Thursday, April 9, 2026

छिस्स आलोचना, ठुस्स अनुहार


उनी अफिसको एउटा मिटिङमा उत्साहका साथ सहभागी थिइन। निकै मिहिनेत गरेर एउटा आइडिया प्रस्तुत गरिन। तर, शर्मिष्ठाको आइडियालाई हाकिमले सामान्य ढंगले भनिदिए, 'अहिलेलाई यो अलि सान्दर्भिक नहोला कि, अर्को हेरौँ।'
अरूका लागि यो सामान्य फीडब्याक थियो, तर शर्मिष्ठाका लागि संसारै भत्किएजस्तो भयो। उनको मुटुको धड्कन बढ्यो, अनुहार रातो भयो र भित्रभित्रै एउटा भयानक अदृश्य पीडा महसुस भयो। उनलाई लाग्यो - 'म काम नलाग्ने मान्छे हुँ, सबैले मलाई घृणा गर्छन्।' 
मिटिङपछि अनुहार अँध्यारो पारेकी उनी अफिस समयभरि यही सम्झेर बाँकी कसैसँग बोल्न सकिनन् र राति अबेरसम्म हाकिमका त्यही एउटा वाक्यलाई सम्झेर रोइरहिन।
***
ईश्वर एउटा मिडिया हाउसमा काम गर्थे। स्वभावले निकै मिलनसार र मिहिनेती। एक साँझ, उनले आफ्ना केही सहकर्मीहरू अफिसको क्यान्टिनमा हाँस्दै कफी खाइरहेको देखे। उनी नजिकै पुग्दा संयोगवश सबैजना चुप लागे र अर्को विषयमा कुरा गर्न थाले।
कुनै सामान्य व्यक्तिका लागि यो एउटा 'संयोग' मात्र हुन सक्थ्यो। शायद उनीहरूको कुरा सकिएको थियो वा उनीहरू कार्यव्यस्तताले चुप लागेका थिए। तर, ईश्वरको मस्तिष्कमा RSD सक्रिय भयो। लाग्यो, 'उनीहरू मेरै कुरा काट्दै थिए। म आएपछि चुप लागे। उनीहरू मलाई मन पराउँदैनन्। म यो ग्रुपमा अटाउँदिनँ।'
त्यो एउटा सानो घटनाले गर्दा ईश्वरको बाँकी साँझ निकै सकसको बन्यो। उनलाई यस्तो 'शारीरिक पीडा' भयो, मानौँ कसैले उनको छातीमा जोडले हिर्काएको छ। उनले घर पुगेर मोबाइल 'फ्लाइट मोड' मा राखे, किनकि डर थियो - कसैले म्यासेज गरेर कामबाट निकालिएको वा कसैले चित्त दुखाउने कुरा पो भन्ने हो कि!
भोलिपल्ट बिहान अफिस जान पहाड चढेजत्तिकै गाह्रो भयो। सहकर्मीहरूको आँखामा हेर्न सकेनन्। यस्तो लाग्यो मानौँ, सबैले उनलाई 'जज' गरिरहेका छन्। वास्तवमा, उनका सहकर्मीहरूले उनलाई केही भनेकै थिएनन्, तर मस्तिष्कले त्यो काल्पनिक अस्वीकार (इमेजिनेटेड रिजेक्सन) लाई सत्य मानेर उनलाई मानसिक रूपमा थला पारिदियो।
*** 
यो कुनै सामान्य चित्त दुखाइ थिएन। यो थियो रिजेक्सन सेन्सेटिभ डिस्फोरिया (RSD)। के तपाइँले यस्तो अनुभव गर्नुभएको छ ? मनोविज्ञानमा रिजेक्सन सेन्सेटिभ डिस्फोरिया भन्नाले वास्तविक वा काल्पनिक 'अस्वीकार' वा 'आलोचना' बाट उत्पन्न हुने तीव्र भावनात्मक पीडालाई बुझिन्छ। 'डिस्फोरिया' शब्दको अर्थ ग्रीक भाषामा 'सहनै नसकिने कष्ट' भन्ने हुन्छ।
यसबाट प्रभावित व्यक्तिहरूलाई अरूले गरेको सानो आलोचना वा आफूलाई वास्ता नगर्दा पनि शारीरिक रूपमै चोट लागेजस्तो महसुस हुन्छ। यो अस्वीकृति (रिजेक्सन) वा आलोचनाप्रति अत्यधिक संवेदनशील हुने मानसिक अवस्था हो। सामान्य मानिसलाई सानो आलोचना वा बेवास्ता सामान्य लाग्न सक्छ, तर RSD भएका व्यक्तिका लागि त्यो अनुभव अत्यन्त पीडादायी र भावनात्मक रूपमा गहिरो आघातजस्तो हुन्छ। हाम्रो समाजमा जो कोही प्रशंसा मन पराउँछ, आफ्नो स्वीकारोक्तिप्रति चासो राख्छ, संवेदनशील हुन्छ। तर यो संवेदनशीलता पनि निश्चित सीमामा हुनुपर्छ। कम या बढी हुनुका बेग्लै जोखिम छन्। हामीले यहाँ चर्चा गरिरहेको बढी हुनुको हो।
के तपाइँ आफ्नो आलोचना सुन्नै सक्नु हुन्न? कसले सक्छ त भन्नुहोला। होइन। सुन्नुपर्छ। एउटा तहसम्मको स्वस्थ आलोचनाले फाइदा पनि गर्छ। तर, खप्नै र सुन्नै नसक्नेका लागि भने हाम्रो आजको विषय उपयोगी हो।
शर्मिष्ठाको कथामा आलोचना प्रमुख कारक थियो भने ईश्वरको प्रसंगमा बहिष्करणको डर। RSD भएका व्यक्तिहरूमा यी दुवै कुराले समान स्तरको पीडा दिन्छन्। आरएसडीमा केही भित्री पक्षहरू यस्ता हुन्छन् -
  • अति-सोचाइ (Overthinking): अरु जे गरुन त्यो उनीहरुको कुरा हो तर RSD को अवस्थाले सोचाइमा बेग्लै समयस्या बढाएको हुन्छ। अरूको सामान्य शारीरिक हाउभाउ वा शब्दको गहिरो र नकारात्मक अर्थ निकाल्नु।
  • सुरक्षात्मक व्यवहार (Defensive Wall): चोट लाग्नुअघि नै आफैं सम्बन्धबाट टाढिनु (ताकि अरूले छोड्नुअघि नै आफूले छोड्न पाइयोस्)।
  • शारीरिक संवेदना: यो पीडा केवल मनमा मात्र हुँदैन, धेरैले यसलाई छाती भारी हुने वा पेट पोल्ने जस्तो शारीरिक महसुस गर्छन्।
कसरी महसुस हुन्छ?
मनोवैज्ञानिकहरूका अनुसार RSD भएका व्यक्तिले सानो टिप्पणीलाई पनि व्यक्तिगत आक्रमणजस्तो लिन्छन्। 'मलाई मन पराइएन' भन्ने डर बारम्बार महसुस गर्छन्। सामाजिक सम्बन्धमा असुरक्षित महसुस गर्छन्। तुरुन्तै दुःखी, लज्जित वा रिसाउने प्रतिक्रिया दिन सक्छन्।
एउटा सरल उदाहरणका रुपमा तपाईंले साथीलाई सन्देश पठाउनुभयो, तर तुरुन्तै जवाफ आएन। सामान्य अवस्थामा यो सामान्य कुरा हो। तर RSD भएको व्यक्तिले सोच्न सक्छ - 'सायद उसले मलाई बेवास्ता गर्‍यो,' 'मैले केही गलत भनेँ कि?' यसले अनावश्यक तनाव र आत्मशंका बढाउँछ।
किन हुन्छ?
विशेषज्ञहरूका अनुसार RSD प्रायः बाल्यकालको अस्वीकृत अनुभव, आत्मसम्मानको कमी, वा Attention Deficit Hyperactivity Disorder सँग सम्बन्धित हुन सक्छ। धेरै अध्ययनले देखाउँछन् कि ADHD भएका व्यक्तिहरूमा RSD को सम्भावना बढी हुन्छ।
प्रभाव के हुन्छ? सम्बन्धमा अनावश्यक असमझदारी, आत्मविश्वास घट्नु, चिन्ता र डिप्रेसन बढ्नु, सामाजिक दूरी बढ्नु। 
के गर्न सकिन्छ?
मनोवैज्ञानिकहरूले सुझाउने विभिन्न सरल उपायहरू छन्। आफ्ना भावनालाई तथ्यबाट छुट्याउने अभ्यास गर्नु
तुरुन्त प्रतिक्रिया दिनुभन्दा अघि सोच्ने, विश्वासिलो व्यक्तिसँग कुरा गर्ने र आवश्यक परे काउन्सेलिङ वा थेरापी लिनुपर्छ।
कोलम्बिया विश्वविद्यालयकी प्रोफेसर गेराल्डिन डौनीले सन् १९९० को दशकमा 'रिजेक्सन सेन्सिटिभिटी' माथि महत्त्वपूर्ण प्रयोग गरेकी थिइन्। उनले एउटा सामाजिक अन्तरक्रियात्मक प्रयोग (Social Interaction Study) मार्फत देखाएकी थिइन् कि कसरी केही व्यक्तिहरूले अरूको सामान्य व्यवहारलाई पनि 'मलाई हेपेको' वा 'नगनेको' भनी गलत अर्थ लगाउँछन्, जसले गर्दा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुन्छ।
यो कति असहज व्यवहार हो?
RSD भएको व्यक्तिले निम्न व्यवहारहरू देखाउन सक्छ, जुन निकै कष्टकर हुन्छ:
  • तीव्र रिस वा उदासीनता: कसैले आलोचना गर्दा एक्कासि विस्फोट हुने वा एकदमै निराश हुने।
  • सामाजिक अलगाव: कतै अपमानित भइने हो कि भन्ने डरले नयाँ मान्छे भेट्न वा नयाँ काम गर्न डराउने।
  • पूर्णतावादी (Perfectionist) बन्ने प्रयास: गल्ती गर्दा आलोचना खेप्नुपर्छ भन्ने डरले हरेक काममा 'पर्फेक्ट' हुन खोज्दा मानसिक तनाव बढ्नु।
  • कम आत्म-सम्मान: सधैं आफूलाई अरूभन्दा कम ठान्नु।
प्राविधिक रूपमा भन्नुपर्दा, RSD हालसम्म कुनै स्वतन्त्र 'रोग' वा 'डिसअर्डर' को रूपमा (DSM-5 जस्ता आधिकारिक निर्देशिकामा) सूचीकृत छैन। बरु, यसलाई एउटा 'लक्षण' (Symptom) वा 'मानसिक अवस्था' मानिन्छ। यो अक्सर ADHD, अटिजम, वा डिप्रेसन जस्ता अन्य अवस्थाहरूसँग जोडिएर आउँछ। यद्यपि यो छुट्टै रोग नभए पनि यसले व्यक्तिको जीवनमा पार्ने प्रभाव भने कुनै गम्भीर रोगभन्दा कम हुँदैन। RSD केवल 'कमजोर मन' हुनु होइन। यो मस्तिष्कको भावनात्मक प्रशोधन गर्ने तरिकासँग सम्बन्धित छ। यदि कसैलाई यस्तो समस्या छ भने विशेषज्ञको सल्लाह, थेरापी (जस्तै CBT) र कहिलेकाहीँ औषधिको माध्यमबाट यसलाई व्यवस्थापन गर्न सकिन्छ।
***
रिजेक्सन सेन्सेटिभ डिस्फोरिया (RSD) भएका व्यक्तिहरू भावनात्मक रूपमा निकै 'सफ्ट' र अरूको प्रतिक्रियाप्रति अतिसंवेदनशील हुने भएकाले, स्वार्थी वा चतुर व्यक्तिहरूले उनीहरूबाट विभिन्न तरिकाले फाइदा उठाउन सक्छन्। यो विशेषगरी कार्यक्षेत्र, परिवार वा प्रेम सम्बन्धमा बढी देखिन्छ। RSD भएका व्यक्तिहरूबाट अरूले फाइदा उठाउने जोखिम उच्च हुन्छ। तपाइँले पनि कसैका लागि सामान्य आग्रह वा आशयका एक संकेतमै  झट्टै कसैलाई केही फाइदा दिएर पछि सोच्नुभएको छ, की मैले यो किन गरेछु? त्यस्ता अनुभव छन् भने मान्छेले यसरी उठाउन सक्छन् फाइदा, सतर्क हुनुस्। 
  • 'पिपुल प्लिजिङ' (People Pleasing) को फाइदा : RSD भएका व्यक्तिहरू कसैलाई 'नाईं' भन्न डराउँछन्। उनीहरूलाई लाग्छ कि यदि मैले नाइँ भनेँ भने अर्को व्यक्ति रिसाउँछ वा मलाई मन पराउन छोड्छ। अरूले आफ्नो भागको काम पनि उनीहरूलाई थोपरिदिन्छन्। उनीहरू कार्यक्षेत्रमा कामका बोझ हुन्छन् तर विरोध गर्न सक्दैनन्।
  • इमोसनल ब्ल्याकमेल : चतुर व्यक्तिहरूले RSD भएका व्यक्तिको 'अस्विकार हुने डर' लाई बुझेका हुन्छन्। 'तिमीले मेरो लागि यति पनि नगर्ने? मैले त तिमीलाई कस्तो ठानेको थिएँ' जस्ता वाक्यहरू प्रयोग गरेर उनीहरूलाई दोषी (Guilt-trip) महसुस गराइन्छ र आफ्नो स्वार्थ पूरा गरिन्छ।
  • आलोचनाको डर देखाएर : RSD भएकाहरू सानो आलोचनाबाट पनि नराम्ररी भत्किन्छन्। नियन्त्रण गर्न चाहने व्यक्तिले उनीहरूलाई 'तिमी त झुर छौ,' 'तिमीले केही जान्दैनौ' भनेर बारम्बार होच्याइरहन्छन्। यसले गर्दा RSD भएका व्यक्तिहरू आफ्नो आत्मविश्वास गुमाउँछन् र ती व्यक्तिको नियन्त्रणमा बस्न बाध्य हुन्छन्।
  • सित्तैमा बढी मिहिनेत गराउनु : उनीहरू 'पर्फेक्सनिस्ट' हुन खोज्छन् ताकि कसैले खोट लगाउन नपाओस्। म्यानेजर वा साथीहरूले उनीहरूको यो स्वभावको फाइदा उठाउँदै थोरै प्रशंसाको लोभ देखाएर वा सानो गल्ती औंल्याइदिएर उनीहरूबाट सित्तैमा ओभरटाइम र मिहिनेत गराउँछन्।
  • सम्बन्धमा असमानता : प्रेम वा मित्रतामा RSD भएको व्यक्तिले सधैं आफूलाई तल राखेर सम्बन्ध जोगाउन खोज्छ। अर्को पक्षले कुनै जिम्मेवारी वहन नगरी सबै सुविधा लिइरहन्छ, किनकि उसलाई थाहा छ कि RSD भएको व्यक्तिले कहिल्यै सम्बन्ध तोड्ने हिम्मत गर्दैन।
RSD भएका व्यक्तिहरू अक्सर निकै सिर्जनशील, दयालु र समानुभूति राख्ने हुन्छन्। तर, उनीहरूको यो संवेदनशीलतालाई कमजोरी ठानेर कसैले 'Manipulate' नगर्नु नै स्वस्थ सामाजिक व्यवहार हो। समाज त यस्ता व्यक्ति खोजी खोजी आफ्नो काम निकाल्न मतलब राख्छ, त्यसैले यसबारे जानकार हुँदा नै फाइदा छ। संवेदनशील व्यक्तिलाई ठगिनबाट जोगाउन परिवार र साथीभाइले मद्दत गर्न सजिलो हुन्छ।
***
आफूमा RSD छ वा छैन भनेर जाँच्नको लागि कुनै रगत परीक्षण वा स्क्यानको विधि छैन, किनकि यो एउटा भावनात्मक र मनोवैज्ञानिक अवस्था हो। तर, मनोवैज्ञानिकहरूले यसलाई ठम्याउन केही 'सेल्फ-असेसमेन्ट' प्रश्नहरू र व्यवहारिक ढाँचाहरू विकास गरेका छन्। तपाईंले आफूलाई यी आधारहरूमा जाँच्न सक्नुहुन्छ:

१. यी प्रश्नहरू आफैंलाई सोध्नुहोस्। यदि अधिकांश प्रश्नहरूको उत्तर 'हो' आउँछ भने, तपाईंमा RSD को लक्षण हुन सक्छ।
  • के मलाई कसैले सानो आलोचना गर्दा पनि शारीरिक रूपमा चोट लागेको वा छाती भारी भएको महसुस हुन्छ?
  • के म कुनै नयाँ काम सुरु गर्न डराउँछु किनभने मलाई असफल हुने वा मान्छेले गिज्याउने डर लाग्छ?
  • के म अरूलाई खुसी पार्न आफ्नो इच्छा नमारेरै काम गर्छु (People Pleasing), ताकि उनीहरू मदेखि नरिसाउन? 
  • के म कहिलेकाहीँ सानो कुरामा पनि एक्कासि धेरै रिसाउँछु वा रुन्छु, जुन पछि सोच्दा "अलि बढी नै भएछ" जस्तो लाग्छ?
  • के म कुनै सामाजिक जमघटमा कसैले मलाई वास्ता गरेन भने 'मलाई सबैले घृणा गर्छन्' भन्ने निष्कर्षमा पुग्छु?
२. भावनात्मक प्रतिक्रियाको तीव्रता (Intensity Check) : सामान्य चित्त दुखाइ र RSD बीचको मुख्य फरक 'तीव्रता' हो।
  • सामान्य अवस्था: कसैले नराम्रो भन्यो भने केही बेर रिस उठ्छ वा नराम्रो लाग्छ, तर केही घण्टामा मान्छे सामान्य काममा फर्कन सक्छ।
  • RSD अवस्था: त्यो एउटा वाक्यले गर्दा व्यक्ति कैयौँ दिनसम्म डिप्रेसनमा जान सक्छ, निद्रा हराउँछ र उसले आफ्नो अस्तित्वकै अपमान भएको महसुस गर्छ।
३. 'पर्फेक्सनिज्म' को मोह ः के तपाईं कुनै पनि काम गर्दा 'यो १००% सही हुनुपर्छ, नत्र म कसैलाई मुख देखाउन सक्दिनँ' भन्ने सोचले ग्रस्त हुनुहुन्छ? यदि गल्ती हुने डरले तपाईं काम नै पन्छाउनुहुन्छ (Procrastination) भने यो RSD को एउटा प्रमुख संकेत हो।

४. रक्षात्मक व्यवहार (Defensive Wall) ः के तपाईं कसैले केही सिकाउन खोज्दा पनि त्यसलाई 'आक्रमण' ठानेर तुरुन्तै झर्किनुहुन्छ वा स्पष्टीकरण दिन थाल्नुहुन्छ? यसलाई 'इमोसनल फ्लडिङ' भनिन्छ, जहाँ मस्तिष्कले सूचनालाई होइन, केवल डरलाई मात्र प्रशोधन गर्छ।

कसरी अगाडि बढ्ने? यदि तपाईंलाई आफूमा यी लक्षणहरू छन् जस्तो लाग्छ भने यसो गर्न सकिन्छ -
  • दैनिकी लेख्ने : कुन घटनाले तपाईंलाई कस्तो महसुस गरायो, त्यो लेख्नुहोस्। लेख्ने बानी गर्नुस्। यसले तपाईंलाई आफ्नो 'ट्रिगर' चिन्न मद्दत गर्छ।
  • तथ्य र भावनाको फरक बुझ्ने: 'उसले मलाई हेप्यो' (भावना) र 'उसले मलाई हेरेर हाँसेन' (तथ्य) बीचको फरक छुट्याउन अभ्यास गर्नुहोस्।
  • ९० सेकेन्डको नियम : कुनै पनि भावनात्मक आवेगको जैविक आयु ९० सेकेन्ड मात्र हुन्छ, त्यसपछि रहने पीडा हाम्रो सोचाइले गर्दा हुने हो। नहतारिनु उत्तम उपाय हो, झट्टै प्रतिक्रिया नदिनु, सोचेर प्रतिक्रिया जनाउनुले धेरै समस्याको निदान सहज बनाउँछ। 
  • विशेषज्ञको परामर्श: यदि यसले तपाईंको दैनिक जीवन, काम र सम्बन्धमा गम्भीर असर पारिरहेको छ भने मनोवैज्ञानिक वा काउन्सिलरसँग कुरा गर्नु नै सबैभन्दा राम्रो उपाय हो।
विशेष गरी यदि तपाईंमा ADHD को इतिहास छ भने, RSD हुने सम्भावना उच्च रहन्छ। RSD कुनै कमजोरी होइन, तर भावनात्मक प्रतिक्रिया अत्यधिक तीव्र हुने अवस्था हो। यसलाई बुझेर र व्यवस्थापन गरेर व्यक्ति स्वस्थ सम्बन्ध र आत्मविश्वास दुवै सुधार गर्न सक्छ। ADHD का विषयमा हामी छुट्टै चर्चा गरौंला। अहिलेलाई यति बुझ्नुस् ADHD (Attention-Deficit/Hyperactivity Disorder) अर्थात् ध्यानाकर्षणमा कमी र अत्यधिक सक्रियतासम्बन्धी विकार एक प्रकारको न्यूरो-डेभलपमेन्टल अवस्था हो। यो प्रायः बाल्यकालमा सुरु हुन्छ र धेरै व्यक्तिहरूमा वयस्क अवस्थासम्म पनि रहन सक्छ। ADHD भएका व्यक्तिहरूको मस्तिष्कले सूचनाहरू प्रशोधन गर्ने र आवेग (impulse) नियन्त्रण गर्ने तरिका अन्य व्यक्तिहरूको भन्दा केही फरक हुन्छ। ध्यानाकर्षणमा कमी, अत्यधिक सक्रियता, आवेग अनियन्त्रित हुने यसका केही खास लक्षण हुन्।
ADHD को अवस्थामा व्यक्तिलाई कुनै एक काममा लामो समयसम्म केन्द्रित हुन गाह्रो हुन्छ। यसका संकेतहरूमा साना-तिना विवरणहरूमा ध्यान नदिनु वा असावधानीले गल्ती गर्नु, कसैले बोल्दा ध्यान दिएर नसुनेको जस्तो देखिनु, निर्देशनहरू पालना गर्न वा योजनाबद्ध कामहरू पूरा गर्न कठिनाइ हुनु र सामानहरू बारम्बार हराउनु (जस्तै: साँचो, मोबाइल, वा कापी-कलम) आदि हो।
ADHD भएको व्यक्ति एक ठाउँमा शान्त भएर बस्न सक्दैन। बसिरहेको बेला पनि हातगोडा चलाइरहने वा छटपटाइरहने गर्छ। शान्त भएर गरिने क्रियाकलापमा सहभागी हुन गाह्रो मान्ने हुन्छ। धेरै बोल्ने वा सधैं केही न केही गरिरहनुपर्ने छटपटिने खालको हुन्छ। बिना सोचविचार तुरुन्तै प्रतिक्रिया जनाउनु यसको मुख्य विशेषता हो। अरूको कुरा काट्नु वा प्रश्न नसकिँदै उत्तर दिनु, आफ्नो पालो पर्खन नसक्नु र नतिजाको विचार नगरी जोखिमपूर्ण काम गर्नुका लक्षणले पनि चिन्न सकिन्छ। तर, यो बौद्धिक कमजोरी होइन। ADHD भएका व्यक्तिहरू निकै सृजनशील र तीक्ष्ण बुद्धिका हुन सक्छन्। उनीहरूलाई केवल काम गर्ने तरिका र वातावरण फरक आवश्यक पर्छ।यसको यकिन कारण थाहा नभए पनि यो वंशाणुगत, मस्तिष्कको बनावट, वा वातावरणीय प्रभावका कारण हुन सक्ने मानिन्छ। यसलाई पूर्ण रूपमा निको पार्ने भन्दा पनि थेरापी (Counseling), व्यवहार परिवर्तनका उपायहरू, र आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा औषधिको प्रयोगले राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ।
विशेष गरी यदि तपाईंमा ADHD को इतिहास छ भने, RSD हुने सम्भावना उच्च रहन्छ। लु आउनुस् त्यस्ता अवस्थामा के गर्ने ? तथ्य कि भावना? जाँच गर्नुस्। 

अभ्यास : जब कसैले तपाईंको म्यासेजको रिप्लाई दिँदैन, मनमा दुईवटा विचारका लागि ठाउँ बनाउनुस्।

  • तथ्य : उसले म्यासेज हेरेको छैन वा जवाफ दिएको छैन।

  • भावना (RSD) : उसले मलाई बेवास्ता गर्‍यो, ऊ मदेखि रिसायो।

निष्कर्ष : भावनालाई तथ्य मान्ने गल्ती नगर्नुस्। हामीले तथ्यको पक्ष लिनुपर्छ। उसले कुनै बेला म्यासेज हेर्ला, आवश्यक ठाने जवाफ देला, आतुरी गर्नुपर्ने केही छैन। कतिपटक हामीलाई अनौठो वा ठूलो लागेका विषय अरुका लागि सामान्य हुन सक्छन्। त्यसबेला हामीले अपेक्षित प्रतिक्रिया पाउँदैनौं। हिजोआज मानिसहरु कसैलाई कल घण्टी पुरै जाउन्जेल पनि उताबाट फोन रिसिभ भएन वा म्यासेजको रिप्लाइ आएन भने गुनासो गरिरहेका हुन्छन्।  जसलाई तपाइँले कल गर्नुभयो त्यो मान्छे मोबाइल चार्जमा राखेर अर्थोक केही गरिरहेको हुनसक्छ, उ कतै फोन उठाएर कुरा गर्न नमिल्ने ठाउँमा हुनसक्छ। मोबाइल साइलेन्ट मोडमा रहेकाले थाहा नपाएको पनि हुनसक्छ। किन बित्थै आत्तिनु ?  

***
ADHDRSD को क्षेत्रमा विश्वका अग्रणी विशेषज्ञ मानिएका मनोचिकित्सक डा. विलियम डड्सनले नै आधुनिक सन्दर्भमा 'RSD' शब्दलाई लोकप्रिय बनाएका हुन्। उनले सन् २०१६ तिर आफ्नो अध्ययनमा  उल्लेख गरे, यो अवस्था विशेषगरी ADHD भएका व्यक्तिहरूमा बढी देखिन्छ। उनले नै पहिचान गरे कि ADHD भएका व्यक्तिहरूमध्ये करिब ९९ प्रतिशतले अस्वीकार वा आलोचनाप्रति चरम भावनात्मक पीडा महसुस गर्छन्, जुन सामान्य मानिसको तुलनामा निकै फरक र तीव्र हुन्छ। उनले यसलाई 'स्नायु प्रणालीको एउटा तीव्र प्रतिक्रिया' को रूपमा व्याख्या गरेका छन्, जहाँ मस्तिष्कले भावनात्मक संवेगलाई नियन्त्रण गर्न सक्दैन। RSD कुनै 'एटिच्युड' को समस्या होइन। यो मस्तिष्कको Prefrontal Cortex (तर्क गर्ने भाग) र Amygdala (भावना नियन्त्रण गर्ने भाग) बीचको सञ्चारमा आउने अवरोध हो।

उनले स्पष्ट पारेका छन् कि RSD भएका व्यक्तिहरू या त सधैं अरूलाई खुसी पार्न खोज्छन् वा आलोचनाको डरले नयाँ प्रयास गर्नै छोडिदिन्छन्। RSD को पीडा यति तीव्र हुन्छ कि यसलाई केवल 'काउन्सिलिङ' वा कुराकानी (Talk Therapy) ले मात्र नियन्त्रण गर्न गाह्रो हुन सक्छ। त्यसैले उनले कहिलेकाहीँ विशेष औषधीय उपचारको आवश्यकता पर्ने तर्क पनि राख्छन्। 

ADHDRSD को क्षेत्रमा काम गर्ने अस्ट्रेलियन मनोचिकित्सक डा. केरेन ओभरटनले यसलाई 'आलोचनाप्रतिको अतिसंवेदनशीलता' भन्दै व्याख्या गरेकी छन्। उनका अनुसार, RSD भएका व्यक्तिहरू अक्सर 'पिपुल प्लिजर' (अरूलाई खुसी पार्न मरिमेट्ने) हुन्छन् ताकि उनीहरूले कसैबाट पनि 'नाईं' सुन्नु नपरोस्। उनले यो कसरी ADHD भएका व्यक्तिहरूको दैनिक जीवन र सम्बन्धमा बाधा बन्छ भन्ने स्पष्ट पारेकी छन्।

No comments: