सानो सिर्कनो लिएर ज्योतिले भाइलाई लखेट्दै थिइन। डिलमा यताउती छेलिदै प्रकाश भाग्दै थिए। केहीबेर पछि कुरो मिल्यो। ज्योतिले भाइलाई पौडी खेल्न दिने भइन। उनले भनिन्, 'यो भागेर आएछ। अनि खेदेकी।' उनीहरु कैलाली जिल्लामा पर्ने दरख गाविसको सुखड भन्ने ठाउँमा बस्छन्। ज्योति पौडेल ६ कक्षामा पढ्छिन्। प्रकाश १ कक्षामा पढ्छन्। स्कुलदेखि चार/पाँच मिनेटकै दूरिमा ठूलो ताल छ। यहाँको पानी सफा र चिसो छ।
यसलाई घोडाघोडी ताल भनिन्छ। अहिले चर्को गर्मी छ। घाम चर्केका बेला पौडी खेल्दा आनन्द आउने प्रकाश बताउँछन्। उनी भन्छन्, 'म त टाढा पर-पर जान्न, तालको डील छेउछाउमै पौडी खेल्छु।' उनीसँगै पौडी खेल्दै रमाएका संजय मल्ल पनि सधैंजसो यहाँ आउन मन पराउछन्।
३ कक्षामा पढ्दै रहेका उनलाई आफ्नो विद्यालयको नाम कसैले सोध्यो भने झट्ट भन्न गाह्रो पर्छ। मल्ल भन्छन्, 'लामो नाम छ, विराट संस्कृति अनि, माध्यमिक... खै पुरा झट्ट भन्न आएन।' यसरी सानो कक्षाबाट पौडी खेल्न आउनेहरुलाई गुरुहरुले हपार्ने गरेको उनी सुनाउँछन्। 'पौडी खेल्दा खेल्दै डुब्लान भनेर हो, कराउनु भएको,' उनले भने, 'कहिलेकाही त सरहरु पनि पौडी खेल्न आउनुहुन्छ।' त्यो बेलामा भने गुरुहरुले साना नानीहरुलाई हेरविचार गर्ने गरेका छन्।
ज्योति र संजय पढ्ने स्कुलको नाम विराट सनातन धर्मसंस्कृति माध्यमिक विद्यालय हो। हाफ छुट्टी हुने शुक्रबारका दिन धेरै केटाकेटी पौडी खेल्न तालमा आउँछन्। ज्योति भन्छिन्, 'हामी पनि पौडी खेल्छौँ। मज्जा आउँछ।' तालमा गोही छ। त्यो गोही बाटोनजिकको डिलदेखि टाढा अर्कोको छेउ बस्ने गरेको उनले बताइन।
'कतिजना त गोही छ भनेर डराउँछन्,' उनले सुनाइन्, 'तर, पर नगइ छेउ-छेउ पौडी खेल्दा केही हुन्न।' यसरी खेल्न आएपछि समूहमा आउने र एकअर्कालाई हेरविचार गर्ने बानी आफूहरुको भएको उनले बताइन। तालको डिलमा मन्दिर छ। मन्दिरमा पूजा ,विवाह र व्रतबन्धका लागि मानिसहरु आइरहन्छन्। मन्दिर व्यवस्थापन समितिले यहाँ घुम्न आउनेका लागि काठको एउटा डुंगा राखिदिएको छ। भाडा तिरेर मानिसहरु यहाँ डुंगा सयर गरिरहेको देख्न सकिन्छ।
यो ताल र आसपासको क्षेत्रमा ४५० प्रजातिका बोटविरुवा, २९ थरि स्थानीय जातका माछा, १४० प्रकारका चराचुरुङ्गी र ३२ थरिका पुतली पाइएको विभिन्न समय भएका अध्ययनले देखाएको छ। दुर्लभ प्राकृतिक ठाउँ भएकाले यो ताल सात वर्षअघि नै विश्व सम्पदा सूचीमा दर्ता भइसकेको छ। यो एकनासले चारकुना मिलेको पोखरी जस्तो आकारको छैन।
एक ठाउँबाट सुरु भएर घोडाजस्तो देखिन्छ। आसपासको चुरे जंगलमा पसेको तालको सतहले यसलाई धेरै ठाउँ हाँगा फाटेको जस्तो लाग्छ। यहाँ छुट्याएर गन्ने हो भने १४ वटा तालको एउटा समूह जस्तो देखिन्छ। तालको पूर्व,उत्तर र दक्षिण सतीसाल, साज र खयरको जंगल छ। पूर्व-पश्चिम राजमार्गनजिकै रहेको यो ताल हेर्न टाढाबाट पनि मानिसहरु आउने गरेका छन्।
('कोपिला' मा प्रकाशित)
No comments:
Post a Comment