Friday, January 4, 2013

नावालक र नियति


भिभावकलाई केही भइहाले बच्चाहरूको बिजोक हुन्छ । यस्ता घटना देख्न सुन्न नपरोस भन्दाभन्दै पनि नजिकबाट हेर्न र कुरा गर्नै पर्ने बाध्यता आइलाग्छन् । सञ्चारकर्मीका जीवनमा यो स्वभाविक पनि हो । हरेक खबरका पछि कारण हुन्छन् । सधै 'ब्याड न्युज इज गुड न्युज' भन्ने मलाइ लाग्दैन । त्यसैले तटस्थ विषयहरूको खोजी मेरा लागि मनलाग्दा काम हुन् । अधिकांश ब्याड न्युज अखबारका लागि गुड न्युज हुन्छ । तर, लेख्नुको ध्येय समाचार छाप्नु मात्र हुदैन । 
त्यसका कारकहरूको निदान र वर्तमान समस्याको सरल समाधान खोज्न सम्बद्ध सबैको ध्यान जाओस् भन्ने उदेश्य रहन्छ । हिजो विहीवार बन्धु पोखरेल भाइले सप्तरीको महुलीमा मारिएका दम्पतिका छोराछोरी विराटनगरको मधुमारामा ल्याइएको सुनाए । भेट्न जान मन लाग्यो । पुगियो र उनीहरूसँगका कुरा लेखियो । डम्बर र कौशल्या भट्टराइका हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूको अवसानपछि तीन सन्तानको भविष्य अन्यौलमा छ । सानो केटो बडो मजाले बोल्दो रहेछ । मीठो कुरा गर्दो रहेछ । टाठा केटाकेटी । माया लाग्दा अनुहार । डम्बरका ८६ वर्षीय पिताजी जीवितै रहेछन् । माहिलो दिल्ली जाने भनेर हराएको, कान्छाको छोरा बुहारी नै मारिएको घटनाले उनी शोकमग्न भेटिए । समाचार कान्तिपुरले आज ५ नम्बर पानामा छापेको छ । यो यस्तो छ .....

'गरिबीले छोरा-बुहारीको ज्यान गयो'

विराटनगर, पुस २० - तीन अबोधका त्रसित आँखाहरूमा आँसु सुकिसकेको छैन । तैपनि कर्म चलाउनैपर्ने संस्कार । कुशको जनै लगाइदिई १३ वर्षका जेठा छोरा दीपेशलाई किरियामा राखिएको छ ।
आमा-बुवालाई कोसी किनारमा सेलाइएपछि बडाबुवाको गौशालामा ल्याइएका ११ वर्षीया दीपिका र सात वर्षका दीपेश अझै स्कुले पोसाकमै छन् । गत सोमबार राति सप्तरीको महुली खोला किनारमा पर्ने जन्डौल ८ मा अज्ञात समूहले डम्बर भट्टराई र पत्नी कौशल्याको हत्या गरेको थियो । घटनापछि उनीहरूका तीन सन्तान विराटनगरको मधुमारा बस्ने बडीबुवा भक्तिप्रसाद भट्टराईले आफूकहाँ ल्याएका छन् । भक्तिप्रसाद र डम्बर दाजुभाइका छोरा हुन् । 'घटना भैगो । ठूलो छोरोको व्रतबन्ध पनि भएको थिएन,' भक्तिप्रसादले भने, 'कुशको जनै बनाएर विधि गरी किरियामा बसाएका छौं ।'
बालबालिकाको भविष्यको चिन्ता पनि थपिएको छ । घटनापछि महुली खोला किनारको बस्तीका चार घर विस्थापित भएको र दोषी पत्ता लगाउन माग भइरहेको समाचार आइरहँदा भक्तिप्रसादलाई 'नानीहरू एउटा-एउटा पढाइदिने,' आश्वासनका फोन कलहरू आइरहेका थिए । उनी मधुमारामा करिब दर्जन गाई पालेर दूध र मल बेच्ने गौशाला चलाउँछन् । अहिले नाबालकहरूको अस्थायी बास गौशालाकै एउटा कोठामा भएको छ । घटनाको रातका बारेमा बताउँदै अबोधहरू भावुक हुन्छन् । स्थानीय नहरको पक्की पाले घरसँगै डम्बरको घर थियो । त्यो रात छोराछोरीलाई पाले घरमा सुताएर भट्टराई दम्पती गोठमा सुतेका थिए । 'गाई बाछा चोरले लगिदेला भनेर गोठमा सुत्नुभएको थियो,' दीपेशले भने, 'एक हूल मान्छे आए । हाम्रो आँगनमा बलेको बत्ती फुटाए । हामी सुतेको कोठाको चुकुल बाहिरबाट लगाइदिए ।' उनीहरूले समात्दा भाग्न खोजेका डम्बरलाई कुट्दै आँगनमा लछारपछार पारे । 'गुहार' भन्दै चिच्याउन थालेकी कौशल्याको घाँटीमा गम्छा बेरेर लडाए । 'बत्ती फुटाएपछि बाहिर अँध्यारो थियो, तैपनि दुलोबाट भाइ र मैले चिहायौं,' उनले भने, 'उल्टा बाँध उल्टा भनेको सुनेँ ।' दुवैको हत्यापछि अबोधहरू भएको कोठाको चुकुल खोलिदिएर हत्याराको समूह हिँडेको थियो । अबोधहरू धेरै बेर त्रासले बाहिर निस्कन सकेनन् ।
भट्टराई परिवारमाथिको यो दोस्रो आक्रमण थियो । दुई वर्षअघि लुटेराको एउटा समूहले दुवैलाई आक्रमण गरी मोबाइल र नगद लुटी लगेका थिए । जाँदाजाँदै उनीहरूले 'फेरि आउँछौं' भन्दै गएका थिए । त्यस बेला डम्बरको अनुहार र कौशल्याको हातमा गहिरो चोट लागेको थियो । भक्तिसँगै रहेका डम्बरका ८६ वषर्ीय पिता पशुपति भट्टराई भन्छन्, 'यो गरिबीले गरेको हत्या हो । गरिबलाई जहाँ गए पनि सुख छैन ।' उनका अनुसार खोटाङको बतासेबाट झरेर झापाको दमक पुगेको परिवारमा जग्गा अधिग्रहणले गरिबीको रेखा कोर्‍यो । पाँच दशकअघि हिमालयन टी स्टेट बनाउन तत्कालीन अञ्चलाधीशले 'पछि मुआब्जा दिलाइदिने' भन्दै १३ बिघा जमिन अधिग्रहणमा पारेर विस्थापित गराए । 'हामीले जमिन पाएनौं, बसाइँ हिँड्दै छोराहरू कता कता पुगे । जेठो काठमाडौं लागे । माहिला 'काम गर्न दिल्ली जान्छु' भनेर हिँडेपछि फर्किएनन् । कान्छा डम्बर सप्तरीको जन्डौलमा जंगल छेउ बस्न पुगे,' पशुपतिले भने । वृद्धावस्थामा नातिनातिनाको बिजोक असह्य भइरहेको उनले बताए । डम्बर र कौशल्याको किरियापछि सन्तानको के हुने भन्ने टुंगो छैन । भक्तिप्रसाद भन्छन्, 'आफ्ना रगत हुन् । त्यसै कसैलाई जिम्मा लगाउने कुरा आउँदैन ।'