Monday, May 16, 2011

फरक फ्रेममा इलाम


मकै भुटेर बोक्दा लेकमा खानुको मजा बेग्लै। तर, भेट्नेले जिस्क्याउन 'मकटुस' भनिदिने रहेछन्। मकटुस अर्थात् सन्दकपुरमा कसै कसैले स्वदेशी घुमन्तेलाई जिस्क्याउन भन्ने 'मकै टुरिस्ट' को छोटकरी। मुलुकमै चिया उत्पादनका लागि नामी मेची अञ्चलको इलाम जिल्ला पर्यटकीय दृष्टिले पनि दर्शनीय छ।
 
भारतीय सीमानासँग जोडिएका पहाडी भूभाग भएको यो जिल्लाका गुराँसे क्षेत्र र तिनमा जनजीवन हेर्ने पदयात्रामा जाँदा यो साता सन्दकपुरमा नेपालीलाई मकटुस भनेर जिस्क्याइन्छ भन्ने सुनियो। तैपनि समुद्र सतहको ३०० देखि ३६३६ मिटरसम्मको उचाइमा अवस्थित इलामका लेकाली पाखामा भुटेका मकैले बिरामी पर्न नदिने रहेछ।
 
यहाँका माइमझुवा र माबु गाविस पाँचदिने पदयात्राले छिचोल्दा विराटनगरबाट पुगेको सञ्चारकर्मीले गर्मि बिर्सियो। यहाँको चिसो मौसमलाई बोरामा हाल्न मिल्न भए घर लैजाने कल्पना पनि आए। प्रकृतिले भूगोल यस्तै बनाएको छ। कतै गर्मि मात्र हुन्न, अति गर्मि हुन्छ। कतै जाडो बाह्रैमास हुन्छ।
 
विराटनगरबाट इलाम बजारसम्म मोटरसाइकलमा। त्यसपछि सार्वजनिक सवारीका रूपमा चल्ने ल्याण्डरोभर जीपमा बिब्ल्याटे हुँदै माइपोखरी पुगेपछि पदयात्रा थालियो। माइमझुवाको टोड्केभरना, खोर्सानीटार र गुराँसे वन छिचोलेर पाँचथर जिल्लाको सिदिनको सीमाना पर्ने गोरूवाले हुँदै सन्दपुरसम्मको यात्रा कठिन रह्यो। धेरै हिँडेपछि घर हैन, गोठ भेटिन्थे। 

सन्दकपुर नेपाल-भारत सीमानामा छ। सीमास्तम्भका वारिपारि सूर्योदय र हिमाली दृश्य हेर्न स्वदेशी विदेशी धुइरिने ठाउँमा भारतीय पैसामै विनिमयको चलन रहेछ। पारिको मदिरा, पारिकै सवारी। सन्दकपुर छाडेर दोबाटे र लालबासहुँदै माबु झर्दा नेपाली भूभागबाट उत्पादित चिया र छुर्पी दार्जिलिङको बजारमा बेच्न लैजानेहरू भेटिन्थे। गोरूवालेमा पाँचथरबाट ल्याएका गोरू पारी बेच्न लाँदै गरेकाहरू देखिन्थे। 

नेपालतर्फधेरै ठाउँ सडक भर्खर खनिएका छन्। सबैमा नेपाली नम्बर प्लेटका सवारी कुदेको देख्न पाइन्न। बाह्रैमास चिसो झेल्ने देउराली, खर्क र भञ्ज्याङहरूमा शेर्पा समुदायले चलाएका चिटिक्कका साना होटल भेटिन्छन्। कृषि उपजका लागि उर्वर इलामका पाखाहरू धेरैमा अहिले रूख काटेर बेच्ने चलन बढेछ। आफ्नो जमिनमा भएका रूखपात ढालेर बेच्न लैजान ठिक्क राखिएकाहरू पनि भेटिए। 

No comments:

Post a Comment