Saturday, July 25, 2015

फेवामाथि पखेटा

पुम्दीकोटको उकालोमा ह्यारीले अलि कवि पाराका कुरा गरे । 'चरा हामीभन्दा मुन्तिर, तालभन्दा मास्तिर हावामा तैरिरहेको हेर्दाको मजा । ओहो !', उनले भने, 'अनौठो लाग्छ चरा तालमाथि उडेका छन् । हामीमाथिबाट उनीहरूलाई हेर्छौं ।' नेदरल्याण्डबाट आएका ह्यारी ट्रायोन र क्रीस तातेरो लामो पैदल दूरि नहिँडी नजिकनजिक घुम्ने सुरले निस्केका भेटिए । 
पुम्दीकोटको १३५० मिटरमा बनेको भ्युटावरमा हाम्रो भेट भयो । दुवैले गुनासो पनि गरे । '१९९६ मा काठमाडौं आइयो, त्यसपछि पोखरा पनि घुमियो', ह्यारीले भने, 'यो बितेको अवधिमा धेरै परिवर्तन आएछन् । जता हेर्‍यो घरैघर छन् । परिवर्तन त चाहिन्छ तर, पक्की घर देख्ता अनौठो अनौठो लाग्छ ।' हामी त्यहाँ थियौं, जहाबाट फेवाताल पुरा आकारमा देखिन्थ्यो । पानीको भाग । पानी सुकेर खेती गरिएका भाग । लेकसाइडका होटल र रेस्टुराको कंक्रिटका जंगल । यी दुर्इ हाम्रा पाहुना हुन् । लाग्यो -'यिनीहरूले भनेर हुन्न, हामीलाई गुणस्तरीय जीवन शैली चाहिएको हो । त्यसैले परिवर्तन भएका हुन् । नेपालीले सधैं गरिबको जीवन बाँच्नु पर्छ भन्ने छ र !' फेवातालमाथि चील उडिरहेका थिए । केही भागमा डुंगा देखिन्थे, कतै माथि सराङकोट भएर उडेका केही प्याराग्लाइडिङ पनि रंगीचंगी देखिन्थे । 
जानकारहरूका अनुसार सन् १९५७ को नापीअनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी हाराहारी थियो । सन् २००० मा घटेर ९ हजार ९ सय ५५ रोपनीमा पुग्यो । पोखराको गहनाका रूपमा रहेको यो तालचिन्ता गर्नेहरू भन्छन् '५० वर्षमा तालको क्षेत्रफल आधा घटेको छ ।' अतिक्रमित जग्गा छानबिन समितिको प्रतिवेदनमा आउँदो ७५ देखि सय वर्षा ताल लोप हुनसक्ने खतरा औंल्याइएको छ । फेवाताल बिनाको पोखरा कस्तो होला ? कल्पना पनि भयावह छ । 
०००
फेवातालमा यतिखेर एउटा पाहुनाको केही टोली देख्न सकिन्छ । यो कुनै मुलुकको राहदानी बोकेर आएका पर्यटकको टोली होइन । अंग्रेजीमा 'टफ्टेड डक' भनिने कालीजुरे हाँसका बथान हुन् । डुंगाका भीड छन् । यिनैलाई छलाउँदै, डुबुल्की मार्दै कलाबाजी खाँदै रमाएको टोलीको आफ्नै धुन छ । 'अबको एक हप्तापछि यो यहाँबाट जान्छ । अरु धेरै पानीचरा गइसके', पोखरा, रत्नचोकका हरि केसीले भने, 'अब पहिले पहिले जसरी तालमा चरा कहाँ देख्न पाइने हो र ।'
हिउँदमा अत्यधिक चिसो भेगबाट जाडो छल्न पखेटाधारी फेवाताल र आसपास आउँछन् । बिस्तारै गर्मियामको सुरूसँगै पुरानो थलो र्फकन्छन् । यहाँ कोसी किनारजस्तो काँसघारी छैन । सिमसार क्षेत्र पनि अतिक्रमित हुने क्रमले किनारमा चराका ठूलो समूह हम्मेसी देख्न पाइँदैन । 
६१ वर्षीय केसीले आफैं चरा हेर्न र हेर्न आउनेलाई देखाउन-चिनाउन थालेको २३ वर्षलागेको छ । पोखरा उपत्यकामा पाइने चराका नाम उनलाई कण्ठै छ । गत साता स्वीडेनका पाहुनालाई दिनभरि घुमाएर खुशी पारि विदा गरेको सुनाएका उनले भने 'चराका लागि पोखरा यस्तो ट्रान्जिट प्वाइन्ट हो, जहाँ हिमाली भेगका आइपुग्छन्, तराइका पनि आएको भेटिन्छ ।' उनको भनाइ मान्दा यहाँको प्राकृतिक सुन्दरता मान्छेका लागि जति मोहक छन्, उति नै चराले पनि कम्तीमा दुइ/चार साताको बसाइँ गरेकै हुन्छन् । 
दाङको सल्यानमा जन्मेका उनले रोजगारीको खोजीमा राजधानी र विराटनगरको केही वर्षो बसाइँपछि २०२९ सालमा पोखरा आएको सुनाए । 'त्योबेला फेवातालको पानी सङ्लो थियो । एउटा ठूलो सहर माछा, त्यसका पछिपछि अरु मसिना माछा बिहेको जन्ती गएजस्तो प्रष्ट देखिन्थ्यो', उनले भने, 'बसोबास बढ्यो, सँगै प्रदुषण बढ्यो, अब पानी पहिलो जसरी कहाँ सफा हुनु !'
राजधानीको क्रिष्टल होटेलले आफ्नो शाखा पोखरामा राख्ने भनेर कर्मचारी आवश्यकताको सूचना टाँस गरेको थियो । त्यसमै कुकको काम गर्दै दरवार हाइस्कुलको रात्री कक्षामा ७ मा पढ्न थालेका केसीलाई नयाँ ठाउँ टेक्ने रहर लाग्यो ।  निवेदन दिए । छनोटमा परेर पोखराको लेकसाइड आइपुगे । न्यु क्रिष्टल रेष्टुरामा ६ वर्ष बिताएपछि उनले नजिकैको फिस्टेल लजमा अलि राम्रो दामको उस्तै काम पाए । 'फिस्टेलमा मैले ३२ वर्ष जागिर खाएँ, यही दौरान चराका कुरा रुचि लाग्थे', उनले भने, 'किताबहरू हेर्दै गएँ । त्यस्तै रुचिका टुरिस्टको संगत र आफ्नै परिश्रमले चरा चिन्दै गएँ । सन् १९९६ पछि म यहाँ चरा हेरेर यसको नाम फलानो भन्न सक्ने भएँ ।' पोखरामा चरा चिनाउने केसीजस्ता आधा दर्जन छन्, जो पाहुनालाई ताल, पहाड र यहाँका जंगल घुमाएर रैथाने र आगन्तुक पंछी चिनाउँछन् । यात्रामा वर्षौदेखि हेर्दै आएको फेवातालको चिन्ता गर्छन् । 'सन् २००२ मा पाँच सय हाराहारी पंछी प्रजाति छ भन्ने हामीले अहिले त्यसको ७० प्रतिशत चरा घटे भन्नुपर्छ', उनले सुनाए, 'यहाँ मान्छेलाई चरा चिन्ताभन्दा पनि ठूलो कसरी राम्रो आम्दानी गर्ने भन्नेमा ध्यान भएर प्रकृतिको दोहन यस्तरी हुँदै आयो की असर हामीले खोजी गर्दा धेरै ढिला भइसक्ने अवस्था छ ।'
०००
प्रकृतिको अनुपम सिर्जनामध्येको फेवाताल आफैंमा सुन्दर छ । यहाँ आइपुग्दा मैले एउटा ट्वीट गरेको थिए -'तालको शहरमा तालचिन्ता चैं साह्रै देखिएन । हुन पनि घर की मुर्गी दाल बराबर लाग्दो होला रैथानेलाई । जग्गा मिचेका, ढल फोहर हाल्या । भीड उस्तै ।' रैथाने उपेन्द्र पौडेलले मलाइ मेन्सेर जवाफ फिराए -'पहिला पहिला आउँदा त्यस्तै लाग्छ । पछि बानी पर्छ ।'
उनको जवाफ आफ्नो ठाउँमा सही हो । तर, शहरमा एक झमट पानी पर्दा ढल भएर आउने शहरको फोहर यही तालमा मिसिने रहेछ । ताल नगरी पोखरा शहरका दुइ भाग छन् । एउटाको ढल सेती नदिमा मिसिने, अर्को भागको फेवामा । यहाँ वर्षेनी एउटा दृश्य दोहोर्‍याएर हेर्न पाइन्छ - त्यो हो जलकुम्भी सफाइ ।
मुल स्रोतबाट यात्रा गरेर जलाशयमा आइपुग्ने पानीले बगाएर ल्याउने धेरैथोक हुन्छन् । यिनमा माटोको मात्रा अधिक हुन्छ । फेवा आइपुग्ने मसिना सहायक चार खोलानालासँगै पानीको मुल स्रोत हर्पन खोला हो । 'फेवा जोगाउने विषयमा चिन्ता गर्ने धेरै छन् तर, नबिगारी यथास्थितिमै रहन दिनसक्नु ठूलो चुनौति छ', कास्कीका भुसंरक्षण अधिकृत उद्धवबहादुर घिमिरेले भने, 'फेवाको जलाधार क्षेत्रमा वर्षोनी जाने पहिरोले खुकुलो माटो थुपार्दै ल्याएको छ । एकातिर प्रदुषण बढ्नु, अर्कातिर हर्पन र सहायक खोलाबाट आउने ढुंगामाटो थुप्रि“दै जानु दीर्घकालका लागि फेवातालको सुन्दरताका लागि जोखिम छ ।'
उनका अनुसार उपल्लो र तल्लो तटीय क्षेत्रमा धमाधम जारी अव्यस्थित निर्माणबीच बैज्ञानिक सोच नहु“दा फेवाको भविष्य जोखिममा छ । 'चिन्ता सबैले गर्छन् तर, आफ्नो जिम्मेवारीमा कति गम्भिर होलान् भन्ने खोज्दा निराशा हात लाग्छ', उनले सुनाए, 'संरक्षणको सोचबिनाको अव्यस्थित विकास निर्माणले फेवाको आयु संकुचित हुँदै गएको यथार्थ छ ।'
तालमा हरेकपल्ट वर्षायाममा जलकुम्भी भनिने पानीघाँस बढ्छ । त्यसलाई मिल्काउन अभियान चल्न थालेको पनि एक दसक भएको छ । 'तालमा मिसिने खोलाले ल्याउने मलिलो माटो जलकुम्भीका लागि पोषणयुक्त हुने भएकाले झन झन बढेको हो', कास्कीका जिल्ला वन अधिकृत माधवप्रसाद वरालले भने, 'जलकुम्भी हटाउन एउटा बृहत अभियान नै आवश्यक देख्छु । थोरथोरै काम गरेर यो निर्मुल हुनेवाला छैन ।'
फेवा किनारको पर्यटकीय क्षेत्र लेकसाइडमा साढे चार सय हाराहारी होटल, रेस्टुरा छन् । यिनमा धेरैको पिउनेबाहेक अन्य प्रयोजनमा उपयोग हुने पानीको स्रोत ताल नै हो । केहीले निष्काशित ढल र पानी तालमै मिसाएको विषय लामो समयदेखि विवादमा रहिआएको अवस्था छ । फेवाताल संरक्षणको जिम्मा उपमहानगरपालिकाको हो कि जिविसको । उपत्यका नगर विकास, भुसंरक्षण कार्यालयको हो वा सरकारको भन्ने अलमलले बितेको लामो समयपछि हालै ताल संरक्षण कार्यालय खोलिएको छ । यसका इञ्जिनियर महेन्द्र गोदारले भने 'तालकै संरक्षणको जिम्मा दिएर अफिस राखिएपछि अब भने काम व्यवस्थित हुनेछ भनौं ।'     
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुली फेवा सबैको सरोकारको विषय भएको भएपिनि ठोस काम हुन क्रियाशीलता निकै कम भएको अनुभव गर्छन् । 'हामीले ताल कार्यालयलाई सघाउन सुरू गर्‍यौं । चिन्ता सबैले गरेपनि अगुवाइ लिने निकायकै सक्रियता बढि जरुरी छ', उनले भने, 'प्रदुषणको दोष एकोहोरो होटल-रेष्टुरालाई दिन मिल्दैन । नियममा कडाइ गरेरै जानुपर्छ भन्नेमा हामीले विरोध गरेकै छैनौं ।'