हाम्रा दैनिकी दौडधुपपूर्ण छन्। कामको हतार र जिम्मेवारीको बोझ छ। बजारको महँगी र तलबको तालमेल मिल्दैन। कसैलाई घाटा बजेटमा घर चलाउँदा रहरहरु खुम्च्याउनु परेको छ, कसैलाई आम्दानी भए पनि बजेट व्यवस्थापन गर्न नजान्दा द्विविधा छन्। बेखर्ची छन्, फजुलखर्ची छन्। अपेक्षाअनुसारको व्यवहार नपाएकाहरु छन्। परिस्थितिले मान्छेलाई एउटा भयावह थकानतर्फ धकेल्दै छ। प्रविधिले संसारलाई जोडे पनि मानिसलाई आफ्नै कोठाभित्र एक्लो बनाइदिएको छ। सामाजिक सञ्जालको कृत्रिम चमकदमकमा अरूको खुसी खोज्दाखोज्दै हामी आफ्ना समस्या लुकाउन अभ्यस्त हुँदैछौं।
सामाजिक सञ्जालका फ्रेण्ड लिस्टमा साथी थुप्रै छन्, तर सुखदुःख कोसँग बाँड्ने ? मेरा कुरा उसले कसरी लेला ? उडाउला वा हेप्ला, अन्डरस्टीमेट गर्ला वा सहानुभूति देला ? यस्ता द्विविधाका बेला धेरैले मन बुझाउँछन् – 'भैगो नभनौँ।' यसरी जे छ आफैंभित्र राखेर मुस्कुराएको अनुहार देखाउनुपरेको छ।
कामको तनाव र डिजिटल संसारको शून्यताले मनलाई भारी बनाउन थाल्छ। निराशाको बादल मडारिन थाल्छ। यो केवल एक दिनको उदासी मात्र होइन, हाम्रो जीवनशैलीले उपहारमा दिएको एउटा यस्तो अन्तरद्वन्द्व हो, जसले भित्रभित्रै कमजोर बनाउँदै लैजान्छ। यही विन्दुबाट डिप्रेसनको एउटा लामो र अँध्यारो यात्रा सुरु हुन्छ। जसलाई समयमै चिन्नु र सम्बोधन गर्नु आवश्यक छ।
अमेरिकीका लागि यो सबैभन्दा सामान्य मानसिक विकारहरू मध्ये एक हो। मनोविज्ञानसम्बन्धी अनलाइन 'भेरीवेल माइन्ड'मा प्रकाशित एउटा लेखअनुसार अमेरिकामा लगभग ५ मध्ये १ वयस्कलाई आफ्नो जीवनकालमा एकपटक डिप्रेसनले ग्रसित पारेकै हुन्छ। उपचार गराएका हुन्छन्। यसका लागि अमेरिकीलाई सुविधा छ। भाग्यवश, औषधि, मनोचिकित्सा, वा दुईको संयोजन सहित प्रभावकारी उपचारहरू उपलब्ध छन्। हामी चाहिँ त्यो अवस्थामा छैनौँ।
यस्ता अवस्था चिनेर, सतर्क भएर आफूलाई सामान्यीकरण गर्न सक्नु नै जित हो। कोही ग्रसित पहिचान भए तिनका लागि सहायता र उपचारमा सहयोग गर्न सक्छौं। आत्म-सहायता रणनीतिहरूले मानिसहरूलाई आफ्ना लक्षणहरूसँग राम्रोसँग सामना गर्न र राम्रो महसुस गर्न सुरु गर्न मद्दत गर्न सक्छ।
डिप्रेसन (मानसिक अवसाद) केवल सामान्य उदासी मात्र नभएर एक गम्भीर मानसिक स्वास्थ्य अवस्था हो, जसले व्यक्तिको सोच्ने, महसुस गर्ने र दैनिक क्रियाकलाप गर्ने क्षमतालाई प्रत्यक्ष असर गर्छ। मनोविज्ञानले यसलाई 'मूड डिसअर्डर' को रूपमा चिन्दछ, जहाँ व्यक्तिको संवेगात्मक सन्तुलन लामो समयसम्म बिग्रिएको हुन्छ। यसलाई क्लिनिकल भाषामा 'मेजर डिप्रेसिभ डिस्अर्डर' पनि भनिन्छ। मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यो मस्तिष्कमा हुने न्यूरोट्रान्समिटरको असन्तुलन, वंशाणुगत कारण, र जीवनमा आइपर्ने तनावपूर्ण घटनाहरूको समष्टिगत परिणाम हो।
