Monday, September 9, 2019

Fishing Cat - माछा सिकारी

मान्छेको सम्पर्कबाट टाढै बस्ने यो जन्तु राति राति सिकारका लागि निस्कन्छ । यसका वास रहेका क्षेत्र र आनीबानीका विषय विस्तृत अध्ययन हुनै बाँकी छ ।  



खोला किनार वा जलाशय छेउको बसाइँका बेला माछा खान मन लाग्यो । जाल थाप्ने साधन वा बल्छी छैन भने चिन्ता लिनै पर्दैन । एउटा टर्चलाइट र छुरी/खुकुरी वा कुनै प्रकारको तिखो घोचो खोजे पुग्छ । बेलुकी माछा किनार किनार आएका हुन्छन् । टर्च बाल्दै पक्रन सकिन्छ । यो प्राकृतिक तरिकामा मान्छेभन्दा बढि अभ्यस्त विरालो प्रजातिको एउटा जन्तु छ - फिसिङ क्याट अर्थात् मलाहा विरालो ।  
सप्तकोसी नदिको पूर्वी तटबन्ध छेउ राजावासदेखि हरिपुर कटानसम्म करीब चार सयवटा माछापोखरी छन् । सातवटा नदि मिलेर बनेको सप्तकोसीले नेपालभन्दा भारतमा विहारको भूभागलाई वर्षायाममा धेरै दुःख दिन्छ । विहारको यो दुःख निदानका लागि चार वर्ष लगाएर बनाइएको ब्यारेज सन् १९६२ देखि हालसम्म सञ्चालनमै छ । कोसीमा पश्चिम क्षेत्र सप्तरीका तुलनामा तमोर आएर मिसिने चतरादेखि हरिपुरसम्म नै पूर्वी क्षेत्रमा तटबन्ध छ । पश्चिम कुसाहामा जहाँ कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालय छ, पुगेर घुम्नु परे टेक्ने पहिलो बाटो कोसीको बाँध नै हो ।
बाँध पारि बस्ती र सिमसार क्षेत्रमा कोसीको पानी रसाएर आउने भएकाले वर्षैभरि सुक्ने अवस्था छैन । सिमसार भेटेका किसानले बाँध नजिक खेतीपाती गर्नुको साटो माछापालन उपयुक्त भन्ने बुझेपछि गरेका छन् । तर, पोखरीमा भुरा हालेर लगानी र परिश्रमका तुलनामा फाइदा पाएनन् । डेढ दसकअघिसम्म पनि उक्त क्षेत्रका किसानले आफ्ना पोखरीका माछा कम हुनुको दोष चरालाई मात्रै दिइरहेका हुन्थे । पोखरीका माछा खाने जीव अरु पनि छन् भन्ने बुझ्न निकै समय लाग्यो । 
०००   
'फरक फरक पोखरीमा सात थरिका माछा हाल्यो, कमन र गास कार्प त हुँदै नहुने,' सुनसरीको वराह-९ प्रकाशपुरका भिष्म अधिकारी भन्छन्, 'सुरु सुरुमा चराले हाम्रो माछा ढुट्यायो भनेर भनेर झुल हाल्थ्यौं, अनेक उपाय लाउ“थ्यौं । खाइदिने जन्तु अर्को पनि रहेछ ।' केही दिनसम्म पोखरी आसपास ठूलो साउण्ड पारेर एफएम रेडियो खोलेर छाडिदिने उपाय पनि गरिहेर्दा काम नलागेपछि विरालो मार्न थालेको उनले बताए । 
'मैले नै २०/२२ वटा विरालो मारे हुँला । तर, त्यो दुर्लभ प्रजाति भन्ने के थाहा ?,' उनी भन्छन्, 'त्यो दुर्लभ हो, मार्न हुन्न भनेर बुझाउनेहरू आएयता मार्न छाडियो ।' माछापालकले विरालोलाई मात्रै दोष दिएर पनि ढुक्क बस्ने अवस्था नभएको उनले बताए । 'हामी चरालाई पनि छेकबार लाउन पाउने अवस्थामा छैनौं,' उनले भने, 'वन्यजन्तु र चराले गर्ने नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था नभएसम्म आरक्ष जोगाइदिन पर्छ भन्ने जनतालाई लाग्दैन ।' अधिकारीले माछा खाइदिएर हुने क्षतिमा मलाहा विरालोको दोष देखाएपनि माछापालकपिच्छे मत फरक पनि छन् । ठूलो जमातले चील, बकुल्ला र विभिन्न प्रजातिका पानीचराले माछा खाइदिने बताउँछन् । 
चरा र वन्यजन्तु संरक्षणबारे चेतनामुलक कार्यक्रम लिएर टप्पु पुग्ने संस्थाहरूका विकासे कार्यकर्ताको साझा अनुभव जनता आसे भए भन्ने छ । जुनसुकै वन्यजन्तु संरक्षणका कार्यक्रम लिएर पुगेकाले स्थानीयको सामना गर्ने पहिलो प्रश्न हुन्छ - त्यो जोगिएर हामीले के पाउँछौं ?
