Sunday, July 20, 2014

जटायु रेष्टुरेन्ट

दुइ साताका लागि अमेरिकाबाट घर आएका धरान विजयपुरका सन्तोष पोखरेल साथी यात्रा थुलुङलाई भेट्न गएका थिए । त्यो दिन थुलुङ रामधुनीको सालवनी जाने तयारीमा भेटिए । 'उसले जटायु रेस्टुरेन्ट हिडेको भन्यो, म त कुन नयाँ खुलेछ', उनले सुनाए, 'कस्तो परिकार पाउने हो जाउँ कि भनेको मान्छे होइन गिद्धलाई मासू ख्वाउने ठाउँ पो रहेछ ।' 
सात वर्षयता खुल्दै र चल्दै रहेका यस्ता गिद्ध आहार केन्द्रका कुरा नेपाली सञ्चारमाध्यममा पटक-पटक आएका छन् । घुमेका, सुनेका र पढेकाहरू बढेपछि 'जटायु रेस्टुरेन्ट' को नामबाट अब पोखरेल जसरी अचम्ममा पर्नु पर्दैन । सिनो खाएर वातावरण सफा पार्न सघाउने गिद्ध हेर्दा सुन्दर चरा भनिहाल्न मिल्दैन । तर, यी ठूला आकारका दक्षिण एशियाली मुलकमा निरन्तर संकटमा पर्न थालेपछि यसको कारण खोजी भयो । 
ठूलो संख्यामा मरेको पाइन थालेपछि अनुसन्धानकर्ताहरू सक्रिय भए । पहिलो चरणको अनुसन्धान यसको विनाशको कारण वासस्थान संकट र आहाराको कमी हुनुपर्ने कारणलाई आधार मानेर गरियो । त्यो सफल भएन । त्यसपछि मरेका गिद्धलाई प्रयोगशालामा लगेर अध्ययन गर्दा त्यसका शरीरमा अत्यधिक मात्रामा युरिक एसिड भेटियो । मृगौला ड्यामेज भएको देखियो । यसको कारण खोजियो । निष्कर्श आयो - मारिनुको कारण डाइक्लोफेनेक । 
यो ट्याब्लेट र खोपमा आउने दर्द निवारक औषधि हो । प्रयोगमा मात्रा धेरथोर हुने भएपनि स्वास्थ्यकर्मीले यो मान्छे र पशु दुवैका लागि उपयोगी मान्छन् । अझ अधिकतर पशुको दर्द निवारक खोप यही थियो । वातावरणवादीले पत्तो पाए- यो ओखती चलाइए पछि मरेका पशुको सिनो खाएपछि गिद्धको पाचन प्रणाली बिग्रन्छ । उक्त औषधी चलाइएका पशु मरे, तिनको सिनो खाएपछि गिद्धका भित्री अंगहरू बिस्तारै सुनिन्छन् र भिसरल गाउनको समस्या भई मृगौलाले काम गर्न छाड्छन् । अनि यी  प्रकृतिका कुचीकार भटाभट मर्छन् । भएको यही हो । डाइक्लोफेनेक नचलाउँ । बरु यसको ठाउँमा साइड-इफेन्ट नगर्ने मेलोक्सिकेम चलाए हुन्छ । २०६३ मा सरकारले कुरो मानिदियो । 
ओखतीका कुरामा परिवर्तनको माग मानिएपनि घटेका गिद्धको संरक्षणका लागि नौलो कार्यक्रमको खोजी वातावरणवादीले गरिरहेका थिए । चराविद डा. हेमसागर वरालले भने 'त्यही खोजी जटायु रेस्टुरेन्ट हो । गिद्ध जोगाउने योभन्दा कारगर उपाय अरू देखिएन ।' सन् २००७ देखि मुलकका विभिन्न भुभागमा चराविदले सम्भावनाको खोजी गरे । नेपाल पंछी संरक्षण संघका अनुसार मुलुकका २१ जिल्लाका ३९ हजार १ सय २२ वर्गकिलोमिटर क्षेत्रलाई डाइक्लोफेनेकमुक्त मानेर संरक्षणका कार्यक्रम ल्याउने कसरत सुरु भयो । यस्ता ठाउँ खोजियो, जहाँ गिद्ध आहाराको खोजीमा सजिलै आउँछन् । 
