Friday, July 4, 2014

गधा र हामी

सिर्कना नलाएसम्म
भारी नबोकाएसम्म
गधा मैमत्ता लाग्छ
थाहा छैन हो लागेको कि भएको
स्वर सुन्यौ ?
हो है !
उसका आवाज
न सुर नत ताल
प्रिय धोबी,
श्रम लिन्छौ भने
सिर्कना लाउ
भारी थप
घाँस देउ
दाना-पानी देउ
आखिर तिम्रो पनि
चल्छ होला छातिभित्र मुटु ।।

बजार बजार
बेसुर आवाजमा बोल्छन्
दुर्इ खुट्टा अल्झाइएका छन्
तैपनि हिड्छन्
दासताको बन्धनभित्र
देख्छु उ गर्छ माया
लाउँछ आफ्नालाई लात्ती पनि
ऊ रूञ्छ कि हाँस्छ
मनभित्र मर्छ कि बाँच्छ
धोबीलाई शायद
मजा पनि होला भाषा नबुझनुको
गधाको भार
जीवनको सार
यतै कतै खान्छ मेल मनुवासँग ।।


हाम्रा दायित्य
हाम्रा कर्म
हाम्रा धोबीका सिर्कना
फोहर चर्नु
कागज चपाउनु
आगो बाल्ने पेट
इच्छा फलाउने मन
बन्धनको जीवन
उसले सन्तानलाई स्कुल पठाउनु छैन
अस्पताल र अफिस धाउनु छैन
लुगा चाहिदैन
फोहर भन्दैन
मोहर चिन्दैन
चिनेको भोकमात्रै हो
तै पनि मालिकप्रदत्त
सिर्कना, पानी र दाना
उसले दिने श्रम
बेहोरेको नियति
यतै कतै खान्छ मेल मनुवासँग ।।




विराटनगर, २० असार २०७०

1 comment:

  1. purushottam bhandariJuly 4, 2014 at 8:19 PM

    very nice, brothher.............the theme n the title both r suitable n realistic

    ReplyDelete