झिसमिसे साँझको समय। कोठाभित्र मधुरो नीलो प्रकाश छ। यो उज्यालो बत्तीको होइन, समिरको हातमा रहेको स्मार्टफोनको हो। उसले भर्खरै एउटा ‘सेल्फी’ पोस्ट गरेको छ, जसमा ऊ खुसी देखिन्छ। उक्त फोटोसँगै उसले लेखेको छ - ‘इन्जोइङ द इभिनिङ’।
केही मिनेटमै मोबाइलको स्क्रिन नोटिफिकेसनले भरिन्छ। कसैले ‘लभ’ रियाक्ट गर्छन्, कसैले ‘क्युट’ लेख्छन् त कसैले ‘ओहो ! कति रमाइलो’ भन्दै कमेन्ट गर्छन्। एकै घण्टामा उसको पोस्टमा पाँच सयभन्दा बढी लाइक पुग्छ। यो हेर्दा लाग्छ, समिर धेरै साथीभाइ भएको र रुचाइएको व्यक्ति हो।
तर यथार्थ फरक छ। मोबाइलको स्क्रिनभन्दा केही इन्च बाहिर समिरको आँखामा एउटा गहिरो शून्यता छ। त्यो कोठामा ऊ नितान्त एक्लो छ। उसका हजारौं डिजिटल साथीहरूमध्ये कसैलाई पनि थाहा छैन कि उसले आज साँझ खाना खायो/खाएन, वा ऊ कुन मानसिक छटपटीबाट गुज्रिरहेको छ। उसलाई मनका कुरा सुनाउन मन छ, तर फोनको ‘कन्ट्याक्ट लिस्ट’मा भएका सयौँ नामहरूमध्ये यस्तो कुनै छैन, जसलाई निर्धक्क फोन गरेर भन्न सकोस् - 'मलाई आज निकै एक्लो महसुस भइरहेको छ।'
समिरको यो अवस्था आजको पुस्ताको साझा कथा बनेको छ। हामी हजारौं फलोअर्सको भर्चुअल भीडमा छौँ, तर यो भीडभित्रको एक्लोपनाले हामीलाई बिस्तारै भित्रभित्रै पीर पारेको छ। प्रविधिले हामीलाई कनेक्टेड त बनायो, तर वास्तविक सामीप्यता भने कतै हरायो।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा सोसल स्टडीज अफ साइन्स एण्ड टेक्नोलोजीकी प्राध्यापक एवम् क्लिनिकल मनोवैज्ञानिक सेरी टर्कलले सन् २०११ मा अनुसन्धानमार्फत एउटा गम्भीर तथ्य अघि सारिन्। 'हामी सँगै छौँ, तर एक्लै छौँ,' उनी भन्छिन्, 'हामी प्रविधिबाट धेरै र एक-अर्काबाट थोरै अपेक्षा गर्न थालेका छौं।'
उनका अनुसार प्रविधिले हामीलाई मानिसहरूबाट टाढा राखेर पनि 'सम्पर्कमा छौं' भन्ने भ्रम दिन्छ। हामी वास्तविक संवादको जोखिम मोल्न चाहँदैनौँ, बरु 'डिजिटल सम्पादन' गरिएका सन्देशहरूमा रमाउन थालेका छौँ, जसले गर्दा हाम्रो आत्मीयता र संवेगहरू साँघुरिँदै गएका छन्।
***
टाढा जानु पर्दैन। समस्या बुझ्न समीरजस्ता पात्रको कथा पनि खोज्नु पर्दैन। एउटा कोठामा परिवारका चार सदस्य सँगै छन्। तर, सबैका आँखा आ-आफ्नै मोबाइल स्क्रिनमा गाडिएका छन्। बाहिरबाट हेर्दा हामी प्रविधिमार्फत संसारभरका मानिससँग जोडिएका छौं। फेसबुक, इन्स्टाग्राम र टिकटकमा हाम्रा 'फलोअर्स'को संख्या हजारौं होला, तर विडम्बना मनभित्रको शून्यता हटाउन एउटा भरपर्दो काँध भेट्टाउन मुस्किल छ। हामी कनेक्टेड त छौं, तर एक्लो पनि छौं।
