Saturday, December 17, 2011

उतरार्द्धको एउटा अभियानकर्मी


रातो झोला बोकेर लुखुर-लुखुर हिँडदै गरेका भेटिन्छन्। अगाडि सानो टोक्रो भएको साइकलमा कहिलेकाही भेटिन्छन्। जगत सरका बारेमा बेलाबखत लेख्न थालेको सात वर्ष बितेछ। निकै अघि एउटा औपचारिक कार्यक्रममा निर्धारित समयमै पुगिएछ  या भनौ छिटो पुगिएछ। नेपाली चलन, तोकिएकै समयमा कार्यक्रम कहिले पो सुरु हुन्छ र।
 
त्यहाँ केहीबेरको बसाइले मलाइ जसपाल भट्टीको 'फ्लप शो' धारावाहिकको एउटा एपिसोड सम्झाएको थियो। सुरु हुने भनिएको समयमा पुगेका प्रमुख अतिथि आयोजक र निम्त्याइएकामध्ये सबैभन्दा छिटो भएको। केही मान्छे आए। कुरा थालियो।
 
रातो झोला बोकेका प्राविका त्यसबेलाका हेड सर जगतप्रसाद अर्यालसँग भेट भयो। उनले खातापत्र फुकाए। अनि आइपुगेका ३/४ जनालाई आग्रह गरे - '५ रुपैया दान दिनुस्। तपाइलाई बुढेसकालमा काम लाग्छ।' उनको आग्रहले जिज्ञासा बढायो। थाहा भयो - वृद्धाश्रम बनाउनका लागि अभियान रहेछ। २०६२ सालको कुनै महिना थियो त्यो। विराटनगरको संसारीमाइस्थानमा भानुमोरङ प्रावि नामको एउटा स्कुल छ। उनी त्यसैका प्रधानाध्यापक रहेछन्। नगरभित्रको स्कुल, केटाकेटी बाहिर भुइँमा पढ्न बसेको देखेर एक दिन त्यसको एउटा तस्बिर मैले पत्रिकामा पनि पठाएको थिएँ।
 
जगत सरको अभियान राम्रो लाग्यो। उमेरछँदा यस्ता कुराको चिन्ता रहन्न। मरेपछि डुमै राजा। तर, असमायिक केही भइहालेन भने वृद्धावस्था सबैको आउँछ। उनको अभियान महत्त्वाकांक्षी लाग्दालाग्दै पनि तरिका मन परेको थियो। मैले फिरेर त्यो दिन कार्यक्रमको समाचारको साटो उनकै बारेमा लेखेँ। पत्रिकाले पहिलो पानामामा एंकर समाचार बनाएको थियो। आज त्यो समाचारको कटिङ मसँग छैन। भएको भए ब्लगमा टाँसी राख्दा कहिलेकाही हेर्न मलाई नै काम लाग्थ्यो। 

जे होस् त्यो कटिङ जगत सरसँग अझै सुरक्षित रहेछ। गत बिहीबार वृद्धवृद्धाको टोली लिएर सर मेरो अफिसमा आउनु भएपछि मैले पत्रिकाको त्यो कटिङ देख्न पाएँ। समाचार छापिएका भोलिपल्ट सोही विषयमा सम्पादकीय पनि आएको रहेछ। त्यसपछि पनि बेलाबखत मैले वृद्धाश्रमलाई समाचारको विषय बनाएको छु।
  
जगत सरले २०६२ भदौमा स्कुलबाट अवकाश पाएका रहेछन्। त्यसपछि विराटेश्वर वृद्धाश्रम थाले। विराटनगरबाट जोगबनी जाने सडकछेउ ५ कट्ठा जग्गामा भएको सानो घरमा अहिले वृद्धाश्रम सञ्चालनमा छ। विराटनगरका लागि यो नौलो छैन। कसैले दानपुण्य गर्न मन लागे वा दिवंगत अभिभावक सम्झनु परे वृद्धाश्रममा गएर खाना, फलफूल खुवाउने, दान दिने र लुगाफाटो वितरण गर्ने चलन नै बसेको छ। आश्रम बहालको जग्गामा सञ्चालनमा छ। यो नाफा कमाउने संस्था होइन।
 
जगत सर मेरो अफिसमा समाचार दिन आउनुभएको थिएन। उहाँले भन्नुभयो - 'चार दिनदेखि घरदैलो अभियान छ।' मासिक खर्च करिब डेढ लाख पुग्छ। विभिन्न परिस्थिति वृद्धवृद्धा अहिले आश्रममा ल्याइन्छन्, आइपुग्छन्। तर, न्यून मात्र आर्थिक सहयोग जुटेको छ। ५ रुपैया दानबाट र अन्य सहयोग गरि २५ लाख रुपैयाँ जम्मा भएको रहेछ। 

अहिलेको अभियान आश्रमका लागि  आफ्नै जग्गा खरिद गरि भवन बनाउने रहेछ। 'म अहिले तपाइँजस्तासँग सहयोग माग्न हिँडेको,' उहाँले भन्नुभयो। दुर्भाग्य, पर्समा ५ रुपैयाको नोट  मात्रै रहेछ। त्यही दिइयो। पठाइयो। तर, फेरि पनि समाचार लेख्न मन लाग्यो। र, पूर्वाञ्चल पानाका लागि समाचार लेखियो।
 
जगत सरको अभियान महत्त्वाकांक्षी छ। चाहना छ, एक करोड रुपैया जम्मा होस्। ६८ वर्षका यी वृद्धले महिनाभरिमा पाउने पेन्सनको रकम पनि आधा घरमा दिएर आधा वृद्धाश्रमकै लागि खर्च गर्ने गरेको थाहा पाउदा श्रद्धा लागेर आयो। 

जिविस र नगरपालिकाले बेलाबखत केही रकम सहयोग गरे पनि त्यो नियमित दिने योजना भित्र परेको छैन। ४० वृद्धवृद्धा पालिरहेको आश्रममा म बेलाबखत पुग्छु। सधै समाचारको मेलो हुँदैन। तर, जीवनयात्रा टुंगिनअघि केही गरेरै जाने अर्याल सरको अभियान हेर्दा धेरैबेर कुरा गरिरहन मन लाग्छ। 

No comments:

Post a Comment