Tuesday, June 1, 2010

बगैंचामा चिरबिर


गुलेली बोकेका बालकहरु देखिए भने कमलबहादुर बानियाँ उनीहरुलाई सम्झाउँछन्। भन्छन्, 'चरा मार्नु हुँदैन। हेर त, कति मजाले चिरबिर गर्छन्। हाम्रो केही बिगार्ने होइनन्।' विराटनगर-१९ घर भएका उनलाई कसैले पनि चरा नमारे हुन्थ्यो जस्तो लाग्छ। भन्छन्, 'प्रकृतिले कति राम्रा स्वर र रुपरंग दिएका पन्छी छन्। उनीहरुलाई हेरिरहे मान्छेको मन नै फुरुङ्ग हुन्छ।' 

उनले भनेजस्तै छन् हाम्रा वरपर देखिने चराहरु।  उनीहरुको चिरिबिर आवाजले हामी बिहान भएछ भन्ने थाहा पाउँछौं। अझ घरछेउमा बगैंचा छ भने त्यहाँका बोटबिरुवामा बिहान निकै चरा भेला हुन्छन्। र, तिनीहरुको चिरबिरले बिहान भयो है भन्ने जनाउ दिन्छन्। उनीहरु बोटबिरुवाका पात, डाँठ र जमिन चहार्दै उड्दै खानाको खोजी गरिरहेका हुन्छन्।
 
कोइली 'को हो को हो' भन्छ। उसको प्रश्नको जवाफ अरु चराले दिएजस्तो देखिदैन। अरु चरा चिरबिर गर्छन्। चराका आकारप्रकार र प्रजाति अनुसार रुपरंगसगै आवाज भिन्न-भिन्न हुन्छ। कुनै चरा एक्लै, कुनै जोडी र कतिलाई समूहमा देख्न सकिन्छ। धेरै चराका आवाज मोहक हुन्छन्। तर, कागले 'काग काग' भन्दा उसको स्वर हामीलाई कर्कस लाग्छ।
 
हाम्रा छेउछाउका बगैंचा तथा रुखहरुमा धेरैले सजिलै देख्न सक्ने चरामा भँगेरा, रुप्पी, फिस्टा, जुरेली, धोबिनी, ढोडे कोइली लगायत धेरै छन्। यिनमा सबैभन्दा सानो चरो फिस्टो यताउता गरिरहन्छ। सानो भैकन मिठो आवाज निकालेर बोटविरुवा वा झाडीमा उसले कीराफट्याङ्ग्रा खोजिरहेको हुन्छ। फिस्टालाई धेरैपल्ट जोडी-जोडी डुल्दै गरेको देख्न सकिन्छ। 

चरा धेरै खालका हुन्छन्। धेरैले कीरा-फट्याङ्ग्रा खान्छन्। कतिले फूलको रसमात्र चुस्छन्। कतिले फल खान्छन्। चराले आफ्नै प्रकारले बगैंचाको रेखदेख गरिरहेका हुन्छन्। उनीहरुले बगैंचामा पात, फूल र फल खाने कीरालाई आफ्नो आहारा बनाएर हामीलाई थाहै नपाइने गरी सघाउँछन्। फूलको रस चुस्ने चराले फल फल्नका लागि फूलबाट हुने परागसेचन प्रक्रियामा बिरुवालाई सहयोग गरिरहेका हुन्छन्। 

रस चुस्नेमा बुंगे चरा अघि-अघि रहन्छ। यसको साधारण अंग्रेजी नाम सनबर्ड हो। नेपालमा सात खालका बुंगे चरा पाइन्छन्। देख्ता फिस्टा जस्तै लाग्ने यो चरा अलि लामो, रंगबिरंगी, लामो वा छोटा पुच्छर भएको देखिन्छ। यसको चुचो फिस्टाको भन्दा थोरै लामो र हँसिया आकारमा केही घुम्रिएको र तीखो हुन्छ। 

फल खाने चराले बिरुवाको संख्या बढाउन मद्दत गर्छन्। उनीहरुको दिसामा हुने बिउ सजिलै विरुवा भएर उम्रिएको देख्न सकिन्छ। फल खाने चरामा जुरेली, कुत्रुके, कोकले,काग र रुपी लगायत एक दर्जनभन्दा बढी छन्। काग र रुपीले सडेगलेका फोहर पनि खाएर वातावरण सफा राख्न मद्दत गर्छन्। 

फल, फूल र पानी भएका बगैंचा भए चराले मन पराउँछन्। धेरैलाई वर्षभरि नै जहिले हेरे पनि देख्न सकिन्छ भने कतिपय घुमन्ते पनि हुन्छन्। घुमन्ते पनि रैथाने र फिरन्ते गरि दुई प्रकारका हुन्छन्। फिरन्तेलाई कहिलेकाही मात्र देख्न सकिन्छ। फिरन्तेमा सुनचरी, पिट्ठा, जुरे कोइली, कुक्कु कोइली, सुगा, सुसेली चरी, राजचरी, चाँचर, झ्याप्सी र फ्लाइ-क्याचर लगायत धेरै छन्। यिनीहरु नयाँ नयाँ ठाउँ घुम्न मन पराउँछन्।

बगैंचामा डुल्ने चराहरुको संख्या मौसम अनुसार घटबढ हुने गर्छ। आहाराको खोजीमा रहने उनीहरु जहाँ खानेकुरा पाइन्छ त्यतै खोज्दै उडिरहने भएकाले यस्तो भएको हो। बचरा हुर्काएर उड्न सिकाउदै गर्दा धेरै चराले आफूभन्दा सानालाई खानेकुरा चुचोले खुवाएको बेला-बेला हामीले देख्न पाउँछौ। सबैजसो चराले आफ्ना बचरालाई आमाबुवाले हामीलाई स्याहार गरेजसरी नै खाना खुवाउने र उड्न सिकाउने गर्छन्।

बगैंचा ठूलो र फलफूलका बोटविरुवा प्रशस्त छ भने त्यस्तो ठाउँ खोज्दै आउने चराको संख्या साना बगैंचामा भन्दा धेरै हुने गर्छ। पानी भएको ठाउँ छ भने चरा नुहाउन पनि मन पराउँछन्। पानीमा हुने कीरा पनि खान्छन्। आहाराको खोजीमा राती मात्र उड्ने चरो लाटोकोसेरो हो। बत्तीको उज्यालो छ, कीरा छन् भने चिबे लगायतका चरा खुसी हुन्छन्। बत्तीमा झयाम्मिने कीरा-फट्याङ्ग्रा उनीहरुले खान्छन्।
  
(२०६७/०२/१६ कान्तिपुर कोपिलामा प्रकाशित ) 

No comments: