Tuesday, September 1, 2015

काम सानो कहाँ हुन्छ र

आफ्ना कुरा 
समाचार जे बनाए पनि हुन्छ । विषय चयन र त्यसको प्रस्तुतिका भाषामा भर गर्छ - हामीले के दिन खोजेका हौं र, कति पठनीय छ । यहाँ मुन्तिर एउटा फीचर छ । मलाइ मन परेको विषयमाथि । काम कुनै पनि गरे हुन्छ । जसले अरुलाई अपराध लाग्दैन र, इमानदारीको पेशा हो, त्यो गरिखान पर्छ । मलाइ त्यस्ता विषय मन पर्छ । सबैले मेरै रोजाइका विषयमा लेख्नु पर्छ भन्ने होइन तर, मुलुकमा हुनेखाने र हुँदा खानेका कुरा चल्दा यस्ता मान्छेहरुका कुरा लेखिनुपर्छ जस्तो लाग्छ, जो देशमै बसेर गरिखान सकिन्छ, संघर्षबाट भाग्न हुँदैन, स्थिति फेरिन्छ भन्ने उदाहरण हुन् । लेख्ने भन्दैमा थोरै गरेर हामीले कहिलेकाही पगरी लाइदिन्छौं, जो पछि ती पात्रलाई भारी हुन्छ । उसको सँगै हाम्रा नि शिर निहुरिन्छ । त्यसो चाहिँ गर्न हुँदैन ।
पोखरा आएपछि मर्निङ वाकमा निस्कँदा एउटा पसलमा १४/१५ वटा साइकलमा मुडा, कुचो, चटाइ आदि घरेलु उपयोगका सामान लोड भइरहेको देखिने । मान्छेका हतार । लोड गर्‍यो, हिड्यो । खुब रमाइलो दृष्य । गन्ती र लेनदेनमा ती पसले साउजीको हतार पनि हेर्न लायक ।
अनि म सधैं जाने डेरीमा दूध लिन मान्छेका लाम । भैंसीको दूध लिटरको सय, गाइको ८० । अलि ढिला पुगे दुवै फिनिस । भाडा किन्न जाने पसलमा तराइ मुलका नम्र साउ । चरक अस्पताल नजिकैको सस्तो बजारका फलफूल पसले । म तरकारी किन्दा उनकोबाट एकाध किलो स्याउ पनि किन्छु । उनले सधैं भन्छन् 'बोहोनी त गरिदिनुस् ।' मलाई उनको बानी अचम्म लाग्थ्यो । बोहोनी गरिदिउँ भनेर स्याउ किन्यो, आँप पनि बोहोनी भाको छैन, अनार पनि, केरा पनि भन्ने । विराटनगरमा मेरो घर नै चौधरी टोलमा छ । मलाहा चौधरी । वरपर निकै घर ठाकुर छन् । तिनका सैलुन छन् । बजारमा मैले सधैं कपाल काट्नेमध्येका दुइ ठाउँ थिए/छन्- ओमप्रकाश भाइ र मामाजीको सैलुन । विराटनगर जुट मिल बन्द भएपछि मिल्स एरियाको बजार छिन्नभिन्न छ । ओमप्रकाशको सैलुन रहेको पसलको लाइनका घर भत्काइए । उनी बोडर छेउ पुगेका छन् । अब म मामाजी कहाँ जान्छु/जान्थेँ । १८० रुपैयाँमा दारी, कपाल काट्न मिल्ने । मालिस पनि गरिदिने । 
पोखरा आएपछि सहकर्मी शिव शर्माले त्यस्तै एउटा मान्छे भेटाए । दिलु सिंह । रमाइला । गफी । आउजाउ गरिरहँदा यहा मलाइ उनी नौलो लाग्न छाडेको छ । उनलाई फोन गरेर 'लु म आउँछु, भीड त छैन होला नि' भन्दै हेन्सम पार्लर गए हुने । साना पसल खोल्दा सैलुन । त्यसैलाई अलि बढि लगानी थपेर सञ्चालनमा ल्याए पार्लर भनिने रहेछ । 
यी वरपरका गरिखाने पेशाका सोझा मान्छे राजनीति र देश चिन्ता पनि गर्छन् । कुरा सुन्छु । विचार आयो - यीमध्येका केही मान्छेका कुरा लेखौं । सहकर्मी शिवजीका साथ उक दिनभरि घुमियो । फलफूल, सैलुन, घरायसी सामान र भाडाका पसलमा गइयो र, उनीहरूका नितान्त व्यक्तिगत कुरा सोधियो । अनि बन्यो समाचार । 
सधैं लाग्छ, हाम्रै वरपर काम छन् । थरिथरि पेशा छन् । इलमका काम सिक्नेले भोको बस्नु पर्दैन । र, इलम नसिके पनि सानातिना व्यवसाय गर्नेले पनि जीवन राम्रै गुजार्छन् । अलि नियालेर हेरे बिभिन्न पेशा गर्न मान्छेहरू घर-परिवार, गाउँ छाडेर नयाँ ठाउँ आएका छन् । खाली सिसी-पुरानो कागजको आवाज नै सम्झनुस् । की त सम्झनुस् तरकारी, फलफूल र चटपटेका आवाज । के तपाइ-हामीले आफ्नै गाउँका तन्नेरीलाई मोटरसाइकल, कुकर र ग्याँस स्टोभ मर्मतको पसल खोलेर बसेको देखेका छौं ? यी पनि त राम्रै आम्दानी दिने पेशा हुन् ।
मलाई साग फलाएर लाख, कुखुरा पालेर करोड, टमाटरले मनग्ये आम्दानी आदिका समाचार दिँदा हाम्रा प्रस्तुति ठीक लाग्दैनन् । मान्छे कुनै पनि पेशामा टिकिरहन निकै उतारचढाव झेल्छ । हामी सफलताका कथामात्रै टिप्छौं, जोखिम र, उसले खाएका हण्डरका कुरा हुन्नन् । समाचार पढेर कसैले 'आहा ! यो पो गर्नु परो । आम्दानी गज्जप रछ' भन्यो भने हात हालेपछि सराप्छ । पेशाका जोखीमबारेका कुरा खोइ देको ?  यसले सही सूचना पाठकसम्म पुग्दैन । कसैको सफलताका कथा लेख्दा त्यो चरणसम्म आइपुग्न उसले गरेर संघर्षका कुरा दिनै पर्छ । कतिपल्ट लेख्दा छुट्छन् । कतिपल्ट लेखेपनि वाक्यका बुनाइ नजान्दा सम्पादन गर्ने साथीको काटछाटको सिकार भइदिन्छन् । खबर ती मात्रै होइनन् जो फ्रन्ट पेजमा आउँछन् । भित्री पानामा पनि गहकिला कुरा हुन्छन् । विषयचयन गर्दा प्राय सामान्य मान्छेका कुरा भित्री पृष्ठमा पर्छन् । जो धेरैका दृष्टिमा छुट्छन् । पढेकाहरूका लागि ठीकै छ । नपढेका वा छुटाएकाहरूका लागि यो पनि भित्री पृष्ठमा प्रकाशित भएको एउटा खबर हो । नितान्त सामान्य खबर । 

अब मुल खबर
'काम सानो कहाँ हुन्छ र'


