- एक साँझ लामो समयपछिको एउटा भेट थियो, एक जना पुरानो साथीसँग। अर्डर गरेको कफी टेबलमा आइनपुग्दै उनको फोनमा एउटा नोटिफिकेसन बज्यो। उसले 'एकै मिनेट है' भन्दै फोन उठायो र स्क्रिनमा औँला चलाउन थाल्यो। हाम्रो कुराकानीको लय त्यहीँ टुट्यो। म केही भन्दै थिएँ, तर उसको आँखा स्क्रिनमा र ध्यान अर्कै संसारमा थियो। उसले बीच-बीचमा मुन्टो नउठाई 'अँ, अनि के भयो त?' भन्दै मलाई सुन्ने नाटक त गर्यो, तर मलाई आफू हुनुको कुनै अर्थ महसुस भइरहेको थिएन।
- गत शुक्रबार बेलुकी करिब साढे ८ बजे। मैले स्कुले बेलाको साथी सानोबाबु बस्नेतलाई फोन डायल गरेँ। भोलि बिहान एउटा कार्यक्रममा हामी भेला हुनु थियो। त्यसैले आफ्नो समय निकाल्न आग्रह गर्नु थियो। तर, कल जाँदै गएन। उताबाट मोबाइल अफ वा कलले व्यस्त जस्तो सांकेतिक ट्युन थिएन तर, कल तीन/चारपल्ट गर्दा पनि सफल भएन। म अरुलाई फोन गर्न थालेँ। सानोबाबुलाई फेरि डायल गर्न बिर्सेछु।
भोलिपल्ट कार्यक्रममा उनी मभन्दा पहिल्यै आइसकेको रहेछन्। बसाइमा केही दुरी भए पनि हामी एकअर्कालाई देखिरहेका थियौं। केहीबारपछि सँगै बसियो। उनको फोन बजिरहेको थियो। रिङ ट्युन सानो भोल्युममा राखेका उनले भने - हेर यार, यो मेरो बिजनेसको फोन हो।
म - अँ साँच्ची, मैले राति डायल गरेको थिएँ, तिम्रो फोन लाग्दै लागेन।
सानोबाबु- घर पुगेपछि म मोबाइललाई फ्लाइट मोडमा राख्छु। कति उठाउनु ! घरमा त सञ्चोले बस्नु पर्यो नि।
मलाई उनको प्रष्टीकरण उचित लाग्यो। हामी काम होस् नहोस् मोबाइलका स्क्रीनमा औंला चालिरहन्छौं। साथी वा समूहमा बस्दा पनि यो त बानी नै भइसकेको छ। हाम्रा अगाडि बस्नेले उसका कुरा बेवास्ता गरिरहेको भान पर्नेगरी मोबाइल चलाउँछौं। यो मामिलामा सानोबाबु जस्तो गर्नु पनि घरका लागि सन्तोकको बानी हुन सक्छ। तर, हामी मोबाइल चलाउन कहाँ छाड्छौं ?
यी प्रतिनिधि घटना मात्रै हुन्, जसमा पात्र म नै हुनु जरुरी होइन। आधुनिक मनोविज्ञानले यसलाई 'फबिङ' (Phubbing) भन्छ। फोन र स्नबिङ (बेवास्ता गर्नु) मिलेर बनेको यो शब्दले हाम्रो सामाजिक सम्बन्धको कुरुप वास्तविकतालाई चित्रण गर्छ।
फबिङलाई गहिराइबाट हेर्ने हो भने यसले हाम्रो उपस्थितिलाई खण्डित बनाइदिएको छ। हामी सशरीर एकाध साथी वा समूहमा हुन्छौं तर साथ भने मोबाइललाई दिइरहेका हुन्छौं।
प्रख्यात मनोवैज्ञानिक डा. एमा सेप्पालाका अनुसार फबिङले मानिसको आधारभूत मानवीय आवश्यकता 'सम्बन्धित हुनु'लाई नै खतरामा पार्छ। जब हामी कसैको अगाडि भएर पनि फोनमा झुण्डिन्छौँ, हामीले परोक्ष रूपमा भनिरहेका हुन्छौँ कि 'मेरो लागि तिमीभन्दा यो मोबाइलभित्रको संसार बढी महत्त्वपूर्ण छ।'
शोधकर्ताहरू भन्छन् कि यो बानीले विशेष गरी वैवाहिक सम्बन्ध र घनिष्ट मित्रतामा गहिरो चोट पुर्याउँछ। एक अध्ययनले देखाएको छ कि जुन जोडीमा फबिङको समस्या बढी छ, उनीहरूमा डिप्रेसन र जीवनप्रतिको असन्तुष्टि पनि बढी देखिएको छ।
यसका केही 'कथित' असल पक्षहरू खोज्ने हो भने, मानिसहरू यसलाई 'मल्टिटास्किङ' वा समयको बचत मान्छन्। कसैको कुरा सुन्दासुन्दै जरुरी इमेलको जवाफ दिनु वा समाचार हेर्नुलाई स्मार्ट बन्ने बहाना बनाइन्छ। तर, मनोविज्ञान भन्छ - मस्तिष्कले एकैपटक दुईवटा भावनात्मक कुरामा समान ध्यान दिन सक्दैन। यसले गर्दा हामी न त काममा शतप्रतिशत हुन्छौँ, न त सम्बन्धमा।
खराब पक्षको कुरा गर्दा यसले मानिसलाई 'एक्लो भीड' मा परिणत गरिदिएको छ। हामी हजारौँ माइल टाढाका मानिससँग जोडिन खोज्दा आफ्नै छेउमा बसेको मानिसलाई गुमाइरहेका हुन्छौँ।
समय यस्तो छ, तपाइँ अनलाइन हुनुहुन्छ, फ्रेण्डलिस्टमा तपाइँको नाम हरियो देखाइरहेको छ, तर तपाइँलाई हत्तपत्त फोन कल आउँदैन। मान्छेहरु कुरा गर्ने फुर्सदमा छैनन्। तर, हामी जनिक वा अगाडिका मान्छेलाई बेवास्ता गरेर इन्टरनेटको सञ्जालमा कम्पनी खोजीरहेका हुन्छौं।
यस्तै धेरैजनासँग भइरहेको देख्न पाइन्छ। एउटा समूहमा रहेका मान्छेहरु फोनमा झुण्डिएका छन्, मोबाइलका स्क्रिनमा औंला चालिरहेका छन्। हाम्रो कामका प्रकृतिअनुसार इन्टरनेट नभइ नहुने भइसकेको छ। तर, यसलाई हामीले कामका बेला र सतर्कतापूर्वक उपयोग जरुरी छ।
केटाकेटी मोबाइल र ट्याबमा व्यस्त छन्। महिलाहरु टिकटक बनाउन व्यस्त छन्। जो व्यस्त छैनन्, उनीहरु अरुका चालामाला देखेर छक्क परिरहेका भेटिन्छन्। के हामी ग्याजेटविना एकैछिन बसन नसक्ने हौँ? के हामी एकछिन फोनलाई पर्तिर राखेर बस्न सक्दैनौ।
फबिङ केवल एउटा खराब बानी मात्र होइन, यो एक प्रकारको लत हो जसले हाम्रो सामाजिक संवेदनशीलतालाई मारिरहेको छ। 'जहाँ तपाईं हुनुहुन्छ, त्यहीँ पूर्ण रूपमा रहनुहोस्' भन्ने जीवन दर्शन आजको डिजिटल युगमा सबैभन्दा ठूलो चुनौती बनेको छ। यदि हामीले समयमै यसलाई नियन्त्रण गरेनौँ भने, भविष्यमा हामीसँग प्रविधि त हुनेछ, तर ती प्रविधिका उपलब्धि सुनाउने र सुन्ने मान्छेहरू हुने छैनन्। त्यसैले, अर्को पटक कसैको आँखामा हेरेर कुरा गर्दा फोनलाई खल्तीमै राख्नु नै साँचो अर्थमा 'कनेक्टेड' हुनु हो।
***
(यहाँ रहेको चित्र गुगल जेमिनीद्वारा सृजित हो)

No comments:
Post a Comment