नवलपरासीको पिठौलीमा पहिलो यस्तो रेस्टुरेन्ट खोलियो । यसरी खोल्ने क्रम विस्तारै बढ्यो । सामुदायिक वनमा स्थानीय उपभोक्ता समितिको जिम्मा दिएर खोलिएका यस्ता रेस्टुरेन्ट सुनसरीको महेन्द्रनगरस्थित सालवनीसम्म आइपुग्दा मुलुकमा सातवटाको संख्यामा पुगेका छन् । आधा दर्जनलाई आर्थिक-प्राविधिक सहयोग पंछी संरक्षण संघले गरेको छ भने सुनसरीमा हिमाली प्रकृतिले सघाएको छ । 
वन क्षेत्रमा पसेर गिद्धलाई बाधा नपारी उनीहरू आएको र सिनो खाएको हेर्न मिल्ने गरि रेस्टुरेन्ट व्यवस्थापन गरिएका छन् । 
'एउटा गोठ हुन्छ, जसमा बुढा चौपाया पालिन्छ, मर्छन् अनि गिद्ध आउने ठाउँमा राखिन्छ', हिमाली प्रकृतिका निर्देशक प्रा. करणबहादुर शाहले भने, 'यति मात्रै थाल्दा पनि रिजल्ट राम्रो छ । स्थानीयले व्यवस्थापन जिम्मा लिएका कारण गिद्ध अब लोप नहोलान् भन्ने निष्कर्श छ । तर, खोजी अझै गर्नुपर्छ ।' उनका अनुसार नेपालमा पाइने गिद्धका प्रजाति, वासस्थान र उनीहरूको संरक्षणमा गर्न सकिने कामका लागि अहिलेको प्रयास थालनी मात्रै हो भन्न सकिन्छ । 
विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । पंक्षी संरक्षण संघका अनुसार दक्षिण एशियाली मुलुकजस्तै नेपालमा नौ प्रजातिका पाइएको रेकर्ड छ । डंगर, हिमाली, खैरो, सानो खैरो, राजगिद्ध, सुनगिद्ध, गोब्रे, हाडफोर र लामो ठुँडे नेपालमा पाइएका प्रजाति हुन् । संघको सूचीअनुसार नेपालमा हिमाली गिद्धको संख्या १० हजारभन्दा कम, सानो खैरो ५० भन्दा कम र डंगर २ हजारभन्दा कम पाइएका छन् । यसैगरि सेतो गिद्ध १ हजारभन्दा कम, हार्डफोर ५ सयभन्दा कम, सुनगिद्ध ५ सय भन्दा कम, राजगिद्ध २ सय ५० भन्दा कम र लामो ठुँडे गिद्धको संख्या यकिन भइसकेको छैन । गिद्धले मान्छेलाई आक्रमण गर्दैन । ज्युँदा पशु सिकार गर्दैन । मरेका वा फालिएका सिनो खाइदिएर वातावरण सफा राख्ने चक्रमा योगदान गर्छ ।
गिद्ध नाशिनुका कारण वास्थान विनाश र आहारामा विषादि मै प्रमुख रहेको डा. वरालको भनाइ छ । 'अग्ला रूखमा गुँड लाउँछ, ती दिनदिनै मासिए', उनले भने, 'पशुको उपचारमा डाइक्लोफेनेक चल्छ । त्यो चलाएको पशुको सिनो खाए त्यतिकै मरे ।' उनका अनुसार गिद्ध मासिएको नेपालमै मात्र होइन । पाकिस्तान र भारतमा पनि त्यस्तै हो । उनले भने 'नेपालमा संरक्षणका लागि चलाइएको रेस्टुरेन्टको अवधारणा अब ती देशमा पनि सुरु भएको छ ।' यस्तो नगरी संरक्षणको विकल्प नभएको उनले बताए । 
रूपन्देहीस्थित गैडाताल सामुदायिक वनको जटायु रेस्टुरेन्टका संयोजक बाबुराम मल्लले भने 'सुरूमा हामीलाई कस्तो अनौठो कार्यक्रम हो जस्तो लागेको थियो । तर, अब अभ्यस्त भइसक्यौं । सिनो लगेर राखिदिने गर्न अप्ठेरो छैन ।' उनका अनुसार यहा“ मुलुकमा रेकर्ड नौमध्येका ६ प्रजातिका गिद्ध आउँछन् । 
'एक दिन खाए त्यसलाई तीन/चार दिन पुग्दो रहेछ', उनले भने, 'हामीकहाँ वरपर अहिले आफ्नै कालगतिले बाहेक विषदिले गिद्ध मरेको भेटिँदैन ।' समितिले राखेका गोठमा करीव ४० वटा गाइवस्तु छन् । बुढा जनावर किनेर-खोजेर ल्याइन्छ । त्यसलाई पालिन्छ । कालगतिले मरेपछि त्यसलाई गाडामा राखेर गिद्ध आउने खुला ठाउँमा पुर्‍याइन्छ । उनले भने 'हाम्रो वरपर त्यसले गुँड लाउने खालका रूख छैनन् । भए त यता गुँड भेटिन्थ्यो ।'
