साँझको समय। तपाईं ओछ्यानमा पल्टिनुहुन्छ, दिनभरका दौडधुपले ज्यान थाकेको हुन्छ। तर दिमागले थाकेँ भन्दैन, झन् सक्रिय छ। भोलिको काम, हिजोको गल्ती, भविष्यको अनिश्चितता… सबै कुरा एकैचोटि आउँछ। आफैंलाई भन्नुहुन्छ, 'भो, अब धेरै सोच्दिनँ।' तर सोच रोकिन्न। यदि यो तपाईंको दैनिक अनुभव हो भने, यो केवल धेरै सोच्ने बानी मात्र नहुन सक्छ। यो सामान्यीकृत चिन्ता विकार (Generalized Anxiety Disorder, GAD) को संकेत पनि हुन सक्छ।
GAD कुनै एक ठूलो समस्याबाट जन्मिने होइन। यो स-साना, सामान्य लाग्ने चिन्ताहरूको जालो हो, जसले विस्तारै तपाईंको सोच, व्यवहार र जीवनशैलीलाई घेर्दै जान्छ। GAD सामान्य डर वा चिन्ता मात्र होइन। यो एउटा यस्तो अवस्था हो जहाँ व्यक्तिले दैनिक जीवनका स-साना कुराहरूमा पनि धेरै लामो समयसम्म (६ महिना वा सोभन्दा बढी) अत्यधिक चिन्ता लिने गर्दछ।
साना कुरामा पनि धेरै डर लाग्नु वा मनमा कुरा खेलिरहनु, छिट्टै थकाइ लाग्नु र एकाग्र हुन गाह्रो हुनु (Concentration नहुनु), मांसपेसीहरू कडा हुनु वा जिउ दुख्नु, निद्रा लाग्न गाह्रो हुनु वा बीचैमा ब्युँझनु, हातगोडा काम्ने वा मुटुको धड्कन बढ्ने आदि यसका मुख्य लक्षणहरू हुन्।
यो कस्तो हो संकेत ?
हामी प्रायः चिन्तालाई नकारात्मक रूपमा हेर्छौं। तर, चिन्ता आफैंमा खराब होइन। यो त हाम्रो दिमागको सुरक्षा प्रणाली हो, खतरा आउनुअघि सचेत गराउने। तर समस्या तब सुरु हुन्छ, जब यो अलार्म सिस्टम बिना कारण नै बजिरहन्छ।
GAD भएका व्यक्तिमा यो अलार्म कहिल्यै बन्द हुँदैन। सानो कुरा पनि ठूलो खतरा जस्तो लाग्न थाल्छ। यही कारणले उनीहरू थकित, चिडचिडा खालको र मानसिक रूपमा दबाबमा रहन्छन्। मनोविज्ञानमा यसलाई 'बाँच्ने प्रवृत्ति' (Survival Instinct) भनिन्छ। आदिम कालमा जंगली जनावरबाट बच्न यो 'अलार्म' आवश्यक थियो। तर आजको युगमा, हाम्रो मस्तिष्कले अफिसको काम, सामाजिक सम्बन्ध वा भविष्यको अनिश्चिततालाई पनि त्यही जंगली जनावर सरहको खतरा मानिदिन्छ।
मनोवैज्ञानिक आरोन टी. बेकका अनुसार, GAD भएका व्यक्तिहरूमा 'संज्ञानात्मक विकृति' (Cognitive Distortion) अर्थात् सोचाइमा त्रुटि हुने गर्छ। यसका दुई मुख्य पाटाहरू छन् :
- खतराको अतिरञ्जना (Overestimation of Danger): एउटा सानो गल्ती हुँदा अब मेरो करियर नै सकियो भन्ने सोच्नु। यो अलार्मले सानो धुवाँलाई पनि ठूलो डढेलोको रूपमा व्याख्या गर्नु जस्तै हो।
- सामना गर्ने क्षमताको न्यून मूल्यांकन (Underestimation of Coping Skills): व्यक्तिलाई आफूभित्र समस्या समाधान गर्ने शक्ति छ भन्ने विश्वास नै हुँदैन। उसलाई लाग्छ, 'म यो परिस्थितिलाई झेल्नै सक्दिनँ।'
जब यी दुई कुरा मिल्छन्, चिन्ता संकेतबाट बदलिएर शत्रु बन्न पुग्छ। यसरी बिना खतरा बजिरहने अलार्मले शरीरलाई 'फाइट अर फ्लाइट' (Fight or Flight) मुडमा राखिरहने हुनाले नै व्यक्ति मानसिक र शारीरिक रूपमा गलिसकेको महसुस गर्छ। त्यसैले, यो अलार्मलाई पूर्ण रूपमा बन्द गर्ने भन्दा पनि यसको 'सेन्सिटिभिटी' (संवेदनशीलता) घटाउनु नै वास्तविक उपचार हो।
GAD को मनोवैज्ञानिक जरा : सोचको जालो
GAD को केन्द्रमा 'what if…' सोच हुन्छ। यदि म असफल भए भने? यदि केही नराम्रो भयो भने? यदि म तयार भइँन भने?
यस्ता प्रश्नहरू कहिल्यै अन्त्य हुँदैनन् र दिमागले यसको उत्तर खोज्न खोज्दा झन् गहिरो जालोमा फस्छ। यही ठाउँमा Cognitive Behavioral Therapy ले काम गर्छ। यसले तपाईंलाई सोचको सत्यता जाँच्न सिकाउँछ। के यो वास्तविक खतरा हो, कि मेरो दिमागले बनाएको कथा?
सन् १९२० मा जोन बी वाट्सन र रोजेली रेनरले गरेको एउटा प्रयोग मनोविज्ञानमा चर्चित छ। उनीहरूले अल्बर्ट नामका सानो बालकलाई सेतो मुसासँग खेल्न दिए। ऊ मजाले खेल्न थाल्यो। सुरुमा ऊ डराउँदैनथ्यो। पछि, हरेकपटक मुसा देखाउँदा ठूलो आवाज बजाउने गरियो। केही समयपछि अल्बर्ट मुसा मात्र होइन, मुसा जस्तो देखिने सेतो चीज (जस्तै: रौं भएको कोट) देख्दा पनि डराउन थाल्यो।
के निष्कर्ष आयो भने डर (fear) र चिन्ता (anxiety) धेरै हदसम्म सिकिने व्यवहार हुन्। यसको अर्थ जसरी सिकिन्छ, त्यसरी नै सिक्न अनिच्छा पनि गर्न सकिन्छ।
Cognitive Theory of Anxiety - हाम्रो सोच नै हाम्रो डरको स्रोत
प्रसिद्ध मनोवैज्ञानिक आरोन टी बेक १९६० को दशकमा अघि सारेको सिद्धान्तमा भन्छन् - 'हामीलाई चिन्तित बनाउने घटना होइन, त्यसबारे हाम्रो व्याख्या (interpretation) हो।
उदाहरणका लागि, घटना : हाकिमले तपाईंलाई बोलाए।
सोच १ : सायद कामको कुरा होला → शान्त
सोच २ : म गल्तीमा परेँ, अब समस्या हुन्छ → चिन्ता
के निष्कर्ष आयो भने GAD मा समस्या बाहिरी संसारमा होइन, हाम्रो 'स्वचालित सोच' (automatic thoughts) मा हुन्छ। त्यसैले Cognitive Behavioral Therapy ले सोचलाई परिवर्तन गरेर चिन्ता घटाउने काम गर्छ। अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयमा कार्यरत रहँदा मनोवैज्ञानिक बेकले सन् १९७० को दशकमा चिन्ता र डरको स्रोत हाम्रो सोचाइ नै हो भनेर विस्तृत व्याख्या गरेका थिए।। उक्त व्याख्या १९७६ मा प्रकाशित उनको पुस्तक 'Cognitive Therapy and the Emotional Disorders' मा छ।
बेकका अनुसार चिन्ता भएका व्यक्तिहरूले कुनै पनि परिस्थितिलाई 'अत्यधिक खतरापूर्ण' (Overestimating danger) मान्छन् र आफ्नो सामना गर्ने क्षमतालाई 'अत्यधिक कमजोर' (Underestimating coping skills) ठान्छन्। उनले यसलाई Cognitive Distortions (सोचाइमा हुने त्रुटिहरू) भनेका छन्।
बेगको सिद्धान्तको मूल मर्म हाम्रो सोच नै डरको स्रोत हो। उनका अनुसार चिन्ताको चक्र यसरी चल्छ:
- स्वचालित नकारात्मक विचार (Automatic Negative Thoughts) : कुनै सामान्य घटना हुनेबित्तिकै मनमा नराम्रो नतिजाको कल्पना आउनु। (उदाहरण: फोन नउठ्दा 'कतै दुर्घटना त भएन?' भन्ने सोच्नु)।
- विपत्तिजनक सोच (Catastrophizing) : सानो समस्यालाई पनि ठूलो विनाशको रूपमा हेर्नु।