०००   
केही फरक विषयमा शोध गर्न रुचि राखेका प्राणीशास्त्रका विद्यार्थी सागर दाहालले जब सन् २००९ मा बम्बइ नेचुरल हिस्ट्री म्युजियमको एउटा जर्नल किनेर ल्याए । त्यसमा आफ्ना लागि अध्ययनको एउटा विषय फेला पारे - विषय थियो फिसिङ क्याट अर्थात मलाहा विरालो ।
घरपालुवा विरालो देखेका/पालेकाहरूका लागि यो नौलो लाग्ने विषय थिएन । तर, उक्त जर्नलमा सन् १९२१ मा मोरङको वंकलवामा एउटा भाले मलाहा विरालो भेटिएको उल्लेख थियो । 'त्योबेला सुनसरी र मोरङ एउटै जिल्ला रहेछ र, यो झण्डै सय वर्षअघिको कुरा थियो,' दाहाल भन्छन्, 'अब पनि त्यसको अस्तित्व होला/नहोला भन्दै खोजी गर्ने योजना बनाइयो ।' मान्छेका बस्ती छेउका सिमसार क्षेत्रमा रमाउने त्यो जन्तुको फोटो र सा‌केतिक पहिचानबिनै बंकलवा भनिने ठाउँको खोजी सुरु भयो । त्यो क्षेत्रमा दुइ महिना बसेपछि सप्तकोसीको पूर्वी तटबन्ध नजिकका बस्ती, खोला, रामधुनी जंगल छिचोकेको दाहालको टोलीले मलाहा विरालो 'क्यामेरा ट्रयाप' मा फेला पार्‍यो । 'हामीले सुनसरी र बारा गरि दुइ जिल्लाका विभिन्न ठाउँलाई सम्भावित मानेर अध्ययन गर्‍यौं, क्यामेरा ट्रयापमा भेटिएपछि अझै पाइने रहेछ भन्ने पुष्टि भयो,' उनले भने, 'जंगली भएपनि केही पशुपंछी मान्छेका वस्ती वरपर नै बस्न रुचाउँछन्, त्यसमध्येको एउटा फिसिङ क्याट हो ।' 
आइयूसीएनको सूचीमा लोपोन्मुख प्रजातिमा परेको उक्त विरालोका बारेमा यतिबेला दाहाल नेपालभित्रै मात्र होइन अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अवस्था प्रष्ट्याउन सहभागिता जनाइरहेका छन् । 'ठूला आकारका वन्यजन्तुका लागि संसारभरका संरक्षणकर्मी र संस्थाको ध्यान पुगेको छ, सानामा छैन,' उनी भन्छन्, 'त्यसैले यो विरालोमाथि पनि ध्यान पुग्न ढिला भएको स्थिति थियो ।' तेजाव पुन र स्वेच्छा श्रेष्ठसहित दाहालको टोलीले रामधुनी वन क्षेत्रको दक्षिण र कोसीको पूर्वी भेगमा पुगेर उक्त विरालोबारे अध्ययनमात्रै गरेन, त्यहाँका किसानलाई वन्यजन्तुबाट जोगाउने कुखुराको सुरक्षित खोर बनाउन सहयोग पनि गर्‍यो । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनका अध्यक्षसमेत रहेका दाहाल भन्छन् 'हामीले बाराका तुलनामा कोसीमा मलाहा विरालोको गतिविधि बढि भेटेका हौं तर, यसको अनुसन्धान देशको अझै १७ ठाउँमा गर्न सकिने पहिल्याएका छौं ।' मान्छेका घरमा नबस्ने तर, बस्ती र आवादी क्षेत्रकै वरिपरि बस्न रुचाउने यो जन्तुका विषयमा अझै अध्ययन हुन बाँकी रहेको उनले बताए ।  
