जीमेल भनिने गुगलको इ-मेलमा अन्य कामसँगै छेवैमा 'च्याट' को अप्सन हुन्छ। यदि जीमेलबाटै इमेल चलाउन सिकेर विद्युतीय पत्र आदानप्रदान गर्न अघि बढेकाहरू छन् भने ती भाग्यमानी हुन्। कारण, यिनीहरूले इमेल चलाउन सिक्दासिक्दै च्याट भनेको के हो भन्ने सजिलै थाहा पाउछन्। अहिले याहूमा पनि जीमेलजस्तै च्याट आइकन साथमा छ। हामीले साथी बनाएकाहरू उही समय अनलाइन भए भने तुरून्त कुरा गर्न मिल्छ।
पाँच वर्ष अघिसम्म यसरी जीमेल, याहू र अहिले फेसबुक भन्ने साइटले दिएजस्तो च्याटको सजिलो अप्सन थिएन। हटमेलको आइडी बनाएकाहरूका लागि एमएसएनको म्यासेन्जर र याहूको युजर बनेकाहरूका लागि त्यसकै म्यासेन्जरमा पुगेर च्याट गर्नुपर्थ्यो। अहिले यी दुवै म्यासेन्जर धेरैका कम्प्युटरमा निकै कममात्र देख्न पाइन्छ। अहिले च्याट यति आधुनिक भएको छ कि हामी वेबक्याम अन गरेर अनुहार हेरेर मात्र टाइप गर्दै कुरा गर्नेमात्र होइन, स्पीकर अन गरी भ्वाइस च्याट नै गर्न सक्छौं।
यी दुवै साइटमा मैले युजर बनाएको छु। यिनको उपयोग पहिले इमेलका लागि हुन्थ्यो, अहिले यदाकदा च्याटमा बस्न। फेसबुकको सञ्जाल जस्तै ट्याग्ड डटकम भन्ने साइटको लिंक कुनै मित्रले पठाउनु भयो। त्यहाँ मैले मेरो घरमा बोलाउने नामबाट युजर बनाएको छु। र, यो साइटमा मैले मेरो पेजभित्र पुग्न छुट्टै युजर र पासवर्ड टाइप गर्नुपर्दैन। कारण, हटमेलको इनबक्समा यो साइटले फेसबुकले पठाएजस्तै सूचना पठाइरहन्छ। जस्तै : 'आज तपाईंको व्यक्तिगत विवरण हेन भ्रमण गर्नेहरू फलाना-फलाना हुन्, के गर्नु हुन्छ।' सन्देश पाएलगतै त्यसलाई एउटा क्लिक गर्दा त्यो फलानोको व्यक्तिगत विवरणमा पुग्न सकिन्छ।

यो साइटमा आफूलाई उमेर, देश र रूचि मिल्ने साथी छान्न र तिनलाई मित्रता तथा प्रेमको प्रस्ताव पठाउन मिल्छ। यसका उपयोगी पक्ष जति धेरै छन्, त्यति नै बिग्रिन चाहनेका लागि बाटोहरू पनि छन्। यसलाई राम्ररी चलाउन जान्नेहरूले आफ्नो व्यक्तिगत विवरणभित्र पस्न चाहनेलाई 'प्राइभेट' को संकेत देखाएर निराश पार्छन। नजान्नेहरूको पेज छ भने त्यहाँ सोझै पसेर के-के राखेको र कस्ता कुरा खोज्ने मान्छे हो भन्दै जानकारी लिन सकिन्छ।
खोज्दै जाँदा यसमा काठमाडौंबाट राना थरमा एक युवतीको पेज भेटियो। यो नाम खोज्न राजधानीकै एक मित्रले मलाई मेल पठाएका थिए। उनको पेजमा भनिएको छ, 'आफूले खिचेका यौनजन्य तस्वीर मलाइ पठाउनुस्। म संग्रह गरिरहेकी छु।' सन्देश पढ्नेले उनको पेजलाई पूरा हेर्ने रहेछ। यहाँ त्यस्ता केही तस्वीरको संग्रह पनि देखियो। यद्यपि यो मेरो रूचिको विषय नभए पनि इ-गफका लागि रमाइलो प्रसंग थियो। उनको पेजबारे मैले साथीहरूलाई सुनाएँ। फेरि सर्च गर्दा त्यो पेज कहिले भेटिन्छ, कहिले भेटिँदैन।
ट्याग्डकै साइटभित्र मेरो सन्देश बक्समा एक युवतीको नामबाट मित्रताको प्रस्ताव आयो। पूरा विवरण पठाए उनलाई प्रेम गर्न जात, वर्ग, देश र उमेरले नछेक्ने भनाइ त्यसमा थियो। अन्त्यमा उनले भनेकी थिइन् - 'म तपाईंसँग एमएसएनको लाइभ म्यासेन्जरमा भेट हुनेछु।' इमेलमार्फ आउने यस्ता धेरै पत्र र प्रस्ताव जालसाजी पनि हुन्छन्। तैपनि उनले आफू भनेर पठाएको तस्वीरमा देखिएकी युवती निकै राम्री र मादक थिइन्। दुई/चार दिन रियाक्ट नगरी त्यसै बित्यो।
फेरि प्रस्ताव र तस्वीर सम्झना भयो। छद्म नामको मेरो आइडीमा आएको प्रस्ताव। मैले ठाने -'मेरो पनि के जाला र !' उनलाई भेट्ने भनिएको ठाउँ हटमेलको म्यासेन्जर थियो। हतार-हतार साइटबाट अफिसको कम्प्युटरमा च्याटको त्यो सफ्टवेयरलाई हाल्न खोजें, प्रोग्राम डाउनलोड हुनै मानेन। त्यसो त सञ्चारगृहमा यस्ता च्याट टाउको दुखाई मानिन्छन्। त्यसमाथि केटीसँग गर्नुपर्ने च्याटका लागि आइटी हेर्ने साथीलाई 'लौ न बनाइदेउ' भन्न पनि मिलेन। उपाय सोच्दासोच्दै मलाई आफ्नै फुच्चे नोटबुकको सम्झना भयो। लाग्यो - 'यसमा कसरी डाउनलोड नहोला !'
नोटबुकमा डिस्क ड्राइभ हुँदैन। प्रोग्राम पेनड्राइभबाट सार्नुपर्छ। त्यसैले मैले एउटा ट्रायल भर्सन बाहेक यसमा भाइरस रिमुभ गर्ने राम्रो प्रोग्राम हाल्न पाएको छैन। ट्रायल भर्सन सफ्टवेयरले काम गर्न छाडेको ६ महिना पुगेको थियो। यस्ता प्रोग्राम नराखी इन्टरनेटबाट कुनै डाटा डाउनलोड गर्दा भाइरस आउने सम्भावना प्रबल रहन्छ। तर, च्याटको सुर थियो। फुच्चेमा लाइभ म्यासेन्जर डाउनलोड भयो।
युजर र पासवर्ड थिचेर अनलाइन भएलगतै तिनै युवतीको मित्रताको प्रस्ताव त्यहाँ देखियो। हतपत उनलाई 'एलाउ' थिचेर साथी बन्ने अधिकार दिइयो। उनी अनलाइनमै थिइन्। कुराकानी सुरू भयो।
उनी : हाय के छ ?
म : ठीक छ । तपाईंको के छ ?
उनी : के तपाइ एक्लै हो ?
म : हो ।
उनी : त्यसो भए वेबक्याम अन गर्नुस्।
संवाद चल्दाचल्दै आफू बसेको कोठामा सर्रर हेरेँ। अलिक पर्तिर कान्तिपुरको पूर्वाञ्चल ब्यूरोका समाचार संयोजक माधव घिमिरे हुनुहुन्थ्यो। उहाँले तन्किएर हेरे पनि बुझिहाल्ने अवस्था थिएन। उहाँको टेबुल र मेरो फुच्चेको सानो स्क्रीनबीच दूरी फराकिलो थियो। संवाद बुझिँदैन होला भन्दै अलि ढुक्कजस्तो भयो। अनि कोही झवाट्ट पसेर नोटबुक हेरिदिए भने के भन्लान् भन्ने पनि भयो। तैपनि वार्तालाप अघि बढ्यो।
म : किन नि ?
उनी : तपाईं के-के हेर्न चाहनुहुन्छ । त्यही देखाइदिन्छु ।
म : हो र !
उनी : हो । तर, एक्लै बस्नुस् है ।
लामो सोच्ने कुरा थिएन। वेबक्याम अन गरियो। मेरो चित्र उनले देखिन्। झुस्स दाह्री भएको, टोपी लगाएको जाडो ठाउँको मान्छेजस्तो। उनको तस्वीर ...। जीउमा कतै लुगा थिएन। प्रस्तावमा आएकी भन्दा पृथक स्वरूप त्यहाँ देखियो।
अचानक कास्परस्कीको म्याद गुज्रिएको ट्रायल भर्सन एन्टी भाइरस प्रोग्राम सक्रिय भयो। सन्देश आयो - 'यो सन्देशले तपाईंको कम्प्युटरमा खराबी आउनसक्छ।' च्याटभन्दा प्यारो कम्युटर। हतार-हतार बन्द गरियो। अनि मैले फेसबुकको स्टाटसमा लेखेँ - 'एमएसएनको च्याटमा अब बसिँदैन। देखाइदिउँ भनेपछि हुँदैन त टेन्सन !'
3 comments:
हिजो आज त यो फेसन जस्तो नै भइसकेको छ ।
मैले चाँहि आज सम्म पनि एमएसएन चलाएको छैन । जिमेल छोडेर अन्त जानै मन लाग्दैन, जिमेल मा आफ्ना मात्र साथि हुने हुँदा, यस्तो हेर्ने र हेराउने कुरा नै हुँदैन ! हा हा हा
जेहोस्, सलल बगेको शैली पढ्दा चाँहि साह्रै घत पर्यो है । भन्न पाएमा प्याच्च नभन्नु, बस्न पाएमा थ्याच्च नबस्नु भनेझैँ, च्याट भन्दैमा धेरै उखरमाउलो नहुनु ! हा हा हा
blag pathaniya cha bnadu
Hey Bhim Dai! whats up....? what are you doing? looking for what....? hahaha....hehehe....
Anyway nice story, nice writing , keep it up, wish you the best.
Post a Comment