
उठ्न ढिलो भएछ । विहान करिब ६:२० बजेको थियो । श्रीमतीले आत्तिँदै उठाइन । भनिन्, 'त्यहाँ कता बम पडक्यो रे, हामीले गहुँ पिसाउने मिलनेर !' हतारिदै उठें । अनि विराटनगर-२१ को सुँडीबस्ती भनिने गल्ली पुगें ।
ठूलो भीड जम्मा थियो । घाइतेलाई भर्खरै अस्पताल पठाइसकेपछि प्रहरी मुचुल्का उठाउँदै थिए । त्यहाँ इप्रका रानीका इन्स्पेक्टर रोशन आचार्यले बताए । चिया पसल्नीले कुचो लगाउँदा बम भेटिछन् । पड्क्यो, आमाछोरा घाइते । उनले डिब्बा देखाए । हरियो रंगको टिनको सानो डिब्बाका टुक्रा । निकै दिन भएको थियो फेरि बमबारे सुन्न पर्यो । डिब्बामा बेरिङमा हुने फलामे गेडा, काँचका टुक्रा आदि रहेछ ।
कुचो लगाउँदा कसले यहाँ डिब्बा राखेछ भनेर पसलवाली आशादेवीले उठाउँदा हातैमा विस्फोट भएको रहेछ । आमालाई दायाँ हातमा गम्भीर चोट र नजिकै रहेका १४ वर्षका छोराको जीउमा छर्रा लागेछ ।
बम कसले किन राख्यो खुलेन । विस्फोट भएको छाप्रोमा अन्य केही क्षति थिएन । शायद क्षति हुने केही नभएर पनि होला । ठूलो भीड विभिन्न अडकलका कुरा गरिरहेको थियो ।
घटनास्थलमा भेटिएका अहिलेका माओवादी वडा नेता आइतबहादुर तामाङले भने, 'अस्ति नै मेरो घरमा पनि यस्तै बम पड्केको हो, जसले यहाँ छोड्यो , त्यही होला ।' भीडको अडकल अनौठा अनौठा र सम्भावनाका कुरा थिए । जहाँ विस्फोट भएको र जो घाइते भएका छन्, उनीहरुबाट कसैको स्वार्थसिद्धि हुने केही थिएन ।
अनि मलाई लाग्यो , राती यहाँबाट कुनै समूह कतै लागेको हुनुपर्छ । तिनीहरुले यहाँ बसेर झोला सम्याए । एउटा यहाँ खसेको होला । प्रहरीले सम्भावनाका कुरा केही गरेन ।
सीमाबाट करिब एक किलोमिटर वरको गाउँ । पारिबाट आउनेको जमात यस गल्लीमा पसे कसैले खोज्दैन । सम्भावनाका कुरा धेरै हुन सक्लान । घाइते नभेटेपछि म त्यहाँ १० मिनेटभन्दा बढि बसिन । फिर्दा फिर्दै मैले रेडियोको न्युजरुममा फोन गरें । बिहान ६:३० को समाचार जारी रहेछ । मोबाइलबाट टिपाएर घर पुग्दा पुग्दै सुन्न पाइयो । आएर टेलिभिजनलाई पनि फोन गरें ।
उताबाट उतर आयो 'ए के टिपाउनु हुन्छ, मेल हालिदनुस् ।' म शायद त्यसै गर्थे तर, घरको कम्प्युटर बिग्रिएर थन्किएको ६ महिना भएको छ । टेबुलमा मोनिटरमात्र मलाई जिस्क्याउन बसेको छ । अर्को सीपीयु ल्याउन सुकोले साइत जुराएको छैन । जे होस कराएरै भए पनि टेलिभिजनका साथीलाई 'रिडर हाल्नोस्' भन्दै टिपाएँ ।
७ बजेको बुलेटिन हेरें । त्यो समाचार परेजस्तो लागेन । नित्यकर्म लगतै म अस्पताल हान्निएँ । कोशीअञ्चल अस्पतालले धरानको वीपी लानु भनेकाले घाइते गइसकेको जानकारी त्यहाँको प्रहरी बिटका जवानहरुले दिए । घाइते भेटिएन ।
No comments:
Post a Comment