मनोवैज्ञानिकहरूले डिप्रेसनलाई विभिन्न कोणबाट व्याख्या गरेका छन्। संज्ञानात्मक मनोविज्ञानका प्रणेता एरोन बेकका अनुसार डिप्रेसन व्यक्तिको नकारात्मक सोचको उपज हो। उनले 'कग्निटिभ ट्रायड' को अवधारणा प्रस्तुत गर्दै भनेका छन् - 'डिप्रेसन भएका व्यक्तिहरूले आफ्नो बारेमा, संसारको बारेमा र भविष्यको बारेमा अत्यन्तै नकारात्मक दृष्टिकोण राख्छन्।'
अर्का प्रसिद्ध मनोवैज्ञानिक मार्टिन सेलिगम्यानले 'सिकाएको असहायपन'(लर्न्ड हेल्पलेसनेस)को सिद्धान्त अघि सारेका छन्। उनका अनुसार जब मानिसले आफ्नो जीवनका प्रतिकूल घटनाहरूमा आफ्नो कुनै नियन्त्रण छैन भन्ने महसुस गर्न थाल्छ, तब उसमा डिप्रेसनको विकास हुन्छ।
त्यस्तै, मनोविश्लेषक सिग्मन्ड फ्रायडले डिप्रेसनलाई 'आफैंतर्फ फर्किएको क्रोध' को रूपमा व्याख्या गरेका छन्, जहाँ व्यक्तिले कुनै गुमेको वस्तु वा सम्बन्धको पीडालाई बाहिर व्यक्त गर्न नसकी आफैंलाई दोष दिन थाल्छ। फ्रायडले सन् १९१७ मा प्रकाशित लेख 'माउर्निङ एण्ड मेलान्कोलिया' मा डिप्रेसनलाई 'मेलान्कोलिया' को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार शोक (माउर्निङ) र डिप्रेसनका लक्षणहरू उस्तै देखिए तापनि यिनीहरूमा एउटा ठूलो भिन्नता छ। शोकमा व्यक्तिले बाहिरी संसारको कुनै प्रिय वस्तु वा व्यक्ति गुमाएको महसुस गर्छ, तर डिप्रेसनमा व्यक्तिले आफ्नो 'अहम्' (सेल्फ/इगो) भित्रै केही गुमेको महसुस गर्छ।
फ्रायडको मुख्य तर्क छ - डिप्रेसन भनेको 'आफैंतर्फ फर्किएको क्रोध' (एन्गर टर्न्ड इनवार्ड) हो। जब कुनै व्यक्तिले आफूले प्रेम गरेको वा महत्त्वपूर्ण ठानेको वस्तु वा सम्बन्ध गुमाउँछ, उसलाई स्वाभाविक रूपमा रीस उठ्छ। तर यदि उसले त्यो बाहिर व्यक्त गर्न सक्दैन वा व्यक्त गर्नु अनुचित ठान्छ भने, त्यो क्रोध बिस्तारै आफ्नै विरुद्धमा सोझिन्छ।
यसले गर्दा व्यक्तिमा अत्यधिक आत्म-आलोचना, आत्म-घृणा र आफूलाई निकम्मा महसुस गर्ने प्रवृत्ति बढ्छ। फ्रायडका व्याख्याअनुसार डिप्रेसनको बिरामीले अरू कसैलाई भन्नुपर्ने कठोर शब्दहरू र गुनासोहरू झुक्किएर आफैंलाई भनिरहेको हुन्छ।
फ्रायडले डिप्रेसनलाई बुझाउन प्रयोग गरेको 'इगो,' 'सुपर इगो' र 'इड'को संरचनात्मक मोडेलले पनि यसमा भूमिका खेल्छ। जब व्यक्तिको 'सुपर इगो' (जसले नैतिकता र आदर्शको कुरा गर्छ) धेरै बलियो र कठोर हुन्छ, तब यसले 'इगो' लाई निरन्तर सजाय दिइरहन्छ, जसले गर्दा व्यक्तिमा हीनताबोध र निराशा पैदा हुन्छ। यो अवस्थामा व्यक्तिको मानसिक ऊर्जा (लिबिडो) बाहिरी संसारबाट हटेर आफ्नै आन्तरिक द्वन्द्वमा फस्न पुग्छ।
डिप्रेसनको बिरामीमा देखिने लक्षणहरू शारीरिक र मानसिक दुवै प्रकृतिका हुन्छन्। मुख्य लक्षणका रूपमा मनमा लगातार शून्यता वा उदासी छाइरहनु, पहिले रुचि लाग्ने कामहरूमा पनि जाँगर हराएर जानु र सधैं थकान महसुस हुनुलाई लिइन्छ।
बिरामीमा एकाग्रताको कमी हुने, स-साना कुरामा पनि निर्णय लिन गाह्रो हुने र आफूलाई अपराधी वा व्यर्थ महसुस गर्ने भावना बलियो हुन्छ। शारीरिक रूपमा हेर्दा निद्रामा गडबडी (धेरै निद्रा लाग्ने वा पटक्कै नलाग्ने), खानपानमा परिवर्तनका कारण तौल घट्ने वा बढ्ने, र शरीरका विभिन्न भागमा बिना कारण दुखाइ महसुस हुने जस्ता समस्या देखिन्छन्।
गम्भीर अवस्थामा व्यक्तिमा मृत्यु वा आत्महत्याको विचार बारम्बार आउन सक्छ। यी लक्षणहरू कम्तीमा दुई हप्तासम्म लगातार देखिएमा त्यसलाई डिप्रेसनको संज्ञा दिइन्छ। यो अवस्थाबाट बाहिर निस्कन मनोपरामर्श र आवश्यक परेमा विशेषज्ञको सल्लाह अनुसार औषधि दुवै प्रभावकारी मानिन्छन्।
डिप्रेसनको अवस्थाबाट गुज्रिरहेको थाहा पाउन व्यक्तिका व्यवहारमा आएका सूक्ष्म परिवर्तनहरूलाई नियाल्नुपर्ने हुन्छ। आफूलाई जाँच्न मन छ? यदि कसैलाई दुई हप्ताभन्दा बढी समयदेखि बिहान उठ्दा नै भारीपन महसुस हुने, भविष्यप्रति कुनै आशा नलाग्ने र पहिले अत्यन्तै खुसी दिने कुराहरू (जस्तै: मनपर्ने खाना, खेल वा कुराकानी) बाट कुनै आनन्द नआउने भएको छ भने यो डिप्रेसनको संकेत हुन सक्छ।
यसमा व्यक्तिलाई सधैं कतै हराइरहेको जस्तो महसुस हुने, स-साना कुरामा पनि झर्को लाग्ने र मानिसहरूसँग टाढिएर एक्लै बस्न मन लाग्ने हुन्छ। कतिपय अवस्थामा बिरामीले आफूलाई अपराधी जस्तो ठान्ने र 'मेरो कारणले गर्दा नै सबै बिग्रिएको हो' भन्ने सोच पाल्ने गर्छन्। शारीरिक रूपमा भने टाउको दुख्ने, पाचन प्रक्रियामा समस्या आउने वा शरीरका मांसपेशीहरू बिना कारण दुखिरहने जस्ता लक्षणले पनि यसलाई संकेत गरिरहेका हुन्छन्।
यस अवस्थाबाट जोगिन र मानसिक स्वास्थ्यलाई बलियो बनाउन केही व्यवहारिक कदमहरू चाल्न सकिन्छ। सबैभन्दा पहिले, आफ्ना भावनाहरूलाई दबाउनुको साटो विश्वासिलो साथी वा परिवारका सदस्यसँग खुलेर कुरा गर्नु पर्छ। नियमित व्यायाम र सन्तुलित आहारले मस्तिष्कमा 'सेरोटोनिन' र 'डोपामाइन' जस्ता खुसी बनाउने रसायनहरूको सन्तुलन मिलाउन मद्दत गर्छन्। दैनिक रूपमा एउटा निश्चित तालिका बनाउने र साना-साना लक्ष्यहरू पूरा गर्दा आत्मविश्वास फर्कन थाल्छ। ध्यानको अभ्यासले वर्तमानमा रहन सिकाउँछ, जसले गर्दा विगतको पश्चात्ताप र भविष्यको चिन्ताबाट मस्तिष्कले केही राहत पाउँछ।
यदि यी स्व-हेरचाहका उपायहरूले काम नगरेमा वा आत्मघाती विचारहरू आउन थालेमा ढिलो नगरी मनोविज्ञ वा मनोचिकित्सकको सल्लाह लिनु अनिवार्य हुन्छ। व्यावसायिक परामर्श (सीबीटी जस्ता थेरापीहरू) ले नकारात्मक सोचको चक्रलाई तोड्न प्रभावकारी भूमिका खेल्छन्। डिप्रेसन कुनै कमजोरी नभएर एउटा उपचार गर्न सकिने स्वास्थ्य अवस्था हो भन्ने कुरा बुझ्नु नै यसबाट जोगिने पहिलो खुड्किलो हो।
सधैं खुसी रहन सम्भव छ ?
