Monday, November 23, 2009

अब नभेट्ने है

उनले नम्बर छाडेकी रहिछन् । प्राध्यापन पेशामा रहेका मेरा एक मित्रले बाटामा भेटेर मलाइ खबर दिए । 'उ त उस्तैछिन् , उनले मलाइ भने 'तपाइ पो अलि उमेर खाएको जस्तो हुनुभएछ । फोन गर्नुस रे ।' म छक्क परे । 'को उ ?, मैले सोधेपछि उनले फेरि भने 'उ के उ , तपाइको बेस्ट । कलेजको साथी ।' अनि बल्ल कुरा खुल्यो ।
भेट नभएको १५ वर्ष बितेछ । नम्बर लिएपछि मैले फोन गरें । उनको मोबाइल नम्बर यस्तो अञ्चलको थियो जुन लाइनमा मैले कहिल्यै फोन गर्नुपरेको थिएन । सुरुमा उनले चिनिनन् । पछि कुरा भयो । भेट्ने भइयो । म एक साताका लागि राजधानीबाट विराटनगर आएको थिए ।
त्यो साँझ म अलि उदास पनि थिए । कारण, अफिसबाट आएको फोनले मन एक तमासको भएको थियो । त्यो दिन विहानदेखि साथीहरुको एसएमएस र फोनले मलाइ फिचरयुक्त समाचार लेखनमा हौस्याएका थिए । वैदेशिक सहयोगमा आएर माल पाएर चाल नपाएको सरकारका कारण थन्किएका ट्रली बसलाइ माओवादी कार्यकर्ताले घर बनाएर उपयोग गरेको समाचार छापिएको दिन थियो त्यो । राजधानी रहदाका नौ महिनामा मेरो ध्यान फोटोका लागि मात्र खर्च भएपनि त्यो अवधिको अन्तमा लेखेको एउटामात्र समाचार पढेर आएका प्रतिक्रिया मेरा लागि उत्साहको सञ्चार गर्ने खालको थियो । मलाइ लागेको थियो -'लेखाइलाइ निरन्तरता दिनु पर्ने रहेछ ।'
एक साताका लागि विराटनगर आउन दिउसो ४ बजे त्रिभुवन विमानस्थलको चेकइनमा पसेका बेला अफिसबाट फोन आयो । भनियो 'भाइ तपाइको विराटनगर सरुवा भयो । पत्र लिन कहिले आउनु हुन्छ ।' मेरा सबै उत्साह सेलाए । सरुवा हुने भन्ने मैले सुनेको थिए । तर, म मानसिक रुपले तयार थिइन । कारण, छोरालाइ त्यहाको स्कुलमा भर्ना गराउदा धेरै परिश्रमपछि उ थपिएका किताबप्रति अभ्यस्त हुन सकेको थियो । श्रीमति र मैले उसको फेरिएको स्कुल र थपिएका किताबमा ध्यान लगाउन निकै परिश्रम गर्नुपरेको थियो । राजधानीमा रहदा मैले गरेका कामको राम्रो मूल्यांकन भएको रहेछ भन्ने ब्यङ्ग्य मलाइ लाग्यो । मैले भने 'म एक हप्तापछि आएर भेट्छु ।'
विराटनगरमा घर भएपनि यहाबाट गएपछि मन राजधानीमा रमाएको थियो । त्यहा कामका सन्दर्भमा धेरै सिक्न र संगत गर्न पाएको भान थियो । फेरि पुरानो ठाउमा आउनु मेरा लागि असहज थिएन । तर , परिवार र पोको लिएर हिड्नुपर्छ भन्ने सोच्दा म तयार हुन सकेको थिइन । ती पुरानो मित्रसगको फोन वार्ताले अलिकति भएपनि मगजमा फरक कुरा सोच्न बाध्य गरायो । यदाकदा सम्झना हुदा 'उनी कहा पुगेकी होलिन' भन्ने मलाइ लाग्थ्यो । कतै देखिन्छ कि भेटिन्छ कि भन्ने आस लाग्थ्यो । अनि उनलाइ श्रीमानसग भेटियो भने मैले के साइनो लगाएर कुरा गर्छु होला भन्ने मलाइ लाग्थ्यो ।
मनोविज्ञान पढ्नेहरु धेरै हुदैनन् । किनभने त्यसले पछि के बनाउछ भन्ने हामीलाइ थाहा थिएन । जम्माजम्मी नौ जना विद्यार्थीमा सबैले एकअकार्कालाइ नचिन्ने कुरा भएन । अनि त्यो ब्याचका साथीहरु सबैसग राम्रो सम्बन्ध थियो । उनीसग अलि बढि नजिक । कलेजका ती दिनहरुमा फर्कदा याद आउछ । मेरो अस्थायी जागिर थियो । वर्षमा चार महिना काम हुने । अनि कलेज लागेकै हिउदका दिनमा काम हुन्थ्यो । राती १० देखि बिहान ६ बजेको ड्युटी । ड्युटी सकेर म कलेज पुग्थें । अनि कहिलेकाही क्लासमै निन्द्रा आउथ्यो ।
कमर्स पढ्ने मेरा एक मित्रका दाजु मनोविज्ञानमा मेरा सहपाठी थिए । घाम लागेन । धेरै चिसो भएको दिन आयो भने उनी भन्थे 'भाइ, आज एक-एक पेग लिनुपर्छ ।' अनि कलेज सकेर हामी कलेजरोडका कुनै रेस्टुरामा पस्थ्यौं । चिरिप्प पारेपछि विस्तारै साइकल कुदाउदै घर पुग्थ्यौं । अनि त्यसरी बाहिरिएको दिन उनी रिसाउथिन । भन्दै नभनी किन कता गएको भन्ने उनको गुनासो हुन्थ्यो । उनको साइकल थिएन । कुदाउन नआउने भएकाले उनी साइकलमा बस्न पनि मान्दिनथिन् । मलाइ पनि डबल लोड कुदाउन मन हुदैनथ्यो ।
हाम्रो मित्रतामा खोट थिएन । कुरा गरे पुग्थ्यो । एकअर्कालाइ गर्ने माया कुरामै सीमित थियो । हामी त्यसबाट कहिल्यै अघि बढेनौ । उनलाइ धेरै कुरा गर्नुपर्थ्यो । सानामसिना कुरामा पनि गुनासा धेरै हुन्थे । कलेज सकियो । उनलाइ विवाहको प्रस्ताव आएछ । मलाइ उपाय निकाल्न भनिन् । स्नातक सिध्याएर स्थायी जागिर नखाएसम्म विवाहका विषय मेरो आँट भन्दा बाहिरको कुरा थियो । 'त्यसो भए भाग्ने त -, मैले सोध्दा उनी त्यसो गर्न पनि राजी थिइनन । एक्ली छोरी । बुद्ध बाबुआमा । मन दुखाउने चाहना नभएको बताएर गरिरहेका गुनासा मलाइ ठीक लागेन । जे इच्छा छ अब त्यही गर्ने भन्दै हाम्रो बाटो अलग भयो । म निकै तनावमा थिए । 'किन केटीहरुलाइ बिहेको हतार हुन्छ - पढाइ सकेर योग्यता बनाए भने पछि कुनै पनि जागिर खादा लोग्नेको खटनमा भर गर्नु पर्दैन भन्ने बुझदैनन्' भन्ने लागिरहन्थ्यो । भन्न त भनिहालियो बाटो अलग । त्यसपछि भेट भएन । मैले केही महिनाका लागि विराटनगर छाडें । कामका लागि बीरगञ्ज गएर बसें । फिरेपछि सोधखोज गर्दा थाहा भयो - उनले लबम्यारिज नै गरिछन् । अनि विराटनगर पनि छाडिछन । बाबुआमाको राजीखुसी थियो\ थिएन थाहा भएन ।
क्रमश :

1 comment:

indria said...

dai ani k tespa6i k vayo?
unilai vetda k vaneya bolaunu vayo .15 barsapa6i vetda uni kaste vayeki rahi6ina.