- गलत धारणा : 'यदि मैले नियन्त्रण गर्न सकिनँ भने सबै बर्बाद हुन्छ' भन्ने सोच राख्नु।
बेकभन्दा केही समय अगाडि (सन् १९५० को दशकमा) अर्का मनोवैज्ञानिक अल्बर्ट एलिसले REBT (Rational Emotive Behavior Therapy) मार्फत यस्तै धारणा अघि सारेका थिए। मानिसहरू बाहिरी कुराले होइन, ती कुराहरूबारे उनीहरूले राख्ने धारणा (Beliefs) ले विचलित हुन्छन्,' उनले भनेका थिए। हाम्रो सोच नै डरको स्रोत हो भन्ने कुरालाई बेक र एलिस दुवैले पुष्टि गरेका छन्। उनीहरूको तर्क छ कि यदि हामीले आफ्नो सोच्ने तरिका (Cognitive restructuring) बदल्यौँ भने, हाम्रो डर र चिन्तालाई पनि नियन्त्रण गर्न सकिन्छ।
यस सिद्धान्तले भन्छ - समस्या बाहिर होइन, हाम्रो मष्तिस्कले त्यो समस्यालाई कसरी 'हेर्छ' भन्ने कुरामा छ।
***
रातको समय छ। एउटा सुनसान गल्लीमा दुई जना राम र श्याम पालैपालो हिँडिरहेका छन्। अचानक, टाढा कतै एउटा झाडी हल्लिन्छ र अलि ठूलो आवाज आउँछ। रामले त्यो आवाज सुन्नेबित्तिकै सोच्यो - 'पक्कै पनि त्यहाँ कोही लुकेर बसेको छ, मलाई आक्रमण गर्न लागेको हुनुपर्छ!'
सोच : खतरा छ, म असुरक्षित छु। शारीरिक प्रतिक्रिया : उसको मुटुको धड्कन बढ्यो, पसिना आयो र ऊ डरले काम्न थाल्यो। परिणाम : ऊ त्यहाँबाट भाग्यो र रातभर निदाउन सकेन।
केही समयपछि श्याम त्यही ठाउँमा आइपुग्यो। आवाज सुनेपछि उसले सोच्यो - 'आज अलि हावा चलिरहेको छ, सायद कुनै बिरालो वा कुकुर झाडीमा पसेको होला।' सोच : यो त प्राकृतिक आवाज हो, कुनै खतरा छैन। शारीरिक प्रतिक्रिया : ऊ शान्त रह्यो, उसको शरीरमा कुनै परिवर्तन आएन। परिणाम : ऊ आरामले आफ्नो घर पुग्यो र मिठो निद्रा सुत्यो।
घटनाको विश्लेषण (Psychological Breakdown)
यो कथामा घटना एउटै थियो, झाडी हल्लिनु। तर राम र श्यामको अनुभव पूर्ण रूपमा फरक भयो। किन?
घटना (Activating Event): झाडी हल्लियो।
सोच (Belief/Thought): रामले "खतरा" देख्यो, श्यामले "बिरालो" देख्यो।
भावनात्मक नतिजा (Consequence): रामलाई डर (Anxiety) भयो, श्याम शान्त रह्यो।
आरोन टी. बेकले यही कुरा बुझाउन खोजेका हुन्। उनले भनेका छन् कि बाहिर के भइरहेको छ भन्ने कुराले भन्दा पनि हामीले आफ्नो मनभित्र त्यसलाई कस्तो अर्थ दिन्छौँ भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्य निर्धारण गर्छ।
चिन्ता (Anxiety) भएका व्यक्तिहरू प्रायः 'राम' जस्तै हुन्छन्— उनीहरूको दिमागले सधैं सबैभन्दा खराब सम्भावना (Worst-case scenario) को मात्र कल्पना गर्छ, जसलाई मनोविज्ञानमा Catastrophizing भनिन्छ।
के तपाईंले कहिल्यै आफ्नो जीवनमा यस्तो कुनै 'झाडी हल्लिएको' जस्तो सानो घटनालाई ठूलो खतरा मानेर चिन्ता लिनुभएको अनुभव छ?
***
सेयर बजार र मनका तरंगको समानता
सेयर बजारमा लगानी गर्नेहरूलाई थाहा छ, बजार सधैं एउटै रेखामा हिँड्दैन। कहिले नेप्से परिसूचक हरियो हुन्छ, कहिले रातो। एउटा अनुभवी लगानीकर्ताले बजार घट्दा (Bearish) अत्तालिएर सबै सेयर बेच्दैन र बढ्दा (Bullish) मात्तिएर जथाभावी लगानी गर्दैन। उसले बजारको उतारचढावलाई 'वस्तुपरक' भएर हेर्छ।
हाम्रो मन पनि एउटा 'सेयर बजार' जस्तै हो। चिन्ताका विचारहरू आउनु भनेको बजारमा केही समयका लागि गिरावट आउनु जस्तै हो। GAD भएको व्यक्तिले त्यो गिरावटलाई 'सबै बर्बाद भयो' (Crash) भन्ने ठान्छ र मानसिक रूपमा 'प्यानिक सेल' गर्न थाल्छ। तर, जसरी बजारको करेक्सन (Correction) प्राकृतिक हो, त्यसरी नै मनमा विभिन्न सोच आउनु पनि स्वाभाविक हो।
तपाईंले कम्पनीको 'फन्डामेन्टल' हेरेर लगानी गरेपछि दिनभरिको सानो उतारचढावले खासै फरक पार्दैन। त्यसैगरी, यदि तपाईंको जीवनका आधारभूत पक्षहरू (स्वास्थ्य, सम्बन्ध, कर्म) मा तपाईं स्पष्ट हुनुहुन्छ भने, मनमा उठ्ने 'चिन्ताका सूचक' हरूलाई केवल एउटा अस्थायी उतारचढावको रूपमा हेर्न सिक्नुहोस्। बजारलाई नियन्त्रण गर्न सकिँदैन, मात्र आफ्नो पोर्टफोलियो र धैर्यलाई व्यवस्थापन गर्न सकिन्छ। चिन्ताको व्यवस्थापन पनि ठ्याक्कै त्यस्तै हो।
***
शरीर पनि बोलिरहेको हुन्छ
चिन्ता केवल दिमागमा सीमित हुँदैन, शरीरमा पनि देखिन्छ। टाउको दुख्ने, छाती भारी हुने, मांसपेशी टाइट हुने, निद्रा नलाग्ने। यी सबै शरीरका संकेत हुन्, 'तपाईं ओभरलोडको अवस्थामा हुनुहुन्छ।'
तर हामी प्रायः यी संकेतहरूलाई बेवास्ता गर्छौं। वास्तवमा, शरीरलाई शान्त बनाउनु भनेको दिमागलाई शान्त बनाउनु हो। जब शरीर लगातार तनावमा हुन्छ, स्नायु प्रणाली (nervous system) पनि ‘fight or flight’ अवस्थामै अड्किन्छ। यस्तो अवस्थामा गहिरो सास फेर्ने, हल्का स्ट्रेचिङ गर्ने वा विश्राम लिने अभ्यासले शरीरलाई फेरि safe mode मा फर्काउन मद्दत गर्छ। Yoga जस्ता अभ्यासहरूले शरीर र दिमागबीचको यो सम्बन्धलाई सन्तुलित बनाउँछ, जसले चिन्ता कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
GAD सँग जुध्ने व्यवहारिक उपायहरू
१. चिन्तालाई रोक्ने होइन, समय दिने
दिनभरि चिन्ता गर्ने सट्टा, दिनको १५–२० मिनेट 'worry time' छुट्याउनुहोस्। बाँकी समय दिमागलाई भन्नुहोस् - 'यो कुरा म पछि सोच्नेछु।'
२. सास फेर्ने अभ्यास: तुरुन्तै असर गर्ने उपाय
जब चिन्ता बढ्छ, सास छिटो छिटो फेरिन्छ। त्यसलाई उल्ट्याउनुहोस् :
- ४ सेकेन्ड सास लिनुहोस्
- ४ सेकेन्ड रोक्नुहोस्
- ६ सेकेन्ड फाल्नुहोस्
यसले दिमागलाई सन्देश दिन्छ - तपाईं सुरक्षित हुनुहुन्छ।
३. माइन्डफुलनेस : अहिलेमा फर्कने कला
चिन्ता सधैं भविष्यमा हुन्छ। तर शान्ति? अहिलेमा।
Mindfulness meditation ले तपाईंलाई वर्तमान क्षणमा फर्कन सिकाउँछ, जहाँ धेरैजसो डरहरू वास्तविक हुँदैनन्। माइन्डफुलनेस भनेको विचार रोक्ने प्रयास होइन, विचारलाई देख्ने अभ्यास हो। जब तपाईं आफ्नो सास, शरीरको अनुभूति वा वरपरका आवाजमा ध्यान दिन थाल्नुहुन्छ, दिमाग बिस्तारै भूत र भविष्यको यात्राबाट फर्केर अहिलेमा बस्न सिक्छ। यसले विचारहरूलाई नियन्त्रण गर्ने होइन, तिनीसँग दूरी बनाउन मद्दत गर्छ। नियमित अभ्यासले प्रतिक्रिया (reaction) घटाएर सचेत प्रतिक्रिया (response) बढाउँछ। परिणामस्वरूप, चिन्ताले तपाईंलाई तान्ने होइन, तपाईंले त्यसलाई शान्त रूपमा हेर्न सक्ने क्षमता विकास हुन्छ।
४. शरीर चलाउनुहोस्, दिमाग हल्का हुन्छ
व्यायाम केवल शरीरका लागि होइन, दिमागका लागि पनि हो। नियमित Yoga, हिँडाइ वा स्ट्रेचिङले तनाव हर्मोन घटाउँछ र मन हल्का बनाउँछ।
यसलाई अझ बुझ्दा, जब तपाईं शरीर चलाउनुहुन्छ, शरीरले feel-good केमिकलहरू (जस्तै endorphins) उत्पादन गर्छ, जसले प्राकृतिक रूपमा मूड सुधार गर्छ। लामो समयसम्म बसिरहँदा दिमागमा नकारात्मक सोचहरू घुमिरहन्छन्, तर सानो हिँडाइले पनि त्यो चक्र तोड्न सक्छ। विशेष गरी बिहानको हल्का व्यायाम वा साँझको छोटो वाकले दिमागलाई reset गर्ने काम गर्छ। नियमित अभ्यासले आत्मविश्वास पनि बढाउँछ, किनकि तपाईंले आफूलाई सक्रिय र नियन्त्रणमा भएको महसुस गर्नुहुन्छ। यसरी, शरीर चलाउनु भनेको दिमागलाई विश्राम दिनु नै हो।
५. सोचलाई लेख्नुस् बरु, गुम्स्याएर भित्र नराख्नुस्
जब विचारहरू दिमागमै घुमिरहन्छन्, ती ठूला र डर लाग्दा लाग्छन्। कागजमा लेख्दा, ती स्पष्ट र सानो देखिन्छन्। लेख्न सुरु गरेपछि डरको आयतनका प्राविधिक पक्षमा ध्यान जान्छ। चिन्ता आफ से आफ घट्छ।
यसलाई journaling वा thought-dumping पनि भनिन्छ, जहाँ तपाईं मनमा आएको जस्तोसुकै कुरा सेन्सर नगरी लेख्नुहुन्छ। लेख्ने क्रममा तपाईंले आफ्नो चिन्ताको ढाँचा (pattern) देख्न थाल्नुहुन्छ, के कुराले ट्रिगर गर्छ, कसरी बढ्छ, र कति यथार्थपरक छ। धेरैपटक, लेख्दा तपाईं आफैंले महसुस गर्नुहुन्छ कि केही डरहरू अतिरञ्जित छन्। यसले दिमागको भीड घटाएर भावनालाई व्यवस्थित गर्न मद्दत गर्छ। नियमित रूपमा लेख्ने बानीले आत्म–बुझाइ (self-awareness) बढाउँछ र समस्या समाधान गर्ने स्पष्टता पनि दिन्छ।
६. 'सबै कुरा मेरो नियन्त्रणमा छैन' स्वीकार्नुस्
GAD को मुख्य समस्या हो, सबै कुरा नियन्त्रण गर्न खोज्नु। तर जीवनको धेरै हिस्सा अनिश्चित हुन्छ। त्यो स्वीकार गर्नु नै मानसिक स्वतन्त्रता हो। के तपाइँले नगर्दैमा कुनै काम हुँदै हुँदैन? त्यसका लागि चिन्ता तपाइँले मात्रै लिनुपर्ने हो? होइन वा छैन भने ढुक्क हुनुस्। सबै परिस्थिति आफ्नै हातमा लिएर काम छैन।
हामी धेरैजना यस्ता मान्छे भेट्छौँ, जसलाई देशचिन्ता उग्रसँग हुन्छ। तर, संसदीय निर्वाचन हुन्छ, बहुमतको सरकार हुन्छ। बहुमत ल्याउनेले सरकार बनाउँछ। दलहरुले छनोट गरेका व्यक्तिले प्रमुख पदहरु पाउँछन्। पाएको जिम्मेवारीअनुसार काम गर्न नसकेकाहरुको आलोचना हुन्छ। आलोचना सरकारलाई मन पर्दैन, जिम्मेवारहरु परिवर्तन हुन्छन्। एउटा साधारण मनुवाले, मतदाताले सरकारको चिन्ता किन लिनु? सरकार जसरी चल्नुपर्ने हो त्यसरी चल्छ चल्छ।
१९९० को दशकमा माइकल डुगास लगायतका अनुसन्धानकर्ताले विकास गरेको अवधारणा छ, 'अनिश्चिततासँग असहजता नै चिन्ताको जड' (Intolerance of Uncertainty Theory)। यो सिद्धान्त विशेषगरी GAD बुझ्नका लागि निकै महत्त्वपूर्ण मानिन्छ। उनीहरूको निष्कर्ष थियो, केही मानिसहरू 'अनिश्चितता' सहनै सक्दैनन्। उनीहरूलाई थाहा नभएको कुरा, अधुरो उत्तर, वा भविष्यको अस्पष्टता अत्यन्तै असहज लाग्छ।
जसरी हामी फिल्म हेर्दा अन्त्यमा के हुन्छ भन्ने कौतूहललाई स्विकार्छौं, जीवनको अनिश्चिततालाई पनि त्यसरी नै कौतूहलको रूपमा हेर्न सकिन्छ। त्यसैले उनीहरू बारम्बार सोचिरहन्छन्, यदि यस्तो भयो भने? म तयार नभए के हुन्छ? निष्कर्ष के आयो भने GAD को मुख्य इन्धन नै निश्चितता (certainty) अर्थात् मनका लागि ढुक्क हुने ठाउँको खोज हो। तर विडम्बना जीवन कहिल्यै कसैको पूर्ण निश्चित हुँदैन। मान्छे अनिश्चिततामा बाँच्छ भन्ने जानीबुझी किन टाउको दुखाउनु? टाउको दुखाउने कामै छैन।
राति बेलैमा सुत्नुस्। बिहान छिटै उठ्नुस्। केहीबेर हिँड्नुस्, मन लाग्छ भने व्यायाम गर्नुस्। आफूलाई कस्तो खाना उपयुक्त भन्ने तपाइँलाई थाहा नै छ, त्यसैले आहारबिहार सन्तुलित राख्नुस्। आफूले काम गरुन्जेल काममा ध्यान दिनुस्। काम सकिएपछि करेसाबारी परस्नुस्। अरुलाई अप्ठ्यारो नपर्ने आफ्ना रुचिको गतिविधि गर्नुस्। सबैका लागि जिम्मेवारी निश्चित छन्। सबैले काम गरेकै छन्।
७. सहयोग माग्न हिच्किचाउनु हुँदैन
कहिलेकाहीँ, आफैंले मात्र सम्भाल्न गाह्रो हुन्छ। त्यो बेला मनोवैज्ञानिक वा विशेषज्ञसँग कुरा गर्नु कमजोरी होइन - बुद्धिमत्ता हो।
धेरै मानिसहरू म आफैं सम्हाल्छु भन्ने सोचले सहयोग माग्न ढिला गर्छन्, तर यसले समस्या झन् जटिल बनाउन सक्छ। पेसेवरसँग कुरा गर्दा तपाईंले आफ्नो अनुभव सुरक्षित र नन-जजमेन्टल वातावरणमा व्यक्त गर्न पाउनुहुन्छ। Cognitive Behavioral Therapy जस्ता विधिले तपाईंलाई व्यवहारिक सीप सिकाउँछन्, जसले चिन्तालाई बुझ्न र व्यवस्थापन गर्न मद्दत गर्छ। कहिलेकाहीँ औषधि पनि आवश्यक हुन सक्छ, जुन विशेषज्ञको सल्लाहमा मात्र लिनुपर्छ। सम्झनुहोस्, सहयोग माग्नु भनेको हार मान्नु होइन, आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु हो।
चिन्तासँगको नाता फेरौँ
चिन्ताको भुमरीमा फसेका बेला लाग्न सक्छ, यो समस्या, चिन्ता मलाई मात्रै हो, पीडा भोग्ने म मात्र हुँ। तर सम्झनुहोस्, संसारभरि करोडौं मानिसहरू यही अदृश्य युद्ध लडिरहेका छन्। मानसिक स्वास्थ्यको चुनौती कुनै कमजोरी होइन, यो एउटा मानवीय अनुभव हो। जसरी शरीर बिरामी हुँदा हामी उपचार खोज्छौँ, मन भारी हुँदा सहयोग माग्नु पनि बुद्धिमानी हो।
आफन्त, साथीभाइ वा विशेषज्ञसँग मनका कुरा खोल्नुहोस्। एउटा सानो संवादले तपाईंको बोझ आधा बनाउन सक्छ। अँध्यारो सुरुङको अन्त्यमा सधैं उज्यालो हुन्छ। तपाईंको अस्तित्व महत्त्वपूर्ण छ र यो कठिन समयमा साथ दिने हातहरू सधैँ उपलब्ध छन्। मात्र एक कदम अगाडि बढ्नुहोस्, तपाईं एक्लो हुनुहुन्न।
GAD सँग जुध्ने 'यात्रा म कसरी चिन्ता हटाउँ?' भन्ने होइन, 'म चिन्ता लिएर कसरी बाँच्न सक्छु?' भन्ने हो। जब तपाईंले चिन्तालाई दुश्मन होइन, संकेतको रूपमा हेर्न थाल्नुहुन्छ, तपाईं डरबाट भाग्ने होइन, त्यसलाई बुझ्ने र व्यवस्थापन गर्ने दिशामा जानुहुन्छ। अनि बिस्तारै, चिन्ता तपाईंलाई नियन्त्रण गर्ने शक्ति गुमाउँछ…र तपाईं आफ्नो जीवनको नियन्त्रण फिर्ता लिन थाल्नुहुन्छ।
यस दृष्टिकोणलाई मनोविज्ञानमा 'स्वीकृतिमा आधारित दृष्टिकोण' (acceptance-based approach) भनेर पनि बुझिन्छ। यहाँ लक्ष्य चिन्तालाई पूर्ण रूपमा हटाउनु होइन, बरु त्यससँगको सम्बन्ध परिवर्तन गर्नु हो। जब तपाईं 'यो भावना असहज छ, तर खतरनाक होइन' भनेर स्वीकार गर्न सिक्नुहुन्छ, दिमागको प्रतिक्रिया प्रणाली बिस्तारै शान्त हुन थाल्छ। माइन्डफुलनेस ध्यान (Mindfulness meditation) र स्वीकृति–आधारित अभ्यासहरूले यही क्षमता विकास गर्छन्। विचार र भावनालाई रोक्ने होइन, हेर्ने र जान दिने। यही परिवर्तनले तपाईंलाई पीडाको कैदी होइन, आफ्नै अनुभवको सचेत पर्यवेक्षक बनाउँछ। र यहीँबाट वास्तविक मानसिक स्वतन्त्रताको सुरुवात हुन्छ।
***
मान्छे चिन्ताविहीन, सोचविहीन हुन सक्दैन। उमेर, स्तर र परिवेशअनुसार सबैका लागि चिन्ताका रुप अनेक छन्। चिन्ता गर्नै हुँदैन त? दैनिक जीवनमा आइपरेका घटना, व्यवहार, दायित्व आदिबाट उठ्ने सोचाइमा आँखा चिम्लेर मान्छे लापर्वाह ठहरिदैन? प्रश्न स्वाभाविक छ र यसले चिन्ता (Anxiety) र सतर्कता (Alertness) बीचको एउटा महत्त्वपूर्ण रेखालाई स्पष्ट पार्छ। चिन्ता गर्दै नगर्नु वा 'लापर्वाह' हुनु समाधान पक्कै होइन। यसलाई निम्न बुँदाहरूमा स्पष्टसँग बुझ्न सकिन्छ :
१. स्वस्थ चिन्ता (Healthy Concern) र अस्वस्थ चिन्ता (GAD)
मनोविज्ञानले सबै चिन्तालाई नराम्रो मान्दैन। चिन्ता दुई प्रकारका हुन्छन् :
सकारात्मक चिन्ता (Productive Worry) : यसले तपाईंलाई कामप्रति जिम्मेवार बनाउँछ। जस्तै: 'भोलि अफिसमा रिपोर्ट बुझाउनु छ, त्यसैले आजै तयारी गर्छु।' यसले तपाईंलाई कामको जिम्मेवारीतर्फ डोर्याउँछ। आप्नो दायित्वप्रति सचेत राख्छ।
नकारात्मक चिन्ता (Unproductive Worry) : यसले तपाईंलाई कार्य होइन, केवल 'सोचको चक्र' मा फसाउँछ। जस्तै, 'यदि भोलि मैले रिपोर्ट बुझाउन सकिनँ भने हाकिमले गाली गर्छ, मेरो जागिर जान्छ, मेरो परिवार सडकमा आउँछ...' यसमा समस्याको समाधान हुँदैन, केवल डरको विस्तार हुन्छ।
२. जिम्मेवारी र चिन्ता बीचको फरक
आँखा चिम्लिनु लापर्बाही हो, तर आँखा खोलेर 'के गर्ने' भनी योजना बनाउनु जिम्मेवारी हो।
लापर्बाही: समस्या छ भन्ने थाहा हुँदाहुँदै बेवास्ता गर्नु।
सतर्कता: समस्याको पहिचान गर्नु र समाधानको बाटो खोज्नु।
GAD (चिन्ता विकार): समाधान भइसकेका वा समाधान हुनै नसक्ने कुरामा पनि निरन्तर डराइरहनु।
तपाईंले भन्नुभएको जस्तै, दायित्व पूरा गर्न थोरै 'तनाव' (Eustress) आवश्यक हुन्छ। यसले हामीलाई समयमै काम गर्न ऊर्जा दिन्छ। तर जब त्यो तनावले तपाईंको निद्रा, खानपान र स्वास्थ्य बिगार्न थाल्छ, तब त्यो जिम्मेवारी रहँदैन, रोग बन्न पुग्छ।
३. नियन्त्रणको घेरा (Circle of Control)
लापर्वाह नबन्नका लागि हामीले आफ्नो सोचलाई दुई भागमा बाँड्न सक्छौं:
नियन्त्रणमा भएका कुरा : मेरो मेहनत, मेरो व्यवहार, मेरो तयारी। (यसमा ध्यान दिनु जिम्मेवारी हो)।
नियन्त्रण बाहिरका कुरा : अरूको प्रतिक्रिया, भविष्यको अनिश्चितता, बजारको मन्दी। (यसमा घोत्लिनु व्यर्थको चिन्ता हो)।
४. सोच्नु र पीर लिनुमा भिन्नता हुन्छ
तपाईंले दैनिक जीवनका घटनामा 'सोच्नु' पर्छ, विश्लेषण गर्नुपर्छ। तर जब त्यो सोचाइले 'के गर्ने?' (Action) भन्दा पनि 'के होला?' (Fear) भन्ने तिर बढी समय खान्छ, तब मान्छे मानसिक रूपमा थाक्छ। लापर्वाह नहुनु भनेको सचेत हुनु हो, न कि आतंकित हुनु।
तपाईंको चिन्ताले यदि तपाईंलाई काम गर्न मद्दत गरिरहेको छ भने त्यो तपाईंको 'शक्ति' हो। तर यदि त्यसले तपाईंलाई काम गर्नै नसक्ने गरी थकाएको छ भने, त्यो 'अस्वस्थ चिन्ता' हो। सन्तुलन यहीँनेर छ। आफ्नो दायित्वप्रति गम्भीर हुने, तर त्यसको नतिजाप्रति अति-चिन्तित नहुने।
तपाईंलाई आफ्नो दैनिक दौडधुपमा यी दुई बीचको भिन्नता छुट्याउन कत्तिको सहज भइरहेको छ?


No comments:
Post a Comment