कैलालीको श्रीपुर मजगाउँ-७ खुटियास्थित समयजी सामुदायिक वनले गिद्ध रेस्टुरेन्ट चलाउन समिति बनाएर साढे ३ हेक्टर जमिन छुट्याएको छ । संयोजक मनबहादुर बमको अनुभवमा अब गिद्ध लोप हुँदैन । 'मान्छेले बुझे यो पनि वातावरणलाई चाहिने प्राणी हो भनेर', उनले भने, 'हामीकहाँ गिद्ध मात्रै होइन त्यसका गुँड हेर्छु भने त्यो पनि देखाउन सक्छौ ।' उनका अनुसार सामुदायिक वन क्षेत्रमा हाल ८२ वटा गुँड पत्ता लागेका छन् । 'रेस्टुरेन्ट सुरु गर्दा तीन वर्षअघि ३५ वटा गुँड थिए', उनले भने, '६ प्रजातिका देखिन्छन् । हिमाली र डंगर गिद्ध धेरै छन् ।' 
नवलपरासी, कैलालीसँगै कास्कीको घाचोक, दाङका लालमटिया, बिजौरी, रूपन्देहीको गैंडातालपछि सुनसरीको रामधुनीमा यस्ता रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । रामधुनी सामुदायिक वन उपभोक्ता समितिको रेस्टुरेन्ट संयोजक केदार राई भन्छन् 'झट्ट सुन्दा अनौठै हो, मान्छेका समस्या थुप्रा छन् कता यो नराम्रो चरो जोगाउनतिर लाग्नु ! पछिपछि कुरो बुझ्दै आइयो । प्रकृतिले सबैको काम विभाजन गरिदिएको रहेछ ।' उनका अनुसार गिद्धले पाएको भूमिका अरूले गर्दैन । 
रामधुनीमा हालसम्म डंगर प्रजातिका १ सय १० वटा गिद्ध आएको गणना गरिएको छ । १५ वर्ष अघिको गणनामा रामुधनी र कोशीटप्पु क्षेत्रमा गिद्धका ६७ वटा गुँड पाइएका थिए । अहिले त्यो संख्या दुइ दर्जनमा झरेको छ । यो क्षेत्रमा गिद्धका सात प्रजाति पाइएका छन् । 'मरेको चौपाया राखिदिएको २० मिनेटमा सिध्याउँछन्' सञ्चालक सदस्य योगेश खतिवडा भन्छन् 'अलि समस्या चाहि यिनका आहारा कसरी पुर्‍याउने भन्नेमै हुन्छ ।' 
उनका अनुसार एउटा गिद्धलाई एकपटकमा ५ किलो मासु चाहिन्छ भन्ने हिसाब गरिन्छ । त्यसलाई आधार मान्दा समितिले स्रोत अभावमा खाँचो पुर्‍याउन सकेको छैन । 
डा. वरालका अनुसार रामायणको कथामा रावणले सीता हरण गर्दा जटायुले जोगाउन खोजेको प्रसङ्ग छ । त्यसलाई आधार मानेर गिद्धलाई जटायु भनिएको र सोहीअनुसार रेस्टुरेन्टको नामाकरण गरिएका हुन् । जाडो छल्न तराई झर्ने हिमाली गिद्धका प्रजाति गर्मि सुरुभएसँगै उकालो लाग्छन् । उनका अनुसार असोजमा गुँड लगाएर मंसिरमा फुल पार्ने यो चरोले फागुन लाग्दा बच्चा कोरल्छन् । समुदायमा आधारीत जटायु रेस्टुरेन्टले गिद्धका गतिविधि हेर्न आउनेबाट प्रवेश शुल्क लिने अभ्यास थालेका छन् । कैलालीका बलले भने 'टिकट काटेर हेर्न पाउनु पनि रमाइलो हो । धेर थेग्दैन तर, प्रवेश शुल्क तिरिदिने बानीले हामीलाई यो कार्यक्रम चलाउन केही केही सहयोग हुन्छ ।' 

(२०७० जेठ ३ शनिवार, कान्तिपुर कोसेलीमा प्रकाशित)

No comments: