त्यो झरी पानीमा एउटा हातमा स्कुटिचर भन्ने भ्यागुता छ अर्को हातमा फोन, बूढा थामिँदैनन्। त्यसको सबै आकार प्रकार बताउँता-बताउँदै भ्यागुतो फुत्कियो। केआर सरले ४५ मिनेट कुरा गरेछन्। ब्याट्री लो भयो। अनि बल्ल फेरि त्यो स्कुटिचर भेटिएको ठाउँ चिनो लगाएर घर आइयो। अर्को दिन फेरि फोन आयो, 'भाइ त्यो स्कुटिचर जतन गरर राखेको होला नि?' मैले भनेँ 'छ सर। राखेको छु। कोही मान्छे पठाइदिनुभयो भने म हात लगाइदिन्छु।'
छिट्टै कसैलाई पठाउन सम्भव थिएन। कारण, मौसम राम्रो थिएन। झरी बादलको मौसममा झापाबाट झट्ट यो पहाडमा कोही आइहाल्न सजिलो नभएको हेक्का मलाई थियो। चार दिनपछि फेरि फोन आउँदा भने म झस्किएँ। लौ बूढाले गाली गर्ने परे भन्ने भयो। 'भाइ, त्यहाँ प्रकाश आउँदै छन्। उनको हात लगाएर पठाइदिनु है।' भने पनि मैले 'हुन्छ सर' मात्रै भने दोहोरो केही भनिनँ।
शंका थियो, त्यो अस्ति फेला परेकै ठाउँमा भेटिने हो/होइन। किनभने त्यस दिन भेटेको भ्यागुतो त्यसै छाडेर ढुंगामा चिनो कोरेर हिँडिएको थियो। उफ्रँदै हिँड्ने त्यो जीव एक ठाउँ बसिराख्ला भन्ने पनि थिएन। खोजी गरियो। एउटा मात्र होइन तीनवटा भेटियो। प्रकाशका हात लगाएर नमुना पठाइयो। त्यो दिन ठूलो हत्तेबाट जोगिएजस्तो भयो। पछि मात्र थाहा भयो इन्डियामा मात्र देखिने भनिएको त्यो भ्यागुतोको त्यो प्रजाति नेपालमै पहिलोपटक भेटिएको रहेछ।
यी थिए इलामको माइमझुवास्थित धनेपा सामुदायिक वन उपभोक्ता समूहका युवा अध्यक्ष नुवीर राईका अनुभव। नुवीर पेसाले अनुसन्धानकर्ता होइनन् न त विज्ञानका विद्यार्थी नै हुन्। तर, उनी इलामे पाखामा पाइने सबै प्रकारका भ्यागुता चिन्छन्। यो विषयका अध्ययनकर्ता प्राडा कालुराम राई खम्बुलाई सघाउँदा-सघाउँदै उनी भ्यागुताका आकार-प्रकार, बानी, वास र आहारा थाहा पाउने भएका हुन्। माइमझुवा र माबुलाई अनुसन्धानको क्षेत्र बनाएका खम्बुका डेढ दशकको साथले धेरै गाउँले सर्प, भ्यागुता, छेपारा र कछुवाबारे बुझ्ने भएका हुन्।
***
'म कति खुसी भएँ, कसरी भनौं?' हर्षित मुद्रामा छामछाम-छुमछुम गर्दै आगन्तुकको हात समाउँछन्। झापा, भद्रपुरस्थित घरमा आइपुग्ने आगन्तुक भेट्दा उनी यसरी नै खुसी हुन्छन्। इलामे पाखामा भ्यागुता र छेपारा खोज्दै हिँड्ने कालुराम राईका आँखाको ज्योति गुमेकाले दैनिकी परनिर्भर भएको छ। अनुसन्धानका विषय कोट्याएर कुरा खोतल्न रुचाउने आगन्तुक उनलाई मनपर्छ। ऊर्जाशील उमेर अध्ययन-अध्यापन र थोरै समय राजनीतिलाई दिएका उनी अब पहिले जसरी सक्रिय छैनन्। भन्छन्, 'मेरो फर्म उजाड भयो। हेर्न आफूले नसकेपछि यस्तै हुने रहेछ।' घरपछाडि कछुवा राख्नका लागि बनाइएको सानो र्फमका बारे उनले बताए, 'अहिले यहाँ एउटा मात्रै कछुवा छ। सुनौलो कछुवा।'
तीन वर्षअघिबाट उनको आँखाको ज्योति घट्यो। उपचार गराए, निको भएन। उनी सुनाउँछन्, 'अहिले अलि-अलि मात्रै ठम्याउँछु।' हेर्ने शक्ति घटेपछि उनको अनुसन्धान रहर पनि क्रमश: थामिएको छ। केही समय उनले सहयोगीका भरमा काम जारी राखेकै हुन्। अब भने पातलिएको छ। रिक्सा चढेर बेलाबखत घरनजिकैको क्याम्पस जाने, आफूले बुझेका कुरा सहकर्मी र विद्यार्थीको सहारामा कक्षामा जिज्ञासुहरूलाई बताउने बानी छँदैछ।
हर्पेटोफाउना अर्थात् सरिसृप र उभयचर विषयमा उनी मुलुककै पहिला विद्यावारिधि हुन्। २०३९ मा त्रिविबाट एमएस्सी गरी प्राध्यापन पेसामा आएका उनी झापाको मेची बहुमुखी क्याम्पसमा प्राणीशास्त्रका प्राध्यापक हुन्।
५४ वर्षीय राई उकुसमुकस खोल्छन्, 'मन बूढो भएको छैन तर आँखाले छेक्यो।' लोप हुँदै गएका जीवजन्तुको चिन्ता छ। भन्छन्, 'प्रकृतिले कति यस्ता जीव दिएको छ, जसले पर्यावरण चक्रमा आफ्नै खालका भूमिका खेल्दा मान्छेका लागि सहयोगी भएका छन्। तर, दु:ख लाग्छ हामी मान्छेको मात्रै स्वार्थ हेर्छौ।'
माइपोखरीका राता माछा, हाँसपोखरीका सालामान्डरका विषयहरू अझै खोजी गर्न मन लागेकाको सूचीमै छन्। दुई वर्षअघिको विश्वकै महत्त्वको रामसार साइट घोषित इलामको माइपोखरीको जैविक विविधता अध्ययन गर्ने काम खम्बु नेतृत्वकै टोलीले गरेको थियो। कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासमा उभयचर संरक्षणका लागि उनले सामुदायिक वनसँग मिलेर गरेका काम अझै हेर्न सकिन्छ। वनमा उनले जीव पाइने भन्दै चिनो राख्न लगाएका स्थान अझै छँदै छन्। कुनै समय प्रशस्तै पाइने गंगे कछुवा, छतरी कछुवा, मयूरपंखी, खबटेधुरी कछुवा, अण्डा खाने सर्प अहिले हराउँदै गएको उनी सुनाउँछन्।
यससम्बन्धी उनले पुस्तक पनि प्रकाशित गरेका छन्। अनुसन्धानकर्ताका पुस्तक सम्बद्ध क्षेत्रबाहेकका लागि जटिल लाग्न सक्छ। तर, उनले सजिलै बुझ्नेगरी जीवनका भोगाइ र जीव अनुसन्धानलाई पाँच सय पृष्ठको 'मेरो अनुसन्धान यात्रा' पुस्तकमा समेटेका छन्।
त्रिविको एसियाली अनुसन्धान केन्द्र आबद्ध प्राडा नोबलकिशोर राई सन् १९९५ मा जर्मनका लागि नेपाली राजदूत भए। उनको चिनजान त्यहाँका जीव वैज्ञानिक हर्मन स्लाइखसँग भयो। प्राडा हर्मन नेपालमा जीवविज्ञानको अनुसन्धानमा सघाउने व्यक्ति खोजिरहेका थिए। उनलाई कालुरामसँग चिनजान गराएपछि नोबलकिशोरले लेखेका छन्, 'कालुराम मेहनती र भरपर्दा छन् तर वाम विचारधारका व्यक्ति हुन् भन्दा हर्मनले हाँसेर जवाफ दिए - बिरालो सेतो होस् वा कालो, मुसा मारे पुग्छ। मलाई कसैको धार्मिक र राजनीतिक आस्थासँग मतलब छैन।'
त्यसपछि हर्मन र खम्बुको काम गराइमा सहकार्य वर्षौं चल्यो। पुस्तकमा गाउँलेले नरिवल, मिस्रीको स्वाद र काठमाडौंले जेरी र स्वारीको स्वाद पाउने नोबलकिशोरको भनाइ छ। चार खण्डमा रहेको पुस्तकमा अनुभवमा केही अंश लेख्न कालुरामलाई उनकी जीवनसंगिनी शुभलक्ष्मीले सघाएकी छन्। लेख्न असजिलो भएपछि खम्बु फरर भन्ने र शुभलक्ष्मीले लिपिबद्ध गर्दै लगिन्। केचना पौवाभञ्ज्याङदेखि म्याङलुङ, सोलु, गुफापोखरी, मिर्चैयादेखि खुम्बुजुङ र बैतडीसम्मका रुटमा भेटिएका तथ्य र त्यसका लागि गरेको दु:ख उनले उल्लेख गरेका छन्। जर्मनी, बेल्जियम, नेदरल्यान्ड, लन्डन र म्युनिखसम्म अनुसन्धानका लागि भएका यात्रा र खोजीका दिन फरक-फरक स्मरणमा उनले समेटेका छन्।
खम्बु भन्छन्, '१६ सय किलोमिटर पैदल हिँडियो, उभयचर र सरिसृपको अनुसन्धान मात्रै गरिएन किरातका भाषा सर्वेक्षण पनि गरियो।' त्यसैले ऊर्जाशील उमेरका अनुसन्धानलाई उनी दुई पाटोमा बताउन रुचाउँछन् - पहिलो हर्पेटोलोजिकल अनुसन्धान, दोस्रो पूर्व क्षेत्रमा छरिएका २६ वटा किरात राईका भाषाको सर्वेक्षण।

