Showing posts with label पाहुना कलम. Show all posts
Showing posts with label पाहुना कलम. Show all posts

Monday, August 9, 2010

सिद्रा


पूर्व-पश्चिम, तराई होस् वा पहाड, नेपालका हाटबजार हुन् वा सहरहरु जहिँ पनि प्राप्त हुनसक्ने एउटा लोकप्रिय खाद्यवस्तु - सिद्रा।  कुनैपनि आधुनिक खाद्य प्रविधिबाट टाढा रहेर पनि यसले अझसम्म बजार गाउँ र सहरका उपभोक्ताहरुको नकारात्मक सोचाइ सहनु परेको छैन। 

यसलाई मन पराउने बाहेककाहरुको लागि सिद्राको गन्ध साह्रै लोभ्याउने किसिमको मानिदैन। तापनि आफ्नो उपभोक्ताहरुलाई आकर्षण गर्ने यसमा रहेको स्वादले परिकार रुचाइएको पाइएको छ। वास्तवमा घाममा अस्वस्थकर अवस्थामा सुकाएर ढाकी, बोरा आदीमा राखी बेच्ने गरिएको सिद्रालाई राम्रोसँग चिरेर हेर्ने हो भने मान्छेका लागि खानयोग्य भनेर कुनै पनि खाद्य विशेषज्ञले भन्लान् जस्तो लाग्दैन। तर अनन्तकालदेखि विभिन्न जनजाति भनौ वा जो सुकैले खाँदै आएको हुनाले यसलाई खान हुँदैन भन्न त नमिल्ला। 

मान्छेपिच्छे खानेकुरामा रुचि फरक-फरक हुने भएकाले खाइआएका खानेकुरा जस्ता भएपनि आखिर खाद्य पदार्थ नै हुन् , चाहे जे होस्।
 
सिद्राको अर्थ नेपाली शब्दकोषमा सिन्की झैँ खाँदेर बनाइएको सानो माछा भनिएको छ। सिद्राको यो अर्थ अपूर्ण छ। वास्तवमा सिद्रालाई सिन्की जसरी खाँदेर बनाइदैन। सिद्रा माछा आफैं च्याप्टो  हुन्छ। सुक्दा त झन च्याप्टो हुन्छ। सिन्कीको गन्ध जस्तै सिद्राको पनि आफ्नै किसिमको गन्ध हुने भएकोले सिद्रालाइ सिन्कीजस्तै भनेर उल्लेख गरिएको हो कि। 

मूलाबाट बनेको सिन्कीको गन्ध जसरी अर्कै प्रकारको हुन्छ, त्यसरी नै सिद्रा वा पोथी माछालाई सुकाउँदा रासायनिक परिवर्तनको कारणले बिस्तारै माछाको गन्धबाट सिद्राको गन्धमा परिणत हुन्छ। झन सुकाइएको सिद्रालाई बोरामा राख्ने हो भने त अझ गन्ध फरक भएको पाइन्छ।
 
सिद्रा माछा पुन्टियस जाति अन्तर्गत पर्ने सानो चेप्टो माछाहरु हुन्। हाम्रा पानी भण्डारहरुमा पुन्टियसका १० प्रजाति पाइन्छन्। नेपालमा पाइने यी जातिका माछाहरु ठूलो नहुने भएकाले साधारण शब्दमा यी माछाहरुलाई रद्दी माछा भन्ने गरिन्छ। यी माछालाई अरु माछा नभएको अवस्थामा आलै पकाएर खाइन्छ। तर, सुकाएर सिद्राका रुपमा खान भने  स्वाद पाएकाहरुले मात्र रुचाएको पाइयो।
 
तराईमा पुन्टियस जातिका माछा भदौदेखि कात्तिकसम्म प्रशस्त समातिने गरिएको पाइयो। उत्पादन भएको सिद्रा जाडो महिनासम्म बजारमा पाइन्छ। अरु महिनाहरुमा भारतको नक्सलवाडीबाट आयात गरिएको सिद्राले हाम्रा हाटबजारमा ठाउँ लिएका छन्। नेपाली सिद्राले यसका स्वादे उपभोक्ताहरुको माग जसोतसो दुइदेखि तीन महिना धान्ने गरेको पाइयो। बाँकी समयमा भारतबाट आयातितले नै बजार लिने गरेको अध्ययनमा पाइएको छ। 

यसो हुनुको पछि केही कारणहरु छन् - हामीकहाँ सिमसार क्षेत्रको अवस्था नाजुक हुँदै जानु, माछा मार्दा पानी सुकाएर मार्नु र विषादीको प्रयोग आदी कारणले पनि सिद्राको उत्पादन नेपालमा कम हुने गरेको हो।
 