यो 'भर्चुअल' दुनियाँले हामीलाई एउटा यस्तो भ्रममा बाँधिदिएको छ, जहाँ 'लाइक'को संख्याले हाम्रो आत्मसम्मान तय गर्छ र 'भ्युज'ले हाम्रो खुसी। स्क्रिनमा देखिने चहकिलो संसार र अरूको सुखी जीवनको देखावटी प्रस्तुतिले हामीभित्र बिस्तारै 'हीनताबोध'को विष घोलिरहेको छ। हजारौं डिजिटल मित्रहरूको भीडमा हराइरहँदा हामीले बिर्सिरहेका छौँ कि, साँचो सामीप्यता इमोजीका रंगिन संकेतहरूमा होइन, मानिसको आँखामा झल्किने संवेदना र प्रत्यक्ष संवादको न्यानोपनमा हुन्छ। हातमा सिंगो संसार बोकेर पनि मनभित्र शून्यता बोकेको आभाष नै २१ औँ शताब्दीको सबैभन्दा ठूलो मनोवैज्ञानिक चुनौती बनेको छ।
हामी जति धेरैसँग जोडिएका छौं, त्यति नै एक्लो महसुस गरिरहेका छौं। सामाजिक सञ्जालमा 'साथी' र 'फलोअर्स'को संख्या बढे पनि मनको कुरा सुनिदिने मान्छेको अभाव खड्किनु नै आधुनिक समयको सबैभन्दा ठूलो विरोधाभास हो।
१. सम्पर्क छ, संवाद छैन
हामी दिनभरि अरूका पोस्टहरूमा लाइक र कमेन्ट गर्छौँ, तर त्यो केवल सतही सम्पर्क मात्र हो। वास्तविक संवादमा हुने आँखाको सम्पर्क (Eye Contact), आवाजको उतारचढाव र स्पर्शको अभावले गर्दा हजारौँ अनलाइन 'रियाक्सन'ले पनि मानिसको भित्री रित्तोपन भर्न सक्दैन। एकफेर सम्झनुस्, तपाइँको फ्रेण्ड लिस्टमा भएका कतिजनाले संवाद गर्छन्, कति जनाले हालखबर सोध्न च्याट गर्छन्? तपाइँ अनलाइन हुनुहुन्छ भन्ने हरियो संकेतका बाबजुद सोध्ने कोही छैनन्।
२. तुलनाको पासो र हीनताबोध
मनोविज्ञानका अनुसार मानिसहरू सामाजिक सञ्जालमा आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट क्षण (Highlighted moments) मात्र पोस्ट गर्छन्। अरूको चमकधमकपूर्ण फोटो देख्दा प्रयोगकर्तामा 'मेरो जीवन मात्र किन यस्तो निरस छ?' भन्ने भावना पैदा हुन्छ। यो सामाजिक तुलनाले गर्दा मानिस आफूलाई अरूभन्दा एक्लो र असफल महसुस गर्न थाल्छ।
३. हाइलाइट रिलविरुद्ध वास्तविक जीवन
हामी अरूको 'हाइलाइट रिल' (उत्कृष्ट दृश्य) सँग आफ्नो 'बिहाइन्ड द सिन्स' (पछाडिका संघर्ष) तुलना गर्छौं। कसैले जिम गरेको, विदेश घुमेको वा महँगो रेस्टुरेन्टमा खाएको तस्बिर राख्दा, कोठामा एक्लै बसेर त्यो हेरिरहेको व्यक्तिमा 'फोमो' (FOMO - Fear of Missing Out) अर्थात् केही कुरा छुटिरहेको छ भन्ने डरले मानसिक तनाव निम्त्याउँछ।
४. डोपामाइनको चक्र र क्षणिक सन्तुष्टि
पोस्टमा आउने प्रत्येक 'लाइक' र 'हार्ट'ले मस्तिष्कमा डोपामाइन नामक रसायन पैदा गर्छ, जसले केही बेरका लागि खुसी दिन्छ। तर यो सन्तुष्टि क्षणिक हुन्छ। जब मोबाइलको स्क्रिन बन्द हुन्छ, त्यो भर्चुअल भीड हराउँछ र वास्तविक संसारको सुनसानपन अझ बढी बिझाउन थाल्छ।
५. सामाजिक सीपमा ह्रास
लगातार स्क्रिनमा झुम्मिनाले मानिसको वास्तविक सामाजिक सीप (Social Skills) कमजोर हुँदै गएको छ। मानिसहरू अब आमनेसामने बसेर कुरा गर्न अप्ठ्यारो मान्छन् तर च्याटमा घण्टौँ बिताउँछन्। यसले गर्दा गहिरो र अर्थपूर्ण मानवीय सम्बन्धहरू बन्न छाडेका छन्।
तपाइँ सम्झनुस् पछिल्लोपल्ट कुन जमातसँग चिया गफमा बस्नुभयो? भेला भेघाट घट्छन्। चिया पिउने बहानामा पनि सन्ने सम्बन्धको बाटो छेकिन्छ।
के गर्ने ?
एक्लोपनबाट बच्न प्रविधिलाई त्याग्नु पर्दैन, तर यसको प्रयोगमा सन्तुलन आवश्यक छ। बाहिर निस्केर हेर्नुस्। भेला भेटघाटमा जानुस्। कुरा मिल्ने साथीभाइसँग चियाको बहानामा केहीबेर भेटघाटको समय मिलाउनुस्। चिया पिउन भेला हुने भनेको मात्रै चियाका लागि हुन्न। छलफल, संवादले हामीलाई एक्लो हुन दिँदैन।
डिजिटल डिटक्स: दिनको निश्चित समय मोबाइलबाट टाढा रहने। एउटा भेलामा बस्दा तपाइँ आफूलाई विचार गर्नुस्- कतिपटक विनाकारण मोबाइल झिक्नुहुन्छ, हेर्नुहुन्छ? यो बानी घटाउनुस्। आवश्यक नपरेसम्म त्यो ग्याजेटसँग सन्तुलित दुरी बनाउनुस्।
गुणस्तरीय समय: परिवार र साथीभाइसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने। साताको एक दिन सँगै खाना खाने वा चिया भेटघाट गर्ने। साथीभाइकहाँ जाने, आफूकहाँ उनीहरुलाई बोलाउने।
सचेत प्रयोग: सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र हो, यो वास्तविक जीवनको मापन होइन भन्ने बुझ्ने। कामका प्रकृतिअनुसार मान्छेलाई सामाजिक सञ्जाल सहयोगी पनि छ। यसलाई आफूले चलाउनु पर्छ, सामाजिम सञ्जालले जब हामीलाई चलाउन थाल्छ, हामी अर्कै हुन्छौं। सचेत प्रयोगले लाभ दिन्छ। चित्त शुद्ध राख्छ।
***
भर्चुअल दुनियाँको विरोधाभासपूर्ण एक्लोपनलाई बुझ्न केही मनोवैज्ञानिक सिद्धान्तहरूले मद्दत गर्छन्:
१. लियोन फेस्टिन्जरको 'सामाजिक तुलना सिद्धान्त' (Social Comparison Theory):
सन् १९५४ मा मनोवैज्ञानिक लियोन फेस्टिन्जरले प्रतिपादन गरेको यो सिद्धान्तले भन्छ— मानिसले आफ्नो योग्यता र स्थितिको मूल्याङ्कन अरूसँग तुलना गरेर गर्छ। सामाजिक सञ्जालमा हामी अरूको 'सर्वश्रेष्ठ' पक्षसँग आफ्नो 'सामान्य' पक्ष तुलना गर्छौँ। यसले गर्दा हामीमा 'तुलनात्मक हीनताबोध' पैदा हुन्छ, जसले हजारौँ फलोअर्सका बीचमा पनि आफूलाई एक्लो र कमजोर महसुस गराउँछ।
२. डुनबारको संख्या (Dunbar’s Number):
मानवशास्त्री रोबिन डुनबारले सन् १९९० को दशकमा एउटा सिद्धान्त प्रस्तुत गरे, जस अनुसार एउटा मानिसले अधिकतम १५० जनासँग मात्र अर्थपूर्ण सामाजिक सम्बन्ध कायम राख्न सक्छ। जब हाम्रा फलोअर्स हजारौँ हुन्छन्, हाम्रो मस्तिष्कले ती सबैलाई 'आफ्नो' भनेर चिन्न सक्दैन। फलस्वरूप, ती हजारौँ नामहरू केवल तथ्याङ्क मात्र बन्छन्, भावनात्मक सहारा बन्न सक्दैनन्।
३. डोपामाइन र 'स्किनर बक्स' प्रभाव:
बी.एफ. स्किनरको व्यवहारवादी सिद्धान्तलाई आजका एपहरूले प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जालमा आउने 'लाइक' र 'नोटिफिकेसन'ले हाम्रो मस्तिष्कमा डोपामाइन (Dopamine) को झड्का दिन्छ। मनोवैज्ञानिकहरूका अनुसार यो एक किसिमको लत हो। जब हामीलाई अनलाइनमा सोचेजस्तो प्रतिक्रिया मिल्दैन, हामी सामाजिक रूपमा तिरस्कृत भएको महसुस गर्छौँ, जसले अन्ततः गहिरो एक्लोपन र चिन्ता (Anxiety) तर्फ धकेल्छ।
किन यस्तो भइरहेको छ?
मनोवैज्ञानिकहरूका अनुसार मानिस स्वभावैले सामाजिक प्राणी हो, जसलाई बाँच्नका लागि जैविक र भावनात्मक सामीप्यता चाहिन्छ। तर, भर्चुअल दुनियाँले "सम्पर्क" (Connection) त दियो तर "सामीप्यता" (Intimacy) खोस्यो। हामी स्क्रिनमा मान्छे होइन, केवल पिक्सेल र अक्षरहरू हेरिरहेका छौँ, जसले हाम्रो सामाजिक भोक मेट्न सक्दैन।
***
सामाजिक सञ्जाल र एक्लोपनबीचको सम्बन्धबारे हालसालैका अनुसन्धानहरूले एउटा असहज सत्य देखाएका छन्। हामी एक्लोपनबाट भाग्न खोज्दै जाँदा त्यही बाटोले हामीलाई अझ गहिरो एक्लोपनतिर धकेलिरहेको छ। २०२४ मा प्रकाशित एक दीर्घकालीन अध्ययनले देखायो कि एक्लोपन महसुस गर्ने व्यक्तिहरू सामाजिक सञ्जालमा बढी समय बिताउँछन्, तर त्यो बढ्दो प्रयोगले एक्लोपन झन् बढाएको अनुभँ गराउँछ। यसलाई मनोवैज्ञानिकहरूले 'फिडब्याक लूप' अर्थात् दुष्चक्र भन्छन्, जहाँ समस्या समाधान खोज्दा नै समस्या पुनः बलियो बन्छ।
अर्कोतर्फ, केवल स्क्रोल गर्ने र पोस्ट गरेर सक्रिय रहने दुवै व्यवहारले अपेक्षित राहत नदिने देखिएको छ। लामो समयको अध्ययनहरूले संकेत गर्छन् कि समस्या प्रयोगको प्रकारमा होइन, सम्बन्धको गुणस्तरमा छ। हजारौँ ‘लाइक’ र ‘कमेन्ट’ले क्षणिक सन्तुष्टि त दिन सक्छ, तर त्यो सन्तुष्टि चाँडै हराउँछ, र त्यसपछि आउने खालीपन अझ गहिरो महसुस हुन्छ।
रोचक कुरा के छ भने, दैनिक ३० मिनेटमा सामाजिक सञ्जाल सीमित गर्दा नै चिन्ता, हीनताबोध र एक्लोपनमा उल्लेखनीय कमी आएको पाइएको छ। यसले देखाउँछ, समाधान पूर्ण बहिष्कार होइन, सचेत सन्तुलन हो। साथै, ‘फोमो’ (केही छुटिरहेको छ भन्ने डर) लाई एक्लोपनको प्रमुख इन्धन मानिएको छ। जब हामी अरूको जीवनको ‘हाइलाइट रिल’ मात्र देख्छौँ, हाम्रो आफ्नै जीवन अपूर्ण जस्तो लाग्न थाल्छ।
न्युरो-मनोवैज्ञानिक दृष्टिले हेर्दा, दीर्घकालीन एक्लोपनले हाम्रो मस्तिष्कको सामाजिक संकेत बुझ्ने तरिका नै बदल्न सक्छ। हामी झन् बढी असुरक्षित, संवेदनशील र टाढा हुने प्रवृत्तितर्फ झुक्छौँ। अन्ततः, अनुसन्धानहरूले एउटै निष्कर्षमा औंला ठड्याउँछन्, डिजिटल सम्पर्कले ‘कनेक्ट’ त गर्छ, तर मानवीय सामीप्यको आवश्यकता पूरा गर्न सक्दैन। त्यसका लागि अझै पनि प्रत्यक्ष संवाद, स्पर्श र उपस्थिति नै अपरिहार्य छन्।

No comments:
Post a Comment