Wednesday, January 13, 2010

उत्खननपछि उपेक्षा

बिराटनगरको नाम कसरी रहयो ? यहाँ आएर प्रश्न गर्नेहरुले उतर पाउँछन् - महाभारतकालमा राजा बिराटको दरवार भएकाले । तर बिराट दरवारको भग्नावशेष रहेको भनिएको ठाउ हेर्नेलाई सहजै पत्यार लाग्ने वस्तुस्थिति छैन । भग्नावशेष बिराटनगर-२२ रानी क्षेत्रबाट दुइ किलोमिटर दक्षिण बुधनगर गाविस-५ भेडियारीमा छ ।
सुरक्षाका लागि भन्दै भग्नावशेष रहेको पाँच कठ्ठा जग्गा कुनै बेला घेरेर राखिएको रहेछ भन्ने यहाँ बाँकी रहेका पक्की खम्बाले बताउँछन् ।
खाबाहरु ठाउँ-ठाउँमा भाँचिएका छन् । लगाइएको पुराना काँडे तार पनि धेरै ठाउँ चुँडिएका छन् । तीनवटा रुख र बाँसको सानो झयाङ रहेको दरवारको भग्नावशेष भनिने ठाउँ रातो माटोको ढिस्को जस्तो देखिन्छ । ढिस्कोमा पुराना टायल र इटाका टुक्राहरु देखिन्छ । जग्गाभित्र एकातर्फ गोबरका गुइठा सुकाइएको छ । बिराटनगरको परिचयसँग जोडिएको बुधनगर-५ भेडियारी टोल पुग्नेहरु ऐतिहासिक बिराट दरवार भग्नावशेष भनिने ठाउँको दशा देखेर छक्कमात्र पर्दैनन् ,दिक्क पनि मान्छन् ।
बिराटनगरको नाउँका पछाडि रहेको किवदन्तीका आधार यो ठाउँको भग्नावशेषसँग जोडिएको छ । बिराट दरवार सम्बन्धि प्रकाशित शोधपत्र तथा समाचार सामाग्रीमा महाभारतकालमा बिराट राजाको दरवार रहेको यो ठाउँमा पाण्डवहरु गुप्तवास बसेको उल्लेख छ । त्यसबेला दुर्योधनले उनीहरुको भेद जान्न गुप्तचर (भेदिया) पठाएपछि भेदियारीबाट अपभ्रंस हुदै यो ठाउको नाउ भेडियारी भएको हो । बि.स.२०२६ सालमा तत्कालीन पुरातत्व विभाग महानिर्देशक तारानाथ मिश्रको नेतृत्वमा भग्नावशेषको उत्खनन गरिएको थियो । त्यसबेला यहाँ मन्दिर,गर्भगृह रहेको भन्ने तथ्य सार्वजनिक भएको थियो । त्यसबेला पंचमार्क भएको ४० वटा चाँदीका मुद्रा पनि भेटिएको थियो । इटाले बनेको सात फीट अग्लो चौतारीमाथि ४५ र ४७ फीट लामो गर्भगृहहरु पाइएको पुरातात्विक अध्ययनका प्रकाशित सामग्रीमा उल्लेख भएको पाइन्छन् । पुरातत्व विभागले यहाँको भग्नावशेषमा पाइएका पाको इटाको प्रयोग मुलुकको अन्य स्थानमा तीलौराकोटमा मात्र भेटिएको जनाएको छ । अनुसन्धाकर्ता मिश्रले आफ्नो लेखमार्फत बिराट दरवार भग्नावशेषको जानकारी प्रकाशित गरेपनि औपचारिक रुपमा विभागले उक्त उत्खननको प्रतिवेदन हालसम्म प्रकाशित गरेको छैन । समाजशास्त्रमा स्नातकोत्तर तहकी छात्रा सुनीता पोखरेलले २०५५ सालमा गरेको शोध अनुसार बिराट
भग्नावशेष क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढि पोखरीको आफ्नै ऐतिहासिक महत्व छ ।
