Sunday, March 14, 2010

आखिर चल्दो रहेछ



हातमा साना दुइ झोला बोकेर विद्यालय परिसर पसेकी महिला विस्तारै बसिन् । त्यहा काम गर्ने एक युवकलाई भनिन् 'मेरा छोरा-छोरी बोलाइ दिनुस्न् ।' ती युवक बाहिरिए लगतै पाच वर्षका बालक र सात वर्षकी बालिका आए । दुवै लुटपुटिए । उनले दुवैलाई म्वाइ खाइन् । माया गरिन् । 
छोरो लुटपुटियो । छोरी केहीबेरमै झोला हेर्न थालिन् । आमालाई सोधिन् 'हामीलाई के ल्याइदिनुभएको छ ?' उत्तर आयो 'मालपुवा ।' उनले झोला खोल्दै दिन थालिन् । 'धेरै दिन भएछ छोराछोरी नभेटेको, उनले भनिन् 'त्यही भएर यिनीहरुलाइ नियास्रो लागेको होला ।' मोरङको झुर्किया गाविस-८ बस्ने यी बसन्तीदेवी गनगाई हुन् । उनले भेटेका नानीहरु १ कक्षामा पढ्ने रुपेश र २ कक्षाकी सिर्जनाकुमारी । 
यी नानीहरु पढदै रहेको विद्यालय हो - सुनसरीको हासपोसा गाविसको भवानीपुरमा पर्ने सहीद स्मृति आवसीय प्राथमिक विद्यालय । नामकै सहीद स्मृति भएपछि यहा कस्ता बालबालिका भेला भएका छन् भन्ने अनुमान असहज छैन । कुनै बेलाका शिक्षक सहदेवको सम्झनामात्र बाकी रहेको सुनाएकी बसन्ती भन्छिन् 'अब चाहि नानीहरुले राम्ररी पढछन् की भन्ने लागेको छ ।' पहाडमा शिक्षण पेशामा रहेका सहदेवलाइ बस्न असजिलो भयो । उनले सुनाइन 'त्यसपछि घर आउनुभो, सरुवा मिलेन । जागिर खान पनि सक्ने स्थिति भएन ।' त्यसबेला माओवादी द्वन्द्वले समस्यामा पारेको सहदेवले बसन्तीलाई सुनाएका थिए । 'जुन पार्टीका कार्यकर्ताका कारण पहाडमा बस्न नसक्ने हुनुभएको थियो, उनले भनिन् 'आजित भएर उहा पनि त्यही पार्टीमा लाग्नुभयो ।' पार्टीमा लागेको पाच महिनामा मोरङको कल्याणपुरमा सहदेव सुरक्षा फौजको कार्वाहीमा परे । 

केही भावुक देखिएकी बसन्ती भन्दै गइन् 'उहा त्यस्तो घटनामा परेपछि हाम्रो बिजोक भयो । तर, जीवन जसरी पनि चल्दो रहेछ ।' नानीहरुमा पनि मानसिक आघात परेको उनको अनुभव थियो । 'पछि यो स्कुल खुलेको सुनें, उनले भनिन् 'नानीहरु यहा ल्याएर भर्ना गरियो । आफु जसरी गाउमा थिए, त्यसरी नै छु ।' नानीहरु विद्यालय हालेका एक महिना विछोडिएर बस्न असजिलो भएपनि अबका दिन केही सहज भएको उनको भनाइ थियो ।

बसन्तीजसरी आफ्ना नानीहरु भेटन आउने अभिभावक यहा भइरहन्छन् । नानीहरु फरक भुगोल, भाषा-संस्कृति र परिवेशबाट आएर यहा भेला भएका छन् । उनीहरु साथीको भाषा सिक्छन् । आफ्नो सिकाउछन् । र, साथी बन्छन् । दुइ कक्षाकी सिर्जनालाई स्कुल सुरु-सुरुमा मन परेको थिएन । 'अहिले रमाइलो लाग्छ, उनले भनिन् 'अहिले धेरै साथी छन् । यहा रमाइलो छ ।' समूहमा खाना खानु । आ-आफुलाई तोकिएको ठाउमा सुत्नु । विहान उठेर दात माझनु । समूहमा प्रार्थनामा सहभागी हुनु । पढ्नु-खेल्नु दिनचर्याको रमाइलो दैनिकी भएको बालमस्तिष्कको बुझाइमा पर्छ । उनले भनिन् 'भाइलाई चाहि अलि समय लाग्यो । उसले ममी खोजिरहन्थ्यो । आएकै छ महिना भइसक्यो अब यहा बानी परिसक्यो ।' 
बास फोरेर प्लाष्टिक बेरी बनाइएको छानो र बासकै खाबाखुट्टाको ढाचामा खडा भएको विद्यालयमा सहदेवजस्ता विभिन्न घटनापरि दिवगत धेरैका नानीहरु अहिले कखरा सिकिरहेका छन् । प्रधानाध्यापक रीता फुयाल भन्छिन् 'हामीसग अहिले १ सय १० जना नानीहरु छन् ।' चारकोसे बन क्षेत्रनजिक रहेको यो विद्यालय माओवादी नेतृत्वको सरकारछदा खुलेको हो । त्यसबेला सरकारले पाच विकास क्षेत्रमा यस्ता एउटा-एउटा स्कुल चलाउने नीति ल्याएको थियो । नीति ल्याएपछि पूर्वका लागि सुनसरीको हासपोसासगै पोखरा, दाङ, धनगढी र जिरीमा विद्यालय खोलिए । 
धरान-इटहरी मार्गको तरहरादेखि पाच किलोमिटर पश्चिम भवानीपुरमा स्कुल खुल्यो तर, पर्याप्त पूर्वाधार छैन । विद्यालयका कक्षा कोठामा चिहाउने घाम र बग्ने तातो हावा टीठ लाग्दो छ । बालबालिका सामुहिक पढाइको अभ्यास मात्र गर्दैनन् खेलकूदमा पनि मिलेर सहभागी भइरहेका देखिन्छन् । सञ्चालक अध्यक्ष राम कोइराला भन्छन् 'सरकारले दिने अनुदान पुग्दैन । हामी सहयोग संकलन गरेर स्कुल चलाइरहेका छौ ।' उनका अनुसार सहयोग संकलनकै लागि विद्यालयले पूर्वका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्‍यो । त्यसबाट झण्डै १० लाख रुपैयाँ उठेको छ । 'पर्याप्त होइन, अध्यक्ष कोइरालाले भने 'तर, सहयोगको क्रम यसले सुरु गरेको हामी मान्छौ ।' 
(२०६६ फागुन २९ को कान्तिपुर कोसेलीमा प्रकाशित)

2 comments:

Unknown said...

भीम दाई, तपाईको यो फिचर सारै भाभुक रहेछ । पढ्दै जादा मन भारी भयो । बास्तवमा माओवादी द्वन्द्वकालमा यस्ता धेरै निर्दोश व्यक्ति सहिद भएका छन् । अब भने नेपालमा कसैले कसैलाई नमारोस् अनि कोही बालबालिका पनि टुहुरा नहुन् । आपसी सद्भाव बढोस् । यही कामना गर्दछु ।

Aakar said...

कोसेली पढ्न छुटाइएको थियो यो पटक !

मार्मिक कथा रहेछ । व्दन्दकाल सँग यस्ता मार्मिक घटनाहरु सुन्दा, मुटु कामेको अनुभव हुन्छ । तर जसले जे को लागि बलिदानी हुनुपर्यो, उनीहरु को सपना त कहिले पुरा हुने भएन, यो फोहोरी राजनिति ले ।

एउटा मार्मिक फिचर को लागि धन्यवाद ! आशा गरौँ, मंगल कामना गरौँ ।