Sunday, January 17, 2010

चन्दा संस्कृति

अहिले चालकहरुले गर्ने गुनासो हो - 'सरस्वती पूजाको चन्दाले हैरान पार्‍यो।' चन्दा माग्नु नौलो होइन। कारण, मुलुक नै चन्दाका भरमा चलेका बेला जेसुकैका लागि जनताले चन्दा माग गर्नु नौलो कसरी हुनसक्छ। यहाँ मैले नबुझेको कुरा हो, पूजाका लागि चन्दा माग गरिनु।

हिन्दु धर्मावलम्वी। त्यसमाथि नेपाली। हामी सबैलाई बन्धन मन पर्दैन। मन लागे मन्दिर जान्छौँ, नलागे परैबाट एउटा हात उज्याएर देउतालाइ नमन गर्छौ। हामीले साता, महिना वा कुनै दिन मन्दिर जानैपर्छ भन्ने रुटीनभित्र छैन। 

त्यसैले मन्दिरहरु सञ्चालन गर्नेलाई सजिलो-असजिलो कस्तो होला त्यो हाम्रो सरोकारमा कमैमात्र पर्ने विषय भएको छ। हाम्रो बुझाइ उमेर ढल्केपछि धर्मकर्ममा लाग्ने भन्ने छ। सानोछँदा जानी नजानी ईश्वर सम्झने बानी हुर्कदै गएपछि हट्ने रहेछ।

म आफूलाई हेर्छु। साह्रै साह्रै मन्दिर टेक्दिन। गइहाले पनि टीका यदाकदामात्र लगाउँछु। पुगेका दिन कहिले आज नुहाएको छैन किन भगवानको अपमान गर्नु भन्ने लाग्छ। अनि कहिले भगवान भनेको आत्मा हो। यसलाइ खुसी पारे देउता खुसी नहुने कुरै छैन भन्ने आफ्नै तर्कमा गर्व गर्छु। धेरैपटक मनले भनेको मान्छु। मन जेमा खुसी हुन्छ। त्यसलाइ ठीक हो भन्छु।

अनि चन्दा दिने कुरामा पर सर्छु। आस्था भए पनि देखाउन हतार गर्दिन। तर, पुस अन्तिम सातादेखि सुनसरी-मोरङका ग्रामीण रुटहरुको यात्रामा मैले बाटोमा सवारी रोकेर चन्दा लिदै गरेका भुरा बग्रेल्ती देख्न पाएको छु। यसपटक सरस्वती पूजा माघ ६ गते बुधबार परेको छ। 

सरस्वतीलाई हामी विद्याकी देवी मान्छौँ। पूजा गर्नुपर्छ। गच्छे अनुसार गर्नुपर्छ। तर, चन्दा उठाउन बसेका कतिपय समूहको लवज, पोसाक र शैलीले उनीहरु विद्यार्थी भएको परिचय खुलेन। मलाई पनि अचम्म लाग्यो। गाडी रोक्ने अनि जबर्जस्ती गर्ने। सभ्यता सिक्नलाई विद्यालय जाने हो। तर, शिक्षक पूजनीय हुने देशमा उनीहरु कुटिएका र कालोमोसोको सिकार नभएका पनि होइनन्। यसले नै हामी कस्तो शिक्षा लिइरहेका छौ भन्ने प्रश्न जागिरका लागि भ्याकेन्सी हेर्ने बेलामा बेरोजगारहरुले गरिरहेका भेटिन्छन्।

चन्दा माग गर्ने अनौठो शैलीले त्यसै बढावा पाएको होइन। दल र तिनका भ्रातृ संगठनले सिकाएका छन्। विद्यार्थी र युवालाइ चन्दाको माग यसरी गर्नुपर्छ भन्ने सिकाएका छन्। देशले विदेशसँग मागेको छ। नेता र तिनका अनुयायीले हुनेहरुसँग मागेका छन्। 

अवस्था यस्तो आएको छ, बाटामा रोकिएकाहरुले दिन्न भन्न पाउदैनन्। चन्दा भनेको इच्छाले दिने दान हो। तर, अब यसलाई उठाउनेले अधिकारका रुपमा प्रयोग गरेका छन्। भगवानले सद्धबुद्धि प्रदान गरुन्।

No comments: