Wednesday, January 6, 2010

गरुड गाउँ



करमका अग्ला रुखको टुप्पामा गुँड बनाएका अग्ला चरा । चुचाले माछा र सर्प उडाउदै पुर्‍याउँछन् । एकोहोरो आवाजले कराउँछ । घरि घरि आकाशमा फन्को मार्छ । अनि फेरि गुँडमा फर्किएर बचराको स्याहारमा जुट्छ । मोरङको उर्लावारी-६ मंगलवारेको चन्दनेमा गाउँले यसलाई 'टङर्‍याङ' भन्छन् ।
गरुड प्रजातीको यो भुँडीफोर (लेसर एटजुटेन्ट स्टोर्क) हो । सेता लामा खुट्टा, जीउ र चुच्चो । अनि काला पखेटा र पँहेलो घाँटी । यसको आकृति आफ्नै प्रकारको छ । धेर हल्ला र बाधा सबै पशुपंछीका लागि रमाइला छैनन् । यसलाई पनि त्यस्तै हो । तर, बस्तीको छेउ भएपनि छेडखानी गर्नेहरु नहुँदा यो दुर्लभको सुचीमा परेको चराको ठूलो झुण्ड चन्दनेमा वर्षौंदेखि बसेको छ ।
'हाम्लाई केही गर्दैन विचरो चरो' स्थानीय भगवती खडकाले भनिन् । उनका अनुसार यहाँ दुइ दसकदेखि यी चराका गुँड छन् । जोडीले जोडी बचरा हुर्काएर उडाउन्जेल माउहरु शिथिल हुने र मर्ने उनले बताइन । सिमसार र नजिकका खेतबाट माछा, सर्प र अन्य सरिसृप खोजेर गुँडमा ल्याउँदै बचरा हुर्काउदा कमजोर भएका माउहरु रुखबाट खसेर मर्ने गरेको उनले सुनाइन । एउटा जोडीले वर्षमा दुइ-तीनवटा बचरा हुर्काउछन् ।
चन्दनेवासीका लागि नौलो नभएपनि यो चरो भारतीय क्षेत्रबाट यदाकदा पस्ने 'किचक' भनिने फिरन्तेहरुको सिकार हुने गरेको छ । गत वर्ष यहाँ आइपुगेका चरा सिकारी फिरन्तेहरुले सातवटा यस्ता चरा रुखबाट खसालेको गाउँलेले बताए । लगतै थाहा पाएपछि जुटेका गाउँलेले उनीहरुलाई कुटपिट गरि धपाएका थिए ।
चरा संरक्षणका लागि यहाँ त्यस्तो कुनै औपचारिक अभियान र कार्यक्रम छैन । र, गाविस वा कुनै सरकारी निकायले पनि ध्यान दिने गरि यहाँ केही गरेको देखिदैन । तीन वर्षअघि पंछी संरक्षण संघलगायत विभिन्न संस्थाले आएर गाउँलेसँग समान्य कुराकानीपछि दुइवटा चेतनामुलक बोर्ड राखिदिएका छन् । जसबाट यो चराको प्रजाति , बानी, आहारा र महत्वबारे जान्न चाहनेले थाहा पाउन सजिलो भएको छ ।
चन्दनेमा यही बोर्ड राखिएपछि पनि चरालाई छेडखानी गर्न नहुने रहेछ भन्ने भान गाउँलेमा परेको छ । विराटनगरको स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक डा. भरतराज सुब्बा भन्छन् 'लेसरले यहाँ बाधा नभएरै बास नछाडेको हो ।' उनका अनुसार दुर्लभ चराका लागि एकपटकमात्र कसैले गरेको चेतनाका कुराले संरक्षण बलियो भएको छ । बन क्षेत्रको मासिँदा अग्ला रुखहरुबाट विस्थापित भएका भुँडीफोर जोडीहरु यहा आइबसेका हुन् । डा. सुब्बा भन्छन् 'हामीले यहाँ ५० वटा लेसर भेट्यौ, एकै ठाउँमा यत्रो संख्या भेटिनु ठूलो कुरा हो ।' उनका अनुसार सिमसार क्षेत्रको व्यवस्थापन हुन सके यस्ता प्रजातिका चरा संरक्षण हुनसक्दछ । यसले वातावरण सन्तुलित राख्न मद्दत गर्छ ।
चन्दनेमा गाउँलेलाई चरा नौलो नलागेपनि यहाँ आउने आगन्तुकका लागि यसको क्रियाकलाप हेरिरहुँ जस्तो लाग्छ । नेपालमा गरुडका सात प्रजातिहरु चराविदहरुले रेकर्ड गरेका छन । यिनमा लेसर, ओपनविल, वुलीनेक्ड,ब्ल्याक नेक्डलगायत छन ।

(यो फिचर कान्तिपुरको कोसेलीमा दुइ वर्षअघि प्रकाशित भइसकेको हो । मलाइ चाहिने बेलामा पढ्न छिटो भेटियोस भनेर ब्लगमा अपलोड गरेको हु । -भीम)

2 comments:

Aakar said...

पहिले पत्रिका मा नै पढेँ कि पढिन त थाहा भएन तर आज यहाँ पढ्दा एउटा अर्को नयाँ कुरा जान्ने मौका मिल्यो । धन्यवाद भिम जी !

वसन्त बलामी said...

लेसरको बारे जान्न पाइयो धन्यवाद भिम जी ।