर्न सक्दैन, तब उसले त्यसबाट उम्कन कुनै पदार्थ वा बानीको सहारा लिन्छ।

उनका विषयमा लेखिएका पुस्तकहरुबाट थाहा हुन्छ, फ्रायडले आफैं पनि केही समय कोकिनको प्रयोग गरेका थिए, जसलाई उनले सुरुमा डिप्रेसनको औषधि ठानेका थिए। उनले स्पष्ट पारे कि लत लागेको व्यक्तिले लागूपदार्थलाई माया गरेको होइन, बल्कि त्यो पदार्थले दिने तात्कालिक शान्ति वा 'अचेत अवस्था' लाई खोजेको हो, ताकि उसले आफ्नो आन्तरिक द्वन्द्वबाट मुक्ति पाउन सकोस्।

अमेरिकी व्यवहारवादी (Behaviorist) मनोवैज्ञानिक बी.एफ. स्किनरले हार्वर्ड विश्वविद्यालयमा मुसा र परेवामाथि अनेकौँ प्रयोग गरेर 'अपेरन्ट कन्डिसनिङ'को सिद्धान्त प्रतिपादन गरे। स्किनरले सन् १९५० को दशकमा लतलाई कुनै मानसिक रोगभन्दा पनि ‘गलत ढंगले सिकिएको व्यवहार’ (Learned Behavior) को रूपमा व्याख्या गरे।

उनले 'स्किनर बक्स' को प्रयोगबाट के देखाए भने, यदि कुनै व्यवहार गरेबापत तुरुन्तै पुरस्कार मिल्छ भने जीवले त्यो व्यवहार बारम्बार दोहोर्‍याउँछ। अझ महत्त्वपूर्ण कुरा, यदि पुरस्कार निश्चित छैन (कहिले मिल्ने, कहिले नमिल्ने - Variable Reinforcement) भने त्यो बानी झन् कडा हुन्छ। जुवा, भिडियो गेम, वा सामाजिक सञ्जालमा 'लाइक' र 'नोटिफिकेसन' आउने अनिश्चितता ठ्याक्कै स्किनरको यही सिद्धान्तमा आधारित छ। मानिसहरू 'अर्को पटक केही राम्रो होला कि' भन्ने आशमा लागिरहन्छन्।

मस्तिष्कको 'रिवार्ड सिस्टम' र डोपामाइनको चक्र

लतको मनोविज्ञानलाई न्यूरोसाइन्स बिना बुझ्न असम्भव छ। हाम्रो मस्तिष्कमा एउटा 'रिवार्ड सिस्टम' (Mesolimbic Dopamine Pathway) हुन्छ। यसको मुख्य काम हामीलाई बचाउनु र जीवन विकासमा सहयोग गर्नु हो। जब हामी मिठो खान्छौँ, कसरत गर्छौँ वा कुनै नयाँ कुरा सिक्छौँ, मस्तिष्कले 'डोपामाइन' नामक न्यूरोट्रान्समिटर रिलिज गर्छ। यसले हामीलाई आनन्द र सन्तुष्टिको महसुस गराउँछ र मस्तिष्कले भन्छ - 'यो काम राम्रो हो, यसलाई फेरि दोहोर्‍याऊ।'

तर लत लाग्ने पदार्थ (रक्सी, ड्रग्स, चुरोट) वा बानी (जुवा, भिडियो गेम, पोर्नोग्राफी) ले यो प्राकृतिक प्रणालीलाई 'ह्याक' गरिदिन्छन्। प्राकृतिक कामबाट थोरै मात्रामा निस्कने डोपामिन यी कृत्रिम माध्यमहरूबाट १० गुणा बढी र तीव्र गतिमा रिलिज हुन्छ। मस्तिष्कको सोच्ने र निर्णय गर्ने भाग (Prefrontal Cortex) यस अत्यधिक डोपामाइनको अगाडि लाचार बन्न पुग्छ।

[तीव्र इच्छा/Trigger] ──> [व्यवहार/Action] ──> [अत्यधिक डोपामाइन/Huge Reward]
▲ │
└────────────────── [मस्तिष्कमा नयाँ न्युरोनल कनेक्सन] ◄┘

टोलरेन्स र विड्रअल (Withdrawal)

जब मस्तिष्कमा तारन्तार अत्यधिक डोपामिनको बाढी आउँछ, तब मस्तिष्कले आफ्नो सुरक्षाका लागि डोपामाइन रिसेप्टरहरूको संख्या घटाइदिन्छ। यस अवस्थालाई टोलरेन्स (सहनशीलता) भनिन्छ।

अब व्यक्तिलाई सुरुको जस्तो आनन्द पाउन अझ बढी मात्रामा रक्सी, अझ बढी समय सामाजिक सञ्जाल वा अझ बढी पैसाको जुवा खेल्नुपर्ने हुन्छ। जब उसले त्यो पाउन सक्दैन, तब शरीर र मनमा छटपटी, रिस, तनाव र उदासीनता सुरु हुन्छ, जसलाई विड्रअल भनिन्छ। यो अवस्थामा मानिस आनन्दका लागि होइन, केवल 'सामान्य' महसुस गर्नका लागि पनि लतको शरणमा पुग्छ।

मनोवैज्ञानिक कारण र व्यवहारवादी दृष्टिकोण

लत केवल जैविक (Biological) मात्र हुँदैन, यसका पछाडि गहिरा मनोवैज्ञानिक कारणहरू हुन्छन्।

  • तात्कालिक सन्तुष्टि (Instant Gratification) : मानव मनको एउटा स्वभाव छ - यसलाई दीर्घकालीन फाइदा (जस्तै: भविष्यको स्वास्थ्य, करियर) भन्दा तत्काल मिल्ने सन्तुष्टि (अहिलेको एक घुट्की रक्सी वा एक क्लिक) बढी प्रिय लाग्छ। यसलाई मनोविज्ञानमा 'हाइपरबोलिक डिस्काउन्टिङ' भनिन्छ। हाम्रो मस्तिष्कले टाढाको ठूलो पुरस्कारभन्दा अगाडिको सानो र तत्कालै पाइने सन्तुष्टिलाई बढी मूल्यवान ठान्छ। यही कारणले गर्दा मानिस दीर्घकालीन सुख र स्वास्थ्यको बेवास्ता गर्दै क्षणिक आनन्द दिने लतको जालमा सजिलै फस्न पुग्छ र पछि पछुताउँछ।

  • भावनात्मक शून्यता (Emotional Numbness) : एक्लोपन, हीनताबोध (Inferiority Complex), वा कार्यस्थलको अत्यधिक तनावका कारण मानिसहरू आफ्नो भावनालाई 'कमिला मारेझैँ मार्न' वा लठ्ठ पार्न लतको प्रयोग गर्छन्। यस प्रक्रियालाई मनोविज्ञानमा 'एनेस्थेटाइजिङ' वा भावना लठ्ठ्याउने प्रयास भनिन्छ। जब वास्तविक जीवनको मानसिक पीडा, असफलता वा एक्लोपन सहन नसक्ने गरी बढ्छ, तब मानिस सजिलो विकल्पका रूपमा लततर्फ आकर्षित हुन्छ। तर, यसरी कृत्रिम रूपमा दुःख लुकाउन खोज्दा कालान्तरमा मानिस आफ्ना सकारात्मक भावना (खुसी, प्रेम, उत्साह) महसुस गर्ने क्षमता समेत गुमाएर झन् ठूलो उदासीनताको खाडलमा भासिन्छ।

व्यवहारवादी व्याख्या :

हाम्रो व्यवहार तीन चक्रमा घुम्छ, Trigger (उत्तेजना) -> Routine (बानी) -> Reward (पुरस्कार)। 

यदि कसैलाई बेलुका अफिसबाट फर्कँदा (Trigger) थकान मेट्न चुरोट खाने (Routine) र त्यसबाट रिल्याक्स हुने (Reward) बानी परेको छ भने, मस्तिष्कले 'थकान = चुरोट' को बलियो न्यूरोनल कनेक्सन बनाउँछ।

यही चक्रलाई चार्ल्स डुहिंगले आफ्नो पुस्तक 'द पावर अफ ह्याबिट' मा 'ह्याबिट लूप' का रूपमा व्याख्या गरेका छन्। जब यो लूप मस्तिष्कमा सयौँ पटक दोहोरिन्छ, तब चेतन मनले सोच्न छोड्छ र यो व्यवहार 'बेसल ग्याङ्लिया' (Basal Ganglia) मा स्टोर भई पूर्ण रूपमा स्वचालित बन्छ। पछि गएर व्यक्तिलाई चुरोटको तिर्सना (Craving) वास्तवमा निकोटिनको भन्दा पनि त्यो 'रिल्याक्स हुने' पुरस्कार वा अफिसको थकानपछिको सानो विश्रामको लागि बढी हुन थाल्छ। त्यसैले, यो व्यवहारवादी दृष्टिकोण अनुसार लत बदल्नका लागि ‘ट्रिगर’ र ‘पुरस्कार’ लाई यथावत् राख्दै बीचको ‘रुटिन’ (जस्तै: चुरोटको साटो १० मिनेट हिँड्ने वा लामो सास तान्ने बानी) लाई मात्र प्रतिस्थापन गर्नु नै सबैभन्दा वैज्ञानिक र प्रभावकारी उपाय हो।

संज्ञानात्मक भ्रम र लत

लत लागेका व्यक्तिहरूको सोच्ने तरिका र तर्क गर्ने क्षमतामा गम्भीर संज्ञानात्मक भ्रमहरू (Cognitive Biases) देखा पर्छन्। उनीहरूको मस्तिष्कले आफ्ना गलत बानीहरूलाई सही साबित गर्न विभिन्न मानसिक खेलहरू खेल्छ।

