मस्तिष्कको आदेश जब नसाहरूमा दौडन्छ, अनि अंगहरू काम गर्छन् । हात चलाउनु । गोडा चलाउनु । मुख बाउनु अनि मुखमण्डलले भाव व्यक्त गर्नु मस्तिष्ककै आदेश हो । जब मस्तिष्कको आदेश मान्न सक्ने अंगले काम गर्दैन, त्यसबेला डाक्टरहरू भन्छन्– ‘सेरेब्रल पल्सी अर्थात् मस्तिष्क पक्षाघातको अवस्था हो । फिजियोथेरापी गर्नुपर्छ ।’ फिजियोथेरापीले सुधार हुनु/नहुनुमा रोग र शारीरिक अवस्थामा निर्भर हुन्छ । सुधार हुन पनि सक्छ । नहुने सम्भावना पनि हुन्छ ।यही नहुने सम्भावनालाई जितेर उभिएको नाम हो– झमक घिमिरे ।
***
धनकुटा हुलाकका कर्मचारी कृष्णबहादुर घिमिरेले बिहे गर्दा पत्नी आशादेवी १४ वर्षकी थिइन् । चार वर्षपछि उनीहरूले छोरी जन्माए, २०३७ असार २१ गते । ‘डेढ वर्षपछि मात्र हामीले चाल पायौं, छोरीका हातगोडा नचल्ने रहेछन्,’ आमा आशादेवी भन्छिन्, ‘पाँच सन्तानमध्ये जेठी छोरी हो झमक ।’ सानोमा झमक अलि मोटी थिइन् रे ।
त्यसबेला धनकुटा जिल्ला अस्पताल बनिसकेको थिएन । विदेशी चिकित्सकको सानो मिसन थियो, जहाँ उपचार सेवा दिइन्थ्यो । डाक्टरले एक्सरेपछि ‘हाड लुलो छ, अरू केही समस्या छैन’ भने । आशादेवी भन्छिन्, ‘त्यसपछि हामीले धेरै ठाउँमा देखायौं । धामीझाँक्री लायौं । वराहक्षेत्र लगेर कोसीको पानीमा चोपल्नेदेखि छिन्ताङदेवीको मन्दिरसम्म पनि पुर्यायौं ।’ नाम अनुरूपकी आमा आशादेवीले अरू दुई सन्तान जन्मिएपछि पनि ठुलिछोरी निको होलिन् भन्ने आश मारिनन् । हजुरआमा अप्सरादेवीले डालोमा राखेर उभ्याउँदा ठीक होलिन् भनेर अनेक सीप लाइन् । तर, झमकका आदेश हातगोडाले त्यसरी मानिदिएनन्, जसरी उनलाई सामान्यसरहको जीवनका लागि आवश्यक थियो ।
उनले भाइबहिनी जसरी स्कुल जान पाइनन् । घरैमा धुलोमा गोडा चलाएर लेख्ने कला आफैंले आफूमा भरिन् । आत्मकथालाई उनले ‘जीवन काँडा कि फूल’ कृतिमा पस्केकी छन् । २०६७ सालको चर्चित यो कृतिभित्र उनले आफू जीवित हुनुका कारक त खोतलेकी छन् नै, असमान्यबाट सामान्यतर्फको जीवनको आरोह–अवरोहलाई पनि खोतलेकी छन् । २०५७ यता ११ वटा साहित्यिक कृति सिर्जना गरिसकेकी झमक सुन्छिन् तर लेखेर बोल्छिन् ।
२०५३ तिर धनकुटा क्याम्पसका विद्यार्थी विदुर सुवेदीले रेडियो कार्यक्रम घटना र विचारलाई झमकका बारेमा लेखिपठाएका थिए । त्यसबेला उनी आफ्नो देब्रे गोडाले लेख्न जान्ने हुन थालेकी थिइन् । रेडियोले उनका बारेमा बोलिदिएपछि झमकको लेखनमाथिको रुचि समाचारहरू बन्न थाले । साहित्यिक कृति पढ्ने र लेख्ने गर्दागर्दै उनको पहिलो कविता संग्रह ‘संकल्प’ २०५५ मा विराटनगरका भीम कोइरालाले प्रकाशित गर्न मद्दत गरे । पहिलो संग्रहको ख्यातिलाई उनले लेखन–ऊर्जाका रूपमा लिइन् । साहित्यमा उनलाई हौसला दिने कार्यक्रम हुन थाले । २०५७ मा उनका चारवटा कृति प्रकाशित भए– कविता संग्रह ‘आफ्नै चिता अग्निशिखातिर’ र ‘मान्छेभित्रका योद्धाहरू’, क्वाँटी संग्रह ‘अवसानपछिको आगमन’ र लेखसंग्रह ‘सम्झनाको बाछिटाहरू’ । कविता संग्रह ‘नौलो प्रतिविम्ब’ (२०६०), कथा संग्रह ‘पर्दा, समय र मान्छेहरू’ (२०६२), निबन्ध संग्रह ‘बेमौसमका आस्थाहरू (२०६३), झमक घिमिरेका कविताहरू (२०६५), लेखसंग्रह ‘रात र भूतप्रेतहरूको सन्त्रास (२०६७) उनका अन्य प्रकाशित कृति हुन् ।
उनको घरमा अहिले पहिलो पुस्तक कविता संग्रह ‘संकल्प’ एक प्रति पनि छैन । अरु सबै जतन गरि राखिएको छ । त्यो पुस्तकको खोजी छ ।
***
धनकुटाको सल्लेरी वन छिचोलेर कान्लाको टाँडेघरमा पुग्दा भुइँ तलाको पहिलो कोठाभित्र लेखिका झमक भेटिइन् । कोठाका भित्ता प्रमाणपत्र र ती ग्रहण गर्दाताकाका तस्बिरले भरिएका थिए । र्याकभरि साहित्यिक कृतिहरू मिलाएर राखिएका रहेछन् । दक्षिण फर्किएको ढोकाबाट पसेपछि पश्चिमतर्फ पलङमा उनी केही लेखिरहेकी थिइन् । सबेरै उठेर चिया खाने, अनि पत्रपत्रिका पढ्ने उनको दैनिकी हो । यतिखेर उनी विशिष्ट नरनारीका ओजश्वी चिन्तनको संगालो ‘दिस आई विलिभ’को नेपाली रूपान्तर ‘मेरो विश्वास–मेरा मान्यता’ नामक पुस्तक पढिरहेकी छन् । विशिष्ट क्षमताकी धनी झमकलाई आमाको सहारा छ । नेपाली साहित्यको भण्डारका लागि ठूलो भर बनेकी झमक अहिले आफ्नै घर–परिवारका लागि पनि ठूलो सहारा भएकी छन् ।
उनका लागि विशेष प्रकारको शौचालय बनाइएको रहेछ । हिंड्नका लागि गोडाले रिमोट नियन्त्रण गर्न मिल्ने ह्विलचियर पनि उनलाई प्राप्त भएको छ । यद्यपि उनका घरबाहिर ह्विलचियर गुडाउन मिल्ने बाटो अझै बनिसकेको छैन । त्यसैले विशेष सुविधायुक्त यो ह्विलचियर थन्किएको छ ।
राजधानीमा उनको नाममा प्रतिष्ठान कार्यालय खोलिएको छ । भक्तपुरको बालकोटस्थित उक्त प्रतिष्ठान रहेको डेरामा बेलाबेलामा झमक लामै समय बस्छिन् । राजधानीका साहित्यिक कार्यक्रममा सहभागी हुनुपर्दा र उपचार गराउन आउनुपर्दा त्यो एउटा बास बस्ने सहज थलो भएको छ उनलाई । राजधानीको त्रिवि शिक्षण अस्पताल र मोडेल हस्पिटलका केही चिकित्सकले उनलाई उपचारमा सघाएका छन् । डा. वसन्त पन्त र डा. जगदीशप्रसाद अग्रवालको छुट्टाछुट्टै टिमले उनका बारेमा परिवारका सदस्यलाई सल्लाह दिने गरेका छन् । उपचारमा सघाउने गरेको छ । दुई वर्षअघि उनी निकै बिरामी परेकी थिइन् । त्यसबेला चलाइएको औषधि उनले जीवनभर दिनहु खानुपर्ने छ । परिवारका अनुसार उनले पाएका पुरस्कारका राशि उनकै बैंक खातामा जम्मा गरिन्छ । इटहरीमा उनको नाममा सात धुर जग्गा जोडिएको छ ।
आफ्नै नामको ख्यातिले यात्रा गर्दा पछिल्ला वर्षहरूमा केही सहज भएको छ । तैपनि घरबाट विराटनगर विमानस्थलसम्म गाडीको यात्रा सकसपूर्ण रहँदै आएको छ । उनी बाहिरका खानेकुरा हम्मेसी खान्नन् । लुगाफाटा र चाहिने सामान उनका लागि बेग्लै बोक्नुपर्छ । यी सबै जिम्मा आमाका काँधमा छन् । पानी खान उनलाई सजिलो हुने गिलासदेखि अन्य सामान ख्याल गरेर बोकिन्छ ।
छोरी, त्यसमाथि असामान्य क्षमताकी । कुनै बेला परिवारका जिम्मेवार सदस्यको हेयको सिकार बनेकी उनी आफ्नै पौरखले अवस्थालाई आफू अनुकूल बनाउन निकै हदसम्म सफल भएकी छन् । कुरा काट्नेहरूलाई अहिले झमकसँगको आफ्नो नाता र सम्झना सुनाउन पाउँदा गर्व लाग्छ । परिवारको आर्थिकस्तर उकास्न उनकै साहित्यिक लगावले मद्दत पुर्याएको छ । २०५५ मा कविताराम बालसाहित्य पुरस्कारबाट सुरु भएको उनको हौसला बढाउने अभियान जारी छ । उनले मदन पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएकी छन् ।
झमक कुनै बेला चित्र कोर्थिन् । कुची खेलाउन मन लाग्ने उनलाई ढाडको समस्या हुने देखिएपछि चिकित्सकले ‘त्यसो नगर्नू’ भने । चित्रकारिता बन्द छ । लेखन सुचारु छ । भन्छिन्, ‘कहिलेकाहीं मान्छेलाई यस्तो पनि हुन्छ, कुनै कुरा शब्दले व्यक्त गर्न सकिंदैन । त्यो व्यक्त गर्ने वातावरण हुँदैन । मलाई त्यतिबेला कुची, रंग, ब्रस समात्दा र रंगहरूसँग खेल्दा आनन्द लाग्छ ।’ उनको ख्याति पूर्वी पहाडको धनकुटाबाट सुरु भएर निकै फराकिलो बनेको छ । सबैजसो साहित्यिक कृति पढ्न रमाउने बानीसँगै लेख्ने बानी नियमित छ । ‘के हुन्छ झमकको कृतिमा ?’ प्रश्न गर्दा उनका बायाँ गोडाले कलम समाते र, लेखे– ‘मेरो कृतिमा जीवन हुन्छ । विचार हुन्छ, कला हुन्छ ।’ कविता र अन्य विधा कसरी लेखिन्छ भन्ने सोधाइमा उनले भनिन्, ‘कविता लेख्न मुड चाहिन्छ । अरू लेख्छु भनेर बसेपछि लेखिन्छ ।’
२०७० फागुन ७ मा कान्तिपुर विशेषांकमा प्रकाशित । यो रिपोर्ट विनोद भण्डारीको सहकार्यमा तयार पारिएको थियो ।
No comments:
Post a Comment