Sunday, December 14, 2008

पोहर यो बेला























कहिल्यै आर्टिकल लेख्न जानिन । कारण , सम्पादकको एसएमएस सम्झन्छु - बी एनालिष्ट , नट इमोसनल । दुइपटक यस्तो एसएमएस पाएपछि मैले कोरेर आर्टिकल भन्न रुचाउने शब्द जाललाइ सम्पादककहाँ मेल गर्न ठीक ठानिन । म सुध्रन सकिन । लाग्दैन मान्छे भावुक भएन भने यात्रा संस्मरण र पठनीय फिचर तयार पार्न सक्छ । मैले आफुमा सुधार ल्याउन नसकेको होला । तर, लेख्न छाडिन ।
लेखे । अनि आफैसँग राखे । फोटो पत्रकारिताका लागि सम्पादकले दिने हौसला नै मेरा लागि उतम होला भन्ने लागिरह्यो । अनि फोटो , फोटो अनि फोटो भन्दै सिक्ने क्रम जारी छ । यद्यपि मलाइ लेख्न मन लाग्छ । अनि फेरि सम्झन्छु त्यो एसएमएस ।
मनोविज्ञान सामान्यीकरणको एउटा सिद्धान्त बारे ब्याख्या गर्छ । त्यसमा भनिएको छ -हरेक मान्छेले आफुलाइ समान्यीकरण गरेन भने त्यो रोगी हुन्छ , मनोरोगी । जस्तै -चिकित्सकले अंगभंग भएर उपचारमा ल्याइएकालाइ देखेर आतिनु हुदैन । चोट कहाँ छ । उपचार कसरी थाल्ने । अनि के के चाहिन्छ भन्ने सोच्न थाल्नु उसको समान्यीकरण हो । अनि पत्रकारितामा पनि यो लागू हुन्छ । मनोविज्ञानको यो सिद्धान्त मैले पढेको हो । सामान्यीकरणको अभ्यास नगरेको पनि होइन । तर दुइपटक एउटै सन्देश भएको एसएमएसले मेरो दक्षता लेखनमा अघि बढ्छ भन्नेमा ब्रेक लगाएको ठान्छु ।
अहिले म काठमाडौंमा छु । पोहर यतिबेला म पूर्वको कर्णाली भनिने खोटाङ जिल्लाको यात्रामा थिए । अहिले फुर्सदमा बसेका बेला त्यो संस्मरणलाइ अपलोड गरेको छु ।
लामिडाडा, सुन्तला र हवाइजहाज
प्रतीक्षा । नामले नै दिक्क लाग्दो शब्द । गत वर्ष यही बेला दुइ साताको खोटाङ यात्रापछि विराटनगर फर्कने दिन नजिकिदा दिक्क लाग्दो शब्दको सामना मजाले नै गरियो । सम्झन्छु अहिले , त्यो साताको शनिवार दिउँसो दिक्तेलबाट लामिडाडा विमानस्थल पुग्दा साँझ परेको थियो । समूहका छ जनाले त्यहाँबाट आइतवार विहान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको गुन्द्रुके जहाजको यात्रा घर फिर्ने तय थियो ।
लामिडाडामा नेपाल एयरलाइन्सले साताको दुइपटक विराटनगर-काठमाडौं र निजी क्षेत्रको यति एयरले दुइपटक राजधानीका लागि उडान गर्ने रहेछन् । स्थानीयवासी र यात्रुका अनुसार यो एयरलाइन्सका उडान धेरैपटक रद्द हुने गरेको रहेछ । । यसको कारणमा कहिले मौसमको खराबी र धेरैपटक सीमित संख्याको जहाज र त्यसले धेरै उडान भर्नुपर्ने भएकाले समस्या आउने गरेको रहेछ । जहाज आउने नआउने जान्न बेलुकी नौ बजे रेडियो नेपाल सुन्ने परम्परा यहाँ रहेछ ।
हामीलाई पनि पहिलो गाँसमै ढुङ्गा लाग्यो । कारण आइतवार सो जहाज नआएर होइन । अघिल्ला उडानमा जाने भनेर नपाएका यात्रुको भीड लामिडाडाका घरेलु होटलहरुमा देखियो । दुइवटा टिकट दिक्तेलबाटै 'कन्फर्म' अनि दुइका लागि खोटाङ जिल्ला प्रशासनको पत्र भएपनि फर्कने तीथि अनिश्चित भयो । आइतवारको उडानले अघिल्लोपटक उड्न तयार भएरपनि नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेको थियो । अनि उतिकै संख्यामा विरामी र तिनका आफन्त जहाजको प्रतिक्षामा देखिए । असक्त र उनीहरुको उपचारका लागि हिडेकाहरु देख्तादेख्दै 'हामीलाई उडाउनोस्' भन्न सक्ने स्थिति भएन ।
पहिलो रात बितेपछि हाम्रो समूह विमानस्थल नजिकको चाम्लिङ होटलमा सर्‍यो । कारण , टिकटका लागि हुने चहलपहलमा चाडो भेला हुन सकियोस र तत्काल उड्ने मौका मिले कुदेर जान सकिने स्थिति बनोस् । यात्रामा हाम्रो मोबाइल निदाएको थियो । अनि समूहमा रहेका एक जनाको स्काइ फोनले कतै कतै टिप्दै थियो । घरमा छोरो बिसञ्चो भएको खबर । अनि अफिसमा पनि आफु बाहिर हिडेका बेला हुने खोजीले के भयो होला भन्ने भएपछि फर्कन मन हतारिएको थियो । हामी उदयपुरको घुर्मीबाट सुनकोसी तरेर पैदल खोटाङ पुगेका थियौ । फर्कनका लागि फेरि उस्तै यात्रा गर्ने जाँगर थिएन ।
लामिडाडाको बनोट पूर्वमा पाचथरको सदरमुकाम फिदिमसग झण्डै मिल्न खोज्ने प्रकारको रहेछ । तर, यसका पश्चिम-उत्तर हिमाल र दुधकोशीका मनोरम दृश्य हेर्न सकिने थियो । २०२७ सालदेखि सञ्चालनमा आएको लामिडाडा विमानस्थल खोटाङ आवतजावत गर्नेका लागि भरपर्दो ठाउँ रहेछ । यो जिल्लालाई अरु जिल्लाको मोटरबाटोले छोएको छैन । यसर्थ उडानको महत्व आगन्तुकका तुलनामा जिल्लावासीले राम्ररी नै बुझेका रहेछन् ।
हेलिकप्टरबाट ओसारिएका गाडीको संख्या यहा दर्जन पुग्न लागेपनि तिनको यात्रा ढुङ्गा फुटाउने 'ग्रयाण्डर' मेशिनमा बसेको अनुभव दिने प्रकारको रहेछ । सदरमुकामबाट गाडीको यात्रामा तीन घण्टा लागेपनि दिक्तेलबाट लामिडाडा, अखोले वा हलेसी पुग्नु कुनै युद्ध जिते बराबरको अनुभव दिने खालको रहेछ । कारण उकालो-ओरालो र ढुङ्गे बाटोले हल्लिएर यात्रुका सबै अंगप्रत्यंगको रामै्र 'एक्सरसाइज' हुने रहेछ ।
चिसो हावापानी भएको लामिडाडा सुन्तला उत्पादन र विक्री हुने राम्रो थलो । जहाज आउने निश्चित भएको खबर पाएलगतै डोकोमा सुन्तला लिएर विमानस्थल वरपर बस्ने स्थानीयवासी भेटिए । अनि आफुले लैजान पाउने वजन अनुसारको सुन्तला यात्रुहरु किन्दै पोको जहाजमा हाल्ने बानी परेका रहेछन् ।
हाम्रो समूहका साथीलाई चरण-चरण गरि राजधानी र विराटनगरको टिकट मिलाउने क्रममा सोमबार मसहित तीन जना बाकी रह्यौ । लामिडाडाको साझ ,दुधकोसी नदि र हिमालको स्याठ, चिसो पानी, रसिला सुन्तला, होटलको वास अनि घर फिर्न कसरी सम्भव होला भन्ने भोगाइ आफैमा पहिलो नौलो अनुभव थियो । टिकट नभएपछि दिन काट्न हामी लामिडाडाको खरिदारटोल पुग्यौं । कुनै बेला खरिदारको घर भएकाले सो टोलको नामै त्यसैबाट बसेको रहेछ ।
त्यहा साना नानीहरुको शिशु कक्षा हेर्न पुगेका हामीलाई शान्ति बालबिकास केन्द्रका सञ्चालक एकराज र टीकाराम श्रेष्ठले स्वागत गरे । केन्द्रमा एक दर्जन नानीहरु थिए । पुराना शिक्षकले छाडेपछि गाउ भित्रिएकी एक बुहारीले त्यहा नानीहरुलाई कखरा चिनाउदै थिइन । टीकारामको आगनमा हाम्रो समूहका सुरेश थापा, मिनराज पञ्थी र मैले कुराकानी थाल्यौ । कुराकानी चल्दै गर्दा टीकारामले सुन्तला ल्याएर फिजाए । अनि भने 'लौ सर , अतिथिका लागि हाम्रो सत्कार यही हो ।' रसिला र स्वादिला सुन्तला । पेट अघाउने मनलाइ आसक्ती बढाउने । कुरा चल्दै गयो । बोटका सुन्तला उनीहरुले टिपेर ल्याउने र अतिथिलाई साथ दिदै भेला भएका सबैले कपाकप निल्ने कार्यक्रम चलिरह्यो ।
लामिडाडाका रमुवा र माझीगाउबाहेक सबै क्षेत्रमा सुन्तला प्रसस्त फल्ने रहेछ । यहा कात्तिक अन्तिमदेखि बैसाखसम्म सुन्तला बेच्ने र खाने काम चलिरहने गाउलेले बताए । बिक्री हुने प्रमुख थलो विमानस्थल रहेछ । ५० पैसाबाट सुरु हुने प्रति दानाको विक्री मौसम फेरिदै जादा १० रुपैयासम्म पुग्ने रहेछ ।
हामी पुगेका बेला लामिडाडामा सय रुपियामा एक सय २० दानासम्म सुन्तला किन्न पाइने भेटियो । तराइका बजारको तुलनामा सस्तो अवश्य हो । तर, मोटरबाटोले नछोएको जिल्ला । अनि १५ किलोभन्दा बढी वजन बोक्नेलाई विमानमा लाग्ने शुल्क प्रतिकिलो ४५ रुपैया । तोकिएकोभन्दा बढि कसले बोकोस । लामिडाडाको गाउमा सुन्तलाका बोटहरु हेर्दा तिहारे फुलहरु ढकमक्क फुलेको भान हुन्थ्यो । तर, माओवादी जनयुद्धमा क्षत्रि्रस्त लामिडाडा विमानस्थल मर्मत गरिएको रहेनछ । यसको आफ्नै कथा रहेछ । करीव डेढ वर्ष यहा उडान बन्द हुदा अधिकांश घरका युवा राजधानी र अन्यत्र हिडेका रहेछन् । होटल चलाउने पाकाहरुको भनाइमा त्यसबेला माओवादीले एक घर, एक जवान भन्दै आएपछि बढेका छोराछोरी रातारात अन्यत्र पठाएर बृद्धहरु छानो कुर्न बसेछन् । यसरी गएका अधिकांश अझै फिरिसकेका थिएनन् । उनीहरुको मर्म कोट्याउदा सुन्तलाको स्वाद पनि अमिलो हुने रहेछ । मंगलवार विहान हामीले विराटनगर फि्न जहाजको बोर्डिङ पास पायौं । ठूलो युद्ध जिते बराबरको अनुभूति भयो । किनकी हामी जसरी प्रतिक्षामा बसेका थियौं , त्यसरी नै बस्ने जमात त्यहा बढेको बढ्यै थियो ।

1 comment:

PAWAN said...

bhim dai namaskaar ,

ajakal kahaharaunubhako ? photo pani ktm tira ko cha , saruwa bho ki kya ho rajdhani tira ?

pawan neupane
9841028212