'हेर्नु हेर्नु', कमलले यति के भनेका थिए, म रेडी भै हालेँ । सडकमा घुँडा टेकेर बसेँ, अनि पोजिसन लिएँ । उसले थाहा पाइहाल्यो । उठ्यो । हाँस्यो र, नाटकीय पोजमा खडा भइरह्यो । सिकार उम्केर हिस्स परेको सिकारी पाराको मेरो मुहारमा बलजफ्ती मुस्कान ल्याएँ । केही बोलिँन । अनि हामी पनि उसैगरि बस कुर्ने लाममा उभियौं ।
यो २०५९ हिउँदको कुनै महिना थियो । कमल रिमाल भाइ (विराटनगरका सञ्चारकर्मी) र म अघिल्लो दिन उदयपुरको तपेश्वरी गएका थियौं । साँझ अबेर इनरूवा फिरियो । मेरो डेरामा ।
***
ती बेहुला थिए । जो बस रोकिने ठाउँको सडकपेटीमा बसेर नङ काट्दै थिए । उनको पछाडि एउटा पाइपमा मास्तिर सानो प्लेट थियो, जसमा बसको चित्र थियो । थाहा पाइहाले । उठे । फोटो पोज दिए । मुस्कुराए । मैले खिचिँन । मानवीय अभिरूचिको एउटा स्न्याप थोरै ढिलाइले छुट्यो ।
ती बेहुला थिए । जो बस रोकिने ठाउँको सडकपेटीमा बसेर नङ काट्दै थिए । उनको पछाडि एउटा पाइपमा मास्तिर सानो प्लेट थियो, जसमा बसको चित्र थियो । थाहा पाइहाले । उठे । फोटो पोज दिए । मुस्कुराए । मैले खिचिँन । मानवीय अभिरूचिको एउटा स्न्याप थोरै ढिलाइले छुट्यो ।
यो प्रसंग मलाइ फोटोग्राफीका कक्षामा सुनाउन बडो रमाइलो लाग्छ । जहाँ जहाँ मैले कक्षा लिएको वा छलफलमा परेको छु, सुनाएको छु । त्यो स्न्याप छुट्नुको कारण पनि थियो । मेरो एनालग भीभीटार क्यामेरामा लो-लाइटमा खिच्नेगरि आइएसओ, सटर, एपरेचर सेट थियो । बिहानीपख खिच्नका लागि सेटिङ चेञ्ज गर्दै ढिला भएछ । निमेषभरमै छुट्छन् फोटोका विषय । त्यो यस्तै सम्झनामा रहेको दिन बन्यो ।
***
अबको डिजिटल समय हाम्रा साथमा धेरै छरितो प्रविधि लिएर आएको छ । हात हातमा मोबाइल छन् । तिनमा फोटो-भिडियो खिच्नकै लागि थुप्रै अप्सन छन् । फोटो अब ती पुराना जमानाको स्टुडियोवालले मात्रै खिच्ने कुरो रहेन । र, फोटो अखबारमा काम गर्नेले मात्रै खिच्ने भन्ने पनि रहेन ।
डिजिटल युगले हामीलाई पत्रिकाको साटो अनलाइन मात्रै हेर्ने बनाउन अझै कम्तीमा एक दशक लाग्दो हो । अखबारकै कुरा गरे त्यसो त अबको समय सबै समाचारमा फोटा अनिवार्य जस्ता छन् । कतै गयो भने अनलाइनबाट संवाददातालाई फोन आउँछ - समाचारसँगै फोटा चाहिन्छन् ? राम्रो खिच्नुस्, छिटो पठाउनुस् ।
अखबारका अफिस र हामी कारिन्दाको शैलीबारे मैले केहीअघि पनि लेखेको छु । ती निजी मामिलाका पनि कुरा छन् , केही सबैका भोगाइ पनि छन् ।
***
संवाददाताका आफ्ना समस्या छन् । तैपनि सामान जोरजाम गरेर लागिपरेकाहरू टिकेका छन् । अँ तपाइँलाई सामान चाहिएको होला ? आफ्नै चलाउँदै हुनुहुन्छ ? बिग्रियो ? बनाउन चिन्ता नलिनुस् पैसा हामी पठाइदिन्छौं । तपाईका लागि नयाँ बडी र लेन्स हामी दिन्छौं । बरू लेन्स के-कस्तो चाहिन्छ ? फ्ल्यास पनि चाहिन्छ ? कार्ड कतिको लाउनु हुन्छ ? चाहिन्छ ? आदि आदि सुन्न कान लालायित हुन्नन् । किनभने कसैले भन्दैन ।
भनिने कुरा थोरै फरक छन् । फोटो राम्रो पठाउनुस् । छिटो पठाउनुस् । अलि धेरै पठाइदिनुस्न । लु भएन कस्तो खिचेको ? ए तपाइँ त राम्रै खिच्नुहुन्छ ल गज्जपको फोटो पठाउनु होला । पठाइन्छ । अनि धेरैपल्ट आफूलाई ठीकठीकै वा औसत जस्तो लागेका स्न्याप न्युज डेस्कका जिम्मेवारका रोजाइमा परिदिन्छन् । कुनै राम्रैगरि छापिए भने नि कान लाग्ने २/४ वटा प्रशंसाका पर्तिर केही हुन्न । निराश नहुनुस् । यहाँ यस्तै छ ।
***
No comments:
Post a Comment