वर्षायाममा झण्डै ५० प्रतिशत भन्दा बढी सिद्राभित्र कीरा हुने गर्दछ। सुकाउदा झिंगा भन्किने र ओस आएका आलो माछामा झिंगाले फूल पार्ने भएकाले, औंस परेको माछा भित्र झिँगाका लार्भा अवस्थाहरु रहन्छन् र ती लार्भाहरुले माछाको मांसपेशी खाई खोक्रो बनाइदिन्छ। त्यसैले वर्षामा सिद्राको भित्र हेर्दा केवल अस्तिपञ्जर र बाहिर कत्लासहितको छालामात्र हुन्छ। बाहिरबाट हेर्दा सिद्राको अवस्था थाहा पाउन नसकिने भएकाले उपभोक्ता त्यस्ता सिद्रा पनि खरिद गर्छन्।
 
प्राय गरेर हिउँदमा सिद्राको व्यापार धेरै हुने गर्छ। पहाडका उपभोक्ताले सिद्रा किनेर लैजाने र सफासँग सुकाएर राखी वर्षामा खाने गर्दछन्।

आलु जस्तै सिद्राको पनि विभिन्न परिकार बनाएर खाने गरिन्छ। कतिले सोझै तेलमा तारेर सुक्खा खान्छन् भने कतिले टमाटरका साथ पिसेर अचार खान्छन्। जहाँ आगोको भुंग्रो हुन्छ त्यहाँ सिद्रा पोलेर खोर्सानी, अदुवाको साथमा पिसेर अचार बनाएर खाने गर्दछन्। पकाएर खाने सव्जीहरुमा पोलेर वा तारेर मिसाएर खाने गरिन्छ। हिउँदे सिमी, बैगन, मूला, टमाटर, अन्य सिमीका साथमा सिद्राको  कम्बिनेसन अत्यन्तै स्वादिलो हुने उपभोक्ताहरुको भनाइ छ। 

सिद्रालाई प्रोटिन, क्यालसियम, फस्फोरस, भिटामिन र बोसोको माइक्रो स्रोतका रुपमा लिन सकिन्छ। यसबाहेक सिद्रा सुकाउदा माछाको पेट नफाली सुकाइने भएकाले तीतो स्वाद पाइन्छ। तापनि यो पोषिलो हुन्छ। यसलाई मन पराउने उपभोक्ता गन्धले पनि खान रुचाउने उत्प्रेरकको काम गर्ने दाबी गर्छन्। 

पूर्वी नेपालमा सिद्राको व्यापार केन्द्रको रुपमा शनिश्चरे, दमक, मधुमल्ला, लेटाङ, धरानलाई लिन सकिन्छ। धरानबाट मात्र प्रति वर्ष १० टन जति बिक्री हुने यहाँका व्यवसायीहरुले बताएका छन्।  तुलनात्मक रुपमा  तराईका हाटबजारमा यसको खुबै व्यापार भएको पाइएको छ। 

सिद्रालाई स्वास्थ्यका लागि उपयोगी बनाउन माछा सुकाउने आधुनिक प्रविधिको खाँचो देखिन्छ। सुकाउनेदेखि उपभोक्तामाझ पुगुन्जेलसम्म यसको तयारीका विषयमा जानकार कमै पाइन्छन्। खाद्य वस्तुको उत्पादन, भण्डारन र बिक्रीका सबै चरण  स्वस्थकर हुनु आवश्यक हुन्छ। भण्डार कार्य ठीक नभएमा खाद्यवस्तुको गुणस्तर खस्कन्छ। 

यसबारे सम्बन्धित निकाय साथै स्वास्थ्यसँग सरोकार राख्ने सबैको उतिकै ध्यान जानु आवश्यक छ। खाद्यपदार्थको गुणस्तरबारे जनचेतना जगाएर उपयोगिता बारे उपभोक्तालाई सचेत बनाउन जरुरी छ। खाद्य विभाग वा नगरपालिका वा गाविसले खाद्य पदार्थको गुणस्तर प्रमाणित गरी खानयोग्य भनी सिफारिस गरिएको खाद्यपदार्थमात्र हाटबजारमा बिक्री गर्न कानूनी प्रावधान हुन आवश्यक देखिन्छ।

सिमसार क्षेत्रलाई संरक्षण गरेमा सिद्रा माछाको पनि  संरक्षण हुन्छ। सिद्रा केवल उपभोक्ताका लागि मात्र आवश्यक नभएर खाद्य शृंखला र प्रकृतिक सन्तुलनको लागि पनि अत्यन्तै जरुरत पर्दछ।

- डा. भरतराज सुब्बा
subbabharat@yahoo.com

Sunday, August 1, 2010

किन देखिन्नन् चिप्लेकीरा

मौसम परिवर्तन हुने क्रिया लगातार भइ नै रहेको अवस्थामा पृथ्वीको तापक्रम बढेको तथ्यांक प्रकाशमा आएपछि यसबारे विश्वभर चासो बढ्दो छ। वैज्ञानिकहरुले पृथ्वीको तापक्रम वृद्धि हुनुको घटनालाई सबै कोणहरुबाट अध्ययन गर्दै आएका छन्। यसको असर जैविक वस्तुसँगै समुद्र, नदी, हिमाल आदिलाई पनि कसरी किन परेको रहेछ भन्ने तथ्य पत्ता लगाउन प्रयोगहरु गरिएका छन्। 

जाडो महिनामा पनि हिउँ पग्लने, एकातिर हिमताल र नदीहरुमा पानीको सतह बढेको घटनाहरु प्रस्तुत गरेका छन् भने अर्कातिर फूल्ने र फल लाग्ने बिरुवाहरुमा देखिएको समयको अन्तर आदिलाई पनि मौसम परिवर्तनको असर भन्ने गरिएको छ। सुक्खा मौसमले गर्दा पानीका मुहान सुक्ने, पिउने पानीको लागि हाहाकार भएका घटनाहरु हाम्रा सामु नौला छैनन्।
 
वास्तवमा मौसम परिवर्तन गर्ने मुख्य कारक के हो यसमा कुन कुन अन्य कारणहरु सामूहिक रुपमा सक्रिय भएर आज सम्पूर्ण पृथ्वीको तापक्रममा परिवर्तनको हलचल ल्याउन सफल बन्न सक्यो। यो ज्यादै सोचनीय प्रश्न बनेको छ, हामी सबैका लागि। धेरै कारणहरु मध्ये बढ्दो जनसंख्या जसलाई गाँस-बासको व्यवस्था नहुनु, अनियन्त्रित तरिकाले जंगल फाँडिनु, सिमसार सुकाइनु, औद्योगिकीकरण बढ्न युद्धमा वातावरण विनाश गर्ने किसिमका आधुनिक रसायनहरु र हतियारहरु प्रयोग गरिनु, प्रकृतिमाथि बेरोकतोक हस्तक्षेप गरिनु जस्ता मानव क्रियाकलापहरु धेरै हदसम्म मौसम परि्वर्तनका कारकको रुपमा खडा देखिएका छन्। शायद यी बाहेक अन्य धेरै अदृश्य कारणहरु पनि हुन सक्दछन् जसलाई प्रष्ट व्याख्या गर्न गाह्रो हुन्छ।
 
मौसम परिवर्तनका असर क्रमिक रुपमा सम्पूर्ण वनस्पति र जन्तुहरुमा पर्न जान्छ। संवेदनशील जीवमा असर तुरुन्त देखिने र अन्यमा विस्तारै देखिने मात्र हो। मौसम परिवर्तनको असर जलीय र थलीय कुनमा धेरै होला यो पनि एक विशेष अध्ययनको विषय बनेको छ। यसबारे पनि अनुसन्धान भइरहेकै छ। 

मैले विगत १५ वर्षदेखि नेपालमा पाइने शंखेकीराहरुको अध्ययन गर्दै आएको हुँदा हाल यसको अवस्था र विगतका दिनहरुमा रहेको अवस्थालाई तुलनात्मक अध्ययन गर्दा, जमिनमा पाइने धेरै थरिका शंखेकीराहरुको संख्या उल्लेखनीय तरिकाले घटेको पाइएको छ। यसो हुनुको केही खास कारणहरु छन्। 

जमिनमा पाइने शंखे कीराहरु ओसिलो जमिनमा रहने र सुक्खा मौसममा माटोमुनि वा ढुंगा र इँटा आदिमा लुकेर रहने गर्छन्। समय-समयमा पानी नपर्नाले जमिन धेरै सुक्दा उनीहरुको जिउको पानी सुक्छ, यसले उनीहरु मर्ने गरेको पाइएको छ। सायद यसै कारणले होला आगन्तुक लार्ज गार्डेन स्नेल (बगैंचे ठूलो शंखेकीरा), जुन हरेक बगैंचाहरुमा प्रायः गरेर तराईको ओसिलो ठाउँहरुमा छरिएर रहेको छ। यसको संख्या बर्सेनि घट्दै छ। यो ओसिलो ठाउँहरुमा बस्छ र बस्ने ठाउँ जलमय भएमा मर्छ।

विराटनगरको प्राय धेरैजसो गल्लीहरुमा हिड्दा पोलिथिनको ब्यागमा शंखेकीरा पोको पारेर सडकमा राखिएको पाइन्थ्यो। त्यो दृश्य आज कमै देख्न पाइन्छ। बगैंचाबाट गल्लीमा फ्याकिएका शंखेकिराहरु प्रशस्त देखिन्थे। तर आज कमै देखिन्छ वा देख्न छोडिएको छ। 

मैले आफ्नै बगैंचामा वयस्क शंखेकीराहरु वर्षायाममा २०० देखि ३०० सम्म संकलन गर्थें र मार्थें। किनभने तिनले बगैंचामा फूल बिरुवा र तरकारी बालीलाई नोक्सानी गर्थे। तर यस वर्ष जम्मा ४ वटा मात्र भेटिनुलाई मौसम परिवर्तनको असर मान्नुपर्ने ठानेको छु। किनकी मैले मेरो बगैंचामा कुनै किटनाशक औषधि पनि प्रयोग गरेको छैन। यसरी नै अन्य ठाउँहरुमा सुक्खा मौसमले गर्दा धेरै मरे। बाँचेकाहरुले पनि सन्तान उत्पादन गर्ने मौका पाएका छैनन्। किनकी उनीहरुको बासस्थान अतिवृष्टिका कारण जलमय भएको छ।

यसरी नै चुरे पहाड, तराई र महाभारत पहाडका फेदीहरुमा स्थानीय जातका जमिनमा बस्ने शंखेकीराहरु प्रशस्त पाइन्थे। तर, हाल सुक्खाका कारणले धेरैजसो ठाउँहरुमा देखा पर्न छाडेका छन्। यतिमात्र नभएर एप्पल स्नेल, जसलाई डोका भन्ने गरिन्छ, तराईबासीले यसको संख्या पनि अत्यन्तै घटेको बताउँछन्। मोरङका आदिवासीका अनुसार सिमसार मासिनुको साथसाथै डोकाको संख्या पनि उल्लेखनीय तरिकाले हराउदै गएको छ।
 
यस्तै अवस्था छ, जमिनमा पाइने शंखेकिराको, अरु ठाउँहरुमा पनि। यस्तै गरि सिमसार वा पोखरीहरुमा पाइने कछुवा जो जाडो छल्न जमिन भित्र लुक्दछ। सात/आठ महिनासम्म पानी नपर्नाले जमिन बाहिर आउन नसकी मर्ने गर्दछन्।

कछुवाको संख्या घट्ने कारणमा मौसम परिवर्तन एक कारक बनेको छ। पानीमा पाइने माछा लगायत अन्य किराजन्य जीवहरु पानी कम हुनाले वा पानी सुक्नाले सखाप हुँदै गइरहेको छ। निकट भविष्यमा मौसम परिवर्तनले विकराल समस्या ल्याउने छ। यसलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरु भएका छन्। यसबारे धेरैले चासो देखाएका छन्। तर जबसम्म जनचेतना अभिवृद्धि हुँदैन तबसम्म रोकथाम गर्ने सोचले सोचमै पूर्णविराम लिएर रहने छ। 

हरेक राष्ट्रले मौसम परिवर्तनका दुष्प्रभावलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय नीतिको साथसाथै राष्ट्रिय र क्षेत्रीय नीति पनि बनाइनु पर्छ र कडाइका साथ लागू गर्नुपर्ने हुन्छ। हाल राष्ट्रमा देखिएका राजनीतिक समस्याहरु अल्पकालीन हुन् तर मौसम परिवर्तनले ल्याउने समस्या सुल्झयाउन त्यति सहज हुनेछैन। र, त्यसको असरले जीवहरुलाई लोप नै गराउन सक्दछ। समयमा ध्यान नपुर्‍याएमा मानवले धेरै कष्टदायी समय व्यतीत गर्न तत्पर हुनुपर्ने समय आएको छ। 

हाल भइरहेको कुनै पनि वस्तुहरुको महत्त्व नबुझेर नाश गरी तिनीहरुलाई पुनःस्थापन गर्नुपर्ने अवस्थामा पुग्न, विवेकशील मानवको कर्तव्य कदापि हुन सक्तैन। हाम्रो विवेकलाई सही ठाउँमा समयमै प्रयोग गर्नु हाम्रो कर्तव्य हो। हामी सबैको समझदारीमा हामी सबैका लागि अत्यन्तै महत्त्वपूर्ण कदम रहने छ - मौसम परिवर्तन गर्ने हाम्रो क्रियाकलापहरुलाई न्यूनीकरण गर्नु। 

मौसम कसरी बदलिँदै छ, र यसका असरहरु कुन-कुन वस्तुहरुमा देखिँदै छन्? यसको अल्पकालीन र दीर्घकालीन असरहरुले मानवमा कस्तो असर पार्छ ? यसबारे जनचेतना जगाउने मात्र होइन, मौसम परिवर्तनलाई सहयोग पुग्ने जुनसुकै योजना भए पनि रोक्न सरकारले पहल गर्नुपर्छ। 

- डा. भरतराज सुब्बा