बेलबारी (मोरङ) - बाकस खोलेर पहिले प्रहरीले हेरेपछि भने, 'कसले सनाखत गर्ने हो, हेर्नुस्।' लामो समय 'कफिन बक्स' मा राखिएको ३४ वर्षीय रमेश गिरीको शव कालो र गन्ध आउने भइसकेको थियो। शव हेर्न बेलबारी-३ स्थित आँगनमा भएको भीड छिचोल्दै आएर ६२ वर्षका पिता रामकुमारले भने, 'हजुर म हेर्छु । म हेर्छु।'
शव राखिएको प्लास्टिकको फस्नर अलिकति खोलेर प्रहरीले टाउकोमात्र हेर्न मिल्ने बताए। सड्न नदिन हालिएको औषधिले रमेशको अनुहार सुकेको र कालो देखिन्थ्यो। उनको बाहिर निस्केका सेता दाँत निकैबेर घोरिएर हेरेपछि पिता चिच्च्याए, 'हो हजुर मेरै छोरो हो।'
साउदी अरबमा दुर्घटना परी निधन भएका रमेशको शव २२ महिनापछि मंगलबार बिहानमात्रै घर आइपुगेको हो। बन्द डिब्बामा ल्याइएको शव आँगनमा राखेदेखि नै घरमा रुवाबासी मच्चिएको थियो। प्रहरी आएपछिमात्र डिब्बा उघार्ने गाउँलेको सल्लाह भयो। प्रहरी आइपुग्न करिब आधा घन्टा ढिलो हुँदा रुवाबासी केही कम भएको थियो। रामकुमारले सनाखत गरेपछि रुवाबासी फेरि बढ्यो।
एकातिर उनी अधैर्य भएर लडे, अर्कातिर रमेशकी पत्नी मीना। अबोध छोरीहरू किंकर्तव्यविमुढ देखिन्थे। चार वर्षकी कान्छी छोरी तनुजालाई आफन्त एक महिलाले शव राखेको बाकस देखाउँदै 'तिम्रो बाबा उ त्यही हो' भन्दा हँसिलो मुहारकी ती अबोध बालिकाले एकटक लगाउँदै बाकस हेरिरहिन्, केही बोलिनन्।
केहीबेरमै आफन्तले चन्दा उठाएर अन्तिम संस्कारको सामग्री तयार पारे। बेलबारीको बेतना सिमसारनजिक सिम्पानेमा रमेशको अन्त्येष्टि गरियो। पिता रामकुमार छोराको किरिया बसेका छन्। राम्रो दाम कमाएर परिवार सुखसाथ पाल्ने सपना बोकेर चार वर्षअघि रमेश रोजगारीमा गएका थिए। जाँदा उनले व्यक्तिसँग लिएको ऋण तिर्न नसक्दा परिवारले भएको एक कट्ठाको घरघडेरी बैंकमा धितो राखेको छ। ऋणको किस्ता तिर्ने भाखा नाघेपछि बैंकले ताकेता थालेको छ। उनका दुई भाइ शम्भु र विमल पनि व्यक्तिगत ऋण गरेर दुबई र मलेसिया गएका छन्।
शम्भुले जाँदाको ऋण तिरे पनि राम्रो काम नमिल्दा घरमा पैसा पठाउन सकेका छैनन्। विमल गत महिनामात्र विदेशिएका हुन्। विदेशमा जेठा छोरा दुर्घटनामा मारिएको खबरले बिरामी परेकी आमाको गत वैशाख २७ मा निधन भएको थियो। रमेशको शव ल्याउने पहलका लागि कुद्दाकुद्दै गिरी परिवारमाथि ऋणको भार झन् बढेको छिमेकी इन्द्राकुमारी तामाङले बताइन्।
'कोसीले बाटो भत्काएको बेला परेको थियो,' उनले भनिन्, 'त्यसै त केही नभएको परिवार, त्यसमाथि यस्तो विपत। काठमाडौं आउजाउमै धेरै खर्च भयो।' आफूले मात्रै दिएकै सापटी डेढ लाख जति पुगेको बताउँदै उनले भनिन्, 'अब त मेरो पनि क्षमता रहेन।' आफूले पाउने पैसाभन्दा गिरी परिवारको घरबारी बैंकले लिलामीमा लगेको हेर्नुपर्ला भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन्। परिवारको सुखदुःखमा लागिपर्ने सदस्य गुमाएपछि बाबु बढी नै चिन्तित छन्। आयको दरिलो स्रोत नभएका उनले बनी गर्दै घर चलाउँदै आएका छन्।
अबुधाबी, रियाद, दिल्ली हुँदै काठमाडौंमा सोमबार दिउँसो आइपुगेको शव कान्छा भाइ किशोरले पिकप भ्यानमा राखेर रातभरिको यात्रापछि बिहान घर ल्याएका थिए। शव घरसम्म ल्याउनका लागि लागेको खर्च वैदेशिक रोजगार प्रबन्ध समितिले सहयोग गरेको परिवारले जनाएको छ।
***
(२०६७/०३/०२ बुधबारको कान्तिपुर दैनिकको पृष्ठ ३ मा प्रकाशित )

No comments:
Post a Comment