पोखरा- पर्यटकीय नगरी भन्दैमा यहाँका सबैको व्यवसाय पर्यटन होइन । पश्चिमका विभिन्न जिल्ला सामान पठाउनेसँगै धेरै फुटकर व्यापार छन् । र, तिनमा लागिपरेकाहरू धेरै छन् । केही भिन्न पेशा व्यवसायमा लागेका तन्नेरी, जसले गर्दै-सिक्दै व्यवहार चलाउन जाने । उनीहरूको लगनशीलताको  कहानी रमाइला छन् । फलफूल पसले राजुप्रसाद त्रिपाठी, पार्लर सञ्चालक दिलु सिंह, घरायसी सामानका विक्रेता रामचन्द्र सञ्जेल र भाँडा पसले निरज सोनी गरिखाने मामिलामा उदाहरणीयमध्येका छन् । 
'गाउँबाट आएकाहरू देख्यो की केही भनिहाल्लान भनेर अप्ठ्यारो लाग्थ्यो । देख्नेहरूले पनि भनिहाल्थे - लु हेर मुखियाको नाति सडकमा बसेको !', यहाँको चरक अस्पतालनजिकै सस्तो बजारका फलफूल पसले राजुप्रसाद त्रिपाठीले भने, 'व्यापार यस्तो कर्म रछ गर्न जाने दिन फेरिन्छन्, नजाने बिल्लीबाठ भइने ।'
कास्कीको कालिका-४ का त्रिपाठी सस्तोबजारको छाप्रोमा पसल थाल्नु दुर्इ वर्षघिसम्म सडकमा थिए । ठेलामा व्यापार गर्थे । 'म प्रहरीमा थिएँ । २०६२ मा जागिर छाडियो', उनले भने, 'त्यही साल सासुको सल्लाहले ठेला किनेँ, बाउबाजेले नगरेको पेशा फलफूल व्यापारमा हात हालेँ ।' स्नातकसम्म पढेको मान्छे गाउँमा राम्रै इज्जत । सडकमा व्यापार थाल्दा सुरू-सुरूमा निकै अप्ठ्यारो भएको उनले बताए । 'हेर्नुस् हाम्रो समाज यस्तै छ । पैसा खर्च गर्न जान्ने, सीप गरिखाए पेशाको स्तर हेर्ने', उनले भने, 'गरिखान लाज मान्न हुँदैन । २० हजार हालेर मेरो जसरी काम गरेपनि ठाउँ ठीक भो र मेहनत गरे दिनमा हजार रूपैयाँसम्म कमाउन सकिन्छ ।' ४० वर्षीय त्रिपाठीले पहिले पोखरा-४ गणेशटोलमा घर बजाएका छन् । दुर्इ छोरीलाई स्कुल पढाएका छन् । श्रीमान-श्रीमती पालोफेरो पसल चलाएका छन् । उनले भने 'हामीलाई एकैपल्ट धेरै आम्दानी हुने पेशाको आस हुन्छ । तर, गर्दै जाँदा सानो पेशाबाट पनि राम्रै गुजारा हुने मैले आफैं गर्दै सिक्दै जानेको छु ।' बिक्री हुने भनेर किनेका फलफूल नबिक्दा सड्ने, खेर जाने भइदिँदा सुरूसुरूमा निराश भएपनि बिस्तारै यो पेशाको गाह्रोसाह्रो व्यवहारले सिकाएको उनको भनाइ छ । 
स्याङजाको मालुंगा ८ का ३६ वर्षीय दिलु सिंह एक दसकदेखि कपाल काट्ने पेशामा छन् । पृथ्वीचोकनजिकै उनको हेन्सम पार्लर छ । बरालिएर हिड्ने दिलुले आठ कक्षापछि पढेनन् । केही वर्षभारतको दिल्ली गएर काम गरे । फिर्दा कपाल काट्ने सीप सिकेर आए । घर बसेनन् । विदेश जाने चक्करमा लागे । म्यानपावर जाली परेकाले उनको डेढ लाख रूपैयाँ गुम्यो तर, जान पाएनन् । पोखरामा व्यूटीपार्लर चलाउने चिनु गुरूङकहाँ काम पाए । पछि उनैको पुरानो पार्लर आफैंले किनेर चलाउन थाले । 'महिनाको १५ सयको जागिरबाट काम थालेको मान्छे । आज म आफ्नै पार्लर चलाउँछु', उनले भने, 'सीप भए भोको बस्नु पर्दैन । काम भनेको सानो-ठूलो हुँदैन । मैले बुझेको यही हो ।' उनले पोखरामा रहेर धेरैलाई आफ्नोजस्तो सीप सिकाएका छन् । तर, धेरैले उनी जसरी काम भने गरेका छैनन् । 
बाहिरबाट उपमहानगरमा आएर नाइको पेशा गर्नेहरु गल्लीचोक जतासुकै भेटिन्छन् । तर, अत्याधुनिक औजारसहित व्यवस्थित हिसाबले पार्लरको नाम दिएर सिंह जसरी सञ्चालन गर्नेहरू औंलामा गन्न सकिन्छ । 'उतारचढाव हुन्छ । काम छाडेर अर्थोक गरुँजस्तो सबैलाई हुन्छ', उनले भने, 'तर, आफ्नो क्षमताअनुसारको काम गरिएन भने मान्छे भएको स्तरबाट पनि तल झर्छ भन्ने मलाइ लाग्छ ।' उनको जस्तो पार्लर थाल्न अहिले तीन लाख हाराहारी लगानी पर्छ । 'हाम्रा पहाडे केटाहरू सिक्न त सिक्छन् तर, म जसरी पार्लर खोलेर बस्ने थोरै छन्', उनले भने, 'नेपालीको बानी नेपाली पैसा थोरै भाउ भएको बुझिने भएको छ । त्यसैले विदेश जाने ताकमा हुन्छन् ।' समयको उतारचढावले दिलुलाई धेरैथोक सिकाएको छ । उनले हेयरस्टाइलका धेरै तरिका र ट्याटु बनाउन पनि सिकेका छन् । 'कतिपय कुरा हामीले साधनमा तत्काल लगानी गर्न नसकेर थाल्नै गाह्रो छ । तर, म हार मान्दिन बिस्तारै गर्छु', उनले भने, 'एकैपल्ट धेरै आस गरेपनि क्षमता र लगानीभन्दा धेर आउने होइन । निराश बस्नुभन्दा काममा घोटिनु सजिलो लाग्छ ।'
आफन्तको साथ लागेर हेटौडाबाट पोखरा हान्निएका रामचन्द्र सञ्जेलको सभागृह चोकमा घरायसी समानको पसल छ । एकाविहानै उनको पसलबाट १४/१५ जना साइकलमा बेच्नेले सामान लैजान्छन् । मुडा, चकटी, कुचो, डोको र भान्साका सामान आदि उनले बेच्छन् । 'म २० वर्षको हुँदा आएको अहिले ४० को भएँ', उनले भने, 'यही पेशा थालियो । न कहिले विदेश जान मन लाग्यो, न अरु पेशामा हात हाल्न ।' पोखरा आएका केही महिना उनले आफन्तको त्यस्तै पसलमा काम गरेका थिए । उनीहरूले नै बेग्लै त्यस्तै पसल गर्न सघाएपछि बाटो खुल्यो । 'हामीले देख्ता मान्छेले जे पेशा पनि गरेर खानसक्ने हो जस्तो लाग्छ । तर, होइन उसलाई त्यो पेशामा मन लाग्नु पर्छ । खट्न सक्नुपर्छ', उनले भने, 'सबै पेशा सबैलाई सुट गर्दैन ।'
उनीबाट बिहानै सामान लगेर साइकलमा १० हजारको सामान डुलाउनेले मज्जाले खट्दा दिनको एक हजारसम्म नाफा जोगाउँछन् । उनले भने 'तर, सबैको समय उस्तै पर्छ, उतिकै खट्छन्, बिक्री हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।' तीन छोरा, एक छोरीका पिता सञ्जेल कारोबार गर्नका लागि पूँजीसँगै ज्यान दिएर खट्न सक्ने इच्छाशक्ति जरुरी हुने सुनाउँछन् । 'कतै पनि पैसा फल्दैन, मेहनत गर्नैपर्छ', उनले भने, 'खट्न सकिएन भने डुबिन्छ ।' उनले देखेका छन्, साइकलमा व्यापार गर्नेहरू पनि वर्षेनी आधाजसो 'यसो गर्दा चल्छ की' भनेर ट्राइ गर्न आएका हुन्छन् । 'आधाले त बीचैमा काम छाड्छन्, अरु नै पेशामा जान्छन्', उनले सुनाए, 'केही पुराना छन् जो निरन्तर गरिरहेका छन् । र, उनीहरूको व्यापार राम्रो छ ।' गर्न खोज्नेका लागि साइकलमा सामान डुलाउनेदेखि बाटाछेउ बसेर बेच्नेसम्मका धेरै भएको बताएका उनले भने 'काम सानो हुन्न । गरेर खान लाज मान्न र, खट्न पछि सर्नु हुँदैन । समयकालले सबै ठीक गर्दै लैजान्छ ।'
सिर्जनाचोकमा रहेका धेरै पसलमध्ये एउटा भाँडाकुडाको पनि छ । राधे राधे भाँडा पसल । सञ्चालक हुन् ४१ वर्षीय निरज सोनी । मुल घर पर्साको मनिहार । पिता पोखरामा काँधमा बोकेर भाँडा बेच्थे । उनी ४ कक्षा पढ्दै गर्दा बुवाको साथ लागेर पोखरा आए । 'धेरै खटाइ भएकाले बुवालाई टीबी (क्षयरोग) लागेछ । काम गर्न नसक्ने हुनुभो । अनि मैले थालेँ', उनले भने, 'एउटा मान्छे राखेको थिएँ, उ र म बुवा जसरी नै भाँडा बेच्थ्यौं ।' बिस्तारै उनले बिरगञ्ज र जनकपुरबाट भाँडा ल्याएर नगरका पसलमा बेच्न थाले । 'पेमेन्ट रोकिदिँदा/ढिला हुँदा चालु पूँजीमै असर पर्थ्यो । म दिक्क भएँ', उनले भने, 'अनि ५० हजार हालेर आफैं पसल थालेँ । चल्दै गयो ।' बीचमा उनले पसल गरेको घर बिक्रीहुँदा थलो छाड्न पर्‍यो । सारेर पनि पसल छाडेनन् । ३२ लाख ५० हजारमा माइक्रोबस किने । अनि त्यसको कन्डक्टरको काम गर्न थाले । 'यसबीचमा राम्रो ठाउँमा सटर पाइयो', उनले सुनाए, 'गाडी बेचिदिएँ, फेरि पसल चलाउँदै छु ।' चार छोरी, एक छोराका पिता सोनीलाई पोखराले मोहनी लगाएको छ । 'कुनै अम्मल भएन भने, व्यभिचारतिर लागिएन भने सानो व्यवसायले पनि मान्छेलाई इज्जतको जिन्दगी दिन्छ भन्ने उदाहरण म आफैं हुँ', उनले भने, 'धेरै नाफा लिन्न । त्यसैले मेरा पुराना ग्राहक खोज्दै मैंकहाँ आउँछन् ।' पोखरा-८ सिमलचौरमा घर बनाउँदै गरेका सोनीले नगरमा धेरै उतारचअढाव देखेका छन् । 'एकैपल्ट धेरै खोज्दा भएको पनि जान्छ त्यसैले म कसेर लिन्न । जायज लिन्छु', उनले भने, 'व्यवसायमा टिकिरहन सजिलो छैन तर, एउटा सामानले पूँजी ब्लक गर्‍यो भने हतास हुनुभन्दा अर्को चल्ने चिज ल्यायो, बेच्यो । चल्छ ।'


No comments: