छाता भिरेर पाठो च्यापेका गोठालाहरु काँसघारीमा घरीघरी हर्र हर्र' को आवाज निकाल्छन् । बलौटे जमिनमा हुलका हुल भेडाहरु राम्रो घाँसको खोजी गरिरहेका छन् । एउटा हुल जता लाग्यो पछिपछि सबै लागेका छन् । घुम्रो परेको सिङ भएको भाले भेडा हुलमा आकर्षक देखिन्छ । गोठालाभन्दा निकै अघि पुगेको हुललाइ दुइवटा भुस्याहा कुकुरहरु अघि गएर छेक्छन् । हुल टक्क अडिन्छ । गोठाला आइपुग्छन् अनि अघि बढने बाटो निश्चित हुन्छ ।
ख्याउटे भएपनि आज्ञाकारी कुकुरहरु गोठालाको भर भएको देखिन्छ । सप्तकोशीले बहाव परिवर्तन गरेपछि बनेको यो 'टपरा' हो । श्रीलंका टप्पु पनि भनिने यो ठाउ सुनसरीको प्रकाशपुर ४ र ५ अनि महेन्द्रनगर गाविसको ५ नम्बर वडाको यो भुभाग खुला चरिचरन भएकाले चौपायाका लागि वरदान जस्तै छ ।
यहा आइ पुग्ने एकमात्र साधन डुङ्गा हो । सदरमुकाम इनरुवाबाट १२ किलोमिटर दक्षिणमा पर्ने हरिनगराबाट भेडीगोठ घासको खोजीमा डुङ्गा चढेर यहा आइपुगेको हो । 'हामी सधै फिरन्ते जस्तै भएका छौं' भेडी गोठ हाकेर हिडेका चन्देश्वर पाल भन्छन् ।
हरिनगरा-४ मा गडेरीहरुको बस्ती छ । थरमा 'पाल' लेखाउने यहाका गडेरीहरुको पुस्तैनी व्यवसाय भेडापालन हो ।
'हामीले बाबु-बाजेको पालादेखि नै भेडा पाल्दै आएका हौ' उनले भने 'जता घास भेटिन्छ हुल हाकेर त्यतै पुग्छौ ।' चन्देश्वरसगै कुलानन्द र खिलानन्द पनि छन् ।
उनका अनुसार कोशी टप्पुसग जोडिएको सप्तकोशीको भंगालोबीचको टपरामा भेडीगोठ वर्षका चार महिना रहनेछ । 'घास खोज्दा खोज्दै हामी ठाउ फेरिरहन्छौ' कुलानन्द भन्छन् 'कोशी वारि हरिपुरमा हामी कात्तिकदेखि चैतसम्म घुम्छौं ।' भेडासगै उनीहरु डेरा पनि खोजेर हिड्छन् ।
तराइको मौसम भेडापालनका लागि उपयुक्त होइन भन्ने धारणा छ । कारण यहाको मौसम । तराइमा पनि हुने भेडा लामपुच्छ्रे जातको हो । 'उन निकाल्न पनि हामी गोठैमा काम गर्छौ' खिलानन्दले भने 'घरमा तान छ । एउटा भेडाले वर्षमा एक पाउ उन दिन्छ ।' आफुहरुले हाकेको हुलमा चार सयवटा भेडा रहेको उनले बताए । भेडीगोठ लिएर
हिडनेहरुमा सबै आफ्नै भने छैनन् । उनी भन्छन् 'एकदुइ सय आफ्नो हुन्छ, बाकी आफन्तको ।' सबैले गोठालाको काम गरि हिड्न नसक्ने उनी गर्वले सुनाउछन् । भन्छन् 'यो सारै दुखी काम हो,सबैले कहा गर्न सक्छन् र ।'
हरिनगराका गडेरीहरुले बनाएको भेडाको उनको राडी बजारमा कम्तिमा आठ सय रुपैया गोटाको बिक्री हुन्छ । एउटा राडीमा सरदर चार किलो उन लाग्ने सुनाउदै भन्छन् 'चरन घट्दैछ,हामीजस्ता भेडा चराउनेका लागि दुःख बढ्दैछ ।'
No comments:
Post a Comment