वास्तवमा, हामीले सधैं र हरेक पल खुसी रहन सम्भव छैन। यस्तो अपेक्षा गर्नु आफैंमा एउटा मनोवैज्ञानिक बोझ बन्न सक्छ। खुसी एउटा स्थायी अवस्था नभएर एउटा क्षणिक संवेग (इमोसन) मात्र हो। जसरी दिनपछि रात आउँछ, त्यसरी नै मानवीय जीवनमा सुख र दुःखको चक्र चलिरहन्छ। मनोविज्ञान भन्छ - 'सबै समय खुसी हुनुपर्छ भन्ने दबाबले नै मानिसलाई झन् बढी तनाव र निराशामा धकेल्छ।'
हामीलाई डिप्रेसनको अवस्थाले कतै न कतै 'सिकार' गर्छ भनेर किन डराउने? आधुनिक जीवनशैली, अत्यधिक प्रतिस्पर्धा, सामाजिक सञ्जालको कृत्रिम संसार र जैविक कारणहरूले गर्दा आजको समयमा जोकोही कुनै न कुनै बिन्दुमा मानसिक रूपमा कमजोर महसुस गर्न सक्छ। यसलाई 'सिकार' हुनु भन्दा पनि जीवनको एउटा चुनौतीपूर्ण कालखण्डका रूपमा बुझ्न सकिन्छ। डिप्रेसनबाट जोगिनु भनेको दुःखलाई पूर्ण रूपमा निषेध गर्नु होइन, दुःख र प्रतिकूलतासँग जुध्न सक्ने 'मानसिक प्रतिरोधात्मक क्षमता' (रिजिलेन्स) विकास गर्नु हो।
सधैं खुसी रहनु भन्दा 'सन्तुष्ट' र 'शान्त' रहन सिक्नु बढी व्यावहारिक हुन्छ। खुसीको खोजीमा दौडिनु भन्दा आफ्ना सबै प्रकारका भावनाहरू चाहे त्यो उदासी होस्, क्रोध होस् वा डरलाई स्विकार्न सक्नु नै मानसिक स्वास्थ्यको बलियो आधार हो। जब हामी आफ्ना नकारात्मक भावनाहरूलाई पनि सहज रूपमा स्वीकार गर्छौं, तब ती भावनाहरूले हामीलाई थिच्ने शक्ति गुमाउँछन्। डिप्रेसनको सिकार हुनबाट जोगिनका लागि पर्फेक्सनिस्ट बन्ने/चाहिने सोच त्यागेर आफ्ना कमीकमजोरीसहित आफूलाई माया गर्नु आवश्यक छ।
स्वाभाविक रूपमा दुःखी हुन पनि बन्देज !
समाजमा एउटा यस्तो अदृश्य दबाब छ, जहाँ हामीले सधैं 'सबै ठिक छ' भनेर देखाउनुपर्ने हुन्छ। विशेषगरी सामाजिक सञ्जालको युगमा अरूको चमकधमकपूर्ण जीवन देख्दा आफ्नो सामान्य र कहिलेकाहीँ संघर्षपूर्ण जीवन 'अपूर्ण' जस्तो लाग्न थाल्छ। यसले गर्दा मानिस आफ्नो वास्तविक समस्या लुकाउन बाध्य हुन्छ, जसलाई मनोविज्ञानमा 'स्माइलिङ डिप्रेसन' (स्माइलिङ डिप्रेसन) भनिन्छ। जसमा बाहिरबाट हाँसिरहेको तर भित्रभित्रै टुटिरहेको अवस्था हुन्छ।
कामको कडा प्रतिस्पर्धा, लामो कार्यतालिका र परिवारप्रतिको ठूलो जिम्मेवारीले मानिसलाई आफ्नो मानसिक थकान महसुस गर्ने फुर्सद नै दिँदैन। जब हामी आफ्ना स्वाभाविक उदासी वा थकानलाई 'म त कमजोर हुनुहुँदैन' भनेर दबाउँछौँ, त्यही दबिएको भावना नै पछि गएर डिप्रेसनको 'सिकार' बन्ने मुख्य कारण बन्छ। सामाजिक अपेक्षाहरूले हामीलाई एउटा मेसिन जस्तो बनाउन खोज्छन्, जसमा भावनाका लागि कुनै ठाउँ हुँदैन।
यस्तो अवस्थामा आफूलाई जोगाउने एउटै उपाय भनेको 'स्व-स्वीकारोक्ति' (सेल्फ-एक्सेप्टेन्स) हो। आफू सधैं बलियो हुन सकिँदैन र कहिलेकाहीँ कमजोर महसुस हुनु, रुन मन लाग्नु वा केही समयका लागि संसारबाट टाढिन मन लाग्नु पूर्ण रूपमा स्वाभाविक हो भन्ने कुरा बुझ्नुपर्छ। आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदा समाजले के भन्ला भन्ने डर त्याग्नु नै साँचो अर्थमा स्वतन्त्र हुनु हो।
मन लागे किन नरुने ?
रुनु झन् मानसिक स्वास्थ्यका लागि एउटा प्राकृतिक 'सेफ्टी भल्भ' हो। तर, हामी त रुन जान्दैनौँ, रुनै हुन्न। हाम्रो समाजमा रुनु हुँदैन वा रुने मान्छे कमजोर हुन्छ भनेर सिकाइएको छ। यो सिकाइ मनोवैज्ञानिक दृष्टिकोणले निकै हानिकारक छ। रुनु पर्छ, रुन आए किन नरुने ? आँसु बगाउनु कमजोरी होइन, शरीरले आफ्नो आन्तरिक तनावलाई बाहिर निकाल्ने एउटा जैविक प्रक्रिया हो।
जब हामी धेरै तनाव वा मानसिक चापमा हुन्छौँ, हाम्रो शरीरमा 'कोर्टिसोल' जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको मात्रा बढ्छ। वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्, रुँदा निस्कने आँसुमा त्यस्ता तनावपूर्ण हर्मोनहरू र विषाक्त पदार्थहरू शरीरबाट बाहिर निस्कन्छन्। रोइसकेपछि मानिसले जुन हल्कापन महसुस गर्छ। त्यो मस्तिष्कले 'इन्डोर्फिन' र 'अक्सिटोसिन' जस्ता प्राकृतिक पीडानाशक रसायनहरू उत्सर्जन गरेकाले हो। यसले मनको भारीपन कम गर्छ र व्यक्तिको मूडलाई शान्त बनाउन मद्दत गर्छ।
मनोवैज्ञानिकहरूका अनुसार भावनालाई जबर्जस्ती दबाउनु (इमोसनल रिप्रेसन) नै पछि गएर गम्भीर डिप्रेसन वा एन्जाइटीको कारण बन्न सक्छ। रोएर मनको भडास निकाल्दा मानिसले आफ्नो पीडासँग साक्षात्कार गर्छ र त्यसलाई स्वीकार गर्छ।
रुन नपाउनु वा भावना लुकाउनु भनेको एउटा प्रेसर कुकरको सिट्टी बन्द गरेर आगोमा राखिराख्नु जस्तै हो, जो कुनै न कुनै बेला विस्फोट हुन्छ हुन्छ। त्यसैले, मन भारी भएको बेला वा पीडा महसुस हुँदा निर्धक्कसँग रुनु एउटा साहसी र स्वस्थकर काम हो।


No comments:
Post a Comment