Tuesday, February 9, 2010

गोली चलाएर लुटे

विहानै फोन आयो 'मलाइ चिन्नु हुन्न होला । झट्ट आउनुपर्‍यो ।' सञ्चारकर्मीका लागि यस्ता फोन नौला होइनन् । हरेकलाइ लाग्छ उसका अघि भएका समस्या या घटना सबैभन्दा ठूला छन् । सञ्चारमाध्यमका लागि ती सेलेबर समाचार बन्न सक्छन् । यही अपेक्षाले गरिएका फोन कहिलेकाही काम लाग्ने हुन्छ ।
हिजो विहानको कुरा हो । मेरो घर भएको ठाउँबाट करीव ४ किलोमिटर पश्चिम विराटनगर-१६ दरहियामा डाकाले चौपाया लुटेछन् । गोली चलाएछन् । त्यो गाउँ पूर्व क्षेत्रीय प्रहरी कार्यालय र तालिम केन्द्रभन्दा करीव ५ सय मिटरमात्र पश्चिममा छ । शनिवार मध्यरात भएको घटनापछि एकजना गाउँले घाइते रहेछन ।
म त्यहाँ पुगे । डाकाले महेश यादव भन्नेको दुइवटा गोरु र एउटा भैसी लगेछन् । गोलीले महेशका दाजु उदीचन घाइते भएका रहेछन् । उनको दाया पाखुरामा गोली लागेको रहेछ । चोरी होला भन्ने डरले गुहालीमा सुतेका उनी गोरु फुकाएको आवाजले ब्युँझेछन् । हल्ला नगर्न दिएको चेतावनी नमान्दा लुटेरा समूहले गोली चलाएको रहेछ ।
दरहियाबाट दक्षिण बाटो नछोडी गयो भने इण्डिया पुगिन्छ । खुला सीमाना हुनु जति फाइदा छ , यसमा सुरक्षा व्यवस्था उपयुक्त नहुदा यस्ता लुटपाटका घटनाको त्रास पनि उत्तिकै छ । दुइ राउण्ड गोली चलाएपछि भएको हल्लापछि डाकाले धेरैजनाको मालवस्तु लैजान पाएनन् । तर, उनीहरुले फेरि आउने चेतावनी दिइगएको गाउँलेले बताए । सडक, फोन र बिजुली भएको यो गाउँ । गाउलेले बताए - इलाका प्रहरी रानीलाइ घटना भइरहँदा फोन गरियो । १०८ नम्बर फोन उठेन । अनि १०० डायल गरि जिल्ला प्रहरीलाइ भनेपछिमात्र घटनाको ४५ मिनेटपछि सुरक्षाकर्मी आए ।
१०८ किन उठेन भन्दै आक्रोशितलाइ मैले बताउनु पर्‍यो । त्यो एरियाको टेलिफोनको तार चोरी भएको एक हप्ता भयो । मेरो घरमा पनि ल्याण्डलाइन फोनमा त्यही कारण डायलटोन छैन । धन्य मोवाइल । बेला बेला सम्पर्क टुट्तै पनि सम्पर्क हुन्छ ।
विराटनगरको मिल्सएरिया क्षेत्र डेढ दसकअघिसम्म जस्तो थियो । अहिले छैन । यहाका १५ मध्ये १२ कारखाना बन्द छन् । मुलुककै जेठो उद्योग विराटनगर जुटमिल कहिल्यै पुन नखुल्ने गरि बन्द भएको छ । कारखाना बन्द भएपछि यस क्षेत्रमा कामको खोजी गर्नेहरु पलायन भएका छन् । त्यसैले दरहिया पनि पछि परेको छ । गाउँलेका भनाइमा वितेका १५ वर्षमा यो गाउँले यस्ता १३० वटा घटना भोगेको छ । जसमध्ये गत वर्ष नराम्रो घटना थियो । डाकाले लोग्नेलाइ बाधेर श्रीमातिलाइ उनकै अघि बलात्कार गरेका थिए ।
सीमानासँग जोडिएका नेपाली बस्तीमा सरकारले सुरक्षा व्यवस्था सुदृढ पार्नु आवश्यक छ । दरहियाजस्तै धेरै गाउँको खबर आउदैन । गाउले सहन्छन । व्यवहार चलाउँछन् । मुलुक यसरी नै चलेको छ ।

युवा चाहना 'पावरफुल बाइक'

विराटनगर/ हावाको बेगसँग कुरा गर्ने गति । बलियो, छरितो बनोट र चाहेजस्तो रंग । युवा चाहना यस्तो छ नयाँ बाइकप्रति । विराटनगरको धरान रोडस्थित लक्ष्मी टे्रडिङ हाउसका सञ्चालक सुवास आचार्य भन्छन् 'उमेर अनुसार कस्टमरको बाइकप्रतिको हेराइ हुन्छ ।' उनका अनुसार युवा आगन्तुकको सोधखोज १५० सीसी र त्यसभन्दा बढि 'पावरफुल' बाइकमा केन्द्रित छ । हिरोहोण्डाले भर्खर बजारमा ल्याएको २२३ सीसीको करिज्मा जेडएमआर मोटरसाइकलका विषयमा युवाले धेरै चासो राखेका छन् ।
बजारमा चलेका बजाजको पल्सर,होण्डाको युनिकर्न, टीभीएसको अपाचे र यामाहाको एफ-जेड, फेजर र सुजुकीको जीएस-१५० आरलाई चूनौति दिदै हिरोहोण्डाले करिज्मालाई क्षमता थपेर बजारमा उतारेको हो ।
उक्त बाइक भारतमा बिक्री सुरु भएको दुइ महिनापछि नेपाली बजारमा आइपुगेको छ । आचार्यले माघको दोस्रो साता विराटनगरमा भएको विराट एक्स्पो व्यापार मेलालाई ध्यानमा राख्दै जेडएमआर काठमाडौं आएलगतै झिकाएका हुन् । स्प्लेन्डर मोटसाइकल हिरोहोण्डाको सबैभन्दा बढि बिक्री भएको मोडल हो । बिक्री एक करोडवटा नाघेको अवसरमा कम्पनीले निकालेको 'स्प्लेन्डर ओसिएसइ', सुपर स्प्लेण्डर,ग्ल्यामर र सीबीजेड पनि उनको शोरुममा छ ।
गच्छेअनुसारको लगानीमा चलाउन मिल्ने दुइ पाङ्ग्रे इन्जिनयुक्त सवारी राजधानीजस्तै पूर्व क्षेत्रमा पनि हरेक वर्गको अनिवार्य साधन बन्न थालेको छ । जहा सडक पुगेको छ, त्यहा मोटरसाइकल कुदेकै देखिन्छ । वर्षेनी बिक्री बढेको बजारमा बाइक रुचाउनेहरु उमेर र प्रयोगले फरक-फरक मानसिकतामा भेटिएका छन् । कम इन्धनमा बढि काम लिन सकिने, सर्भिसिङको झन्झटमा पर्न नचाहने र पछि बेच्नुपरे राम्रो मूल्य पाइयोस् भन्ने एकथरि छन् । अर्काथरी राम्रो बनोट र पावरफुल बाइक रोज्न मन पराउछन् । पावरफुल बाइक मन पराउनेमा युवा पुस्तामात्र छैनन् । उनीहरु बराबरी नै एउटा बाइक लामो समय कुदाएपछि पुरानोको तुलनामा केही शक्तिशाली सवारी गर्न चाहनेहरु पनि छन् ।
यामाहाका बाइक विक्रेता विराट अटो इन्टरप्राइजेजका विनय झा भन्छन् 'बाइकको बजारमा प्रतिष्पर्धा कडा छ । तर,कस्तो किन्ने भन्नेमा ग्राहक पहिल्यै निश्चय गरेर हिडेका हुन्छन् ।' यामाहाको १०६ सीसीको अल्बा रोज्ने र १५३ सीसीको फेजर मन पराउने ग्राहकको धारणा धेरै फरक पाएको झाको अनुभव छ । 'अहिलेको डिमाण्ड १५३ सीसीको गाडीको हो , उनले भने 'शोरुम सबैले घुम्न सम्भव होला नहोला, मेलामा धेरै भिजिटरले ब्राण्डअनुसारको फिचरबारे जानकारी पाए ।' विक्रेताका हकमा तुरुन्त अपेक्षित परिणाम आउने नदेखिएपनि जे भएपनि उपभोक्ताका लागि कुन मोटरसाइकल किन्दा ठीक हुने रहेछ भन्ने धारणा बनाउन मेला सहयोगी भएको बुझाइ व्यावसायीमा भेटियो । विराट अटोको शोरुममा अल्बा, ग्लाडिएटर,इन्टाइसर, एफ-जेड, फेजर र जीम स्कुटर छन् ।
बजाज ब्राण्डका मोटरसाइकल बेच्दै आएको सिंहल ब्रदर्सको शोरुममा विभिन्न क्षमताका पल्सर र डिस्कभरका नया मोडल छन् । बजार प्रबन्धक भुवन अधिकारी भन्छन् 'पल्सरको २२० सीसीलाई युथहरुले मनपराएका छन् ।'
बजाजले ल्याएको १०० सीसीदेखि २२० सीसीसम्मका बाइकहरुमा पल्सरमात्रै १५०,२०० र २२० सीसीमा फरक क्षमताका तीनवटा छन् । अधिकारी भन्छन् 'पावरफुल बाइक धेरै बिक्री भएको छ ।'
जापानिज कम्पनी सुजुकीका बाइकहरु बेच्दै आएको नर्वदा टे्रड कन्सर्नमा १२५ सीसीभन्दा कम क्षमताका बाइक छैनन् । नर्वदाका सञ्चालक कृष्ण पोखरेल भन्छन् 'अहिलेको बजार नै पावरफुल गाडीको हो ।' सुजुकीले ल्याएको १५० सीसीको जीएसआइ बजारमा चलेका अन्य ब्राण्डलाई चुनौति दिने मोड भएको उनले बताए । सुजुकीको एक्सेस स्कुटर पनि १२५ सीसीको छ । १ लाख ४२ हजारदेखि १ लाख ४८ हजारसम्मका बाइक राखिएको उनले बताए । युवाहरुले चासो लिएर सोध्ने गरेको उनको भनाइ छ ।
माघ ५ देखि एक साता विराटनगरको सहीद मैदानमा चलेको मेलामा अटोमोवाइलका लागि ४२ स्टल निर्धारित थियो । यिनमा मध्ये करीव एक दर्जन स्टलमा हलुका सवारी साधन थिए । मेला सकिएपछि विराटनगरमा बाइकको व्यापार बढेको छ ।

Sunday, February 7, 2010

ढुंगा हानाहान-फूल साटासाट


भारतीय नेताहरुले भन्ने गरेझै नेपाल-भारतसम्बन्ध दुइ राष्ट्रको छिमेकमात्र होइन 'रोटी-बेटी' को छ । एकीकृत नेकपा माओवादीले सीमा अतिक्रमणको मुद्दामा भारतले गरेको बलमिच्याइ बुझाउन पोस्टर निकाल्यो । त्यो पोस्टरलाई विहारका सञ्चारकर्मीले समाचार बनाए । समाचार छापिएको दिन के भयो भन्ने चर्चा मैले निकै अघिको पोष्टमा गरिसकेको छु । त्यहा नखुलाएका कुरा अहिले लेख्न उपयुक्त होला ।
सीमावर्ती बजारमा हाम्रो बजारभन्दा केही सस्तोमा सबै उपभोग्य सामाग्री पाइन्छ । थोरै भएपनि पैसा जोगिन्छ । र, खरिदका लागि धेरै भेराइटी पाइन्छ भन्ने धारणा आमउपभोक्तामा छ । त्यसबाट हामी अछुतो छैनौ । विराटनगर,काकडभिटा, वीरगञ्ज, जलेश्वर, नेपालगञ्ज होस् वा महेन्द्रनगर । जहा भारतीय बजार नजिक छन् । नेपाली त्यही पुगेका छन् । गच्छेभन्दा बढि नै किनमेल गर्ने गरेको भेटिनु नौलो छैन ।
समाचार आएका बेला दिनभर विराटनगरनजिकको जोगबनी छिरीसक्नु भएन । बजार बन्द भयो । झोला र सवारी लिएर किनमेलमा कस्सिएकाहरु फिरे । ढुंगा हानाहान हुने स्थिति थियो । प्रदर्शनकारीले भारतीय सीमानाको ढाट खसालेर बाटो अवरुद्ध पारे । नेपाली ढाट पनि खसाल्न आए । तर, उनीहरुलाइ सशस्त्र प्रहरीले धपायो । उनीहरुले माओवादी अध्यक्ष प्रचण्डलाइ सकुन्जेल गाली गरे । त्यस दिनको अवस्था सम्झदा अब सीमानामा दुर्घटना होला भन्ने भय देखिन्थ्यो । त्यस्तो केही भएन । नेपाली छापाले सीमामा भएको त्यो प्रदर्शनलाइ समाचार बनाए । तर, भारतीय छापामा त्यसको समाचार देख्न पाइएन । हो, सदभाव खलबलिन नदिन सञ्चारजगतको भूमिका महत्वपूर्ण रहन्छ ।
शनिवार माघ २३ मा यहा फूल साटासाट भयो । विहारको अररियाका पूर्व विधायक सुकदेव पासवान र नेपालका सभासद मोती दुगडले गला मिलाए । भाषण गरे । उही रोटी बेटीको सम्बन्ध । भारतविरुद्ध नेपाल जादैन । नेपालविरुद्ध भारत । दुइ मित्र । अभिन्न छिमेकी । सीमानामा तनाव भइरहनु ठीक पनि होइन । सदभाव बढने काम गरेकै राम्रो ।

Thursday, February 4, 2010

पालो कविताको : बिथोलिएका दिनचर्या

घर-अफिस
अफिस अनि घर
साँघुरा दिनचर्याभित्र
यन्त्रवत मान्छे
अनपेक्षित पुनरागमन
अनपेक्षित अभिलाषा
दसकपछि फर्किएको खोलो
निर्मल , कञ्चन, शान्त, शीतल
अर्थहीन नाता
भयावह परिणाम
लापरवाह मन
बाटो विराएरै हिड्न खोज्छ
उनलाई सुनिरहुँ झै लागिरहन्छ
दिउँ दिउँ नै लागिरहन्छ ।।

दुइ किनारका यात्री
मन छाम्ने अध्यायको अवसान
मुर्दा फेरि ब्युँतियो
पाइला फेरि बहकियो
सवारी छुटेको यात्रु
फेरि सहयात्री पाए झै गर्छ
अन्यौलको गन्तव्य
ब्रि्रने बाटोमा
रित्तिएको पत्तो हुन्न
दसकको अन्तराल नाघेर
एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ ।।

मध्यरात टिङ टिङ टिङ टिङ
मोवाइल बजेको रहेछ
यु हेभ अ न्यु म्यासेज
सन्देशको संकेत
माफ गर, मलाइ निन्द्रा लागेन
सक्छौ भने फोन गर
एक्लो मान्छे बहकिएको मन
बिथोल्छ्यौ किन मेरो रात
जानी जानी अबुझ बन्न
फेरि आतुर मन
दसकपछिको एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ ।।


मुलुक बदल्ने हुंकारका बीच
अगुवा कुर्लन्छन
मागेर होइन अब अधिकार खोसेर लिने
त्यही गरेकी हौ कि कसो ,
मलमसँगै नुनचुक लगाउने
वर्तमान छुटाइ अतितमा पुर्याउने
मुस्कान त्यो उस्तै छ
स्पर्श यो मादक छ
दसकपछिको एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ
संसार भुलेर
साथ दिउँ दिउँ नै लागिरहन्छ ।।

(विराटनगर, २१ माघ २ :३२ बजे दिउँसो )

Tuesday, February 2, 2010

आहारा खोज्दै गिद्ध

सुनसरीको दुहवी गाविस-१ प्रस्टोकीमा २५ दिनदेखि आउन थालेका गिद्धको संख्या दिनहुँ बढेको छ । चौपायाको दुखाइ निवारकका रुपमा उपयोग गरिने डाइक्लोफेनेक भन्ने औषधि हानिकारक छ । पहिले ठूला सिमलका रुख नासिए, यसले गिद्धको वासस्थान विनास भयो । अनि त्यो ओखती उपयोग गरिएपनि मरेका चौपायाको सिनो खाएर गिद्ध मासिए भन्ने समाचार चार वर्षदेखि नेपाली छापामा बारम्बार आएका छन् ।
दुरदर्शिता नभएका नेताका कारण बिग्रिएको मुलुकमा मान्छेले नै खान नपाएर हराउने बेला भएको छ । वर्षेनी बढेका श्रम शक्तिका लागि रोजगारीको प्रबन्ध छैन । साना ठुला सबै गुटलाई नेता तयार गर्दै फुर्सद छैन । सबैलाइ नेता हुनु परेको छ । देश बनाउने कुरा गरेर आफु बनिने बाटो खोज्नेहरु बग्रेल्ती बढेका बेला चरो जोगाउने कुरा धेरैका लागि असान्दर्भिक लाग्ला । तर, गिद्धका विषयमा धेरै समाचार आए । अन्तत : गिद्ध जोगाउने अयिभान सुरु भयो । दातृ खोजिए । गिद्ध रेस्टुरेन्टका परियोजना ल्याइएका छन् ।
यसरी परियोजना ल्याउनु नराम्रो होइन । तर, दुहबीमा देखिएका गिद्ध उनीहरुको संरक्षणका लागि सहयोगीको भरमा चलाउन थालिएको कुनै यस्तो रेस्टुराले ममचा खान बोलाएर आएको होइन रहेछ । यहा मासू प्रसोधन कारखाना खुलेको रहेछ । त्यसले भैसीको मासू प्रशोधन गरि चीन पठाउन थालेको रहेछ । भैसीको हाड मिल्काउदा त्यसमा छुट्टयाउन नसकेका मासू सुरु सुरुमा कागको आहारा भयो । एउटा भैसीको हाडमा कारखानाले नचाहेपनि करीव चार किलो मासू बाहिर मिल्किने रहेछ । पछि गिद्ध आउन थालेछन् ।
कारखानाले उत्पादन सुरुआतमा पठाउन नपाएर डिप फ्रीजमा राखेको मासू झिक्दै दिन दिनै गिद्धका लागि पस्किदिन थालेछ । देख्ता राम्रो नलाग्ने र गन्ध पनि नमिठो आउने यो ठूलो चरोको जमात यहा खुसी छ । उसले फ्रीजबाट झिक्नेबितिकैको मासू खाँदैन । त्यसलाइ केहीबेर बाहिर राखेपछि चिसो हटछ । गन्ध आउन थाल्छ । अनि खाने रहेछ । कारखानाका सञ्चालकसग कुरा भयो । उनले त्यो कारखानामा चार दर्जनलाइ रोजगारी दिएका रहेछन । उनले नेपालबाट मासू निर्यातका सम्भावना बताए । अनि गिद्धको संरक्षण चाहनेहरुका लागि कुनै परियोजना ल्याइए कारखानाले सघाउने बताए । उनको भनाइमा कारखानाले संरक्षण गरेर सक्दैन । कुरा जायज पनि हो । तर, नजानिदो पाराले संरक्षणमा सघाउ पुर्‍याउन सक्ने रहेछ ।
वातावरणीय संतुलनका लागि भुमिका खेल्ने गिद्धलाइ जोगाउने अभियान मैले नजिकबाट देख्न पाएको छैन । दुहवीमा आएका गिद्ध युराशियन ग्रिफन रहेछन । यिनीहरु समुद्र सतहको ९१५ मिटर आसपास बस्न मन पराउछन । यद्यपि यिनलाइ ३०५० मिटरसम्मको उचाइमा भेटन सकिन्छ । मानिस त बसाइ सरेर यत्रतत्र पुग्छन भने यिनलाइ पनि अतिक्रमणले वास सार्न बाध्य नपार्ने होइन ।
युराशियन ग्रिफनलाइ नेपालीमा खैरो गिद्ध भनिन्छ । नेपालमा हालसम्म आठ प्रजातिका गिद्ध देखिएको हेल्म फिल्ड्स गाइड्सको नेपालका चराहरु भन्ने पुस्तकमा छ । लाम्बर गायर भनिने हाडफोर, इजिप्सियन भल्चर भनिने सेतो, ह्वाइटरम्प्ट भनिने डंगर,स्लेन्डरबिल्ड भनिने सानो खैरो, हिमालय ग्रिफन भनिने हिमाली, युराशियन भनिने खैरो, सिनेरस भनिने राजगिद्ध र रेड हेडेड भनिने सुन गिद्ध । अहिले कोसी टप्पुको सिमल टापुमा गिद्धका ३२ वटा गुँड छन् । केही महिनाअघि त्यसको गणना भएको थियो । तर दुहवीमा देखिएका गिद्धको बथानले निकै लामो यात्रा गरि यहाँ आएको हुनुपर्छ । कारण, यहाँ आएकाको संख्या ६० भन्दा बढि छ । र, यिनमा धेरै वयस्क छन् ।