Monday, August 29, 2011

सवारीमा नेपाली उत्पादनको खोजी

डा. बाबुराम भट्टर्राईले नेपालमै उत्पादित गाडी हुलासको मुस्ताङ क्याक्सलाई आफ्नो हिड्ने साधन बनाउने खबर त्यसबेला थाहा भयो, जब कम्प्युटर अफ गरेर अफिसबाट घर जाने सुरमा थिएँ । आइतवार बेलुकी करीव साँढे आठ बजे । साथीहरू सबै हिडिसकेका थिए । मेरो बीट अर्थवाणिज्य होइन, यद्यपि डेस्कबाट फोन आएपछि सामान्य समाचार तयार पार्न पछि हट्ने कुरा पनि भएन ।
मुस्ताङ म्याक्स र कारखानाबारेको समाचार बनाउनुपर्ने भयो । सञ्चालक सुरेन्द्र गोल्छाको मोबाइलमा फोन गर्दा गोल्छा अर्गनाइजेशन निवासको एक्सटेन्सन लाइनमा पुग्यो । व्यस्तको संकेत सुनियो । निकै प्रयासपछि पनि उनको नेपाल टेलिकमको नम्बरबाट सम्पर्क हुन सकेन । त्यही नम्बर पनि उद्योग संगठनका कार्यकारी सचिव सोम अधिकारीबाट लिएको थिए । अर्को नम्बरका लागि गोल्छाद्वारा सञ्चालित कारखाना रघुपति जुट मिलमा कार्यरत मेरा मामा मोहनचन्द्र घिमिरेबाट सम्भव भयो । पछिल्लोपटक पाइएको नम्बरबाट पनि सम्पर्क भएन । फेरि पहिलो नम्बर ट्राइ गरियो । यसपटक एक्सटेन्सन अपरेटर भेटिए । उनले भने 'यति राती तपाइलाई उहाले चिन्नु हुन्छ र ।' मैले परिचय दिए अनि प्रयास गरिदिन अनुरोध गरें । केहीबेर होल्डमा बसेपछि सम्पर्क भयो । उनीबाट उनका इन्जिनियर प्रफुल दासको पनि नम्बर पाइयो । यी दुइसगको कुराकानीपछि समाचार तयार पार्न सहज भयो । छापिएको समाचार तल छ । 
सोमबार कारखाना पुगियो । इन्जिनियर दासले गुनासो गरे 'प्रधानमन्त्री नचटेका भए मिडियाले हाम्रो खबरै नलिने रहेछ । हामी कति समस्याबाट गुज्रेका छौ त्यो पनि कुनैबेला आएर सोधिदिनुस् ।' कारखानामा करीव आधा दर्जन गाडी अहिले बनिरहेका रहेछन् । सियो पनि नबन्ने मुलुकमा गाडी । पत्याउन सहज छैन । तर, सबैजसो सवारी सधान हामीले राम्ररी हेरे ब्राण्ड नेम जे भएपनि पाटपुर्जा छुट्टाछुट्टै कम्पनीले बनाएका भेटिन्छन् । कम्प्युटर नै खोलेर हेरे त्यसका बेग्लाबेग्लै सामान बेग्लाबेग्लै कम्पनीले उत्पादन गरेर एउटाले जोडजाड गरि ब्राण्ड नेम ठोकेको भेटिनु अस्वभाविक छैन । गाडी यस्तै रहेछ । 
केही सामान भारतीय कम्पनीबाट , केही चिनिया र केही स्थानीयस्तरमै उत्पादित भेला पारेर जोडेपछि गाडी बनेको रहेछ । जे भएपनि यहा बनेको मानिनु सुखद नै हो । दासका भनाइमा च्यासिज, सीट, बडी, सीसालगायतका सामान नेपालमै बनेका हुन् । 
मुस्ताङ जीपका बारेमा इन्जिनियर दासले खुलेर बताए । यो ६० भन्दा बढि स्पीड कुदाउनका लागि होइन । पहाडी र असजिला बाटाका लागि हो । २५४० सीसी/डिजेल इन्जिन । जति सुविधा चाहिने हो, थप्दै गए दरभाउ घटबढ हुन्छ । १४ लाखदेखि सुरू भएर बढिमा २० लाखसम्म दाम पर्छ । भारतबाट आउने बोलेरो जीप बराबर शक्तिशाली मान्छन् उत्पादक । 
सञ्चारमाध्यमले अबका केही दिन हुलास मुस्ताङ गाडीका विषयमा समाचार खोज्नेछन् । किनभने प्रधानमन्त्रीले सपश लिन यही सवारी बनाए । झण्डा राखियो । गाडी सेलिब्रिटी बन्यो । विराटनगरमा प्रहरीको पर्ूव क्षेत्रीय कार्यालयबाट केही उत्तर हनुमान जुटप्रेस अगाडि यसको कारखाना छ । पुरानो गोदामजस्तो । कारखानामा सोमबारदेखि अर्को छलफल सुरू भएको भेटियो । अहिले प्रधानमन्त्रीलाई दिइएको गाडी प्यासेन्जर भेहिकल मापदण्डको हो । अर्को दिने । सुविधा थपेर । के के थप्ने । सीट सजिलो बनाउने । तातो-चिसो हुने वातानुकुलित बनाउने । अनि चाहिने जसरी दिन सकिने सबै सुविधा राखेर डेढ महिनाभित्र अर्को दिने । अनि दिन अघि के के चाहिने हो कसलाई सोध्ने । यस्तै छलफल सुनियो । 
सोमबार छापिएको समाचार यस्तो थियो 

कस्तो हो मुस्ताङ जिप ?


विराटनगर- डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको यहाँको १७ नम्बर वडास्थित हुलास मोटर्स कम्पनीमा इन्जिनियर प्रफुल दास आइतबार निकै हषिर्त थिए । कारण थियो, नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वदेशमै उत्पादित गाडी हुलास मुस्ताङ चढ्ने चाहना ।
आइतबार सदनमा निर्वाचन भइरहँदा दास कारखानामा उत्पादन भइरहेका गाडीमध्ये प्रधानमन्त्रीका लागि उपयुक्त हुने के-के सुविधा थप्न सकिन्छ भन्दै योजना गरिरहेका थिए । डा. भट्टराईले मुस्ताङ म्याकस चढ्ने खबर कारखानाभरि सबैले थाहा पाए । हर्ष बाँडे ।
'हामीले अहिले उहाँलाई दिएको डमी गाडी हो,' इन्जिनियर दास भन्छन्, 'बढीमा डेढ महिनाभित्र हामी उहाँलाई मुस्ताङ म्याक्स अत्याधुनिक गाडी उपलब्ध गराउँछौं ।' उनका अनुसार २५४० सीसीको डिजेल इन्जिन उक्त गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी छ । मुस्ताङदेखि ताप्लेजुङ र संखुवासभासम्म टेस्ट ड्राइभमा आफैं गएर क्षमता वृद्धिका लागि काम गरेका दास भन्छन्, 'यो बाहिरबाट आयात भइरहेका लग्जरीयस गाडीभन्दा सस्तो, कम खर्चिलो र सर्भिसिङको धेरै झन्झट नपर्ने खालको छ ।'
मुलुककै एकमात्र स्वदेशी गाडी उत्पादक कारखाना प्रतिस्पर्धाको बजारमा आफ्नै गतिमा छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो । किसानका लागि उपयोगी हुने पावरकार्टबाट उत्पादन थालेको उक्त कम्पनीले असजिलो कर प्रणाली र प्रतिस्पर्धात्मक बजारमा नाक जोगाउनकै लागि काम जारी राखेको महाप्रबन्धक सुरेन्द्र गोल्छा बताउँछन् । भन्छन्, 'हामीले उत्पादन थाल्यौं, कम्पनी नाफामा जान सकेन । तर नाककै लागि पनि उत्पादन रोकेका छैनौं, जारी छ ।'
पछिल्ला एक दशकमा डिजाइनमा गरिएका फेरबदलले हुलास मुस्ताङ म्याक्सम्म आइपुगेको उत्पादन केही राहत दिने खालेको भएको उनले बताए । हुलास मोटर्सले गाडी उत्पादनका लागि केही सामान चीन, केही भारतीय कम्पनी र चेसिजलगायत केही पूर्वाधारका सामान आफैं बनाएर गाडी तयार पार्ने गरेको छ । गोल्छा भन्छन्, 'हाम्रो प्रचार भड्किलो छैन, जसले गाडीको क्षमता बुझ्छन्, उनीहरूले खोज्छन् । हामी बनाएर दिन्छौं ।' उनका अनुसार १४ लाखदेखि सुविधाअनुसार बढीमा २० लाखसम्म पर्ने मुस्ताङ गाडीमा गोरखकालीका टायर प्रयोग गरिएका छन् । सिट र बनोटमा धेरै सामान स्वदेशमै उत्पादन गरिएका उपयोग भएका छन् । 
एउटा लटमा ३/३ दिनको फरक पारेर पाँच गाडी उत्पादन गर्न छिटो गरे ५२ दिन लाग्ने प्राविधिकहरूको भनाइ छ । प्रधानमन्त्रीले नै स्वेदशी गाडी चढ्ने भएपछि उत्पादन प्रवर्द्धनका निकै आशावादी देखिएका गोल्छा भन्छन्, 'धेरै उतारचढाव भोगेर पनि हामीले कारखानालाई बन्द गरेनौं । बरु चाहिने पूर्वाधार थप्दै ल्याएका छौं । नेपाली उत्पादनको दिन फेरिन्छ भन्ने आस लागेको छ ।'  

