मस्तिष्कको आदेश जब नसाहरूमा दौडन्छ, अनि अंगहरू काम गर्छन्। हात चलाउनु। गोडा चलाउनु। मुख बाउनु अनि मुखमण्डलले भाव व्यक्त गर्नु मस्तिष्ककै आदेश हो। जब मस्तिष्कको आदेश मान्न सक्ने अंगले काम गर्दैन, त्यसबेला डाक्टरहरू भन्छन्– ‘सेरेब्रल पल्सी अर्थात् मस्तिष्क पक्षाघातको अवस्था हो। फिजियोथेरापी गर्नुपर्छ।’ फिजियोथेरापीले सुधार हुनु/नहुनुमा रोग र शारीरिक अवस्थामा निर्भर हुन्छ। सुधार हुन पनि सक्छ। नहुने सम्भावना पनि हुन्छ। यही नहुने सम्भावनालाई जितेर उभिएको नाम हो– झमक घिमिरे।
***
धनकुटा हुलाकका कर्मचारी कृष्णबहादुर घिमिरेले बिहे गर्दा पत्नी आशादेवी १४ वर्षकी थिइन्। चार वर्षपछि उनीहरूले छोरी जन्माए, २०३७ असार २१ गते। ‘डेढ वर्षपछि मात्र हामीले चाल पायौं, छोरीका हातगोडा नचल्ने रहेछन्,’ आमा आशादेवी भन्छिन्, ‘पाँच सन्तानमध्ये जेठी छोरी हो झमक।’ सानोमा झमक अलि मोटी थिइन् रे।
त्यसबेला धनकुटा जिल्ला अस्पताल बनिसकेको थिएन। विदेशी चिकित्सकको सानो मिसन थियो, जहाँ उपचार सेवा दिइन्थ्यो।
डाक्टरले एक्सरेपछि ‘हाड लुलो छ, अरू केही समस्या छैन’ भने। आशादेवी भन्छिन्, ‘त्यसपछि हामीले धेरै ठाउँमा देखायौं। धामीझाँक्री लायौं। वराहक्षेत्र लगेर कोसीको पानीमा चोपल्नेदेखि छिन्ताङदेवीको मन्दिरसम्म पनि पुर्यायौं।’
नाम अनुरूपकी आमा आशादेवीले अरू दुई सन्तान जन्मिएपछि पनि ठुलीछोरी निको होलिन् भन्ने आश मारिनन्। हजुरआमा अप्सरादेवीले डालोमा राखेर उभ्याउँदा ठीक होलिन् भनेर अनेक सीप लाइन्। तर, झमकका आदेश हातगोडाले त्यसरी मानिदिएनन्, जसरी उनलाई सामान्यसरहको जीवनका लागि आवश्यक थियो।
उनले भाइबहिनी जसरी स्कुल जान पाइनन्। घरैमा धुलोमा गोडा चलाएर लेख्ने कला आफैंले आफूमा भरिन्। आत्मकथालाई उनले ‘जीवन काँडा कि फूल’ कृतिमा पस्केकी छन्। २०६७ सालको चर्चित यो कृतिभित्र उनले आफू जीवित हुनुका कारक त खोतलेकी छन् नै, असमान्यबाट सामान्यतर्फको जीवनको आरोह–अवरोहलाई पनि खोतलेकी छन्। २०५७ यता ११ वटा साहित्यिक कृति सिर्जना गरिसकेकी झमक सुन्छिन् तर लेखेर बोल्छिन्।
२०५३ तिर धनकुटा क्याम्पसका विद्यार्थी विदुर सुवेदीले रेडियो कार्यक्रम घटना र विचारलाई झमकका बारेमा लेखिपठाएका थिए। त्यसबेला उनी आफ्नो देब्रे गोडाले लेख्न जान्ने हुन थालेकी थिइन्। रेडियोले उनका बारेमा बोलिदिएपछि झमकको लेखनमाथिको रुचि समाचारहरू बन्न थाले। साहित्यिक कृति पढ्ने र लेख्ने गर्दागर्दै उनको पहिलो कविता संग्रह ‘संकल्प’ २०५५ मा विराटनगरका भीम कोइरालाले प्रकाशित गर्न मद्दत गरे।
पहिलो संग्रहको ख्यातिलाई उनले लेखन–ऊर्जाका रूपमा लिइन्। साहित्यमा उनलाई हौसला दिने कार्यक्रम हुन थाले। २०५७ मा उनका चारवटा कृति प्रकाशित भए– कविता संग्रह ‘आफ्नै चिता अग्निशिखातिर’ र ‘मान्छेभित्रका योद्धाहरू’, क्वाँटी संग्रह ‘अवसानपछिको आगमन’ र लेखसंग्रह ‘सम्झनाको बाछिटाहरू’।
कविता संग्रह ‘नौलो प्रतिविम्ब’ (२०६०), कथा संग्रह ‘पर्दा, समय र मान्छेहरू’ (२०६२), निबन्ध संग्रह ‘बेमौसमका आस्थाहरू (२०६३), झमक घिमिरेका कविताहरू (२०६५), लेखसंग्रह ‘रात र भूतप्रेतहरूको सन्त्रास (२०६७) उनका अन्य प्रकाशित कृति हुन्।
उनको घरमा अहिले पहिलो पुस्तक कविता संग्रह ‘संकल्प’ एक प्रति पनि छैन। अरु सबै जतन गरि राखिएको छ। त्यो पुस्तकको खोजी छ।
***
धनकुटाको सल्लेरी वन छिचोलेर कान्लाको टाँडेघरमा पुग्दा भुइँ तलाको पहिलो कोठाभित्र लेखिका झमक भेटिइन्। कोठाका भित्ता प्रमाणपत्र र ती ग्रहण गर्दाताकाका तस्बिरले भरिएका थिए। र्याकभरि साहित्यिक कृतिहरू मिलाएर राखिएका रहेछन्। दक्षिण फर्किएको ढोकाबाट पसेपछि पश्चिमतर्फ पलङमा उनी केही लेखिरहेकी थिइन्।
सबेरै उठेर चिया खाने, अनि पत्रपत्रिका पढ्ने उनको दैनिकी हो। यतिखेर उनी विशिष्ट नरनारीका ओजश्वी चिन्तनको संगालो ‘दिस आई विलिभ’को नेपाली रूपान्तर ‘मेरो विश्वास–मेरा मान्यता’ नामक पुस्तक पढिरहेकी छन्। विशिष्ट क्षमताकी धनी झमकलाई आमाको सहारा छ। नेपाली साहित्यको भण्डारका लागि ठूलो भर बनेकी झमक अहिले आफ्नै घर–परिवारका लागि पनि ठूलो सहारा भएकी छन्।
उनका लागि विशेष प्रकारको शौचालय बनाइएको रहेछ। हिंड्नका लागि गोडाले रिमोट नियन्त्रण गर्न मिल्ने ह्विलचियर पनि उनलाई प्राप्त भएको छ। यद्यपि उनका घरबाहिर ह्विलचियर गुडाउन मिल्ने बाटो अझै बनिसकेको छैन। त्यसैले विशेष सुविधायुक्त यो ह्विलचियर थन्किएको छ।
राजधानीमा उनको नाममा प्रतिष्ठान कार्यालय खोलिएको छ। भक्तपुरको बालकोटस्थित उक्त प्रतिष्ठान रहेको डेरामा बेलाबेलामा झमक लामै समय बस्छिन्। राजधानीका साहित्यिक कार्यक्रममा सहभागी हुनुपर्दा र उपचार गराउन आउनुपर्दा त्यो एउटा बास बस्ने सहज थलो भएको छ उनलाई। राजधानीको त्रिवि शिक्षण अस्पताल र मोडेल हस्पिटलका केही चिकित्सकले उनलाई उपचारमा सघाएका छन्।
डा. वसन्त पन्त र डा. जगदीशप्रसाद अग्रवालको छुट्टाछुट्टै टिमले उनका बारेमा परिवारका सदस्यलाई सल्लाह दिने गरेका छन्। उपचारमा सघाउने गरेको छ। दुई वर्षअघि उनी निकै बिरामी परेकी थिइन्। त्यसबेला चलाइएको औषधि उनले जीवनभर दिनहु खानुपर्ने छ। परिवारका अनुसार उनले पाएका पुरस्कारका राशि उनकै बैंक खातामा जम्मा गरिन्छ। इटहरीमा उनको नाममा सात धुर जग्गा जोडिएको छ।
आफ्नै नामको ख्यातिले यात्रा गर्दा पछिल्ला वर्षहरूमा केही सहज भएको छ। तैपनि घरबाट विराटनगर विमानस्थलसम्म गाडीको यात्रा सकसपूर्ण रहँदै आएको छ। उनी बाहिरका खानेकुरा हम्मेसी खान्नन्। लुगाफाटा र चाहिने सामान उनका लागि बेग्लै बोक्नुपर्छ। यी सबै जिम्मा आमाका काँधमा छन्। पानी खान उनलाई सजिलो हुने गिलासदेखि अन्य सामान ख्याल गरेर बोकिन्छ।
छोरी, त्यसमाथि असामान्य क्षमताकी। कुनै बेला परिवारका जिम्मेवार सदस्यको हेयको सिकार बनेकी उनी आफ्नै पौरखले अवस्थालाई आफू अनुकूल बनाउन निकै हदसम्म सफल भएकी छन्। कुरा काट्नेहरूलाई अहिले झमकसँगको आफ्नो नाता र सम्झना सुनाउन पाउँदा गर्व लाग्छ। परिवारको आर्थिकस्तर उकास्न उनकै साहित्यिक लगावले मद्दत पुर्याएको छ।
२०५५ मा कविताराम बालसाहित्य पुरस्कारबाट सुरु भएको उनको हौसला बढाउने अभियान जारी छ। उनले मदन पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएकी छन्।
झमक कुनै बेला चित्र कोर्थिन्। कुची खेलाउन मन लाग्ने उनलाई ढाडको समस्या हुने देखिएपछि चिकित्सकले ‘त्यसो नगर्नू’ भने। चित्रकारिता बन्द छ। लेखन जारी छ। भन्छिन्, ‘कहिलेकाहीं मान्छेलाई यस्तो पनि हुन्छ, कुनै कुरा शब्दले व्यक्त गर्न सकिंदैन। त्यो व्यक्त गर्ने वातावरण हुँदैन। मलाई त्यतिबेला कुची, रंग, ब्रस समात्दा र रंगहरूसँग खेल्दा आनन्द लाग्छ।’
उनको ख्याति पूर्वी पहाडको धनकुटाबाट सुरु भएर निकै फराकिलो बनेको छ। सबैजसो साहित्यिक कृति पढ्न रमाउने बानीसँगै लेख्ने बानी नियमित छ। ‘के हुन्छ झमकको कृतिमा ?’ प्रश्न गर्दा उनका बायाँ गोडाले कलम समाते र, लेखे– ‘मेरो कृतिमा जीवन हुन्छ। विचार हुन्छ, कला हुन्छ।’ कविता र अन्य विधा कसरी लेखिन्छ भन्ने सोधाइमा उनले भनिन्, ‘कविता लेख्न मुड चाहिन्छ। अरू लेख्छु भनेर बसेपछि लेखिन्छ।’
***
२०७० फागुन ७ मा कान्तिपुर विशेषांकमा प्रकाशित । विनोद भण्डारीको सहकार्यमा तयार पारिएको ।

No comments:
Post a Comment