Sunday, April 19, 2026

हामी सधैं हतारमा छौँ

बाटामा सवारी आआफ्नै गतिमा अघि बढिरहेका हुन्छन्। काठमाडौंका सडकमा सवारी तीव्र गतिमा कुदाउनै पाइँदैन। तर, अगाडिको सवारीले अलिकति पनि गति घटायो भने पछाडिको सवारीले हर्न बजाउँछ। कुनै कुनै सवारीचालकमा एक निमेष पनि धैर्य हुन्न। लाग्छ, अगाडि गुडिरहेको सवारी गुडेको छैन, सडकमा झण्डा गाडेर उभिएको छ।

काठमाडौंको ट्राफिकमा अड्किएको एउटा बिहान कल्पना गर्नुस्। अगाडि ट्राफिक लाइटको सिग्नल रातो छ, तर हरेक सवारी केही सेकेन्डमै हरियो हुन्छ कि भनेर इन्च–इन्च अगाडि सर्दैछन्। कसैलाई वास्तवमै १० सेकेन्डले फरक पार्दैन, तर सबैलाई हतार छ। यही मानसिकता हाम्रो दैनिक जीवन हो। हामी प्रतीक्षालाई समयको बर्बादी ठान्छौँ, जबकि धेरैजसो अवस्थामा त्यही प्रतीक्षा जीवनको स्वाभाविक लय हो।

मनोविज्ञानले यसलाई ‘Urgency Illusion’ भन्छ, जहाँ हरेक काम तुरुन्तै गर्नुपर्ने जस्तो लाग्छ, चाहे त्यसको वास्तविक आवश्यकता नहोस्। यसले हाम्रो निर्णय क्षमता कमजोर बनाउँछ, सन्तुष्टि घटाउँछ र सधैं केही छुटिरहेको छ भन्ने अनुभूति बढाउँछ। हामी काम पूरा गर्न होइन, केवल सूची छोट्याउन काम गरिरहेका हुन्छौँ। अन्ततः, हतारले हामीलाई अगाडि बढाउँदैन, बरु वर्तमानबाट टाढा लैजान्छ। 

वरिपरि हेर्नुस्, जो कोही हतारमा देखिन्छन्। सोधेका प्रश्नको छिटो उत्तर चाहिएको छ, कामको प्रतिफल झट्ट र धेरै चाहिएको छ। सोसल मिडियाका पोस्टहरुमा धेरै कमेन्ट र लाइक चाहिएको छ, भिडियोमा अधिक भ्युज झट्टै झट्टै चाहिएको छ। 

पर्खने धैर्य छैन। चाहिएको छ, छिटो छिटो चाहिएको छ। लाग्छ, गाडी बिसौनीबाट छुटिसक्यो, हामी भेट्नका लागि पछ्याउने दौडमा छौँ। के तपाइँलाई त्यस्तो लाग्दैन ?

प्रसिद्ध ब्रिटिस लेखक एवम् पत्रकार ओलिभर बुर्कम्यानले आफ्नो पुस्तक '४००० हप्ताहरु' (4000 Weeks) मा एउटा निर्मम सत्यसँग साक्षात्कार गराएका छन् - 'यदि तपाईं ८० वर्ष बाँच्नुभयो भने, तपाईंसँग जम्मा ४ हजार हप्ता मात्र हुन्छन्।' 

सुन्दा झस्काइदिने यो तथ्यांकले हाम्रो समयको सीमालाई प्रष्ट पार्छ। तर विडम्बना, हामी यही सीमित समयलाई खिचेर अनन्त बनाउन खोज्छौं र त्यही प्रयासमा जीवनको 'वर्तमान' गुमाइरहेका हुन्छौं। हामीलाई लाग्छ जीवन धेरै लामो छ र हामीसँग असीमित समय छ। तर '४००० हप्ता' एउटा यस्तो सानो अंक हो, जुन सुन्दा कुनै ठूलो सहरको एउटा सानो हलमा अट्ने मानिसहरूको संख्या जस्तो लाग्छ। यसले हामीलाई समय अनन्त छैन भन्ने कठोर वास्तविकतासँग साक्षात्कार गराउँछ।

हामी सधैं 'टाइम म्यानेजमेन्ट' गरेर आफ्नो लिस्टमा भएका सबै काम भ्याउन खोज्छौँ। बुर्कम्यान भन्छन् - ४००० हप्तामा तपाईंले चाहेका सबै काम गर्न सम्भव नै छैन। त्यसैले, 'कुन काम गर्ने' भन्दा पनि कुन छोड्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सबै भ्याउने कोसिस गर्नु भनेको सधैं हतार र चिन्तामा बाँच्नु हो।' 