Sunday, August 21, 2011

फेरिएको रथ


हल्ला थामिएझै हुन्छ । जब माइकमा चर्को आवाज सुनिन्छ 'सावधान !', यो संक्षिप्त विश्रामको संकेत हो ।  पाँच मिनेट बितेको पत्तो हुँदैन, माइक फेरि गर्जन्छ 'सावधान ! गोपाल कृष्ण राधे कृष्ण ।' लावालश्करसँगै शोभायात्रा अघि बढ्छ । 
वर्षेनी कृष्णजन्माष्टमीका भोलीपल्ट विराटनगरमा गरिने राधाकृष्ण शोभायात्राका दिन पण्डित कृष्णप्रसाद गुरागाइँको गला बिग्रनु हुँदैन । माइकमा चर्को सावधानी गरेर रथ रोकिने र पुनः यात्रा अघि बढाउने जिम्मेवारी उनको हो । भन्छन् 'धेरै भयो यसरी काम सम्हालेको । यसमा धपेडी भएपनि अर्कै स्वर्गीय आनन्द पनि छ ।' रथयात्रा उपमहानगरको एकमात्र यस्तो पर्व हो, जसमा रथ हेर्न, डोरी स्पर्श गर्न र यात्राको रमाइलो मान्न उपमहनगरको मुख्य बजार क्षेत्रमा भेला हुनेको संख्या दुइ लाख नाघ्छ । 
पोखरियाबाट निस्कने रथ उपमहानगरको बजार क्षेत्रहुँदै पुनः राधाकृष्ण मन्दिर फर्कदा आठ किलोमिटरको फेरो मार्छ । यो यात्रामा रथ ४२ स्थानमा ५/५ मिनेट अडिन्छ । प्रसाद वितरण हुन्छ । पुजा चाहनेका फूलपाती रथमा चढाइन्छ । सडक र घरका अटालीभरि आँखाहरू दृश्य पच्छ्याउँछन् । 
रथयात्रालाई लामो समयदेखि हेर्दै-सघाउँदै आएका श्याम पौडेल भन्छन् 'भारतको जगन्नाथ पुरीको यात्रापछि विराटनगरको रथयात्रा हामीकहाँ सबैभन्दा धेरै मान्छे भेला हुने जात्रा भन्दा फरक पर्दैन ।' उनका अनुसार यात्राका लागि बिद्युत, टेलिफोन र केबुल टिभीका तार सम्याउनेदेखि भीड व्यवस्थापनका लागि अनुभवी प्रहरी अधिकारीको सहयोग नभइ हुँदैन । उपमहानगरले सडकका खाल्डाखुल्डी पुर्नेमा ध्यान दिन्छ । 'सबैले सहयोग गर्ने भएकै कारण यसले हामी सबै जातजाति र धर्मको साझा यात्राको रूप लिएको छ, उनले भने 'विराटनगरमा योजस्तो यात्रा गर्ने अर्को ठूलो पर्व छैन ।' 
राधाकृष्ण मन्दिरमा विधिपूर्वक पुजापछि राधाकृष्णका मूर्ति रथमा राखिन्छ । अघिअघि विभिन्न प्रकारका झाँकीको एक किलोमिटर लामो लश्कर रहन्छ । मुल रथका पछिपछि सुरक्षाका सवारी रहन्छ । रथको डोरी तान्ने मुख्य जिम्मेवारी धेरैअघिबाट पूर्व क्षेत्र प्रहरी कार्यालयले सम्हाल्दै आएको छ । प्रहरी जवानहरू विशेष पोशाकमा दुइ लहर भएर डोरी तान्छन् । उनीहरूलाई सघाउन सर्वसाधारण अघि सर्छन् । 
सडकमा ठाउँठाउँ यात्राका सहभागी र दर्शनार्थीका लागि सर्बत र पानी वितरण गर्नेको जमात सक्रिय हुन्छ । पोखरियादेखि गोल्छामोड, ट्राफिकचोक र जनआन्दोलन चोकसम्म सडक खाली हुँदैन । यात्राले जब राजमार्ग छुन्छ, त्यसपछिमात्रै सहभागीको लर्कोमा केही पातलिने क्रम सुरू हुन्छ । शोभायात्रामा उपमहानगर भक्ति गीत-संगीतले गुञ्जायमान बन्छ । 
रथयात्रा समारोह समिति प्रवक्ता ओम निरौलाका अनुसार बिस १९८८ मा खट बोकेर घुमाउँदै शोभायात्राको सुरूवात गरिएको थियो । त्यो यात्रा परम्परा बिस २०२५ सालदेखि फेरियो । उनी भन्छन् 'रथ बनाइएपछि यसको स्वरूप नै फरियो, यात्रा नगरका लागि रमाइलो पर्व बन्यो ।'
१८ फीटे रथ बेलाबखत आकार र उचाइमा असजिलो झेल्दै छरितो बन्दै आएको छ । यसपटक रथको पुरै ढाचालाई फलामे बनाइएको छ । हाइड्रोलिक ब्रेक र विद्युत जेनेरेटर बढि आवाज नआउने प्रकारको व्यवस्था गरिएको छ । समारोह सदस्य स्वयम्भुनाथ कार्की भन्छन् 'हामीले योपल्ट सुरक्षित र सजिलो जसरी हुन्छ त्यो गरेका छौ । अब माइकमा गोपाल कृष्ण भन्दा पछाडिबाट जेनेटरको भटटको आवाज आउँदैन ।' पुरानो थलो छाडिगएकाहरूले उपमहानगरलाई सम्झने पर्वमा अग्रणी शोभायात्रा बर्षेनी अनुभवले खारिएको उनको भनाइ छ । दुइ महिना स्थानीय गृल उद्योगमा जिर्णोद्धारपछि फेरिएको रथ सडकमा गुडदा विराटनगरले फेरि फेरि यस्तो यात्रा भइरहोस भन्ने उनलाई लागेको छ । 
नयाँ रथलाई सडकमा ल्याउने परम्पराको सर्जक खट पनि सुरक्षित छ । नयाँ रथका अघिअघि गाडीमा खट रहन्छ । खटका पछि-पछि हिडने शोभायात्राको रथ एक दिन गुडछ, वर्षका ३ सय ६४ दिन हवाइजहाज राख्ने  ह्याङ्गरजस्तो घरमा बस्छ । सोमबार फेरि उपमहानगरमा रथले मानवसागर भेला पार्दैछ । वर्षका एक दिन पुरानो सहर फेरि भक्तिमय संगीत र जय जयको हल्लाभित्र सरोवर हुनेछ । 

Saturday, August 13, 2011

छाडेको घर


विषयहरू खोज्न कुनै कुनै बेला टाढा पुगिरहनु नपर्ने रहेछ । यस्ता धेरै विषयमाथि कलम चलेको देख्छु, जो हाम्रा वरपर छन् तर, हामीले तिनलाई विषय भनेर चिनेनौ । मित्र सुविद गुरागाइँले ' घर शिर्षकको राम्रो प्रस्तुती ' भन्नुभयो । गएको २७ जुन अर्थात् असार १३ गते फेसबुकमा मैले कुथुर्के चरा सुपारीको बुटामा गुडबाट चिहाइरहेको तस्बिर अपलोड गरेको थिए । १५ वटा प्रतिक्रिया पाइयो, ३२ ले 'लाइक' गरे । तिनै प्रतिक्रियामध्ये सुविदजीको कमेन्टले मलाइ यस्तो लेख्न मन लाग्यो । जो कान्तिपुर कोसेलीमा छापियो पनि । 
न्याउली चरा देख्नेले देखेका होलान् । नदेख्नेले गीत र कवितामा त्यो चरो रोएजस्तो आवाज निकाल्छ भनेर सुनेकै हुनुपर्छ । न्याउली बार्बेट परिवारअन्तर्गत पर्छ । र, त्यही परिवारमा पर्ने अर्को चरोको गतिविधिलाई मैले विषय बनाए । 
            म विराटनगर बस्छु । मेरो अफिस कञ्चनवारीनजिक पीपलचोक एरियामा छ । मेरो विषय अफिसको झयालबाट देखिने सुपारीको बुटा वरिपरि घुम्छ । मैले भ्याए र याद भएसम्म सुपारीका बुटा हेरिरहे । अनि दुइ फरक प्रजातिका चराका गतिविधि लेखेर इमेल पठाएपछि पृष्ठ संयोजक साथी यज्ञशजीले चराका सीरीज निरन्तर भएकाले उपयुक्त समयमा प्रकाशित गर्ने भन्नुभएको थियो । तीन सातापछि छापियो । जो यस्तो छ ।

अनि उनीहरू विस्थापित...

दिनभरको थकान मेट्ने थलो । रातभर निद्रा मार्ने र जीवनका गति पच्छ्याउन आश्रय लिने ठाउँ घर हो । परिश्रमले तयार पारेको घर कसैले कब्जा गर्‍यो । बसेकै बेला उसको बलमिच्याइँको प्रतिवाद गर्ने क्षमता भएन । अतिक्रमणकारीका कारण पहिलो छाडियो । दोस्रो आश्रय तयार पारियो । नयाँ आश्रयमा दुई साताभन्दा बढी बितेन । फेरि उही आयो । पस्यो र त्यहाँबाट पनि धपायो । उनीहरू मान्छे थिए भने आफ्नै आकार बराबरको शत्रुको प्रतिवादका उपाय धेरै हुन सक्थे । सके आफैं लड्थे, नसके कानुनको सहारा लिन्थे । न्यायिक निकायमा उजुरी दिन्थे । समाजले पनि पीडितको पक्षमा बोल्थ्यो होला । उनीहरूको समाज बोलेन । प्रकृतिको नियम पच्छ्यायो । एक जोडी ब्लु थ्रोटेट बार्बेट भनिने कुथुर्के चराले डांग्रे रुप्पीको अन्यायको जवाफ दिएनन् । निकै दिन लगाएर चुचाले ठुँगेर बनाएको गुँड उनीहरूले छाडे । बसाइँ गए । 
                                                           ***
 'दाइ, चरा खोज्न कताकता पुग्नुहुन्छ । यहाँ एउटा नयाँ चरा आएर गुँड लगाएको छ । त्यो पनि हेर्नुस्' गत असारको पहिलो साता एक साँझ कान्तिपुर पब्लिकेसन्सको वितरण विभागका गंगाराम भण्डारीले भनेका थिए । उनको कुरामा अरू सहकर्मीले पनि 'पक्का हो' भन्दै सही थापे । अन्य कामको व्यस्तताले केही दिन उनको कुरामा ध्यान दिएर त्यो नौलो चरो हेर्ने मौका जुरेन । फुर्सदको एक दिन हेरियो । अफिसपछाडिको सुकेको सुपारीको बोटमा ठुँगेर बनाइएका दुईवटा प्वाल थिए । टुप्पानजिक मास्तिर डांग्रे रुप्पी देखियो । त्यसको करिब दुई मिटरमुन्तिर कुथुर्के । कडा घाम थियो । गर्मी बढेकाले हुनुपर्छ, दुवै प्वालबाट अलिकति मुन्टो निकालेर बाहिर चिहाउँदै थिए । भित्र निकै गर्मी हुँदो हो । गुँडको ढोका भने पनि झ्याल भने पनि एउटै प्वाल । दुवै छिमेकी सायद हावा खाँदै थिए ।
                                                           ***
 डांग्रे रुप्पी हाम्रा लागि नौला छैनन् । कारण, पहेंला खुट्टा, चुच्चो र गाढा खैरो र थोरै सेतो रंगको प्वाँख हुने यो रैथाने चरो वरिपरि सजिलै देख्न सकिन्छ । नेपाली चराविद्हरूले हालसम्म हामीकहाँ पाइएका १० वटा यसका प्रजातिमध्ये डांग्रेलाई पर्यावरण परिवर्तनमा जीवनशैली त्यसअनुकूल बनाउन सक्ने क्षमता भएको मान्छन् । बस्ती, खेतबारी र यत्रतत्र यसलाई देख्न गाह्रो छैन । कुनै फेसन डिजाइनरले धेरै रंगको संयोजन गरी तयार पारेको कृतिजस्तो कुथुर्के चरो रुप्पीजसरी सजिलै सबैतिर देख्न सकिन्न । बार्बेट परिवारअन्तर्गत पर्ने कुथुर्के नीलो अनुहार, घाँटी, निधार र पृष्ठतालु रातो, तालु वरपर कालोपेटी भएको हुन्छ । चर्को स्वरमा कुथुरकुथुर गर्ने यो चरो समुद्र सतहदेखि १ हजार ५ सय मिटरसम्म धेरै देखिने र बसाइँका लागि २ हजार १ सय मिटरसम्म पुग्ने मानिन्छ । बार्बेट परिवारअन्तर्गत मुलुकमा हालसम्म ७ प्रजाति पाइएको पुस्तकहरूमा उल्लेख छन् । न्याउली चरो पनि यही परिवारअन्तर्गतको मानिन्छ ।
                                                      *** 
असारको दोस्रो सातादेखि अन्तिम हप्तासम्म मेरो दिनचर्या अफिस पुगेर आफ्नो झोला बिसाएपछि दैनिक एकपटक कुथुर्केका गतिविधि हेर्नेमा केन्दि्रत भयो । २४ असार दिउँसो पौने १२ बजे गुँडमा नयाँ दृश्य देखियो । माथिल्लो गुँड कब्जा गर्ने डांग्रे तल्लो गुँडमा पस्यो । कुथुर्केका जोडा थिएन । त्यसले केही खायो । खाँदै चोरले जस्तै बाहिर हेर्दै निकैबेरपछि बाहिरियो । उसले बाहिरिँदा चुच्चोमा कमलो प्वाँख च्यापेको थियो । अनुमान गरियो, उसले कुथुर्केका बचरालाई हमला गरेको थियो । मार्‍यो-मारेन थाहा पाउने अवस्था भएन । कारण, मेरो ३.५ ओपनिङको १३५ एमएम लेन्सले करिब ६० मिटर दूरीको दृश्यलाई चाहेजस्तो राम्ररी नियाल्न सकेन । त्यस दिन कुथुर्के गुँड पसेको देखिएन ।
 त्यसको दुई दिनपछि फेरि कुथुर्के जोडामध्येको एकलाई गुँडमा देखियो । त्यस दिन चुचो बाहिर निकाल्दै आँ गर्दै बाहिर हेर्दै थियो । २९ असारमा सुनसरीको तरहराबाट फोटोपत्रकार साथी यात्रा थुलुङ विराटनगर आए । उनलाई कुथुर्केका बारेमा भनियो । उनले पनि त्यो चरोको तस्बिर लिने चाहना गरे । दुई घन्टा पर्खेर बसियो । कुथुर्केका जोडा देखिएनन् । बरु गुँडबाट मसिना कमिलाका लस्कर ओहोरदोहोर गरेको देखियो । ती पन्छी बसाइ हिँडेछन् । अहिले पनि अफिस आएपिच्छे एकपटक सुपारीको त्यो बोटमा नजर पुग्छ । कुथुर्के देखिँदैनन् । अर्काको गुँड कब्जा गरी मास्तिर डांग्रे रुप्पी भने उस्तैगरी बसेकै छ । बेलाबेला हावा चल्छ । सुकेको सुपारी बुटा ढल्लाढल्लाजस्तो भएको छ । 

शब्द/तस्बिर : भीम घिमिरे
(कान्तिपुर कोसेली /प्रकाशित मिति२०६८ श्रावण २८ )
  

Saturday, August 6, 2011

यसरी बाँच्छन् भूषणजी


धेरैले किताब हैन रहर छपाउँछन् । दुई दर्जन कविता-गजल कोरे संग्रह निकाल्ने सपना । कथा र निबन्ध लेखिहाले त्यसलाई पुस्तकाकार हेर्ने अभिलाषा । साहित्यिक कृति प्रकाशनमा अग्रणी विराटनगरस्थित वाणी प्रकाशनमा कवि कृष्णभूषण बल हैरान छन् । 'पाठकको रहर र रुचि फेरिएका छन्, त्यसलाई चिनेर निकाले पो किताब बिक्छ,' बलको अनुभव बोल्छ, 'धेरैले रहरमात्र छाप्छन्, आफन्तलाई बाँडछन् । अनि किताबको चाङ त्यसै त्यसै थुपि्रन्छ ।' उनको बुझाइमा रंगीन आवरणमा काठमाडौं जे पनि बेच्न सक्छ । समीक्षा छपाउन र पाठक रिझाउन, जिज्ञासु बनाउन र किताबको लागत उठाउने बनाउँछ । भन्छन् 'तर, बाहिर त्यस्तो छैन । चल्तीका किताब निकाल्नेहरू काठमाण्डु पुग्छन्, रहरका लागि निकाल्नेहरू पेनड्राइभमा बोकेर हामीकहाँ आइपुग्छन् ।' 
***
विराटनगरमा स्रष्टा र साहित्यिक गतिविधिमा सामेल भइरहन उत्साहीहरूले ०५२ सालदेखि वाणी प्रकाशन सञ्चालनमा ल्याए । साहित्य खोज्ने र रम्नेका लागि वाणीले धेरै कृति पनि प्रकाशित गर्दै आयो । स्थापनायताका ६ वर्ष किताब छाप्ने रहर गर्दै समय बिताएको वाणीमा अहिले सहकारी छ । सम्बद्ध सबैजसो सदस्य साहित्यका विभिन्न विधामा कलम चलाउनेहरू नै छन् । स्थापनादेखि उपाध्यक्ष र हाल ६ वर्षयता अध्यक्षको जिम्मेवारीमा रहेका बल भन्छन्, 'अहिले सहकारीले पालेको छ । किताब त रहर मात्रै हो ।' वाणी अहिले आफैं किताब छाप्दैन । बिके पो छाप्नु । बिक्ने सामग्री समाविष्ट लेखोट आए पो छाप्नु । बरु रहर गर्ने घटेका छैनन् । आफंै आफ्ना कविता, गजल र कथा भेला पारेर संग्रह निकाल्नेहरू लगानी गर्छन् । वाणीको लोगो उपयोग गरिन्छ । त्यसबापत वाणीले ५ प्रतिशत पुस्तक पाउँछ । र्‍याकमा थन्क्याउँछ ।
***
उमेरका उकालीओरालीमा ६४ वर्ष अनुभवको ठूलो भकारी टन्न हुनुपर्ने समय हो । तर, यी कविका कृतिको सूची लामो छैन । 'धेरै निकालेर के गर्ने ? धेरैले खोज्ने र धेरै बाँच्नेचाहि निकाल्नुपर्छ', बल भन्छन्, 'अहिलेसम्म मेरा तीनवटा मात्र प्रकाशित छन् । फुटकरको एउटा संग्रह निकाल्न सकिन्छ । सोच्दै छु ।' राष्ट्र बैंकमा जागिरे जीवनबाट अवकाश पाएको ११ वर्ष बितेको छ । भन्छन्, 'संग्रहमै छाप्न पाएको छैन तर कुनै बेला मेरो रुटिन कवितामा लेखें यसरी बाँच्छन् भूषणजी ।' 
कार्यालय आउँछन् थचक्क बस्छन् 
उ भित्रको कविलाई निकालेर टेबलमा राख्छन् 
पेपरवेटले थिच्छन् र जतन गर्छन् 
स्वाभिमानलाई झोलामा राख्छन्, जति जानेका हुन्
 बिर्सन्छन् 
अप्ठेरो हाकिमलाई सबैभन्दा विद्वान् मान्छन् 
कार्यालयको परिचयपत्र घाँटीमा डोरीले बाँधेर
 झुन्ड्याउँछन् मानौं त्यही डोरीले भैंसी बाँधेझैं उनी बाँधिएका छन् 
र कार्यालय अवधिभर भूषणजी यसरी नै बाँच्छन् 
बेलुकी पाँच बज्नासाथ भूषणजी घरतिर लाग्छन् 
टेबलमा थिचेर राखेको कविलाई आफूभित्र हाल्छन् 
दिनभरि थला परेको कविलाई सुरा पान गराउँछन् 
कहिले त्यतिबेलै लेख्छन् र च्यात्छन् 
नभए बिहान लेख्छन् र हेर्छन् ।। 


***
जागिरे जीवन अवकाशपछि बिहान १० बजे वाणी प्रकाशन आएर साँझ फिर्ने कविको दैनिकी बनेको छ । बेलाबखतका निम्तोमा साहित्यिक जमघटले दैनिकीलाई फरक पार्छ । अनिवार्य उपस्थिति चाहिने निम्तो उनले मानिआएका छन् । किताबी साहित्यपछि पर्नुका कारण उनलाई लाग्छ 'खोजीखोजी पढ्न हुने खालका लेख्दैनन् । लेखे पनि प्रचार गर्न जान्दैनन् । काठमाण्डुले पनि हेपेको छ ।' राजधानी बेलाबखत मात्र जान रुचाउने यी स्रष्टाको अघिल्लो शुक्रबार एकल कविता कार्यक्रम भयो । आरोहण गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरले एउटा प्रयोग गरी हेर्‍यो । सशुल्क कविता कार्यक्रम चल्छ कि चल्दैन भनेर । संयोजक खेम नेपाली भन्छन्, 'वषर्ामा नाटक भइरहेको छैन, अरू के गतिविधि गर्ने भन्दा यो उपाय फुर्‍यो ।' विशिष्ट कविले पहिलोपटक आयोजना गरिएको सशुल्क कविता कार्यक्रमका लागि स्वीकृति दिनु नै भाग्य भएको उनलाई लागेको छ । 'मान्नु हुन्न भन्ने कत्रो डर थियो । मान्नुभयो,' नेपाली बताउँछन्, 'उपस्थिति राम्रो भयो । दर्शकबाट फेरि यस्ता कार्यक्रम राख्न फिडब्याक आएको छ ।' 


***
कृष्णभूषण सशुल्क कविता कार्यक्रमका लागि नौला थिएनन् । उनका लागि राजधानीमा निकैअघि हिमाल मिडिया र केहीअघि पुरानोबानेश्वरस्थित गुरुकुलले यस्ता कार्यक्रम राखेका थिए । अनुभवी कवि यसपटक अघिल्ला कार्यक्रमभन्दा केही पृथक् र सम्झनायोग्य कविता पस्कने प्रस्तुतिमा देखिए ।नाटकघरमा उनका कविता युवा कविहरू विवश पोखरेल, मुन मञ्जिल, ज्योति जंगल, मुनाराज सेर्मा, सविता गौतम दाहाल र खेम नेपालीले वाचन सघाए । सघाउनेमध्येमै सेता दाह्री भएका रामबाबु दाहाललाई कवि बलले मञ्चमा बोलाए । दाहालले परिचय खोले, 'म कवि होइन । तर, भूषणजीले लेख्नुभएको एउटा कविता मेरो सम्पादनमा निस्कने पत्रिकामा २०३२ सालतिर छापेको थिएँ,' उनले त्यही कविता वाचन गरे । आफ्नो प्रस्तुतिका क्रममा कवि बल अतीतमा पुगे । कार्यालय समय सकेर निस्कँदा तीनजना साथी हुन्थे । राससका खिलध्वज थापा, कृषि बैंकमा काम गर्ने शैलेन्द्र साकार र उनी । पुरानो राष्ट्रबैंक गल्लीको एउटा सानो घुम्ती पसलमा यी कलमकर्मी जम्थे । भन्छन्, 'जहिल्यै साँझ रक्सी खाने हामीले एक दिन त्यहाँ पुगेर पनि खाएनौ । खै के भयो त्यो दिन । खानै मन लागेन । बरु घर आएर आज त बिसाउँ होला थापाजी कविता लेखें ।' 
पहिलो चुस्की रसाउँदै गलाहरू छातीमा क्षय 
रोपिसक्यौं कि
 निरन्तर खन्याउँदै बोतलहरू गिलासमा मृत्यु
 भरिसक्यौ कि
 छहारीमुनि केही बिरुवा हुर्कन बाँकी नै छ  
चौतारीमाथि केही भारीहरू बिसाउन थाती नै छ
 बलुकीको घामसँगै राता नीला बोतलहरू गुलुपझैं 
आँखामा बले पनि 
बेलुकीको कलिलो अँधेरीमा घाँटीले तिर्खा मेटाउन
 तम्तमाए पनि 
एकछिन बाटाहरू 
थाकेर भुइँचालोमा कामे पनि 
जेसुकै होस्, 
आज त बिसाउँ होला थापाजी ।।


***
दिनभर पाहुना आउजाउ गर्छन् । वाणीको सटरबाहिर प्लास्टिकका कुर्सी निकालिन्छन् । साहित्यको चर्चा चलिरहन्छ । आगन्तुकलाई बल धेरै सुन्छन् बिस्तारै र ठिक्क बोल्छन् । विराटनगरमा साहित्यिक जमात बढेजति नै कृतिको गुणस्तरको चिन्ता उनलाई लाग्छ । भन्छन्, 'हामीले समय चिनेर कृति निकाल्न ध्यान दिनुपर्छ । युवाका सिर्जनाले साहित्यका लागि काम गर्नुपर्छ ।' अहिले यी कविको दिनचर्या 'आज त बिसाउँ होला थापाजी' जस्तो छैन ।  

(कवि बल कृतिका संख्या होइन सिर्जनामा काव्यिक चेतको स्तरले माथि उठेका हुन् । उनी भाषामा नरम शैलीमा विद्रोहका भाषा बोल्छन् । विराटनगरमा भएको उनका एकल कविता कार्यक्रमबारे लेख्ने समय अनुकूल परेन । त्यसैले उनका बारे ०६८ साउन २१ को कान्तिपुर कोसेलीमा प्रकाशित यो समाग्री ब्लगमा पनि साभार गरिएको हो ।)