विषयहरू खोज्न कुनै कुनै बेला टाढा पुगिरहनु नपर्ने रहेछ। यस्ता धेरै विषयमाथि कलम चलेको देख्छु, जो हाम्रा वरपर छन्। तर, हामीले तिनलाई विषय भनेर चिनेनौँ। मित्र सुविद गुरागाइँले 'घर शीर्षकको राम्रो प्रस्तुति' भन्नुभयो। गएको २७ जुन अर्थात् असार १३ गते फेसबुकमा मैले कुथुर्के चरा सुपारीको बुटामा गुडबाट चिहाइरहेको तस्बिर पोस्ट गरेको थिएँ। झट्टै १५ कमेन्ट र ३२ लाइक आए।
तिनै प्रतिक्रियामध्ये सुविदजीको कमेन्टले मलाई यस्तो कथा लेख्न मन लाग्यो। जो कान्तिपुर कोसेलीमा छापियो पनि।
न्याउली चरा देख्नेले देखेका होलान्। नदेख्नेले गीत र कवितामा त्यो चरो रोएजस्तो आवाज निकाल्छ भनेर सुनेकै हुनुपर्छ। न्याउली बार्बेट परिवारअन्तर्गत पर्छ। र, त्यही परिवारमा पर्ने अर्को चरोको गतिविधिलाई मैले विषय बनाएँ।
म विराटनगर बस्छु। मेरो अफिस कञ्चनवारीनजिक पीपलचोक एरियामा छ। मेरो विषय अफिसको झ्यालबाट देखिने सुपारीको बुटा वरिपरि घुम्छ। मैले भ्याएँ र याद भएसम्म सुपारीका बुटा हेरिरहेँ।
अनि दुई फरक प्रजातिका चराका गतिविधि लेखेर इमेल पठाएपछि 'कोसेली' संयोजक साथी यज्ञशजीले चराका सिरिज निरन्तर भएकाले उपयुक्त समयमा प्रकाशित गर्ने भन्नुभएको थियो। तीन सातापछि छापियो। जो यस्तो छ।
अनि उनीहरू विस्थापित...
दिनभरको थकान मेट्ने थलो। रातभर निद्रा मार्ने र जीवनका गति पच्छ्याउन आश्रय लिने ठाउँ घर हो। परिश्रमले तयार पारेको घर कसैले कब्जा गर्यो। बसेकै बेला उसको बलमिच्याइँको प्रतिवाद गर्ने क्षमता भएन।
अतिक्रमणकारीका कारण पहिलो छाडियो। दोस्रो आश्रय तयार पारियो। नयाँ आश्रयमा दुई साताभन्दा बढी बितेन। फेरि उही आयो। पस्यो र त्यहाँबाट पनि धपायो। उनीहरू मान्छे थिए भने आफ्नै आकार बराबरको शत्रुको प्रतिवादका उपाय धेरै हुन सक्थे। सके आफैं लड्थे, नसके कानुनको सहारा लिन्थे। न्यायिक निकायमा उजुरी दिन्थे। समाजले पनि पीडितको पक्षमा बोल्थ्यो होला। उनीहरूको समाज बोलेन। प्रकृतिको नियम पच्छ्यायो। एक जोडी 'ब्लु थ्रोटेट बार्बेट' भनिने कुथुर्के चराले डांग्रे रुप्पीको अन्यायको जवाफ दिएनन्। निकै दिन लगाएर चुचाले ठुँगेर बनाएको गुँड उनीहरूले छाडे। बसाइ गए।
***
'दाइ, चरा खोज्न कताकता पुग्नुहुन्छ? यहाँ एउटा नयाँ चरा आएर गुँड लगाएको छ। त्यो पनि हेर्नुस्,' गत असारको पहिलो साता एक साँझ कान्तिपुर पब्लिकेसन्सको वितरण विभागका गंगाराम भण्डारीले भनेका थिए। उनको कुरामा अरू सहकर्मीले पनि 'पक्का हो' भन्दै सही थापे। अन्य कामको व्यस्तताले केही दिन उनको कुरामा ध्यान दिएर त्यो नौलो चरो हेर्ने मौका जुरेन। फुर्सदको एक दिन हेरियो। अफिसपछाडिको सुपारीको सुकेको बोटमा ठुँगेर बनाइएका दुईवटा प्वाल थिए। टुप्पानजिक मास्तिर डांग्रे रुप्पी देखियो। त्यसको करिब दुई मिटरमुन्तिर कुथुर्के। कडा घाम थियो। गर्मी बढेकाले हुनुपर्छ, दुवै प्वालबाट अलिकति मुन्टो निकालेर बाहिर चिहाउँदै थिए। भित्र निकै गर्मी हुँदो हो। गुँडको ढोका भने पनि झ्याल भने पनि एउटै प्वाल। दुवै छिमेकी सायद हावा खाँदै थिए।
***
डांग्रे रुप्पी (सारौं) हाम्रा लागि नौला छैनन्। कारण, पहेंला खुट्टा, चुच्चो र गाढा खैरो र थोरै सेतो रंगको प्वाँख हुने यो रैथाने चरो वरिपरि सजिलै देख्न सकिन्छ। नेपाली चराविद्हरूले हालसम्म हामीकहाँ पाइएका १० वटा यसका प्रजातिमध्ये डांग्रेलाई पर्यावरण परिवर्तनमा जीवनशैली त्यसअनुकूल बनाउन सक्ने क्षमता भएको मान्छन्। बस्ती, खेतबारी र यत्रतत्र यसलाई देख्न गाह्रो छैन।
कुनै फेसन डिजाइनरले धेरै रंगको संयोजन गरी तयार पारेको कृतिजस्तो कुथुर्के चरो रुप्पीजसरी सजिलै सबैतिर देख्न सकिन्न। बार्बेट परिवारअन्तर्गत पर्ने कुथुर्के नीलो अनुहार, घाँटी, निधार र पृष्ठतालु रातो, तालु वरपर कालोपेटी भएको हुन्छ। चर्को स्वरमा कुथुरकुथुर गर्ने यो चरो समुद्र सतहदेखि १ हजार ५ सय मिटरसम्म धेरै देखिने र बसाइका लागि २ हजार १ सय मिटरसम्म पुग्ने मानिन्छ। बार्बेट परिवारअन्तर्गत मुलुकमा हालसम्म ७ प्रजाति पाइएको पुस्तकहरूमा उल्लेख छन्। न्याउली चरो पनि यही परिवारअन्तर्गतको मानिन्छ।
***
असारको दोस्रो सातादेखि अन्तिम हप्तासम्म मेरो दिनचर्या अफिस पुगेर आफ्नो झोला बिसाएपछि दैनिक एकपटक कुथुर्केका गतिविधि हेर्नेमा केन्द्रित भयो। २४ असार दिउँसो पौने १२ बजे गुँडमा नयाँ दृश्य देखियो। माथिल्लो गुँड कब्जा गर्ने डांग्रे तल्लो गुँडमा पस्यो। कुथुर्केका जोडा थिएन। त्यसले केही खायो। खाँदै चोरले जस्तै बाहिर हेर्दै निकैबेरपछि बाहिरियो। उसले बाहिरिँदा चुच्चोमा कमलो प्वाँख च्यापेको थियो। अनुमान गरियो, उसले कुथुर्केका बचरालाई हमला गरेको थियो। मार्यो-मारेन थाहा पाउने अवस्था भएन। कारण, मेरो ३.५ ओपनिङको १३५ एमएम लेन्सले करिब ६० मिटर दूरीको दृश्यलाई चाहेजस्तो राम्ररी नियाल्न सकेन। त्यस दिन कुथुर्के गुँड पसेको देखिएन।
त्यसको दुई दिनपछि फेरि कुथुर्के जोडामध्येको एकलाई गुँडमा देखियो। त्यस दिन चुचो बाहिर निकाल्दै 'आँ' गर्दै बाहिर हेर्दै थियो। २९ असारमा सुनसरीको तरहराबाट फोटोपत्रकार साथी यात्रा थुलुङ विराटनगर आए। उनलाई कुथुर्केका बारेमा भनियो। उनले पनि त्यो चरोको तस्बिर लिने चाहना गरे। दुई घन्टा पर्खेर बसियो। कुथुर्केका जोडा देखिएनन्। बरु गुँडबाट मसिना कमिलाका लस्कर ओहोरदोहोर गरेको देखियो।
ती पन्छी बसाइ हिँडेछन्। अहिले पनि अफिस आएपिच्छे एकपटक सुपारीको त्यो बोटमा नजर पुग्छ। कुथुर्के देखिँदैनन्। अर्काको गुँड कब्जा गरी मास्तिर डांग्रे रुप्पी भने उस्तैगरी बसेकै छ। बेलाबेला हावा चल्छ। सुकेको सुपारी बुटा ढल्ला-ढल्लाजस्तो भएको छ।
***
(कान्तिपुर कोसेली, २०६८/०४/२८ )
(कान्तिपुर कोसेली, २०६८/०४/२८ )


No comments:
Post a Comment