हामी हम्मेसी सोच्छौँ - 'यो काम सकेपछि म खुसी हुन्छु' वा 'अर्को महिनादेखि फुर्सद हुनेछ' तर ४००० हप्ताको यो क्यालेन्डरमा हरेक हप्ता एउटा टिक लाग्दै गइरहेको हुन्छ। यसले भन्न खोजेको कुरा के हो भने, जीवन कुनै भविष्यको बिन्दुमा सुरु हुने चिज होइन, यो त अहिले तपाईंले बिताइरहनुभएको यो हप्ता नै हो।

आज हामीसँग समय जोगाउने हजारौं प्रविधि छन्। छिटो यात्राका लागि हवाईजहाजदेखि पलभरमै सन्देश पुर्‍याउने इन्टरनेटसम्म। तर के वास्तवमै हामीसँग फुर्सद छ? पहिलेको तुलनामा हामीसँग सुविधाहरू अकुत छन्, तर समयको 'भोक' झन् बढेको छ। हामी सधैं कतै पुग्ने हतारमा छौं, केही भेट्टाउने दौडमा छौं र यो दौड कहिल्यै नसकिने एउटा 'ट्रेडमिल' जस्तो भएको छ।

 हाम्रा हजुरबुबा-हजुरआमाको पालामा प्रविधि थिएन तर उनीहरूसँग छिमेकीसँग दोहोरो कुरा गर्ने 'समय' थियो। आज हामीसँग 'हाई-स्पीड' इन्टरनेट छ, तर परिवारसँगै बसेर खाना खाँदा पनि हाम्रो ध्यान मोबाइलकै 'नोटिफिकेसन' मा हुन्छ।

मनोविज्ञानको भाषामा यसलाई 'Time Poverty' भनिन्छ, जहाँ मानिसले आफ्नो समयमाथि आफ्नो अधिकार गुमाउँछ। हामी व्यस्त हुनुलाई सफलताको तराजुमा जोख्छौँ, तर के यो व्यस्तता अर्थपूर्ण छ कि केवल एक भ्रम?  हामी किन सधैँ हतारमा छौँ र प्रविधिले हाम्रो समय जोगायो कि झन् खाइदियो? 

४०/५० वर्ष अघिभन्दा अहिले हामीसँग धेरै सुविधाहरू छन्, तर समय कसैसँग छैन। जो पनि हतारमा छन्। आआफ्नै खालका व्यस्तता छन्। खाली हुनेले साथ पाउँदैन। व्यस्त हुनेले साथ खोज्दैन। पैसाले सामान त किन्ला, तर त्यो सामान उपभोग गर्ने 'समय' नै छैन भने त्यसको अर्थ रहँदैन।

१. टाइम एफ्लुएन्सविरुद्ध टाइम पोभर्टी

हामी 'आर्थिक गरिबी' को बारेमा त धेरै सुन्छौँ, तर आधुनिक युगको सबैभन्दा ठूलो गरिबी 'समयको गरिबी' (Time Poverty) हो। मनोवैज्ञानिक एशले विल्यान्स (Ashley Whillans) ले आफ्नो पुस्तक 'टाइम स्मार्ट'मा व्याख्या गरे अनुसार, जो मानिसहरू पैसाभन्दा समयलाई बढी महत्त्व दिन्छन्, उनीहरू ती मानिसभन्दा बढी खुसी हुन्छन् जो समय बेचेर पैसा मात्र कमाउन खोज्छन्।

विरोधाभासमा अचम्मको कुरा के छ भने, मानिस जति धनी हुँदै जान्छ, उसलाई समयको उति नै अभाव महसुस हुन थाल्छ। यसलाई 'Commodification of Time' भनिन्छ। अर्थात्, जब हाम्रो समयको 'बजार मूल्य' बढ्छ, हामीलाई एक मिनेट खाली बस्नु पनि पैसाको नोक्सानी जस्तो लाग्न थाल्छ।

२. प्रयोग: हामी किन खाली बस्न डराउँछौँ? (Idleness Aversion)

शिकागो विश्वविद्यालयका प्राध्यापक क्रिस्टोफर ह्सीले एउटा रोचक प्रयोग गरेका थिए। सहभागीहरूलाई उनले दुईवटा विकल्प दिए, १५ मिनेट खाली बस्ने वा १५ मिनेट हिँडेर कतै गएर चकलेट लिएर आउने।

नतिजाले देखायो कि मानिसहरू बिना काम बस्नुभन्दा अर्थहीन काममै भए पनि व्यस्त रहन चाहन्छन्। यसको निष्कर्ष के हो भने मानिसको मस्तिष्क 'खाली' बस्न डराउँछ किनभने खाली समयमा मानिसले आफ्ना आन्तरिक डर, चिन्ता र अस्तित्वको प्रश्नहरूसँग जुध्नुपर्ने हुन्छ। व्यस्तता त केवल ती प्रश्नहरूबाट भाग्ने एउटा 'सुरक्षित ढाल' मात्र हो।

३. 'व्यस्तता' को प्रतिष्ठा (Busy-ness as a Status Symbol)

पहिलेको समयमा 'फुर्सद' (Leisure) हुनुलाई धनी र उच्च वर्गको पहिचान मानिन्थ्यो। तर आज समय बदलिएको छ। आज 'म साह्रै व्यस्त छु' भन्नुको अर्थ 'म धेरै महत्त्वपूर्ण र मागमा भएको व्यक्ति हुँ' भन्ने सन्देश दिनु हो। सामाजिक मनोविज्ञान अनुसार हामीले 'फुर्सद' लाई आलस्य र 'व्यस्तता' लाई सफलताको मानक बनाएका छौँ। यसलाई 'The Busyness Trap' भनिन्छ।

४. प्रविधि : समय जोगाउने कि खाने भाँडो?

हामीले वासिङ मेसिन, इमेल र छिटो चल्ने यातायातका साधन बनायौँ ताकि समय जोगियोस्। तर विडम्बना के भयो भने जति समय जोगियो, हामीले त्यति नै धेरै काम थप्यौँ।

पार्किसन्स ल (Parkinson’s Law): 'काम उति नै फैलिन्छ, जति त्यसका लागि समय उपलब्ध हुन्छ।' इमेलले पत्राचारको समय त जोगायो, तर अब हामी दिनमा ५ वटा चिठ्ठी होइन, ५०० वटा इमेलको जवाफ दिन बाध्य छौँ। यसको निष्कर्षमा यति बुझौँ, प्रविधिले समय जोगाएन, बरु कामको गति र अपेक्षा बढाइदियो।

एक अध्ययन अनुसार, स्मार्टफोन प्रयोगकर्ताहरूले दिनमा औसत २,६१७ पटक आफ्नो फोन छुन्छन्। यो 'डिजिटल डिस्ट्र्याक्सन' ले गर्दा हाम्रो 'Deep Work' (गहिरो ध्यान दिएर गरिने काम) गर्ने क्षमता घटेको छ, जसले गर्दा थोरै काम गर्न पनि धेरै समय लाग्छ र हामी सधैँ हतारमा हुन्छौँ। ओलिभर बुर्कम्यानको '4000 Weeks'। (मानिसको औसत आयु मात्र ४००० हप्ता हुन्छ)। उनी भन्छन्, 'समयलाई नियन्त्रण गर्ने प्रयास छोड्नु नै मानसिक शान्तिको सुरुवात हो।'

***

केही मनोवैज्ञानिक सिद्धान्त र रोचक प्रयोगहरू 

१. जेइगार्निक इफेक्ट (The Zeigarnik Effect) र मानसिक बोझ

हामी किन सधैँ हतारमा र चिन्तित हुन्छौँ भन्ने कुरालाई यसले प्रष्ट पार्छ। यो सिद्धान्त अनुसार हाम्रो मस्तिष्कले पूरा भइसकेका कामलाई भन्दा अधुरा रहेका कामहरूलाई बढी सम्झिरहन्छ। हाम्रो 'To-do List' मा जति धेरै अधुरा काम थपिन्छन्, हाम्रो दिमागले उति नै धेरै 'मेन्टल नोटिफिकेसन' पठाइरहन्छ। यसले गर्दा हामी एउटा काम गरिरहँदा अर्को १० वटा बाँकी कामको चिन्तामा हुन्छौँ र वर्तमानको आनन्द लिनुको सट्टा अर्को काममा हाम फाल्ने हतारोमा हुन्छौँ।

२. हेडोनिक ट्रेडमिल (The Hedonic Treadmill)

यो मनोविज्ञानको एक प्रसिद्ध अवधारणा हो, जसले हामी किन कहिल्यै सन्तुष्ट हुँदैनौँ र सधैँ थप प्राप्तिको दौडमा हुन्छौँ भन्ने बुझाउँछ।

  • व्याख्या: हामीले नयाँ उपलब्धि हासिल गर्दा (जस्तै: नयाँ फोन, बढुवा, वा धेरै लाइक्स) केही क्षण खुसी हुन्छौँ, तर छिट्टै हाम्रो खुसीको स्तर पुरानै सामान्य अवस्थामा फर्कन्छ। त्यसपछि हामी फेरि अर्को ठूलो उपलब्धिको लागि दौडिन थाल्छौँ। हाम्रो हतारो एउटा यस्तो ट्रेडमिल जस्तो भएको छ, जहाँ हामी जति छिटो कुदे पनि पुग्ने कतै होइन, केवल त्यहीँ अडिनका लागि संघर्ष गरिरहेका छौँ।

३. 'ह्यारी हार्लो' को बाँदर प्रयोग (The Nature of Love vs. Productivity)

सन् १९५० को दशकमा मनोवैज्ञानिक ह्यारी हार्लोले एउटा प्रयोग गरेका थिए। उनले बच्चा बाँदरहरूलाई दुईवटा 'नक्कली आमा' को पिँजडामा राखे। एउटा तारले बनेको तर दूध दिने, अर्को नरम कपडाले बनेको तर दूध नदिने।

  • निष्कर्ष: बाँदरहरूले भोक मेटाउन मात्र तारको आमासँग समय बिताए, बाँकी समय उनीहरूले 'आराम र स्पर्श' का लागि नरम कपडाको आमालाई रोजे। हाम्रो आधुनिक जीवन 'तारको आमा' जस्तो भएको छ, जहाँ उत्पादन (Productivity) र नतिजा त छ, तर आत्मिक शान्ति र आराम (Comfort) छैन। हामीले बाँच्नका लागि चाहिने 'दूध' (पैसा/सफलता) त पायौँ, तर जीवनको 'नरम स्पर्श' (समय/सम्बन्ध) गुमाउँदैछौँ।

४. द इन्स्ट्यान्ट ग्र्याटिफिकेसन ट्र्याप (Instant Gratification)

अहिलेको सोसल मिडियाको युगमा हाम्रो मस्तिष्क 'डोपामाइन' (Dopamine) को भोको भएको छ।

  • प्रयोग: स्ट्यानफोर्डको प्रसिद्ध 'मार्शमेलो एक्सपेरिमेन्ट' (Marshmallow Test) मा देखाइएको थियो कि तत्कालको सानो फाइदा छोडेर धैर्य गर्नेहरू भविष्यमा सफल हुन्छन्। तर आजको प्रविधिले हामीलाई 'तत्काल' प्रतिक्रिया चाहिने बनाइदिएको छ। पहिले चिठ्ठीको उत्तर आउन हप्तौँ कुर्नुपर्थ्यो, जसले हामीमा धैर्यता सिकाउँथ्यो। आज म्यासेज पठाएको १० सेकेन्डमा 'रिप्लाई' नआउँदा हामी छटपटाउन थाल्छौँ। यो हतारो समयको अभावले होइन, हाम्रो मस्तिष्कको धैर्य गर्ने क्षमतामा आएको ह्रासले गर्दा हो।

५. योजनाबद्ध भ्रम (Planning Fallacy)

मनोवैज्ञानिक ड्यानियल काहनेम्यानका अनुसार मानिसहरू कुनै पनि काम सक्न लाग्ने समयलाई सधैं कम आकलन गर्छन्। हामीलाई लाग्छ यो हप्ता सबै काम भ्याइन्छ, तर वास्तवमा हामी आफ्नो क्षमताभन्दा बढी भार बोकिरहेका हुन्छौँ। यही 'प्लानिङ फ्यालेसी' का कारण हामी सधैँ समयसँग पराजित हुन्छौँ र हतारमा दौडिन बाध्य हुन्छौँ।

हामीले समयलाई म्यानेज गर्ने होइन, समयभित्र आफूलाई म्यानेज गर्ने हो। ४००० हप्ताको यो सीमित यात्रामा सबै स्टेसनमा ओर्लिन सम्भव छैन, त्यसैले कुन स्टेसनमा ओर्लेर दृश्यको आनन्द लिने भन्ने छनोट नै हाम्रो वास्तविक स्वतन्त्रता हो।

***

'हतार गरेर केही हुन्न' सुन्नमा सामान्य लाग्छ, तर यसको गहिरो अर्थ छ। हतारले काम छिटो सकिएजस्तो देखाउँछ, तर गुणस्तर घटाउँछ, गल्ती बढाउँछ र अन्ततः फेरि सच्याउन समय लाग्छ।

मनोविज्ञानमा यसलाई निर्णय थकान र सतही ध्यानसँग जोडिन्छ। जब हामी छिटो–छिटो गर्छौं, हामी गहिरो सोच्न छोड्छौं। त्यसैले धेरैजसो राम्रो काम, राम्रो सम्बन्ध र राम्रो निर्णयहरू हतारमा होइन, धैर्यमा जन्मिन्छन्। प्रकृतिलाई हेर्दा पनि यही देखिन्छ। बिउ रोप्नेबित्तिकै बोट हुँदैन, समय चाहिन्छ। जीवनका महत्त्वपूर्ण कुरा पनि त्यस्तै हुन्।

यसको अर्थ ढिलासुस्ती गर्नु होइन, बरु सचेत गति रोज्नु हो। कहिले छिटो बढ्ने, कहिले रोकिएर सोच्ने - यो सन्तुलन नै वास्तविक बुद्धिमत्ता हो।

No comments:

Post a Comment