Wednesday, December 28, 2011

'बुधियार छौडा आ राक्षस'


धेरैपटक सजिला विषयहरु मञ्चन हुन्छन् । ती हेर्दा पनि रमाइला लाग्छन् । गत मंगलवार विराटनगरमा यस्तै एउटा नाटक हेर्न मिल्यो । जनकपुरको मिथिला नाटय परिषद् (मिनाप) को प्रस्तुती ' बुधियार छौडा आ राक्षस ' अर्थात बुद्धिमान केटो र राक्षस । लोककथाको सामान्य लाग्ने विषय । 

मञ्चको सज्जा पनि सरल । भुमि प्रशासन  चोकछेउको खुला मैदानमा भएको नाटक बालबालिकाका लागि थियो । त्यसैले दर्शकमा उनीहरुकै बाहुल्य थियो । डेनिस परियोजना डानिडाको सहयोगमा दुइटा टोलीले नाटक प्रदर्शनको काम पाएका रहेछन् । मिनापले जनकपुर, नारयणी, कोसी र मेचीका विभिन्न जिल्लाका १५ स्थानमा देखाउन यो नाटक र मण्डला थिएटरले पश्चिम नेपालका जिल्लामा देखाउन 'घुम्रिएको कपाल' । त्यसैले मिनाप इटहरीपछि विराटनगर आइपुगेको रहेछ । 

नाटक हेरेपछि मिनापका सूनील मल्लिकसँग केहीबेर कुरा गरियो । धेरैपटक कुनै खास प्रकारको दवाव रहने प्रदर्शनमा यसपटक लोकथा , अनि बालबालिकाका लागि गर्दा त्यस्तो केही छैन । रमाइ-रमाइ गरिरहेका छौ भन्ने उनको भनाइ रमाइलो लाग्यो । हामीकहा अवस्था यस्तो आएको छ, कोही दाता निस्केन भने केही पनि नहुने । नाटक पनि दाताले सघाएमात्रै देखाउने चलन आएछ । यो सोच्दा मन अमीलो हुन्छ । तैपनि विराटनगर गुरुकुल सुस्ताएका बेला मिनापको नाटक हेर्न पाउनु रमाइलै मान्नु पर्‍यो ।

 खुला ठाउमा नाटक देखाउ“दा मञ्च मिलाइरहेका कलाकार परैबाट चिन्न सकिन्छ । उनीहरु पालो मिलाएर आफ्नो भागको काम गर्छन् र साथीका लागि मञ्च व्यवस्थापन सघाउँछन् । मैथिली भाषा बुझन असजिलो छैन । हेरियो, अनि केही लेखियो, जसले यो टोलीलाई नाटक प्रदर्शनमा हौसला मिलोस् । हेरियो, लेखियो । जो यस्तो थियो-

चौरमा कौडाको खेल

विराटनगर - धेरैपटक कुनै खास विषय देखाउने तनावले काम गराउँछ । भाषा, अधिकार र सचेतनाका मुद्दा बोकेर हिँड्ने मिथिला नाटय परिषद् (मिनाप) मंगलबार केही फरक देखियो । फरक यस अर्थमा कि कलाकर्मी विराटनगरको खुला चौरमा थिए । दर्शकदीर्घामा स्कुले बालबालिका । भुइँमा एउटा ल्यापटप, साउन्ड मिक्सचर र डिभिडी प्लेयर ।
मञ्च भनेर छुट्याइएको ठाउँमा मिथिला संस्कृति झल्काउने चित्र अंकित एक मान्छे अग्ला छ-सात वटा साना पर्दा छन् । केहीमा रूखको नक्सा पनि कोरिएका छन् । ग्रामीण क्षेत्रको एउटा घरबाट दृश्य सुरु हुन्छ । घरको एक्लो लाठे छोरो कम्मरको रातो थैली फुकाउँछ । आँगनमा कौडा फाल्छ, अनि गन्ती गर्छ- 'एक, दुई, तीन, चार ।'
आमा आउँछिन् र कान निमोठछन् । गाई बाँध्न, दुहुन र परालको कुटी काटेर हाल्न लगाउँछिन् । आमा यताउता लागेको देख्यो कि ऊ घरि कौडा खेल्छ घरि दलिनमा झुन्ड्याइएको धनुबाण खेलाउँछ । नेपथ्यबाट चर्को आवाज सुनिन्छ, मानौं कुनै ठूलो संकटको संकेत हो । एउटा बलिष्ठ राक्षस आउँछ । केटो भाग्छ । राक्षस गाईलाई जुरुक्क बोक्छ र स्वादिलो हुने संकेत गर्दै काँधमा बोकेर लैजान्छ । केही बेरपछि मञ्चमा देखिएकी आमालाई अक्क न बक्क भएको छोरो राक्षसले गाई लगेको बताउँछ । आमा बिलौना गर्छिन् ।
अब छोरो गाईको खोजीमा निस्कन्छ । उसले जंगलमा राक्षसकी एउटी सुन्दरी भान्जी भेट्छ । राक्षसले उसलाई बन्धक बनाउँछ । कौडा खेल्ने राक्षसलाई ऊ आफूसँग खेल्न चुनौती दिन्छ । कौडा उसले इनारमा मिल्काउँछ र भन्छ 'मैले जितें ।' राक्षस इनारमा खसेको कौडा हेर्न थाल्दा केटाले उसैलाई त्यसमा लडाइदिन्छ । मिनापको 'बुधियार छौडा आ राक्षस' कथा मञ्चन देखेर बालबालिका ताली पिट्छन् ।
४५ मिनेटको नाटकलाई नारायणी, कोसी र मेचीका १५ स्थानमा मञ्चनको अभियान लिएर निस्केको टोलीका लागि विराटनगर १३ औंमा परेको उल्लेख गर्दै मिनाप अध्यक्ष सुनील मल्लिकले भने, 'यसपटक हाम्रो अभियान लोककथालाई बालबालिकाका लागि देखाउने मात्रै हो । अहिले हामी कुनै विशेष प्रयोजनका अभियानले हुने दबाबमा छैनौं ।' नाटक रमेशरञ्जन झाले लेखेका हुन् । यसमा प्रमेश झा, रवीन्द्र झा, पि्रयंका झा र रीना रिमालले अभिनय गरेका छन् ।
आफैं संगीत संयोजन गरेका सुनीलले भने, 'हामीले सडक नाटक र मञ्चमा गरिने नाटकमा धेरै अन्तर हुँदोरहेछ । खुलामा गर्दा प्रकाशको खेल गर्न नपाइने, सबै खुला खुला हुने ।' राजधानीको रसियन कल्चर सेन्टरबाट थालेर महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सुनसरी र मोरङसम्म आइपुग्दा मैथिली भाषाको यो नाटकलाई राम्रो प्रतिक्रिया आएको उनले बताए । झापाको भद्रपुरमा मञ्चनपछि जनकपुर पुगेर यसपटकको अभियानले विश्राम लिनेछ । 'दन्त्यकथालाई कसरी नाटय रूपान्तर गर्न सकिन्छ भन्ने यो अभ्यास पनि हो,' सुनीलले भने ।

प्रकाशित मिति: २०६८ पुस १३

Tuesday, December 27, 2011

दुःखी मान्छेहरु




        बेलाबखत अचम्म लाग्छ, समले किन लेखेका होलान् 'दुःखीको घरमा मात्रै तेरो वास हुने भए हे इश्वर दया राखी मलाइ अझै दुःख दे ।' के उनले दुःख नदेखेका हुन् ? साँच्चै त्यस्तो पनि हुन सक्ला । तर, जीवनको एउटा यात्रा अवधिमा मान्छेले दुःख अनुभूति गरेकै हुनुपर्छ । गच्छेअनुसार त्यसको भोगाइका तरिका फरक होलान् । 
हिजो पत्रकार महासंघ मोरङले एउटा संक्षिप्त पत्रकार सम्मेलन गर्‍यो । पत्रकार सम्मेलन के भन्नु, एक जनालाई उभ्याएर उनका कुरा झण्डै ५/६ जना पत्रकारले सुने । आफ्ना कुरा बताउनेले असहज मानिरहेका थिए । उनी रहेछन् मोरङ उर्लावारी-६ का गोविन्द भण्डारी । भन्दै थिए 'अस्ति नै पनि पत्रकार सम्मेलन गरेको । खोइ केही भएन । कति आफ्ना दुखेसो पोख्नु ?' पुरा कुरा सुन्दा उनलाई झिँझो लाग्नु अस्वभाविक रहेनछ । उनका तीन भाइ छोरामा सबैका मिर्गौला काम नलाग्ने भएका रहेछन् । जेठो छोरोको मृत्यु भएछ । कान्छालाई श्रीमतिको एउटा मिर्गौला गत असोज २९ गते प्रत्यारोपण गरिएको रहेछ । अहिले माहिला छोरा सिकिस्त रहेछन् । सातामा दुइपटक राजधानीको वीर अस्पतालमा डाइलासिस गराइँदै रहेछ । 
उपचार थालेपछि यी किसानले भएको एक बिघा जग्गा बेचेछन् । केही सहयोग जुटेछ, सकेजति ऋण पनि लिएका रहेछन् । करीव २५/२६ लाख सकिएछ । प्रत्यारोपण गर्न १ लाख भए पुग्ने रहेछ । तर, त्यसका लागि तयारी र पछि गरिने औषधोपचार निकै नै महंगो रहेछ । उनी अब २८ वर्षका माहिला छोरालाई आफ्नो एउटा मिर्गौला दिएर बचाउन चाहन्छन् । तर, खर्च छैन । 
उनी निराश थिए । अघिल्लोपटक पत्रकार सम्मेलन गर्दा सहयोगको आशा रहेछ । त्यसो भएनछ । मैले उनलाई सान्त्व्ना दिए । आफुले पनि अघिल्ला घटना सम्भिmए । करीव १० वर्षअघि सुनसरीको प्रकाशपुरको कटान क्षेत्रमा एथानीय जाति चाइँको एउटा परिवारमा जन्मेकी बालिकाको नाक लामो थियो । सानो सानो सुँड जस्तो । हल्ला आयो, सुँड भएकी बच्ची जन्मेकी छे । हेर्न गइयो । अहिले सम्झन्छु, त्यो ओठ-तालु फाटेको भनिने क्लेप्टोलिप्टको केस थियो । विपन्न आर्थिक अवस्थाको परिवार । नानीको मुख र नाकको नली एउटै थियो । मैले उनीहरुको अवस्था र उपचार चाहेका कुरा समाचारमा तस्बिरसहित लेखेपछि छापियो । त्यसको दुइ दिनपछि काठमाडौंमा एउटा संस्थाका कर्मचारीले उपचार खर्च पठाइदिएछन् । मैले उनीहरुलाई लगेर दिए । पछि ती बालिकाको उपचार भएछ । 
दोस्रो घटना एउटा ट्राफिक हवल्दारको थियो । उनका दुवै मिर्गौला काम नलाग्ने भएर सिकिस्त । वीर अस्पतालमा उपचार चलिरहेको थियो । आफन्तमार्फत केहीले मलाइ भेटेर पत्रिकामा लेखिदिन आग्रह गरेका थिए । राजधानीमा उपचार चल्दै गरेको कुरा मैले सुनसरीको इनरुवाबाट लेख्नु अलि सामयिक लागेन । प्रत्यक्ष देख्न भेटन पाएर लेख्नुको मर्म बेग्लै हुन्छ । म त्यसमा अलि सहज मान्छु । मैले काठमाडौं अफिसमै गएर आफ्नो अवस्था बताउन आग्रह गरे । उनीहरुले गरे/गरेनन् त्यो थाहा भएन । यो करीव आठ वर्षअघिको घटना थियो । 
तीन महिनापछि ती हवल्दारलाई इनरुवा महेन्द्रचोकस्थित घर ल्याइएछ । परिवारका सदस्यले फेरि मलाइ भेटे । त्यसबेला उनलाई धरानको वीपी प्रतिष्ठानमा साता-सातामा डाइलासिसका लागि लैजाने-ल्याउने क्रम चलिरहेको रहेछ । सशस्त्र द्वन्द्वको समय, अनि ट्रफिक नै भएपनि प्रहरीका हवल्दार । तैपनि मान्छे नै हो । उनल उपचारका लागि विभागको सहयोग र आफ्नो संचयकोष खर्च गरिसकेको थाहा पाएपछि मैले समाचार लेखे । छापियो । केहीपछि सुने, उनी बितेछन् । समाचार छापिएपनि कतैबाट सहयोग जुटेन । त्यसपछि मलाई सहयोगको याचनासम्बन्धी समाचार लेख्न मन लाग्न छाड्यो । यो क्रम रोकिएको  धेरै भएको थियो । 
हाम्रो देश नै मगन्ते । आधाभन्दा धेरै हामी हुँदा खानेहरु नै छौ । हुने खानेका मन सजिलै पग्लन्छ भन्ने छैन । मान्छे विलासिताले यति माथि पुगेका छन्, अरुको संवेदनाले सजिलै कोही पग्लन्छ जस्तो लाग्दैन । तैपनि बेलाबखत यस्ता समाचारले प्रमुखता पाएका छन् । दुःखीको दुःख हरणका लागि प्रयास भएका छन् । बेलाबेला यस्तो लाग्छ, वरपर मान्छेका भीडमा केही यस्ता देखिन्छन् , मन हुनेसँग दिन योग्य गच्छे छैन । हुनेसँग मन छैन । हुनेहरु मर्दा साथै लगिन्छ जसरी सोहोर्न लागिपरेका छन् । कतै यही भीडबाट यदाकदा दयालु भएर पनि निस्कन्छन् । यदाकदा अपवाद देख्न मिल्छ । 
अरुका कुरा लेखिहिडने सञ्चारकर्मी आफ्नै कुरा मनमा लुकाएर बाहिर हाँसेर हिडनुको विकल्प छैन । जे होस, साठी वर्षे गोविन्द भण्डारीलाई शब्दले सान्त्वना दिइयो । उनको पत्रकार सम्मेलनमा निकै नगन्य संख्यामा साथीहरु भेला भएका थिए । चिया-खाजा र भत्ताको व्यवस्था थयो भने हलमा कुर्सीमा नअँटेर पनि उभिनेको जमात धेरै हुने थियो । अनि सबै टेलिभिजन, रेडियो र छापाका साथीहरु समाचार बनाउन तँछाडमछाड गर्थे । उनको कार्यक्रममा त्यस्तो केही भएन । आयोजक र अतिथि बस्ने आठवटा कुर्सीमा उनी एक्लै थिए । पत्रकारले सोधे -'सहयोग जुटयो भने जम्मा गरिदिन बैंक खाता छ ? , उनी अकमकाए अनि छोरा पदमलाई फोन लगाए । 'सिद्धार्थ बैंक गोंगबु शाखामा ०१६१५०१३०८४ नम्बरको पदम भण्डारीको खाता छ' भन्ने जानकारी फोनपछि सुनाए । पत्रकारले टिपे, खिचे । 
उनले आफ्ना कुरा बताइरहदा बाहिर अर्का टोली अर्को कार्यक्रम गर्न पालो कुरेको देखियो । त्यसपछि हतार हतार उनको कार्यक्रम समापन भयो । मैले उनलाई पत्रकार महासंघको माथिल्लो तलामा लगे । अनि बेग्लै बसेर उनका कुरा सुने । भने 'पत्रकारले लेख्ने हुन्, सहयोगी निस्कनु / ननिस्कनुमा हाम्रो भूमिका खबर दिनेसम्म मात्रै हो ।' उनलाई धेरै कोट्याउनु पनि उचित थिएन । तैपनि उनका कुरा नबुझी लेख्नु पनि भएन । आज कान्तिपुरमा उनको समाचार छापिएको छ । जो यस्तो छ -

तीन छोरा नै मृगौला पीडित
विराटनगर - साठी वर्षे गोविन्द भण्डारीका लागि यो उमेर छोराछोरीको रेखदेखमा जीवनयापन गर्ने हो, तर मृगौला पीडित तीन भाइ छोराको पिरलोले उनको आँखाबाट आँसु थामिन सकेको छैन । मोरङ, उर्लाबारी-३ का भण्डारीका जेठो छोरा रुद्रको दुवै मृगौलाले काम नगरेपछि निधन भएको छ भने कान्छो छोरा पदमलाई आमाको मृगौला प्रत्यारोपण गरिएको छ । सिकिस्त अर्का माहिलो छोरा बद्री साताको दुईपल्ट डाइलासिस गराइरहेका छन्, जसलाई गोविन्द आफ्नै मृगौला दिन तयार छन् तर उपचार खर्च उनीसँग छैन ।      
रुद्र पाँच वर्षअघि बिरामी परेका थिए । ज्वरो आइरहने, पेट दुख्ने समस्या लामो भएपछि धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिँदा उनका दुवै मृगौलाले काम गर्न छाडेको चिकित्सकले बताएका थिए । निम्न आर्थिक अवस्थाको भण्डारी परिवारले भर्ना गरी उपचार चलाइरहन सकेन । घरमै राखिएका रुद्रलाई निकै साह्रो भएपछि मात्रै फेरि उपचार गर्न ल्याइयो तर उनी बाँच्न सकेनन् ।
'माहिलो छोरो कतारमा तीन वर्ष बसेर फर्कियो,' गोविन्दले भने, 'माहिलो र कान्छो दुवै सँगसँगैजस्तो बिरामी परे, दुवैको किड्नी फेल भएको रहेछ ।' आफन्तको सल्लाहमा उनले सिलिगुडी लगेर रामदेवको औषधि चलाए । चार/पाँच महिना चलाएको ओखतीले काम गरेन ।
'कान्छोलाई बेथाले च्याप्दै ल्यायो, माहिलोको रोग भर्खर सुरु भएको रहेछ,' उनले भने, 'जग्गा बेचेर कान्छोका लागि उपचार चलाइयो । अस्ति असोजमा उसकी आमाको एउटा मृगौला डाक्टरले उसलाई लाइदिए । यतिखेर माहिलो सिकिस्त छ ।'
सहयोग र ऋणबाहेक जग्गा बेचेको १४ लाख रुपैयाँ पनि छोराहरूको उपचार गर्दागर्दै सकिएको छ । अब उनी माहिलो छोरालाई आफ्नै मृगौला दिन चाहन्छन् तर उपचार खर्च छैन । 'लिन सक्ने जति ठाउँबाट सहयोग र ऋण लिँदालिँदै २५/२६ लाख सिध्दियो,' सोमबार विराटनगरमा गोविन्दले भने, 'अब रनभुल्लमा छु ।' मृगौला प्रत्यारोपण गरिएका कान्छोलाई ६ महिना ओखती चलाउनुपर्ने, मृगौला दिएकी श्रीमतीको पनि औषधोपचार र सातामा दुई पटक माहिलो छोराको डाइलासिस खर्चले गोविन्द 'कता जाने ? के गर्ने ?' भन्ने पिरलोमा छन् ।
परिवारका आधा सदस्य राजधानीको महँगीमा डेरा गरी बसेर वीर अस्पतालमा माहिलो छोरा बद्रीको उपचार चलाइरहेका छन् ।
वृद्ध गोविन्द सहयोग खोज्न भौंतारिँदै छन् । पेसाले किसान भण्डारी परिवारलाई गाविसले सहयोग नगरेको होइन । स्थानीय केदार चौहान भन्छन्, 'गाविसले सिफारिस गरेपछि सरकारले ५० हजार सहयोग गरेको हो, तर धेरै खर्च लाग्ने उपचारमा ५० हजार सकिन बेर लागेन ।' चिकित्सकले मृगौलाको रोग वंशाणुगत पनि हुन सक्ने बताएका छन् । 'वंशाणुगत हुन सक्छ तर वंशाणुगत नै हो भनेर प्रमाण आएको छैन,' वीर अस्पतालका नेफ्रोलजी विभाग प्रमुख डा. राजेन्द्र अग्रवालले भने, 'यो समस्या अल्पोर्ट सिन्ड्रोम हुन सक्छ तर प्रमाणित गर्ने कुनै साधन छैन ।' डा.अग्रवालका अनुसार वंशाणुगत किटान गर्न 'जेनेटिक कोड' हेरेर भन्न सकिने भए पनि मुलुकमा यो सुविधा उपलब्ध छैन । प्रकाशित मिति: २०६८ पुस १२ 
अपडेट................................................................................................ 