'मान्छे घुम्न आउछन् जान्छन् यो ठाउँको विकास त गफ मात्रै भो' बिराट दरवारको भग्नावशेष नजिक घर भएका लक्ष्मण यादवले भने । ७५ वर्षीय यादवलाइ उत्खनन हुँदाको बेलाका सम्झना अझै ताजा छन् । 'हामीलाइ त हेर्न पनि दिएनन् जो जो हेर्न गए उनीहरुले कुटाइ खाएका थिए ।' भग्नावशेषबाट निस्किएका इटाका टुक्राहरु नजिकको बिराट प्राविमा भवन निर्माणका समयमा प्रयोग भएको स्थानीय उपेन्द्र यादवले बताए । यहाँ रहेको फुल नफुल्ने एउटा रुख काटता रगतजस्तो पदार्थ निस्कने गरेको उनी बताउँछन् । 'यो के को रुख हो अझै कसैलाई थाहा छैन' उनले भने । उत्खननका क्रममा बहुमुल्य वस्तुहरु पाइएको र तीनलाइ हात पार्नेहरुले वेपत्ता पारेको स्थानीयवासीको आरोप छ । उत्खनन पछि उपेछित अवस्थामा रहेको भग्नावशेषबाट भेटिएका पछिल्ला सामान हेर्न स्थानीय कमलकिशोर यादवको घरमा पुग्नु पर्छ ।
२०५४ सालमा गठित बिराट राजा प्रचीन दरवार खोज तथा संरक्षण समितिका सदस्य रहेका यादवले भग्नावशेषबाट पछिल्लोपटक भेटिएका सामाग्री घरैमा संग्रह गरेर राखेका छन । यहाँको अध्ययन-भ्रमण गर्न आउनेले धातु , ढुङ्गा र माटोले बनेका ती सामाग्री हेर्न उनको घर पुग्नै पर्छ । यसरी आउनेलाइ उनले देखाउने गरेका छन् ।
ऐतिहासिक ठाउँको विकासका लागि चिन्तित रहेका बुवालाइ सघाउने ओमप्रकाश यादव भन्छन् 'झापामा जसरी किचकवधको उत्खनन भयो त्यसरी नै यहाँको खोजी हुनुपर्ने हो तर कसैले ध्यान दिएका छैनन् ।' पर्यटन मंत्रालय ,जिल्ला विकास समिति मोरङ र बिराटनगर उपमहानगरपालिकाले भेडियारी चोकमा सुचना केन्द्र राख्न तीन कोठे भवन निर्माण गरेका छन् । तर भवनको समुचित उपयोग अझै शुरु भएको छैन । ' बिकास गर्नै पर्ने ठाउँमा जस्ता अधिकारी आएपनि कामलाइ निरन्तरता दिने बानी विकास भएन त्यसैले यो क्षेत्र पछि परेको हो ।' जीवन घिमिरेले भने । हाल लगभग निष्किय रहेको संरक्षण समितिमा उनी अध्यक्ष छन् । गठनको शुरुआतसँगै समितिले यस क्षेत्रको बिकासका लागि कुरा उठाएको उनको भनाइ छ । 'बिराटनगरको पहिचानका लागि पनि यो ठाउको बिकास हुनै पर्छ , नभए बाहिरबाट आउनेले यहाँ हेर्ने विशेषता भनाउँदो केही फरक कुरा नै छैन' उनी भन्छन् । समितिले प्रस्ताव गरेपछि नै भेडियारीमा संग्रहालय राख्न सुचना केन्द्र भवनको निर्माण भएको उनले सुनाए ।
मोरङका पर्यटकीय क्षेत्रको विकासलाइ निरन्तरता दिने बताउँदै आएको स्थानीय निकायसँग यहाँको बिकासका लागि कुनै अल्प र दीर्घकालीन योजना हालसम्म छैन । स्थानीय निकायको नेतृत्वमा फेरबदल र राजनैतिक अस्थिरता पनि पर्यटकीय क्षेत्रको विकासमा बाधा भएको छ । भेडियारी क्षेत्र भारतीय सीमानासग जोडिएको छ । जिल्ला बिकास समितिमा यस क्षेत्रको पुरातात्विक महत्वको खोजी र प्रचारका कुनै कार्यक्रम छैन । मोरंगभित्र पर्यटकीय महत्वका क्षेत्र बिकासको लागि जिविसले वर्षेनी वजेट विनियोजन गर्छ । तर, काम भने कागजमै सीमित छन् ।
(२०६०को मेरो समाचारको डायरीबाट)


No comments: