Monday, December 22, 2014

कमल पासवान (पौरखी पात्र -१)


नाम - कमल पासवान
उमेर - ६५ वर्ष
ठेगाना - सीतागञ्ज, सुनसरी 
यिनीसँग आज केहीबेर अघि विराटनगर बसपार्कमा भेट भएको हो । भेट त के भनौ, यिनी आफूजस्तै काम गर्नेसँग जिस्कँदै थिए । सेतै दाह्री मन परेर फोटो खिच्न मन लाग्यो । बोलाएँ । एक-दुइ स्न्याप खिचेँ । क्यामेराले खिच्दैछ भन्ने थाहा पाएर मान्छेको ध्यान लेन्समै तानिएका पोज आफैंलाई चित्त बुझेन । छुट्ने बेलामा उनले भने 'बुढा मान्छेलाई चिया खाने पैसा दिनुस्न ।' दिएँ । उनी बसपार्कमा अडिएका बसतर्फ लागेपछि खिचेको स्न्याप यो माथिको हो ।
सुनसरीको सीतागञ्जको दूरि विराटनगरबाट करिब १८/१९ किलोमिटर हो । यिनी बिहान खाना खाएर आउने रहेछन् । दिउँसो यात्रुका भारी बोक्ने काम गर्दै करिब ४ बजे घर फिर्ने दैनिकी रहेछ । काम गर्दा जिन्दगी रमाइलो लाग्ने यिनले बताए । धेर कुरा हुन पाएन । कारण - मलाइ नि हतार थियो । 
यि कुनै नाम चलेका पात्र होइनन् । न कुनै सञ्चारमाध्यमको नजरमा परेका हुन् । भेटियो । संक्षिप्त कुरा गरियो । यो उमेरमा पनि गरिखाने यिनको जोश रमाइलो लाग्यो । हामी स-साना कुरामा छिटै हतास हुन्छौ । सबथोक सकिएर जिन्दगीमा रहरका मार्ग बन्द भए झैं अनुभव गर्छौं, त्यस्ताबेला यिनी जसरी यस्तो उमेरमा पनि एकनासको दैनिकी बाँचेकाहरूलाई सम्झनु राम्रै होला भन्ने मलाइ लाग्यो । त्यसैले यो ब्लगमा शेयर गरें । अब यिनी जसरी गरिखाने पौरखी भेटिँदा यसरी नै ब्लगमा समेट्छु भन्ने लागेको छ ।  

Saturday, December 20, 2014

मनेको माया

जहाँ यो फोटो राख्न मन लाग्यो, त्यो सेक्सनको नाम 'तस्बिरभन्दा पछाडि' छ । तर, यो फोटोका पछाडि त्यस्तो केही छैन जसलाई म बयान गरौं । बाटामा भेटियो, खिचियो, हिँडियो । 
मलाइ आज पुरानो एक्स्टर्नल हार्ड-ड्राइभ खोतल्ने काम थ्यो । यसमा आँखा अडिए । २०६४ मंसिरताका खोटाङ यात्राको मौका मिलेको थियो । त्यो यात्रामा क्यामेराको सटर धेरै खियाइयो । यो फोटो सम्भवतः जालपामा खिचेको हो । मैले यसको तिथि-मिति हेरें । २०६४ मंसिर १९ बुधबार (१२ डिसेम्बर २००७) देखायो ।
नानीहरू जेका पनि राम्रा । त्यसमाथि तिनका गतिविधि सधैं मनमोहक हुन्छन् ।  यो यस्तै आयो । ;)

Wednesday, December 10, 2014

रमितेखोला सम्झना

मोरङका ७ गाविस पुरै पहाडी भूगोलमा छन् । विराटनगरको भू-भाग हेरेर ती गाविसका बारे अनुमान पनि अप्ठेरो छ । २०६४ बैशाख दोस्रो साता रमितेखोला गाविस यात्राका फोटामाथि आज ध्यान गयो । त्यो यात्रा जिल्लाका घुमघाम योग्य ठाउँका बारेमा खोजीका लागि थियो । 
त्यसबेला याङशिला, पाटीगाउँ, सिंहदेवी, वारांगी, भोगटेनी, टाँडी र रमितेखोलालाई दुई साता लगाएर घुमिएको थियो । साह्रै धेर लेख्ने र लेखनयोग्य कथा टिप्ने बानी पनि परिसकेको थिएन । कति घरमा वास मागेर बसियो । मास्तिर होटल नपाइने, होम-स्टेबारे जानेकाहरू नहुने । फेरि फेरि यस्तो यात्राको रहर लागे पनि समय त्यस्तो जुरेको छैन । 
साथीहरू संजोग लुइटेल र वालकृष्ण पाण्डेसँगका ती यात्रामा धेरै फोटा खिचिएको थियो । केही सीडी खुल्दै नखुल्ने भैसकेछन् । पुराना फोटा जतन गरि राख्न पनि त अप्ठेरै छ । 

रमितेको जौबारी पाँचथरको लिम्बाबाट नजिक पर्छ । यहाँ बाह्रैमास चिसो भइरहने रहेछ । इयर-फोन लाएर एफएम सुन्दै आलु गोड्दै गरेकी यी चेलिले भन्थिन् 'यहाँ २१ वटा एफएम टिप्छ । फेरि फेरि सुन्न पाइन्छ ।' कता कताका स्टेशन होलान् त्यो सोधिएन । तर, शैली रमाइलो लागेको थियो । 

गाउँलेको खान्की सत्कार कति रमाइलो । अलि मास्तिर उक्लेपछि गाउँलेका घरमा काँसकै थाल प्रयोग गरेको देखिने । दाल पिउन र जाँड पिउन उही सिल्वरे डबका । खानाको थाल काँसका । रमितेखोलामा पहाडका बीच खाल्डोजस्तो छ । वर्षैभरि पानी रहन्छ । त्यसलाई चुलीपोखरी भन्छन् । हामी गएका बेला धेरै ठाउँ गाउँले बाटो लैजाने तरखरमा देखिएका थिए । अब त ती भेगमा पनि गाडी आउजाउ गर्दो होला ।  

वास मागेको घरमा त्यो रात केटाहरू टुकीको उज्यालोमा यसरी पढ्दै थिए । अब त त्यो ठाउँमा पनि बिजुली पुग्यो होला । यिनीहरू डेढ घण्टा पैदल दूरिको स्कुल जाँदा रहेछन् । यिनका लागि डेढ घण्टा । हाम्लाई हिड्दा तीन घण्टा । मुलुकलाई पुग्ने गरि बिजुली कहिले हुने होला ? यसको उत्तर जटिल छ । केही साता अघिमात्रै भारतसँग बिजुली सम्झौता गरेको सुनियो । तर, पर्याप्त बिजुली कहिले हुन्न । हामीलाई सानैदेखि पढाइने 'नेपाल जलसम्पदामा संसारकै दोस्रो ठुलो मुलुक' झुट हो । भरपुर उपयोग कहिल्यै हुन सकेन । यसैको परिणाम हामीले खेप्ने लोडसेडिङ हुँदै हो ।