सहभागी निस्कन भ्याउदैनन्, तानातान सुरु । 'यता आउनुस न यता । ल ल रेडी, अ भन्नुस त के भयो आज -' आमिर खानले बनाएका बहुचर्चित हिन्दी चलचित्र 'पिप्ली लाइभ' को झल्को दिने यो दृश्य कुनै नाटक वा सिनेमाको होइन । पिप्ली लाइभका पात्र नत्थाको गाउमा आत्महत्याको हल्लाका पछि लागेर च्यानलकर्मी दृश्य थियो । त्यहाँ लाइभ चलाउने ओभीभ्यान देखिन्थे । खोजी र चासो गर्ने पत्रकारको बानी उस्तै ।
बान्की मिलोस् नमिलोस् । कामको चिन्ता । यहाँ त्यस्तै झल्को दिने खालका दृश्य । फरक, यो गाउँमा नत्थाजस्ता पात्रमाथि आधारित भएर भीड आएको होइन । न त सेटलाइटका रिफ्लेक्टर जडित ओभीभ्यान छन् ।
रूखको आडमा ठड्याइएका बाँसमा इन्टरनेट कनेक्टर डिभाइस लागेका छन् । तीनमा रातो, पहेँला र हरियो रंगका साना बत्तिजडित इण्डिकेटर प्लीक प्लीक गरिरहेका छन् । मुन्तिर कतै डेस्कटप कतै ल्यापटपमा व्यस्त हातहरु । बेला बेला बोली सुनिन्छ । बेला बेला संकेतको भाव । क्यामेराको एङ्गल मिले नमिलेको इसारा । एउटाले बोल्दै गरेको आवाजले अरुलाई बाधा परेको छ । तर, चिन्ता परेको देखिन्न ।
भीड बीचबाट झिकेर एकातिर नेता ल्याइन्छ, अर्कातिर टीभी क्यामेराका अघि बोल्लानजस्ता लागेका सहभागी । टेलिभजन च्यानलको तँछाड मछाड । गोरखाको पालुङटार गाविसस्थित तान्द्राङटारमा भएको माओवादी छैटौं विस्तारित बैठकस्थल बाहिरका सम्झना हुन् । एक साता बितेको छ । अब सम्झना नै भन्नु उपयुक्त हुन्छ ।
काम विशेषले राजधानी हान्निएका बेला त्यहाँ जाने जिम्मेवारी आयो । ठाउँ देखिने, स्वाद फेरिने । सञ्चारकर्ममा नौलो ठाउँ पुगेर त्यहाँको रिर्पोटिङ अवसर पनि हो । त्यस्तै भयो । सुनसरी सदरमुकाम इनरुवाबाट वराहक्षेत्रको चतराघाट वा विराटनगरबाट लेटाङ बजार सम्झिएजस्तो लाग्यो पालुङटार गाविस ।
एउटै जिल्लाभित्रको गाविस पनि सदरमुकामबाट अलि असजिलो बाटो काटेर जानुपर्ने । जे होस, एकीकृत माओवादीले यहाँ गरेको छैटौं विस्तारित बैठकले सञ्चारमाध्यमको ध्यान खिच्यो । नखिचोस् पनि कसरी ! संविधानसभा चुनावमा सबैभन्दा धेरै सीट जितेको पार्टी । एक दसकदेखि मिडियालाई बारम्बार हिन्दी मसला सिनेमाजस्तो मसला समाचार दिइरहने दल । जे होस, पालुङटारको त्यो पाखोमा विद्युतीय र छापा माध्यमका पत्रकारको घुइँचो भयो ।
पालुङटार गाविस तनहुको तुरतुरेबाट करिब १२ किलोमिटर पूर्व-उत्तरमा पर्ने रहेछ । गोरखाको पुरानो एयरपोर्ट भएको गाउँ । 'तनहुँको तुरतुरे जाने स्थिति भएको अवस्था विद्यमान हो । मौका मिले दुलेगौंडा जाने पनि पार्टीको विचार छ ।' एक जना मित्रको फेसबुक स्ट्याटस यस्तो थियो । पढेपछि हाँस उठ्दो । अनि जिज्ञासा पनि हुने खालको । उनले राखेको स्टाटसका बारेमा त्यहीँ पुगेपछिमात्र ज्ञात भयो । मुग्लिनबाट पोखरा जाने बाटामा तुरतुरे र दुलेगौंडा दुवै पर्ने रहेछ ।
म साथीहरुसँग डुम्रेमा बास बसेँ । अनि बैठकस्थलमा कार्यक्रम चलुञ्जेल धाएँ । माओवादीका केही कुरा नौला, केही असजिला र केही हाँस उठ्दा लागे । अनि केही अरुले अनुसरण गरे हुन्थ्यो जस्तो । खबरका कुरा नगरौँ, जो छापा र विद्युतीय माध्यममा आएर बासी भइसकेका छन् ।
बैठकस्थल तान्द्राङटारमा थियो । पालुङटार गाविसको सानो बजार ठाटीपोखरीबाट २० मिनेट पैदल दूरिमा पर्ने । नेता सबैजसो ठाटीपोखरीका घरहरुमा बास बसेका थिए । कार्यकर्तालाई भेटेसम्म गाउँलेका घरमा बास, नभेटे त्यहाँको विद्यालयमा बसाइएको रहेछ ।
बैठक चलुञ्जेल त्यहाँको स्वास्थ्य चौकीमा दिनहुँ डाक्टर हाजिर थिए । उपचारका लागि आउनेलाई बाधा थिएन । स्वास्थ्य चौकीले पनि उपचार सेवा जारी रहेको जनाउ दिन रातो तुलमा लेखेर झुण्ड्याएको थियो ।
बैठकस्थलको ५०० मिटर पर पर्यवेक्षक र सञ्चारमाध्यमका गाडी पार्किङ गर्नुपर्ने थियो । अध्यक्ष प्रचण्डको प्राडो गाडी सिधै बैठकस्थल प्रवेश पाउथ्यो । अन्य नेता र लडाकु शिविरका गाडी बैठकको द्धार नजिक पार्किङ गर्न दिइएको थियो । सञ्चारकर्मीले बैठकको पहिलो र समापनका दुइ दिनमात्र सो ठाउँमा प्रवेश पाए ।
टेलिभजनहरुले बाहिरै बसेर लाइभ र रेकर्ड चलाइरहे । रेडियोकर्मीले मोबाइलबाट लाइभभन्दै बैठकस्थल बाहिर भेटिएकासँगका कुरा बजाए । छापामाध्यमका पत्रकारले नेता-कार्यकर्ता बैठकबाट बाहिरिदा पछ्याएर कुरा गर्दै समाचार लेखिपठाए । अनधिकृतलाई बैठकस्थलमा प्रवेश निषेध थियो । मोवाइल, क्यामेरा र रेकर्डर लैजान मनाही भए पनि सहभागी कतिले बाहिर ल्याएर रेकर्ड सुनाउथे । तस्बिर देखाउँथे । भित्र के भयो बताउदा गर्व महसुस गर्थे । नेताहरु बन्द सेसनमा भएका कुरा भन्न नमिल्ने भन्दाभन्दै वास्तवमा 'त्यसो भएको नभइ यस्तो भएको' भन्दै बताउँथे ।
संविधानसभा निर्वाचनमा धेरै सीट ल्याएका नाताले ठूलो पार्टी भएपछि माओवादीमाथि सबैको ध्यान हुनु अस्वाभाविक थिएन । तर, सो पार्टीले सूचना दिने प्रणाली व्यवस्थित गरेको देखिएन । जति कडाइ भने पनि भित्र भएका कुरा जस्ताको तस्तै बाहिर आउँथ्यो । जुन नेताका पक्षमा कुरा मिडियालाई दिन मन लाग्थ्यो परिचालित मान्छेहरु सोही अनुसार काम गरेका देखिन्थे ।
अहिले पालुङटार बैठकको समीक्षा भइरहेको अवस्था छ । नेताहरुले जे भनुन बजेट ल्याउन नदिन सदनमा गरेको तोडफोडको हंगामापछि पार्टी कता जान्छ र के गर्छ सबैका आँखा उनीहरुलाई पछ्याइरहेको अवस्था छ । यो पाटो समीक्षककै लागि छाडे पनि सात हजार सहभागी भए भनिएको बैठकमा कतै झगडा भएको सुनिएन । राजनीतिक दलकै कार्यक्रम भएपनि त्यसका लागि पालुङटारमा सडक खनिए । पानी पुर्याइयो । बिजुली पुग्यो र दुरसञ्चारको क्षमता थप गरिएको रहेछ ।
यद्यपि त्यहाँ निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायकको एउटा लाइन बाहेक इन्टरनेटको सुविस्ता थिएन । एनसेल र टेलिकमको सीडीएमएबाट पनि भने जति ब्याण्डविथ उपलब्ध थिएन । मेल चल्थ्यो । ठूला फाइल एटेचमेन्ट लिँदैनथ्यो ।
बाहिर चौरमा घाम ताप्दै उज्यालोमा आफ्नै अनुहारमात्र ऐना जसरी देखिने ल्यापटपको मोनिटर अघि घोरिनु एक साता दैनिकी बन्यो । बान्की नमिलेका तर, तिखा स्वर भएका टेलिभिजनकर्मीका अनुहार हेरेर भन्न केही मिल्ने अवस्था थिएन । मानौँ कुनै विशेष घटना भएको छ । त्यसरी उनीहरु चिच्चयाइ-चिच्याइ 'लाइभ'मा बोलिरहेका देखिन्थ्यो ।
आफूलाई समाचारजन्य तस्वीर मेल गर्न निकै असजिलो भए पनि काम चल्यो । दिनभरिमा पटक-पटक लाइभ चलाउने सञ्चारकर्मीहरुको तँछाड मछाड एक साता चलेको तान्द्राङटारमा अहिले फेरि कुनै च्यानलकर्मी फिरेका छैनन् होला । त्यहाँबाट फिरेर आएपछि अब कतै टेलिभिजनकर्मीले खिचिरहेको वा 'स्ट्याण्डअप' दिन उभिएको देखे तान्द्राङटार सम्झाइरहनेछ ।

1 comment:
ha ha ha...no comments !!!
Post a Comment