  • अस्वीकरण (Denial Bias) : 'मलाई कुनै लत लागेको छैन, म त चाहेको बेला जुनसुकै दिन पनि यो छोड्न सक्छु।' यो सबैभन्दा ठूलो भ्रम हो जसले व्यक्तिलाई उपचार वा सुधारको बाटोमा जानबाट रोक्छ। यसलाई मनोविज्ञानमा ‘अहंकारको रक्षात्मक संयन्त्र’ (Ego Defense Mechanism) भनिन्छ। मस्तिष्कले आफू कमजोर वा लती भएको तीतो यथार्थ स्वीकार्न नचाहेर यो मानसिक पर्दा खडा गर्छ। यस भ्रमले गर्दा व्यक्तिले आफ्नो बिग्रँदो स्वास्थ्य, सम्बन्ध र करियरको दोष परिस्थितिलाई दिन्छ, तर आफ्नै बानीलाई देख्दैन। जबसम्म यो भ्रम टुट्दैन, तबसम्म सुधारको वास्तविक सुरुवात हुनै सक्दैन।
  • तार्किकीकरण (Rationalization) : आफ्नो लतलाई परिस्थितिको टाउकोमा थुपार्नु। जस्तै, 'आज अफिसमा हाकिमले गाली गर्‍यो, तनाव भयो, त्यसैले अलि धेरै पिइदिएँ।' यो वास्तवमा मस्तिष्कले सजाय वा ग्लानिबाट बच्नका लागि चाल्ने ‘संज्ञानात्मक प्रतिरक्षा’ (Cognitive Defense) को कदम हो। यसले क्षणिक रूपमा आत्मग्लानिलाई कम गरे पनि व्यक्तिलाई आफ्नो व्यवहारको जिम्मेवारी लिनबाट पन्छाउँछ। परिस्थिति जस्तोसुकै भए पनि लतलाई एउटा वैध 'निकास' सावित गर्ने यो मानसिक बानीले गर्दा मानिस समस्या सुधार्नुको साटो झन्-झन् गहिरो गल्तीको चक्रमा फस्दै जान्छ।
  • जुवाडेको भ्रम (Gambler's Fallacy) : विशेषगरी सट्टाबजार (Stock/Crypto) वा जुवाको लतमा यो देखिन्छ। 'मैले लगातार पाँच पटक हारेँ, अब छैटौँ पटक त पक्का जित्छु !' तर वास्तवमा हरेक पटकको सम्भाव्यता (Probability) स्वतन्त्र हुन्छ। यो भ्रमले मानिसलाई 'अब पालो मेरो हो' भन्ने झूटाे आशमा बाँधेर राख्छ। मस्तिष्कले विगतका साना र स्वतन्त्र घटनाहरूलाई जोडेर एउटा काल्पनिक प्याटर्न (Pattern) बनाउँछ र दाउ बढाउन उक्साउँछ। यही संज्ञानात्मक त्रुटिका कारण सट्टाबजार वा जुवाको लतमा परेका व्यक्तिहरू आफ्नो भएको सबै सम्पत्ति गुमाइसकेपछि पनि 'अर्को पटक त पक्का रिकभर हुन्छ' भन्दै झन् ठूलो ऋणको खाडलमा हाम फाल्छन्।
  • पुष्टि गर्ने पूर्वाग्रह (Confirmation Bias) : लतीहरूले आफ्नो बानीलाई सही देखाउने तथ्य मात्र खोज्छन्। जस्तै, 'त्यो फलानो चुरोट खान्थ्यो तर ९० वर्ष बाँच्यो, त्यसैले चुरोटले मरिहालिँदैन।' यो मानसिक त्रुटिले गर्दा व्यक्तिले आफ्नो बानीको विपक्षमा रहेका हजारौँ वैज्ञानिक तथ्य, डाक्टरको चेतावनी वा परिवारको आँसुलाई सजिलै बेवास्ता गरिदिन्छ। मस्तिष्कले आफ्नो कुलतलाई बचाउन केवल त्यस्ता अपवाद वा उदाहरणहरू मात्रै फिल्टर गरेर संकलन गर्छ, जसले उसको बानीलाई सही साबित गरोस्। विज्ञानमा यसलाई 'चेरी पिकिङ' (Cherry Picking) पनि भनिन्छ। आफ्नो बानी अनुकूलका तर्क मात्र सुन्ने र यथार्थलाई आँखैअगाडि हुँदा पनि नदेख्ने यो पूर्वाग्रहले गर्दा व्यक्ति एक किसिमको वैचारिक अन्धोपनमा बाँचिरहेको हुन्छ, जसले उसलाई आत्मघाती बाटोबाट फर्कन दिँदैन।

जिज्ञासाको भूमिका

मानव विकासमा जिज्ञासा एउटा वरदान हो, तर लतको मामिलामा यो अक्सर 'विष' बनिदिन्छ। 'एक पटक चाख्दा के हुन्छ र ?', 'सबैले गरेका छन्, म पनि हेरौँ न त' भन्ने कौतुहलता नै लतको प्रवेशद्वार हो। किशोर अवस्था र युवावस्थामा मस्तिष्कको एग्मिडाला (भावना नियन्त्रण गर्ने भाग) पूर्ण विकसित भइसकेको हुन्छ तर प्रिफ्रन्टल कर्टेक्स (नतिजा सोच्ने भाग) २५ वर्षको उमेर आसपास मात्र पूर्ण परिपक्व हुन्छ। त्यसैले जिज्ञासाको कारण युवाहरू नतिजा अनुमान  नगरी जोखिम मोल्न पुग्छन्।

उमेर र बानीको सम्बन्ध (Age vs. Habit)

उमेर अनुसार लतको स्वरूप बदलिन्छ।

  • टिनएज र प्रारम्भिक २० को दशक : यो उमेरमा साथीभाइको दबाब (Peer Pressure), पहिचानको खोजी र जिज्ञासाका कारण लागुपदार्थ, भिडियो गेम, वा धूम्रपानको लत बढी हुन्छ। यो उमेरमा मस्तिष्कको निर्णय लिने भाग पूर्ण विकसित भइनसकेकाले भावना र तत्कालको उत्साह हाबी हुन्छ। साथीभाइको समूहमा 'कूल' देखिने चाहना र समूहबाट बहिष्कृत हुने डरले गर्दा युवाहरू जोखिमपूर्ण निर्णय लिन्छन्। सामाजिक सञ्जालको 'भर्चुअल' मान्यता र भिडियो गेमले दिने डिजिटल जितको अनुभवले उनीहरूको पहिचानको खोजीलाई गलत दिशातर्फ मोडिदिन्छ, जसले गर्दा सुरुवाती रमाइलो चाँडै नै गहिरो कुलतमा परिणत हुन्छ।

  • ३० देखि ५० को दशक : यो उमेरमा व्यावसायिक तनाव, पारिवारिक जिम्मेवारी, र मध्य-जीवनको संकट (Mid-life Crisis) का कारण मदिरा, पैसा कमाउने नाममा अनियन्त्रित सट्टाबजार र डिजिटल मिडियाहरूको लत (Doomscrolling) बढी देखिन्छ। यो उमेर समूहका व्यक्तिहरू अक्सर बाहिरी रूपमा सफल र जिम्मेवार देखिए पनि भित्रभित्रै 'बर्नआउट' (व्यावसायिक थकान) र एक्लोपनसँग जुधिरहेका हुन्छन्। मदिरा वा अनियन्त्रित ट्रेडिङ उनीहरूका लागि केवल रमाइलो नभएर दिनभरको मानसिक बोझ र 'मिड-लाइफ क्राइसिस' बाट उम्कने एउटा गुप्त र अस्थायी माध्यम बन्न पुग्छ। यसरी जिम्मेवारीको दबाब व्यवस्थापन गर्न नसक्दा परिपक्व उमेरमै पनि मानिसहरू गम्भीर वित्तीय र मानसिक संकटको चक्रव्यूहमा फस्न पुग्छन्।

उमेर ढल्किँदै जाँदा बानीहरू 'न्यूरोप्लास्टिसिटी' का कारण मस्तिष्कमा यति गहिराइसम्म गाडिन्छन् कि उमेर बढेसँगै पुरानो लत छोड्न झन् बढी कठीन र मानसिक रूपमा पीडादायी हुन्छ। हाम्रो मस्तिष्कले बारम्बार दोहोरिने विचार र व्यवहारका लागि स्थायी र बलिया न्यूरोनल मार्गहरू (Neural Pathways) निर्माण गर्छ। वर्षौंसम्म एउटै लत दोहोर्‍याउँदा ती मार्गहरू मस्तिष्कमा राजमार्ग जस्तै चौडा र पक्का बन्न पुग्छन्। उमेर बढ्दै जाँदा मस्तिष्कको नयाँ कुरा सिक्ने र पुराना बानी बदल्ने लचकता (Neuroplasticity) बिस्तारै कम हुँदै जान्छ। फलस्वरूप, पुराना र स्थापित भइसकेका बानीहरूलाई भत्काउन युवावस्थामा भन्दा धेरै गुणा बढी मानसिक ऊर्जा र कडा संघर्षको आवश्यकता पर्छ, जसले गर्दा बुढ्यौलीतर्फ लाग्दै गर्दा कुलतबाट मुक्ति पाउनु अत्यधिक कष्टकर बन्दछ।

***

के-के हुन् खराब लत? 

सामान्यतया 'लत' भन्नेबित्तिकै हाम्रो दिमागमा रक्सी, चुरोट वा लागुपदार्थको चित्र मात्र आउँछ। तर, आधुनिक मनोविज्ञान र चिकित्सा विज्ञानका अनुसार मस्तिष्कलाई 'ह्याक' गर्ने कुलतका स्वरूपहरू अनेकौँ छन्। यिनलाई मुख्य रूपमा दुई भागमा वर्गीकरण गरेर बुझ्न सकिन्छ।

१. रासायनिक वा पदार्थको लत (Substance Addiction) : यो शरीर र मस्तिष्कमा प्रत्यक्ष रासायनिक प्रभाव पार्ने पारम्परिक लत हो। सामाजिक स्वीकार्यताका नाममा सुरु हुने रक्सी र चुरोट/भेपको लत, जसले कलेजो र फोक्सो मात्र होइन, सोच्ने क्षमता पनि नष्ट गर्छ। गाँजा, फर्मास्युटिकल ड्रग्स (औषधिहरू), ब्राउन सुगर वा अन्य प्रतिबन्धित रसायनहरूको घातक प्रयोग।

२. व्यावहारिक वा डिजिटल लत (Behavioral/Process Addiction) यसमा कुनै रासायनिक पदार्थ खाइँदैन, तर कुनै विशेष व्यवहार वा डिजिटल गतिविधिबाट मस्तिष्कले तीव्र डोपामिन प्राप्त गर्छ। आजको समयमा यो झन् बढी संक्रामक बन्दै गएको छ।

  • स्क्रिन र सामाजिक सञ्जाल (Screen & Social Media): घण्टौँसम्म फेसबुक, टिकटक वा इन्स्टाग्राम स्क्रोल गरिरहनु (Doomscrolling), जसले गर्दा निद्रा, एकाग्रता र वास्तविक सम्बन्धहरू ओझेलमा पर्छन्।
  • अनियन्त्रित सट्टाबजार र जुवा (Trading & Gambling): छिटो धनी बन्ने लोभमा सेयर बजार (Option/Future Trading), क्रिप्टोकरेन्सी वा क्यासिनोमा आफ्नो गच्छेभन्दा बढी पैसा र समय दाउमा लगाउनु।
  • भिडियो गेम र पर्नोग्राफी (Gaming & Pornography): भर्चुअल संसारको जित र कृत्रिम उत्तेजनामा हराएर वास्तविक जीवनका जिम्मेवारीहरूबाट भाग्नु (Escapism)।

जुनसुकै बानी जसले व्यक्तिको समय, पैसा, स्वास्थ्य र पारिवारिक सम्बन्धमा गम्भीर नकारात्मक असर पुर्‍याउँदा पुर्‍याउँदै पनि व्यक्तिले त्यसलाई रोक्न सक्दैन भने, त्यो 'खराब लत' हो।

***

डा. डिस्पेन्जा र बानी बदल्ने विज्ञान

लतको यो मानसिक भूलभुलैयाबाट निस्कने बाटो खोज्दै गर्दा अमेरिकी न्यूरोवैज्ञानिक, लेखक तथा सुधारक डा. जो डिस्पेन्जा (Dr. Joe Dispenza) को प्रसंग यहाँ सान्दर्भिक हुन्छ। सन् २०१२ मा प्रकाशित प्रसिद्ध पुस्तक ‘ब्रेकिङ द ह्याबिट अफ बिइङ योरसेल्फ’ (Breaking the Habit of Being Yourself) मा उनले एउटा जबर्जस्त मनोवैज्ञानिक र वैज्ञानिक तथ्य अघि सारेका छन्।

डा. डिस्पेन्जा भन्छन् - 'जब तपाईं हरेक दिन ओछ्यानबाट उठेर पुरानै विचार, पुरानै सास्ती र पुरानै लत दोहोर्‍याउनुहुन्छ, तब तपाईंको 'विगत' नै तपाईंको 'भविष्य' बन्न पुग्छ। यदि नयाँ जीवन चाहने हो भने, तपाईंले आफ्नो पुरानो व्यक्तित्वलाई सचेत रूपमा 'मृत्यु' गराउनुपर्छ।'

उनले अमेरिकाका विभिन्न सहरहरूमा आयोजना गरेका न्यूरोसाइन्स वर्कशपहरूमा हजारौं त्यस्ता व्यक्तिहरूको मस्तिष्कको 'इइजी' (EEG) स्क्यान गरे, जो गम्भीर कुलत, डिप्रेसन र एन्जाइटीसँग जुधिरहेका थिए। उनले पत्ता लगाए कि लत लागेको मानिसको मस्तिष्क वास्तवमा विगतका भावनाहरूको दास भइसकेको हुन्छ। जब कसैलाई तनाव हुन्छ, मस्तिष्कले पुरानो कमाण्ड सम्झिन्छ - 'तनाव भयो? रक्सी पिऊ वा मोबाइल स्क्रोल गर !' अनि मानिस बेहोसीमै त्यही काम गर्न पुग्छ।

डिस्पेन्जाले यो चक्र तोड्न एउटा अद्भुत विधिको व्याख्या गरेका छन्, जसलाई उनले 'मेन्टल रिहर्सल' (Mental Rehearsal) वा मानसिक पूर्वाभ्यास भनेका छन्। उनले भनेका छन् कि यदि तपाईं सुधार केन्द्रमा हुनुहुन्छ वा आफ्नै कोठामा, तपाईंले आँखा चिम्लेर, शान्त बसेर आफ्नो मस्तिष्कलाई नयाँ कमाण्ड दिनुपर्छ। उदाहरणका लागि, भोलि अफिसबाट फर्कँदा मलाई चुरोट खान मन लाग्नेछ, तर म त्यो बेला चुरोट पसल नगएर सिधै घर जानेछु र फ्रेस हुनेछु भन्ने कुराको मस्तिष्कमा जीवन्त कल्पना (Visualization) गर्नुपर्छ।

हाम्रो मस्तिष्कले 'वास्तविक घटना' र 'तीव्र कल्पनाशीलता' बीचको फरक छुट्याउन सक्दैन। जब तपाईं सुधारको यो मानसिक पूर्वाभ्यास बारम्बार गर्नुहुन्छ, मस्तिष्कमा सुधार केन्द्रको बाहिरी सहयोग बिना नै नयाँ न्यूरोनल नेटवर्कहरू बन्न थाल्छन्।

डा. जो डिस्पेन्जाको यो प्रसंगले हामीलाई यही सिकाउँछ - सुधार केन्द्र वा कुनै थेरापिस्ट तपाईंका लागि केवल सहयोगी मात्र हुन्, तर तपाईंको मस्तिष्कको वास्तविक कमान्डर तपाईं आफै‌ं हो। जबसम्म तपाईं आफ्नो अवचेतन मनमा गढेर बसेको 'पुरानो म' लाई सचेत रूपमा भत्काउन तयार हुनुहुन्न, तबसम्म बाहिरी कुनै पनि जादुले काम गर्दैन। सुधारको पहिलो पाइला मस्तिष्कभित्रैबाट सुरु हुन्छ।

लत सुधारका प्रभावकारी सूत्र

लतबाट मुक्ति पाउन केवल 'म भोलिदेखि खान्न/चलाउन्न' भन्ने खोक्रो इच्छाशक्ति मात्र पर्याप्त हुँदैन, किनकि इच्छाशक्ति एउटा सीमित ऊर्जा हो। यसका लागि मनोवैज्ञानिक र व्यावहारिक रणनीति चाहिन्छ। कसम खानु जरुरी छैन, केही गर्ने चाहनालाई संकल्पबाट थाल्दा उपयुक्त हुन्छ।

ट्रिगर पहिचान र परिवर्तन (Change the Trigger)

तपाईंलाई कुन समयमा, कुन स्थानमा वा कुन भावना (एक्लोपन, झर्को लाग्नु, तनाव) मा त्यो लतको याद आउँछ? डायरीमा टिप्नुहोस्। यदि अफिसको बाटोमा मदिरा पसल छ र त्यसले ट्रिगर गर्छ भने बाटो बदल्नुस्। यदि मोबाइलको नोटिफिकेसनले ट्रिगर गर्छ भने सबै सामाजिक सञ्जालको नोटिफिकेसन 'अफ' गर्नुस्।

मनोविज्ञानमा यसलाई 'वातावरणीय नियन्त्रण' (Stimulus Control) भनिन्छ। हाम्रो अवचेतन मनले आसपासका संकेत (Cues) हरूलाई लतसँग जोडिसकेको हुन्छ। त्यसैले, इच्छाशक्तिसँग लड्नुभन्दा इच्छा जगाउने ती संकेतहरूलाई नै आफ्नो आँखा र पहुँचबाट टाढा राख्नु बढी बुद्धिमानी हुन्छ। जब हामी ट्रिगर उत्पन्न हुने वातावरण नै बदल्छौँ, तब मस्तिष्कलाई पुरानो बानी दोहोर्‍याउने स्वचालित कमाण्ड मिल्दैन र सुधारको प्रक्रिया धेरै सहज बन्छ।

बानी प्रतिस्थापन (Habit Substitution)

हामी मस्तिष्कबाट पुरानो बानीलाई पूरै मेट्न सक्दैनौँ, तर त्यसलाई नयाँ स्वस्थ बानीले प्रतिस्थापन गर्न सक्छौँ।

  • चुरोट खान मन लाग्ने समयमा ल्वाङ वा चुइङ्गम चपाउने।

  • राती मोबाइल स्क्रिन हेर्ने बानीको साटो एउटा भौतिक पुस्तक (Book) पढ्ने वा ध्यान (Meditation) गर्ने।

  • डोपामिनको स्रोत बदल्ने: कृत्रिम डोपामिनको साटो दौडिने, व्यायाम गर्ने, वा फोटोग्राफी/चित्रकला जस्ता रचनात्मक कामबाट 'प्राकृतिक डोपामिन' लिने।

पाँच मिनेटको नियम (The 5-Minute Rule)

जब लतको तीव्र इच्छा (Craving) आउँछ, मस्तिष्कलाई भन्नुहोस् - 'म यो काम गर्छु, तर मात्र ५ मिनेट पछि।' मनोविज्ञानका अनुसार कुनै पनि तीव्र इच्छाको आयु सामान्यतया १० देखि १५ मिनेट मात्र हुन्छ। यदि तपाईंले त्यो ५ मिनेट आफूलाई अन्तै अल्झाउनु भयो (जस्तै: पानी पिउने, १०० बाट उल्टो गन्ने, वा हिँड्ने) भने त्यो इच्छा आफैं कमजोर भएर जान्छ।

यस प्रविधिलाई मनोविज्ञानमा 'इच्छाको लहरमा पौडिने' (Urge Surfing) भनिन्छ। लतको तीव्र इच्छा समुद्रको छालजस्तै हो - यो आउँछ, एउटा उच्च बिन्दु (Peak) मा पुग्छ र यदि यसलाई प्रतिक्रिया जनाइएन भने बिस्तारै आफैं शान्त भएर जान्छ। ५ मिनेटको यो ढिलाइले मस्तिष्कको स्वचालित र संवेगात्मक निर्णय प्रक्रियालाई रोकेर सोच्ने विवेकशील भागलाई सक्रिय गराउन पर्याप्त समय दिन्छ, जसले गर्दा हार मान्नुको साटो इच्छामाथि विजय पाउन सजिलो हुन्छ।

***

कस्तो अवस्थामा सुधार केन्द्र (Rehab Center) ?

जब लतका कारण व्यक्तिको आफ्नो व्यवहारमाथिको नियन्त्रण पूर्ण रूपमा गुम्छ, दैनिक कार्यक्षमता नष्ट हुन्छ र पारिवारिक तथा सामाजिक सम्बन्धहरू भत्किन थाल्छन्, तब सुधार केन्द्रको आवश्यकता पर्छ। विशेषगरी जब आफैंले प्रयास गर्दा पनि बारम्बार ‘रिलेप्स’ (फेरि पुरानै बानीमा फर्कने) हुन्छ र गम्भीर शारीरिक वा मानसिक विड्रअल लक्षणहरू (जस्तै: अत्यधिक छटपटी, काँप्नु, डिप्रेसन) देखिन्छन्, तब व्यावसायिक निगरानीमा उपचार गराउनु अनिवार्य हुन्छ।

के हुन्छ त्यहाँ ?

सुधार केन्द्र कुनै जेल वा यातना गृह होइन, यो एक व्यवस्थित र अनुशासित उपचार स्थल हो। त्यहाँ मुख्यतया तीनवटा चरणमा काम हुन्छ 

  • डिटक्सिफिकेसन (Detoxification): चिकित्सकहरूको रेखदेखमा शरीरबाट विषाक्त पदार्थहरू सुरक्षित रूपमा बाहिर निकालिन्छ। 
  • मनोवैज्ञानिक थेरापी र काउन्सिलिङ: व्यक्तिगत तथा सामूहिक परामर्श (CBT जस्ता थेरापी) मार्फत लतको जड (तनाव, ट्रौमा, मानसिक शून्यता) पत्ता लगाई त्यसको व्यवस्थापन गर्न सिकाइन्छ। 
  • दिनचर्या र जीवनशैलीमा परिवर्तन: योग, ध्यान, शारीरिक व्यायाम, र रचनात्मक क्रियाकलापहरू मार्फत मस्तिष्कलाई प्राकृतिक डोपामिनतर्फ फर्काइन्छ र अनुशासित जीवन जिउने बानी बसालइन्छ।

आफ्नै भूमिका सबैभन्दा महत्त्वपूर्ण

सुधार केन्द्रमा कुनै जादुको छडी वा त्यस्तो औषधि हुँदैन जसले रातारात लतलाई चट्याक्कै पारिदेओस्। केन्द्रले केवल एउटा सुरक्षित वातावरण, मार्गनिर्देशन र वैज्ञानिक विधि मात्र प्रदान गर्ने हो। लतबाट मुक्त हुने वास्तविक चाबी भनेको व्यक्तिको आफ्नै दृढ इच्छाशक्ति र रूपान्तरण हुने चाहना नै हो।

यदि व्यक्ति भित्रैबाट सुध्रिन तयार छैन र त्यहाँ सिकाइएका बानीहरूलाई आत्मसात् गर्दैन भने, केन्द्रबाट बाहिर निस्कने बित्तिकै फेरि कुलतमा फस्ने सम्भावना उच्च रहन्छ। सुधार केन्द्रले बाटो देखाउँछ, तर हिँड्ने काम स्वयम् व्यक्तिकै हो। आफ्नो कमजोरीलाई स्वीकार गर्नु, थेरापीमा इमानदार हुनु, र जीवनलाई नयाँ ढंगले जिउने संकल्प गर्नु नै यस यात्रामा आफ्नो सबैभन्दा ठूलो र निर्णायक भूमिका हो।

***

सामाजिक र व्यावसायिक सहयोग (Support System)

लतको ठ्याक्कै उल्टो शब्द ' sobriety' (होस) मात्र होइन, यसको उल्टो शब्द 'Connection' (सम्बन्ध) हो। एक्लोपनले लतलाई बढाउँछ। आफ्ना परिवार, असल साथीहरू वा मनोवैज्ञानिक परामर्शदाता (Therapist) सँग आफ्ना कमजोरीहरू खुला रूपमा सेयर गर्नुहोस्।

लत कुनै चरित्रको दोष वा नैतिक कमजोरी होइन। यो मस्तिष्कको एउटा यस्तो भूलभुलैया हो जहाँ हाम्रा आफ्नै रसायनहरूले हामीलाई भ्रममा पारिरहेका हुन्छन्। सुशान्तले जस्तै तपाईंले पनि यदि आफ्नो जीवनको नियन्त्रण कुनै पदार्थ वा स्क्रिनको हातमा सुम्पनुभएको छ भने, आजैबाट ससाना कदम चाल्नुहोस्।

मस्तिष्क परिवर्तनशील छ (Neuroplasticity)। जसरी बिस्तारै-बिस्तारै गलत बानी बस्यो, त्यसरी नै ससाना सचेत प्रयास, संज्ञानात्मक बुझाइ र धैर्यताले मस्तिष्कलाई पुनः स्वस्थ अवस्थामा फर्काउन सकिन्छ। सुरु त गरेर हेर्नुहोस्, मुक्तिको आकाश निकै सुन्दर छ।

प्रख्यात बेलायती-स्विस पत्रकार जोहान हारी(Johann Hari)ले आफ्नो अनुसन्धानमा भनेका छन्, 'लतको उल्टो 'होस' होइन, यो त 'सम्बन्ध' हो।' जब व्यक्ति समाज र परिवारबाट अपहेलित वा एक्लो महसुस गर्छ, तब ऊ मस्तिष्कभित्रको रित्तोपन भर्न कुलतको सहारा लिन्छ। त्यसैले, लतबाट बाहिर निस्कन एउटा बलियो 'सपोर्ट सिस्टम' अपरिहार्य हुन्छ। 

हारीको लत र लागुपदार्थ विरुद्धको युद्धमा आधारित पुस्तक 'Chasing the Scream: The First and Last Days of the War on Drugs' (२०१५) चर्चित छ। पुस्तकका लागि उनले संसारका विभिन्न स्थान ३० हजार माइल यात्रा गर्दै लतको जड र उपचारबारे तीन वर्ष अनुसन्धान गरेका थिए। उनले सोही वर्ष 'टेड टक'मा दिएको 'Everything you think you know about addiction is wrong' (लतबारे तपाईंले सोच्नुभएका सबै कुरा गलत छन्) शीर्षकमा आफ्नो भनाइलाई सविस्तार व्याख्या गरेका थिए, जुन भिडियो विश्वभर धेरै पटक हेरिएको छ। 

उनले आफ्नो अनुसन्धानमा 'र्‍याट पार्क' (Rat Park) प्रयोगको उदाहरण दिँदै मानिस वा जीव जब एक्लो, थुनिएको वा तनावमा हुन्छ, तब मात्र ऊ लतको आश्रयमा जाने र जब उसले प्रेम, सामाजिक सम्बन्ध र अर्थपूर्ण जीवन पाउँछ, तब लत आफैँ हराएर जाने तथ्य प्रमाणित गरेका छन्।

आफ्नो समस्यालाई लुकाउनुको साटो परिवार, सहकर्मी र मनोपरामर्शदातासँग इमानदार भई साटफेर गर्दा मनको आधा बोझ त्यसै हलुका हुन्छ। व्यावसायिक थेरापी (जस्तै Cognitive Behavioral Therapy - CBT) ले व्यक्तिलाई पुराना मानसिक आघात र तनावसँग जुध्न सिकाउँछ, जसले गर्दा फेरि पुरानै बानीमा फर्कने जोखिम (Relapse) निकै कम हुन्छ। समूहगत सहयोग (Support Groups) मा बस्दा 'म मात्र यो लडाइँ लड्दै छैन' भन्ने सामूहिक भावनाले आत्मबल झन् बलियो बनाउँछ।

यो यात्रामा सबैभन्दा महत्त्वपूर्ण कुरा धैर्य हो। वर्षौंदेखि मस्तिष्कमा बनेका न्यूरोनल मार्गहरू रातारात भत्किदैनन्। यदि कहिलेकाहीँ संघर्ष गर्दागर्दै पुनः गल्ती दोहोरियो भने पनि आफूलाई पूर्ण असफल ठानेर माया मार्नु हुँदैन। लत सुधारको बाटो सिधा रेखा जस्तो हुँदैन। यसमा उतारचढाव आउनु स्वाभाविक हो। विज्ञानले पुष्टि गरिसकेको छ कि हाम्रो मस्तिष्क जतिसुकै उमेरमा पनि नयाँ परिस्थिति अनुसार ढल्न सक्छ। हिजोका गल्तीले आजको निर्णयलाई रोक्नु हुँदैन।

आजैबाट आफ्नो दिनचर्यामा ससाना तर सकारात्मक परिवर्तनहरू ल्याउनुस् - चाहे त्यो बिहान १० मिनेट ध्यान गर्नुस्, स्क्रिन टाइम आधा घण्टा घटाउनुस्, वा हप्तामा एक दिन प्रकृतिसँग समय बिताउनुस्। यी ससाना जितहरूले मस्तिष्कमा स्वस्थ डोपामिनको सञ्चार गराउँछन्। जब तपाईं कुलतको यो अदृश्य बन्धन र मानसिक भ्रमलाई तोडेर बाहिर निस्कनुहुन्छ, तब मात्र आफ्नै जीवनको वास्तविक साँचो आफ्नो हातमा आएको महसुस हुनेछ। होस, सम्बन्ध र सचेत प्रयास नै मुक्तिको मूल मन्त्र हो।