Tuesday, April 7, 2026

कम ज्ञान, बढी आत्मविश्वास !

जान्नेले आफूलाई कम जानेको वा आफूले गरेका काममा पनि जस पाउँदा लिने संकोचलाई के भनिन्छ भनेर हामीले भर्खरै हो चर्चा गरेको। इम्पोस्टर सिन्ड्रोममा व्यक्ति आफूलाई कम आत्मविश्वासी पाउँछ, जसको अर्को पाटो पनि छ, डनिङ–क्रुगर प्रभाव (Dunning–Kruger Effect)। पहिले एउटा कथा सुनौँ। 

रमेशले युट्युबमा दुईवटा भिडियो हेरेर गितारका तीनवटा 'कर्ड' बजाउन सिक्यो। अब उसलाई लाग्छ कि अरुभन्दा कम रहेन, उत्कृष्ट गिटारिस्ट भइसक्यो। उसले आफ्ना अनुभवी साथीहरूलाई संगीत सिकाउन थाल्छ र भन्छ, 'गितार बजाउन त के गाह्रो छ र ! मैले दुई दिनमै मास्टर गरिसकेँ।' तर, जब उसलाई एउटा गीतको गिटारको कर्ड बजाउन लगाइन्छ, उसले त्यसमा औंला समेत सार्न सक्दैन। यहाँ प्रष्टै देखियो रमेशलाई आफ्नो 'अज्ञानता'को ज्ञान नै थिएन।

हामी वरिरपरि धेरैपटक रमेशजस्ता थुप्रै भेट्छौं, जो उच्च आत्मविश्वासका साथ जटिल विषयमा धाराप्रवाह बोलिरहेका हुन्छन्। बोल्ने ढंग हेर्दा लाग्छ, सबै कुरा उसलाई स्पष्ट छ। केहीबेर सुनेपछि महसुस हुन्छ, त्यो आत्मविश्वास ज्ञानबाट होइन, सतही बुझाइबाट आएको हो। कन्फिडेन्टली बोलिरहेको छ तर उसले विषय नै बुझेको रहेनछ। यही मनोवैज्ञानिक विडम्बना नै हो, डनिङ-क्रुगर प्रभाव।

इम्पोस्टर सिन्ड्रोमको ठीक विपरीत 'डनिङ-क्रुगर प्रभाव' अज्ञानता र अति-आत्मविश्वासको एउटा रोचक मनोवैज्ञानिक अवस्था हो। यो एउटा यस्तो संज्ञानात्मक भ्रम (Cognitive Bias) हो, जहाँ कुनै विषयमा अल्पज्ञान भएको व्यक्तिले आफ्नो क्षमतालाई वास्तविकभन्दा निकै माथि राखेर मूल्यांकन गर्छ। सजिलो भाषामा भन्दा, 'नजान्ने मान्छेले आफूलाई नजान्ने छु भन्ने समेत जान्दैन।'

डनिङ-क्रुगर प्रभावमा कम ज्ञान वा सीप भएको व्यक्तिले आफूलाई अत्यधिक सक्षम ठान्छ, जबकि धेरै जान्ने व्यक्ति प्रायः आफ्नै क्षमतामा शंका गर्छ। यो अवधारणालाई मनोवैज्ञानिकहरू डेभिड डनिङ र जस्टिन क्रुगरले सन् १९९९ मा प्रस्तुत गरेका थिए। सरल भाषामा भन्नुपर्दा थोरै जानेको मान्छे मलाई त सबै थाहा छ भन्छ, धेरै जानेको मान्छे, 'अझ धेरै सिक्न बाँकी छ' भन्छ। यही विरोधाभास नै डनिङ-क्रुगर प्रभाव हो।

सन् १९९९ मा कर्नेल विश्वविद्यालयका प्राध्यापकद्वय डेभिड डनिङ र जस्टिन क्रुगरलाई एउटा अनौठो र हाँसोउठ्दो आपराधिक घटनाले एउटा गम्भीर मनोवैज्ञानिक अनुसन्धान गर्न प्रेरित गर्‍यो। त्यो घटना १९९५ मा पिट्सबर्गमा घटेको थियो, जहाँ म्याकआर्थर ह्विलर नामका एक व्यक्तिले दिउँसै दुईवटा बैंक लुटेका थिए। 

घटनामा चोरको अनौठो विश्वास देखिएको थियो। म्याकआर्थर ह्विलरले बैंक लुट्नुअघि आफ्नो अनुहारमा कागतीको रस दलेका थिए। उनको विश्वास के थियो भने, कागतीको रसले कागजी नोटमा 'इनभिजिबल इंक' (अदृश्य मसी) को काम गर्छ भने, यसलाई अनुहारमा दल्दा यसले सीसीटीभी क्यामेराको अगाडि आफ्नो अनुहारलाई पनि अदृश्य बनाइदिन्छ। उनी यति ढुक्क थिए कि उनी बिना मास्क वा बैंकमा पसे। बैंकका क्यामेराहरूले उनको अनुहार प्रस्ट रूपमा कैद गरे। 

सोही दिन बेलुकाको समाचारमा बैंक लुटपाटको भिडियो फुटेज सञ्चारमाध्यममा प्रसारण भएपछि उनी तुरुन्तै पक्राउ परे। जब प्रहरीले उनलाई फुटेज देखायो, उनी छाँगाबाट खसेजस्तै भए र अच्चम मान्दै भने, 'तर मैले त कागतीको रस दलेको थिएँ त !' उनको यो प्रतिक्रियाले उनी मानसिक रूपमा अस्वस्थ नभई, केवल आफ्नो 'अज्ञानता'मा पूर्ण रूपमा विश्वस्त थिए भन्ने कुरा प्रस्ट पाऱ्यो।

यही घटनाबाट प्रभावित भएर डनिङ र क्रुगरले विभिन्न परीक्षणहरू गरे। उनीहरूले के निष्कर्ष निकाले भने, 'जुन व्यक्तिसँग कुनै विषयको ज्ञान वा क्षमता कम हुन्छ, उनीहरूसँग आफ्नो 'अक्षमता' चिन्न सक्ने क्षमता पनि कम हुन्छ।' म्याकआर्थर ह्विलरलाई रसायन विज्ञान वा क्यामेरा कसरी काम गर्छ भन्ने कुराको थोरै पनि ज्ञान थिएन, त्यसैले उनले आफ्नो मूर्खतापूर्ण विचारलाई 'विज्ञता' ठाने। यही निष्कर्षलाई पछि 'डनिङ-क्रुगर प्रभाव' (Dunning-Kruger Effect) नामकरण गरिएको हो। 

डनिङ र क्रुगरले व्याकरण, तर्क र ठट्टाका विषयमा मानिसहरूको परीक्षण गरे। नतिजाले देखायो कि सबैभन्दा कम अंक ल्याउने २५% मानिसहरूले आफ्नो क्षमतालाई ८०% भन्दा माथि रहेको दाबी गरेका थिए।

मनोविज्ञानको सैद्धान्तिक व्याख्यामा यसलाई 'मेटा-कग्निसन'को कमी भनिन्छ। मेटा-कग्निसन भनेको आफ्नै सोचाइको बारेमा सोच्ने क्षमता हो। जसलाई कुनै विषयको आधारभूत ज्ञान नै छैन, उसँग आफ्नो गल्ती छुट्याउने मापदण्ड नै हुँदैन। त्यसैले, उनीहरूले आफ्नो कमजोरी देख्न सक्दैनन् र आफूलाई 'विज्ञ' ठान्छन्।

यसको प्रभाव केवल व्यक्तिगत सोचमा मात्र सीमित छैन, मिहिन तरिकाले हेर्दा समाजमा पनि यसको गहिरो असर देखिन्छ। सामाजिक सञ्जालको युगमा, जहाँ जानकारी सहज उपलब्ध छ तर सन्दर्भ र गहिराइ कम छ, डनिङ–क्रुगर प्रभाव अझ तीव्र रूपमा प्रकट हुन्छ। केही लेख वा भिडियो हेरेपछि मानिसले आफूलाई विशेषज्ञ ठान्ने, जटिल विषयमा ठोस दाबी गर्ने र फरक मतलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दो छ। यसले संवादलाई कमजोर बनाउँछ र गलत सूचनाको फैलावटलाई सहज बनाउँछ।

तर यो प्रभाव केवल अरूमा मात्र देखिन्छ भन्ने सोच्नु पनि आफैंमा अर्को भ्रम हो। वास्तविक चुनौती भनेको हामी स्वयंले आफ्नो सोचभित्र लुकेको डनिङ–क्रुगर प्रभाव पहिचान गर्नु हो। हामी सबै कुनै न कुनै क्षेत्रमा यसका सिकार हुन सक्छौँ। जहाँ हाम्रो ज्ञान सीमित छ, त्यहाँ हाम्रो आत्मविश्वास असन्तुलित हुन सक्छ।

अब आउनुस् यो  रोग हो? घातक हो/होइन? रोग होइन, यो कुनै मानसिक रोग वा विकार (डिसअर्डर) होइन। यो मानव मस्तिष्कको एउटा स्वभाविक 'त्रुटि' हो जुन हामी सबैमा कुनै न कुनै क्षेत्रमा हुन सक्छ। यो शारीरिक रूपमा घातक हुँदैन, तर सामाजिक र व्यावसायिक रूपमा अत्यन्तै घातक हुन सक्छ। विशेषगरी राजनीति, चिकित्सा, वा व्यवस्थापन जस्ता क्षेत्रमा अल्पज्ञानी व्यक्तिले लिने 'अति-आत्मविश्वासी' निर्णयले ठुलो दुर्घटना निम्त्याउन सक्छ।

लक्षणहरू कसरी थाहा पाउने?

  • आफ्नो क्षमतालाई अत्यधिक बढाएर बताउनु।

  • अरूको वास्तविक क्षमता र विशेषज्ञतालाई चिन्न नसक्नु।

  • आफ्नो गल्ती वा अज्ञानतालाई स्वीकार गर्न अस्वीकार गर्नु।

  • थोरै जानकारी हुनासाथ आफूलाई सो विषयको 'गुरु' ठान्नु।

मनोविज्ञानका कक्षामा यो प्रभावलाई प्रायः एउटा 'कर्भ' ले बुझाइन्छ। सुरुआत, थोरै सिकेपछि नै अत्यधिक आत्मविश्वास। अज्ञानको खाडल, वास्तविक जटिलता बुझेपछि आत्मविश्वास घट्छ। विकास चरण, बिस्तारै सिक्दै जाँदा सन्तुलित आत्मविश्वास आउँछ। 

किन हुन्छ? आफ्नै कमजोरी चिन्ने क्षमताको कमी, सीमित अनुभवलाई नै पूर्ण सत्य ठान्ने बानी र गलत आत्म-मूल्यांकनका कारण हुन्छ। 

वास्तविक जीवनका उदाहरणका रुपमा हेर्नलाई विभिन्न परिदृश्य अवलोकन गर्न सकिन्छ। नयाँ काम सिकेको व्यक्ति तुरुन्तै 'म एक्सपर्ट भएँ भन्छ भने, सामाजिक सञ्जालमा सतही जानकारी पढेर गहिरो बहस गर्नेलाई हेरेर र अनुभव नभए पनि आत्मविश्वासका साथ निर्णय लिनेहरु देख्न पनि गाह्रो छैन। 

यो आफैंमा रोग होइन तर यो अवस्था मानसिक स्वास्थ्यका दृष्टिले सहज पनि होइन। गलत निर्णय लिन सकिन्छ, सिक्ने प्रक्रिया रोकिन सक्छ र अरूको सुझाव बेवास्ता गरिन्छ।

कसरी जोगिने? 'मलाई सबै थाहा छैन' भन्ने स्वीकार गर्नु, फीडब्याक लिनु र सुन्नु, निरन्तर सिकिरहनु र आफ्ना सीमाहरू बुझ्ने प्रयास गर्नु उत्तम उपाय हुन्। यति बुझ्नुपर्छ इम्पोस्टर सिन्ड्रोम भए धेरै जान्नेले आफूलाई कम ठान्ने हुन्छ भने डनिङ–क्रुगर प्रभावबाट गुज्रेको अवस्थामा कम जान्नेले आफूलाई बढी ठान्ने ठान्छ, व्यवहार देखाउँछ।

यसको 'उपचार' वा समाधानबारे अझै प्रष्ट हुनुस्, यो रोग होइन। यसको उपचार अस्पतालमा हुँदैन, तर यसलाई कम गर्ने उपायहरू छन्। निरन्तर सिक्ने, जति धेरै पढिन्छ र सिकिन्छ, उति नै 'मैले त अझै धेरै सिक्न बाँकी रहेछ' भन्ने बोध हुन्छ। फीडब्याक लिने, अरूको आलोचना र सुझावलाई ध्यान दिएर सुन्ने बानी बसाल्ने। आफैंलाई प्रश्न गर्ने, 'के मलाई साँच्चै यो विषयमा गहिरो ज्ञान छ? कि मलाई 'लागेको' मात्र हो?' भनेर सोच्ने। विनम्रता, 'मलाई थाहा छैन' भन्न सक्ने साहस जुटाउने। 

इम्पोस्टर सिन्ड्रोमले हामीलाई अघि बढ्नबाट रोक्छ भने डनिङ-क्रुगर प्रभावले हामीलाई गलत दिशामा दौडाउँछ। एउटा सचेत व्यक्तिका लागि यी दुवैको सन्तुलन बुझ्नु जरुरी छ। दार्शनिक सुकरातले भनेझैं, 'वास्तविक ज्ञान भनेको आफू कति अज्ञानी छु भन्ने थाहा पाउनु नै हो।' डनिङ–क्रुगर प्रभावले हामीलाई सम्झाउँछ, ज्ञानले मात्र होइन, आफ्नै अज्ञान बुझ्ने क्षमताले पनि बुद्धिमत्ता निर्धारण गर्छ।

No comments: