Friday, November 9, 2012

रहरमा पखेटा लागेपछि

-चित्र पौडेल 


त्यति बेला म झापाको बिर्तामोडमा नौ कक्षामा पढ्थेँ। काठमाडौँ जाने मौका मिल्यो। लम्कीका यामलाल रसाइलीसँग भेट भयो। उनले भने, "म मेची-महाकाली साइकल यात्राको योजनामा छु।" 
एउटा गोडा नभएको मान्छे अनि यति लामो साइकल यात्राको रहर। मलाई अनौठो लाग्यो। तर, उनको इच्छाशक्तिको कदर गर्न मन लाग्यो। सोचेँ, मेरा गोडा त उनीका भन्दा केही भरपर्दा छन्। किन म त्यस्तो केही नौलो काम गर्ने रहर गर्दिनँ ? अनि रहर जाग्यो, साइकल यात्राको। तर, मसँग न साइकल थियो, न त चलाउनै आउँथ्यो। 
***
चार वर्षको छँदा मलाई पोलियो भएछ। निको भएन। दायाँ गोडा सुकेका छन्। केही छोटो छ। कामै नगर्ने त होइन तर सामान्य छैन। झापा फर्केपछि एक महिनामा साइकल सिकियो। मेरो मेची-महाकाली साइकल यात्राको रहरलाई धेरैले निको मानेनन्। माओवादी सशस्त्र द्वन्द्वको समय जो थियो। नेपाल अपांग संघ झापाका अध्यक्ष धनञ्जय श्रेष्ठले साथ दिए। उनले १४ हजार हालेर साइकल किनिदिए। तीन हजार बाटोखर्च पनि दिए। बाटामा पर्ने अपांगसम्बद्ध संस्थालाई सहयोगका लागि खबर गरिदिने  जिम्मेवारी पनि लिए। भद्रपुरबाट मंसिर २०५९ मा यात्रा थालियो। पहिलो रात दमक, दोस्रो रात इटहरी, तेस्रो रात कोसी ब्यारेजपार सप्तरीको क्षेत्र हुँदै अघि बढियो। 


***
साइकल लगातार चलाइरहन सजिलो रहेनछ। जीउ दुख्ने, नितम्ब पोल्ने र धेरै थकान हुने रहेछ। त्यसैले छोटो-छोटो दूरी पार गर्दै बाटाका प्रहरी चौकीमा बासको प्रबन्धका लागि अनुरोध गर्दै गइयो। प्रहरीले चौकीमा बसाउँदैनथे। आफैँमाथि आक्रमणको भय पालेर ड्युटीमा रहेका प्रहरी नजिकको गाउँ, होटल वा धर्मशालामा प्रबन्ध गरििदन्थे। लहानको एउटा होटलमा बसेको रात त्यहाँको प्रहरी चौकीमा आक्रमण थियो। गोलीका आवाजले निद्रा खुल्यो। होटलको छतबाट दृश्य हेरियो 
यात्रामा दुई थोक अनिवार्य रहेछन्, नम्रता र संयम। नम्र भएर बोले त्यस अनुसारको व्यवहार पाइने। हतार नगरी अघि बढे यात्रा सहज हुने। साइकल चलाउन मात्र जानेर नहुने, शिक्षा त्यही यात्राले दियो। सामान्य मर्मत र पन्चर टाल्नेसम्मका सीप यात्रीका लागि जरुरी रहेछ। धेरै ठाउँमा साइकल बनाइदिने भेटिँदा रहेनछन्। 
***
नेपालगन्जबाट चिसापानीको कर्णाली  पुल पुग्दा झमक्क साँझ परेको थियो। मैले कतै बास पाइनँ। नयाँ मान्छेलाई बास दिने अवस्था थिएन। एकातिर सेना वा प्रहरीको सुराकी हुन सक्ने भनेर माओवादीले दुःख दिने,अर्कातिर माओवादीको मान्छे ठानेर भोलिपल्ट सुरक्षाकर्मीको केरकारमा परनिे भय । चिसो मौसममा चिसापानीको रात कष्टकर बन्यो। पुलका गार्डसँगै आगो तापेर जागा नै रात बित्यो। पूर्वबाट मकवानपुर, चितवन हुँदै काठमाडौँ पुगेँ। त्यहाँबाट फर्किएर फेर नारायणघाट हुँदै पश्चिम लागेँ । १ हजार ५० किलोमिटरको यात्रा २१ पुस २०५९ मा महाकालीको गड्डाचौकी नाकामा पुगेर फत्ते भयो । मलाई विश्व साइकल यात्राको रहर लाग्यो। रहर गर्न पैसा पर्दैन। तर, रहर गरेर मात्र नपुग्ने। नागरकिता बनेको थिएन। घर आएपछि नागरकिता र राहदानी बनाएँ।
***
चरा उड्छन्। तर, उडिरहँदैनन्। गुँडमा र्फकन्छन्। वंशवृद्धिका लागि प्रकृतिले निर्धारण गरिदिएको  नियम पछयाउँछ। मान्छे उडेर, भागेर हिँड्न सक्दैन। आमाको निधनपछि बुबाले दोस्रो विवाह गरे। दाजुहरू छुटि्टए   गाउँकै केटीसँग मागी बिहे गरियो,  परिश्रम गरेर खाने हो भने जग्गा थियो। तर, यात्री मन घरमै थन्किन मानेन। 
चार महिनापछि फेरि यात्रामा निस्किएँ। यात्रीको मन पिँजडामा बस्न नसक्ने रहेछ। मलेसिया पुगेका बेला घरमा छोरो जन्मेको खबर पाएँ। छोराको न्वारानको दुई हप्तापछि यात्रामै हिँडेँ। आसियान मुलुक यात्रामा मैले आठ मुलुक छिचोलेँ। जहाँ पुग्यो, नेपाली भेटिन्छन्। देशको खबर सोध्छन्। यात्राका कष्टबारे जिज्ञासा राख्छन्।  
***
ब्रुनाई र सिंगापुरमा नेपाली भेट्दा देशबाहिर छु भन्ने भान हुँदैन  मलेसिया, इन्डोनेसिया, लेबनान, टर्की, कुवेत, साइप्रस जता पुगे पनि नेपाली भेटिने। त्यसैले त हङ्कङ्, दक्षिण कोरयिा, जापान, यमन, इजिप्ट, ओमन, दुबई र बेल्जियमको यात्रा रमाइलो भयो। पपुआन्युगिनी र फिजीलगायत केही मुलुकमा भने नेपाली भेटिएनन्। साइकल यात्रा सरकारी सहयोग वा कसैको लोगो लिएर गरेको होइन। बुद्ध धर्ममा आस्था राख्ने मसँग देशको झन्डा छ। विदेश बसेका नेपालीहरू मनकारी भेटेको छु। सन् ०१६ भित्रमा संसार घुमिसक्ने लक्ष्य छ। 
६ महिना भयो, मोरङ बयरवन-२ स्थित घरमा छु। अब क्यानाडाको साइकल यात्राको  तयारीमा छु। श्रीमतीसँग भेट नभएको चार वर्ष भयो। म आएको बेला उनी हुन्नन्। उनी आउँदा म यात्रामा हुन्छु। छोरालाई माइतीमा राखेर वैदेशिक रोजगारका लागि गइछन्। 



(अपांग विश्व साइकलयात्री पौडेलसँग भीम घिमिरेको कुराकानीमा आधारीत / २०६९ कात्तिक २६ को नेपाल साप्ताहिकमा प्रकाशित )



Sunday, October 7, 2012

मनभित्रको पर्खाल



उसले जहिल्यै दाजुलाई वैरी देख्यो । पल्लो घरसँग बोलेको देख्यो कि छोरीलाई कुट्छ । हरेक रात मत्थु भएर आए पनि दाजुको आँगन बिर्संदैन । उता हेरेर सराप्छ, थुक्छ । मत्थुले नदिएको माया खोज्न कान्छी स्वास्नी बाहिर डुल्न थाल्छे । डकैती गर्नेका साथी भन्दै छोरा पक्राउ पर्दा ऊ पुलिस चौकी जाँदैन । दाजुकै घरतिर हेरेर सराप्छ र भन्छ 'पक्रन लाउने अनि सहानुभूति देखाउने ? चाहिँदैन । मेरो छोरो दुई/चार दिन जेल परेर केही हँदैन ।' दाजुसँग बसेकी आमालाई पनि ऊ वचन लाउँछ । दुई घरका साँधमा ठूलो पर्खाल ठड्याउँछ । तर दाजुभाइ बीच वैरीको व्यवहारलाई नयाँ पुस्ताले परिवर्तन गर्छन् ।
विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबारदेखि मञ्चन थालिएको 'पर्खाल' नाटकको यो सार हो । दुई सातासम्म प्रदर्शन हुने नाटक मोरङका भरत गुरागाईंले लेखेका हुन् भने निर्देशन जीवन कुइँकेलले गरेका छन् ।पहिलो दिनको प्रदर्शनमा दर्शक त्यसबेला भावुक भए जब बाबुले लगाएको पर्खालको प्वालबाट बडाबाकी छोरी बैनीले सीतालाई भात खुवाइन् । दाजु थुनामा थियो । बाबु घर आएका थिएनन् । भोकभोकै परेकी सीतालाई पर्खालले पल्लोघर जान छेकेको थियो । सागरले आफ्नो भाइको छोरालाई छुटाउँछन् तर, भाइको व्यवहार फेरिँदैन ।
लामो समयदेखि रंगमञ्चमा काम गर्दै रहेका गुरागाईं  खलपात्रका रूपमा नाटकमा देखा परेका छन् भने निर्देशक कुइँकेल उनका सत्यवादी दाजु सागरको भूमिकामा देखिए । गुरागाइले भने 'मनभित्रका पर्खाल भत्काए मात्रै सम्बन्ध सुधि्रन्छ भन्ने थिम हो ।'२० जना कलाकार देखिने करिब एक घन्टाको नाटकलाई खेम नेपालीले सूत्रधारका रूपमा दृश्य जोड्ने काम गरेका छन् । दाजुभाइबीच कटूता भए वैरी खोज्न टाढा जानु पर्दैन भन्ने सन्देश दिने नाटकमा भाइ बिग्रएका भए पनि दाजुको चरित्र जवाफ नलगाउने प्रकारको देखाइएको छ ।
प्रमाणसहित पक्रिएका लुटेराहरू जब कुनै पार्टीका कार्यकर्ता रहेछन् भन्ने थाहा हुन्छ, त्यसबेला नेताले प्रहरी थर्काउनु नौलो होइन । तर, प्रमाण पुर्‍याएर समातेकालाई कारबाही चलाउन प्रहरी हिच्किचाउन नहुने सन्देश पनि नाटकमा छ । शनिबार दोस्रो दिनको दुई शोमा भएको प्रदर्शनमा दर्शकहरूले उल्लेख्य उपस्थिति देखाएर नाटकलाई माया गरेको कलाकर्मीले बताएका छन् ।
हाटखोला गुरुकुलमा स्थापनादेखि नै त्यसबेला जमघट बढ्छ, जब राजधानीबाट कलाकार टोली नाटक लिएर आइपुग्छन् । तर, स्थानीयस्तरमा पनि नाटय गतिविधि नबढाए नाटकघरको अस्तित्व संकटमा पर्ने बुझेका कलाकर्मी नयाँ नाटकको सिलसिला मिलाउन हौसिएका छन् । अध्यक्ष भैरव क्षेत्री भन्छन् 'यो हाम्रो लोकल प्रस्तुतिमा पाँचौं नाटक हो । सबै कलाकार स्थानीय नै हुन् ।' गुरुकुलमा कहिलेकाहीं नाटकका नियमित दर्शक पनि आफूले लेखेका नाटक लिएर आउन थालेको उनले बताए । 'हामी आफैं नाटक देखाउँछौं भन्ने पनि आउन थालेका छन्,' उनले भने, 'त्यस्ता दर्शक-कलाकारलाई पनि हामीले ठाउँ दिने र सिकाउने काम गरिरहेका छौं ।'  
(कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा २०६९ असोज २१ आइतवार प्रकाशित) 

Sunday, July 15, 2012

ऊ : (लघुकथा)

- ओहो ! धेरै वर्षपछि पनि भेट हुँदो रहेछ है !
- हो नि । यो फेसबुक पनि अचम्म । 
- मलाइ त छक्क लागेको छ । म काठमाडौंमा हो अहिले । मलाई फेसबुकमा भेट्यौ है ! के छ तिम्रो खबर ?
- ठीकै छ । चलेकै छ ।
- अनि कता हो अहिले ?
- म पोखरामा छु । तिम्रो के छ नि ?
- राम्रो छ । इण्डियन कम्पनीमा मार्केटिङ गर्छु । फ्ल्याट र गाडी दिएको छ । मेरो पनि चलेकै छ ।
- बिहे गर्‍यौ त ?
- छैन । तिमीले पत्याइनौ । खोइ हौ भनेजस्तो भेटिएको छैन । अनि तिम्रो श्रीमान के गर्छन् -
- तिमीले हिम्मत नगरेर त हो नि । भागौं भनेको मानेनौ ।केही नबनी भाग्ने कुरा नगर भन्यौ । मेरो घरमा कति दवाव आइसकके थियो । तिमी काम नलाग्ने मान्छे ।
- त्यसो नभन । आफ्नो खुट्टामा नउभिइ त्यस्तो निर्णय मेरा लागि सजिलो थिएन । तिमीलाई नै हतार भएको थियो ।
- परिस्थिति नबुझी हतार नभन । बिहे गर्न नमान्ने अरथोक चाहि गर्न अघि सर्ने ? तिमी बुझी नसक्नुको मान्छे ।
- त्यस्तो के गरें र मैले ?
- अबुझ बन्छौ ? त्यो बेला म प्रेगनेन्ट थिए । तिमी मानेनौ । घरमा थाहा भैसकेको थियो ।
- हो र ! मैले त अस्थायी साधन प्रयोग गरेको थिए नि ।
- त्यही भनन । बिहे गरेर आएपछि उसले थाहा पायो । अनि मलाई छाडेर हिडेको फेरि आएन । जीवन कसरी चलाएको छु भन्ने मलाई नै थाहा छ ।
- त्यो बेला मसँग पाल्ने हिम्मत थिएन । के गर्ने ?
- अब हिम्मत आयो ?
- अब म आफ्नो खुट्टामा उभिएको छु । घरले मलाई पाल्नु पर्दैन । तिमी के गर्छेउ नि ?
- म लेकसाइडमा होटल चलाउँछु । तिम्रो छोरो १० वर्षको भयो । छोरो आफ्नो होइन भनने थाहा पाएपछि ऊ फर्किएन ।
- ए त्यसो भए तिमी एक्लै हो अहिले ?
- हो नि । अझै केही बिग्रेको छैन । अब म तिमीलाई भेट्न आउँछु है ।
त्यसपछि जवाफ आएन । उनले देखिन् उसले अनफ्रेण्ड गरिसकेको रहेछ । उसको टाइमलाइनमा पुग्दा मित्र सम्बन्ध गरेपछि मात्रै सन्देश देखिने संकेत आयो । सन्देश लेख्न मन हुँदाहुँदै आफूलाई रोकिन् । स्कुलबाट भर्खर फिरेको छोरो युनिफर्म फुकाल्दै थियो ।

Tuesday, July 10, 2012

अर्कि झमक


तीन साताअघि भएको सानो जम्काभेटमा रेडियो व्रिटिसफोर्स ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) की पूर्वाञ्चल संवाददाता निलिफा सुब्बाले हौसिदै भनेका आधारमा हामी दोस्री झमककुमारी अर्थात लक्ष्मी साम्पाङ राइ खोज्दै सुनसरीको पाँचकन्या-८ गैरीगाउँमा पुग्यौं । मनभरि जिज्ञासा बोकेर गोरखा भुपु सैनिक संघ गेसोका केही पदाधिकारीका साथ दिनको ४ बजे हामी धरान-धनकुटा सडकलाई बायाँ पारेर गाउँ मोडियौं ।
साना आकारका मोटर मात्र जान सक्ने साघुरो पहाडी बाटोहुदै आधा घण्टाको मोटरसाइकल यात्रापछि खेतको आली-आली भएर उनको घर पुगियो । उनी एक्लै भेटिइन, खुट्टाले कविता लेख्दै । उनले आफ्नो अस्थिर मुन्टो हल्लाउदै स्वागत गरिन् । मुश्किलले ज्रि्रो चलाउदै बोल्ने लक्ष्मीले तत्कालै सबैको परिचय मागिन् र झोलाबाट डायरी निकालेर दाँया खुट्टाले सबैको नाम, टेलिफोन नम्बर पनि टिपिन् । उनलाई केही उपहार दिन र उनका कविता, गजल-गीत पनि सुन्न आएको जानकारी निलिफाले दिएपछि  तत्कालै खुट्टाले डायरी पल्टाउँदै कविता वाचन गरिन् - 

रून मन थिएन मलाई, तैपनि आज रूनै पर्‍यो
सम्झीन मन थिएन मलाइ, तैपनि आज सम्झीनै पर्‍यो ।
हालसम्म साहित्यिक पुस्तक-पत्रिका पढ्न नपाएकी लक्ष्मीले ६५ वटा गीत, नौ गजल, आठवटा कविता र तीनवटा कथा लेखेको बताइन् । पहिलोपटक राम्रो पुस्तक अध्ययन गर्न पाएको नै झमक कुमारीको 'जीवन काडा कि फूल' मात्र हो । उनले भनिन्, 'गाउँमा म जस्तो अपांगलाई कसले किताब किनेर ल्याइदिने ? धन्न त्यो पनि निलिफा दिदीले ल्याइदिनु भयो । खुव राम्रो लाग्यो । त्यस्ता किताब धेरै पढ्ने इच्छा छ ।' डायरीमा सीमित उनका अधिकांश गीत कविता, गजल र कथाहरूमा युवा प्रेमका भावनाहरू छन् । 
निलिफाले सोधिन्, 'प्रेमको विषयमा मात्रै गीत गजलमा किन लेखेको लक्ष्मी ?' नधकाई उनले जवाफमा भनिन्, 'प्रेम बिना त को बाँच्न सक्छ ? घृणालाई जित्ने नै एकमात्र माध्यम हो प्रेम । तर, मजस्ता शारीरिक अपांगलाई मानिसले दया र सहानुभूति मात्र दिन्छन् । हामीलाई माया र प्रेम चाहिएको छ । यसले नै मानिसलाई जिउन सिकाउँछ ।' 
खुट्टाले लेख्न जान्ने भएपनि उनी हिड्डुल गर्न सक्दिनन् । सुरू सुरूमा रेडियोलाई साथी बनाएको बताएकी उनले किशोरी उमेरसँगै केही बुझने भएपछि साहित्य पढ्ने र कवयित्री बनेर परिचय बनाउने दृढता लिएको बताइन् । आर्थिक विपन्नताले उनलाई रूचीअनुसारको अध्ययन सहज छैन । बाबु वीरकुमार र्राई हाल कान्छी श्रीमतिका साथ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुकका रूपमा कार्यरत छन् । उनलाई जन्म दिने आमा सवनम राइले अर्कै युवकसँग विवाह गरेपछि उनी सहाराविहिन बनिन् । उनका दुइ बहिनी विवाह गरेर अर्काको घर गइसकेका छन् । घरमा वृद्धा हजुरआमा मात्र उनको सहारा हुन् । जग्गा जमिन छैन । जीविका बडो असजिलो झेल्दै चलेको छ ।
जन्मेको नौ महिनापछि शारीरिक रूपले अपाङ भएकी लक्ष्मीले कविता सुनाइसकेपछि हाँस्दै सानो स्वरमा भनिन्, 'स्कूल पढ्न पाएको छैन । मेरो ज्ञानको माध्यम रेडियो मात्र छ । टेलिभिजन राखेको पनि एक महिना जति मात्र भयो । मलाई धेरै जान्ने चाहना छ ।' ०४५ साल असोज १६ गते धरानमा जन्मेकी लक्ष्मीले विद्यालयका कक्षा कोठा, पढाउने शिक्षक र पाठ्यपुस्तक देख्न नपाएपनि रेडियो सुनेको भरमा कविता, गीत, गजल र कथा लेख्न थालेको बताइन् । दुवै हात चल्दैनन् । खुट्टा पनि सामान्यसरह सक्रिय छैनन् । आखा र कान भने केही सक्रिय भएकाले साहित्यको भोक जागेको छ । कुनै उपाय नभएपछि उनले निष्त्रिmय खुट्टालाई सक्रिय बनाउन रात-दिन मेहेनतमात्र गरिनन्, चिटिक्क परेका, शुद्ध शब्द लेख्न सक्नेसम्म क्षमता विकास गरिन् । 
आमाको गर्भबाट सात महिना मै जन्मेकी लक्ष्मीको बसाइ पत्रपत्रिका र पुस्तक सजिलै नपाइने गाउँमा छ ।  अध्ययन गर्ने इच्छा पुरा गर्न उनले अनौपचारिक शिक्षा पढि्न् । घर नजिकै उपलव्ध भएकाले यो मौका जुर्‍यो । अनौपचारिक शिक्षामा अव्वल आएपछि उनले बुवा वीरकुमारलाई कुनै स्कुलमा भर्ना गरिदिन आग्रह गरिन् । तर बुबाले पनि 'अब जान्ने भइस्, तैले धेरै पढेर के गर्छस् र ?' भनेर टारिदिएपछि खिन्नहुँदै घरैमा बस्न बाध्य भएको उनले सुनाइन् । भलाकुसारीपछि गोभुपु सैनिक परिवारले उनलाई एउटा मोवाइल सेट, केही डायरी र कलम उपहार दिए ।
गेसोका गजेन्द्र इस्वो, रमेश र्राई, दानबहादुर र्राई, चन्द्रमाया लिम्बू, विना र्राई (लिम्बु), हङकङका देवराज र्राई, सरोजा र्राई बेलायती सेनामा कार्यरत मुकेश राइलगायतको टोलीले उनको बारेमा जानकारी लिए । प्रतिभालाई कदर गर्दै मोवाइलमार्फत आफ्ना चिनारू साथीसँग बोल्नको लागि गजेन्द्र इस्वोले एक बर्षका लागि मासिक पाँच सयका दरले रकम व्यहोर्ने घोषणा पनि गर्दा लक्ष्मीको अनुहारमा थप उज्यालो कुदेको थियो । 'थ्याङ्क्यू, थ्याङ्क्यू सो मच थ्याङ्क्यू,' उनले हौसिदै भनिन्, 'तपाइहरूको गुन म कसरी तिर्नु ? आफ्ना सृजनामार्फत यो समाजलाई केही दिन सक्छु भन्ने साहस पलाएको छ ।' 
उनको साहित्यप्रतिको रूची र प्रतिभा देखेर पूर्व ब्रिटीस गोरखा सैनिक रमेश राइले निकट भविष्यमा कविता संग्रह प्रकाशित गरिदिने घोषणा गरे । अरूले पनि कविता संग्रहकालागि आर्थिक सहयोग गर्ने भन्दै ताली बजाए । उनी  खुशीले हाँसिन् । स्व-अध्ययनको भरमा समान्य अंग्रेजी पनि बोल्ने सक्ने भएकी लक्ष्मीले ल्यापटप पाए खुट्टाले चलाउने इच्छा पनि व्यक्त गरिन् ।

                                                                                   -शब्द/तस्बिर : प्रदीप मेन्याङ्बो

(२०६८ भदौ अन्तिम साता  कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करणमा प्रकाशित यो फीचर संग्रहका लागि ब्लगमा साभार गरेको छु । -भीम) 

Saturday, July 7, 2012

रित्तो गुँड


कुथुर्केलाई बाँधेर राखेको केटोले भनेको थियो, 'मलाई सुगाजस्तो लाग्यो । त्यसैले समातेँ ।' किशोरावस्थामा चरा समात्नु कुन नौलो घटना हो र ! अनि गुलेली बोकेर हिँड्ने उमेर पनि १० देखि १७/१८ को हाराहारी चल्छ । मैले सम्झाएँ 'भाइ, यो सुगा होइन । छाडिदेऊ । जान देऊ यसलाई ।' उसले पनि मान्यो । छाडिदियो । एउटा 'फोकस आउट' चित्रको लघुकथा यहाँ सकियो । 
उसले जहाँबाट कुथुर्केलाई समातें भनेर देखाएको थियो, दोस्रो दिन मैले त्यो नरिवलको बोट वरपर दुई घन्टा बिताएँ । चर्को घाममा क्यामेरा बोकेर उभिएको मान्छे देखेर गोदामका पालेदाइ नजिक आए । भने 'हेर्नुस् भाइ, मैले देखेसम्म फटाहा केटाहरूलाई धपाउँछु । म नभएका बेला मौका लाउलान् भन्ने लागिराख्छ । आखिर जागिर चरा रुङ्नका लागि होइन । के गर्ने ?' उनले रुङ्ने गोदामछेउ विराटनगरको कलेज रोडमा तरकारी खेती गरिएको जमिनमा चरा आश्रय थियो । 
कुथुर्केका पछि लागेर पुगे पनि नयाँ दृश्य देख्न मिल्यो । यहाँ एक जोडा सुगा पनि बस्दा रहेछन् । कुथुर्केको जोडाको गुँडरूपी दुलाको केही मास्तिर । अलि ठूलो प्वालमा । मलाई देखेर धेरै बेर सुगा गुँडमा गएनन् । बगाले भ्याकुरको एउटा हूल हल्ला गर्दै आयो । उनीहरूले मान्छेरूपी शत्रुको उपस्थिति हल्ला गरे । सुगा करायो, कुथुर्के पनि करायो । केही बेरमा रूप्पी(डांग्रे) र काग पनि भेला भए । मानौं उनीहरू मलाई गाली गरिरहेका थिए, 'तँ यहाँ के गर्न आएको ? गै जा ।' मलाई पालेदाइले उनीतिर बोलाए । उनको सानो अफिस कोठामा 'बसौं' भने ।
 ***
'यो दोस्रोपल्ट हो,' राई थरका पालेदाइले सुनाए 'पोहोर एकपल्ट सुगाले चल्ला हुर्काएर उडाइसक्यो । यसपालि फेरि आएको छ ।' उनलाई संशय थियो सुगालाई कसैले पक्रेर लैजाने हुन् कि । आधा दर्जन नरिवलका बोटमध्ये पन्छीले डेरा बनाएको बोट बूढो भएर सुकेको थियो । टुपा थिएनन् ।
नाम र नम्बर टिपेपछि दाइ बोले 'म यहाँ खिच्न मिल्ने गरी केही भयो कि भाइलाई फोन गरूँला । मेरो पनि ड्युटी दुई ठाउँ बजाउनुपर्छ । यो गोदाममा परेका बेला चाहिँ याद गर्छु ।' सयौं मान्छेको दोहोरीलत्त भइरहने सडकछेवैको उनको टुंगो । भित्र आउनेहरू सामान राख्न, झिक्न, आउने गाडी, चालक-सहचालक वा रिक्सा-ठेलावाल हुन्छन्, कि त गोदाम कर्मचारी वा साहुजी । नजिकै वर्षौंदेखि आश्रय लिएका चरा धेरैको ध्यानमा पर्ने कुरा थिएन । त्यसैले यस्तो सोधीखोजी उनका लागि अचम्मको घटना थियो । भने 'पचास पुगियो होला, मैले आफैं सुगा घरमा मान्छेले पालेको मात्रै देखेको । गुँड लगाएर चल्ला हुर्काएको यहाँ देख्न पाउँदै छु ।'
गुँडमा फूल पारेर रुँगी बसेका केही चराका बानी अनौठा छन् । भालेले ल्याइदिएको खाने । भाले कतै गुलेली, बन्दुकको सिकार भए वा ब्याधाको फन्दामा परे पोथीको इहलीला गुँडमै सिद्धिने । अझ सन्तान कोरलेका जोडीहरू व्याधाद्धारा समातिए वा मारिए भने खान नपाएर चल्ला मर्छन् । 
***
तेस्रो दिन गोदामघरको गेटमा राई दाइ थिएनन् । सायद ड्युटी अन्तै थियो । पाले पोसाकमा अलि पातला काला-काला वर्णका अर्का एकजना भाइ थिए । दाइले मेराबारेमा उनलाई भनिसकेछन् । त्यसैले उनले सजिलै भित्र पस्न दिए । गोदाम हातासँगै उत्तरको पर्खालछेउ तस्बिरका लागि मेरो विषय त्यही ठुटो नरिवलको बुटो थियो । 
अस्ति म आउँदाताकाजस्तै हल्ला छ । चरा कराइरहेका छन् । नजिक पुगेपछि देखियो । मुन्तिर सेतो टाटेपाटे ढाडे बिरालो बसेको थियो । क्यामेरा सोझ्याएको देखेर ऊ झाडीमा लुक्यो । मेरो उद्देश्य त्यसलाई धपाउनु थिएन । तर, फेरि उसको फोटो लिन खोज्दा भाग्यो । फेरि देखिएन । 
प्रकृतिले सबै प्राणीका लागि जीवन-चक्रको सन्तुलन मिलाएको छ । एउटाले अर्कोलाई आहारा बनाउँछ । तर, यो नियममा आहारा बन्नेका वंश सिकारी जन्तुले पूरै नास्न सक्दैनन् । जोगिन सक्नेहरू वंश बढाउँछन् । मान्छेका हस्तक्षेप पन्छीका लागि प्रकृतिको सामान्य सिकारी जन्तुसरहको हुन सक्छ । तर, मात्रा बढ्ने हो भने सिकार गरेर बाँच्ने जन्तुका आहारा खोसिन्छन्, वंश बढाउन कसरत गर्ने पन्छीका समूल लोपको संघारमा पुग्छन् ।
***
भारतको दिल्लीका पंकज गुप्ताले कमेन्ट लेखिहाले- 'यो नियमविपरीत भयो । फोटो हटाउनुस् ।' चरा मन पराउनेहरूको फेसबुक समूह 'इन्डियन बर्डस्' मा सुगाको बचरो गुँडबाट बाहिर चिहाउँदै गरेको तस्बिर थियो, जसमा उनले कमेन्ट गरेका थिए । मैले प्रतिवाद गरिँन । तुरुन्तै तस्बिर हटाएँ । अनि उनलाई इ-मेल लेखें, 'पंकजजी, चराप्रति म पनि संवेदनशील छु । यो करिब ६० मिटरको दूरीबाट लिएको तस्बिर हो । खिच्दा चराले मेरो उपस्थिति थाहा पाएन । मैले उसलाई बाधा नगरी लिएको थिएँ ।' उनले उत्तर फिराएनन् ।
सामाजिक सञ्जालभित्र चराप्रेमीको समूहमा हाल ७ हजार ९ सय ४५ जना सदस्य छन् । एउटा सदस्यले दिनमा बढीमा दुईवटा फोटो पोस्ट गर्न सक्छ । सदस्यका लागि केही खास नियम छन् । खिच्दा फ्ल्यास प्रयोग गर्न नहुने, चराको जंगली अवस्था वा ऊ स्वतन्त्र अवस्थाको तस्बिर हुनुपर्ने, पालेका वा मानिस नियन्त्रित हुन नहुने, आफैंले खिचेको हुनुपर्ने, गुँड, माऊबिनाका चल्ला र प्रजनन् गर्दै रहेका अवस्था हुन नहुने आदि । चराका तस्बिर लिनेहरूका लागि पालन गर्नैपर्ने यी खास नियमहरू पनि हुन् । समूहमा दैनिक सयौं तस्बिर अपलोड गरिन्छन् । तस्बिरपिच्छे दर्जनौं कमेन्ट लेखिएका हुन्छन् । चराका आनीबानी र वैज्ञानिक नाम थाहा नपाउनेका लागि समूहले खुला छलफलको फोरम पनि बनाइदिएको छ । दक्षिण एसियाली मुलुकका विभिन्न देशमा अर्थोकै पेसा गरे पनि चराका तस्बिर खिच्दा रमाउनेहरू यहाँ तस्बिर सेयर गर्छन् । 
धेरै चराचुरुङ्गी मान्छेका हस्तक्षेप सहँदैनन् । प्रतिकार नगर्लान् तर गुँडमा बाधा महसुस भए छाडेर जान्छन् । जो कसैले साना बचरा हुर्काउन र फूल सुरक्षा गर्न सम्भव हुने कुरै भएन । मैले सुगालाई बाधा पारेको थिइनँ । उसका गतिविधि निकै परको अग्लो घरको बरन्डाबाट खिचेको थिएँ । पुस्तक पल्टाएँ । मैले खिचेको पन्छी 'रोज रिङ्ड पाराकीट' भनिने कण्ठे सुगा थियो । यसको भालेको कठालोमा कालो-गुलाबी रंगको घेरा हुन्छ । पोथीको हुँदैन । हेल्म फिल्ड्स गाइड्सको पुस्तकमा नेपालमा सातथरीका सुगा पाइने उल्लेख छ । मकै खान मन पराउने सुगाले पहाडी गाविसहरूमा किसानलाई हैरान पार्छन् । 
एनिमल वर्ल्ड डटकमका अनुसार सुगा संसारभरका देशमा पाइन्छन् । हालसम्म १ सय २० प्रजाति र उत्तिकै उपप्रजाति पाइएका छन् । सामाजिक बानी, मान्छेका आवाजको नक्कल गर्न सक्ने खुबी र आकर्षक रूपरंगका कारण पाल्नेहरूले यो चराको किनबेचको बजार बढाएका छन् ।  
***
तीन हप्ता बित्यो । यस बीचमा चार दिनका लागि म काठमाडौं पनि पुगेर फिरें । दिनचर्याका अरू कामले फेरि त्यो सुगाको गुँड चिहाउन निकै पछि फुर्सद मिल्यो ।  गुँड देखिने ठाउँमा उभिएर फेरि एक घन्टा बिताएँ । सुगा जोडी र बचराको चालचुल देखिएन ।
नजिकैको चिया पसलेले बताए, अस्ति कुथुर्के समात्ने केटाले चढेर बचरा झिकेर लग्यो । त्यसपछि सुगा आएनन् । मैले त्यो केटाको ठेगाना सोधें । यकिन ठेगान थिएन, ऊ इटहरीमा कतै बस्न थालेको छ रे । सुगा पाल्छु भन्दै लगेछ । पाल्यो वा बेच्यो चिया पसलेलाई टुंगोको कुरा थाहा थिएन । यो संरक्षितमा पर्दैन । मैले फोटो खिच्दा मेरो चरा समूहले बनाएका कडा नियम सम्झीएँ । अनि लाग्यो, कसैका साना नानीहरू अपहरित हुँदाजस्तो भयो होला ती पन्छीका जोडीलाई । उनीहरूले उजुरीको कुनै निकाय पनि त छैन । तस्बिर खिच्न कसैले नियम पालन गरे पनि ब्याधाहरूलाई यस्ता नियमले भेट्दैन भन्ने पक्का भयो । आउँदा-जाँदा हिजोआज म फेरि त्यो गुँड हेर्छु । जोडी फेरि देखिएको छैन । गुँड रित्तो छ । 


(२०६९ असार २३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)

Friday, July 6, 2012

बैंस फुलेछ..



'हतारले डायरी छुटेछ आज,' हारमोनियम सम्हालेपछि मणिकमल क्षेत्री बोले, 'पूरा गीत सम्झन सक्तिनँ होला । जति याद हुन्छ त्यति सुनाउँछु ।' सुशीला कोइराला नाटकघरमा संगीतका श्रोताहरू खचाखच थिए । तिनलाई तीन दशकअघिको सांगीतिक दुनियाँमा पुर्‍याए । अरुणा लामाले गाएको यो गीत हरिभक्त कटुवालको रचना थियो,  जसलाई संगीतबद्ध गरेका थिए मणिकमलले ।






हाँगा हाँगा वनभरि चैत फुलेछ 
थाहा नपाई मनभरि बैंस फुलेछ... 

कपालले मित्रता छाडेपछिको शिर टल्काउँदै ६४ वषीय संगीतकार पनि विगतमै पुगे । 'पहिले एनालग रेकर्डिङको सिस्टम थियो,' उनले भने, 'रेडियो नेपालको फित्ते रेकर्ड जापान पुगेर मात्रै सुन्न मिल्ने भएर आइपुग्थ्यो । अहिले धेरै सुविधा छ ।' 
                   झापाको दमकमा रहेर संगीत साधनालाई निरन्तरता दिइरहेका उनी सुगम संगीतमै रमाए । उनले 'हिउँचुलीमा हिउँ बग्यो, 'थाकखोलामा पानी...' र 'पानीको हुन्छ मूल...' पनि सुनाए । आपmना पुराना सात गीत समेटेर एल्बमको तयारीमा रहेका उनी अहिले तीन नयाँ गीत आफैं गाउने अभ्यासमा छन् । 'रामकृष्ण ढकाललाई दिएको एउटा गीत मैले एल्बममा समेट्न खोज्दा म्युजिक कम्पनीले गायकको अनुमति लिएर आउनु भन्यो,' उनले भने, 'मैले संगीत दिएर पारिश्रमिकको नाममा केही नपाएको गीतको अनुमति मैले नै माग्नुपर्ने ? सुरुमा नराम्रो पनि लाग्यो । रामकृष्णले सजिलै अनुमति दिए ।' त्यो पनि अबको एल्बम आउनेछ ।

गोपाल योञ्जन, अरुणा लामा र नोर्देन रुम्बासँगका सम्झना बटुल्दै सुगम संगीतका लागि अझै धेरै गर्न सकिने उनले बताए । 'अहिले नेपाली गीतमा गजलको युग आएको छ,' उनले भने, 'यसले गीतमा स्तरीयता बढाउँछ ।' 
विराट कला केन्द्रको पाँचौं वाषिर्कोत्सव अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका मणिकमलले वरिष्ठ कलाकर्मी गणेश रसिकलाई सम्मान हस्तान्तरण गरे । कार्यक्रममा केन्द्रका प्रशिक्षार्थी कलाकारलाई अध्यक्ष उदीयमान गायक साजन राईले आपmनो गीत 'तिमी गयौ र यो दिल खाली भो...' बाट हौसला बढाए । कार्यक्रमको अन्त्यतिर कलाकर्मीलाई रसिकले पनि साथ दिए । कार्यक्रममा कलाकर्मीले नृत्य र प्रहसन पनि प्रस्तुत गरेका थिए । 

(२०६९ बैशाख ९ मा कान्तिपुर कला र शैलीमा प्रकाशित यो सामाग्री संग्रहका लागि ब्लगमा साभार)

सारंगी रेटियो लेटाङमा


सारंगी रेटौंला मौका मिले फेरि भेटौंला 
फेरि भेट्ने कैलेकैले मन पोल्छ ऐले
यत्रो दिन कसो गरी एक्लै बस्नु मैले...


परदेश हिँडेका पति छिट्टै आउने वाचा गर्छन् । अब कसरी बसँुला भन्दै पत्नी विरह बोल्छिन् । गीत चर्चित हुनुका पछि जिब्रोमा बसिहाल्ने लय र युगलका संवादमा मिलेको भाखा त हुँदै हो, त्यसमाथि अभिनेता हरिवंश आचार्यको स्वर पाउनु हो । यसको म्युजिक भिडियो पनि उत्तिकै मन पराइएकोमा पर्‍यो । गीत त्यसै बनेन । घरबाट टाढा विदेशमा रोजगारीमा रहेका सर्जकको घर आँउदा-जाँदाको अनुभव गीतका रूपमा पोखिएको हो ।  
जर्मनीको म्युनिखमा कार्यक्रम लिएर पुगेका मदनकृष्ण श्रेष्ठ र हरिवंशका लागि उद्घोषक थिए— खड्ग न्यौपाने । ठेट शब्दहरूको आधिक्य रहेको उनको लयात्मक बोलीमा सहभागीहरू मोहित भइरहेका थिए । रसिला उद्घोषक कलाकारहरूलाई झन् मन नपर्ने कुरै भएन । त्यहीँ सुनेको 'सारंगी रेटौंला...' हरिवंशले मागेर ल्याएर स्वरबद्ध गरे ।
म्युनिखमा एक दशकदेखि रोजगारी गर्दै रहेका मोरङको लेटाङका उनै न्यौपानेले यस घडी 'सारंगी रेटौंला' शीर्षकमा गीति संग्रह निकालेका छन् । 'बाल्यावस्थादेखि नै गीत गाउन मन पराउने र मञ्च उक्लिने' उनले गायनलाई निरन्तरता दिन सकेनन् । घर-व्यवहारले अर्को बाटो समाउन लगाएपछि उनको हात चल्न थाल्यो । परदेशका प्रसंग, गाउँघरका उकाली-ओराली, तल्लाघरे माथ्लाघरेका दिनचर्या, प्रेम र विरह आदि उनका विषय बने । यो संग्रहका ४१ गीतमा यस्तै सन्दर्भ छन् । 

आएँ मुग्लान सम्पत्ति कमाउन
पाइनँ केही फेदटुप्पो समाउन
काम छैन दाम पनि छैन 
बस्ने सुत्ने ठाउँ पनि छैन
परदेशको बास
जीवन बित्ने भो छैन केही आस...


लेटाङ बजारमा मंगलबार प्राज्ञ अनिरुद्र तिम्सिनाले 'सारंगी रेटौंला' सार्वजनिक गर्दै यसले परदेशमा बसेका नेपालीको भोगाइ र मातृभूमिप्रतिको प्रेमलाई चित्रण गरेको टिप्पणी गरे ।घर आएको मौका सदुपयोग गर्दै गाउँमै संग्रह विमोचन राखेको उल्लेख गर्दै न्यौपानेले भने, 'म गीत लयमा सोच्छु । लयमा लेख्छु ।'न्यौपानेका यसअघि 'आह्वान' र 'हल गोरु दाउँदै' (एल्बम), 'किसान' (कविता संग्रह) र 'प्रवास' (एकांकी) बजारमा आएका छन् ।


(कान्तिपुर कला र शैलीमा प्रकाशित मिति: २०६९ असार २१)

Thursday, June 28, 2012

‘Mastermind’ of Babarmahal blast held; owns up bombing


-Bhim/Lila Ballav
BIRATNAGAR- Police have arrested a man said to be the mastermind of the February 27 Babarmahal blast in the Capital that killed three persons.

Rajkumar Tamang, aka Bishwokranti, who had been hiding in an animal shed at Lungaruppa VDC-2 in Panchthar, was arrested on Monday night and brought to the Eastern Regional Police Office at Biratnagar, said Deputy Superintendent of Police (DSP) Bhim Dahal.
Explosives and documents belonging to the Samyukta Jatiya Mukti Morcha, an underground outfit of which Tamang is the spokesperson, were recovered from him. Tamang was made public on Wednesday. He admitted to the deadly blast outside the office of the Nepal Oil Corporation at Babarmahal. “Taking innocent civilians lives was not our intention at all,” he said. Tamang, however, did not say why the bombing was carried out. Police also did not say what the motive actually was. They said they are still investigating the incident. Deputy Inspector General (DIG) Surendra Bahadur Shah said Tamang had been living around the eastern hill district of Panchthar for the last three months. In the wake of the bombing, he had fled to Sikkim, a state in India bordering parts of eastern Nepal. He then made his way to Panchthar, police said.
“He had been active all this while, building support for his group by taking former Maoist combatants and activists of the Kirat Janawadi Workers’ Party into confidence,” Shah said. “Investigations also found that he was planning to carry out bombings in Ilam, Jhapa and Panchthar.” After the Babarmahal bombing, Tamang called several media houses using the alias of Bishwokranti and in some cases, Devraj Lama, and claimed responsibility for the incident. When the police traced his calls, two locations in Dhankuta and Ilam came up. The number Tamang had used belonged to one Madan Tamang, who has also been arrested.bombing from Pg 1
Later, the police learnt from sources that he had been spotted in Lungaruppa VDC in Panchthar. Based on this information, the police raided Tamang’s hideout on the night of June 9, but were unable to find him.  “On Monday night, we carried out another raid. This time it was at an animal shed, which is three-hours uphill from his previously reported hideout. We besieged the place and caught him unawares,” Dahal said.
Tamang was taken to the Capital on Wednesday. The police have already arrested Bhim Bahadur Tamang, Nima Dorje Tamang, Buddhi Bahadur Gole, Prem Tamang, Sagar Lama and Suresh Lama of their suspected involvement in the blast. 



Tamang’s career




Tamang began his political career when he was a student at the Jalpadevi Secondary School in Dhankuta during the late 1980s. He was then an activist of Nepal Students Union, the student body of the Nepali Congress. Later on, he joined the CPN-UML and rose to the post of party regional vice chairman. After the UML split, Tamang joined the breakaway faction CPN (Marxist-Leninist). 



During this time, he started a travel and trekking company and in early 2000, went to Canada. Police later found that Tamang also travelled to Afghanistan, where he worked as a security escort. After his return to the country, he rejoined politics as coordinator of the Nepal Janatantrik Tamang Morcha and later joined the Ramraja Prasad Singh-led Navajanabadi Morcha, of which he became the central vice chairman. He also contested the 2008 Constituent Assembly elections from the party in Kathmandu constituency-3. He began an armed rebellion after forming the Samyukta Jatiya Mukti Morcha in 2010. 



The same year, Tamang and his outfit reportedly carried out bombings at the central offices of the Rastriya Prajatantra Party Nepal and the Rastriya Janamorcha Party. The group was also linked with a blast at a Dhading-based crusher industry, roadside bombings in the districts of Bara, Parsa and Rautahat and most recently, the Babarmahal bombing.




(Published in The Kathmandu Post 0n 2012-06-28 )

Tuesday, June 26, 2012

गए नरम भाषाका विद्रोही कवि


काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन 
काठमाण्डू एक्लैले
अब सिङ्गै नेपालको 
अर्थ लाउन सक्दैन 
काठमाण्डू भित्रभित्रै गुम्सिसकेको छ 
मञ्जुश्रीको अर्को तरबारको
विकास खोजिरहेछ ऊ
युगका गह्रौं पाइलाहरू अब
धेरै बोक्न सक्दैन 
यसैले बग्ने निकास
खोजिरहेछ ऊ...

झन्डै चार दशकअघि कामको सिलसिलामा काठमाडौं खाल्डो पुग्दा संघीयताको आवश्यकता संकेत गर्ने यस्तो कविता फुराएका दूरदर्शी स्रष्टा कृष्णभूषण बल संसारबाट बिदा भएका छन् । गत शुक्रबार मर्निङवाकबाट फिरेपछि नुहाउन बाथरुम पसेका बेला ६५ वषीय कविलाई ब्रेन हयामरेज (मस्तिष्कघात) भएको थियो । उनकी श्रीमती शोभा लामाका अनुसार, त्यो बिहान उनलाई तत्काल न्युरो अस्पताल पुर्‍याइएको थियो । त्यसयता कोमामा राखिएका बललाई चिकित्सकले सोमबार साँझ साढे सात बजे मृत घोषणा गरेका हुन् । बल उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । जीवनसंगिनी नर्स भएकाले उनको खानपान सन्तुलित थियो, औषधि नियमित थियो ।  

कवि सुमन पोखरेलका अनुसार, बलको पार्थिव शरीर सोमबार बेलुका नै विराटनगर-१३ स्थित उनको निवास लगिएको छ । मंगलबार अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर दुई घन्टा हाटखोलास्थित आरोहण गुरुकुल परिसरमा राखिनेछ । त्यसपछि पोखरियास्थित परोपकार घाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । बलका श्रीमती, एक छोरा र छोरी छन् । इलाममा जन्मेका बलले लामो समय नेपाल राष्ट्र बैंकमा जागिरे जीवन बिताएका थिए । अवकाश प्राप्त भएपछि एक दशकयता उनी वाणी प्रकाशनका अध्यक्ष थिए । नेपाली लेखक संघका सहअध्यक्ष उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् पनि थिए । जागिरे दिनचर्यालाई उनले कुनै समय कवितामा यसरी लेखेका छन् : 

कार्यालय आउँछन् थचक्क बस्छन् 
ऊभित्रको कविलाई निकालेर टेबलमा राख्छन् 
पेपरवेटले थिच्छन् र जतन गर्छन् 
स्वाभिमानलाई झोलामा राख्छन्,
जति जानेका हुन् बिर्सन्छन् 
अप्ठेरो हाकिमलाई सबैभन्दा विद्वान् मान्छन् 
कार्यालयको परिचयपत्र घाँटीमा
डोरीले बाँधेर झुन्ड्याउँछन्
मानौं, त्यही डोरीले भैंसी बाँधेझैं
उनी बाँधिएका छन् 
र कार्यालय अवधिभर   भूषणजी  यसरी नै बाँच्छन् 
बेलुकी पाँच बज्नासाथ भूषणजी  घरतिर लाग्छन् 
टेबलमा थिचेर राखेको कविलाई आफूभित्र हाल्छन् 
दिनभरि थला परेको कविलाई
सुरापान गराउँछन् 
कहिले त्यति बेलै लेख्छन् र च्यात्छन्
नभए बिहान लेख्छन् र हेर्छन्...

पञ्चायतकालमा 'सुनाखरी लामा' नामबाट 'देशान्तर' साप्ताहिकका स्तम्भ लेख्ने बल नरम भाषामा विद्रोह बोल्ने कविका रूपमा चिनिँदै आएका थिए । यही विशेषताका कारण उनी तत्कालीन प्रशासनको कोपभाजनमा पर्ने गरेका थिए । उनलाई पछिल्लो समय नजिकबाट संगत गरिरहेका रंगकर्मी खेम नेपाली भन्छन्, 'नेपाली कवितामा भूपि शेरचनपछि उहाँको स्थान छ । उहाँका कविताको ओज कहिल्यै हराउनेछैन ।' 


सरल व्यक्तित्वका धनी कवि बलको गत साउनमा हाटखोलाको गुरुकुलमा एकल कविता वाचन कार्यक्रम भएको थियो । उनी युवा सर्जकहरूलाई पनि सिर्जनामा लागिरहन प्रेरणा दिन्थे, हौस्याउँथे । साहित्य लेखनमा धेरै पुरस्कार पाएका उनी कृतिको चाङ बढाउनुभन्दा थोरै तर गुणस्तरीय सिर्जनामा रुचि राख्थे । प्रकाशित कृतिको सूची लामो नभए पनि उनका काव्यचेतलाई नेपाली साहित्यमा विशिष्ट मानिन्छ । 'दाज्यु तिम्रो हात चाहिन्छ' (खण्डकाव्य), 'भोलि बास्ने बिहान' र 'द फुल मुन एट द रिभरब्यांक' आदि उनका प्रकाशित कृति हुन् ।  

गत वर्ष कवि बलका विषयमा प्रकाशित गुरुकुलको लेखोटमा स्रष्टा कृष्ण धरावासीले लेखेका छन्, 'तीसको दशकका समकालीन कविहरूभन्दा अलग्गै रूपमा बललाई उनका कविताले उभ्याउँछन् । निरंकुशताप्रतिको विद्रोह र स्वतन्त्रताको चेतना उनका कविताको मुल स्वर हो ।' 

(कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा प्रकाशित मिति: २०६९ असार १२)


कवि बलको बिदाइ



विराटनगर, असार १२ - 

नाटकघरको आँगनमा बिहानैदेखि बाटो कुर्नेहरूले समयको भेउ पाएका थिएनन् । मंगलबार १० बज्दा पनि नआइपुग्दा अधैर्यहरूको भीडले 'बलको बलेसी' घेरा हाल्यो । लामाहरूले विधि पुर्‍याए । कफिन आइपुग्यो । कविको पार्थिव शरीर त्यसमा राखिएपछि सेतो धजामुन्तिर उभिएर श्रद्धाञ्जली दिनेको र कफिन बाकस उचाल्न हात उठाउनेको लस्कर बाटासम्मै आइपुग्यो ।
मस्तिष्काघातले सोमबार साँझ दिवंगत कवि कृष्णभूषण बलको शवयात्रा घरबाट संसारी माईस्थान हुँदै वाणी प्रकाशन पुग्यो । मिनी टि्रपरमा राखिएका उनलाई अन्तिम बिदाइ गर्नेले बाटाभरि नै भीड बनाइरहे । 
मध्याह्नको चर्को घाम छिचोलेर शवयात्राको लर्को हाटाखोलास्थित आरोहण गुरुकुलको नाटकघरको प्रांगणमा पुग्यो । बाटा ढाकेर सवारीसाधनको भीडले थाहा नपाएकाहरूलाई पनि बलको बिदाइबारे अवगत गरायो । भाषाशास्त्री बालकृष्ण पोखरेलले राष्ट्रिय झन्डा ओढाए । उपमहानगरभित्रका अधिकांश साहित्यिक कार्यक्रममा दुई जना अतिथि अनिवार्य जस्तै हुन्थे । पोखरेल र बल । वयोवृद्ध पोखरेल गफिन रमाउने, बल सुनिदिन मन पराउने । थोरै बोल्ने, अनि अरूलाई ध्यान दिएर सुनिदिनेहरू स्रष्टाले मन पराउने मान्छे हुँदै हुन् । उमेरमा कान्छा भए पनि पोखरेललाई सम्मान गर्दै साहित्यमा पछयाउन मन पराउने भएकै कारण बल उनका पि्रय थिए । 
झन्डा र फूलमाला अर्पण गरेर भाषाशास्त्री टि्रपरबाट ओर्लिए । भीडलाई हेरे । केहीबेर बोलेनन् । अनि श्रद्धासुमन अर्पण गर्नेलाई बाटो देखाउन थाले । फोटो खिच्न खोजिरहेकाहरूलाई बोलाएर भने, 'उः त्यो माथि गए सबै प्रस्ट देखिन्छ । तलबाट सबै आउँदैन ।' 
गुरूकुलमा मोरङ, सुनसरी, झापा र काठमाडौंबाट पनि बलको अन्तिम बिदाइका लागि आएका धेरै साहित्यप्रेमीका आँखा रसिला थिए । मान्छेलाई कालले लैजानु अकाटय छ । तर, असामयिक निधनको शोकमा सबैसबै आँसु पुछिरहेका देखिन्थे । 
गुरूकुलबाट शवयात्रा चार किलोमिटर उत्तर परोपकारघाट पुगुुन्जेल कवि बललाई श्रद्धार्पण गर्नेहरूको संख्या घटेन । साहित्य बाहेकका क्षेत्रका व्यक्तिहरूको पनि बाक्लो उपस्थिति रह्यो । घाटमा लामा संस्कार अनुसार अन्त्येष्टि गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानले आपmना प्राज्ञको शोकमा पठाएको सन्देश दाहसंस्कारअघि साहित्यकार दधिराज सुवेदीले पढेर सुनाए । कवि केशव आचार्य, उपेन्द्र पागल र कलाकर्मी माया पौडेलले शब्दमा बललाई श्रद्धासुमन अर्पण गरे । 

नेपाल राष्ट्र बैंकको जागिरे जीवनबाट अवकाश पाएका बल एक दशकयता साहित्यमा फरक प्रकारले सक्रिय थिए । नयाँ पुस्तालाई हौस्याउने गरिरहेका कारण युवा कलमकर्मी बीच उनको लोकपि्रयता चुलिएको थियो । साहित्यका स-साना आयोजनाको निम्तो पनि सहर्ष मानिदिने बानीले उनलाई सबैको पि्रय बनाएको थियो । 
मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानकी अध्यक्ष युवा गजलकार ज्योति जंगल भनिन्, 'हामीले अभिभावक गुमायौं ।' ज्योतिले जागिर थाल्दा बल राष्ट्र बैंकमा अधिकृत तहका जागिरे थिए । साहित्यिक कार्यक्रमको निम्तोमा उनी र राधिका गुरागाइर्ंलाई उपस्थित हुन बल हौस्याउँथे । 'हामी भर्खर लेख्न थालेका भए पनि उहाँको हौसलाले ठूलो बल मिलेको थियो,' उनले सम्भिmन्, 'भूषण दाइले सिर्जनाको निरन्तरतामा नसघाउनुभएको भए लेख्ने बानी बस्तैनथ्यो होला ।' 

अर्की युवा कवि सविता गौतमले भनिन्, 'उहाँले कवितामा विम्ब चिनाउनुभयो ।' उनले आपmनो 'रिसलाई छिचोल्दा' कविताको प्रसंग स्मरण गरिन् । त्यति बेला उनलाई बलले भनेका रहेछन्, 'पहिले रिसलाई ऐनामा फाल, त्यसको परावर्तन हेर अनि के आउँछ त्यही लेख ।' धराने स्रष्टा बद्री पलिखेले बलको थोरै बोल्ने र सबैलाई सम्मान गर्ने बानी सम्भिmए । भने, 'थोरै बोले पनि लागेका कुरा फयाट्ट भन्ने बानी थियो ।' 
साताअघि राजधानीका एक सञ्चारकर्मीसँग मृत्यु संवादका विषयमा फोनमा कुरा गरिरहेका बेला बलको प्रतिक्रिया कवि मजु मञ्जिलको स्मृतिमा ताजै रहेछ । 'मृत्यु के हो, कहिले, कसरी, किन भन्नेमा दार्शनिक तवरको प्रसंग सुनेपछि भूषण दाइले भन्नुभएको थियो,' उनले भने, 'मृत्यु संवाद पनि सुन्दर हुँदो रहेछ ।' बलले कुन अर्थमा त्यस्तो प्रतिक्रिया दिएका थिए भन्ने अहिले सोचिरहेको मञ्जिलले सुनाए । 
गजलकार मधु पोखरेलको ठम्याइमा बल कवितामा राष्ट्रिय विम्ब प्रयोगकर्ता थिए । 'उहाँका कवितामा विम्ब नेपाली भाषाभित्रैबाट आएका छन्,' उनको परख रह्यो, 'धेरै कविले आगन्तुक, जटिल र अन्य भाषाका विम्ब प्रयोग गरेको देख्छु । उहाँमा त्यस्तो थिएन ।'

(कान्तिपुर दैनिकको कला र शैली पृष्ठमा प्रकाशित मिति: २०६९ असार १३)

Sunday, June 17, 2012

बाँचेकै छन् उनीहरु


यो जीवन अल्झीदै जानेछ, व्यथाहरु बल्झीदै जानेछ
भीडहरु भैकन यहाँ एक्लै एक्लै हिड्नेहरु, 
साथहरु भेटिदै जानेछ सपना पुरा हुनेछ ।

कलेज लाइफमा एकपल्ट कवि भइदिनु कसका लागि नौलो होला । कुनै समय थियो जसलाई मैले आफैलाई सान्त्वना दिन गीत लेख्ने प्रयास गरेको थिए । उपरोक्त पंक्ति तिनै २१ वर्षअघिका लेखोटका अंश हुन् । यसका मुखडा मनभरि एउटा लयमा फिरन्ते बनिरहन्छ । लण्डनमा पढ्न बसेको मेरो एउटा आफन्त भाइले गत मार्च २० तारिख मृत्यु रोज्यो । मैले त्यो घटना बारे यसअघि पनि लेखिसकेको छु । 
उ धेरैपटक अनलाइन भेटिन्थ्यो । फेसबुकमा तस्बिरहरु ट्याग गरेर प्रतिक्रिया मागिरहन्थ्यो । केहीमा लेख्थें, केहीका ट्याग म रिमुभ गरिरहन्थे । च्याटमा भिजिबल बस्न छाड्नुका कारण ऊजस्ता झण्डै आधा दर्जन आफन्त र साथीहरू हुन् । जसले अनलाइन देख्यो कि बोलाउथे, अनि व्यक्तिगत, पारिवारिकहुँदै देशको राजनीतिक हालखबर सोध्थे/सोध्छन् । जवाफ नदिए आफूलाई के सोच्लान् भन्ने अप्ठ्यारो, जवाफ दिदै गए समय खेर जानुका साथै मुड अन्तै गएर आफ्ना दैनिक काममा असर पर्ने पिरलो । अनलाइन बस्न छाडेपनि फेसबुके सन्देश बाकसहुँदै आग्रह, आदेश र गुनासा आउजाउ गरिरहन्थे । सुवास (फेसबुक नेम भण्डारीजी) ले आत्महत्या गरेपछि धेरै अफलाइन बस्दा आफैले गल्ति पो गरिएछ कि भन्ने भइरहेको छ । 
सुवास अनलाइन अब भेटिदैन । म जति 'अनलाइन' बसेपनि अब सदाका लागि उ 'अफलाइन' भयो भन्ने थाहा छ । तैपनि बेला बेला मन एकाहोरिन्छ । आत्महत्याको सोच आउनेहरुलाई सहारा चाहिन्छ । अन्तरंग कुरा गर्ने विश्वासिलो साथ  चाहिन्छ । कुनै शारीरिक विकार छैन । शरीरका सबै अंग सद्दे छन् । पढालेखा र करिअरप्रति सचेत मान्छेहरू । छदाखादाको जीवनलाई किन मान्छे अनाहकमा त्याग्छन् - यो प्रश्न भिन्न परिस्थितिहरूमा आफैमा जटिल छ । इच्छा भयो 'यस्ताको खोजी गरौ, जसलाई आशले ज्यूदो राखेको छ । सपांग र सजिला अपांगभन्दा भिन्न जीवन बाँचेर पनि जो आफन्तका बीच छन् । उनीहरूलाई आत्महत्याका सपना देख्न बन्देज भएजस्तो ।' असजिला शारीरिक अवस्थामा पनि उनीहरूको मुहारमा मुस्कान छ । नियतिका क्रुरतालाई सामान्य ठानेर बाँचेका छन् । साँच्चै त्यस्ता मान्छेहरू के गर्दैछन् ? मलाई अफिसबाट बाहिर निस्कन मन लाग्यो । गाउँ गएर त्यस्ता घर चिहाउन मन लाग्यो । म विराटनगरबाट बाहिर एक्लै बाइकमा निस्किएँ । अनि यो यात्रा एक साता चल्यो । यो अवधिमा मैले भेटेका मान्छेहरूका कथा फरक थिए । 
०००
मोरङको रंगेली-८ को आमतोला चोकमा झुप्राको सानो पसल । दाउरे चुलोको धुआँले आगन्तुकका आँखा पोल्छन् । छेवैमा बसेको भुसतीघ्रे देखिने किशोरलाई भने कुनै फरक पारेको छैन । उसलाई आगन्तुकप्रति पनि कुनै चासो छैन । 'किन यस्तो, यो भाइ को हो ?' मेरो सोधाइमा पसलेले भने 'मेरो छोरा हो । यो यस्तै छ । आफै केही गर्न सक्दैन ।' 
पसले नारायण मण्डलका १४ वर्षे छोरा सुरज सामान्य किशोरहरुभन्दा केही फरक रहेछन् । शरिर आफै अड्याउन, हातगोडा सजिलै चलाउन नसक्ने । उभ्याइदिए उनलाई कतै अडेस लाग्नैपर्ने । 'हामी गाउँलेको घर, पहिलो सन्तान छोरो जन्म्यो, खुशीको सीमै थिएन,' मण्डलले सुनाए 'तर, बच्चा रोएन । एक हप्तासम्म आमाको दूध पनि चुसेन ।' त्यसपछि लगातार उपचारका लागि भौतारिएका उनको दौडाहा एक दशकभन्दा बढि चल्यो । अहिले दुइ वर्षयता कतै पनि जान छाडेका रहेछन् । बोल्दा-बोल्दै आँखा रसाए,  भक्कानिए 'हामी आमा-बाउको सास रहुञ्जेल होला । पछि यसलाई कसले हेर्छ भन्ने चिन्ता लाग्छ ।' सुरजका साना भइ र बैनी त्यस्ता छैनन् । तर, उनीहरू दाजुलाई औधी माया गर्छन् ।
घरनजिकै स्कुल छ । अहिले सुरज ह्वील चियरमा बसेर स्कुल जान मन पराउँछन् । यद्यपि समान्यसरह पढ्न सक्ने अवस्थामा छैनन् । बोली स्पष्ट छैन । आमा-बुवा र भाइबैनी बुझाउनेबाहेक थोरैबाहेक शब्द उच्चारण उनीबाट हुँदैन । तस्बिर लिन खोज्दा पसलमा राखेको भुसको एउटा बोरा लड्यो । सुरज जोडसँग हाँसे । उनको मुन्टो थोरै बाँया बटारिएझै देखियो ।
०००
सोराभाग गाविस-९ मा इँटाभट्टाछेउको सानो झुप्रो बस्ती । ग्वालीजस्ता लाग्ने छाप्रोभित्र एउटा युवक डोरीको खाटमा डल्लो परेर बसेका छन् । छेवैमा भुइमा केश सेतै भएकी बृद्धा छिन् । थोरै कुराकानीपछि तस्बिर खिचिदिँदा मुहारमा मुस्कान दौडियो, जोडले हाँसे । टाउको र हातगोडा अझ बटारिए झैं देखियो । यी २४ वर्षका महेन्द्र कर्मकार लोहार रहेछन् । बृद्धा उनकी आमा बिन्दा ।
'के गर्नु यो यस्तै छ, यसलाई यसरी नै राख्छु, उनले भनिन् 'आमा हुँ नि । यसलाई दिशापिसाप आएको थाहा पाउछु । ढिलो भए फोहोर पारिहाल्छ ।' २ कक्षामा पढ्दै गर्दा एक दिन महेन्द्रले स्कुलबाट फर्केर 'टाउको दुख्यो' भने । विरामी परे । औषधि खुवाइयो । उनले भुँडी पनि दुख्यो भने । धामीझाक्रीका झारफुकबाट सुरु गरिएको उपचारले सञ्चो गरेन । डाक्टरी उपचारका लागि रंगेली लगियो । घर फर्किएपछि उनको जीउ बटारिए झै भयो । अघिल्लो दिनसम्म दौडदै र बोल्दै गरेका उनी अझ असक्त भए । विराटनगर लगियो । 'अस्पतालमा यसलाई सेतो मच्छडले टोकेको छ भन्थ्यो, त्यसपछिदेखि यो यस्तै छ । यसलाई मैले नै हेर्दै आएकी छु', बिन्दाले भनिन्  
'बोल्न सक्दैन, केही आफै गर्न सक्दैन ।' महेन्द्रका पिता ट्युवेल गाड्ने काम गर्छन् । घरमा माता-पिता, भाइ र बुहारी छन् । सबैले भ्याएसम्म उनको ध्यान राखेका छन् । आमा भन्छिन् 'कहिलेसम्म हो थाहा छैन । तर, हाम्रो जीउ रहेसम्म त यसको ख्याल गर्नैपर्‍यो ।' बिन्दाले महेन्द्रको परिचय कार्ड देखाइन । रातो कार्ड दिइएका उनले मासिक अपांग भत्ता पाउने रहेछन् ।
सोराभाग गाविसकै कर्सियाको चोकबाट करीव डेढ किलोमिटर उत्तर पुगियो । एउटा घरमा महेन्द्रभन्दा केही फरक युवक गोठमा डल्लो परेझै टुक्रुक्क बसेका थिए । देखिने १४ वर्षे गोवर्धन कर्मकार भात खाइरहेका भेटिए । आँगनमा धानको बिस्कुन थियो । त्यो बिस्कुन खान आउने चरा तर्साउन एउटा डालोलाई सानो छडीको टेको लगाइएको थियो । छडी बाधेको डोरीको एउटा फेर गोवर्धनले च्यापेर बसेका थिए । मैले उनका अभिभावकको खोजी गरेँ । उनीहरू निकै पर खेतमा मुसुरो उखेल्ने धमाधममा थिए । घरबाट निस्किएर खेतमा पुगेपछि मैले कुरा गर्न चाहें । 'यसलाई बेला-बेला मिर्गी (छारे रोग) ले भेट्छ, त्यो बेला बेहोस हुन्छ,' पिता लालचन्दले भने, 'हेर्न ढिला भो भने गु-मुत एकै ठाउँ । कति हेर्ने, कहिलेसम्म हेर्ने, बडो पीर लाग्छ ।' महेन्द्रका बोरमा नारायणले बताएका थिए । अनि गोवर्धनका बारेमा उनकै दिदीले । महेन्द्रको घरमा कुरा गरेपछि छिमेकमा बस्ने दिदीले आफ्नो भाइका अवस्था र भेटिने ठेगाना बताएपछि म खोज्दै त्यहाँ पुगेको थिएँ । 
०००
तीन जनालाई भेटेपछि उनीहरूका लागि काम गर्नेको बारेमा जान्न मन लाग्यो । उनीहरूका परिवारले  नै  विराटनगरको सिंघिया खोला किनारमा अवस्थित समुदायमा आधारीत पुनस्थापना (सीबीआर) नामक संस्थाका बारेमा जानकारी दिएका थिए । 
दोस्रो दिन म सीबीआर पुगें । त्यो संस्थाले एक दशकदेखि यस्ता बालबालिकाका लागि काम गरिरहेको रहेछ । त्यहाँ कृत्रिम हातखुट्टा बनाउने काममा सक्रिय लव कोइराला भेटिए । 'तपाइले भेट्दै हिड्नु भएको केसलाई हामी मस्तिष्क पक्षघात भन्छौ,छोटकारीमा सीपी,' उनले भने, 'अपांगतामा यो सबैभन्दा जटिल अवस्था हो । परिवारले हेरेन भने त्यस्ता बच्चा बाँच्न कठीन हुन्छ ।' सन् २०१० र ११ का दुइ वर्षमा सीबीआरका सम्पर्कमा आएका मस्तिष्क पक्षघात पीडितको संख्या ५ सय ३६ रहेको तथ्यांक कोइरालाले दिए । यिनमा १९७ जना छोरीहरु र अन्य छोराहरू रहेछन् ।  
कोइरालाले विराटनगर-५ जामुनगाछीको एउटा घरमा पुर्‍याए । ह्वील चियरमा बसेका २८ वर्षे रवि तुलाधर फेसबुक र ट्वीटर खोलेर चलाइरहेका थिए । एउटा हातको भर । खुशी भए वा केही बोल्न परे उनको मुन्टो धेरैपटक भट्का दिएजसरी बाँया फन्को मार्न खोज्थ्यो । एउटा साँझ भएको भेटले रविलाई मेरो फेसबुके साथी बनाउन पाएँ ।
'हामीले धेरै प्रयास गर्‍यौ उपचारका लागि,' रविका पिता जंगमानले भने, 'अहिले यो यतिसम्म भएको छ । काम चल्ने गरि आफ्ना कुरा बताउन सक्छ ।' पेशाले बिजुलीका सामानका मिस्त्री जंगमान र श्रीमति सूनीताले छोरालाई रुचीअनुसारको वातावरण दिने प्रयास गरेका रहेछन् । कम्प्युटर घरमा आएपछि सिकेका रविलाई भाइ-बैनीले सघाए । वर्डप्रेसमा ब्लग पनि बनाएर लेख्ने-खेल्ने प्रयास थालेका उनलाई तस्बिर संग्रह, फोटोसपबाट रंगहरुको मिश्रण गर्न रुची लाग्दो रहेछ । सीबीआरको अर्थो वर्कसपका इन्चार्ज कोइरालाले भने 'मस्तिष्क पक्षघातका धेरै नाजुक अवस्थामध्ये रविको केस हामी धेरै प्रगति भएकोमध्ये मान्छौ ।' उनका अनुसार रवि यस्ता केसमा प्रगति भएका नमूनामध्येका हुन् । उनको मुहार हँसिलो छ । उनी रमाइला रहेछन् । 
०००
अपांगका हितमा खोलिएका संस्थामा सीपी भएका बालबालिकाका बारेमा केही जानकारी हुन सक्छ भन्ने लागेर म अपांग राष्ट्रिय महासंघको विराटनगर जनपथटोलस्थित अफिसमा पुगे । त्यहाँ भेटिएकाहरूले सीपीमात्रै छुट्याएर तथ्यांक अद्यावधिक नभएको बताए । बरु धेरै जानकारी नजिकबाट दिनसक्ने एक जनाको मोबाइल उनीहरूले मलाइ दिए । 
फोन गर्दा गीता खवासले भनिन् 'पिचरा आउनुस् । अनि भेट होला ।' मोरङको नेमुवाकी खवास मस्तिष्क पक्षघातका पीडितलाई फिजियोथेरापी गराउने गर्दीरहिछन्  । उनले गराउने विशेष प्रकार व्यायामले त्यस्ता बालबालिकालाई सुधार भइरहेका उदाहरणहरू छन् । मैले खवासलाई भेटेर त्यो दिनभरि उनी जाने केही घरहरूमा पुगें । र, थेरापी हेरें । अनि अभिभावकहरूसग कुरा गरें । 
पाँच वर्षदेखि यो काममा खटिरहेकी खवासका सम्पर्कमा उपमहानगरभित्र र हातिमुडा र नेमुवा गाविसमा गरि ६५ जना त्यस्ता बालबालिका रहेछन् । विराटनगरको बसपार्कछेउ डेरा बस्ने खोटाङ चिसापानीका राजन र गीता बस्नेतका चार वर्षीय पुत्र सीजन, पिचरा बस्ने संखुवासभा खादवारी-९ का विष्णु र सीता चौहानकी चार वर्षीया मेलिना र बसपार्कछेउका गणेश-कमला थापाका एक्ला १८ वर्षे छोरा रोजेशसँगै पिचरामा शान्ती महत्तोकी १५ वर्षीया छोरी संगीतालाई एकै दिन भेटियो । यिनमा सबैको कथा सुधारोन्मुख अवस्था अनि अभिभावकका प्रयास र मायासँग जोडिएका रहेछन् ।  बैशाखीमा आउजाउ गर्ने संगीता बोल्न सक्छिन् । लेख्न पनि सक्छिन् । स्थानीय बालकल्याण बिद्या मन्दिरमा ६ कक्षामा पढ्छिन् । ह्वीलचियरको सहारामा रहेका रोजेश बोल्छन् तर,  बिद्यालय जान पाएका छैनन् । उनका अभिभावक स्कुल पठाउन चाहन्छन् । अपांग महासंघको काम गर्राईमा सन्तुष्टी रहेनछ । 
त्यस्ता केटाकेटीलाई फिजियोथेरापी गराउने तालिम पाएकी खवासले आफू ललितपुरको धापाखेलस्थित सीपी सेन्टरका लागि काम गर्ने गरेको बताइन । कुनै समय सीबीआरमै काम गरेकी उनले सीपी सेन्टर ज्वाइन गरेकी रहछिन् । खवास भन्छिन् 'बुझेका आमा-बाउले नानीहरुको अवस्था सुधार्न प्रयास गरेका छन् । गाउँमा चाहि बिजोक भेटिन्छ ।' अपांगताको परिचयपत्र र भत्ताबाहेक यस्ता नानीहरुका लागि सरकारीतवरको विकल्प छैन । 'सीपीका धेरै स्टेजमध्ये सुधार गर्न सकिने अवस्था पनि हुन्छन्,' उनले भनिन् 'धेरै परिवारमा मेरो बच्चाको कस्तो अवस्था हो, के गर्नुपर्छ भन्ने जानकारी नभएको म भेट्छु ।' परिवारका सदस्य एउटा यो समस्याबाट पीडित हुँदा अन्यलाई मनोबैज्ञानिक उपचार चाहिएका अवस्था पनि भेटिने उनको अनुभव छ । सीपीका पाँच अवस्थामध्ये कोमा पनि एउटा रहेछ । कोमामा गएकाहरू हलचल गर्दैनन् । बोल्दैनन् । कुनै पनि प्रतिक्रिया दिदैनन् । तर, ती बाहेकका चार अवस्थामा बालबालिका बोल्ने भएपनि नबुझिने, सञ्चार संवाद असजिलो ।  
खवास र कोइरालाले मलाई डा. ममता वर्मा भेट्न सुझाव दिए । उनले सीबीआर सञ्चालनमा निरन्तर सहयोग गरेकी रहछिन् । आफू महिलाको प्रसुतीसम्बन्धी केसहरू हेर्ने भएपनि उनलाई मस्तिष्क पक्षघातबारेमा धेरै जानकारी रहेछ । 
ललितपुरको सीपी सेन्टरलाई पनि उनले सहयोग गरेको कुरा थाहा भयो । त्यस्ता पीडितका लागि विराटनगरमा सेवा केन्द्र खोल्ने तरखर पनि सुरु भएको उनीसँगको भेटपछि थाहा भयो । त्यसका लागि कोठा डा. बर्माले नै उपलब्ध गराउन लागेकी रहिछन्  । डा. वर्माले भनिन् 'यस्तो केस एक हजार बर्थमा २/३ वटा हुन्छ । गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच, पोषिला खानेकुरा अनि बच्चालाई रोग प्रतिरोधक खोपहरु दिनु जरुरी छ भन्ने बुझे यो टर्न सक्छ ।' कुनै खास कारणले दिमागका आदेश शरीरका अंगहरूले मान्न नसक्ने अवस्थालाई नै यो पक्षघातको स्वरुप हुने उनले बताइन । 'यो भएपछि रिकभरीको चान्स अवस्था हेरेर हुन्छ,' उनले भनिन् 'धेरै बच्चाहरुले बेलैमा उपचार र फिजियोथेरापी पाएपछि सुधार भएका उदाहरण पनि छन् ।'
डा. वर्माका पति डा. नारायण कुमारले पनि यस्ता केसबारे प्रष्ट पारे । मस्तिष्क पक्षघात एउटा जटिल अवस्था भएपनि यो कसरी हुन्छ भन्नेमा उनीहरूका कुराले म प्रष्ट हुन सकिन । जन्मदै हुने यी विकार हुर्कदै गएर कुनै खास प्रकारका घटनाका कारण पनि हुन सक्ने रहेछ । तर, धेरै यसरी जटिल अवस्थामा पनि बाचेर जीवनको सपना साँचेका छन् । 
यी सबै भेट र कुराकानीपछि कान्तिपुर कोसेलीका लागि मैले लेखेको 'जीवन अल्झाउने आशा' गत शनिवार प्रकाशित पनि भएको छ । माथि उल्लेखति कुराका धेरै अंश मेरो कोसेलीको लेखोटमा छ । पत्रिकामा ब्लग जसरी लेख्न मिल्दैन । विषयका अवस्था हेरेर दैनिकी पठाउन पनि मिल्दैन । मैले अवस्थाका जटिलतालाई शब्दमा धेरै खिप्न सकिन भन्ने लागेको छ । छापिएपछि गुगलमा खोज्दा त्यस्ता उदाहरण धेरै रहेछन् । मेरो लेखाइमा यसमा देशभरका अवस्था समेटिन पाएको छैन । अझ धेरै ठाउँ घुमेर लेखोट तयार पार्न सकिन्थ्यो । त्यसो गरिएन । एउटा ठाउँबाट आएका उदाहरण अन्य ठाउका मजस्ता सञ्चारकर्मी साथीका लागि पनि विषय बन्न सक्लान् भन्न लागेको छ । प्रकाशित लेखोट पढेपछि केही मान्छेबाट इमेल, फोन र एसएमएसबाट प्रतिक्रिया पाएको छु । यस्ता कुरा पनि पठनीय हुने रहेछन् भन्ने ज्ञान मिलेको छ । नाजुक अवस्थामा पनि आखाहरूले जीवनको सपना देखिरहेका उदाहरण छन् । अनाहकमा आत्महत्या गर्नेहरूलाई घटना गराइहाल्ने सोच आउँदा त्यस्ता घरमा चिहाएर हेरे हुन्थ्यो जस्तो लागेको छ । सबैथोक भएर पनि सन्तुष्टहरू भेटिदैनन् । उनीहरूले महेन्द्र, सुरज र गोवर्धनजस्ताको घर पुगेर हेरे हुने रहेछ ।

Saturday, June 9, 2012

श्रवण कुमार (लघुकथा)


यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरें । अहं छैन । कता गयो गयो । 

मैले जानाजान डिलिट वा सम्पादन गरेको सम्झना छैन । तर, कथाबाट एउटा पात्र वेपत्ता हुनु कसरी सम्भव हुन सक्छ ? म आफैलाई चित्त बुझदो उत्तर दिन सक्दिन । रिक्शाचालक बृद्ध पिता, बुढी भएकी आमा । सातजना भान्टाङ-भुन्टुङ भाइबैनीको उ भरपर्दो दाजु थियो । दुइ कक्षापछि स्कुल गएन । स्कुले शिक्षा पुरा नगरेपनि महान भएका मान्छेका जीवनी उसलाई कण्ठ थियो । 
मजदुरीबाटै उ राजमिस्त्रीमा बढुवा भएको थियो र्।र् इटा-बालुवा र ढुंगासँग खेलेर उसका ज्यान बलिष्ठ थिए । काम नभएका बेला पहिरनले उसलाई कसैले मिस्त्री मान्दैनथे । ऊ कुनै बडिबिल्डर वा मोडलभन्दा कम देखिदैनथ्यो । ज्यालादारीभन्दा ठेक्दारी मन पराउने । ठेक्का लिएको काम छिटै फत्ते गर्ने । 
राम्रो ठाउँमा जमिन लिएर घर बनाउने । मातापिता पाल्ने । भाइबैनीलाई सकेजति पढाउने । सपनाले उसका विपनालाई साथ दिएका थिए । तर, बाबु ज्यानले सकेसम्म काम छाड्न मानेका थिएनन् । माहिला र साहिला भाइ पढ्न मान्दैनथे । बैनीहरुका पहिरनले सम्पन्न परिवारको झल्को दिन्थ्यो । कथामा मैले एउटा क्लाइमेक्स कल्पना गरें । 
अनि उसको भेट बजारमा एउटा चलेको पसलेकी रुपवती छोरीसँग भेट गराइदिए । जात मिल्थ्यो । बात पनि मिल्थ्यो । पसलेले घरको एउटा तला थप्दा उसलाई त्यहाँ पुर्‍याइयो । हिमचिम देखेर रुपवतीका पिताले प्रस्ताव गरे -'मेरी छोरी बिहे गर्ने भए तिमीले मैकहाँ आएर बस्नुपर्छ ।' मैले लेखें 'तर, उ दुःखमा हुर्केको छोरो थियो । आफ्ना आमाबा र भाइबैना छाडेर कसरी बस्थ्यो ? उसले मानेन ।' त्यो दिनदेखि ऊ पसलेको घरमै गएन । उसले सोच्यो '............... के सोच्यो, कथा यहाँबाटै अपुरो छ । मैले लेखेकै हो । एउटा असल इमान्दार छोराका बारेमा । 
कम्प्युटर अफ गरेर बाहिर निस्के । नजिकै मन्दिरबाट एउटा जोडी बाहिर निस्कदै थिए । बेहुलो सरासर मैंतिर आयो । नियालेर हेरें - चिनेको मान्छे होइन । ठिङ्ग उभियो, कुटील हाँसो हास्यो । भन्यो 'हेर्नुस महाशय, यो कलियुग हो । म श्रवण कुमार होइन ।'

Saturday, May 19, 2012

संस्मरणका थुम्कीहरुको कृति 'कान्छो सार्की'



अमेरिका बस्ने भारतको गुजराती मुलका लेखक मधु रेको पुस्तक 'किम्बल्स् रेभेन्सउड' मा एकजना सुत्रधार छन् । जसले कथाका पात्रको चरित्र र अघिल्ला घटनाक्रम वर्णन गर्छन् । सिकागोबाट भारत बोलाइएका युवकलाई घरसल्लाहले विवाहको दवाव पर्छ । मान्छन् तर, शर्त उनी सबै राशिका कन्याहरु भेटेरमात्रै आफ्ना लागि जीवन साथी चयन गर्नेछन् । १२ वटै राशिका कन्यालाई भेटेपछि पनि उनले भनेजस्तो जुर्दैन । अन्त्यमा सुत्रधारकै घरकी चेली ताक्छन् । त्यसबेला सुत्रधारलाई समस्यामा पर्छ । किम्बल्स् रेभेन्सउडको कथालाई सन् १९८० मा केतन मेहताले 'मिस्टर योगी' धारावाहिक टेलिश्रृङ्खला र २००९ मा आशुतोष गोवारिकरले 'व्हाट्स योर राशि' नामबाट चलचित्र बनाए । धारावाहिकले चर्चा बटुल्यो, चलचित्र सफल भएन । 
कथामा सुत्रधार र उनको चरित्र 'म' पात्रले लिन सक्दैन । सुत्रधार प्रसङ्गहरु जोड्छ । 'म' पात्र आफै कुनै भुमिकाभित्र कथाका आरोह-अवरोहमा देखिन्छ । पात्रको अनुभवलाई पाठक आफै त्यही भएर अनुभव गराउने क्षमता 'म' पात्रले राख्छ । अहिले बजारमा आएको 'कान्छो सार्की' मा सुत्रधार छैन । १९ वटा फरक प्रसङ्ग छन् । र, यिनमा कथाकार कृष्ण अधिकारी धेरैपल्ट 'म' पात्रका रुपमा कथाभित्रै उभिन्छन् ।
***
भूमिका लेख्ने चलन नटेरेको संग्रहमा शिर्ष कथा पहाडको बसाइँमा घरेलु सहयोगी पात्रलाई 'म' पात्रले सम्झन्छ । रोग काट्नका लागि बाहुनको छोरोलाई गोरुको मासू ख्वाउने कान्छो सार्कीमा कतै छलछाम छैन । एउटा बलिष्ठ सहयोगीलाई तराई झरेर लामो अन्तरालपछि 'म' पात्रले सम्झना गर्दागर्दै उ बितेको खबर पाउँछ । कथाका श्रृंखलामा सार्की कान्छो तेस्रोमा परेको छ । पहाडी परिवेश, गाउँले बोली, रीति र खेतीमा अहिलेसम्म जनजिब्रोबाट हराउने तरखरमा रहेका धेरै शब्दलाई कथाकार पुनः ज्यान दिने प्रयास गरेका छन् । 
२०५६ मा 'जर्मनी यात्रा स्मृति' लेखेका उनले करीव अढाइ दशक इटहरीमा रहेर साप्ताहिक पत्रिका चलाए । छापाखाना खोलेर व्यवसाय थाले । व्यवसायलाई विराटनगर सारेपछि स्थानीय एक दैनिक पत्रिकाको अन्तिम पानामा साताका एक दिन उनले समसामयिक प्रसङ्ग लेख्न थालेको धेरै भएको छैन । हिउँ परेजस्तो केश भएका ५८ वर्षीय अधिकारी इन्टाइसर मोटरसाइकलमा इटहरी-विराटनगर गर्दै पूर्वेली साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउन पुग्छन् । कविता सुनाउँछन् । तर, नजिकबाट चिन्नेहरुले उनका कथाको पुस्तकाकार रुप स्वयंम अधिकारीकै साहित्यमा दरिलो पदार्पण मानेका छन् ।
***


लोग्नेले सौता हालेपछि घर छाडेकी 'एउटी आइमाई' बाट सुरु हुने कथाका श्रृङ्खला सुनुवारको छोरो बज्रधन र भुजेलकी छोरी कालीबीचको अन्तरजातीय विवाहमा आएर टुङ्गन्िछ । दशक लामो सशस्त्र द्वन्द्वका आरोह-अवरोह अहिले पुस्तकाकार रुपमा आइरहेका छन् । द्वन्द्वले समग्र समाजलाई पार्ने प्रभाव निमिट्यान्न हुन लामो समय लाग्न सक्छ । अधिकारीको कथा 'त्यो कुकुर पनि अब रहेन' ले द्वन्द्वको दशकमा निर्दोष मारिएपछि उजाडिएको परिवार र सहयोगी जन्तुको मनोविज्ञान केलाएको छ । सुराकीको अरोपमा सत्यतथ्य छानबिन नगरी मान्छे कसरी मारिन्थे भन्ने प्रश्न उठाएको कथामा महिला पात्र पछि तिनै द्वन्द्वरतहरुका साथी बनेर लिएको प्रतिशोधपछिको अन्त्य कारुणीक छ ।
***

सडकमा ट्राफिक प्रहरी उभिएर चालकलाई नियम सिकाउँछन् । एउटी महिला ट्राफिकले अधवैंसे 'म' पात्रलाई मोटरसाइकल रोक्न लगाएर हेलमेटको बेल्ट बाँध्न लगाउने प्रसङ्गबाट 'छोरी' शिर्षकको कथा अघि बढेको छ । आफूलाई सुरक्षित हुन सिकाउने केटीलाई अधबैंसे पात्र छोरीको रुपमा हेर्छ । सकारात्मक सोच राख्नेहरुका भाावुक क्रिया-प्रतिक्रिया धेरैपल्ट गाढा सम्बन्ध बनाउन प्रेरक हुन्छन् । 'अर्काको छोरो' कथाले यौन मनोविज्ञानलाई केलाएको छ भने 'अतृप्त यात्रा' ले धनमोहमा बिग्रिएको घरलाई चित्रण गरेको छ ।

***
भाषाशास्त्री बालकृष्ण पोखरेलका शब्दमा अधिकारीका कथा समाजका विभिन्न चरित्रको मनोबिज्ञान केलाउन सक्षम देखिएको छ । शीर्षकले सुरुमा नौलो लागेको बताएकी स्रष्टा मिश्र बैजयन्ती भन्छिन् 'महिलालाई हेर्ने पुरुष मनोविज्ञानका फरक आयामहरु कथाका बलिया पक्ष लागे ।' कथाकार विवश पोखरेल भन्छन् 'सस्ता मूल्यका किताबलाई अहिले शंकाले हेर्ने पाठक धेरै छन् । तर, कान्छो सार्की ती सबै शंका निवारणमा सक्षम छ ।' उनका अनुसार संस्मरणात्मक शैलीमा लेखिएका कथा यथार्थवादी धारका छन् । उनले भने 'भोगाइ, आध्यात्मिकता, फेरिएको समाज, गाउँले जीवनका कुरा आदि धेरै चरित्रलाई कथाले समेटेका छन् । स्रष्टा उपेन्द्र पागल भन्छन् 'हरेक उमेरका मान्छेका मनोबिज्ञान सुक्ष्म तरिकाले कथामा केलाइएको छ । यसमा धेरै प्रयोग भएपनि सामान्यीकरण गरेजस्ता लाग्छन् ।' 

(कान्तिपुर कोसेलीमा प्रकाशित मिति: २०६९ जेष्ठ ६) 

Friday, May 11, 2012

भरत र सपनाको क्यानभास



कक्षामा ध्यानका फराकिलो अन्तरले कहिलेकाहीँ किशोर मनमा चोट पार्थ्यो । ब्ल्याकबोर्डमा लेखिरहेका गुरु चिच्याउँथे- 'पढ्ने-लेख्ने बेला चित्र कोरेर जाँचमा के लेख्छौ ?' पिरियडपिच्छे उनले खप्की खानु नपरेको विरलै हुन्थ्यो । पूर्व व्यावसायिक शिक्षाको कक्षामा भने गुरु उनलाई हौस्याउँथे, 'हो, ल ठयाक्कै किताबकै जस्तो कपीमा उतारेछ ।' विद्यालय शिक्षामा उनको मन रमाएन र कक्षामा पनि उनी अब्बल थिएनन् । बेलाबखत हुने चित्रकला प्रतियोगितामा पुरस्कार जित्नेमा उनी तेस्रो, चौथो स्थानमा हुन्थे । पहिलो हुन नसक्नुको तुस फेरि कापीमा नयाँनयाँ पेन्सिल चित्र भएर पोखिन्थ्यो । पेन्टिङ सिक्ने रहरले उनको बाटोले अन्तै मोड लियो ।
स्कुल छाडेर उनी विराटनगरको चुलाचुली गल्लीमा कुची कलाकारिता सिक्न पुगे । लव प्रधानले उनलाई रंगमाथि कुचीको कलाकारिता र पेन्सिल चित्रका फरक बुझाए । त्यसपछि कुची र रंगसँगको यात्रामा तल्लीन ४६ वर्षे भरत डंगोल अहिले फेरि आफूलाई विद्यार्थी जीवनको किशोरजस्तो अनुभव गर्छन् । 'समयले यस्तो पार्‍यो, म कमर्सियल र मोडर्न आर्ट, दुवै डुंगा सँगै खियाउँदै छु,' उनले भने, 'मोडर्न आर्टमा कलाकार सन्तोकले बाँच्दो रैछ ।'
'नारी जीवन र प्रकृति' शीर्षक एकल चित्रकला प्रदर्शनी लिएर उपमहानगरमा झुल्किएका भरतले भने, 'नारी संवेदना चित्रमा देखाउन थिम तयार पार्नु सजिलो भएन ।' असजिलो भए पनि असम्भव नभएको पुष्टि गरेका उनले २२ चित्र कोरे ।
जनआन्दोलन चोकको उत्तर सानो गल्लीभित्र ब्यानर र भित्तेलेखन गरिरहेका भेटिने पातला कायाका यी कलाकार यति संवेदनशील चित्रका साथ उभिनेछन् भन्ने सहरले पत्याएको थिएन । 'मैले २४ वर्ष एउटा पेन्टर भएर बिताएँ,' उनले भने, 'दुई वर्ष भयो, मोडर्न आर्टमा आफूलाई समर्पित गरिरहेको छु ।' राजधानी पुगेर प्रदर्शनीको रहर पालेका उनले खर्च अभावमै हिम्मत जुटाउन सकेका भने छैनन् । उपमहानगरभित्रै दोस्रो पटक एकल प्रदर्शनी लिएर उभिँदा विराटनगरको तोदी भवनमा उनी अवलोकनकर्ताका सुझाव संकलन गरिरहेका भेटिए ।
उनको सपना धेरै ठूलो छैन । खान-लाउन र परिवार पाल्न पुगेपछिको रहर हो- मोडर्न आर्ट । 'पोहोर एउटा पेन्टिङलाई एक जनाले एक लाख दिन्छु भनेको थियो, मैले बेचिनँ,' उनले भने, 'अब बल्ल बुझेँ आफ्नो कला प्रचारकै लागि पनि बेच्नु सही काम रहेछ ।' व्यावसायिक पेन्टिङ अहिले खुम्चिएको छ । सबैलाई आधुनिक फ्लेक्सले तानेको छ ।
कम्प्युटरमा गरेको डिजाइन केही बेरमै फ्लेक्समा ग्राहकले चाहे जसरी प्रिन्ट  निस्कन्छ । त्यसैले भरतजस्ता पेन्टरका काम घटेका छन् । तर, मोडिएको बाटोले उनलाई फुर्सदिलो हुन दिएको छैन । 'अब पेन्टरका दिन सकिए जस्तो लाग्छ,' उनले भने, 'मैले पेन्टिङका छिटपुट काम अझै पाएको छु । मोडर्न आर्टले पनि कुनै दिन नाम-दाम देला भन्ने छ ।'
ललित कला संगमका अध्यक्ष श्रीनिवास पोखरेल भरतका सिर्जनामा संवेदनाको गहिराइ देख्छन् । 'थोरै मान्छे भरतजस्ता छन्, जसले कमर्सियल पेन्टिङ गर्नेहरूभित्र पनि अदभूत प्रतिभा लुकेको पुष्टि गर्छ,' उनको मूल्यांकन छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित मिति: २०६९ वैशाख २९)

Saturday, May 5, 2012

एउटा रैथाने


अफिसबाट लीला भाइको फोन आउदा म महिला पुनस्थापना केन्द्र (ओरेक) को विराटनगर कार्यालयमा थिएँ । टंकीसिनवारीमा एक जना स्थानीयको घरमा कुनै नौलो जन्तु आएपछि हल्लीखल्ली भएको कुरा उसले भन्यो । घरधनी विष्णु चालिसेले आफ्नो मोबाइल नम्बर पनि छाडेका रहेछन् । झुठो आरोपमा १० महिना थुना शिर्षकको समाचार लेखेपछि त्यसले असजिलो पारेको ओरेककी सुनसरी-मोरङ कार्यालय संयोजक नीतु पोखरेलले फोनमा भनेकी थिइन । 
मेरो मनशाय कसैलाई जागिर नै धराप पार्ने गरि असजिलो पार्ने हिसाबले समाचार लेख्नु थिएन । समाचार तयार पार्ने क्रममा पोखरेललाई मैले भेटेको होइन । फोनमा कुरा गरेको हो । विषय अलि असजिलो थियो । कारण- दृश्यमा वादी-प्रतिवादी दुवै पीडित देखिएको थियो । एउटी १३ वर्षकी छात्रामाथि बलात्कारपछिको गर्भ । उनको सन्तानको बाबु यकिन हुन नसक्नु । अनि जसमाथि बलात्कार गरेको भन्ने आरोप लागेको थियो, उसलाई डीएनए परीक्षणपछि अदालतले सफाइ दिएको थियो । छात्रामाथि सहानुभूति अस्वभाविक होइन । र, यस्ता घटना बारम्बार देख्न, सुन्न र पढ्न मिलेकै हो । तर, एउटा युवकलाई बलात्कार आरोपमा १० महिना थुनेपछि निर्दोष भनेर छाडियो । यो अवधिमा उसको समयमात्र नाश भएन, समाजिक प्रतिष्ठामा पनि परेको असरको क्षतिपूर्तिको बाटो केही थिएन । जे होस् मुद्दामा छात्राका लागि न्यायिक बाटो देखाउने र उनलाई सुरक्षित आवासमा आश्रय दिने काम ओरेकले गरेको रहेछ । जबरजस्ती करणीका मुद्दा पीडितका पक्षबाट सरकारले लडिदिन्छ । तर, मुद्दा अदालतमा लैजान पहल कुनै न कुनै संस्थाले नै गरेका हुन्छन् । संस्थाहरुको यो कामै भएको छ । पीडितका हकमा राम्रो मानिएपनि निर्दोषलाई पीडा पुगे त्यसको सुनुवाइको निकाय छैन । कारण- पुर्पक्षका लागि अदालती आदेशमा कोही थुनिएर फेरि पनि निर्दोष भन्दै सफाइ पाए उसका लागि क्षतिपूर्ति दिलाउने कानुन नेपालमा छैन । 
आरोपितले सफाइ पाएपछि ती छात्रा र उनको शिशु कसलाई जिम्मा लगाउने भन्ने अन्यौल भएका बेला समाचारले चोट पारेको बताएर छलफलमा बोलाएपनि नजाने भन्ने कुरा भएन । त्यसैले सामान्य छलफल गरियो । त्यसपछि चालिसेलाई फोन गरेर उनको घर लागियो ।
विराटनगरसँग जोडिएको टंकी गाविस-१ स्थित उनको घरमा म पुग्दा भीड थियो । प्रयोगै नगरेको बाथरुमजस्तो सानो कोठामा छानोसँगैको माथिल्लो खाबामा यो जन्तु बसेको रहेछ । मैले पनि चिनेको परेन । विहान ७ बजेदेखि देखेको भनेपछि यसलाई सुरक्षित निकाल्नु उत्तम हुन्छ भन्ने लाग्यो । मैले केही तस्बिर खिचेपछि कोशी टप्पु वन्य जन्तु आरक्षमा फोन गरे । आरक्षका अधिकृत अशोक रामले मोरङ जिल्ला बन कार्यालयका सहायक अधिकृत गणेश चौधरीको नम्बर दिए । जन्तुका बारेमा बताउदा उनले ओत हुन सक्ने बताए । चौधरीलाई फोन गरेपछि उनी आउन तयार भए । आधा घण्टापछि आएपनि तर, समात्न सकेनन् । भीडले तर्सेको जन्तु मकैवारीहुँदै भागेर हरायो ।
म अफिसभन्दा पहिले घर पुगे । नेपालका स्तनधारी जनावर सम्बन्धी पुस्तक ल्याएर हेर्दा त्यो जन्तु सानो नीर विरालो रहेछ भन्ने यकिन भयो । स्मल इण्डियन सिभेटलाई गुगलमा सर्च गर्दा यस सम्बन्धी धेरै पेज भेटिए । आइयूसीएनको रेड स्टिमा सन् २००८ मै संकटमा परेको तर, बढि खोजी नभएको दक्षिण-पूर्व एशियाली रैथाने भन्ने जानकारी मिल्यो । यसको तस्बिर २३ बैशाख ०६९ शनिवार कोसेलीमा छापिएको छ ।