मृगौलापीडितलाई सहयोगको पहल


विराटनगर - मृगौलापीडित मोरङ उर्लाबारी ३ का गोविन्द भण्डारी परिवारका लागि सहयोगको पहल सुरु भएको छ । काठमाडौं बाँसबारीका शरद शर्मा र इलु शर्माले १० हजार रुपैयाँ पदम भण्डारीको सिद्धार्थ बैंक गोंगबु शाखाको ०१६१५०१३०८४ नम्बरको खातामा जम्मा गरिदिएका छन् । पुस ११ गते सोमबार कान्तिपुरमा 'तीन छोरा नै मृगौलापीडित' शीर्षकमा ६० वर्षे गोविन्द भण्डारीका परिवारबारे समाचार छापिएको थियो । 
सभासद मोती दुगडले गोविन्दलाई भेटी सक्दो सहयोग गर्ने बताए । उनले भने, '८ लाख खर्च हुनेमा त्यसको आधाजति भए पनि नव नेपाल निर्माण पार्टीका तर्फबाट सहयोगको पहल गर्छु ।' बिरामीका सबै कागजात ल्याउन लगाएर हेरेपछि सहयोगको प्रक्रिया अघि बढाएको उनले बताए । समाचार पढेर आफू भावुक भएको दुगडले बताए, 'मेरो पार्टी संसद्को ३० औं नम्बरको सानो पार्टी हो, बजेट छैन । जसरी हुन्छ अधिकतम सहयोग गर्छु ।' 
भण्डारीका तीन छोराहरू रुद्र, बद्री र पदमको आपसमा केही वर्षको अन्तरमा दुवै मृगौला बिगि्रएका थिए । रुद्रको निधन भइसकेका छ भने २५ वर्षका कान्छा पदमलाई असोज अन्तिम साता आमा विष्णुमायाको एउटा मृगौला प्रत्यारोपण गरिएको छ । सातामा दुईपटक डाइलासिस गराइरहेका २८ वषर्ीय बद्रीलाई गोविन्द आफ्नै मृगौला दिन चाहन्छन् । मृगौला दिने र प्रत्यारोपण गरिने दुवैको नियमित स्वास्थ्य जाँच, औषधि उपचारका लागि खर्च अभाव भएपछि पत्नी र छोराहरूलाई राजधानीमा डेरामा राखेर उनी पैसा जुटाउन घर फर्केका छन् ।
(प्रकाशित मिति: २०६८ पुस २१)

Sunday, December 25, 2011

तिम्रो कवितामा के छ


एउटा समूह, जसका सबै सदस्य आफै सर्जक छन् । उनीहरू स्कुल-स्कुल पुग्छन् र, छक्क पर्छन् । मोतिराम राष्ट्रिय साहित्य प्रतिष्ठानको नामबाट नेपाली भाषामा सिर्जनशीलताको खोजी गरिरहेकाहरू नवौं श्रृंखलासम्म आइपुग्दा विद्यार्थीलाई विषय टिप्न सक्ने वरिष्ठ कवि भन्न रुचाउने भएका छन् । 
प्रतिष्ठान अध्यक्ष ज्योति जंगल भन्छिन् 'विषय टिप्ने क्षमता अचम्मको भेटिएको छ । जति कार्यक्रम चलाउँदै आयौ, त्यति नै हामीले पनि सिक्न पाएका छौ ।' फेरिएको समयसँगै स्कुलस्तरका बालबालिका अभिभावकका सोच र भोगाइलाई कवितामा उतार्न सक्ने भएको भान हुन्छ । उनी भन्छिन् 'धेरैलाई हाम्रो राजनीतिले प्रभाव पारेको भेटिन्छ ।' संविधानसभा, नया संविधान, सभासद, उनीहरूका चरित्र, संघीयताका मुद्दा, महँगी, दलका रवैया, मागपिच्छे चक्काजामका प्रवृतिले बालमनोविज्ञानमा पारेका असर कवितामा भेटिने उनले बताइन् ।

दलका सयौं नेता, एउटै कुर्सी तानातान
आफ्नो माग पुरा नभए ढुंगामुडा हानाहान ।। 
(अविष दाहाल, कक्षा १०) 

