Saturday, May 19, 2012

संस्मरणका थुम्कीहरुको कृति 'कान्छो सार्की'



अमेरिका बस्ने भारतको गुजराती मुलका लेखक मधु रेको पुस्तक 'किम्बल्स् रेभेन्सउड' मा एकजना सुत्रधार छन् । जसले कथाका पात्रको चरित्र र अघिल्ला घटनाक्रम वर्णन गर्छन् । सिकागोबाट भारत बोलाइएका युवकलाई घरसल्लाहले विवाहको दवाव पर्छ । मान्छन् तर, शर्त उनी सबै राशिका कन्याहरु भेटेरमात्रै आफ्ना लागि जीवन साथी चयन गर्नेछन् । १२ वटै राशिका कन्यालाई भेटेपछि पनि उनले भनेजस्तो जुर्दैन । अन्त्यमा सुत्रधारकै घरकी चेली ताक्छन् । त्यसबेला सुत्रधारलाई समस्यामा पर्छ । किम्बल्स् रेभेन्सउडको कथालाई सन् १९८० मा केतन मेहताले 'मिस्टर योगी' धारावाहिक टेलिश्रृङ्खला र २००९ मा आशुतोष गोवारिकरले 'व्हाट्स योर राशि' नामबाट चलचित्र बनाए । धारावाहिकले चर्चा बटुल्यो, चलचित्र सफल भएन । 
कथामा सुत्रधार र उनको चरित्र 'म' पात्रले लिन सक्दैन । सुत्रधार प्रसङ्गहरु जोड्छ । 'म' पात्र आफै कुनै भुमिकाभित्र कथाका आरोह-अवरोहमा देखिन्छ । पात्रको अनुभवलाई पाठक आफै त्यही भएर अनुभव गराउने क्षमता 'म' पात्रले राख्छ । अहिले बजारमा आएको 'कान्छो सार्की' मा सुत्रधार छैन । १९ वटा फरक प्रसङ्ग छन् । र, यिनमा कथाकार कृष्ण अधिकारी धेरैपल्ट 'म' पात्रका रुपमा कथाभित्रै उभिन्छन् ।
***
भूमिका लेख्ने चलन नटेरेको संग्रहमा शिर्ष कथा पहाडको बसाइँमा घरेलु सहयोगी पात्रलाई 'म' पात्रले सम्झन्छ । रोग काट्नका लागि बाहुनको छोरोलाई गोरुको मासू ख्वाउने कान्छो सार्कीमा कतै छलछाम छैन । एउटा बलिष्ठ सहयोगीलाई तराई झरेर लामो अन्तरालपछि 'म' पात्रले सम्झना गर्दागर्दै उ बितेको खबर पाउँछ । कथाका श्रृंखलामा सार्की कान्छो तेस्रोमा परेको छ । पहाडी परिवेश, गाउँले बोली, रीति र खेतीमा अहिलेसम्म जनजिब्रोबाट हराउने तरखरमा रहेका धेरै शब्दलाई कथाकार पुनः ज्यान दिने प्रयास गरेका छन् । 
२०५६ मा 'जर्मनी यात्रा स्मृति' लेखेका उनले करीव अढाइ दशक इटहरीमा रहेर साप्ताहिक पत्रिका चलाए । छापाखाना खोलेर व्यवसाय थाले । व्यवसायलाई विराटनगर सारेपछि स्थानीय एक दैनिक पत्रिकाको अन्तिम पानामा साताका एक दिन उनले समसामयिक प्रसङ्ग लेख्न थालेको धेरै भएको छैन । हिउँ परेजस्तो केश भएका ५८ वर्षीय अधिकारी इन्टाइसर मोटरसाइकलमा इटहरी-विराटनगर गर्दै पूर्वेली साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउन पुग्छन् । कविता सुनाउँछन् । तर, नजिकबाट चिन्नेहरुले उनका कथाको पुस्तकाकार रुप स्वयंम अधिकारीकै साहित्यमा दरिलो पदार्पण मानेका छन् ।
***


लोग्नेले सौता हालेपछि घर छाडेकी 'एउटी आइमाई' बाट सुरु हुने कथाका श्रृङ्खला सुनुवारको छोरो बज्रधन र भुजेलकी छोरी कालीबीचको अन्तरजातीय विवाहमा आएर टुङ्गन्िछ । दशक लामो सशस्त्र द्वन्द्वका आरोह-अवरोह अहिले पुस्तकाकार रुपमा आइरहेका छन् । द्वन्द्वले समग्र समाजलाई पार्ने प्रभाव निमिट्यान्न हुन लामो समय लाग्न सक्छ । अधिकारीको कथा 'त्यो कुकुर पनि अब रहेन' ले द्वन्द्वको दशकमा निर्दोष मारिएपछि उजाडिएको परिवार र सहयोगी जन्तुको मनोविज्ञान केलाएको छ । सुराकीको अरोपमा सत्यतथ्य छानबिन नगरी मान्छे कसरी मारिन्थे भन्ने प्रश्न उठाएको कथामा महिला पात्र पछि तिनै द्वन्द्वरतहरुका साथी बनेर लिएको प्रतिशोधपछिको अन्त्य कारुणीक छ ।
***

सडकमा ट्राफिक प्रहरी उभिएर चालकलाई नियम सिकाउँछन् । एउटी महिला ट्राफिकले अधवैंसे 'म' पात्रलाई मोटरसाइकल रोक्न लगाएर हेलमेटको बेल्ट बाँध्न लगाउने प्रसङ्गबाट 'छोरी' शिर्षकको कथा अघि बढेको छ । आफूलाई सुरक्षित हुन सिकाउने केटीलाई अधबैंसे पात्र छोरीको रुपमा हेर्छ । सकारात्मक सोच राख्नेहरुका भाावुक क्रिया-प्रतिक्रिया धेरैपल्ट गाढा सम्बन्ध बनाउन प्रेरक हुन्छन् । 'अर्काको छोरो' कथाले यौन मनोविज्ञानलाई केलाएको छ भने 'अतृप्त यात्रा' ले धनमोहमा बिग्रिएको घरलाई चित्रण गरेको छ ।

***
भाषाशास्त्री बालकृष्ण पोखरेलका शब्दमा अधिकारीका कथा समाजका विभिन्न चरित्रको मनोबिज्ञान केलाउन सक्षम देखिएको छ । शीर्षकले सुरुमा नौलो लागेको बताएकी स्रष्टा मिश्र बैजयन्ती भन्छिन् 'महिलालाई हेर्ने पुरुष मनोविज्ञानका फरक आयामहरु कथाका बलिया पक्ष लागे ।' कथाकार विवश पोखरेल भन्छन् 'सस्ता मूल्यका किताबलाई अहिले शंकाले हेर्ने पाठक धेरै छन् । तर, कान्छो सार्की ती सबै शंका निवारणमा सक्षम छ ।' उनका अनुसार संस्मरणात्मक शैलीमा लेखिएका कथा यथार्थवादी धारका छन् । उनले भने 'भोगाइ, आध्यात्मिकता, फेरिएको समाज, गाउँले जीवनका कुरा आदि धेरै चरित्रलाई कथाले समेटेका छन् । स्रष्टा उपेन्द्र पागल भन्छन् 'हरेक उमेरका मान्छेका मनोबिज्ञान सुक्ष्म तरिकाले कथामा केलाइएको छ । यसमा धेरै प्रयोग भएपनि सामान्यीकरण गरेजस्ता लाग्छन् ।' 

(कान्तिपुर कोसेलीमा प्रकाशित मिति: २०६९ जेष्ठ ६) 

Friday, May 11, 2012

भरत र सपनाको क्यानभास



कक्षामा ध्यानका फराकिलो अन्तरले कहिलेकाहीँ किशोर मनमा चोट पार्थ्यो । ब्ल्याकबोर्डमा लेखिरहेका गुरु चिच्याउँथे- 'पढ्ने-लेख्ने बेला चित्र कोरेर जाँचमा के लेख्छौ ?' पिरियडपिच्छे उनले खप्की खानु नपरेको विरलै हुन्थ्यो । पूर्व व्यावसायिक शिक्षाको कक्षामा भने गुरु उनलाई हौस्याउँथे, 'हो, ल ठयाक्कै किताबकै जस्तो कपीमा उतारेछ ।' विद्यालय शिक्षामा उनको मन रमाएन र कक्षामा पनि उनी अब्बल थिएनन् । बेलाबखत हुने चित्रकला प्रतियोगितामा पुरस्कार जित्नेमा उनी तेस्रो, चौथो स्थानमा हुन्थे । पहिलो हुन नसक्नुको तुस फेरि कापीमा नयाँनयाँ पेन्सिल चित्र भएर पोखिन्थ्यो । पेन्टिङ सिक्ने रहरले उनको बाटोले अन्तै मोड लियो ।
स्कुल छाडेर उनी विराटनगरको चुलाचुली गल्लीमा कुची कलाकारिता सिक्न पुगे । लव प्रधानले उनलाई रंगमाथि कुचीको कलाकारिता र पेन्सिल चित्रका फरक बुझाए । त्यसपछि कुची र रंगसँगको यात्रामा तल्लीन ४६ वर्षे भरत डंगोल अहिले फेरि आफूलाई विद्यार्थी जीवनको किशोरजस्तो अनुभव गर्छन् । 'समयले यस्तो पार्‍यो, म कमर्सियल र मोडर्न आर्ट, दुवै डुंगा सँगै खियाउँदै छु,' उनले भने, 'मोडर्न आर्टमा कलाकार सन्तोकले बाँच्दो रैछ ।'
'नारी जीवन र प्रकृति' शीर्षक एकल चित्रकला प्रदर्शनी लिएर उपमहानगरमा झुल्किएका भरतले भने, 'नारी संवेदना चित्रमा देखाउन थिम तयार पार्नु सजिलो भएन ।' असजिलो भए पनि असम्भव नभएको पुष्टि गरेका उनले २२ चित्र कोरे ।
जनआन्दोलन चोकको उत्तर सानो गल्लीभित्र ब्यानर र भित्तेलेखन गरिरहेका भेटिने पातला कायाका यी कलाकार यति संवेदनशील चित्रका साथ उभिनेछन् भन्ने सहरले पत्याएको थिएन । 'मैले २४ वर्ष एउटा पेन्टर भएर बिताएँ,' उनले भने, 'दुई वर्ष भयो, मोडर्न आर्टमा आफूलाई समर्पित गरिरहेको छु ।' राजधानी पुगेर प्रदर्शनीको रहर पालेका उनले खर्च अभावमै हिम्मत जुटाउन सकेका भने छैनन् । उपमहानगरभित्रै दोस्रो पटक एकल प्रदर्शनी लिएर उभिँदा विराटनगरको तोदी भवनमा उनी अवलोकनकर्ताका सुझाव संकलन गरिरहेका भेटिए ।
उनको सपना धेरै ठूलो छैन । खान-लाउन र परिवार पाल्न पुगेपछिको रहर हो- मोडर्न आर्ट । 'पोहोर एउटा पेन्टिङलाई एक जनाले एक लाख दिन्छु भनेको थियो, मैले बेचिनँ,' उनले भने, 'अब बल्ल बुझेँ आफ्नो कला प्रचारकै लागि पनि बेच्नु सही काम रहेछ ।' व्यावसायिक पेन्टिङ अहिले खुम्चिएको छ । सबैलाई आधुनिक फ्लेक्सले तानेको छ ।
कम्प्युटरमा गरेको डिजाइन केही बेरमै फ्लेक्समा ग्राहकले चाहे जसरी प्रिन्ट  निस्कन्छ । त्यसैले भरतजस्ता पेन्टरका काम घटेका छन् । तर, मोडिएको बाटोले उनलाई फुर्सदिलो हुन दिएको छैन । 'अब पेन्टरका दिन सकिए जस्तो लाग्छ,' उनले भने, 'मैले पेन्टिङका छिटपुट काम अझै पाएको छु । मोडर्न आर्टले पनि कुनै दिन नाम-दाम देला भन्ने छ ।'
ललित कला संगमका अध्यक्ष श्रीनिवास पोखरेल भरतका सिर्जनामा संवेदनाको गहिराइ देख्छन् । 'थोरै मान्छे भरतजस्ता छन्, जसले कमर्सियल पेन्टिङ गर्नेहरूभित्र पनि अदभूत प्रतिभा लुकेको पुष्टि गर्छ,' उनको मूल्यांकन छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित मिति: २०६९ वैशाख २९)

Saturday, May 5, 2012

एउटा रैथाने


अफिसबाट लीला भाइको फोन आउदा म महिला पुनस्थापना केन्द्र (ओरेक) को विराटनगर कार्यालयमा थिएँ । टंकीसिनवारीमा एक जना स्थानीयको घरमा कुनै नौलो जन्तु आएपछि हल्लीखल्ली भएको कुरा उसले भन्यो । घरधनी विष्णु चालिसेले आफ्नो मोबाइल नम्बर पनि छाडेका रहेछन् । झुठो आरोपमा १० महिना थुना शिर्षकको समाचार लेखेपछि त्यसले असजिलो पारेको ओरेककी सुनसरी-मोरङ कार्यालय संयोजक नीतु पोखरेलले फोनमा भनेकी थिइन । 
मेरो मनशाय कसैलाई जागिर नै धराप पार्ने गरि असजिलो पार्ने हिसाबले समाचार लेख्नु थिएन । समाचार तयार पार्ने क्रममा पोखरेललाई मैले भेटेको होइन । फोनमा कुरा गरेको हो । विषय अलि असजिलो थियो । कारण- दृश्यमा वादी-प्रतिवादी दुवै पीडित देखिएको थियो । एउटी १३ वर्षकी छात्रामाथि बलात्कारपछिको गर्भ । उनको सन्तानको बाबु यकिन हुन नसक्नु । अनि जसमाथि बलात्कार गरेको भन्ने आरोप लागेको थियो, उसलाई डीएनए परीक्षणपछि अदालतले सफाइ दिएको थियो । छात्रामाथि सहानुभूति अस्वभाविक होइन । र, यस्ता घटना बारम्बार देख्न, सुन्न र पढ्न मिलेकै हो । तर, एउटा युवकलाई बलात्कार आरोपमा १० महिना थुनेपछि निर्दोष भनेर छाडियो । यो अवधिमा उसको समयमात्र नाश भएन, समाजिक प्रतिष्ठामा पनि परेको असरको क्षतिपूर्तिको बाटो केही थिएन । जे होस् मुद्दामा छात्राका लागि न्यायिक बाटो देखाउने र उनलाई सुरक्षित आवासमा आश्रय दिने काम ओरेकले गरेको रहेछ । जबरजस्ती करणीका मुद्दा पीडितका पक्षबाट सरकारले लडिदिन्छ । तर, मुद्दा अदालतमा लैजान पहल कुनै न कुनै संस्थाले नै गरेका हुन्छन् । संस्थाहरुको यो कामै भएको छ । पीडितका हकमा राम्रो मानिएपनि निर्दोषलाई पीडा पुगे त्यसको सुनुवाइको निकाय छैन । कारण- पुर्पक्षका लागि अदालती आदेशमा कोही थुनिएर फेरि पनि निर्दोष भन्दै सफाइ पाए उसका लागि क्षतिपूर्ति दिलाउने कानुन नेपालमा छैन । 
आरोपितले सफाइ पाएपछि ती छात्रा र उनको शिशु कसलाई जिम्मा लगाउने भन्ने अन्यौल भएका बेला समाचारले चोट पारेको बताएर छलफलमा बोलाएपनि नजाने भन्ने कुरा भएन । त्यसैले सामान्य छलफल गरियो । त्यसपछि चालिसेलाई फोन गरेर उनको घर लागियो ।
विराटनगरसँग जोडिएको टंकी गाविस-१ स्थित उनको घरमा म पुग्दा भीड थियो । प्रयोगै नगरेको बाथरुमजस्तो सानो कोठामा छानोसँगैको माथिल्लो खाबामा यो जन्तु बसेको रहेछ । मैले पनि चिनेको परेन । विहान ७ बजेदेखि देखेको भनेपछि यसलाई सुरक्षित निकाल्नु उत्तम हुन्छ भन्ने लाग्यो । मैले केही तस्बिर खिचेपछि कोशी टप्पु वन्य जन्तु आरक्षमा फोन गरे । आरक्षका अधिकृत अशोक रामले मोरङ जिल्ला बन कार्यालयका सहायक अधिकृत गणेश चौधरीको नम्बर दिए । जन्तुका बारेमा बताउदा उनले ओत हुन सक्ने बताए । चौधरीलाई फोन गरेपछि उनी आउन तयार भए । आधा घण्टापछि आएपनि तर, समात्न सकेनन् । भीडले तर्सेको जन्तु मकैवारीहुँदै भागेर हरायो ।
म अफिसभन्दा पहिले घर पुगे । नेपालका स्तनधारी जनावर सम्बन्धी पुस्तक ल्याएर हेर्दा त्यो जन्तु सानो नीर विरालो रहेछ भन्ने यकिन भयो । स्मल इण्डियन सिभेटलाई गुगलमा सर्च गर्दा यस सम्बन्धी धेरै पेज भेटिए । आइयूसीएनको रेड स्टिमा सन् २००८ मै संकटमा परेको तर, बढि खोजी नभएको दक्षिण-पूर्व एशियाली रैथाने भन्ने जानकारी मिल्यो । यसको तस्बिर २३ बैशाख ०६९ शनिवार कोसेलीमा छापिएको छ ।   

Wednesday, May 2, 2012

'उनका आँखाले हेरिरहोस् संसार'


गत आइतबार विराटनगर आँखा अस्पतालका बिन्देश्वर मेहताको फोनले एउटा घरमा पुग्न बाध्य पार्‍यो । कारण, मैले नै भनेको थिए 'आँखाको नानी कसरी झिक्छन् हेर्न बोलाउनु होला ।' मलाइ हेर्ने रहर थियो । चिकित्सकहरुसँगको कुराकानीपछि थाहा भएको थियो - नेत्रदानका इच्छापत्र भर्ने धेरै भएपनि अपेक्षित रुपमा आँखा संकलन गर्न सकिदैन । कारण- इच्छापत्र कानूनी कागजात नभइ सहमतिको सामान्य दस्तावेज मात्र हो । इच्छापत्र भरेका मान्छेको मृत्यु भएपछि परिवारले खबर गरेमात्रै अस्पतालको टोली त्यो घरमा पुग्छ । धेरै घटना यस्ता हुन्छन् जसमा अस्पतालले चाहेर पनि आँखादानको सहमति गर्नेबाट दान पाउँदैन । आफन्त शोकमा हुन्छन् । त्यस्ता बेला मरेका मान्छेको झिक्छु भन्नु धृष्टतामा पर्छ । 
तर, आइतबार मेहताजीले भनेको घरमा जसको आँखाका नानी झिकिएको थियो, उनको इच्छापत्र थिएन । परिवारको इच्छाले दान सम्भव गरायो । नेत्र चिकित्सकहरुका भनाइमा मरेर जाने मान्छेले बाँचेका तर, ज्योतिविहीन मान्छेका जीवनमा उज्यालो दिएर गुन लगाउन सक्छन् । जे होस् पुगेका ठाउपछि अर्को दिन अस्पतालमा प्रत्यरोपणपछि सद्दे भएकाहरुलाई भेट्न पाइयो । समाचार लेखियो, छापियो पनि । छापिएको  केही सम्पादित रह्यो । ब्लगमा पुरा कुरा यस्तो छ-  

'छाडेर गइहालिन् । हामीलाई लाग्यो उनका आँखाले अरुलाई दृष्टि मिल्छ भने किन नदिउँ,' ७९ वर्षीय इन्द्रचन्द सेठियाले यसोभन्दा उनकै आँखा रसाए । विराटनगर-९ स्थित सेठिया निवासमा समवेदना व्यक्त गर्न आउनेहरु कोही रुदै र कोही विश्मय मान्दै हेदैछन् । कमलादेवीका आँखाका नानी केहीबेरमै आँखा अस्पतालका कोर्निया (नानी) संकलकले झिके । विदा माग्न तयार भएपछि प्राविधिक टोलीलाई छोरा जितेन्द्रले भने 'हामीले इच्छापत्र भरेका थिएनौ । तर, एक फोनमै आइदिनुभयो, धन्यवाद ।'
न्युन रक्तचाप र मधुमेहपीडित ७३ वर्षकी कमलादेवीको गत आइतवार निवासमै निधन भएको थियो ।  सेठिया परिवारले आफन्त भेला हुन सुरुहुँदै विराटनगर आँखा अस्पताललाई खबर गरेका थिए । अब उनका आँखाका नानी कुनै दुइ दृष्टिविहीनका लागि काम लाग्नेछन् । प्राविधिक शिवचरण मेहताका अनुसार सेठिया परिवारको जस्तो आग्रह निकै थोरै हुने घटनामध्येका हुन् । 'यस्तो रेयर केस हो', उनले भने,' नेत्रदानको इच्छापत्र भरेकैको नानी लिन हामीलाई धेरैपल्ट गाह्रो हुन्छ ।'आफन्त शोकमा हुन्छन् । इच्छापत्रका कुरा बुझाउन सकिने अवस्था हुँदैन । 'कतिपल्ट पत्रिकामा समवेदना छापिएको हेरेपछि थाहा हुन्छ, त्यो मान्छेले आँखादानका लागि इच्छापत्र भरेर पठाएको थियो' उनले सुनाए, 'तर, बेला बितिसकेको हुन्छ ।' 
विराटनगर र आसपास हालसम्म ३ हजार २ सय ५५ जनाले नेत्रदानको इच्छापत्र भरेका छन् । तर, चार  वर्षयता नेत्रदान गर्नेको संख्या ७१ जना मात्रै छ । 'प्यारो मान्छे खरानी भएर, माटोमा मिलेर बिलाउनुअघि उसको आँखा दान गरौ, त्यसले अर्कोले ज्योति पाउँछ भन्ने थोरै छन्' उनले अनुभव सुनाए, 'नेत्रदानको इच्छापत्र आदर्श हो, यसलाई व्यवहारमा उतार्ने थोरैमात्रै परिवार छन् ।' अझ सेठियाजस्ता परिवार त छैनन् भनेपनि हुने अवस्था रहेको उनले बताए ।
विराटनगर आँखा अस्पतालका प्रमुख डा. संजय सिंहका अनुसार मुलुकमा वर्षेनी आठ हजार जनाका लागि आँखाका नानीको माग छ ।  तर, उपलब्धता तीन सयबाट बढेको छैन । मागका अनुपातमा उपलब्धता नबढेपछि प्र्रत्यारोपण गर्न आउनेलाई अस्पतालले एउटामात्रै नानी राखिदिने गरेको छ । नहुनुभन्दा एउटै मात्रैले देखेपनि दृष्टि फिर्छ भन्ने मान्यताले यस्तो गरिएको हो । 'आँखादानको चलन बढ्ने हो भने मागभन्दा धेरै कोर्निया कलेक्सन हुन्छ । नानी नपाएर संसार देख्न बञ्चितको संख्या घटिहाल्छ', उनी भन्छन्  'हामीभन्दा आँखादानको परम्परा एकदमै न्युन बंगलादेशमा रहेछ । अहिले त्यहाबाट दृष्टि पाउन मान्छे यहाँ आइरहेका छन् ।'
सोमबारमात्रै ओखलढुंगाको वर्नालु-२ की ७३ वर्षीया चन्द्रकुमारी दाहाल, भारतको भागलपुरका ५६ वर्षीय दीपनारायण मण्डल, असमका अन्सर अली र बंगलादेशको चपैनाबावगञ्जकी ५० वर्षीया हबिबाको संसार फेरि उज्यालो भयो । अरुका आँखादानले यिनीहरुलाई दृष्टि मिलेको हो । जो कसैका नानी तुरुन्त झिकेर अन्यलाई प्रत्यारोपण हुँदैन । यसका प्रक्रियाबारे डा. सिंह भन्छन् 'कोर्निया हामी तीलगंगाको ल्याबलाई पठाउँछौ । उसले परीक्षणपछि हामीलाई फिर्ता पठाउँछ । त्यसपछि क्यूमा रहेकाहरुलाई प्रत्यारोपण गरिन्छ ।'

Tuesday, May 1, 2012

फेरि सुनाउलान् हरिराजले हार्मोनियम



 दशकअघिको एउटा भजन अहिले पनि रेडियो नेपालको धार्मिक कार्यक्रममा बज्छ । श्रोता र कार्यक्रम प्रस्तोताले सम्झनामा नराखेको नाम हुन सक्छ— हरिराज राजवंशी । उनी मोफसलका जो परे । 

'जय होस् शिवशंकर त्रिपुरारी, जय होस् पशुपतिनाथ भक्त हितकारी...' का सर्जक हरिराज केही समययता गुनगुनाउनै नसक्ने अवस्थामा छन् । विराटनगर-४ का ६४ वषय संगीतकर्मी एकल एल्बमको तयारी गर्दै रहँदादेखि धेरै बिरामी परे । एकातिर सांगीतिक सक्रियता परिवार चलाउने दरिलो माध्यम बन्न नसक्नु, अर्कोतिर रोगको पिरलो । करिअरमा थोरै निराशा र रोगको धेरै सकसले सांगीतिक सक्रियता केही वर्ष यता घटाउँदै ल्यायो । मृगौला र श्वासप्रश्वास सम्बन्धी रोगले थलिएका उनी लामो उपचारपछि घर फर्किएका छन् ।
सानो छाप्राको आँगनमा एक्लै हार्मानियमसँग सुर मिलाइरहेका देखिने हरिराजले अस्पतालबाट सधैंका लागि छुट्टी पाएका होइनन् । बेलाबेला भर्ना गरेर सघन उपचार गरिरहनुपर्छ । 'साताको दुइपल्ट डाइलासिस,' छोरा विनयले भने, 'त्योसँगै दुई पिन्ट रगत पनि चढाउनुपर्छ ।' कुनै बेला गीत लेख्ने, धुन बनाउने अनि आफंै स्वर दिनेमा हरिराज खप्पिस मानिन्थे । भजन, आधुनिक र फिल्मी गीत गरेका उनी आपनो समुदायका गीत-संगीतमा निपुण मानिन्छन् । करिब नौ सय रचनालाई संगीतबद्ध गरेका उनले मातृभाषा राजवंशीसँगै थारू, भोजपुरी र मैथिलीमा तयार पारेका गीत अझै बेलाबखत बज्छन् । थारू भाषाको पहिलो फिल्म 'हमर भाटु' का लागि उनले गीत लेखे, संगीत पनि गरे । 
मेरो आँखाको भाका बुझिदेऊ न हजुर लुटाइदिन्छु मेरो जवानी हजुर...
विराटनगरका उत्साहीले निर्माण गरेको नेपाली फिल्म 'सौभाग्य' को यो गीत लेखेर धुन भर्दा उनले पारिश्रमिक पाएनन् । गीतले जब चर्चा पायो त्यसैलाई पारिश्रमिक माने । अर्को फिल्म 'दुश्मन' र टेलिफिल्म 'आमा' लगायतमा पनि उनले गीतसंगीत दिए । पछिल्ला वर्ष घरैमा साधना गर्दै रहेका भेटिने यी साधकलाई मधुमेह र उच्च रक्तचाप समेतको समस्या भएको डा. रामहरि घिमिरे बताउँछन् । उनका दुवै मृगौलाले काम गर्न छाडेपछि अवस्था अझ नाजुक भयो । चार महिनायता देखिएको यो समस्याको निदानका क्रममा उनलाई २६ पिन्ट रगत दिइएको छोरा विनयले सुनाए ।
एक जमाना उनलाई गीतसंगीतको क्षेत्रभन्दा अर्थोक ध्यान थिएन । त्यही मेसोमा २०२९ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे । फिल्मी र लोक-आधुनिक गीत रचना र संगीत संयोजनमा सक्रिय रहँदा उनका गीत उदितनारायण झा, कुमार कान्छा, कविता कृष्णमूर्ति, पूणिर्मा, रामा लगायतले पनि गाएका छन् । रचना, संगीत र गायनका तीनै विधामा रमाएका यी कलाकर्मीलाई बेलाबखतका पुरस्कार र सामाजिक सम्मानले कला क्षेत्रमा डोर्‍याइरह्यो । 'मस्की हिँड्छे रंगिला बुट लगाई, ठिटाहरूको दिलमा छुरा चलाई...' जस्ता तन्नेरी रिझाउने गीत समेटेर 'फेसन द लभ' एकल एल्बम निकाल्ने तयारीकै क्रममा उनी बिरामी भए । बेलाबेला श्वासप्रश्वासका लागि नाकमा अक्सिजनका पाइप लगाइन्छ । स्थानीय नोबेल अस्पतालको शय्यामा एक दिन उनलाई गुनगुनाइरहेको देखेर डा. गोपाल छक्क परेछन् । हरिराज आफैंले लेखेको 'अरू मरेपछि जल्छ चितामा, म ज्यूँदै जल्छु चिन्तामा...' गुनगुनाइरहेका थिए । 'त्यसपछि पो मैले थाहा पाएँ,' डा. गोपालले भने, 'यी बिरामी कलाकार रहेछन् ।'

यी कलाकार अब फेरि गीत-संगीतमा फर्केलान् डाक्टर साब ?
(२०६९ बैशाख १९ गते कान्तिपुर कला र शैलीमा प्रकाशित )