०००
शोधार्थीहरूका अनुसार संसारभर पाइएका विरालो प्रजातिका ४० जन्तुमध्ये हामीले 'विरालो' नै भन्ने जन्तु नेपालमा नौवटा रहेको रेकर्ड छन् । घरपालुवा विरालोभन्दा आकारमा दोब्बर ठूलो हुने मलाहा विरालो दक्षिण पूर्वी एशियामा मात्रै पाइएका छन् । यो जन्तु नेपालसँगै बंगलादेश, कम्बोडिया, भारत, भियतनाम, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका र थाइल्यान्डमा  पाइन्छ। संरक्षणका लागि सम्बद्ध मुलुकका संरक्षणकर्मीको सञ्जाल पनि छ । 
लोपोन्मुखको सूचीमा रहेका गैंडा र हिउँचितुवाजस्तै अवस्था मलाहा विरालोको पनि छ। तर, सानो जन्तु भएकाले संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निकायको ध्यान यसमा पुगेको छैन । सन् २०११ मा हिउँचितुवा ३ सयदेखि ५ सय र गैंडा ४३५ वटा भएको 'द स्टेटस अफ नेपाल्स म्यामल्सः द नेसनल रेड लिष्ट सिरिज' मा छ। नेपालमा उक्त बिरालो २०११ ताका १ सय ५० देखि २ सयवटा भएको अनुमान गरिएको भएपनि विस्तृत अध्ययन नै भएको छैन । बस्ती बिस्तारको तीव्रताले जंगल मासिएका छन्, धाप र सिमसार पुरिने क्रम पनि अचाक्ली छ । मान्छेसँग प्रत्यक्ष घम्साघम्सी हुनबाट आफूलाई जोगाएर बाँचेका मलाहा विरालोजस्ता जन्तु सधैं संकटमा छन् । 
०००
मलाहाले माछापोखरीमा पुर्‍याउने क्षति वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा समेटिएको छैन । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरबाट हुने मानवीय, पशुधन वा भण्डारण गरेको अन्नबाली, घरगोठ र उखु र केराखेती पुर्‍याएको नोक्सानीलाई निर्देशिकाले वन्यजन्तुबाट हुने क्षतिमा समेटेको छ।
नेपालमा यो जन्तु सन् १८३६ मै पाइएको जर्नलहरूमा उल्लेख भएपनि सन् २०१६ पछिमात्रै चर्चा हुन थालेको पाइएका छन् । 'जर्नल अफ थ्रेटेन्ड ट्याक्सा' मा भेटिने लेखमा लेन रोथी टेलर, हेमसागर बराल, प्रभा पाण्डे र प्रतिभा कसपालले सन् २०११ देखि चार वर्ष कोसीटप्पुमा गरिएको अध्ययनले मलाहा विरालो पाइएको उल्लेख छ । उक्त विरालो टप्पुको माछा प्रशस्त पाइने ६ किमि क्षेत्र वरिपरि पाइएका जर्नलमा छ । 
'फर्स्ट फोटोग्राफिक इभिडेन्स अफ फिसिङ क्याट इन पर्सा नेसनल पार्क, नेपाल' शीर्षकको १३ जना मिलेर तयार पारेको अनुसन्धानात्मक लेखमा सन् २०१४ र २०१६ मा पर्सा निकुञ्ज क्षेत्रमा पनि मलाहा पाइएको उल्लेख छ । उक्त असन्धानका क्रममा त्यो जन्तुको क्यामेरा ट्रयापबाट खिचिएको तस्बिर पर्सा राष्ट्रिय निकुञ्जमा देख्न पाइन्छ । उक्त समुहका शोधार्थीमध्येका बाबुराम लामिछाने भन्छन् 'त्यो क्यामेरा ट्रयाप खासमा बाघको अवस्था अनुगमन गर्नका लागि राखिएको थियो । रेकर्ड हेर्दै जाँदा फिसिङ क्याट पनि परेको भेटियो ।' राति खिचिएको फोटो हेरेपछि त्यो विरालो आहाराको खोजीमा कतै जाँदै गरेको हुनुपर्ने अवस्था बुझिएको उनले बताए । 'सामान्यतः हामी त्यो विरालो सिमसार र पानी रहेको एरियामै भेटिन्छ भनिरहेका थियौं तर, त्यो खोलाको करीब ५ किमि पर्तिर क्यामेरामा परेको थियो,' उनले भने, 'त्यो फोटोले पर्सामा फिसिङ क्याट पाइने प्रमाणितमात्रै नगरी अध्ययनमा रुचि राख्नेलाई पनि सघायो ।' क्यामेरा ट्रयापमा नपरुञ्जेल मलाहा विरालो पर्सामा पनि पाइन्छ भन्ने जानकारी बाहिर नआएको उनले बताए । 
०००
टाढाबाट बाघ वा चितुवाजस्तो भान पर्ने मलाहा विरालो आकारमा भने केही सानो हुन्छ । प्रष्ट खुट्याउन नसक्नेहरू यसलाई सानो चितुवा भन्ठान्छन् । यसको टाउकोदेखि पुच्छरतर्फखेरौ पृष्ठभूमिमा झन्डै समानान्तर रूपमा ६ देखि ८ वटासम्म काला थोप्ला लहरै हुन्छन् । ७ किलोसम्मको हुने यो जन्तु १ फिट अग्लो र ८० सेमीसम्म लामो हुन्छ। रातिमात्रै सक्रिय हुने यो प्राणी घर विरालो भन्दा भुँडी ठूलो भएको र अलि आलसी हुन्छ । दिउँसो सिमसार नजिकका झाडीहरूमा बस्छ। मलाहाका ढाडेले एकभन्दा बढी पोथीसँग स‌ंसर्ग गर्छ । पोथीले करीब १० हप्तामा दुइदेखि चारवटासम्म बच्चा जन्माउँछे । जन्मेको दुइ सातादेखि आँखा खुल्ने छाउरा-छाउरी १० महिनाको भएपछि माउबाट छुट्टिन्छन् । पोथी करीब ६ किमि क्षेत्रभित्र घुम्छन् भने भाले २२ किमि क्षेत्रसम्म घुम्छन् । मुख्य आहारा माछा भएपनि मलाहा विरालोहरू मुसा, भ्यागुता, गँगटा, शंखेकीरा, र्सप र चराको पनि सिकार गर्छन् । 
मलाहा विरालोलाई नै मुल विषय बनाएर विद्यावारिधि गर्ने तयारीमा रहेकी चितवनकी रमा मिश्र भन्छिन् 'कतिपय माछापालकले त्यो विरालो पर्यावरणीय संतुलनका हिसाबले हाम्रो सहयोगी भनेर बल्ल बुझ्दैछन् ।' राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन फरक परियोजनाअर्न्तर्गत उक्त विरालोका बारेकै अध्ययनको सिलसिलामा कोसी टप्पु पनि पुगेकी उनले समुदाय विस्तारै सकारात्मक हुँदै आएको पाइएको बताइन ।
'मलाहा विरालोले खाने माछा एक पाउदेखि आधा किलोको मात्रै हुन्छ, त्योभन्दा सानो वा ठूलो त्यसले अँठ्याउन सक्दैन,' उनी भन्छिन्, 'भुरा खायो, १/२ किलोकै खायो भन्नेहरू पनि भेटिन्छन् तर, त्यसको पुष्टिको आधार छैन ।' पोखरी आसपासको क्षेत्रमा धान वा गहुँ खेती हुन्छ । त्यहाँ पाइने मुसा मलाहाले सिकार गर्दा किसानलाई नजानि“दो पाराले सहयोग गरिरहेको हुने उनले बताइन । 'टप्पुमा बाघ र चितुवा पाइँदैन, संरक्षण प्रभावकारी हुन सके त्यही विरालो देखाएर पनि घुम्न आउनेलाई हामीकहाँ पाइने सिकारी जन्तु यही हो भन्न सकिन्छ,' उनी भन्छिन्, 'मैले चितवनको जंगल क्षेत्र र कोसीको बस्ती क्षेत्रमा अध्ययन गर्दा कोसीमा त्यसको संख्या राम्रो छ भन्न सक्छु ।' हतपत्त मान्छेका अगाडि नपर्ने, लजालु र आफ्नो ज्यान जोगाउन बाठो भएपनि ठूला सिकारी जनावर भएको क्षेत्रमा मलाहा विरालोले आफ्नो अस्तित्व जोगाइराख्न सहज नभएको उनले बताइन । 
सन् २०१० यता नेपाली शोधार्थीहरूको ध्यान मलाहा विरालोमा रहिआएको अनुसन्धानका जर्नलहरूले देखाउँछन् । खास खास क्षेत्र छनोट गरेर अरु नै विषयको अध्ययन गर्दा मलाहाले ध्यान खिचेका शोधार्थी थुप्रैजना छन् ।  संरक्षितको सूचीमा नपरेको यो जन्तु वन विरालो र चरिबाघ भन्दा फरक श्रेणीको होइन । त्यसैले संरक्षण हुनसके यसका विचरण हुने क्षेत्रमा वन्यजन्तुमाथि अध्ययनमा रुचि राख्नेका लागि पर्यटनको अर्को आधार पनि तयार हुनेछ । हालसम्म सीमित क्षेत्रमा भएका अध्ययनले यो जन्तु हामीकहाँ निकै कम संख्यामा रहेको अनुमान गरिएको छ । त्यसैले यो दुर्लभ हो । तर, सरकारलाई उक्त जन्तु संरक्षित सूचीमा राख्ने आवश्यकता बोध भइसकेको छैन । संरक्षितको सूचीमा परेको लेपर्ड क्याट (चरी बाघ) को अवस्था मलाहाको भन्दा राम्रो छ । छिमेकी देश भारतमा बाघ संरक्षणको हैसियतमै मलाहा पनि छ । मलाहालाई पश्चिम बंगालमा 'स्टेट एनिमल' को दर्जामा राखिएको छ ।

(२१ भदौ २०७६ मा कान्तिपुर, कोसेलीमा प्रकाशित)

1 comment:

सुबोध घिमिरे said...

मज्जा लाग्यो । अनावश्यक राजनितिक बिषयले गिजोलिएको आलेख भन्दा भिन्नै स्वाद र प्राणिजगतको महत्व सम्बन्धि रहेछ । एक हप्ता अघि कोशी ब्यारेज बाट ८०० मिटर पर मैले देखेको थिए सडक पार गर्दै थियो । कन्कालिनी मन्दिर पुग्न लाग्दा हो क्यार । ड्राईभरदाईले उ त्यो सानो चितुवा भनेर देखाउनु भएको हो । एउटा कुरा दाजु, पर्यावरणीय सन्तुलनमा यस्को भुमिका हुन्छ अवश्य नै हो तर कसरी? बुझ्न मन लाग्यो ।