दुइ साताको फरक पार्दै विद्यालयलाई जानकारी गराएर चलाइएको विद्यालय कविता कार्यक्रमलाई 'भाषाको ज्ञान बढाउने माध्यम' मान्छन् कवि तथा गजलकार मधु पोखरेल । उनले भने 'हामीले स्थापितका रचनामात्रै सुन्नुपर्छ भन्ने होइन, यो अभियानले बालबालिकाका रुची, क्षमता र उनीहरूलाई असर पारेका प्रवृतिबारे सुक्ष्म रुपमा बुझने मौका जुटाएको छ ।' उनो भनाइमा कविता र गजलमा रुची राख्ने बाहेक पनि साहित्यबारे बुझन चाहनेलाई अभियानले समेटेको छ । भन्छन् 'नानीहरूका कवितामा छलछाम छैन, एकप्रकारको सोझो प्रस्तुतीले हामी कता जादैछौ र उनीहरू के सिक्दै रहेछन् भन्ने पनि देखाउँदो रहेछ ।' 

धर्म ठान्छन् बिद्यार्थीले परीक्षामा चोर्ने
नदिएमा शिक्षकलाई उल्टै दागा धर्ने
अभिभावकसमेत आइ विद्यालय घेर्ने
किन फेल पार्‍यो भनी गुरुलाई नै केर्ने ।। 
(अभिषेक काफ्ले, कक्षा ८) 

प्रतिष्ठानसम्बद्ध कवि गण्डकीपुत्र भन्छन् 'बालबालिकाका कवितामा समय र प्रवृति भेटिँदो रहेछ । हामीले धेरै यस्ता प्रतिभाशाली बालबालिका भेटेका छौ, जसका प्रस्तुती कुनै मानेमा पोख्त सर्जकभन्दा कम छैनन् ।' विद्यालय कवितायात्राका श्रृंखलापिच्छे विद्यालयहरूको सकारात्मक प्रतिक्रियाले नवोदित सर्जक जुटाउन सकिरहेको उनले सुनाए । गद्य, पद्य वा लेखनका नियमको जानकारीका कुरा बिर्सने हो भने उमेरमा जो पनि एकपटक कवि बन्छ । विषयको बन्धन छैन । उनी भन्छन् 'तर, बालबालिकाका कुरा छुट्टै छन् । उनीहरू निष्कपट छन् ।' अभियानले मंगलवार विराटनगरको अर्कीड उच्चमाविमा नवौं श्रृंखला पुरा गर्दा राजनीति, प्रवृति र समसामयिकतामाथि व्यंग्य गरिएका कविता पुरस्कृत भएनन् । देश, राष्ट्रियता, अनाथका रहर र विद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमाथि गरिएका सिर्जनालाई हौस्याइयो । गण्डकीपुत्रले कारण यसरी प्रष्ट्याए 'विषय लेखन क्षमता र प्रस्तुतीको शिल्पलाई हामीले हौसला दिने हो । बालबालिकाका कविताको स्तरमा भाषा र त्यसका प्रस्तुतीमा मिलेका सिलसिलालाई हौसला दिए पो नेपाली भाषामा उनीहरूको दख्खल बढ्छ ।'

अभियान कसैद्वारा प्रयोजित छैन । अभियानकर्मी कोही पनि फुर्सदिला छैनन् । अभियानले आर्थिक फाइदा पनि दिएको छैन । तर, निरन्तरतामा बेलाबखत विराटनगरमा रहेका सिद्धहस्त सर्जकहरूलाई पनि जोडेको छ । साहित्यिक फाटमा नाम चलेका स्रष्टाहरू अभियानको निम्तो मान्दै निर्धारित विद्यालयमा पुग्छन् । बालबालिकाका कविता सुन्छन् अनि अतिथि कविका रुपमा आफ्ना सिर्जना उनीहरूलाई सुनाउछन् । अभियानकी सदस्य शुभलक्ष्मी लम्साल भन्छिन् 'हामी के लेख्छौ, नानीहरूलाई के सुनाउनु पर्दो रहेछ भन्ने हामीले पनि थाहा पाउने अवसर भएको छ ।' अभियानमा सकभर नछुटाउने कवि खेम नेपाली भाषालाई बुझाउने र बुझने अवसर कार्यक्रमले जुटाएको ठान्छन् । उनले भने 'हामी भाषिक अतिक्रमणको चपेटमा छौ । न अंग्रेजी राम्रो छ नत नेपाली । कविता अभियानले कसेकम नेपाली भाषा जान्दा कोर्सकै लागि पनि राम्रो हुन्छ भन्ने स्कुलका सरहरूलाई पनि बुझाएको छ । 
नवौ श्रृंखलामा निम्त्याइएका वरिष्ठ कवि कृष्णभुषण बलले पनि कविता सुनाए । उनले भने 'मलाई नानीहरूका सिर्जना सुन्न मज्जा लाग्छ । यस्तो मौका मिलिरहे सकेसम्म छुटाउँदिन ।' बिद्यालय कविता यात्राको क्रमका लागि तालिका छैन । छोटो सूचनामा भेला हुने सर्जकहरू फेरि अर्को श्रृंखलाका लागि जुटिसकेका छन् ।
(२०६८ पुस ९ कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पानामा प्रकाशित) 

Saturday, December 17, 2011

उतरार्द्धको एउटा अभियानकर्मी


रातो झोला बोकेर लुखुर-लुखुर हिडदै गरेका भेटिन्छन् । अगाडि सानो टोक्रो भएको साइकलमा कहिलेकाही भेटिन्छन् । जगत सरका बारेमा बेलाबखत लेख्न थालेको सात वर्ष बितेछ । निकै अघि एउटा औपचारिक कार्यक्रममा निर्धारित समयमै पुगिएछ  या भनौ छिटो पुगिएछ । नेपाली चलन, तोकिएकै समयमा कार्यक्रम कहिले पो सुरु हुन्छ र । 
त्यहा केहीबेरको बसाइले मलाइ जसपाल भट्टीको 'फ्लप शो' धारावाहिकको एउटा एपिसोड सम्झाएको थियो । सुरु हुने भनिएको समयमा पुगेका प्रमुख अतिथि आयोजक र निम्त्याइएकामध्ये सबैभन्दा छिटो भएको । केही मान्छे आए । कुरा थालियो । 
रातो झोला बोकेका प्राविका त्यसबेलाका हेड सर जगतप्रसाद अर्यालसँग भेट भयो । उनले खातापत्र फुकाए । अनि आइपुगेका ३/४ जनालाई आग्रह गरे - '५ रुपैया दान दिनुस् । तपाइलाई बुढेसकालमा काम लाग्छ ।' उनको आग्रहले जिज्ञासा बढायो । थाहा भयो - बृद्धाश्रम बनाउनका लागि अभियान रहेछ । २०६२ सालको कुनै महिना थियो त्यो । विराटनगरको संसारीमाइस्थानमा भानुमोरङ प्रावि नामको एउटा स्कुल छ । उनी त्यसैका प्रधानाध्यापक रहेछन् । नगरभित्रको स्कुल, केटाकेटी बाहिर भुइमा पढन बसेको देखेर एक दिन त्यसको एउटा तस्बिर मैले पत्रिकामा पनि पठाएको थिए । 
जगत सरको अभियान राम्रो लाग्यो । उमेरछँदा यस्ता कुराको चिन्ता रहन्न । मरेपछि डुमै राजा । तर, असमायिक केही भइहालेन भने बृद्धावस्था सबैको आउँछ । उनको अभियान महत्वाकांक्षी लाग्दा लाग्दै पनि तरिका मन परेको थियो । मैले फिरेर त्यो दिन कार्यक्रमको समाचारको साटो उनकै बारेमा लेखे । पत्रिकाले पहिलो पानामामा एङ्कर समाचार बनाएको थियो । आज त्यो समाचारको कटिङ मसँग छैन । भएको भए ब्लगमा टाँसी राख्दा कहिलेकाही हेर्न मलाइ नै काम लाग्थ्यो । जे होस् त्यो कटिङ जगत सरसँग अझै सुरक्षित रहेछ । गत विहीवार बृद्धबृद्धाको टोली लिएर सर मेरो अफिसमा आउनु भएपछि मैले पत्रिकाको त्यो कटिङ देख्न पाए । समाचार छापिएका भोलीपल्ट सोही विषयमा सम्पादकीय पनि छापिएको रहेछ । त्यसपछि पनि बेलाबखत मैले बृद्धाश्रमलाई समाचारको विषय बनाएको छु ।  
जगत सरले २०६२ भदौमा स्कुलबाट अवकाश पाएका रहेछन् । त्यसपछि विराटेश्वर बृद्धाश्रम थाले । विराटनगरबाट जोगबनी जाने सडकछेउ ५ कठ्ठा जग्गामा भएको सानो घरमा अहिले बृद्धाश्रम सञ्चालनमा छ । विराटनगरका लागि यो नौलो छैन । कसैले दानपुण्य गर्न मन लागे वा दिवंगत अभिभावक सम्झनु परे बृद्धाश्रममा गएर खाना, फलफुल खुवाउने, दान दिने र लुगाफाटो वितरण गर्ने चलन नै बसेको छ । आश्रम बहालको जग्गामा सञ्चालनमा छ । यो नाफा कमाउने संस्था होइन । 
विहीवार जगत सर मेरो अफिसमा समाचार दिन आएका थिएनन् । उनले बताए- 'चार दिनदेखि घरदैलो अभियान छ ।' मासिक खर्च करीव डेढ लाख पुग्ने उनले बताए । विभिन्न परिस्थिति बृद्धबृद्धा अहिले आश्रममा ल्याइन्छन्, आइपुग्छन् । तर, न्युन मात्र आर्थिक सहयोग जुटेको छ । ५ रुपैया दानबाट र अन्य सहयोग गरि २५ लाख रुपैया जम्मा भएको रहेछ ।  अहिलेको अभियान आश्रमका लागि  आफ्नै जग्गा खरिद गरि भवन बनाउने रहेछ । उनले भने 'म अहिले तपाइजस्तासग सहयोग माग्न हिडेको ।' दुर्भाग्य, पर्समा ५ रुपैयाको नोट  मात्रै रहेछ । त्यही दिइयो । पठाइयो । तर, फेरि पनि समाचार लेख्न मन लाग्यो । र, पूर्वाञ्चल पानाका लागि समाचार लेखियो । 
जगत सरको अभियान महत्वाकांक्षी छ । उनी एक करोड रुपैया जम्मा होस् भन्ने चाहन्छन् । ६८ वर्षका यी बृद्धले महिनाभरिमा पाउने पेन्सनको रकम पनि आधा घरमा दिएर आधा बृद्धाश्रमकै लागि खर्च गर्ने गरेको थाहा पाउदा श्रद्धा लागेर आयो । जिविस र नगरपालिकाले बेलाबखत केही रकम सहयोग गरेपनि त्यो नियमित दिने योजना भित्र परेको छैन । ४० बृद्धबृद्धा पालिरहेको आश्रममा म बेलाबखत पुग्छु । सधै समाचारको मेला हुँदैन । तर, जीवनयात्रा टुंगिनअघि केही गरेरै जाने अर्याल सरको अभियान हेर्दा धेरैबेर कुरा गरिरहन मन लाग्छ । 

Wednesday, December 14, 2011

कोलाबेरी डी


केही अघि एक दिन हिन्दी भाषाको एउटा साइटमा समाचार थियो 'अमिताभ बच्चनले धनुषलाई रुचाए ।' खबरको शिर्षकले जिज्ञासा बढाएन । धनुष भन्ने कोही होला, जसको कामलाई बलिवुडका महानायकले मन पराएका होलान् भन्ने लाग्यो । त्यसलाई खोलेर हेरिएन । 
गत शनिवार कान्तिपुरमा आशिष लुइटेलले 'कोलाबेरी कोलाज' भनेर लेखेपछि त्यो गीत हेर्न मन लाग्यो । गत आइतवार उनै धनुषको नाम गुगलमा सर्च गर्दा युटयुबमा उनको गीतको लिंक देखायो । गीत रहेछ -'ह्वाइ दिस कोलाबेरी डी ।' लिंक फलो गरेर गीत सुनियो । गत नोभेम्बर १६ मा अपलोड गरिएको गीतलाई बुधवारसम्ममा २ करोड २६ लाख ४३ हजार २ सय पटक हेरिसकिएको रेकर्ड युट्युबमा देखियो । यो संख्या लगातार बढिरहेको छ । अंग्रेजीलाई निकै असजिलो पाराले उच्चारण गरिएको गीतले नर्सरी कक्षाका नानीहरुले जस्तो भाषा बोल्दो रहेछ । किन यो हिंस्रक आवेग, केटीले धोका दिए, जीवन अध्यारो, चन्द्रमाको रंग सेतो, त्यो रहने पृष्ठभूमी अध्यारो, मेरो प्रेम, स्कच भरिएको गिलासमा आँसू आदि आदि । गीतको भाषा कतैबाट पनि बान्की मिलेको भन्न मिल्दैन । म्युजिक भिडियोमा दृश्य देखिन्छ- रेकर्डिङ स्टुडियोमा इयरफोन लगाएका धनुष संकेत गर्दै मजा लिइ लिइ गीत गाउछन् । दुइटी युवती र एक युवक रेकर्डिङको कन्ट्रोल प्यानलमा बसेका छन् । बसेमध्येका युवक हुन् गीतका कम्पोजर १८ वषीय अनिरुद्र रविचन्दर । उनी बेला-बेला कीबोर्ड पनि बजाउँछन् । 
अनौठो लबजको गीतमा झुम्ने तरिका फरक छ । गीतमा बेलाबेला बिहेमा बजाइने सनइ प्रकारको बाजाको धुन घुम्छ । मिश्रति संगीत छ । गीत पनि टुटेफुटेका अंग्रेजी समात्दै गाएजस्तो । अझ सर्च गरेपछि थाहा भयो, यो गीतकै बारेमा वीकीपेडियामा छुट्टै पेज नै रहेछ । तमिल र अंग्रेजी मिश्रति भएकाले तंगलिस भनिएको । गाउने धनुष दक्षिण भारतीय चलचित्रका पार्श्वगायक र अभिनेता रजनीकान्तकी  छोरी ऐश्वर्य रजनीकान्तका श्रीमान । २८ वर्षका धनुषले दक्षिण भारतीय चलचित्रका लागि गीतकार र गायकको काममात्र गरेका छैनन् , अभिनय पनि गर्दै आएको उनको पेजमा उल्लेख छ । र, उनले राष्ट्रिय फिल्म पुरस्कारहरु पनि हात पारेका रहेछन् । तमिल भाषाका चलचित्र दक्षिण भारतमै चल्छन् । नेपालमा हामीसम्म आइपुग्दैन । त्यहाको भाषा पनि हामीले बुझ्न सकिने खालको छैन । तर, संगीतको सीमाना छैन । धुन मन परेपनि जो कोही सुन्न रुचाउछ । धनुष दक्षिण भारतीय चलचित्रका लागि सुपरिचित नाम रहेछन् । तर, उनलाई त्यो घेरा बाहिर ल्याउने काम उनको सुप र फ्लप सङ भनिएको संवादयुक्त कोलाबेरीले गरेको छ । धनुषको गीतलाई सोनु निगमले चार वर्षे छोरा निभानलाई गाउन लगाएछन् । त्यो भिडियो पनि कोलाबेरी सर्च गर्दा भेटिन्छ । तर, चार वर्षको फुचेले गाएका शब्दमा धनुषका भन्दा केही फेरबदल छ । उ व्हिस्की भन्दैन, दूध भन्छ । जे होस, भिडियो हेर्दा थाहा हुन्छ, बालसुलभ मुद्रा र भावमा कोलाबेरीको लय उसले पनि समातेको छ । यही गीत महिला स्वरमा पनि छ । 
वीकीपेडियामा छ, ऐश्वर्य रजनीकान्तले निर्देशन गर्दै रहेकी 'थ्री' नामक चलचित्रका लागि भनेर तयार पारिएको कोलाबेरी उनीहरुको अपेक्षाभन्दा बढि चर्चित भएको हो । यो दक्षिण भारतीय चलचित्र सन् २०१२ का कुनै महिना रिलिज हुनेछ । कोलाबेरीले धनुषलाई बलिवुडमा पनि राम्रो पहिचान बनाउन मद्दत गरेको छ । अब उनको स्वर अरु गीतमा सुनिए भने अनौठो हुने छैन । 
म सम्झन्छु, बेलाबखत नेपाली गीतमा पनि अनौठा लाग्ने प्रयोगहरु भएका छन् । हामी लय, सुर र गीतमा भाषाको व्याकरण नै बिगारेर बनाइएका गीतले चर्चा पाएका हुन् । पाएका छन् । धेरैले आलोचना गर्न रुचाउने प्रयोग भएका छन् । तर, हाम्रा प्रयोग किन धेरै लामो र फराकिलो क्षेत्र ओगटदैन । छक्क पर्छु । प्रकाश ओझाको ए बाउ भात खान आउ, श्रीकृष्ण लुइटेलको 'ए बा किन्देउन भटभटे', रुञ्चे गायक प्रकाश पौडेलको 'नाइ मलाइ त्यही केटी चाहिन्छ' आदि आदि । जस्ता गीतहरु सम्झना हुन्छ । गीत केही न केही अर्थ बोक्छ । चर्चा पाउछ । अनि हराउँछ । एकपटक अनौठा गायनले चर्चा पाएकाहरुका निरन्तरता फेरि दर्शक-स्रोतालाई सम्झाइरहने पाराका हुन सकेका छैनन् । कलाकारले फरक प्रयोगको एउटा खुड्किलोको भरले अर्को बाटो बनाउन जरुरी हुन्छ । यसका लागि सूचनाप्रविधि भरपर्दो सहयोगी बन्न सक्छ । इन्टरनेटको संसार यति फराकिलो छ कि हामी त्यसको भरपुर उपयोग गर्न सक्छौ । किन हाम्रा नयाँ पुस्ताका काम गराइ त्यस्तो नभएको होला भन्ने लाग्छ । कलासँग जोडिएका कुरामा प्रयोगपरक हुन जरुरी छ । जसरी हामी धनुषको गीत इन्टरनेटबाट खोज्न सक्छौ त्यसरी हाम्रा कलाकारका खोज्ने दिन पनि आउनुपर्छ ।

धनुषको कोलाबेरी हेर्न/सुन्न मन लागे यो तलको लिंकमा क्लिक गरे हुन्छ ।
















http://www.youtube.com/watch?v=YR12Z8f1Dh8

यस्तो छ गीत  
Yo Boys I Am Sing Song...
Soup Song..
Flop Song..
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di
Rythm Correct
Why This Kolaveri Kolaveri Kolaveri Di
Maintain Please
Why This Kolaveri ..............................Aaa Di
Distance-La Moonu Moonu. Moonu Colour Whiteu.
White-U Background Night-U Night-U, Night-U Colour-U Black-U...
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di
White Skin-U Girl-U Girl-U, Girl-U Heart-U Black-U,
Eyes-U Eyes-U Meet-U Meet-U, My Future-U Dark-U
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di
Mama Notes Edhuthuko, Appadiye Kaiyla Snacks Edhuthuko,
Pa Pa Pa Ppaan- Pa Pa Pa Ppaan- Pa Pa Pa Ppaan Pa Pa Ppan
Sariyaa Vaasi...
Super Mama Ready.. Oneee Twooo Three Four..
Whaa Wat-A Change Over Mama.
Ok Mama Now Tune Change-U.
Kaila Glassu..
Only English...
Handula Glass-U, Glass-La Scotch-U Eyes-U Full-Aa Tear-U
Empty Life-U Girl-U Come-U Life-U Reverse Gear-U
Lovvu Lovvu Oh My Lovvu, You Showed Me Bouv-U
Cow-U Cow-U Holy Cow-U, I Want You Hear Now-U
God-U I Am Dying Now-U, She Is Happy How-U
This-U Song-U For Soup Boys-U,
We Don't Have Choice-U
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di
Why This Kolaveri Kolaveri Kolaveri Di

Tuesday, December 6, 2011

अचम्मका 'भिलेन' बाबा



मोटरसाइकलमा हिँडेका एक दर्जनको जमात जब बरगाछीबाट पूर्व लाग्छ, केही पसले झटपट सटरहरू बन्द गर्छन् । हातहातमा चम्किला तरबार छन् त निधारमा रुमाल बाँधेका छन् । भन्छन्, 'हेर न, फेरि कता झगडा गरेर आएछन् गुन्डाहरू । यता आए के गर्लान् डाँकाहरूले ।' उनीहरूका पछिपछि आएको बसको छतमा हेरेपछि मात्रै सत्यता खुल्छ ।
तरबार बोकेर हिँडेकाको जमातलाई बसको छतबाट क्यामेराले पछ्याइरहेको छ । केहीअघि लागेपछि मोटर साइकलको अगाडि एउटा मारुती भ्यान देखिन्छ । भ्यानको अगाडि सिटमा बायाँपट्टी 'बाबा' बसेका छन् । कुर्ता-पाइजामा र इस्टकोट लगाएका, लामोलामो कपाल भएका । हावाले अनुहारमा ल्याएको कपाल घरिघरि अनुहार छेल्छ । उनी पन्छाउँछन् । घिनाघाटस्थित जनता क्याम्पसको हातामा पुगेपछि दुई निर्देशकमध्येका इन्द्र परियार चिच्याउँछन्, 'कट कट, यो अगाडि भ्यान रोकेर हिँडेको सिन छ । यो सिन रिटेक गरौं ।'
सहरका गुन्डा नाइके बाबाका भाइलाई कसैले कुटेर पठाएको छ । त्यो कुट्नेलाई तह लगाउन बाबा आफ्ना भाइलाई लिएर कलेज आएका छन् । क्यामेराम्यान अबुद्ध खनाल संकेत गर्छन्, 'कलेज ग्राउन्डमा बाबाको डिस्टेन्स र क्लोज दुई सट लिनुपर्छ ।' यो फिचर फिल्म 'स्नेह' को छायांकनका क्रम हो । आधा दर्जन रिफ्लेक्टर ठड्याइन्छ । बाबाको अनुहार उज्यालो जो देखाउनुछ । गाडीबाट ओर्लिएपछि बाबा दलबलका अगाडि आउँछन् । कलेजलाई राम्ररी हेरेपछि चिच्याउँछन्, 'सुनसान । बाबा आएपछि कलेज सुनसान ।'
दृश्य फेरि क्लोज सटमा छायांकन गरिन्छ । 'बाबाको भाइलाई हात लगाउने को हो ? त्यसलाई ज्यानको माया छैन ? म तीन गन्छु, बाहिर निस्की,' चिच्याएका बाबाको अनुहारका भाव फेरिन्छन्, 'लेडिज ? बाबाको भाइलाई पिट्ने लेडिज ? आखिर
किन ?' बाबा बनेका राजकुमार साहले थाहा पाउँछन्— उनका भाइ कलेजमा लागूऔषध बेच्छन् । भेद खुल्छ । त्यसैले पिटाइ खाएका हुन् । उनलाई फोन आउँछ- 'जिविसमा टेन्डरको टाइम भएको छ ।' महिलालाई दुव्र्यवहार नगर्ने र दुव्र्यसनीलाई मन नपराउने अचम्मका यी गुन्डानाइके कलेजबाट त्यतिकै बाहिरिन्छन् ।
विकास चापागाईं, प्रीति शाही, देशभक्त खनाल, मिलन नेपाली, सीता न्यौपाने, जानकी तामाङ, भीम कुँवर र गजेन्द्र खतिवडा लगायत कलाकारको अभिनय रहने 'स्नेह' को सुटिङ डेढ महिनामा सिध्याउने लक्ष्य रहेको निर्देशक परियारले बताए । विराटनगरमा लामो समय सानो पर्दाका फिल्म र रंगमञ्चसँग जोडिएका परियार र विनोद पुडासैनीले यो फिल्म निर्देशन गरिरहेका छन् । देवी पाण्डे निर्माता रहेको फिल्मका लागि सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा छायांकन गरिने भएको छ ।
'सुटिङ थालेको बल्ल चारपाँच दिन भयो,' परियारले भने, 'युनिट र मौसम दुवैले साथ दिएको छ । अहिलेसम्म करिब १५ प्रतिशत सुटिङ भयो ।'
आफैंले लेखेको कथाबारे उनले भने, 'प्रेमकथा भए पनि अहिलेका सामाजिक विसंगतिलाई यो फिल्मको कथाले समेट्छ ।'
(कान्तिपुर दैनिक, कला र शैली पृष्ठ, प्रकाशित मिति: २०६८ मंसिर २० )